शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५६४ - करकापसंग कागज गराए बदर गरी पाउँ

भाग: ३० साल: २०४५ महिना: मंसिर अंक:

निर्णय नं. ३५६४ ने.का.प. २०४५     अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४४ सालको फौ.पु.नं. ६३६

फैसला भएको मिति : २०४५।७।१७।४ मा

 

पुनरावेदक/वादी : जि.वैतडी शिवलिङ गा.पं.वा.नं.७ बस्ने हर्कबहादुर साउद

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने धनसिंह साउदसमेत

 

मुद्दा : करकापसंग कागज गराए बदर गरी पाउँ

 

(१)                  मिलापत्रको कुराहरुमा प्रहरी ऐन नियमले प्रहरीलाई कागज गराउने र जिल्ला कार्यालयले समेत मिलापत्र गराउन लेखी पठाउने अधिकारक्षेत्र भित्रको नदेखिएकोले विपक्षी प्रहरी समेतले अड्डाको काम कारवाहीको सिलसिलामा प्रहरी ऐन नियम भित्र रही काम कारवाही गरेको भन्न नमिल्ने ।

(प्रकरण नं. ११)

(२)                प्रहरी समेतले गरेको काम कारवाही अड्डाको काम कारवाहीको सिलसिलामा भए गरेको नदेखिएकोले अ.बं.२९(८) बमोजिम यो फिराद अञ्चल अदालतमा लाग्ने भन्न नमिल्ने ।

(प्रकरण नं. ११)

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान :      सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावदेनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।

२.     प्रहरी इन्चार्जले बोलाएकोले प्रहरी चौकी गाजरीमा मिति २०४२।६।१४ गतेका दिन गएकोमा प्रहरी इन्चार्ज नरसिंह धामी र प्रहरी सुन्सरीले मेरो कान निमोठी उठ बस समेत गरी घाँटी च्यापी थप्पड हानी विपक्षी धौले बोहराले नमालुम के व्यहोरा लेखेको कागजमा व्यहोरा पढन नदिई नसुनाई २ ठाउँमा लेखात्मक र दायाँ बायाँ बुढी औंलाको ल्याप्चे सहिछाप गराई अब जग्गा नामसारी हुनसक्दैन जे जो गर्नु पर्छ गर्नु भनी धनसिंह, कृष्णसिंह, नरसिंहले मलाई सुनाई छोडी दिएकाले धनसिंह समेतको एकोहोरो कुरा सुनी प्रहरी इन्चार्जले अनाधिकारसंग करकापबाट मेरो कागज गराएकाले सो कागज अ.बं.२४ नं. अनुसार बदर गरी दं.स.को १२ नं. अनुसार सजायँ गरिपाउँ भन्ने समेतको मिति २०४२।७।१३ को फिराद दावी ।

३.     धन सिंह, कृष्ण सिंहले कुटपिट अशान्ति गरेको भनी हर्कबहादुरले जि.का.मा दिएको निवेदनबाट अवगत गरी दुवै थरलाई हाजिर गराई मिले मिलाई दिने र नमिले तारेख तोकी उपस्थित गराई दिनु भनी उक्त निवेदन साथ प्राप्त जिल्ला कार्यालय बैतडीको पत्रानुसार स्वयं उपस्थित भएका दुवैपक्षले लेनदेन विषयको मेल मिलाप गरी सोही विषय दर्साई जिल्ला कार्यालय बैतडीमा निवेदन साथ मिलापत्र समेत पठाई दिएको हो । वादीको इच्छा विरुद्ध करकापसंग अरु कुनै कागज गराएको होइन । प्रहरी ऐन, २०१२ को दफा ३८ अनुसार प्रहरी कर्मचारीलाई मुद्दा चलाउने सूचना दिई मुद्दा चलाउनु पर्नेमा कानून विरुद्धको फिराद हुँदा खारेज गरिपाउँ भन्ने समेतको प्रहरी चौकी इन्चार्ज नरसिंह धामीको प्रतिउत्तरपत्र ।

४.     फिराद दावी अनुसार जबरजस्तीपूर्वक विपक्षीको कुनै कागज गराएको छैन । विपक्षको हक भोगको जग्गा निजका नाउँमा नामसारी गर्न हाम्रो मञ्जूर छ भनी हामीहरुले जिल्ला माल कार्यालय बैतडीमा बयान गरिसकेकाले जग्गा विषयमा जबरजस्तीपूर्वक कुनै कागज गराउनु पर्ने प्रयोजन छैन विपक्षीले मबाट सापटी लिएका गहनाहरु बुझाउने र हामीहरुउपर जि.का. बैतडीमा गरेको उजूरमा कुनै कारवाही नगर्ने भनी मिलापत्र गर्न वादी मञ्जूर भएकोले जि.का.बाट प्राप्त पत्रानुसार मिलापत्र भएको हो । सो मिलापत्र बदर हुनसक्ने स्थिति नहुँदा सो कागज सदरै राखी झुठ्ठा उजूरबाट फुर्सद दिलाई विपक्ष वादीलाई नै सजायँ गरिपाउँ भन्ने समेतको प्र.धनसिंह साउद समेत जना ३ को संयुक्त प्रतिउत्तर जिकिर ।

५.     प्रहरी ऐन, २०१२ को दफा ३८ को कार्यविधि नअपनाई प्रहरी कर्मचारीको काम कार्यविधि अपनाएपछि मात्र यस अदालतको अधिकार क्षेत्रमा प्रस्तुत फिराद पर्न सक्नेमा सो अनुसार भए गरेको नदेखिएकोले प्रहरी ऐन, २०१२ को दफा ३८ र अ.बं.को (२९) देहाय ८ को प्रतिकूल फिराद देखिँदा अ.बं.१८० ले प्रस्तुत फिराद खारेज हुने ठहर्छ भन्ने समेतको महाकाली अञ्चल अदालतको मिति २०४३।३।१५।१ को फैसला ।

६.     जवरजस्ती कागज गराउन पाउने भन्ने प्रहरी कर्मचारीको कर्तव्य नभएकोले प्रहरी ऐन, ०१२ को दफा  ३८ अनुसार सूचना दिनु नपर्नेमा महाकाली अञ्चल अदालतले लाग्न नसक्ने तर्क बुँदा लगाई मेरो फिराद खारेज गरेको त्रुटिपूर्ण फैसला बदर गरिपाउँ भन्ने समेत हर्कबहादुर साउदको सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

७.     प्र.नरसिंह धामीले गरेको क्रियाकलाप प्रहरी चौकी गाजरीको हवलदारको हैसियतले गरेकोले अ.बं.२९ को देहाय ८ बमोजिम मुद्दा अञ्चल अदालतमा दर्ता गराएको देखिँदा ऐन बमोजिमको लिखित नोटिस र त्यसको एकप्रति नक्कल श्री ५ को सरकारमा दिएको नहुँदा खारेज गर्ने गरेको महाकाली अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।४।२६।१ को फैसला ।

८.     सो करकापबाट गराएको कागजबाट अरु गैर कर्मचारी समेत भई कागज गराएको देखिएपछि अ.बं.२९ नं. देहाय दफा ८ अनुसार मेरो फिराद परेको सरकारी काम कर्तव्य मात्र नभई सो लिखितबाट घरायसी काम कर्तव्यमा पनि कागज गराएको देखिएकोले प्रहरी ऐन बमोजिम सूचना दिन नपरी अ.बं.२९ नं. ले मेरो फिराद दर्ता भई कारवाई चलेको हुँदा खारेज गरेको सदर गरेको सु.प.क्षे.अ.को इन्साफ त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाई उक्त फैसलाहरू बदर गरिपाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको निवेदनपत्र ।

९.     प्रहरी ऐन, २०१२ को दफा ३८ हेर्दा यस ऐन, नियम वा विनियमले अधिकार दिएको सम्झी कुनै काम गरेको भए त्यसरी मुद्दा चलाउँदा लिखित सूचना दिनुपर्ने कानुनी व्यवस्था देखिन्छ तर प्रहरी चौकीलाई लेनदेनको विषयमा मिलापत्र गराउने अधिकार प्रहरी ऐनले दिएको नदेखिएकोले प्रहरी ऐनको दफा ३८(क) को गलत व्याख्या गरी फैसला गरेको देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजन बेञ्चको मिति २०४४।२।१५।६ को आदेश ।

१०.     नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा महाकाली अञ्चल अदालतको इन्साफ सदर गरेको सु.प.क्षे.अ.को इन्साफ मिलेको छ छैन भन्ने नै निर्णय दिनुपर्ने हुन आयो ।

११.     यसमा पक्ष विपक्षलाई पुकार लगाउँदा पनि उपस्थित नभएकोले मिसिल अध्ययन गरी इन्साफतर्फ विचार गर्दा वादीले विपक्षी चौकीका प्रमुख समेतउपर अड्डाको काम कारवाहीको सिलसिलामा पुनरावेदकलाई करकापसित कागज गराएको भन्ने आधारमा प्रस्तुत फिराद अञ्चल अदालतमा दायर गरेको देखियो तर परेको फिराद र परेको प्रतिउत्तर व्यहोराबाट पुनरावेदकले नै आफूलाई कुटपिट गरी अशान्ति गरेको भनी जिल्ला कार्यालय वैतडीमा दिएको निवेदनमा जिल्ला कार्यालय वैतडीले निवेदनबाट अवगत गरी दुवै थरलाई हाजिर गराई मिले मिलाई दिने र नमिले तारिख तोकी उपस्थित गराई दिनु भनी लेखी पठाएकोबाट दुवैपक्षलाई बोलाई पुनरावेदकले सापटी लिएको गहनाहरु बुझाउने र प्रतिवादीहरु उपरको जिल्ला कार्यालय वैतडीमा गरेको उजूरीमा कुनै कारवाही नगर्ने भनी मिलापत्र गर्न वादी मञ्जूर भएकोले जिल्ला कार्यालयबाट प्राप्त पत्रानुसार मिलापत्र भएको भन्ने देखिन आएकोले प्रतिवादीहरुले वादी पुनरावेदकसित मिलापत्र गर्ने गरी कागज गराएकै देखिन आयो तर प्रतिउत्तर जिकिर बमोजिम जुन कुरामा मिलापत्र भएको मानिएको छ सो कुराहरुमा प्रहरी ऐन नियमले प्रहरीलाई कागज गराउने र जिल्ला कार्यालयले समेत मिलापत्र गराउने लेखी पठाउने अधिकारक्षेत्र भित्रको नदेखिएकोले विपक्षी प्रहरी समेतले अड्डाको काम कारवाहीको सिलसिलामा प्रहरी ऐन नियम भित्र रही काम कारवाही गरेको भन्न मिल्ने देखिन आएन । यस स्थितिमा प्रहरी ऐनको दफा ३८ बमोजिम स्वीकृति लिई फिराद दिइनु पर्ने भन्ने प्रतिवादीहरु तर्फको जिकिरसंग  सहमत हुन सकिएन । यसरी विपक्षी प्रहरी समेतले गरेको काम कारवाही अड्डाको काम कारवाहीको सिलसिलामा भए गरेको नदेखिएकोले अ.बं.२९(८) बमोजिम यो फिराद अञ्चल अदालतमा लाग्ने भन्न नमिलेकोले फिराद पर्दाकै अवस्था अ.बं.२७ नं.बमोजिम दरपीठ गरी दिन पर्नेमा सो नगरी फिराद लिई गरेको अञ्चल अदालतको निर्णय अनाधिकार देखिन आएकोले सोही निर्णय सदर गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय समेत बदर हुन्छ । प्रस्तुत फिराद सहितको मिसिल पक्ष विपक्षलाई तारिख तोकी सम्बन्धित वैतडी जिल्ला अदालतमा पठाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४५ साल कार्तिक १७ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु