शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५५३ - उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ

भाग: ३० साल: २०४५ महिना: मंसिर अंक:

निर्णय नं. ३५५३ ने.का.प. २०४५     अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४२ सालको रि.नं. २१९०

आदेश भएको मिति : २०४५।६।२३।१ मा

 

निवेदक : का.न.पं.वा.नं.८ बस्ने इश्वरमान मानन्धर

विरुद्ध

प्रत्यर्थी : शिक्षा तथा संस्कृति मन्त्रालयसमेत

 

विषय : उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ

 

(१)                  निजामती सेवा नियमावली, २०२१ को नियम ३.३(६) तथा ३.३(७) को व्यवस्था एउटै समूहको लागि मात्र बनेको र एक समूहबाट अर्को समूहमा जान फर्म भर्नुपर्ने भएकोले दर्खास्त दिनुपर्ने ।

(प्रकरण नं. १२)

(२)                बढुवा समितिले सम्भाव्य उम्मेदवार नबनाएको भनी सूचना दिएकोमा सो समितिलाई नै विपक्षी नबनाई दिएको प्रस्तुत  रिटमा निवेदकको माग बमोजिम आदेश दिन नमिल्ने ।

(प्रकरण नं. १३)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकूरेल

प्रत्यर्थीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा

 

आदेश

न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२.     मिति २०४३ साल आश्विन २१ गतेको गोरखापत्रमा श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा प्रकाशित बढुवाको सूचनामा चित्त नबुझी नि.से.नि., २०२१ को परिच्छेद ३ को नियम ३.१० अन्तर्गत ३५ दिनभित्र लोकसेवा आयोग केन्द्रीय कार्यालय कमल पोखरीमा उजूरी गरेकोमा लोकसेवा आयोग नीति नियम तथा उजूरी शाखाबाट पदोन्नति समितिले सम्भाव्य उम्मेदवार नबनाएको ठीकै देखिएको भनी ०४३।९।१८ मा निर्णय भएको जानकारी ०४३।१०।१।५ मा प्राप्त भयो ।

३.     मैले मिति ०१७।८।१ मा निजामति शिक्षा सेवा अन्तर्गत रा.प.अनंकित प्रथम श्रेणीमा स्थायी शिक्षक पदमा नियुक्ति पाई मिति ०२९।९।१८ मा रा.प.प्रा.तृतीय श्रेणी शिक्षा सेवाको विज्ञान शिक्षक पदमा नियुक्ति बढुवा पाई ०३०।७।१२ मा मा.वि.निरीक्षक पद रा.प.तृतीय श्रेणीमा सरुवा भई ०३४।९।४ सम्म विभिन्न जिल्लाहरुमा कार्यरत रही पुनः ०३४।९।५ देखि क्षे.शि.नि.मध्यमाञ्चल विज्ञान विशेषज्ञको रुपमा र ०३४ सालदेखि ०३९ सालसम्म क्षे.शि.नि.मध्यमाञ्चलद्वारा जिल्ला जिल्लामा सन्चालित मा.वि.तथा नि.मा.वि.स्तरमा शिक्षकहरुको लागि गणित सम्बन्धी तालीम कार्यक्रममा विशेषज्ञको रुपमा सहभागी भई कार्यक्रम सम्पादन गरी आएको, लोकसेवा आयोगद्वारा शिक्षा तथा संस्कृति मन्त्रालयको माग अनुसार ०४२।४।२ को गो.प.मा प्रकाशित सूुचना नं. १५१।०४२ मा शिक्षा सेवा अन्तर्गत शिक्षा समूहको उपसमूह गणितको लागि रा.प. द्वितिय श्रेणी सहायक सचिव वा सो सरह पद बढुवाद्वारा पूर्ती गर्ने सिलसिलामा नि.से.नि., ०२१ को परिच्छेद ३ को नियम ३.३ को उपनियम (६) अन्तर्गत दर्खास्त माग गरिएकोमा ऐ.को उपनियम (७) बमोजिम बाध्यात्मक रुपमा फर्म भरिरहन पर्ने आवश्यकता नसम्झी भरेको थिएन । म गणित समुहबाट पदोन्नतिको लागि योग्य उम्मेदवार हुँदा उम्मेदवारको सूचीमा मेरो नाम समावेश हुनपर्ने स्वतः सिद्ध छ । शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा प्रकाशित ०४३।६।२१ को सूचनामा नाम निस्केका श्री ओमकारनाथ पन्त, अर्जुनबहादुर भण्डारी दामोदर गौलीले प्राप्त गरेको अङ्क भन्दा मैले बढी अंक प्राप्त गरेको छु । मेरो जानकारीमा आएसम्म पदोन्नति हुने उम्मेदवारले कूल २२३.३३१ मात्र अंक प्राप्त गरेको र मेरो जम्मा २४१.८९० अंक छ । उक्त सूचनामा चित्त नबुझी लोकसेवा आयोगमा उजूरी गर्ने महोदरीलाल श्रेष्ठ, नारायणप्रसाद शर्मा र रिट निवेदक इश्रमान मानन्धर समेत ३ जना मध्ये २२६ अंक प्राप्त गर्ने नारायणप्रसाद शर्मालाई अर्जुनबहादुर भण्डारीलाई हटाई बढुवा गर्ने निर्णय गरेको छ आयोगबाट मिति ०४३।९।१८ मा गरिएको भनिएको निर्णयको प्रतिलिपि प्राप्त गर्न नसकेको र मलाई कति कारणले सम्भाव्य उम्मेदवार नबनाएको जानकारी भएन । सम्भाव्य उम्मेदवार हुन नि.से.नि.को ३.३.८(क) ले आपत्ति जनाएको अवस्था भित्र म नपर्ने हुँदा सम्भाव्य उम्मेदवार हुन पाउने मेरो हक अधिकार कुण्ठित  हुनसक्तैन । विपक्षी पदोन्नति समिति एवं लो.से.आ. को निर्णयबाट संविधानको धारा १०(१), ११(१), ११(२)(ङ) द्वारा प्रदत्त  हक अधिकारबाट निवेदक बन्चित हुनु परेको हुँदा उक्त निर्णयहरु बदर गरी निवेदकलाई सम्भावित उम्मेदवारहरुको सूचीमा समावेश गर्नु भन्ने परमादेशको आदेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदन ।

४.     विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत ०४३।१०।२१।४ को एक न्यायाधीशको इजलासको आदेश ।

५.     नेपालको शिक्षा सेवा (समूह तथा श्रेणी विभाजन, नियुक्ति र बढुवा) नियमहरु, २०४२ को नियम ४ को उपनियम २ मा उपनियम (१) को खण्ड (ग),(घ) र (ङ) बमोजिम रिक्त पद पूर्ती गर्दा यस्तो पद जुन समुह वा उपसमूह भित्रको हो सोही समूह वा उपसमूहको आवश्यक न्युनतम शैक्षिक योग्यता पुगेको कर्मचारीहरु मध्येबाट बढुवाद्वारा गरिनेछ ।

६.     तर जनरल एजुकेशन समूह अन्तर्गत कायम गरिएको उपसमूहका कर्मचारीहरुले सो अन्र्गतका कुनै उपसमूहको रिक्त पदका लागि हुने बढुवाको निमित्त सो उपसमुहको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका सम्भाव्य उम्मेदवार हुन पाउने छन्भन्ने व्यवस्था रहेको छ । नेपाल राजपत्र भाग ४ असार ३१ गते २०३३ सालमा प्रकाशित श्री ५ को सरकार शिक्षा मन्त्रालयको सूचनामा निवेदकको पद संकेत शि. ०७।८७ पद मा.वि.नि.सेवा शिक्षा, श्रेणी रा.प.तृ.उपसमूह साइन्स उल्लेख भएको र विज्ञान समूहमा निवेदकको बढुवा सम्बन्धी मूल्यांकन नियम अनुसार नै भएको तर गणित उपसमूहमा निज बढुवा पाउनको लागि भने सो कुराको दावी लिई निजले सम्बन्धित निकाय अर्थात लोकसेवा आयोगमा सम्भाव्य उम्मेदवारीको जानकारी गराउनु पर्ने गरेको छैन । अतः रिट निवेदन खारेज गरिपाउँन अनुरोध गरिन्छ भन्ने समेत प्रत्यर्थी शिक्षा तथा संस्कृति मन्त्रालयको लिखित जवाफ ।

७.     नेपाल शिक्षा सेवा (समुह तथा श्रेणी विभाजन नियुक्ति र बढुवा) नियमहरु, २०३३ अनुसार शिक्षा सेवा जनरल एजुकेशन समूह अन्तर्गत गणित उपसमूहको लागि आवश्यक न्यूनतम योग्यता विषय लिई स्नातक भई पाठ्क्रम तथा पाठ्पुस्तक विषयमा घटीमा ५ महिनाको तालीम वा प्रमुख विषय गणित लिई शिक्षा शास्त्रमा स्नातक वा सो सरह भन्ने तोकिएको छ । तर निवेदकको वैयक्तिक विवरण फाइलबाट निजले वि.एस्सी.वि.एल र मिति २०४० साल मार्ग २० गतेदेखि ऐ.माघ २ गते सम्मको रिफ्रेशर इन्टेन्सिभ कोर्षमात्र पास गरेको देखिई उक्त गणित उपसमूहको लागि निर्धारित न्यूनतम योग्यता हासिल गरेको नदेखिँदा निजलाई बढुवा समितिले गणित उपसमूहको लागि सम्भाव्य उम्मेदवार नबनाएको मनासिब देखिन आई आयोगबाट बढुवा समितिको उक्त निर्णय कायमै रहने गरी निर्णय भएको हुँदा रिट खारेज हुन अनुरोध गरिन्छ भन्ने समेत प्रत्यर्थी लोकसेवा आयोग, कमल पोखरीको लिखित जवाफ ।

८.     विपक्षी निवेदक विज्ञान उपसमुहको कर्मचारी भएकोले बढुवाको लागि उपसमूह मेल खाने नभई सम्भावित उम्मेदवार हुन नपर्ने देखिन्छ । कर्मचारीको कार्य सम्पादन मूल्यांकन गोप्य रहने र सो सम्बन्धी सम्पूर्ण रिकर्ड सम्बन्धित मन्त्रालयमै हुने हुँदा कर्मचारी स्वयंले मेरो अंक यति नै हुन्छ भनी दावी गर्न     मिल्दैन । रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी दामोदर गौलीको लिखित जवाफ ।

९.     विपक्षी विज्ञान उपसमुहको उम्मेदवारले गणित उपसमुहमा उम्मेदवार हुन कदापी सक्नु हुन्न । त्यसमा सबूद प्रमाणको मूल्यांकन भएन भनी कदापी भन्न मिल्दैन त्यस्तोमा नि.से.ऐन, २०१३ को दफा ८(२) नि.से.नि., २०२१ को नियम ३.३.८(क) पनि लागू हुनसक्दैन । अतः उक्त रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी नारायणप्रसाद शर्माको लिखित जवाफ ।

१०.     नियम बमोजिम दैनिक पेशी सूचीमा चढी  आज निर्णय सुनाउन तारेख तोकी पेश हुनआएको प्रस्तुत निवेदनमा निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल तथा प्रत्यर्थी कार्यालयहरु तर्फबाट उपस्थित विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले गर्नु भएको बहस समेत सुनियो ।

११.     यसमा बढुवाको लागि दर्खास्त माग गरिएकोमा उपनियम ७ बमोजिम बाध्यात्मक रुपमा फर्म भरिरहन पर्ने आवश्यकता नसम्झी भरेको थिएन । म गणित समूहबाट पदोन्नतिको लागि योग्य उम्मेदवार भएको हुँदा उम्मेदवार सूचीमा मेरो नाम समावेश हुनु पर्ने स्वतः सिद्ध हुनुको साथै सम्भाव्य उम्मेदवार हुन नि.से.नि.ले आपत्ति जनाएको अवस्था भित्र म नपर्ने हुँदा सम्भाव्य उम्मेदवार हुन पाउने मेरो हक अधिकार कुण्ठित हुन नसक्ने हुँदा उक्त निर्णयहरु बदर गरी निवेदकलाई सम्भाव्य उम्मेदवारहरुको सूचीमा समावेश गर्नु भन्ने परमादेशको आदेश जारी गरिपाउँ भन्ने निवेदकको मुख्य दावी देखिन्छ ।

१२.    नेपाल शिक्षा सेवा (समूह तथा श्रेणी विभाजन नियुक्ति र बढुवा) नियमहरु, २०३३ को नियम ३.२ अनुसूची १(ख) मा साइन्स उपसमूह र (ग) मा म्याथमेटिक्स उपसमूह भनी उल्लेख भएको तथा २०३३।३।३१ को राजपत्रको क्रमसंख्या ८२ मा उपसमूह साइन्स भनी निस्केकोबाट गणित र विज्ञान छुट्टाछुट्टै उपसमुहमा पर्ने देखियो । निवेदकले आफु विज्ञान समुहको भएको कुरालाई स्वीकार गरेको देखिन्छ । निजामती सेवा नियमावली, ०२१ को नियम ३.३(६) र ३.३(७) को व्यवस्था एउटै समूहको लागि मात्र बनेको र एक समूहबाट अर्को समूहमा जान फर्म भर्नु पर्ने भएकोले गणित समूहको सूचना निस्किए पछि निवेदकले दर्खास्त दिनु पर्नेमा सो बमोजिम दर्खास्त नदिएकोले निज स्वतः सम्भाव्य उम्मेदवार हुन पाउने स्थिति देखिन आएन । शिक्षा नियमहरु अनुरुप गणित विषयमा सम्भाव्य उम्मेदवार हुनका लागि गणित विषय लिई स्नातक भई पाठ्यक्रम वा पाठ्यपुस्तक विषयमा घटीमा ५ महिनाको तालीमको आवश्यकता हुनु पर्नेमा निवेदकले भरेको फाराममा तालीमहरु परेको छैन भन्ने त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र इन्ष्टिच्यूटको सर्टिफिकेटबाट पुष २०३० देखि बैशाख २०३१ सम्म तालीम लिएको भन्ने देखिँदा सो अवधि ४ महिना मात्र हुन आउँने देखिन्छ । उम्मेदवार हुनका लागि प्रमुख विषय गणित लिई शिक्षा शास्त्रमा स्नातक हुनु पर्नेमा निवेदकको सो योग्यता पनि पुगेको पाइएन ।

१३.    यसरी एकातर्फ निवेदकको तोकिए बमोजिमको योग्यता पुगेको पनि देखिँदैन भने निवेदकले विपक्षी बनाएका नारायणप्रसाद सोही गणित समूहकै भएकोले निज सम्भाव्य उम्मेदवार हुनसक्ने नै देखियो । निवेदकलाई बढुवा समितिले सम्भाव्य उम्मेदवार नबनाएको भनी सूचना दिएकोमा सो समितिलाई नै विपक्षी नबनाई दिएको प्रस्तुत रिटमा निवेदकको माग बमोजिम ओदश दिन मिल्ने देखिएन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४५ साल आश्विन २३ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु