निर्णय नं. ३५५० - अंश

निर्णय नं. ३५५० ने.का.प. २०४५ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् ०४४ सालको दे.पू.नं. ५४४
फैसला भएको मिति : २०४५।६।१७।२ मा
पुनरावेदक/वादी : गोमा खत्रीको मु.स.गर्ने ल.पु.न.पं.वा.नं.२ बस्ने लक्ष्मी सिलवाल
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : ल.पु. गोदामचौर गा.पं.वा.नं.७ बस्ने गोविन्द खत्री भन्ने गोविन्दबहादुर खत्री
मुद्दा : अंश
(१) बकसपत्र दिनेको मृत्यु भएपछि निजले गरिदिएको शेषपछिको बकसपत्रको नाताले निजको हक बकस पाउनेमा सर्ने र निज बकस दिनेको अंश भागमा बकस पाउनेको हक स्थापित हुने ।
(प्रकरण नं. ९)
(२) मुद्दा चल्दाचल्दै बकस दिनेको मृत्यु भएकोमा निजले गरिदिएको शेषपछिको बकसपत्र बमोजिम निजको अंश भागको दैयादार बकस पाउने मानिने ।
(प्रकरण नं. ९)
(३) बकसपत्र विवादास्पद स्थितिमा रहेको अवस्थामा मुद्दा सकार गर्न नपाउने भन्ने आधारमा मुद्दा खारेज गर्ने गरेको मिलेको नदेखिने ।
(प्रकरण नं. ९)
पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर
प्रत्यर्थी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
उल्लिखित मुद्दा : फुल बेञ्चबाट (ने.का.प.२०३२,पृष्ठ २१८) सिद्धान्त प्रतिपादित
फैसला
न्या.पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।
२. बाजे लोकबहादुर को ३ छोरा मध्ये जेठा दुर्गाबहादुर मेरो पति तथा विपक्षीको बाबु हुनुहुन्थ्यो । बाजे बज्यै परलोक भइसकेपछि मेरो पति तथा देवरहरुको बीच बण्डापत्र भइसकेको रहेछ । मेरो पतिको २ श्रीमती मध्ये म जेठी हुँ र कान्छीको एक मात्र छोरा विपक्षी हुन । पति दुर्गाबहादुरको २०३२ सालमा मृत्यु भएको र कान्छी सौताको पनि मृत्यु भइसकेकोले सम्पूर्ण सम्पत्तिको अंशियार म र विपक्षी मात्र भएकोमा लोग्ने मानिसको हैसियतले विपक्षीले नै सम्पूर्ण सम्पत्ति रेखदेख गर्ने गरिरहेकोमा आफ्नो औकात अनुसारको दान पूण्य गर्न केही पैसा देउ भन्दा पनि नदिएको र मलाई राम्रोसँग हेरचाह पनि नगर्ने तथा खान पनि नदिने गर्दा मिति ०४१।७।१३ गते मैले विपक्षीसँग मेरो अंश भाग छुट्याई देउ भनेको अंश दिन्न भनेकोले मेरो लोग्नेको चलअचल विपक्षी जिम्मा भएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छट्टिएको मिति कायम गरी तायदाती लिई सो बाट मैले पाउँने २ खण्डको १ खण्ड अंश दिलाई पाउँ र अड्डैबाट बण्डा समेत गराइपाउँ भन्ने समेत व्यहोराको गोमा खत्रीको मिति २०४१।८।६ को फिरादपत्र ।
३. यो फिरादका वादी गोमा खत्री मिति २०४१।२।२३ गतेको दिन आफ्ना कालगतिले परलोक भइसकेका छन । परलोक नहुँदासम्म मैले नै आफ्नो इज्जत आमद अनुसार आफू सरह खान लाउन दिई धर्मब्रत दान पूण्य समेत गर्न दिएको र नमरुन्जेल मैले नै औषधी उपचार गरेको र उहाँ आमाका कालगतिले मृत्यु भएपछि मैले नै दागबत्ती काजक्रिया गरी हालसम्म आसौचको पूरा सेतो पोशाकमा छु । अब यस मुद्दामा दैयादार अझ कोही हुन नसक्ने र यस अवस्थामा फिराद खारेज हुनुपर्ने हुँदा फिराद खारेज गरी अलग फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको गोविन्द खत्रीको २०४२।१।२४ को प्रतिउत्तरपत्र ।
४. वादी प्रतिवादीको अंशियार नै नहुँदा अंशीयारका नाताबाट मु.स.गरेको आधारमा प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतको मिति ०४२।४।२१ गतेको फैसला ।
५. ललितपुर जिल्ला अदालतको फैसला उपर म.क्षे.अ.मा पुनरावेदन परेको ।
६. वादी गोमादेवीको दावीको यो अंश मुद्दा दायर भएपछि परलोक भएकोमा विवाद देखिँदैन । निज वादीको यो मुद्दा सकार गर्ने छोरी बाहेक आफ्नै उदरतर्फको छोरा नभई प्रतिवादी गोविन्दबहादुर सौतातर्फको छोरा भएकोमा पनि मुख मिलेकै देखिन्छ । अंशबण्डाको १ नं.बाट जियजियकै अंशबण्डा गर्नुपर्ने निर्णय नहुँदै यो वादी परलोक भएको र अंश हक प्राप्त हुनुपूर्व पुनरावेदन जिकिर साथ मुद्दा सकार गर्नेले पेश गरेको शेषपछिको बकसपत्रबाट यो मु.स.गर्ने पुनरावेदकले आफ्नो उक्त लिखतको हक कायम गराई माग्न कानून बमोजिमको बाटो अपनाउनु पर्नेमा सो गराई मुद्दा सकार गरेको पनि नदेखिँदा अंशीयारहरुमा यो वादी गोमा खत्रीको मुद्दा निर्णय नहुँदै स्वर्गे भइसकेकोमा निजको जियमा अंश हक छुट्याउनु पर्ने समेत नहुँदा अंश पाउँ भनी वादी दावीमा कारवाही गर्न नपर्ने भनी खारेज गर्ने गरेको शुरु जिल्ला अदालतको फैसला मनासिब देखिँदा सो कायम हुने ठहर्छ । मुद्दा सकार गर्ने पुनरावेदिकाको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत ०४४।२।३ को म.क्षे.अ.को फैसला ।
७. म.क्षे.अ.को निर्णयउपर पुनरावेदनको अनुमतिको लागि आएकोमा न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (५)(ग) बमोजिम पुनरावेदनको अनुमति दिइएको भन्ने समेत यस अदालतको मिति ०४४।३।२६ को आदेश ।
८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको मिसिल समेत अध्ययन गरी पुनरावेदक वादी लक्ष्मी सिलवालको तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर तथा प्रत्यर्थी प्रतिवादीतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले गर्नुभएको बहस जिकिर समेत सुनियो । अब म.क्षे.अ.को इन्साफ मिलेको छ छैन सोको निर्णय दिनु परेको छ ।
९. निर्णयतर्फ विचार गर्दा यसमा वादी प्रतिवादीका बीच अंश मुद्दा चल्दाचल्दै वादीको मृत्यु भएकोमा बकसपत्र पाउने छोरीले सो लिखतको आधारमा मुद्दा सकार गरेको देखिन्छ । यस्तोमा बकसपत्र दिनेको मृत्यु भएपछि निजले गरिदिएको शेषपछिको बकसपत्रको नाताले निजको हक बकस पाउनेमा सर्ने र निज बकस दिनेको अंश भागमा बकस पाउनेको हक स्थापित हुने हुनाले मुद्दा चल्दाचल्दै बकस दिनेको मृत्यु भएकोमा निजले गरिदिएको शेषपछिको बकसपत्र बमोजिम निजको अंश भागको दैयादार बकस पाउने मानिने र निजले तत्कालिन अ.बं.१७४,६२ नं.बमोजिम सकार गर्न पाउने भन्ने यस अदालतको फुल बेञ्चबाट (ने.का.प.२०३२, पृष्ठ २१८) सिद्धान्त समेत प्रतिपादित भइसकेको हुँदा अंश मुद्दाको निर्णय नहुँदै बकसपत्रको आधारमा मु.स.गरेको नमिल्ने भनी वादी दावीको कारवाही गर्न नपर्ने गरी गरेको शुरु जि.अ.को फैसला मनासिब ठहर्याई गरेको म.क्षे.अ.को फैसला प्रतिपादित नजीर विपरीत भई त्रुटिपूर्ण देखिनुको साथै यिनै वादी प्रतिवादीका बीच बा.अं.अ.मा बकसपत्र बदर मुद्दा पनि चलिरहेको देखिँदा बकसपत्र दायर हुने नहुने कुरा सो मुद्दाबाट निर्णय हुने नै हुँदा त्यसरी बकसपत्र विवादास्पद स्थितिमा रहेको अवस्थामा मुद्दा सकार गर्न नपाउने भन्ने आधारमा मुद्दा खारेज गर्ने गरेको समेत मिलेको नदेखिँदा म.क्षे.अ.को फैसला बदर हुने ठहर्छ । कानून बमोजिम पुनः निर्णय गर्नु भनी सम्बन्धित पक्ष विपक्षलाई तारेख तोकी मिसिल बागमती अञ्चल अदालतमा पठाई दिने ठहर्छ ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ साल आश्विन १७ गते रोज ३ शुभम् ।