शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८०६२ - पर्खाल भत्काई सार्वजनिक कुलो कायम

भाग: ५१ साल: २०६६ महिना: बैशाख अंक:

निर्णय नं.८०६२   वैशाख २०६६     अङ्क १

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बलराम के.सी.

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला

सम्वत् २०५९ सालको दे.पु.नं. ....८९५०

फैसला मितिः २०६५।३।१६।२

मुद्दाःपर्खाल भत्काई सार्वजनिक कुलो कायम

पुनरावेदक प्रतिवादीः भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.११ बस्ने सिद्धि स्मृति अस्पताल संचालक समितिका अध्यक्ष बर्ष ५० को श्यामसुन्दर धौभडेल

विरुद्ध

विपक्षी वादीः भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.१२ बस्ने रत्नबहादुरको छोरा अं. बर्ष ६३ को रत्न भक्त सिख्वाल

 

शुरु फैसला गर्नेः

            मा.न्या.श्री मधुसुदनलाल श्रेष्ठ

            मा.न्या. श्री गोविन्द कुमार श्रेष्ठ

 

§  संस्थाका पदाधिकारीले गरेको काम संस्थाको तर्फवाट गरिने हुँदा पदाधिकारीहरूले गरेको कामको कानूनी जिम्मेवारी संस्थामा भइरहने हुन्छ । पदाधिकारी निरन्तर परिवर्तन हुन सक्छन् तर संस्था अविछिन्न उत्तराधिकारवाला स्वशासित हुने भएको हुँदा नालेश उजूर गर्नु पर्दा संस्थालाई नै विपक्षी वनाउनु पर्ने 

(प्रकरण नं.४)

 

पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अधिवक्ता श्री रविकृष्ण हाडा

विपक्षी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री सशिचन्द्र मिश्र

अवलम्वित नजीरः

सम्बद्ध कानूनः संस्था दर्ता ऐन, २०३४ को दफा ५

 

फैसला

            न्या. बलराम के.सी.: मिति ०५७।१०।११ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पाटनको फैसला उपर यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ 

            मेरो नाममा दर्ता भएको भ.पु.जि. चितपोल गा.वि.स. वडा नं. १(क) वाट हाल का.न.पा. वडा नं. ७ कि.नं. १६ उत्तर तर्फ रहेको कि.नं. ६२ कायम भएको कुलो सिपाडोलदेखि बगीआउने पानी हनुमन्तेमा गै मिसिने भएको २०२१ सालको नापीमा पनि सार्वजनिक कुलो भनी नापनक्सा भएको थियो । उक्त कुलोमा साथमा पर्न प्रतिवादीको कि.नं. ७१ र ७० को जग्गामा विपक्षीले पर्खाल वनाउंदा कि.नं ६२ को कुलो समेत मिची पर्खाल लगाउन लागेको देखि भन्दा समेत नमानेकोले पर्खाल लगाई पुरा गरेको हुँदा कि.नं. ६२ को कुलोमा वनाएको पर्खाल भत्काई कुलो यथावत गरिपाऊँ भन्ने फिराद दावी 

            कुलो मिची पर्खाल लगाएको होइन अस्पताल समेतको सुरक्षा गरी कुलोको निकासा नरोकिने गरी कुलोको सिमानामा ढुङ्गा समेत लगाएको हो । सो पर्खालले विपक्षीलाई केही असर गरेको छैन विपक्षीलाई असर नपरेको कुरामा फिराद गर्ने अधिकार वादीलाई छैन । दुखःदिने नियतले मात्र फिराद गरेकोले फिराद खारेज गरिपाऊँ भन्ने प्रतिउत्तर पत्र 

      साविकबमोजिम कुलो सञ्चालन भैरहेको सो कुलो देखि उत्रर तर्फको सांधकमा कम्पाउण्ड वाल लगाई व्यवस्थित गरेको कुराले वादीलाई असर पुर्‍षाएको भन्न मिलेन । तसर्थ न.नं. ५ को पर्खाल भत्काई ४ को कुलो कायम गरिपाऊँ भन्ने वादीदावा पुग्न सक्दैन भन्ने समेत मिति २०५७।३।१।५ को भ.पु.जि.अ.को फैसला 

      भ.पु.जि.अ.को फैसला कानूनी त्रुटिपूर्ण भएकोले सो फैसला उल्टी हुने ठहराई ०२१ सालको नापी नक्सामा देखिएको कि.नं. ६२ को कुलो सार्वजनिक कुलो यथावत कायम गरिपाऊँ भन्ने समेत पुनरावेदकको पुनरावेदन जिकिर 

      यसमा दावीबमोजिम वादी प्रतिवादीको जग्गाको बीचमा रहेको कुलो समेतको जग्गा मिची प्रतिवादीले पर्खाल लगाएको भन्ने अदालतवाट भई आएको नक्सा नं. ४ र ५ को प्रकृति समेतवाट देखिएको अवस्थामा वादीदावी नपुग्ने ठहर्‍षाएको भक्तपुर जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भई फरक पर्न सक्ने हुँदा अ.वं. २०२ नं.बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत मिति ०५८।८।२९ को पुनरावेदन अदालत पाटनको आदेश 

      यसमा वादीको कि.नं १६ को उत्तर तर्फको नि.नं. ६२ को कुलो समेत मिची पर्खाल लगाएको भत्काई कुलो यथावत गरिपाऊँ भन्ने दावी भएकोमा कि.नं ६२ कुलो हो भन्नेमा विवाद देखिएको छैन उक्त कुलो अदालतको आदेश अनुसार भै आएको नक्साको नं. ६ मा उल्लेख भई सो देखि उत्तरमा न.नं. ५ मा पर्खाल र न.नं. ४ मा पुरानो कुलोको जग्गा विवाद जनिई राखेको देखिएको छ । न.नं. ६ मा देखाइएको कुलो देकखि दक्षिणमा वादीको आफ्नो श्रेस्ता भन्दा बढी नै जग्गा उपभोग गरी रहेको र कुलो देखि उत्तरतर्फको सांधलाई कम्पाउण्ड वाल लगाएकोले वादीलाई असर पुर्‍षाएको भन्न मिलेन भन्ने आधारमा दावी पुग्न सक्तैन भन्ने शुरु अदालतवाट फैसला आधार लिएको देखिन आयो । कि.नं. ६२ को कुलोमा पर्खाल वनाई नक.नं. ४ को ०३ को जग्गा सो पर्खालवाट उत्तरमा न.नं १ को कि.नं. १ को कि.नं २१ को घरजग्गामा समावेश भएको मिसिल संलग्न नक्सावाट देखिएकोले शुरु फैसला आधार मिलेको देखिन आएन । वादीबमोजिम कि.नं ६२ को पुरानो कुलोको न.नं. ४ को जग्गा कुलो कायम हुने ठहर हुनु पर्नेमा दावी पुग्न नसक्ने गरी भएको भ.पु.जि.अ.को मिति ०५७।३।१ को फैसला नक्सा प्रमाणको आधारवाट मिलेको नहुंदा उल्टी भई दावीबमोजिम न.नं. ५ को पर्खाल भत्काई न.नं. ४ को जग्गा समेत कुलो कायम हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५८।१०।२२।२ को फैसला 

      विवादित पर्खाल म प्रतिवादी पुनरावेदकले निर्माण गरेको होइन । शुरु अदालतवाट भएको नक्सामा देखाइएको न.नं. १,२ र ३ को कि.नं. २१,२२ को कित्ता जग्गा र घर समेत सिद्धी स्मृति स्वास्थ्य केन्द्र भक्तपुरको नाममा दर्ता भई उक्त भवनमा सो स्वास्थ्यकेन्द्रले अस्पताल संञ्चालन गरेको र अस्पताल भवनको दक्षिण तर्फ विवादित न.नं. ६ को कुलो भै बर्षादको समयमा कूलोवाट वहने पानीको चापले अस्पताल भवनलाई क्षति नपुराओस् र निकास समेत अवरोध नहोस् भन्ने उद्देश्यले साविक देखिको सो कुलो समेत व्यवस्थित हुने गरी उक्त स्वास्थ्य केन्द्र (अस्पताल)ले विवादित पर्खाल लगाएको हो सिद्धी स्मृति स्वास्थ्य केन्द्र विधानबमोजिम सँगठित संस्था हो । विपक्षीले कानूनबमोजिम दर्ता भै खडा भएको व्यक्ति सरहको सम्बन्धित पक्षलाई प्रत्यवादी नवनाई संस्थाको अध्यक्ष म पुनरावेदकलाई व्यक्तिगत रुपमा प्रतिवादी वनाएका र विपक्षीको फिरादवाट प्रतिवादी नै नभएको संस्थाको अधिकार र दायित्वको विषयमा निर्णय नै हुन नसक्ने भै प्रथमतः नै फिराद दावी खारेजभागी भएकोमा विपक्षीले प्रत्यवादी नै नवनाएको व्यक्ति सरहको संस्थाले निर्माण गरेको पर्खाल भत्काउने ठहर गरेको फैसला प्राकृतिक न्यायको सिद्धान्त समेतको विपरीत छ 

      स्वास्थ्य केन्द्र अस्पतालले विवादित पर्खाल सार्वजनिक कुलो मिच्ने अभिप्रायले लगाएको नभई अस्पतालको निर्मित र निर्माण हुने भवनहरूमा क्षति नहोस् भन्नाका लागि कुलोको सिमानामा पर्खाल लगाई संरक्षण र कुलो व्यवस्थापन सम्म गरेको हो । विवादित कुलोको सिमानामा पर्खाल लगायतवाट कुलोको स्वरुपमा कुनै परिवर्तन भएको वा सार्वजनिक कुलो उपभोग गर्ने लगायतको सार्वजनिक हकहितमा विपक्षी लगायत कोही कसैलाई असर परेको र पर्ने समेत छैन । स्थानिय स्वायत्तशासन ऐन २०५५ को दफा ९६(१) खण्ड(ग) ले खोला नालाको संरक्षण र सदुपयोग गर्ने गराउने तथा सोही दफाको खण्ड (य)(३) ले ऐलानी तथा पर्ति जग्गाहरूको संरक्षण गर्ने अधिकार जिम्मा पाएको भक्तपुर नगरपालिकाले विपक्षीको उजूरी उपरको कारवाहीमा मिति २०५५।४।३१ सिद्धीस्मृति स्वास्थ्य केन्द्रले निकाश अवरोध नहोस् भन्नका लागि साविक देखिको कुलोलाई व्यवस्थित सम्म गरी निकाशको वन्दोवस्त गरेको भनी निर्णय गरेको छ । स्वास्थ्य केन्द्रले विवादित पर्खाल कुलो व्यवस्थित गर्न लगाएको र सो पर्खालवाट कुलोको संरक्षण समेत भएको उक्त नगरपालिकाको निर्णयवाट प्रमाणित भै रहेकोमा मिसिल संलग्न अन्य प्रमाण र तथ्यहरूको विवेचना नै नगरी भएको इन्साफ प्रमाण ऐन २०३१ को दफा ३ र ५४ समेतको प्रतिकूल    

      स्वास्थ्य केन्द्रले विवादित पर्खाल निर्माण गर्दा कुलो मिचेर कुलोको जग्गा अतिक्रमण गरी लगाएको होइन । साविक देखिको कुलोको विवादित स्थलको सिमानामा लगाएको हो । शुरु अदालतवाट भएको नक्सामा नापी नक्साबमोजिमको कुलोको भाग देखाइएको हो । पखार्पल निर्माण गर्दा कुलोको भाग समेत ओगटी माटो भरी जग्गा अतिक्रमण गरिएको छैन । विवादित स्थलको जग्गा र कुलोको स्वरुप र भोग अनुसारको ठाउंमा पर्खाल लगाएको हो । नक्सामा देखाइएको न.नं. ४ को कुलोको भाग पर्खाल भित्र परेको देखिए पनि सोही नक्सालाई निर्णयाधार वनाउंदा पनि पर्खालको सवै भाग कुलोमा परेको नभै केही भाग स्वास्थ्य केन्द्रको जग्गामा पनि पर्दछ । नक्सामा प्रकृतिले नै विवादित पर्खालले कुलो व्यवस्थापन र संरक्षण गरेको देखिएकोमा नक्साको सवै प्रकृतिको मूल्यांकन र विवेचना नै नगरी विवादित पर्खाल भत्काउने ठहर गर्दा कुलोको स्वरुप विग्रिई सार्वजनिक रुपमै क्षति हुनजाने प्रष्ट छ । विपक्षीले सार्वजनिक कुलो संरक्षणका लागि प्रस्तुत मुद्दा दायर गरेका र विवादित पर्खाल भत्काउंदा कुलो अव्यवस्थित भै सार्वजनिक हितका लागि संस्था पित र सन्चालित अस्पताल भवनमा क्षति हुन जाने भै न्यायको उद्देश्य समेत परिपूर्ति हुन सक्दैन । पुनरावेदन अदालतले आफ्नो फैसलामा नक्साको सम्पूर्ण प्रकृतिको विवेचना गरेको छैन अस्पतालले विवादित पर्खाल लगाई कुलो व्यवस्थित गरेको र सार्वजनिक रुपमा रहेको सो पर्खालका कारण विपक्षी लगायत कसैको सार्वजनिक हकमा आघात नपुगेको तथ्यतर्फ ध्यानै नदिएको फैसला सार्वजनिक हकहितको अवधारणा प्रतिकूल छ । अतः उक्त फैसला उल्टी गरी शुरु भ.पु.जि.अ.को वादी दावी नपुग्ने ठहर गरेको इन्साफै सदर गरिपाऊँ भन्ने श्यामसुन्दर धौभडेलको पुनरावेदन पत्र । श्यामसुन्दर धौभडेलको पुनरावेदन पत्र 

      यसै विषयमा विपक्षी वादीको परेको उजूरीमा भक्तपुर नगरपालिकावाट कुलो व्यवस्थित गर्ने सम्मको कार्य भएको भनी मिति २०५५।४।३१ मा भएकोम निर्णय अन्तिम भइरहेको देखिएको अवस्थामा पुनरावेदन अदालत पाटनवाट भएको फैसला फरक पर्न सक्ने देखिएकोले छलफलको निम्ति अ.वं. २०२ नं.बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेशगर्नु भन्ने यस अदालतको मिति २०६३।९।७।६ को आदेश 

      नियमबमोजिम पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ता रविकउष्ण हाडाले पुनरावेदक श्यामसुन्दर सिद्धिस्मृति अस्पताल संचालक समितिका अध्यक्ष हुन् । विपक्षीले संस्था उपर दावी गर्नुपर्नेमा व्यक्तिका उपरमा दावी गरेको मिलेको छैन । अर्कोतर्फ अस्पताल सार्वजनिक हितका लागि स्थापित र संचालित संस्था हो । केन्द्रले कुलो मिचेर जग्गा अतिक्रमण गरी पर्खाल निर्माण गरेको होइन । यस विषयमा नगरपालिकामा समेत उजूरी परेकोमा नगरपालिकावाट कुलो व्यवस्थिति गर्नेसम्मको कार्य भएको भनी निर्णय भएको    । वादीको कुनै हक सम्पत्तिको हनन् भएको छैन । कुलोको निकास रोखिएको छैछ । पर्खाल निर्माण कार्य  सँगठित संस्थावाट भएकोमा व्यक्तिलाई प्रतिवादी कायम गरेको मिलेको  छैन । यस अवस्थामा पुनरावेदन अदालत पाटनले वादी दावीबमोजिम ठहर गरेको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला वदर गरी शुरु भक्तपुर जिल्ला अदालतको फैसला सदर गरिपाऊँ भनी गर्नु भएको बहस र प्रत्यर्थी तर्फवाट उपस्थित विद्वान अधिवक्ता शशिचन्द्र मिश्रले प्रतिवादीकै आदेशवाट निर्माण कार्य भएको हुँदा निजलाई प्रतिवादी कायम गरिएको हो । निजका विरुद्धमा भएको फैसला कार्यान्वयन हुन सक्छ । निज संञ्चालक समितिका अध्यक्ष पनि हुन । पुनरावेदन अदालत पाटनले दावीको जग्गामा कुलो कायम हुने गरी भएको फैसला मनासिव हुँदा सदर हुनुपर्छ भनी गर्नु भएको बहस समेत सुनियो 

      उपर्युक्तबमोजिमको बहस तथा पुनरावेदन सहितको मिसिल अध्ययन गरी यसमा पुनरावेदन अदालत पाटनको मिति २०५८।१०।२२।२ को फैसला मिले नमिलेको के रहेछ निर्णय दिनुपर्ने देखियो 

      मेरो नाममा दर्ता भएको भक्तपुर चितपोल गा.वि.स. वडा नं. १(१) का.न.पा.वडा नं. ७ ख कि.नं. १६ उत्तरतर्फ रहेको कि.नं. ६२ कायम भएको कुलो सिपाडोल देखि वगी आई हनुमन्ते गा.वि.स.मा मिसिने गरी नापनक्सा भएको कुलो हो । प्रतिवादीको कि.नं. ७१ र ७० को जग्गामा विपक्षीले पर्खाल वनाउंदा कि.नं ६२ को कूलो समेत मिची पर्खाल लगाएको हुँदा उक्त पर्खाल भत्काई पाउंm भन्ने फिराद भएकोमा कुलो मिची पर्खाल वनाएको होइन अस्पतालको सुरक्षा गरी कुलोको निकास नरोकिने गरी निर्माण भएको छ । विपक्षीलाई कुनै असर परेको छैन फिराद गर्ने अधिकार विपक्षीलाई छैन दावी खारेज गरी मपाउं भन्ने प्रतिउत्तर जिकिरमा भक्तपुर जिल्ला अदालतवाट वादीदावी नपुग्ने गरी भएको फैसला उल्टी गरी पुनरावेदन अदालत पाटनले वादी दावीबमोजिम हुने गरी भएको फैसला उपर यस अदालतमा पर्न आएको देखियो 

      २.    यसमा निर्णयतर्फ विचार गर्दा वादी रत्नभक्त सिंख्वालले सिद्धिस्मृति अस्पताल संञ्चालक समितिका अध्यक्ष श्यामसुन्दर धौभडेलका उपरमा पर्खाल भत्काई सार्वजनिक कूलो कायम गरिपाऊँ भनी नालेश दिएको देखियो । विवादको विषय हेर्दा अस्पतालले कुलो मिची पर्खाल वनाएको भन्ने देखियो । अस्पतालले आफ्नो जग्गामा कम्पाउण्ड घेर्ने क्रममा पर्खाल लगाएको भन्ने कुरामा विवाद देखिदैन । यिनै वादीले भक्तपुर नगरपालिकामा २०५४।७।२२ मा द.नं. ४०११ को निवेदनवाट सार्वजनिक कुलो मिचेको भनी उजुर समेत गरेकोमा भक्तपुर नगरपालिकावाट २०५५।४।३१।१ मा न्यायिक समिति समेतको निर्णय अनुसार प्रतिवादी सिद्धिस्मृति स्वास्थ्य केन्द्रले निकास अवरोध नहोस भन्नाका लागि साविक देखिको कुलोलाई व्यवस्थित गरी निकासको वन्दोवस्त गरेको देखिँदा केही गरी रहन परेन भनी निर्णय गरेको पाइन्छ । सो निर्णय उपर वादीको कुनै पुनरावेदन नपरेवाट अन्तिम भै रहेको देखिन्छ 

      ३.    पर्खाल निर्माण लगायतको कार्य सिद्धि स्मृति अस्पतालका तर्फवाट भएको देखिन्छ । उक्त संस्था संस्था दर्ता ऐन, २०३४ अनुसार दर्ता भएको एक स्वशासित सँगठित संस्था रहेको देखिन्छ । संस्था दर्ता ऐन २०६४ को दफा ५ अनुसार ऐन अन्तर्गत दर्ता भएको प्रत्येक संस्था अविछिन्न उत्तराधिकारवाला स्वशासित र सँगठित संस्था हुने र सो संस्थाको सवै कामको निमित्त आफ्नो एउटा छुट्टै छाप हुने तथा संस्थाले चल अचल सम्पत्ति प्राप्त गर्न उपभोग गर्न वेंचविखन गर्न सक्ने देखिन्छ । त्यसै गरी संस्थाले व्यक्ति सरह आफ्नो नामवाट नालिस उजुर गर्न सक्ने र संस्था उपर पनि सोहीनामवाट उजूर लाग्न सक्ने गरी कानूनी व्यवस्था भएको पाइन्छ । सिद्धिस्मृति स्वास्थ्य सेवा केन्द्र भक्तपुरको विधान २०५० को दफा १.६ मा यो स्वास्थ्य सेवा कानूनको दृष्टिले व्यक्ति सरह एक स्वशासित सेवाकेन्द्र रहने छ भनी उल्लेख भएको पाइन्छ 

      ४.    प्रचलित ऐन कानून एवं विधान समेतवाट हेर्दा सँगठित संस्थाले गरेका काम कारवाहीका विषयमा नालेश उजुर गर्दा संस्थानै नाममा गर्नुपर्ने देखिन्छ । प्रस्तुत फिराद हेर्दा सो संस्थाको अध्यक्षलाई व्यक्तिगत रुपमा विपक्षी कायम गरी नालेश गरेको देखियो । संस्थाका पदाधिकारीले गरेको काम संस्थाको तर्फवाट गरिने हुँदा पदाधिकारीहरूले गरेको कामको कानूनी जिम्मेवारिता संस्थामा भरहने हुन्छ । पदाधिकारी निरन्तर परिवर्तन हुन सक्छन तर संस्था अविछिन्न उत्तराधिकारवाला स्वशासित हुने भएको हुँदा नालेश उजुर गर्नु पर्दा संस्थालाई नै विपक्षी वनाउनु पर्ने हुन्छ । संस्थालाई विपक्षी नवनाई सो संस्थाका एक जना पदाधिकारी अध्यक्षलाई नालेश गरेको कानून अनुकूल भएको देखिएन 

      ५.    अतः संस्थालाई विपक्षी नवनाई पदाधिकारी माथि दायर गरिएको उजूरी माथि खारेज गर्नुपर्नेमा सो नगरी निर्णय गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५८।१०।२२।२ को फैसला मिलेको नदेखिँदा उल्टि भै वादी दावी खारेज हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार वुझाई दिनु 

     

उक्त रायमा सहमत छु 

 

न्या.राजेन्द्रप्रसाद कोइराला

 

इति सम्वत् ०६५ असार १६ गते रोज २ मा शुभम्

इजलास अधिकृत राजेन्द्रकुमार आचार्य

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु