शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५५७ - उत्प्रेषण

भाग: ३० साल: २०४५ महिना: मंसिर अंक:

 

निर्णय नं. ३५५७ ने.का.प. २०४५    अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४४ सालको रिट नं. १७७८

आदेश भएको मिति : २०४५।७।३०।३ मा

 

निवेदक : का.जि.दहचोक गा.पं.वा.नं.९ बस्ने काजिमाज तामाङ

विरुद्ध

विपक्षी : थानकोट प्रहरी थानाको कार्यालय, काठमाडौंसमेत

 

विषय : उत्प्रेषण

 

(१)     जग्गा सम्बन्धमा कागज गराउने अधिकार प्रहरीलाई नभएको । यसरी अधिकार विहिन निकायबाट त्यस्तो कागज गराएको भए स्वतः नै बदर हुने ।

(प्रकरण नं. ८)

 

आदेश

न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा एवं निर्णय निम्नानुसारछ :

२.     विपक्षी प्रहरी थानाबाट पोषाक लगाएको एकजना नाउँ नजानेको प्रहरी आई निवेदक घरमा नभएकोले मेरी श्रीमतीलाई भोलि १० बजे हाजिर हुन पठाउँनु भनी मौखिक आदेश दिई गएपछि म २०४४।११।९ को दिन विहान १० बजे विपक्षी प्रहरी थानामा हाजिर हुन जाँदा तारिख पर्चा नदिई २०४४।११।१० गते आउनु भनियो र सो दिन जाँदा फेरि २०४४।११।१३ गते बोलाइयो ।

३.     २०४४।११।१३ का दिन हाजिर हुन जाँदा मलाई पक्राउ गरेको भनेर एक्कासी मसंग नचिनेको प्रहरी जाइलाग्यो र मलाई तैंले ज.माहिला भन्ने दिलबहादुरको जग्गामा अनधिकृत प्रवेश गरी निजलाई धम्की गरी खुकुरी देखाई जग्गाबाट हटाई निजको जग्गा कमाइस् भन्ने आरोप लगाई अब उप्रान्त त्यस्तो अनैतिक काम गर्ने छैन र ज.माहिला भन्ने दिल ब. तामाङको जग्गामा हस्तक्षेप गर्ने छैन भनी कागज गर्नु पर्‍यो भनी लेखिराखेको फुलिस्केप साइजको देशी कागजमा मेरो दाहिँने औंलाको ल्याप्चे ४ ठाउँमा गराएकोले त्यस्तो काल्पनिक झुठ्ठा आरोप लाएको एवं व्यहोरा नपढी कागज गराएको हुँदा मेरो संवैधानिक हक हनन् भएकोले उक्त कागज उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने निवेदनपत्र ।

४.     यसमा विपक्षीहरुबाट लिखित जवाफ झिकाई आएपछि वा म्याद नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४४।११।२६ को आदेश ।

५.     प्रत्यर्थीहरु मध्ये कसैबाट पनि लिखित जवाफ प्राप्त नभएको ।

६.     नियमानुसार दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत निवेदन हेर्दा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो वा होइन भन्ने नै निर्णय दिनु पर्ने हुन आयो ।

७.     यसमा विपक्षी प्रहरी थाना थानकोटले विपक्षी ज.माहिला भन्ने दिलबहादुरलाई धम्काई निजको जग्गा अनधिकृत भोग गरेको भन्ने मैले नगरेको आरोप लगाई अब आइन्दा त्यस्तो अनैतिक कार्य गर्ने छैन भनी कागज गर्नु भनी लेखिराखेको फुलिस्केप साइज  को देशी कागजमा व्यहोरा नसुनाई ४ ठाउँमा मिति ०४४।११।१३ का दिन ल्याप्चे लगाउन लगाएकोले उक्त कागज उत्प्रेषणको ओशद्वारा बदर गरिपाउँ भन्ने समेत मुख्य जिकिर रहेको निवेदनपत्र रहेकोमा विपक्षी प्रत्यर्थीहरु मध्ये कसैबाट पनि लिखित जवाफ प्राप्त हुनआएको छैन ।

८.     प्रहरीले त्यसप्रकारको कागज गराउन पाउने अधिकार रहेको भनी प्रत्यर्थी प्रहरी कार्यालयले लिखित जवाफ फिराउन नसकेको हुँदा त्यस्तो कागज प्रहरीले गराउन पाउने अधिकार नरहेको देखिन आयो । यसरी अधिकार विहिन निकायबाट त्यस्तो कागज गराएको भए स्वतः नै बदर हुने भएकोले निवेदकले जिकिर लिए बमोजिमको मिति २०४४।११।१३ को कागज विपक्षी प्रहरी थाना थानकोटबाट गराइएको भए उक्त कागज उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । आदेशको जानकारी प्रत्यर्थी प्रहरी कार्यालयलाई गराउन एकप्रति प्रतिलिपि श्री महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.महेशरामभक्त माथेम

 

इति सम्वत् २०४५ साल कार्तिक ३० गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु