शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९१३९ - आफ्नो जिम्मामा रहेको सरकारी हातहतियार खरखजाना वेचविखन गरेको

भाग: ५६ साल: २०७१ महिना: असार अंक:

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुशीला कार्की

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

फैसला मिति : २०७०।४।३०

 

मुद्दा :- आफ्नो जिम्मामा रहेको सरकारी हातहतियार खरखजाना वेचविखन गरेको  ।

 

०६७-CR-०६७४

पुनरावेदक/प्रतिवादी : सशस्त्र प्रहरी वल प्रधान कार्यालयमा दरवन्दी भई हातहतियार उपशाखामा कार्यरत् रही कारागार शाखा डिल्लीबजारमा थुनामा रहेका स.प्र.स.ह.महेन्द्रविक्रम शाहसमेत

विरूद्ध

प्रत्यर्थी/वादी : सशस्त्र प्रहरी नायव उपरीक्षक शान्तिराम थापाको प्रतिवेदनले नेपाल सरकार

 

०६८-CR-२४०

पुनरावेदक/प्रतिवादी : सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्य विभागमा दरवन्दी भई हाल कारागार शाखा दोलखामा थुनामा रहेका स.प्र.ह.जीतेन्द्रप्रसाद सिंह

विरूद्ध

प्रत्यर्थी/वादी : सशस्त्र प्रहरी नायव उपरीक्षक शान्तिराम थापाको प्रतिवेदनले नेपाल सरकार

 

०६९-RC-००२२

वादी : सशस्त्र प्रहरी नायव उपरीक्षक शान्तिराम थापाको प्रतिवेदनले नेपाल सरकार

विरूद्ध

प्रतिवादी : सशस्त्र प्रहरी बल दक्षिणकाली गणमा दरवन्दी भै ऐ. उपशाखामा कार्यरत् देवीप्रसाद तिमिल्सेना                                                                                                                                         

 

  • प्रतिवादीहरूले सरकारी गोलीगठ्ठा विक्री गर्ने योजना र तयारीसमेत गरेको देखिए पनि विक्री गरिसकेको अवस्था नहुँदा ऐनबमोजिमको सजाय गर्दा चर्को पर्न जाने देखिँदा अ.वं.१८८ नं. बमोजिम प्रतिवादीहरूलाई ५(पाँच) वर्ष मात्र कैद हुने ।

(प्रकरण नं.४)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, विद्वान अधिवक्ताहरू नारायणप्रसाद देवकोटा र केदारप्रसाद दाहाल, विद्वान वैतनिक अधिवक्ता हरिशंकर कर्ण

प्रत्यर्थी/वादीका तर्फबाट :

अवलम्बित नजीर :

सम्बद्ध कानून :

 

शुरू फैसला गर्ने  :-   नायव महान्यायाधिवक्ता श्री कृष्णप्रसाद प्रसाई

सहसचिव श्री विश्वप्रकाश पण्डित

सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री नवराज विष्ट

पुनरावेदन फैसला गर्ने :-      मा.न्या.श्री मोहनप्रसाद घिमिरे

मा.न्या.श्री ठाकुरप्रसाद शर्मा

               

     

फैसला

न्या.प्रकाश वस्ती : पुनरावेदन अदालत पाटनको २०६६।८।९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम प्रतिवादीहरूको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :-

मिति २०६४।६।३० गते करिव २१.०० बजेको समयमा सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गण कम्पाउण्डबाट नजिकै रहेको काठमाडौं जिल्ला इंचङ्गु नारायण गा.वि.स. वडा नं.४ मिलनचोकस्थित कालुभाई नगरकोटीको घरमा झैझगडा भै हल्लाखल्ला भएको गण कम्पाउण्डबाट सुनिएको र सोही समयमा डेरावालाहरू एकआपसमा झगडा गरी रहेको भन्ने कार्यदल गणको अफिसमा टेलिफोनसमेत आएकोले तत्कालै मेरो कमाण्डमा उक्त स्थानमा टोली खटिई जाँदा निज कालुभाई नगरकोटीको घरमा डेरा गरी बस्ने सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्य विभाग दरवन्दीका आई.डि.नं.१०७०० का स.प्र.ह.जीतेन्द्रप्रसाद सिंह र सोही कोठामा बस्ने जिल्ला झापा काकडभिठ्ठा  घर बताउने पुष्पा अधिकारीको बीचमा घर जान र पैसाको सम्बन्धमा झै झगडा कुटपीटसमेत भएको रहेछ । निज स.प्र.ह.जीतेन्द्रप्रसाद सिंह दशैं मनाउन घर जान लागेको र निजले घरमा लैजान ठीक पारेको झोला शंका लागी चेक जाँच गर्दा उक्त झोलाभित्र अमेरिकन ईगल लेखिएको रातो बट्टा ११ प्याकेटमा ९ मी.मी. हतियारको अमेरिकन लुजर राउण्ड जम्मा ५५० (पाँच सय पचास), ९ मी.मी. हतियारकै नेपाली र भारतीय गोली राउण्ड ७०० (सात सय) ७.६२ हतियारको गोली राउण्ड १४ समेत फेला परेको र निज स.प्र.ह. सुत्नेु खाटमुनि गोली हाल्ने टिनको रित्तो बाकस थान १ समेत फेला परेको हुँदा उक्त निषेधित सामानहरू कानूनबमोजिम तत्कालै बरामद गरी आफनो कब्जामा लिई निज स.प्र.ह.जीतेन्द्रप्रसाद सिंहलाई के कसो हो भनी सोधनी गर्दा उक्त गोली तथा सामानहरू स.प्र.स.ह.महेन्द्रविक्रम शाह, स.प्र.स.ह. भीमबहादुर खड्का, स.प्र.ह.सागर भन्ने देवीप्रसाद तिमिल्सेना र आफूसमेत भई सशस्त्र प्रहरी बल प्रधान कार्यालय भण्डार शाखाबाट झिकी वेचविखनको लागि लान लागिएको हो भनेको हुदा उल्लिखित सशस्त्र प्रहरी कर्मचारीहरूउपर आवश्यक कारवाही हुन बरामदी मुचुल्का तथा बरामद भएका गोली र समानहरू यसै प्रतिवेदन साथ पेश गरेको छु भन्नेसमेत व्यहोराको स.प्र.ना.उ.शान्तिराम थापाको प्रतिवेदन पर्न आएकोले उक्त सक्कलै प्रतिवेदन तथा बरामदी मुचुल्कासमेत यसै पत्रसाथ संलग्न राखी आवश्यक कारवाहीको लागि पठाइएको भन्नेसमेत व्यहोराको सशस्त्र प्रहरी बल वगलामुखी विशेष कार्यदल गण हल्चोकको च.नं.४१६ मिति २०६४।७।१ गतेको पत्र संलग्न अन्य आवश्यक कागजातहरू ।

      सशस्त्र प्रहरी बल प्रधान कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयको च.नं.३५९ मिति २०६४।७।७ गते स.प्र.व.उ. माधवबहादुर थापाको अध्यक्षतामा बोर्ड गठन गरिएको पत्र ।

      जिल्ला झापा काकडभिट्टा घर बताउने का.जि.ईचंगुनारायण गा.वि.स. वडा नं.४ स्थित कालुभाई नगरकोटीको घरमा स.प्र.ह.जीतेन्द्रप्रसाद सिंहसँगै डेरा गरी बस्ने वर्ष १८ की पुष्पा अधिकारीले छानवीन समितिसमक्ष गरेको पाना ३ को घटना विवरण कागज ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय भण्डार शाखा हातहतियार उपशाखाका प्रमुख स.प्र.ना.नि. मानबहादुर कपरले छानवीन समितिसमक्ष गरेको पाना ३ को घटना विवरण कागज ।

      सशस्त्र प्रहरी बल प्रधान कार्यालय भण्डार शाखा हातहतियार उपशाखाका स.प्र.ना.नि. ईश्वरीबहादुर पुनले छानवीन समितिसमक्ष गरेको पाना २ को घटना विवरण कागज ।

      सशस्त्र प्रहरी बल प्रधान कार्यालय भण्डार शाखा हातहतियार उपशाखाका स.प्र.व.ह. राजेश पन्तले छानवीन समितिसमक्ष गरेको पाना २ को घटना विवरण कागज ।

      सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कार्यरत् स.प्र.नि.डिलबहादुर खत्रीले छानवीन समितिसमक्ष गरेको पाना २ को घटना विवरण कागज ।

      गठित छानवीन समितिबाट का.जि.ईचंगुनारायण गा.वि.स.वडा नं. ४ मिलनटोल स्थित कालुभाई नगरकोटीको जग्गामा रहेको स्कूसको झालमुनि लुकाई राखेको गोली गठ्ठाहरू बरामद गरेको पाना ३ को बरामदी मुचुल्का ।

      जिल्ला बारा सिमरा गा.वि.स. वडा नं. ६ बस्ने वर्ष २६ को स.प्र.स.ह. महेन्द्रविक्रम शाहले छानवीन समितिसमक्ष गरेको पाना ५ को बयान कागज । 

      जिल्ला सर्लाही वलरा गा.वि.स. वडा नं ४ बस्ने वर्ष २६ को स.प्र.स.ह. जीतेन्द्रप्रसाद सिंहले छानवीन समितिसमक्ष गरेको पाना ५ को बयान कागज।

      जिल्ला दोलखा माली गा.वि.स. वडा नं १ बस्ने वर्ष २५ को स.प्र.स.ह. भीमबहादुर खड्काले छानवीन समितिसमक्ष गरेको पाना ३ को बयान कागज ।

      सशस्त्र प्रहरी बल प्रधान कार्यालय कानून तथा अनुगमन शाखाको च.नं. १७१ मिति २०६४।७।१३ गतेको मानिस पक्राउ गरी पठाई दिने सम्बन्धमा जि.प्र.का.बारा र सर्लाहीलाई लेखेको पत्र ।

      सशस्त्र प्रहरी बल प्रधान कार्यालय कानून तथा अनुगमन शाखाको च.नं. १७२ मिति २०६४।७।१३ गतेको मानिस पक्राउ गरी दाखिला गर्ने सम्बन्धमा जि.प्र.ना.नि. गणेश भट्टलाई लेखेको पत्र  ।

      सशस्त्र प्रहरी बल प्रधान कार्यालय भण्डार शाखाको च.नं.३४७ मिति २०६४।७।१४ गतेको पत्र र उक्त पत्रसँग संलग्न पाना ३ को कागज ।

      वहालवाला तथा भू.पु.सशस्त्र प्रहरी कर्मचारीहरू मध्ये स.प्र.ह.देवीप्रसाद तिमिल्सेना, स.प्र.स.ह. महेन्द्रविक्रम शाह, स.प्र.स.ह. भीमबहादुर खड्का सशस्त्र प्रहरी बल प्रधान कार्यालय भण्डार शाखा अन्तर्गत हातहतियार उपशालखामा कार्यरत् कर्मचारी भएर आफ्नो ओहदा, कर्तव्य तथा जिम्मेवारीको ख्यालै नगरी आफ्नो जिम्मेवारीमा रहेको सरकारी गोलीगठ्ठाहरू आफूखुसी मिलेमतो गरी झिकी स.प्र.ह. जीतेन्द्रप्रसाद सिंहको डेरा कोठामा जम्मा गर्ने र विक्री गर्ने जस्तो जघन्य अपराधमा संलग्न रहेको साथै स.प्र.ह.जीतेन्द्रप्रसाद सिंह पहिले हातहतियार उपशाखामा रहँदा गोलीगठ्ठाहरू झिकी विक्री गर्ने कार्यमा संलग्न रहेको र उक्त उपशाखाबाट कार्यविभागमा काम गर्न थालेपछि भणडारबाट गोलीगठ्ठा झिक्न असफल भए पनि गोलीगठ्ठाहरू आफ्नै डेरा कोठामा जम्मा गरी आफ्नो भाई पर्ने भू.पू.रि.स.प्र.ज.मार्फत भारतीय तस्करी वीरेन्द्र यादवसम्म पुर्‍याउने मुख्य व्यक्ति भएको प्रष्ट देखिन्छ । भू.पु.रि.स. प्र.ज. राजेशकुमार सिंह पहिले सशस्त्र प्रहरी परिचर पदमा सशस्त्र प्रहरी बलको अस्पतालमा कार्यरत् रहँदादेखि नै गोली लगी विक्री गर्ने गरेको र पछि स.प्र.ज. पदमा नयाँ भर्ना भई सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गणमा सञ्चालन भएको रि.स.प्र.ज. आधारभूत तालिमबाट मिति २०६२।९।२० मा भगौंडा भई नोकरीबाट अवकास पाए पनि उल्लिखित सशस्त्र प्रहरी कर्मचारीहरूसँग मिलेमतो गरी हालसम्म गोली बेच्ने कार्यमा संलग्न रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको र त्यसलाई पुष्टि गर्न बरामदी मुचुल्का, घटनामा संलग्न कर्मचारीहरूको बयानहरूसमेत मिसिल संलग्न रहेकोले स.प्र.ह. देवीप्रसाद तिमिल्सेना, स.प्र.ह. जीतेन्द्रप्रसाद सिंह, स.प्र.स. ह. महेन्द्रविक्रम शाह, स.प्र.स.ह. भीमबहादुर खड्का तथा भू.पु.रि.स.प्र.ज.राजेश कुमार सिंहले सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७ को उपदफा (१) को खण्ड (ग) विपरीतको कसूर गरेको प्रष्ट देखिएकोले निजहरूउपर सशस्त्र प्रहरी विशेष अदालत गठन गरी हदैसम्मको कारवाही गर्नुपर्ने देखिन्छ भन्ने छानवीन समितिको प्रतिवेदन ।

      बरामद भएका गोलीहरू भारतीय नागरिक तस्कर वीरेन्द्र यादवलाई २०६४।७।१ गते विहान बेच्ने योजनाअनुरूप स.प्र.स.ह.देवीप्रसाद तिमल्सेना निज वीरेन्द्र यादवसँग भेट भै अग्रीम रूपैंया लिन मिति २०६४।६।२९ गतेको राति बसमा पथलैयातर्फ गै सकेको थिएँ। मैले यहाँबाट उक्त गोलीहरू लिएर जाने र २०६४।७।१ गते विहान पथलैयामा निजहरूसँग भेट भै रूपैंया लिई गोली दिने भनी योजना भएको हो । उक्त गोलीहरू प्रति गोली ४०।- का दरले बेच्ने कुरा मिलेको थियो । उक्त गोलीहरू बेचेको रकम हामी जाहेरीमा उल्लिखित चारै जनाले बरावरी बाँडेर खाने सल्लाह भएको थियो । म सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्यविभागमा सरूवा हुनुपूर्व सशस्त्र प्रहरी वल तालिम महाविद्यालयमा कार्यरत् रहेको अवस्थामा उक्त महाविद्यालयको जिन्सी खातामा आम्दानी वाँधिएको बट नं. ५३ बढी नं. ००२४६८ को एस.एम.जि.नाल-१, सोको म्याग्जीन थान-१ तथा सो को गोली राउण्ड -३२ समेत चोरी गरी लगी भू.पु.रि.स.प्र.ज. राजेश कुमार सिंहसमेत भई भारतीय तस्कर वीरेन्द्र यादवलाई रू.२५,०००।- भारू मा विक्री गरेको हुँ र निज वीरेन्द्र यादवसँग एउटा कटुवा पेस्तोल ल्याई रू.५,०००।- मा ट्‍याक्सी चालकलाई विक्री गरेको हुँ भन्नेसमेत व्यहोराको स.प्र.ह. जीतेन्द्रप्रसाद सिंहले अनुसन्धान अधिकृतसमक्ष गरी दिएको साविती बयान ।

      सशस्त्र प्रहरी प्रधान कार्यालयको स्टोरबाट निकालेको गोलीहरू भारतीय तस्करहरू अलीम मियाँ, मुन्ना खाँ भन्ने व्यक्तिहरूलाई कृष्णनगरमा लगी प्रति गोली रू.४०।- का दरले बेच्ने गरेको थिएँ । विक्री भएको रकम स.प्र.ह.देवीप्रसाद तिमिल्सेना, स.प्र.स.ह. भीमबहादुर खड्का र मैले भागबण्डा गरी खाने गर्दथ्यौं । पछि जीतेन्द्रप्रसाद सिंह पनि भण्डारमा गएकोले निजलाई पनि वरावर भाग दिने गरेका थियौं । हालसम्म हामी चारै जना मिली स.प्र.वल प्र.का. भण्डार शाखाबाट विभिन्न हतियारको गरी करीव १५००० गोली बाहिर लगी वेची सकेका छौं । निज स.प्र.स. जीतेन्द्रप्रसाद सिंहको साथी भारतीय तस्कर वीरेन्द्र यादवलाई नै सवै गोली बेच्ने गरेका थियौं । मिति २०६४।६।३० गते बरामद भएको गली बाहेक ७.६२ हतियारको गोली ५०५ राउण्ड र ३०३ हतियारको गोली राउण्ड ५४ निज स.प्र.ह.जीतेन्द्रप्रसाद सिंहको डेरा कोठा भएको घर भन्दा पछाडि उत्तरपट्टि रहेको स्कूसको झाल रहेको छाप्राभित्र झालले छोपी राखेकोमा खोजी गरी बरामद गरी पाऊँ । उक्त गोलीहरूसमेत एकैसाथ लान स.प्र.ह.जीतेन्द्रप्रसाद सिंहले मात्र नसक्ने भएको हुँदा म आफैँ जाँदा लिई जाने भनी उक्त स्थानमा लुकाई राखेको हुँ भन्नेसमेत व्यहोराको स.प्र.स.ह.महेन्द्रविक्रम शाहले अनुसन्धान अधिकृतसमक्ष गरी दिएको साविती बयान ।

      मिति २०६४।६।३० गते स.प्र.ह.जीतेन्द्रप्रसाद सिंह दशैँ मनाउन घर जाने भएकोले निजको साथमा गोली पठाउने सल्लाह भै मिति २०६४।६।२९ गते दिउसो कोही नभएको मौका छोपी मैले स्टोरबाट ९ मी.मी. हतियारको अमेरिकन लुजर राउण्ड ५५० थान झिकी स.प्र.ह.जीतेन्द्रप्रसाद सिंहको डेराकोठामा पुर्‍याई दिएको थिएँ । ९ मी.मी.कै नेपाली र इन्डियन राउण्ड थान ७०० स.प्र.स.ह.महेन्द्रविक्रम शाहले २०६४।६।३० गते साँझ निज स.प्र.ह.कै डेरामा पुर्‍याई दिइको र उक्त गोलीहरू आफनो झोलामा प्याक गरी घर जाने वेलामा निज स.प्र.ह.जीतेन्द्रप्रसाद सिंह र निजसंगै बस्ने पुष्पा अधिकारीबीच घर जाने र घर खर्चको विषयमा झैझगडा भै होहल्ला भएकोले सोहल्ला सुनी कार्यदल गणबाट स.प्र.ना.उ. शान्तिराम थापाको टोली निजको डेराकोठमा पुगी सम्झाई बुझाई गरी निज स.प्र.ह.जीतेन्द्रप्रसाद सिंहले वाहिर लान ठीक्क पारेको व्याग शंका लागी चेकजाँच गर्दा उक्त गोलीगठ्ठा बरामद भएको हो । स्टोर सफा गर्ने, हातहतियार सफा गर्ने, सामान वाहिर पठाउने, भित्र दाखिला गर्ने वेलामा मात्र स्टोरभित्र प्रवेश गर्न पाउने हुँदा प्रति व्यक्ति ५० देखि १०० राउण्डसम्म एक पटकमा झिकी स.प्र.ह.जीतेन्द्रप्रसाद सिंहको डेरामा जम्मा गर्ने गरेका थियौं । शुरूदेखि हालसम्म गरी विभिन्न हतियारको १५,०००।- गोलीहरू झिकी वेचविखन गर्यौ होला । जीतेन्द्र सिंहले चिनाई दिएको निजकै भाई नाता पर्ने भू.पु.रि.स.प्र.ज.मुन्ना भन्ने राजेशकुमार सिंह मार्फत् भारतीय तस्कर वीरेन्द्र यादवलाई पालैपालो दिने गरेको हौं । करीव ६ महिनाअगाडि म र स.प्र.ह.देवीप्रसाद तिमिल्सेना भै ७ वटा नं.३६ हयान्ड ग्रिनेड स्टोरबाट झिकी निज स.प्र.ह.जीतेन्द्रप्रसाद सिंहको कोठामा लगेका थियौं । तर, ग्रिनेडमा इम्नाडईटर नभएका हुँदा पुन: फिर्ता ल्याई स्टोरमा राखेको थियौं भन्नेसमेत व्यहोराको स.प्र.स.ह.भीमबहादुर खड्काले अनुसन्धान अधिकृतसमक्ष गरी दिएको साविती बयान ।

      प्रतिवादी स.प्र.ह.देवीप्रसाद तिमल्सेना, स.प्र.स.ह. भीमबहादुर खड्का तथा स.प्र.स.ह. महेन्द्रविक्रम शाह एक जिम्मेवार सशस्त्र प्रहरी कर्मचारी र त्यसमा पनि हातहतियार भण्डारण गर्ने संवेदनशील स्थानमा ड्‍युटीमा खटिएको कर्मचारी भएर आफ्नो कर्तव्य तथा जिम्मेवारीको ख्यालै नगरी आफ्नो जिम्मामा रहेको सरकारी गोली गठ्ठाहरूको राम्रो सुरक्षा गर्नुपर्नेमा आफैँ विक्री वितरण गर्ने जस्तो जघन्य अपराधमा संलग्न रहेको, प्रतिवादी स.प्र.ह.जीतेन्द्रप्रसाद सिंह तस्करीहरूसँग साँठगाँठ मिलाई हतियार तथा गोलीगठ्ठाको अर्डर लिने, आफ्नो कोठामा जम्मा गरी भण्डारण गर्ने, सरकारी गोलीकठ्ठाको सुरक्षा गर्नुपर्नेमा आफैँले विक्री वितरण गरेको, तस्करसँग मिलेमतो गरी सरकारी गोलीकठ्ठाको सुरक्षा गर्नुपर्नेमा आफैँले विक्री वितरण गरेको, तस्करसँग मिलेमतो गरी सरकारी हतियार विक्री गर्ने तथा हतियार ल्याई विक्री गर्ने जस्तो घृणित अपराधमा संलग्न रहेको तथा भू.पु.रि.स. प्र.ज. राजेशकुमार सिंह भारतीय तस्करहरूँग परिचय गराउने, तस्करहरूसँग हतियार खरीद तथा विक्री गर्ने, स.प्र.ह.जीतेन्द्रप्रसाद सिंहलगायत अन्य प्रतिवादीहरूसँग मिलेमतो गरी हातहतियार एवं गोलीगठ्ठा विक्रीवितरण गर्ने जस्तो अपराधमा संलगन रहेको प्रष्ट देखिएकोले यी प्रतिवादीहरू स.प्र.ह.देवीप्रसाद तिमिल्सेना, स.प्र.ह. जीतेन्द्रप्रसाद सिंह, स.प्र.स.ह. भीमबहादुर खडका, स.प्र.स.ह.महेन्द्रविक्रम साह तथा भू.पु.रि.स.प्र.ज. राजेशकुमार सिंहउपर सशस्त्र प्रहरी ऐन, २०५८ को परिच्छेद् ५ को दफा २७ को उपदफा (१) को खण्ड (ग) को कसूरमा परिच्छेद् ५ को दफा २७ को उपदफा (१) बमोजिम सजाय हुन र प्रतिवादीहरूले हालसम्म १५,०००।- हजार राउण्ड गोली प्रति गोली रू.४०।- का दरले हुन आउने रू.६,००,०००।- साथै प्रतिवादीमध्येका स.प्र.ह.जीतेन्द्रप्रसाद सिंहले विक्री गरेको एस.एम.जी.को खरीद मूल्य रू.४७,८९७।- (सतचालीस हजार आठ सय सन्तानब्बे) रूपैयासमेत असूलउपर गरी पाउन संकलित सक्कलै मिसिल तथा प्रतिवादीहरू स.प्र.ह.जीतेन्द्रप्रसाद सिंह, स.प्र.स.ह. भीमबहादुर खड्का, स.प्र.स.ह.महेन्द्रविक्रम शाह र मिति २०६४।६।३० गते वरामदी भएको ९ मी.मी. हतियारको अमेरिकन लुजर राउण्ड ५५० (पाँच सय पचास) ९ मी.मी. हतियार के नेपाली र भारतीय राउण्ड ७०० (सातसय) ७.६२ हतियारको गोली राउण्ड १४ र गोली हाल्ने टिनको वाकस थान १ र मिति २०६४।७।१३ गते बरामद भएको ७.६२ हतियारको गोली राउण्ड ५०५, ३०३ हतियारको गोली राउण्ड ५४ को टिनको बाकस थान १, गोली राख्‍नेक कपडाको विन्दुली १, गोली राख्‍ने पाँचर ११ समेत अभियोगपत्रसाथ प्रस्तुत गरिएको भन्ने व्यहोराको अभियोग पत्र ।

      प्रतिवादीहरू स.प्र.ह. देवीप्रसाद तिमिल्सेना र स.प्र.स.ह. भीमबहादुर खड्काले हामीहरूले गोली झिकी स.प्र.स.ह. महेन्द्रविक्रम शाहलाई दिने गरेका छौं । निजले बेची रकम ल्याई हामीहरूलाई दिन्छ तिमी पनि हामीसँग मिली काम गर भनेको र म पनि त्यसै मौका पर्खी बसेकाले निजहरूसँग मिली काम गर्न थालेको हो । पछि निज महेन्द्रविक्रम शाह पनि सरूवा भै हामीसँगै उक्त हात हतियार उपशाखामा काम गर्न आएकोले चारै जना मिली अली अली गोलीगठ्ठाहरू झिकी मेरो डेरा कोठामा थुपार्ने र मागअनुसारको संख्या पुगेपछि प्रतिवादी राजेशकुमार सिंहसँग पालैपालो गई भारतीय तस्कर वीरेन्द्र यादवलाई बेची रकम ल्याई वाँडी खाने गर्दै आएका थियौं । यस सिलसिलामा मिति २०६४।६।३० गते म दशैं मनाउन घर जाने भएकोले घरजाँदा गोलीहरू लिई जाने र विक्री गर्ने सल्लाह भएअनुसार मिति २०६४।६।३० गते मेरो डेरा कोठामा खडा भएको बरामदी मुचुल्कामा उल्लिखित ९ मी.मी. हतियारको अमेरिकन लुजर राउण्ड ५५० स.प्र.ह. भीमबहादुर खड्काले मिति २०६४।६।२९ गते दिउँसो ल्याई दिएका र ९ मी.मी. कै नेपाली र भारतीय राउण्ड ७०० स.प्र.स.ह.महेन्द्रविक्रम शाहले मिति २०६४।६।३० गते साँझपख मेरो डेराकोठामा ल्याई दिएका र ७.६२ हतियारको राउण्ड १४ तथा गोली राख्‍ने वाकस स.प्र.ह. देवीप्रसाद तिमल्सेनाले पहिले नै ल्याई राखेका थिए । उल्लिखित गोलीहरू झोलामा प्याक गरी हिड्ने तरखर गर्दै थिएँ। मसँगै मेरै डेराकोठामा विगत एक वर्ष अगाडिदेखि बस्दै आएकी पुष्पा अधिकारी पनि झापा जान्छु भनेकी हुँदा मैले खर्च स्वरूप रू.३,०००।- रूपैया दिएकोमा निजले पुग्दैन भनी झगडा गरेकीले दुवैजनाको झगडा परी हल्लाखल्ला भएकोले स.प्र.वल बंगलामुखी विशेष  कार्यदल गणबाट स.प्र.ना.उ.शान्तिराम थापाको टोली आई हामीहरूलाई सम्झाएको र मैले वाहिर लान ठीक्क पारेको झोला शंका लागी चेकजाँच गर्दा उल्लिखित गोलीगठ्ठाहरू बरामद भएको हो भन्नेसमेत व्यहोराको स.प्र.ह.जीतेन्द्रप्रसाद सिंहले अदालतसमक्ष गरेको बयान ।

      स.प्र.स.ह. महेन्द्रविक्रम शाहले २०६४।६।३० गते साँझ निज स.प्र.ह.कै डेरा कोठामा पुर्‍याई दिएको र उक्त गोलीहरू आफ्नो घरमा लैजान ठीक्क पारेको झोलामा प्याक गरी घर जान लागेको अवस्थामा निज स.प्र.ह.जीतेन्द्रप्रसाद सिंह संगै बस्ने पुष्पा अधिकारीबीच पैसाको विषयमा वादविवाद र झगडा भएको रहेछ । सो हल्ला सुनी सशस्त्र प्रहरी बल वगालमुखी विशेष कार्यदल गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक शान्तिराम थापाको टोली निजको डेरा कोठामा पुगी स.प्र.ह.जीतेन्द्रप्रसाद सिंहले वाहिर लैजान तयार पारेको झोला शंका लागी चेकजाँच गर्दा उक्त गोली गठ्ठाहरू बरामद भएको हो भन्नेसमेत व्यहोराको स.प्र.स.ह. भीमबहादुर खड्काले अदालतसमक्ष गरेको बयान ।

      प्रतिवादी भू.पु.रि.स.प्र.ज. राजेशकुमार सिंहमार्फत भारतीय तस्कर वीरेन्द्र यादवलाई प्रति गोली ४० रूपैयाका दरले वेची रूपैया खादै आएकोमा मिति २०६४।६।३० गते जीतेन्द्रप्रसाद सिंह दशैं मनाउन घरमा जाने र घरमा जाँदा गोलीहरूसमेत लाने सल्लाह भएबमोजिम मिति २०६४।६।३० गते साँझ मैले ९ मी.मी. हतियारको गोली राउण्ड ७०० निज स.प्र.ह.को डेरा कोठामा पुर्यारई दिएको थिएँ । सोही दिन राति करीव २१.३० गतेतिर भण्डार शाखाबाट ७.६२ हतियारको गोली ५०५ राउण्ड र ३०३ हतियारको गोलीसमेत झिकी निज स.प्र.ज.जीतेन्द्रप्रसाद सिंहको डेराकोठामा राख्नन जाँदा निजको डेरा कोठाबाट गोलीगठ्ठाहरू बरामद भै ववाल भएको भन्ने थाहा पाई निजको डेरा रहेको घर भन्दा पछाडि स्कूसको झाल रहेको छाप्रोभित्र लुकाई राखेको थिएँ । मिति २०६४।७।१३ गते छानवीन समितिसमक्ष मैले दिएको साविती बयानअनुसार उक्त गोलीहरू मेरै सामुन्नेममा बरामद गरिएको हो भन्नेसमेत व्यहोराको स.प्र.ह.महेन्द्रविक्रम शाहले अदालतसमक्ष गरेको बयान ।

      म मिति २०६१ साल कार्तिकमा सशस्त्र प्रहरी परिचर पदमा भर्ना भै सशस्त्र प्रहरी अस्पतालमा ल्याबअसिस्टेण्टको काम गर्दै थिएँ । पछि मेरो दरवन्दी स.प्र.वल त्रिपुरा गण कोहलपुर भएकोले कोहलपुरमा एक महिना जति बसी सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी जवान पदमा दरखास्त दिन काठमाडौं आएको  थिएँ । सशस्त्र प्रहरी  पदमा लिखितमा असफल भएपछि स.प्र.ज.पदमा छनौट भै स.प्र.वल बगलामुली विशेष कार्यदल गणमा तालिम गर्दागर्दै शरीरमा सन्चो नभएकोले मिति २०६२।१०।२० मा नोकरी छोडी भागी हिडेको थिएँ । मैले सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७ को उपदफा (१) को खण्ड (ग) को कुनै कसूर गरेको छैन । त्यसैले अभियोग पत्रमा उल्लेख भएअनुसारको सजाय मलाई हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको भू.पु.रि.स. प्र.ज. राजेशकुमार सिंहले अदालतसमक्ष गरेको बयान ।

      मिति २०६४।७।११ गते छानवीन समितिसमक्ष मैले गरेको बयान काजमा उल्लेख गरेको व्यहोरा र हस्ताक्षर मेरै हो । हेरी चिनी सनाखत गरी दिएँ भन्ने व्यहोराको स.प्र.नि.मानबहादुर कापर, स.प्र.नि.डिलबहादुर खत्री, स.प्र.व.ना.नि. ईश्वरीबहादुर पुन र स.प्र.व.ह. राजेश पन्तको अदालतसमक्ष भएको छुट्टाछुट्टै बकपत्र ।

मिति २०६४।६।३० गते स.प्र.बल वगलामुखी विशेष कार्यदल गणबाट आएको टोलीले प्रतिवादी जीतेन्द्रप्रसाद सिंहको कोठा खानतलासी गरेकोमा उक्त स्थानबाट के बरामद भएको हो । मलाई थाहा भएन । बरामदी मुचुल्कामा भएको व्यहोरा र दस्तखत मेरो हो व्यहोराको बरामदी मुचुल्काका अम्मरबहादुर नगरकोटी र कालुभाई नगरकोटीको अदालतमा भएको छुट्टाछुट्टै बकपत्र ।

      मिति २०६४।६।३० गते स.प्र.ना.उ. शान्तिराम थापाको नेतृत्वमा गएको टोलीमा मसमेत गएको थिएँ । निज स.प्र.व.ह. जीतेन्द्रप्रसाद सिंह दशैं मनाउन घर जान लागेका रहेछन्  । निजले घरजाँदा लान ठीक्क पारेको व्याग शंका लागी चेकजाँच गर्दा गोलीगठ्ठाहरू बरामद भएकोले त्यसको मुचुल्का तयार पारी मैले पनि रोहवरमा सहिछाप गरी दिएको हुँ भन्ने व्यहोराको स.प्र.व.ह. मनसिंह ठकुरी स.प्र.ना.उ.शान्तिराम थापा, स.प्र.स.नि.प्रेम सिंह घिसिङ्ग, स.प्र.स.नि.मानबहादुर खत्रीसमेतको अदालतमा भएको छुट्टाछुट्टै बकपत्र ।

      राजेशकुमार सिंह त्यस किसिमका मानिस होइनन्, भाई भाईको झगडाको कारणले प्रतिवादी जीतेन्द्रप्रसाद सिंहले पोलेको होला । निज पहिला सशस्त्र प्रहरीमा जागीरमा थियो, तर पछि विरामी भएर जागीर छोडी दियो भन्ने व्यहोराको प्रतिवादी राजेशकुमार सिंहका साक्षीहरू राजकिशोर कापड, विश्वमोहन सिंह र धर्मेन्द्र झाको छुट्टाछुट्टै बकपत्र ।

      यसमा प्रतिवादीहरू राजेशकुमार सिंह, जीतेन्द्रप्रसाद सिंह, भीमबहादुर खड्का, महेन्द्रविक्रम शाह र देवीप्रसाद तिमल्सिनासमेत मिली सशस्त्र प्रहरी बल प्रधान कार्यालय भण्डारण शाखा हातहतियार उपशाखामा  रहेका विभिन्न हातहतियारका खरखजानाहरू बेच्ने कार्यमा संलग्न रहेकाले राजेशकुमार सिंहका हकमा वाहेक अन्यका हकमा अर्थात फरार प्रतिवादीहरूका हकमा सो कसूरबमोजिम सजायस्वरूप सर्वस्वसहित जन्मकैद हुने गरी भएको फैसला तथा अर्को अभियुक्त प्रतिवादी राजेशकुमार सिंहका हकमा भने कसूरमा संलग्न रहेको नदेखिएको र जाहेरवाला प्रतिवेदकले आफ्नो प्रतिवेदनमासमेत यी प्रतिवादीका उपर कारवाही हुन माग दावीसमेत गरेको नदेखिँदा सफाई पाउने गरी भएको सशस्त्र प्रहरी विशेष अदालतको मिति २०६५।१।२२ को फैसला ।

      यसमा स्टोरकिपरलाई सजाय गर्नुपर्नेमा विनाप्रमाण म माथि आरोप लगाई गरिएको सशस्त्र प्रहरी वल बिशेष अदालतको मिति २०६५।१।२२ गतेको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी पाऊँ भन्ने पुनरावेदक स.प्र.ह.जीतेन्द्रप्रसाद सिंहको मिति पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

      गोली चोरी गरी बेचेको अभियोग लगाई अभियोग भन्दा सजायको भारी ठूलो हुने गरी भएको सशस्त्र प्रहरी बल विशेष अदालतको मिति २०६५।१।२२ गतेको फैसला त्रुटिपूर्ण भएकाले उल्टी गरी पाऊँ भन्ने महेन्द्रविक्रम शाह र भीमबहादुर खड्काको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

      प्रतिवादी देवीप्रसाद तिमिल्सेनाको हकमा शुरू सशस्त्र प्रहरी वल विशेष अदालतले  सशस्त्र प्रहरी  बलमा कार्यरत् रहेको अवस्थामा गोली तथा खरखजाना चोरी गरी विक्रीसमेत गरेको अभियोग लगाई सर्वस्वसहित जन्मकैद हुने ठहर गरी फैसला गरेकोले निजले म्याद गुजारी बसेको देखिँदा निजको हकमा साधक जाहेर भै साधक दायरीमा दर्ता हुन आएको ।

      प्रतिवादीहरूको साविती बयान, बरामदी सामान तथा मौकामा व्यक्त गरेको कुरा सशस्त्र प्रहरी विशेष अदालतमा उपस्थित भै गरेको बकपत्रसमेतबाट प्रतिवादीहरूको कसूर प्रमाणित भै रहेको अवस्थामा सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७(१)(ग) बमोजिम प्रतिवादीहरूलाई सर्वस्वसहित जन्मकैद हुने सजाय गरेको सशस्त्र प्रहरी विशेष अदालतको मिति २०६५।१।२२ को फैसला मनासिव देखिँदा सदर हुने ठहर्छ साथै पुनरावेदक प्रतिवादीहरूलाई उपरोक्तबमोजिम सजाय गर्दा चर्को सजाय हुन जाने देखिएकोले पुनरावेदन नगर्ने प्रतिवादी देवीप्रसाद तिमल्सिनासमेतका प्र.जीतेन्द्रप्रसाद सिंह, प्र. भीमबहादुर खड्का र प्र. महेन्द्रविक्रम शाहलाई अपराध गरेको अवस्थासमेतलाई विचार गर्दा गोलीसम्म विक्री गर्ने कार्यमा उद्यत रहेको, हातहतियार खरखजना मुद्दामा हुने सजायसमेतलाई मध्यनजर राख्दा प्रस्तुत ऐनको सजाय चर्को हुनजाने चित्तमा लागेकोले निज प्रतिवादीहरूलाई १०(दश) वर्ष मात्र कैद सजाय हुन पर्ने राय व्यक्त गरी मुलुकी ऐन अ.वं.१८८ नं. बमोजिम श्री सर्वोच्च अदालतमा साधक जाहेर गर्नु भनी पुनरावेदन अदालत पाटनको मिति २०६६ ।८।९।३ को फैसला ।

      पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन ।हामी प्रतिवादीहरूले हात हतियारको विक्री गरेको नभई गोली गठ्ठासम्म स्टोरबाट झिकेको कसूरमा सर्वस्वसहित जन्मकैदको सजाय गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी इन्साफ गरी पाऊँ भन्ने प्रतिवादीहरू महेन्द्रविक्रम शाह र भीमबहादुर खड्काको यस अदालतमा परेको संयुक्त पुनरावेदन पत्र ।

      पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । मैले प्रहरी विशेष अदालतमा बयान गर्दा गोली वेचविखन गरेको कुरामा सावित भएको छैन । बरामदसम्म भएको कुराले कसूरको पूर्णता नहुने हुँदा सर्वस्वसहित जन्मकैदको सजाय गर्न मिल्ने होइन । हातहतियार विक्री गरेको नभई गोली गठ्ठासम्म स्टोरबाट झिकेको कसूरलाई हतियार नै विक्री गरेको कसूर गरेको ठहर्या्एको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी सफाई पाऊँ भन्ने प्रतिवादी जीतेन्द्रप्रसाद सिंहको यस अदालतमा परेको पुनरावेदन पत्र ।

      नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरियो । पुनरावेदक प्रतिवादीहरू जीतेन्द्रप्रसाद सिंह र भीमबहादुर खड्कातर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री हरिशंकर कर्णले यी प्रतिवादीहरूले हातहतियार विक्री वितरण गरेको भन्ने पुष्टि भएको छैन । संचयसम्म गरेको अवस्थामा अपराधले पूर्णता नपाउँदै सर्वस्वसहित जन्मकैदको सजाय गरेको शुरू र पुनरावेदन तहको फैसला त्रुटिपूर्ण भएकोले उल्टी हुनुपर्छ भन्नेसमेत वहस गर्नुभयो ।

      पुनरावेदक प्रतिवादी महेन्द्रविक्रम शाहको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, विद्वान अधिवक्ताहरू नारायणप्रसाद देवकोटा र केदारप्रसाद दाहालले शुरू र पुनरावेदन तहका अदालतले प्रतिवादीहरू उपर सशस्त्र प्रहरी ऐन २०५८ को दफा २७(१) (ग) बमोजिमको कसूर कायम गरी सजाय गरिएको छ । तर, प्रतिवादीहरूले सो बमोजिमको कसूर नगरी दुरूपयोगसम्म गरेको स्थापित हुन सक्नेमा लाग्नै नसक्ने दफा प्रयोग गरी चर्को सजाय गरेको दुवै तहको फैसला त्रुटिपूर्ण भएकोले उल्टी हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।

      विद्वान कानून व्यवसायीहरूले प्रस्तुत गर्नुभएको उपरोक्तानुसारको बहस जिकीरसमेतलाई सुनी प्रस्तुत मुद्दामा प्रतिवादीहरूले अभियोग दावीबमोजिम सशस्त्र प्रहरी ऐन,२०५८ को दफा २७(१) को खण्ड (ग) को कसूरमा दफा २७(१) बमोजिम सजाय हुने ठहर्‍याएको शुरू सशस्त्र प्रहरी विशेष अदालतको फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ वा छैन र प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्ने हो वा होइन भन्ने निर्णय दिनुपर्ने देखियो ।

      2. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरूले आफ्नो जिम्मामा रहेका हातहतियार भण्डारका सरकारी गोलीगठ्ठाहरू विक्री वितरण गर्ने अपराध गरेकाले सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७(१) को खण्ड (ग) को कसूरमा दफा २७(१) बमोजिम सजायको माग दावी लिई अभियोगपत्र दायर भएको देखिन्छ । शुरू सशस्त्र प्रहरी विशेष अदालतले प्रतिवादीहरूलाई सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७(१) को खण्ड (ग) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको फैसला पुनरावेदन अदालतबाट सदर हुने ठहरी ठहरेकोमा सो फैसलाउपर प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन परी पेश हुन आएको रहेछ ।

      3. यसमा प्रतिवादी मध्येको जीतेन्द्रप्रसाद सिंहको डेराबाट विभिन्न परिमाणका गोलीगठ्ठा बरामद भएको भन्ने २०६४।६।३० को बरामदी मुचुल्काबाट देखिन्छ । उक्त बरामद भएको गोलीगठ्ठाहरू अन्य प्रतिवादीहरूसँग मिली भारतीय नागरिक वीरेन्द्र यादवलाई २०६४।७।१ मा वेच्न भनी आफनो कोठामा राखेको भनी प्रतिवादी जीतेन्द्रप्रसाद सिंहले अनुसन्धानको क्रममा बयान गरी अन्य प्रतिवादीहरूलाई पोल गरेको देखिन्छ । अन्य प्रतिवादीहरू भीमबहादुर खड्का र महेन्द्रविक्रम शाहले पनि वरामद भएको गोलीहरू विक्री गर्ने उद्देश्यले राखेको भनी अनुसन्धानको क्रममा बयान गरेको देखियो । प्रतिवादी जीतेन्द्रप्रसाद सिंह, भीमबहादुर खड्का र महेन्द्रविक्रम शाहले शुरू सशस्त्र प्रहरी विशेष अदालतमा बयान गर्दा पनि आफ्नो अनुसन्धानको क्रममा भएको बयानलाई पुष्टि हुने गरी वयान गरेको देखिन्छ । प्रतिवादीहरूले अनुसन्धानको क्रममा र अदालतमासमेत एक अर्कालाई पोल गर्दै आरोपित कसूरमा सावित भई वयान गरेको देखिएको छ उक्त बयानमा व्यक्त भएको तथ्यलाई बरामदी मुचुल्का र वादी पक्षका साक्षी प्रतिवेदक शान्तिराम थापासमेतको बकपत्रले पुष्टि गरेको देखिन्छ । यसरी प्रतिवादीहरूले विभिन्न परिमाणका गोली गठ्ठाहरू विक्री वितरण गर्ने उद्देश्यले नै प्रतिवादीमध्येका जीतेन्द्रप्रसाद सिंहको कोठामा र स्कूसको झ्याङ्गमा लुकाई राखेको भन्ने देखिएको अवस्थामा प्रतिवादीहरूलाई सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७(१) (ग) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको शुरू फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको २०६६।८।९ को फैसला मिलेकै देखिँदा अन्यथा परिवर्तन गरी रहन परेन । उक्त फैसला सदर हुने ठहर्छ । पुनरावेदन नगर्ने प्रतिवादी देवीप्रसाद तिमल्सिनाको हकमा साधक सदर हुने ठहर्छ ।

      4. प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सर्वस्वसहित जन्मकैद गर्दा चर्को सजाय पर्न जाने देखिएकाले १० (दश) वर्ष मात्र कैदको सजाय हुन पुनरावेदन अदालत पाटनबाट राय व्यक्त भएको देखिन्छ । सो सम्बन्धमा हेर्दा यी प्रतिवादीहरूले सरकारी गोलीगठ्ठा विक्री गर्ने योजना र तयारीसमेत गरेको देखिए पनि विक्री गरिसकेको अवस्था नहुँदा ऐनबमोजिमको सजाय गर्दा चर्को पर्न जाने देखिँदा अ.वं.१८८ नं. बमोजिम प्रतिवादीहरू महेन्द्रविक्रम शाह, भीमबहादुर खड्का र जीतेन्द्रप्रसाद सिंहलाई ५(पाँच) वर्ष मात्र कैद हुन राय व्यक्त गरिएको छ । अरू तपसिलबमोजिम गर्नू ।

तपसि

१)    प्रतिवादीहरू महेन्द्रविक्रम शाह, भीमबहादुर खड्का र जीतेन्द्रप्रसाद सिंहलाई अ.वं.१८८ नं. बमोजिम ५(पाँच) वर्ष मात्र कैद सजाय हुने ठहरेकोमा अन्य कुनै मुद्दाको फैसलालगायतका कारणबाट थुनामा राख्‍नु पर्ने नभए निजहरूलाई आज थुनाबाट मुक्त गरी दिन छुट्टै आदेश भएकाले अव केही गरी रहनु परेन.....१

२)    दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ... १

           

उक्त रायमा सहमत छु ।

न्या.सुशीला कार्की

 

इति संवत् २०७० साल साउन ३० गते रोज ४ शुभम् .................।

इजला अधिकृत : विश्वनाथ भट्टराई

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु