निर्णय नं. ३५४० - कर्तव्य ज्यान

निर्णय नं. ३५४० ने.का.प. २०४५ अङ्क ८
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०४५ सालको फौ.सा.नं. १४७
आदेश भएको मिति : २०४५।३।१।४ मा
वादी : शान्ताकुमारी लावतीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादी : जिल्ला पाँचथर यासोक गा. पं.वा.नं.२ बस्ने बलराम लावती
मुद्दा : कर्तव्य ज्यान
(१) पूर्वयोजना गरी मारेको भन्ने देखिँदैन, जाहेरीबाट अभियुक्तको मनस्थिति स्थिर नभएको भन्ने पनि देखिने, यस स्थितिमा अपराधको अवस्थाबाट समेत प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) नं.अन्तर्गत सजायँ गर्दा चर्को पर्ने देखिएबाट निज अभियुक्तलाई अ.बं.१८८ नं.ले कैद वर्ष १० हुने ।
(प्रकरण नं. १३)
फैसला
प्र.न्या.धनेन्द्र्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतले साधक जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :
२. मिति २०४३।१२।५ गते बलराम लावतीको केही दिमाग बिग्रेकोले भाइ दाताराम लावतीलाई कुटपिट गरेकोमा ऐ.भोलिपल्ट ६ गते भित्र दातारामको मृत्यु भएको भन्ने यासोकबाट आ.वा. र मेरो जेठाजु बलराम लावतीले पहिलादेखि नै मगज बिग्रेको थियो । २०४३।१२।५ गते मेरो लोग्ने दाताराम लावतीलाई फलामको पाताले हिर्काई रगतपक्ष पारेको सोही चोटपीरबाट मेरो लोग्ने दाताराम लावतीको भोलिपल्ट मृत्यु भएकोले कारवाही गरिपाउँ भन्ने श्रीमती शान्ताकुमारी लावतीको डोर मुकाममा मिति २०४३।१२।८ गतेको जाहेरी दर्खास्त पत्र ।
३. मृतक दातारामको सुतीको खरानी रङ्गको शर्ट कटनको सेतो सुरुवाल दुवै गोडा तन्किएको नाडीमा पहेलो डायल कालो रङ्ग प्लाष्टिकको चेन भएको इण्डियन मेड सोना घडी बाँधेको दुवै हातको औला केही बाँंिङ्गएको दुवै आँखा बन्द मुख अर्ध खुल्ला रगत बगी रहेको टाउकोको तालुको बीच भागमा अं.२½ ईन्च लम्बाई १½ ईन्च गहिराईको घाउ १ चोट देखिएको सो चोटबाट हड्डी फुटी केही गिदी बाहिर निस्की रगत बगी रहेको देखिएको टाउको पुरै रगतले भिजेको शरीरको अन्य भागमा चोट निल घाउ नभएको मलद्वारबाट र लिङ्गबाट केही पनि ननिस्किएको भन्ने मिति २०४३।१२।८ को लाश प्रकृति मुचुल्का ।
४. गतेबार थाहा छैन महिना चैत्र हो मेरो र भाइको एउटै घरमा आधा आधा गरी बसेको थियो । भाइ दातारामले तला माथि सामान राख्ने गरेको थियो मेरो पनि हँसिया र ढोक्से तला माथि भएकोले लिन गएको थिएँ । त्यसै अवस्थामा भाइले खुकुरी हातमा लिएर तलामाथि जाँदा लिस्नु चढ्दै गर्दा मैले देखेँ काट्छ होला भन्ने लागी गारोमा भएको फलामले भाइको टाउकोमा २ पटक हान्दा तल झर्यो मलाई डर लागी झ्यालबाट हाम फाल्दा मेरो गोडामा घाउ लाग्यो भाइले खुकुरीले काट्छ होला भन्ने डरले मैले हिर्काएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी बलराम लावतीले मिति २०४३।१२।१३ गते अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयान ।
५. लाश जाँच प्रकृतिमा लेखिएअनुसार दाताराम लावतीलाई बलराम लावतीले हिर्काएकै चोट पीरबाट मरेको हो भनी किरात हाङ लावती समेत १४ जनाले मिति २०४३।१२।३० मा लेखाई दिएको सरजमीन मुचुल्का ।
६. फलामको पातोले हिर्काएको अभियुक्त बलरामको मानसिक सन्तुलन क्षणिक अवस्थालाई ठीक नहुने भन्ने डाक्टरको लेखाई सरजमीनका मानिसहरुको भनाई भएको भए तापनि बलराम लावती घरको तलामाथि सामान लिन गएको अवस्थामा भाइ दाताराम निज बलरामले के गर्दछ भन्ने ठानी हेर्न तला माथि चढ्न लाग्दा लिसनामा नै भाइले खान नदिई हेला समेत गर्ने गरेको कारणबाट असन्तुष्ट भई भाइको टाउकोमा दाखिल भएको फलामले एक्कासी प्रहार गरी सोही चोटबाट दातारामको मृत्यु भएको समेत निज अभियुक्त बलराम लावतीको साविती बयान कागज हुँदा निजको मानसिक अवस्था सन्तुलन नभएको अवस्थामा भाइ दातारामलाई फलामले प्रहार गरी मारेको नभई निजको होस ठेगानामा भएको अवस्थामा नै फलाम प्रहार गरी दाताराम लावतीको मृत्यु भएको निजले गरेको बयान कागजबाट प्रमाणित भएकोले निज अभियुक्त बलराम लावतीले ज्यानसम्बन्धी महलको १ नं.विपरीत कसूर गरेको सिद्ध हुनआएको हुँदा सोही महलको १३(३) नं.बमोजिम कारवाही भई सजायँ हुन अनुरोध छ भन्ने मिति २०४४।१।४ को प्रहरी प्रतिवेदन ।
७. साल महिना गते बार थाहा छैन हामी बस्ने गरेको घरको तला माथि मृतक भाइ दातारामले सामान राख्ने गरेको मेरो पनि तला माथि हँसिया र ठोक्से भएकोले सो हँसिया र ठोक्से लिन भनी तला माथि चढेको थिएँ । सो अवस्थामा भाइ दाताराम खुकुरी लिई तलामा आउनलाई लिस्नो चढ्दै गरेको मैले देखँे मलाई काट्छ होला भन्ने लागी तला माथि गारोमा भएको फलामको पाताले भाइ दातारामको टाउकोमा दुईचोटी हिर्काएँ भाइ लिस्नोबाट तल झरे । म गारोको झ्यालबाट हाम फाल्दा मेरो हात र खुट्टामा चोट लागेकोले मैले हिर्काएकै चोटपिरबाट मरेका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी बलराम लावतीले मिति २०४४।१।६ गते पाँचथर जिल्ला अदालतमा गरेको बयान ।
८. फलामको पाताले दातारामको टाउकोमा २ चोटी हिर्काएको चोट पीरबाट मरेको भनी प्रतिवादी बलरामले साविती बयान गरेको जाहेरवाला शान्ताकुमारी र सरजमीनका मानिस पूर्णबहादुर, विराटहाङले मृतक दातारामलाई प्रतिवादीले नै कुटपिट गरी मारेका हुन् भनी बकेका छन् । टाउकोमा लागेको घाउबाट रक्तश्राव भई मृत्यु भएको हो भन्ने चिकित्सकको राय छ । तसर्थ उक्त कारणले गर्दा मृतक दातारामलाई प्रतिवादी बलराम लावतीले फलामको पाताले टाउकोमा हिर्काई कर्तव्य गरी मारेको ठहर्छ । प्रतिवादीको मानसिक सन्तुलन समेत स्थिर नभएको जाहेरीबाट समेत देखिन्छ । अपराधको अवस्था विचार गर्दा प्रतिवादी बलरामलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजायँ दिंदा सजायँ चर्को हुने देखिन आएकोले अ.बं.१८८ नं.बमोजिम कैद वर्ष १० हुने ठहर्छ भन्ने पाँचथर जिल्ला अदालतको मिति २०४४।३।३० गतेको जाहेरी फैसला ।
९. कर्तव्य गरी मारेको परिस्थितिलाई दृष्टिकोण गरी शुरुले अ.बं.१८८ नं.लगाई राय लगाएतर्फ हेर्दा राय लगाई जाहेर गर्नुपर्ने स्थिति देखिँदा राय लगाएको पनि मनासिबै छ । त्यसरी राय जाहेर गर्दा राय सम्म उल्लेख गर्नुपर्ने ठहर अनुसार नै सजायँ तोकेकोसम्म नमिलेकोले सजायँको लगतको हकमा ज्यानसम्बन्धी १३(३) अनुसारको लगत कायम राख्ने गरी सुधार गरिदिने र साधक सदरको लागि पूर्वाञ्चल क्षेत्रीय अदालतमा पठाउने भन्ने समेत मेची अञ्चल अदालतको फैसला ।
१०. ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम प्रतिवादी बलराम लावतीलाई सजायँ गर्ने गरेको पाँचथर जिल्ला अदालतको इन्साफ सदर गरेको मेची अञ्चल अदालतको फैसला मिलेको देखिँदा साधक सदर हुने ठहर्छ प्रतिवादीको मानसिक अवस्था असन्तुलित रहने गरेको र कर्तव्य गरी मारेको अवस्थालाई दृटिगत राख्दा जिल्ला अदालतले प्रतिवादी बलराम लावतीलाई अ.बं.१८८ नं.बमोजिम कैद वर्ष १० गर्न राय समेत प्रस्तुत गरेकोलाई सदर गरेको मेची अञ्चल अदालतको राय मनासिब देखिन्छ भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।१।३ को फैसला ।
११. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन साधक जाँची निर्णय दिनु पर्ने हुन आएको छ ।
१२. यस्मा निर्णयतर्फ हेर्दा जेठाजू बलराम लावतीको पहिलादेखि मगज बिग्रेको थियो । मिति २०४३।१२।५ गते मेरो लोग्ने दातारामलाई फलामको पाताले हिर्काएको चोट पीरबाट लोग्ने दातारामको भोलिपल्ट मृत्यु भएकोले कारवाही गरिपाउँ भन्ने मर्नेकी श्रीमतीको जाहेरीबाट प्रस्तुत मुद्दाको कारवाही भएको देखिन्छ । अभियुक्त बलराम लावतीले अदालतमा बयान गर्दा घरको तला माथि मृतक भाइ दातारामले सामान राख्ने गरेको मेरो पनि हसिँया र ठोक्से भएकोले हँसिया र ठोक्से लिन भनी तला माथि चढेको थिएँ सो अवस्था भाइ दाताराम खुकुरी लिई तलामा आउन लिस्नु चढ्दै गरेको मैले देखें मलाई काट्छ होला भन्ने लागी तलामाथि गारोमा भएको फलामको पाताले भाइ दातारामको टाउकोमा दुईचोटी हिर्काएको चोटबाट मरेको हो भनी घटनाक्रम समेत उल्लेख गरी आफूले गरेको अपराधलाई स्वीकारी सावित भएको पाइन्छ । लाश जाँच प्रकृति मुचुल्काबाट मर्ने दातारामको टाउकोमा घाउ चोट परेको र हड्डी फुटी केही गिदी बाहिर निस्केको भन्ने उल्लेख भएको देखिन्छ । सरजमीनका व्यक्ति पूर्णबहादुर लावती, किरात हाङ, प्रमाणसिंह लावती र जाहेरवाली शान्ताकुमारी लावती समेतले प्रतिवादी बलराम लावतीले हिर्काएको चोट पीरबाट दातारामको मृत्यु भएको हो भनी अदालतमा समेत आई बकपत्र गरेको पाइन्छ । यसबाट समेत प्रतिवादीको साविति पुष्टि भएको देखिन्छ । अभियुक्त बलराम लावतीलाई अपराधी ठहराए उपर निजले पुनरावेदन गर्नसकेको पनि छैन । यस स्थितिमा तथ्ययुक्त सबूद प्रमाण बेगर निज प्रतिवादी बलराम लावती निर्दोष रहेछ भन्न सकिने अवस्था रहेन । तसर्थ मर्ने दाताराम लावतीलाई अभियुक्त बलराम लावतीले फलामको पाताले हिर्काई कर्तव्य गरी मारेको ठहराएको पाँचथर जिल्ला अदालतको इन्साफ सदर गरेको मेची अञ्चल अदालतको फैसला सदर गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले साधक जाहेर गरेको इन्साफ मनासिब ठहर्छ ।
१३. अब घटी सजायँ हुनुपर्छ भनी राय लगाएतर्फ हेर्दा प्रतिवादी बलराम लावतीले बयान गर्दा हँसिया र ठोक्से लिन भनी तलामाथि चढेको थिएँ, भाइ दाताराम खुकुरी लिई आउन लागेको देखी काट्छ भन्ने लागी फलामको पाताले हिर्काएको भनेको पाइन्छ । तर पूर्व योजना गरी मारेको भन्ने देखिँदैन । जाहेरीबाट अभियुक्त बलराम लावतीको मनस्थिति स्थिर नभएको भन्ने पनि देखिन्छ । यस स्थितिमा घटी सजायँ हुनु पर्ने भनी शुरु पाँचथर जिल्ला अदालतले राय लगाएकोलाई मेची अञ्चल अदालतको तथा पूर्वाञ्चल क्षेत्रीय अदालतले सदर गरी राय जाहेर गरेको मनासिब देखिँदा अपराधको अवस्थाबाट समेत प्रतिवादी बलराम लावतीलाई ज्यानसम्बन्धीको १३(३) नं.अन्तर्गत सजायँ गर्दा चर्को पर्ने देखिएबाट निज अभियुक्त बलराम लावतीलाई अ.बं.१८८ नं.ले कैद वर्ष १० हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी बलराम लावतीके माथि इन्साफ खण्डमा लेखिएअनुसार अ.बं.१८८ नं.ले कैद वर्ष १० दश हुन्छ । निज मिति २०४३।१२।९ गतेदेखि थुनामा परेको हाल जिल्ला कार्यालय कारागार शाखा पाँचथरमा थुनामा रहेको मिसिलबाट देखिँदा थुनिएका मितिदेखि कैद कट्टी गरी कानून बमोजिम गर्नु भनी पाँचथर जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु ...१
प्रतिवादी बलराम लावतीके माथि लेखिएअनुसार १० वर्ष मात्र कैद हुने भएकोले मेची अञ्चल अदालतका मिति २०४४।८।६ को फैसलाले ज्यानसम्बन्धीको १३(३) नं.अनुसारको सजायँको लगत कायम राख्ने गरेको लगत काटी दिनु भनी ऐ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु ...२
कैद वर्ष १० दश लाग्ने गरी साधक निर्णय भएको सूचना प्रतिवादी बलराम लावतीलाई दिनु.......३
मिसिल नियम बमोजिम गरी बुझाई दिनु......................... ४
उक्त रायमा म सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०४५ साल आषाढ १ गते रोज ४ शुभम् ।