निर्णय नं. ३५६३ - अंश

निर्णय नं. ३५६३ ने.का.प. २०४५ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
२०४४ सालको दे.पु.नं. ८३६
फैसला भएको मिति : २०४५।७।१०।४ मा
पुनरावेदक/प्रतिवादी : का.प.जि.दाप्चा पुरानागाउँ गा.पं.वा.नं.१ बस्ने रामभक्त श्रेष्ठ
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ.दाप्चा श्रेत्रवास गा.पं.वा.नं.२ बस्ने सुमित्रादेवी श्रेष्ठ
मुद्दा : अंश
(१) नाता सम्बन्धको विवाद उत्पन्न भएपछि त्यस्तो विवाद भएको मुद्दामा जिल्ला अदालतबाट फैसला हुँदा तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(१)(ख) ले जिल्ला अदालतको फैसला उपर क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने व्यवस्था भएकोबाट शुरु जि.अ.ले फैसलाको तपसील खण्डमा इन्साफमा चित्त नबुझे अञ्चल अदालतमा पुनरावेदन गर्न जानु भनी सुनाएको नाताबाट अं.अ.मा परेकै भए पनि त्यस्तो पुनरावेदन उक्त व्यवस्था बमोजिम आफ्नो कार्यक्षेत्र भित्र नपरेपछि सम्बन्धित क्षेत्रीय अदालतमा पठाई दिनु पर्नेमा खाली प्रतिवादीले वादीसित विवाह भएको कुरा स्वीकारेको भनी आफ्नो क्षेत्राधिकार भित्र पर्ने भनी शुरु इन्साफ सदर गरी गरेको अं.अ.को र सो फैसलामा पुनरावेदन गर्ने अनुमति प्रदान नगरेको म.क्षे.अ.को निर्णय कानून बमोजिमको नहुँदा बदर हुने ।
(प्रकरण नं. १३)
पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरि अर्याल
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल
फैसला
न्या.हिरण्येश्वरमान प्रधान : म.क्षे.अ.बाट पुनरावेदन गर्ने अनुमति दिन इन्कार गरेको आदेशउपर पुनरावेदन गर्ने अनुमति प्रदान भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार छ ।
२. विपक्षी रमाभक्तकी जेठी श्रीमतीतर्फ छोरी २ नारायणभक्त छोरा १ जन्म भई २०२४ सालमा परलोक भएपछि विपक्षीसंग मेरो २०२५ साल फाल्गुणमा विवाह भई २०३० साल आषाढमा १ छोरी रमादेवी पैदा भएको सासू ससुरा मेरो विवाह अघि नै परलोक भइसकेको विपक्षी पतिले मलाई बराबर कुटपिट गर्ने २०४० साल बैशाख २ गते पनि कुटपिट गरी खान लाउन नदिई निकाला गरेकोले छोरी रमा र फेरादी माइती घरमा बसी आएकी छु ३ अंशियार हुँदा छोरी ३ जवानको विवाह खर्च परसारी मैले पाउने भाग अंश पतिबाट मलाई दिलाई पाउँ भन्ने वादी ।
३. २०२६ सालमा विपक्षीलाई विवाह गरी ल्याएको इज्जत आमद अनुसार खान लाउन दिएको छु, कुटपिट गरेको समेत कुनै कुरा होइन, २०२८ साल बैशाखमा २।४ दिन माइत बसी आउँछु भनी गएकी नआएबाट लिन जाँदा नआएकी २०२८ साल बैशाख देखि माइत बसेकी विपक्षीको २०३० सालमा मेरो तर्फबाट छोरी जन्मेको भन्नु र निकाला गरेको भन्ने दावी झुठ्ठा हो अंश समेत दिन नपर्ने भन्ने समेत व्यहोराको प्र.रमाभक्तको प्रतिउत्तर ।
४. रमादेवी नामको छोरी कस्को कोखबाट जन्म भएको हो मलाई थाहा छैन २०२८ सालदेखि माइती बसेकी आजसम्म घर आएकै नहुँदा मेरो होइन भन्ने समेत प्र.रमाभक्तको विपक्षी लोग्नेको घर र मेरो माइती नजीकै बराबर जाने आउने गरी आएको २०३० सालमा छोरी जन्मेको प्रतिवादीकै घरमा छोरी पाई सुत्केरी स्याहार्ने समेत गरेको थियो भन्ने समेत वादी सुमित्रादेवी समेतको बयान ।
५. प्रतिवादी जिम्माको बण्डा गर्नु पर्ने सम्पत्तिको फाँटवारी वादीबाट २०४२।३।१७ मा पेश भएको ।
६. रमादेवी वादी, प्रतिवादीको छोरी देखिएको अंश भइसकेको र सम्बन्ध विच्छेद भएको पनि कुनै प्रमाण पेश नभएकोले ३ खण्डको १ खण्ड वादीले अंश पाउने ठहर्छ भन्ने का.प.जि.अ.को फैसला ।
७. उक्त फैसलामा चित्त बुझेन भन्ने प्रतिवादी रमाभक्तको बा.अं.अ.मा परेको पुनरावेदन ।
८. शुरु जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने बा.अं.अ.को फैसला ।
९. बा.अं.अ.को फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्र.रमाभक्तको निवेदनमा लोग्ने स्वास्नीको सम्बन्ध विद्यमान रहेको कुरामा विवाद देखिएन २०३० सालमा जन्मेको छोरी मेरो होइन भनी विवाद देखाएकोमा सो कुराको प्रमाणित गर्नसकेको नपाइँदा बा.अं.अ.को इन्साफमा न्या.प्र.सु. ऐन, २०३१ को संशोधन सहितको दफा १३(४) को त्रुटि देखिन नआएबाट पुनरावेदनको अनुमति दिन मिलेन भन्ने म.क्षे.अ.को २०४४ साल पौष १५ गतेको आदेश ।
१०. उक्त क्षे.अ.को आदेश स.अ.बाट प्रतिपादित सिद्धान्त विपरीत भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत प्र.रमाभक्तको यस अदालतमा परेको निवेदन ।
११. नाता सम्बन्धी विवाद उठी वादीबाट जन्मिएको छोरी वादी प्रतिवादीको कायम हुने भन्ने ठहरी शुरु का.प.जि.अ.बाट फैसला भएपछि तत्कालिन न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(१)ख. ले प्रस्तुत मुद्दाको पुनरावेदन क्षे.अ.मा लाग्नेमा अं.अ.ले लिई इन्साफ गरेउपर पुनरावेदन गर्ने अनुमति दिन इन्कार गरेको म.क्षे.अ.को आदेश उक्त ऐनको व्याख्यात्मक त्रुटि भई न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति दिएको छ भन्ने यसै अदालत संयुक्त इजलासको आदेश ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री हरि अर्याल र विपक्षीतर्फका विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले गर्नु भएको बहस समेत सुनी इन्साफतर्फ विचार गर्दा ।
१३. यसमा वादीले फिराद दिंदा प्रतिवादीसित विवाह भई २०३० सालमा छोरी जन्मेको २०४०।१।२ मा खान लाउन समेत नदिई निकाला गरेकोले अंश दिलाई पाउँ भन्ने दावी लिई फिराद दिएकोमा प्रतिवादीले वादीसित विवाह भएको स्वीकार गरे पनि २०२८ साल बैशाख सक्रान्तीमा वादीको बाबुले लिन आई ४ दिनको लागि भनी माइत गएको ५ दिनसम्म पनि नआएबाट छैटवां दिन आफैं लिन जाँदा पनि आउन इन्कार गरी माइत रहेको सो अवस्था देखि घरमा आउँदै नआएको हुँदा २०३० सालमा जन्मेको भनेको छोरी मेरो विर्यबाट जन्मेको होइन को कसबाट कसरी जन्म्यो थाहा छैन भनी वादीले देखाएकी छोरीलाई आफ्नो होइन भनी इन्कार गरेबाट नातातर्फ वादी प्रतिवादीको बयान हुँदा पनि प्रतिवादी छोरी आफ्नो विर्यबाट जन्मेको होइन को कसबाट जन्मेको हो र वादी पनि मेरो सतमा छ छैन थाहा छैन भनी बयान गरेकोबाट प्रतिवादीले वादीसित आफ्नो विवाह भएको कुरा स्वीकार गरे पनि पछि जन्मेकी छोरीलाई आफ्नो छोरी भनी स्वीकार नगरेबाट वादी र प्रतिवादी बीच पनि लोग्ने स्वास्नी नाता रहे नरहेको कुरामा विवाद उठ्न आएको स्पष्ट भएको छ यस्तो जन्मेकी छोरी स्वास्नीको लोग्नेसंग नाता सम्बन्धको विवाद उत्पन्न भएपछि त्यस्तो विवाद भएको मुद्दामा जिल्ला अदालतबाट २०४२।६।३० मा फैसला हुँदा तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(१)(ख) ले जिल्ला अदालतको फैसला उपर क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने व्यवस्था भएकोबाट शुरु जि.अ.ले फैसलाको तपसील खण्डमा इन्साफमा चित्त नबुझे अञ्चल अदालतमा पुनरावेदन गर्न जानु भनी सुनाएको नाताबाट अं.अ.मा परेकै भए पनि त्यस्तो पुनरावेदनउपर व्यवस्था बमोजिम आफ्नो कार्य क्षेत्रभित्र नपरेपछि सम्बन्धित क्षेत्रीय अदालतमा पठाई दिनु पर्नेमा खाली प्रतिवादीले वादीसित विवाह भएको कुरा स्वीकारेको भनी आफ्नो क्षेत्राधिकार भित्र पर्ने भनी शुरु इन्साफ सदर गरी गरेको अं.अ.को र सो फैसलामा पुनरावेदन गर्ने अनुमति प्रदान नगरेको म.क्षे.अ.को निर्णय कानून बमोजिमको नहुँदा बदर हुन्छ बागमती अञ्चल अदालतमा दायर भएको पुनरावेदनलाई दर्ता गरी कानून बमोजिम गर्नु भनी पक्ष विपक्षलाई तारेख तोकी मिसिल म.क्षे.अ.मा पठाई दिनु ।
उक्त रायसंग म सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इति सम्वत् २०४५ साल कार्तिक १० गते रोज ४ शुभम् ।