शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५३६ - लिखत बदर

भाग: ३० साल: २०४५ महिना: मंसिर अंक:

निर्णय नं. ३५३६ ने.का.प. २०४५     अङ्क ८

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको रिट नं. ७३

आदेश भएको मिति : २०४५।५।२८।३ मा

 

निवेदक/वादी : का.न.पं.वा.नं.१ सेतो दरवार बस्ने देवेन्द्र शमशेर ज.ब.रा.

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने स्वर्गे भइसकेको लिला शमशेर ज.ब.रा.समेत

 

मुद्दा : लिखत बदर

 

(१)     छुट्टिई भिन्न भइसकेको कुरा लिखित रुपले स्वीकार गरिसकेकोमा अब आएर आफू एकासगोलको भनी भन्न प्रमाण ऐन, २०३१ को दफा ३४ ले विबन्धन लाग्ने । एकपटक स्वीकार गरिसकेको तथ्यलाई अस्वीकार गर्न नपाउने ।

(प्रकरण नं. २१)

(१)                  एकासगोलमा संग नबसी छुट्टिई भिन्न भई बसेकाको मञ्जूरीको लिखत नभएमा पनि अचल सम्पत्ति बिक्री गरेको वा अरु कुनै किसिमले हक छाडी दिएको व्यवहार पक्का हुने ।

(प्रकरण नं. २२)

(२)                घरको मूलीले घर व्यवहार चलाउनका लागि पनि पितापूर्खाका पालाकोमा पनि चलमा सम्पूर्ण र अचलमा आधी आफू खुस गर्न पाउने र यसका लागि अंश नलिएका एक्काइस वर्ष पुगेका छोरा, स्वास्नी र विधवा बुहारीको मञ्जूरी लिई रहनु नपर्ने ।

(प्रकरण नं. २४)

(३)                घर व्यवहार चलाउनका लागि नै भएमा पनि पितापूर्खाका पालाको अचल सम्पत्ति आधी भन्दा बढी बेचबिखन आदि गर्नका लागि अंश नभएका एक्काइस वर्ष पुगेका स्वास्नी छोरा र विधवा बुहारीको मञ्जूरी लिनु पर्ने ।

(प्रकरण नं. २४)

 

निवेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालतको फुल बेञ्चबाट मिति २०४१।९।७।६ मा भएको फैसला बृहत फुल बेञ्चबाट दोहोर्‍याई पाउँ भनी निवेदकले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारमा विन्तिपत्र चढाउनु भएकोमा यसमा व्यहोरा साँचो भए त्यस अदालतको फुल बेञ्चबाट छिनिएको विन्तिपत्रमा लेखिएको लिखत बदर मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने हुकुम प्रमाङ्गी बक्स भई आएबमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ ।

२.     मेरो समेत अंश लाग्ने सम्पत्ति मेरो मञ्जूरी बेगर रु.१ लाख मात्र लिनु दिनु गरी ६ लाखको अंक बढाई प्रतिवादी लामु अमात्य धनी र मे.ज.लिला शमशेर ज.ब.रा.ऋणी भई मिति २०२९।९।१५ गतेका दिन १ लाख मात्र लिनु दिनु गरी ६ लाखको अंक हाली पास भएको र.द.नं.१७७५ को लिखतमा उल्लिखित विवरण सहित ४ किल्लाभित्रको जग्गा रोपनी ३२ र सो जग्गामा बनेको घर समेत रजिष्ट्रेशन पास भएको रहेछ । मिति २०२९।९।१७ मा नक्कल लिंदा थाहा पाउँ । म फिरादीमात्र सगोलमा रहेको हुनाले आधा मेरो हक जति बिक्री बदर गरी आधा घर जग्गा लिनु दिनु भएको रुपैयाँ दिई निखन्न पाउँ । थैलीमा मुख नमिलेको हुनाले लेनदेन व्यवहारको १०,११ नं.र १६ नं. अनुसार नालेश गर्न आएको छु भन्ने समेत फिराद दावी ।

३.     वादीले आफ्नो बाबुबाट अंश लिइसकेको र सो बमोजिम व्यवहारहरु भइसकेको हुनाले अंशमा नालेश गर्नसकेको छैन । वादीले नक्कल लिएपछि थैली धरौट नराखेको र अधिकारप्राप्त अड्डामा जानु भएको छैन साथै बाबुले बिक्री गरेको सम्पत्ति के कति पैतृक छ, के कति लिला शमशेरको आफ्नो आर्जनको हो ? ९० सालको भूइचालो पछि लिला शमशेरले आफ्नो आर्जनबाट बनाएको घर दरवार भन्ने कुरा प्रकाशमा नल्याई यसलाईमात्र पैतृक सम्पत्ति भन्ने आधारमा पुग्ने दावी जिकिर लिएकोमा कानूनसंगत छैन । अड्डाको कर्मचारीको उपस्थितिमा थैली लिनु दिनु गरेकोमा झुठ्ठा हो भन्ने झुठ्ठा नालेश खारेज गरिपाउँ भन्ने समेत प्रतिवादी लामु अमात्यको प्रतिउत्तरपत्र जिकिर ।

४.     विपक्षी छुट्टी भिन्न भएको मैले अंशबण्डामा १९नं. ले आफू खुस गर्न पाउने जति थैली लिएको उतिमा राजीनामा गरिदिएको हो । विपक्षीले मिति २०२३।९।१७ गतेमा थाहा पाउँ भन्ने दावा झुठ्ठा हो विपक्षीको मञ्जूर लिनु पर्ने पनि होइन । आधा बदर हुने पनि होइन झुठ्ठा दावाबाट फुर्सद गराई पाउँ भन्ने समेत प्रतिवादी लिला शमशेरको प्रतिउत्तरपत्र जिकिर ।

६.     लिखत बदर गर्न छोराको हकदैया नलाग्ने हुँदा अ.बं.१८० नं.बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत मिति २०३१।४।२८।२ को श्री काठमाडौं जिल्ला अदालतको फैसला ।

७.     उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदनपत्र ।

८.     अंशबण्डाको १९ नं.बमोजिम वादीका भाग जति बदर गरियोस् भनी दावी गरिएकोमा अ.बं.१३३ नं.बमोजिम खुलाउनु पर्ने कुरा वादीबाट खुलाई खुलाएका कुरा प्रतिवादीलाई प्रतिवाद गर्ने मौका दिई कानून बमोजिम कारवाही किनारा गर्नु भनी काठमाडौं जिल्ला अदालतमा पठाई निखन्नेतर्फ वादीबाट धरौट नराखेको कारणबाट मिलेकै देखिन्छ भन्ने, समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको मिति २०३२।११।२५ गतेको फैसला ।

९.     उक्त मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला बमोजिम कारवाही गर्दा पैतृक सम्पत्ति हाल वादीको बयानबाट १२१२ भएको भनिएकोछ । यसबाट आधा ६६ हुन आउँछ । वादीले बयानमा खुलाएको बिक्री भएको ८२ देखिएको र बीरगंज नगर पञ्चायतको रसीदबाट ०१४० कठ्ठा जग्गा देखिएकोछ । एक  विगहा १३० हुने भएकोले १४ कठ्ठा जग्गा र आधा बिक्री गर्न पाउने देखिएको ६६ समेत गर्दा लिला शमशेरले अंशबण्डाको १९ नं.बमोजिम आफू खुस गर्न पाउने जग्गा आधा भन्दा बढी नै देखिनाले वादी दावी पुग्न नसक्ने ठहर्छ, भन्ने समेत शुरु काठमाण्डौ जिल्ला अदालतको मिति २०३५।१०।३ गतेको फैसला ।

१०.     उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादी देवेन्द्र शमशेरको पुनरावेदनपत्र ।

११.     अंशबण्डाको १९ नं.बमोजिम शुरुको वादी दावी नपुग्ने ठहराएको इन्साफ मनासिब ठहर्छ, भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको मिति २०३७।१२।११।३ को फैसला ।

१२.    उक्त मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३७।१२।११ को फैसलामा कानुनी त्रुटी हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत वादी देवेन्द्र शमशेरको नि.नं.१३२८ को निवेदन ।

१३.    यही पक्ष विपक्षी समेत भएको नि.नं.१३२७ मा पुरावेदनको अनुमति दिइएको र प्रस्तुत मुद्दामा पनि उहि विषयमा समावेश भएको देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत डिभिजन बेञ्चको मिति २०३८।४।२८।४ को आदेश रहेछ ।

१४.    वादी देवेन्द्र शमशेर लिला शमशेरसंग मिति ०१६।१।१६ मा नै मानो छुट्टिई बेगल बसेको भन्ने प्रमाणको अंश मुद्दाको फिरादपत्र लेखबाट देखिनाले समेत र लिला शमशेरले बिक्री गरेको जग्गा भन्दा बढी नै जग्गा लिला शमशेरका नाममा बाँकी हुँदा वादी दावी नपुग्ने ठहराएको शुरुको इन्साफ सदर गरी निर्णय गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने मिति २०३९।१।२९।४ को यस अदालतको डिभिजन बेञ्चको फैसला ।

१५.    निखन्न पाउँ भन्नेतर्फ वादी दावी खारेज हुने ठहर्‍याई काठमाडौं जिल्ला अदालतले गरेको निर्णयलाई मनासिब ठहर्‍याई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा यो वादीले चित्त बुझाई बसेको देखिँदा त्यसतर्फ विचार गरी रहन परेन । अब आधा जग्गाको लिखत बदर हुने नहुने के हो भन्ने विषयमा विचार गर्दा वादीले गरेको बयान अनुसार लिला शमशेरको नाममा दर्ता रहेको पैतृक सम्पत्ति रोपनी १२० रहेको देखिन्छ । त्यसको अतिरिक्त प्रतिवादीले प्रत्युत्तरसाथ पेश गरेको प्रमाण बीरगंज नगर पञ्चायतबाट दिएको रसीदबाट १४ कठ्ठा जग्गा पनि देखिन आएको छ । १४ कठ्ठा जग्गाको रोपनीमा परिवर्तन गर्दा रोपनी ९० चानचुन हुन आउने हुनाले प्रतिवादी लिला शमशेरको नाममा रहेको कूल जग्गा २२० चानचुन रहेकोमा निजले अंशबण्डाको १९ नं. ले कसैको मञ्जूरी नलिई आधा अर्थात रोपनी १२२ ऐनले गरेको व्यवस्था अनुसार आफूखुस गर्न पाउँने देखिन्छ । प्रतिवादी लिला शमशेरले बिक्री गरेको जम्मा रोपनी ८२ मात्र देखिँदा आधा भन्दा कमै बिक्री गरेको देखिँदा वादी दावी बमोजिम लिखत बदर नहुने ठहर्‍याई सर्वोच्च अदालत डिभिजन बेञ्चले मिति २०३९।१।२९ मा गरेकोसम्म निर्णय मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत फुल बेञ्चको मिति २०४१।९।७।६ को फैसला ।

१६.     सर्वोच्च अदालत फुल बेञ्चबाट भएको उक्त फैसला बृहत फुल बेञ्चबाट दोहोर्‍याई पाउँ भनी निवेदकले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारमा विन्तिपत्र चढाउनु भएकोमा व्यहोरा साँचो भए फुल बेञ्चबाट दोहोर्‍याई दिनु भन्ने हुकुम बक्स भई आएबमोजिम प्रस्तुत मुद्दा फुल बेञ्चको लगतमा दर्ता भएको रहेछ ।

१७.    नियम बमोजिम निर्णयार्थ आज यस इजलासमा पेश हुनआएको प्रस्तुत मुद्दामा निवेदक वादीका तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले लिला शमशेरले आफ्नो एका  सगोलको छोरा देवेन्द्र शमशेरको मञ्जूरी बेगर ३२ जग्गामा बनेको घर समेत प्रतिवादी मध्येका लामु अमात्यलाई बिक्री गरेको छ । वादी देवेन्द्र शमशेर र प्रतिवादी लिला शमशेरका एकासगोलका परिवार भएको कुरा यिनै देवेन्द्र शमशेर वादी र लिला शमशेर प्रतिवादी भएको अंश मुद्दामा मिति २०२९।८।२३ गते यसै सम्मानीत अदालतको फुल बेञ्चबाट बाबु जीवित छउन्जेल छोराले बाबुउपर अंश दावी गर्न पाउँदैन भनी फैसला भएकोले त्यो मुद्दाको परिणाम स्वरुप लिला शमशेर र देवेन्द्र शमशेर सगोलको ठहरी हाल अंशमा दावी गर्न नपाउँने गरी भएको फैसलाले पनि देखाउँछ । मिति २०१६।१।१६ गतेदेखि भिन्न भएको छ भन्ने वादीको कथनलाई यो मिति ०३९।८।२३ गतेको फैसलाले मान्यता दिएको छैन यदि मानो छुट्टिएको भए यस २०२९ सालको फैसलाले नै त्यो कुरा भन्नु पर्नेमा नभनेको कारणले मानो छुट्टिएको भनी भन्न मिल्दैन । मानो छुट्टिएको भन्नलाई लिखत पारित हुनु पर्ने वा अदालतबाट ठहर हुनुपर्छ ती दुवै कुरा यो मुद्दामा छैन । अंशबण्डाको महलको २८,३७ नं. अनुसार अंशबण्डा गर्दा नरम गरम मिलाई गर्नु पर्नेमा यस भन्दा अघिको फुल बेञ्चले नरम गरम हेर्दै नहेरी वीरगंजको कम मूल्यको जग्गा र नेपाल अधिराज्यको सबभन्दा बढी मूल्य पर्ने काठमाडौंको जग्गाको एकै रुपमा तुलना गरी निर्णय गरेको छ । जग्गाको क्षेत्रफललाई लिएर होइन मूल्यलाई लिएर जग्गाको तुलना गर्नु पर्दछ । १२१२० लिला शमशेरको नाममा रहेकोमा ८२ मा बिक्री गरेकोले आधा भन्दा कम नै बिक्री गरेको देखिने भनी यस अघिको फुल बेञ्चले निर्णय गर्दा लिएको आधार मिलेको छैन । फुल बेञ्चको फैसलाले लिला शमशेरको नाममा यो जग्गा यति बाँकी छ, भनेर देखाउँन सकेको छैन । मिति २०३३।१।२२ मा मेरो पक्षले भूमिप्रशासन कार्यालय, काठमाडौंबाट सारेको श्रेस्ताबाट लिला शमशेरको नाममा जग्गा बाँकी रहेको देखिँदैन । लिला शमशेरले बिक्री गरेको सम्पत्ति देवेन्द्र शमशेरको पनि हक लाग्ने हुनाले उनको आधा हक बदर हुनु पर्दछ । अतः यस अदालत फुल बेञ्चबाट लिखत बदर नहुने ठहर्‍याएको निर्णय मिलेको नदेखिएकोले सो फैसला बदर गरी वादी दावी बमोजिम लिखत बदर गरिपाउँ भनी गर्नुभएको बहस समेत सुनियो र वादीतर्फका विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले पेश गर्नुभएको बहस नोट समेत अध्ययन गरियो ।

१८.    प्रतिवादी लामु अमात्यका तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री गणेशराज शर्माले निवेदक वादीले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारमा मुद्दा दोहोर्‍याई पाउँ भनी विन्तिपत्र चढाउनु भएकोमा व्यहोरा साँचो भए फुल बेञ्चबाट दोहोर्‍याई हेरिदिनु भन्ने हुकुम प्रमांगी बक्स भएर आएकोछ । तसर्थ प्रस्तुत मुद्दामा मुद्दाको विषय वस्तुमा प्रवेश गर्नु भन्दा अघि निवेदकको विन्तिपत्रको व्यहोरा साँचो छ, छैन हेर्नु पर्दछ । निवेदक देवेन्द्र शमशेरले विन्तिपत्रमा अंश मुद्दामा सगोलको अंशियार मानि २०२९ सालमा फुल बेञ्चबाट फैसला भएको थियो भन्ने उल्लेख गर्नुभएको छ तर निजलाई सगोलको अंशियार मानी सर्वोच्च अदालतको फुल बेञ्चबाट २०२९ सालमा फैसला भएको होइन । त्यस मुद्दामा अंशमा दावी गर्न पाउँने निजको हकदैयामा नै सीमित रही निजको प्रवेशाधिकारलाई नै अस्वीकार गरी दावी बमोजिम इन्साफ गर्न नमिल्ने भनी दावी खारेज गरिएको छ । त्यस्तै गरी विन्त्रिपत्रमा बाबु लिला शमशेरले एक टुक्रा जग्गा पनि बाँकी नराखी बिक्री गरे भन्ने जुन व्यहोरा उल्लेख गरेको छ त्यो पनि विलकूल झुठ्ठा    छ । लिला शमशेरको नाममा हा.नं.४४ मा मिति २०१९।१०।१६ मा दर्ता भएको काठमाडौं सेतो दरवारको रोपनी १२१२० जग्गाको दर्ता उतार जुन निवेदकले विन्तिपत्रसाथ संलग्न गर्नुभएको छ उक्त दर्ता उतार श्रेस्ता हेर्दा लिला शमशेरले रोपनी ८२ मात्र बेचविखन गर्नु भई रोपनी ४२ बाँकी नै रहेको देखिन्छ । त्यस अतिरिक्त मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति  २०३६।१०।२३ गतेको आदेश बमोजिम मालपोत कार्यालय, काठमाडौंबाट झिकाई आएको मिति २०३६।१२।२२ को दर्ता उतारमा लिला शमशेरको शेषपछि निजको हकवाला छोराको हैसियतले निज वादीले मिति २०३३।५।२३ मा २१५२ जग्गा आफ्नो नाममा नामसारी दर्ता गराउनु भएको जग्गा मध्ये विभिन्न व्यक्तिहरुलाई आफूले विभिन्न व्यहोराबाट हक छाडी दिनु भएको कुरा उक्त दर्ता उतारबाट देखिएकोले एक टुक्रा जग्गा पनि बाँकी नराखी बाबुले जग्गा बिक्री गरेको भन्ने विपक्षीको विन्तिपत्रको व्यहोरा साँचो नभई सरासर झुठ्ठा भएकोले हुकुम प्रमांगीद्वारा निर्धारित पूर्वावस्थाको अभावले गर्दा मुद्दा नदोहोर्‍यार्ई निवेदन तामेलीमा राखिनु पर्दछ । प्रस्तुत लिखत बदर मुद्दाको नालेश परेको बेला बहाल रहेको लेनदेन व्यवहारको १० नं.बमोजिम बाबुले ऐनले आफूखुसी गर्न पाउने अरुको मञ्जूरी लिनु नपर्ने बाहेक अचल सम्पत्ति बेचबिखन गरेमा अंश नभई एका घरसंग बसेकोले मात्र आफ्नो हक जति सम्पत्ति फिर्ता पाउन उजूर गर्नसक्ने व्यवस्था थियो । यस व्यवस्था अनुसार मानो छुट्टिई अलग बसेको अंशियारले उक्त १० नं.बमोजिम नालेश उजूर गर्न पाउने हकदैया थिएन । यिनै वादीले यिनै प्रतिवादी लिला शमशेरउपर मिति २०१७।९।२२ मा दिएको अंश मुद्दाको फिरादपत्रमा २०१६।१।१६ गतेदेखि भिन्न बसेको छु, भन्ने उल्लेख भएको त्यस्तै वादी देवेन्द्र शमशेर प्रतिवादी लिला शमशेर समेत भएको करकाप मुद्दाको फिरादपत्रमा पनि भिन्न बसेको कुरा उल्लेख गरेबाट समेत वादी देवेन्द्र शमशेर लिला शमशेरसंग अंश नभई एकासगोलमा बसेको ठहर्‍याउनु मिल्दैन । देवेन्द्र शमशेर लिला शमशेरको बीचमा २००९ सालमा नै घरसारमा बण्डापत्र भएको र तत्काल बहाल रहेको ऐन अनुसार उक्त बण्डापत्र पास हुनु पर्ने बाध्यता नभएको हुनाले सो बण्डापत्र कानुनी मान्यता प्राप्त लिखत भएकोले लिला शमशेरले आफ्नो नाममा रहेको घरजग्गा बेचबिखन गर्दा छोरा स्वास्नी कसैको पनि मञ्जूरी लिनु पर्दैन । उक्त घरजग्गा बिक्री गरेको अवस्थामा वादी देवेन्द्र शमशेर सगोलकै मानिए तापनि निजको हक पुग्ने भन्दा बढी जग्गा बाँकी नै रहेकोले लेनदेनको १० नं. अन्तर्गत आफ्नो हक पुग्ने जति कायमै रहेकोमा नालेश लाग्ने कुनै अवस्था छैन तसर्थ वादी दावी बमोजिम लिखत बदर नहुने ठहर्‍याएको यस अदालत फुल बेञ्चको निर्णय कायमै राखी पाउँ भनी गर्नुभएको बहस सुनिनुका साथै पेश गर्नुभएको बहस नोट समेत अध्ययन गरियो ।

१९.     आज निर्णय सुनाउँन तोकिएको प्रस्तुत मुद्दा यस अदालतको फुल बेञ्चबाट वादी दावी बमोजिम लिखत बदर नहुने ठहर्‍याएको निर्णय मिलेको छ छैन हेर्नु परेको छ । यस्मा बुबा लिला शमशेरले म सगोलमा बसेको छोराको अंश मार्ने नियतले मेरो मिति २०२९।९।१५।६ मा ३२ जग्गा र सो जग्गामा बनेको घर लामु अमात्यलाई राजीनामा पारित गरिदिनु भएकोले मेरो अंश हकको आधी जग्गाको लिखत बदर गरी मेरो हक कायम गरी आधी जग्गा निखनाई पाउँ भन्ने मुख्य दावी वादीले लिएको देखिन्छ । वादी अंश लिई भिन्न भइसकेको हुनाले वादीको मञ्जूरी लिन पर्ने होइन भन्ने समेत प्रतिउत्तर जिकिर प्रतिवादीहरुले लिएको पाइन्छ । यसरी वादीले प्रतिवादी लिला शमशेरले प्रतिवादी लामु अमात्यालाई बिक्री गरेको घर जग्गा मध्ये आधी जग्गाको लिखत बदर गरिपाउँ भन्ने एउटा दावी र आधा जग्गा निखनाई पाउँ भनी अर्को दावी गरी जम्मा दुई कुराको दावी लिई फिराद गरेकोमा निखन्न पाउँ भन्नेतर्फ वादी दावी खारेज हुने ठहर्‍याई काठमाडौं जिल्ला अदालतले गरेको निर्णयलाई मनासिब ठहर्‍याई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा यी वादीले चित्त बुझाई बसेको देखिँदा निखनाई पाउँ भन्ने विषय विचार गरी रहन परेन ।

२०.    अब एकासगोलको बाबु लिला शमशेर ज.ब.रा.ले मेरो मञ्जूरी नलिई प्रतिवादी लामु अमात्यलाई मिति २०२९।९।१५।६ मा राजीनामा पारित गरी  दिएको लिखतको जग्गा मध्ये आधा जग्गाको हकमा लिखत बदर गरिपाउँ भन्ने वादी दावी भएकोमा वादीको उक्त दावी अनुसार लिखत बदर हुने हो, होइन भन्ने विषयमा निर्णइ दिनलाई प्रस्तुत मुद्दामा निम्न प्रश्नको निपटारा गर्नु परेको छ :

                ()         वादी देवेन्द्र शमशेर ज.ब.रा.र प्रतिवादी लिला शमशेर ज.ब.रा.एकासगोलका हो वा होइन ?

                ()         प्रतिवादीले बिक्री गरेको जग्गाको लागि वादीको मञ्जूरी लिनु पर्ने नपर्ने ?

                ()          आधिभन्दा बढी जग्गा बाँकी राखी बिक्री भएको हो वा होइन ?

                ()          वादी दावी बमोजिमको लिखत बदर हुने हो वा होइन ?

 

२१.    पहिलो प्रश्न देवेन्द्र शमशेर ज.ब.रा.र प्रतिवादी लिला शमशेर ज.ब.रा.एकासगोलका हो वा होइन, भन्ने प्रश्नतर्फ हेर्दा वादीले प्रस्तुत मुद्दाको फिराद गर्दा फिरापत्रको प्रकरण नं. (२) मा मैले बुबाज्यू लिला शमशेर ज.ब.रा.उपर मिति २०१७।९।२२ मा दायर गरेको अंश मुद्दामा सर्वोच्च अदालत फुल बेञ्चबाट त्यसबखत बहाल रहेको अंशबण्डाको २८ नं. मा बाबुको जिउ छउन्जेल छोराहरुको अंश हक लाग्दैन भन्ने व्यवस्था हुनाले बाबुबाट अंश दिलाई पाउँ भन्ने दावी पुग्न सक्दैन भन्ने निर्णय मिति २०२९।८।२३ मा भएको छ । उक्त निर्णयानुसार विपक्षी मध्येका मेरा बुबाज्यू मे.ज.लिला शमशेर ज.ब.रा.र म एकासगोलका अंशियार कायम भएको छौंभन्ने कुरा उल्लेख गरेको देखिन्छ । वादी देवेन्द्र शमशेरले आफ्नो फिरादमा देखाउनु भएको अंश मुद्दामा सर्वोच्च अदालत फुल बेञ्चबाट मिति २०२९।८।२३।६ मा भएको फैसला हेर्दा उक्त फैसलामा कहीं कतै पनि वादी देवेन्द्र शमशेर र प्रतिवादी लिला शमशेर एकासगोलको अंशियार हुन्, भन्ने कुरा उल्लेख गरेको देखिँदैन । बरु यिनै वादी देवेन्द्र शमशेरले लिला शमशेरउपर दिएको उक्त अंश मुद्दाको फिरादपत्रको तपसील खण्डमा बुबा मुमासंग मुद्दै गर्नु परेकोले चित्त नमिली २०१६ साल बैशाख १६ गतेदेखि भिन्न बसी खानपिन गरी बसेको छु । मानो छुट्टिई भिन्न बसेका मिति २०२१।१।१६ गतेका अघिल्ला मिति तकको मौसूफ बुबाज्यू मे.ज.लिला शमशेर ज.ब.रा.बाट चलअचल श्रीसम्पत्ति गैरको तायदाती लिई मैले पाउँने १ बण्डा छुट्याई पाउँ भन्ने उल्लेख गरेको छ । यस्तै गरी प्रमाणको रुपमा पेश भएको वादी यिनै देवेन्द्र शमशेर ज.ब.रा.प्रतिवादी लिला शमशेर ज.ब.रा.समेत भएको करकाप मुद्दामा पनि यि वादी देवेन्द्र शमशेरले मिति २०१६।२।११।३ मा दिएको फिरादपत्रको तपसील खण्डमा यही २०१६ साल बैशाख १५ गतेका दिन मलाई बुबाज्यूबाट बोलाई बक्सेकोछभनी सु.रत्नबहादुरले खबर दिएकाले ४ बजेको टायममा जाँदा अन्यायवाला सबै बैठकमा बस्नु भएको रहेछ । मलाई देख्नासाथै घर भाडामा दिन लागेको छु मञ्जूरीको कागजमा सहिछाप गरी देउ भनी ठुलो मुमाबाट भन्नु भयो मैले सही गर्नुपर्ने कारण छैन, भिन्न भई छुट्टै रहेको छोराको मञ्जूरी चाहिने छैन भन्दा बुबाज्यू रिसाउनु भयोभन्ने उल्लेख गरेको छ । यसरी एकासगोलको छोराको मञ्जूरी नलिई घरजग्गा बिक्री गरेको कारणले आफ्नो हकको आधि लिखत बदर गरिपाउँ भनी प्रस्तुत मुद्दामा फिराद दावी लिने वादी देवेन्द्र शमशेर ज.ब.रा.ले आफू स्वयं वादी भई लिला शमशेर समेतउपर दिएको अंश तथा करकाप संग कागज गरायो भन्ने मुद्दामा दिएको फिरादपत्रमा आफू बुबा लिला शमशेर ज.ब.रा.सँग ०१६ साल बैशाख महिनादेखि नै छुट्टिई भिन्न भइसकेको कुरा लिखित रुपले स्वीकार गरिसकेकोमा अब आएर आफू लिला शमशेरको एकासगोलको भनी भन्न प्रमाण ऐन, २०३१ को दफा ३४ ले निजलाई विबन्धन लाग्ने एकपटक स्वीकार गरिसकेको तथ्यलाई अस्वीकार गर्न नपाउने हुनाले वादी देवेन्द्र शमशेर ज.ब.रा.प्रतिवादी लिला शमशेर ज.ब.रा.को एकासगोलको हुन् भन्न मिलेन ।

२२.    प्रतिवादीले बिक्री गरेको जग्गाको लागि वादीको मञ्जूरी लिनु पर्ने नपर्ने दोस्रो प्रश्नको हकमा  हेर्दा तत्कालिन मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. मा अंशै नभई एकाघर संग बसेकोले अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफू खुशी गर्न पाउँने अरुको मञ्जूरी लिनु नपर्नेमा बाहेक अरुमा एकाघर संगका सबैको मञ्जूरीको लिखत गरिदिएको भएमात्र पक्का ठहर्छभन्ने व्यवस्था भएको पाइन्छ । यसरी यस ऐनले एकाघरसंग बसेकाले अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुसी गर्न पाउँने अचल सम्पत्ति भएमा अरुको मञ्जूरी लिनु नपर्ने र ऐनले आफखुशी गर्न नपाउने अचल सम्पत्ति भएमा अरु एकाघरसंग बसेका सबैको मञ्जूरीको लिखत हुनु पर्ने बाध्यात्मक व्यवस्था गरेको छ तर ऐनले आफूखुसी गर्न नपाउने अचल सम्पत्ति बेचबिखन गर्दा वा अरु कुनै किसिमले हक छाडी दिंदा एकासगोलमा संग नबसेकाको समेत उक्त व्यवहार गर्नाका लागि मञ्जूरीको लिखत हुनु पर्ने व्यवस्था गरेको नदेखिएबाट एकासगोलसंग नबसी छुट्टिई भिन्न भई बसेकाको मञ्जूरीको लिखत नभएमा पनि अचल सम्पत्ति बिक्री गरेको वा अरु कुनै किसिमले हक छाडी दिएको व्यवहार पक्का हुन्छ ।

२३.    प्रस्तुत मुद्दामा माथि पहिलो प्रश्नको निराकरणबाट वादी देवेन्द्र शमशेर ज.ब.रा.प्रतिवादी लिला शमशेर ज.ब.रा.संग छुट्टिई भिन्न भइसकेको देखिएबाट त्यसबेला बहाल रहेको लेनदेन व्यवहारको १० नं. अनुसार लिला शमशेरले वादी दावी बमोजिमको सम्पत्ति बिक्री गर्नाका लागि वादी देवेन्द्र शमशेरको मञ्जूरी लिइरहनु पर्ने देखिएन ।

२४.    आधि भन्दा बढी जग्गा बाँकी राखी बिक्री भएको हो वा होइन भन्ने तेस्रो प्रश्नतर्फ हेर्दा तत्कालीन मुलुकी ऐन, अंशबण्डाको १९ नं. मा अंश नलिएका स्वास्नी छोरा वा विधवा बुहारी हुने मानिसको चलअचल सम्पत्तिमा देहायमा लेखिएबमोजिम हुन्छ भन्दै देहाय १ मा पितापूर्खाको पालाको चलअचल गैर सम्पत्तिको हकमा चलमा सबै र अचलमा आधी सम्म व्यवहार चलाउनलाई स्वास्नी छोरा वा विधवा बुहारीको मञ्जूरी नभए पनि आफूखुश गर्न पाउँछ अचलमा आधि भन्दा बढी भने व्यवहार चलाउनै परे पनि एक्काइस वर्ष नाघेका स्वास्नी छोरा र विधवा बुहारीहरुको मञ्जूरी लिई मात्र खर्च गर्न हुन्छ । मञ्जूरी नलिई गरेको सदर हुँदैनभन्ने व्यवस्था भएको पाइन्छ । यस ऐनले गरेको व्यवस्था अनुसार घरको मूलीले घर व्यवहार चलाउनका लागि पनि पितापूर्खाका पालाकोमा पनि चलमा सम्पूर्ण र अचलमा आधी आफूखुश गर्न पाउँने र यसका लागि अंश नलिएका एक्काइस वर्ष पुगेका छोरा, स्वास्नी र विधवा बुहारीको मञ्जूरी लिइरहनु नपर्ने तर घर व्यवहार चलाउनका लागि नै भएमा पनि पितापूर्खाका पालाको अचल सम्पत्ति आधी भन्दा बढी बेचबिखन आदि गर्नका लागि अंश नभएका एक्काइस वर्ष पुगेका स्वास्नी छोरा र विधवा बुहारीको मञ्जूरी लिनु पर्ने बाध्यात्मक व्यवस्था गरेको छ । अतः प्रस्तुत मुद्दामा प्रतिवादी लिला शमशेर ज.ब.रा.ले पितापूर्खाका पालाको अचल सम्पत्ति आधी भन्दा बढ्ता बिक्री गरेको छ, छैन अथवा अंशबण्डाको १९ नं. अनुसार वादी दावीको घरजग्गा बिक्री गर्नका लागि वादी देवेन्द्र शमशेर ज.ब.रा.को मञ्जूरी लिनु पर्दथ्यो कि पर्दैन सो कुरा हेर्नु पर्ने हुनआएको छ । यसतर्फ हेर्दा निवेदक देवेन्द्र शमशेरको वारिस कमलमानले काठमाडौं जिल्ला अदालतमा गरेको बयान र वादीले विन्तिपत्र साथ संलग्न गरेको दर्ता उतारको नक्कलबाट लिला शमशेरको नाममा पैतृक सम्पत्ति सेतो दरवार कम्पाउण्डको १२१२० रहेको देखिन्छ । त्यस्तै गरी प्रतिवादीले प्रतिउत्तरपत्रका साथ पेश गरेको प्रमाण वीरगंज नगर पञ्चायतबाट दिएको रसीदबाट १४ कठ्ठा जग्गा वीरगंजमा पनि देखिन आउँछ । १४ कठ्ठा जग्गाको रोपनीमा परिवर्तन गर्दा रोपनी ९० चानचुन हुन आउने हुनाले प्रतिवादी लिला शमशेर ज.ब.रा.का नाममा कूल जग्गा २२० चानचुन देखिन्छ । वादी देवेन्द्र शमशेर ज.ब.रा.को वारिस कमलमान श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा गरेको बयान तथा वादीले विन्तिपत्रसाथ संलग्न गरेको दर्ता उतारबाट प्रतिवादी लिला शमशेर ज.ब.रा.ले जम्मा जग्गा रोपनी ८२ बिक्री गरेको देखिन्छ । यसरी अंशबण्डाको १९ नं. अनुसार पैतृक अचल सम्पत्तिको आधी जग्गा ११२ प्रतिवादी लिला शमशेरले कसैको मञ्जूरी नलिई आफूखुसी गर्न पाउनेमा आधी भन्दा कम जम्मा जग्गा रोपनी ८२ जग्गा मात्र बिक्री गरेको देखिँदा वादी दावी अनुसार वादीको मञ्जूरी लिनु नपर्ने ।

२५.    अब चौथो प्रश्न वादी दावी बमोजिमको लिखत बदर हुने हो वा होइन भन्नेतर्फ हेर्दा माथि उल्लेख गरिएबमोजिम वादी देवेन्द्र शमशेर प्रतिवादी लिला शमशेरसंग २०१६ सालमा छुट्टिई भिन्न भइसकेको देखिएको र तत्कालिन मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं. अनुसार अचल सम्पत्ति बेचबिखन वा अरु कुनै किसिमले हक छाडी दिंदा एकाघरसंग नबसी छुट्टिई भिन्न बसेकाको मञ्जूरी लिनु पर्ने व्यवस्था नगरिएबाट र तत्कालिन अंशबण्डाको १९ नं. अनुसार आधी भन्दा घटी नै जग्गा बिक्री गरेको देखिएको माथि उल्लेख भएबमोजिम कसैको मञ्जूरी लिन नपर्ने हुनाले प्रतिवादी लिला शमशेरले प्रतिवादी लामु अमात्यलाई मिति २०२९।९।१५।६ मा ३२ घर जग्गाको राजीनामा गरिदिएको लिखत कानून बमोजिमको पक्का लिखत देखिएबाट उक्त घरजग्गाको लिखत बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन । लिखत बदर नहुने ठहर्‍याएको यस अदालत फुल बेञ्चको मिति २०४१।९।७।६ को फैसला मनासिब ठहर्छ । वादीबाट कोर्टफी दाखिल भइसकेको हुनाले केही गरी रहनु परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

न्या.गजेन्द्रकेशरी बास्तोला,

न्या.महेशरामभक्त माथेमा,

न्या.हिरण्येश्वरमान प्रधान,

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल भाद्र २८ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु