शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५६० - अंश दपोट

भाग: ३० साल: २०४५ महिना: मंसिर अंक:

निर्णय नं. ३५६० ने.का.प. २०४५     अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४४ सालको दे.पू.नं. ५५५, ७९९

फैसला भएको मिति : २०४५।६।११।३ मा

 

पुनरावेदक/वादी : का.न.पं.वा.नं.१३ कालिमाटी बस्ने पूर्णबहादुर रोक्काको मु.स.गर्ने भरतबहादुर रोक्का

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने मु.स.गर्ने मनहरी रोक्का

 

पुनरावेदक/प्रतिवादी : ऐ.ऐ.बस्ने मनहरी रोक्का क्षेत्री

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.बस्ने भरतबहादुर रोक्का क्षेत्री

 

मुद्दा    : अंश दपोट

 

(१)                  बण्डा गर्नुपर्ने आफ्नो जानकारीमा रहेको जग्गाहरु आफूले दिएको तायदातीमा देखाउनु पर्ने ।

(प्रकरण नं. १५)

(२)                आफूले आफ्नो जानकारीमा रहेको सम्पत्तिको तायदाती नदिई मोहिहक लेखिएको जग्गा कानुनी व्यवस्था बमोजिम बण्डा नलाग्ने सम्झी सोही व्यहोरा देखाई दिएको तायदातीमा नदेखाएको कारणबाट दवाउने नियतले दपोट गरेको भन्न न्यायसंगत नदेखिने ।

(प्रकरण नं. १५)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान :      मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ ।

२.     हस्तबहादुरसंग अंश दिलाई पाउँ भन्ने समेत नालेश परी बागमती अञ्चल अदालत समेत बाट ४ खण्डको १ खण्ड अंश पाउने ठहरी फैसला भएकोमा विपक्षीले तायदाती दिंदा कालीमाटी गा.पं.वार्ड नं. १(ख) कि. नं. ३३ को १, ऐ.ऐ.को कि.नं.३४ को १, ऐ.ऐ.को कि.नं.४९ को ११३० हस्तबहादुरको नाउँमा मोहियानी कायम भएको जग्गामा रहेका २ घर मध्ये १ घर नदेखाई सो घरले चर्चेको लिग लागपात ऐ.कि.नं.६५ को १० ऐ.कि.नं.४८ को ३० को जग्गामा बनेको पक्की घर र सो घरले चर्चेको लिग लगापात समेत घर जग्गा तायदातीमा नदेखाएकाले अंशबण्डाका २७ नं.बमोजिम फिरादीको हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

३.     दावीका जग्गा मेरा पिताका नाउँमा मोहियानी कायम भएको जग्गा हुँदा वादीलाई उजूर गर्ने हकदैया छैन, अ.बं.१८० नं. अनुसार दावी खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४.     दावीको कि.नं.४८ को जग्गामा बनेको  पक्की घर वादी प्रतिवादी दुवैको आधी आधी हुने र अरुमा वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको २०४०।५।२३ को   फैसला ।

५.     कानूनको गलत व्याख्या गरी भएको शुरुको फैसलामा चित्त बुझेन, दावी अनुसार गरिपाउँ भन्ने समेत व्यहोराको पूर्णबहादुर रोक्काको बागमती अञ्चल अदालतमा परेको पुनरावेदन ।

६.     कि.नं.४८ को जग्गामा बनेको कुरुवा छाप्रोलाई पक्की भनी बण्डा गर्ने गरेको इन्साफ चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी मनहरी रोक्काको बागमती अञ्चल अदालतमा परेको पुनरावेदन ।

७.     का.न.पं.वार्ड नं. १३ कि.नं.४८ मा बनेको एकतले घर पक्की ईंटको गारो र फुसको छाना भएको कि.नं.४९ को काँचो ईंटको गारो र टायलको छाना भएको भन्ने समेत व्यहोराको २०४१।३।९ को सरजमीन मुचुल्का ।

८.     कि.नं. ३३, ३४, ४९, ६५ मु.स.गर्ने भरतबहादुरले एकलौटी खान पाउने, कि.नं.४८ दान काजीको भन्ने देखिँदा दावी नपुग्ने र सो जग्गामा भएको पक्की घरसम्म दपोट गरेको ठहरी भरतबहादुरले एकलौटी खान पाउने ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको २०४१।१२।२० को फैसला ।

९.     बागमती अञ्चल अदालतको फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको निवेदनपत्रमा पुनरावेदको अनुमति दिइएको छ भन्ने समेत २०४२।६।१७ को आदेश ।

१०.     दावीको घरमा विवाद नभएको र क्षेत्रीय किताबको किसान महलमा मिनकुमारीको नाम लेखिएको दावीको घर जग्गामा दर्ता प्रमाणित भएको अवस्थामा वादीको अंश मुद्दामा ४ खण्डको १ खण्ड अंश पाउने ठहरी फैसला भएको देखिँदा ४ खण्डको १ खण्डमा वादीको अंश हक कायम हुने ठहर्छ वादी दावी बमोजिम दपोट गरेको ठहर्दैन भन्ने समेत व्यहोराको मध्माञ्चल क्षेत्रीय अदालतको मिति २०४३।११।२७ को फैसला ।

११.     कि.नं. ३३, ३४, ३९ र ६५ को जग्गा पनि प्रतिवादीले तायदातीमा नदेखाएपछि दपोट ठहर्‍याउनु पर्ने नठहर्‍याएको कानून विपरीत हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको मु.स.गर्ने भरतबहादुर रोक्का तथा सेती खत्रीनी धनी भएको कि.नं.४९ मा पिताले निजी रुपमा तल्सिंगको स्वीकृतिले घर समेत बनाई भोगचलन गरी आउनु भएको मोहियानी हकको घर तथा अन्य कि.नं. ३३, ३४ र ६५ मा पिताको मोहियानी हकलाई प्रत्यक्ष असर पर्ने गरी ४ भागको १ भाग लगाएको म.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको मनहरी रोक्काको यस अदालतमा पर्न आएको निवेदनपत्र ।

१२.    यसमा आफ्नो जिम्मामा रहेको सम्पत्तिको तायदाती दिने कर्तव्य जसको जिम्मामा सम्पत्ति उसैको हुन आउँछ । मानकुमारीको जग्गा निजको मृत्यु पछि प्रतिवादीको जिम्मामा रहेकोले निजले तायदातीमा देखाउनु पर्नेमा नदेखाई दपोट गरेको देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने व्यहोराको भरतबाहादुर रोक्काको निवेदनमा यस अदालत संयुक्त इजलासको मिति ०४४।३।१६ को आदेश ।

१३.    प्रस्तुत मुद्दामा मोहियानीको जग्गामा अंशबण्डा गरिदिएको देखिँदा भूमिसम्बन्धी ऐनको दफा २६(क) को त्रुटि हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ । भन्ने समेत व्यहोराको मनहरी रोक्काको निवेदनमा यस अदालत संयुक्त इजलासको मिति २०४४।२।२९ को आदेश ।

१४.    नियम बमोजिम दैनिक पेशी सूचीमाा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का तथा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्यायको बहस समेत सुनी मध्य  माञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ भन्ने नै निर्णय दिनु पर्ने हुन आयो ।

१५.    यसमा वादी पुनरावेदकतर्फबाट आफ्नो जिम्मामा रहेको अंशबण्डा गर्नुपर्ने सम्पत्ति तायदातीमा दिनु पर्नेमा आफू मोहीसम्म भएको भनी किसानको व्यहोरामा आफ्नै आमा मनकुमारीको नामको भनी देखाएको जग्गा र सो मोहियानी जग्गामा भएको घर समेत नदेखाएको पछि बुझ्दै जाँदा थाहा हुन आएकोले दपोट गरेको सो जग्गाहरु दिलाई पाउँ भन्ने वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ताको जिकिर भएको र प्रतिवादीतर्फबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) ले मोही हकको जग्गा बण्डा गर्न नमिल्ने र घरको हकमा पनि मोही हककै जग्गामा बनेको घर हुँदा मोहीले बनाएको घर आफ्नो ज्ञान सीपको आर्जन हुँदा बण्डा गर्न नपर्ने भएकोबाट तायदातीमा दिन नपर्ने भई नदिएको हुँदा दपोट ठहर्न नपर्ने भन्ने मुख्य जिरह लिई बहस गरेकोबाट दावी बमोजिम दपोट गरेको हो होइन भन्नेतर्फ विचार गरिएमा अंशबण्डाको २० नं. मा भएको व्यवस्थाबाट अंश मुद्दा परी अंश पाउने देखिएपछि घरको मुख्य जानकारसंग बण्डा गर्नुपर्ने सम्पत्तिको तायदाती लिने भन्ने भएकोले अंश मुद्दाका वादी प्रतिवादी दुवैलाई बण्डा गर्नुपर्ने आफ्नो जानकारीमा भएको सम्पत्तिको तायदाती आओस् भन्ने उद्देश्यले अंश मुद्दामा तायदाती तोक्दा अदालतबाट वादी प्रतिवादी दुवैपक्षलाई बण्डा गर्नुपर्ने सम्पत्तिको तायदाती लिई आउनु भनी तोकी दिने गरी आएको सोही बमोजिम यी पक्ष विपक्षको अंश मुद्दामा पनि यिनै वादी र प्रतिवादीलाई तायदाती लिई आउनु भनी तारेख तोकी दिएबमोजिम यिनी वादीले आफूले प्रतिवादी बनाएका हस्तबहादुर मरी सकेपछि २०३७।५।२ मा तायदाती दिएको र यिनै प्रतिवादीले मिति २०३७।९।१८।५ मा मोहियानी हकको जग्गामा अंशबण्डा गर्न नपर्ने भन्ने व्यहोरा देखाई तायदाती दिएको देखिन आउँछ । यिनै वादीले प्रतिवादी बनाएका हस्तबहादुरसित मिति २०३६।९।११।४ सम्म अर्थात अंश मुद्दामा फिराद परेको अघिल्लो दिन सम्मको तायदाती मागिएको हुँदा हस्तबहादुरको मृत्यु पछि यिनी वादी भाइ भएको नाताबाट यिनी वादी नै घरको मुख्य देखिन आएको र यिनी प्रतिवादीले मोहीमा कमाएको जग्गा नापी हुँदाका अवस्थामा फिल्डबूकमा मोहीमा हस्तबहादुर र किसानको व्यहोरामा आफ्नी आमा मनकुमारीको भनी देखाएकोबाट दपोट गरेको भनी देखाएका जग्गाहरु मध्ये कि.नं.४८ को पछिबाट दानकाजी शाक्यको भन्ने देखिन आएको बाहेक अरु सबै जग्गा आफ्नो आमाको नामको दर्ताको भनी फिल्डबूकमा लेखाएको भनी देखाएकोबाट आफ्नो समेत अंश लाग्ने यी जग्गाहरु घरको मुख्य देखिएका यी वादीलाई तायदाती दिँदा थाहा जानकारी नभएको र पछि बुझ्दै जाँदा थाहा हुनआएको भन्न नमिल्ने भएकोले अंश मुद्दामा यिनै वादी नै वादी भए पनि बण्डा गर्नुपर्ने आफ्नो जानकारीमा रहेको दावीका जग्गाहरु समेत आफूले दिएको तायदातीमा देखाउनु पर्ने यिनी वादीको पनि जिम्मेवारी रहेको हुँदा घरको मुख्य भएको आफूले आफ्नो जानकारीमा रहेको सम्पत्तिको तायदाती नदिई अब घरको मुख्य नदेखिएका यिनी विपक्षी प्रतिवादीले मोही हक लेखिएको जग्गा कानुनी व्यवस्था बमोजिम बण्डा नलाग्ने सम्झी सोही व्यहोरा देखाई दिएको तायदातीमा नदेखाएको कारणबाट दवाउने नियतले दपोट गरेको भन्न न्यायसंगत देखिन आउँदैन । कि.नं.४८ को दानकाजी शाक्य धनी भएको जग्गा मोहीमा कमाएकै भए पनि सो जग्गामा भई आएको नक्शाबाट घर बनाउनेको ६ नं.बमोजिम पक्की देखिने घर मानो छुट्टिएको मिति कायम भएको मितिपछि बनेको भन्ने प्रतिवादीतर्फबाट कुनै सबूद नआएकोले मानु छुट्टिनु पूर्व बनेको मोहियानीकै जग्गामा बनेको भए पनि सगोलमा रहेको अवस्थामा बनेको देखिएकोले अन्यथा प्रमाणित हुनु बेगर मोही हुने प्रतिवादीले मात्र बनाएको भनी अनुमान गरी जिकिर बमोजिम सो घरमा वादीले अंश नपाउने भन्न नमिलेको हुँदा सो घर र आफ्नै आमाको भनी देखाएका दावीका जग्गाहरुमा वादीले समेत अंश  मुद्दामा भएको अन्तिम ठहर बमोजिम भाग पाउने नै देखिन आएकोले वादी दावी बमोजिम दपोट गरेकोले एकलौटी पाउँ भन्ने वादी दावी नपुग्ने सो सबै घर जग्गामा क्षेत्रीय अदालतको ठहर बमोजिम सो जग्गा घरहरुमा मनकुमारीको हक कायम भई दर्ता भएपछि वादीले अंश भाग पाउने ठहर्‍याएको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । तपसील खण्डमा मनकुमारीको हक कायम भएपछि दर्खास्त दिए भनी लेख्नु पर्नेमा सो व्यहोरासम्म छुटाएको देखिएकोले सो व्यहोरासम्म मिलाई लगत दिनु र प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी नियमानुसार गरी मिसिल बुझाई   दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४५ साल आश्विन ११ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु