निर्णय नं. ३५६५ - जिउमास्ने बेच्ने

निर्णय नं. ३५६५ ने.का.प. २०४५ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको फौ.पु.नं. ४१४
फैसला भएको मिति : २०४५।७।१७।४ मा
पुनरावेदक/प्रतिवादी : जि.बाँके फत्तेपुर गा.पं.वडा नं.१ बस्ने राजनन्दन भन्ने नन्को पाण्डे
विरुद्ध
विपक्षी/वादी : श्यामकुमारीको जाहेरीले श्री ५ को सरकार
मुद्दा : जिउमास्ने बेच्ने
(१) आफूलाई लगाइएको अपराध गरेकोमा इन्कार रही आफू देखाइएको वारदातमा गाउँघरमै नभई बर्दियामा नोकरी गरी बसेको भनी देखाई बयान गरेकोमा निजका साक्षीहरुले निजको सो इन्कारी बयान समर्थित हुने गरी बयान गरेको देखिन आएकोले शंकारहित तवरबाट प्रतिवादीले वादी दावी बमोजिम अपराध गरेको भनी ठहर गर्न नसकिने ।
(प्रकरण नं. १७)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षी/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की
फैसला
न्या.हिरण्येश्वरमान प्रधान : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ ।
२. लोग्ने राम नरेश नेपालगञ्ज गएका बखत २०३९।११।१७ गते राती अन्यायी नन्को मेरो घरमा आई आजै राती गहना नगद समेत लिई, भागी जाउँ भनी मलाई फकाएकाले मैले रु.६,०७०।– को गहना समेत लिई, निजसंग सो राति भागी गई भारत मेडकोहा गाउँ बद्रिसिंका घरमा पुर्याई सकेपछि २ महिना जति स्वास्नी तुल्याई रु.३,५००।– मा बद्रिसिंको हातमा मलाई बिक्री गरी निज नन्को भागी बेपत्ता भएकाले मौका पारी म पनि भागी आई २०४०।१।२२ गते आफ्नो विवाहिता लोग्ने राम नरेश दुवेको घरमा आई बसेको छु । अन्यायी नन्को पाण्डेलाई पक्राउ गरी मेरो बिगो रु.६,०७०।– को धनमाल भराई मलाई भारतमा लगी विक्री गरेमा सजायँ समेत गरिपाउँ भन्ने समेत श्यामकुमारी दुवेको जाहेरी ।
३. जाहेरवालीलाई प्र.नन्को पाण्डेले फकाई लिई विदेश भारतमा बिक्री गरेको हुनुपर्छ, सो कुरा जाहेरवालीबाट प्रष्टै थाहा भयो भन्ने समेत वनवारीलाल बाहुन समेतको सरजमीन मुचुल्का ।
४. सङ्कलित प्रमाणहरुबाट अभियुक्त राजनन्दन भन्ने नन्को पाण्डेले जाहेरवालीलाई विदेशमा लगी विक्री गरी मुलुकी ऐन ज्यू मास्ने बेच्नेको महल १ नं.अन्तर्गतको अपराध गरेको हुँदा निजलाई सोही १ र ५ नं. ऐन अनुसार सजायँ गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।
५. मेरो भाइ गोविन्द पाण्डेसँग झगडा भएकोले म ०३९।९।१ गतेदेखि बर्दिया जमुनी गा.पं.प्लट नं. २२ मा बस्ने तिलकबहादुर थापा कहाँ गई नोकरी गरिरहेको हुँदा ०३९।११।१७ गते पनि म त्यही नै छु, जाहेरवाली कहाँ थिए थाहा छैन । जाहेरवालीको लोग्नेसंग धेरै पहिले देखि पशुले खेत चरेको विषयमा झगडा भएको रिसले झुठ्ठा जाहेरी दिन लगाएका हुन । जाहेरवाली र गहना सहित लगेर पछि विक्री गरेको समेत होइन । जाहेरी र सरजमीन समेत झुठ्ठा हो भन्ने समेत प्र.राजनन्दन भन्ने नन्को पाण्डेको अदालतमा गरेको बयान ।
६. जाहेरवाली नन्को को साथमा गएकी थिई । निज २०४० साल बैशाखमा घर फर्की आएपछि मलाई नन्कोले बिक्री गरेका थिए भनी भन्दा थाहा पाएको हो नन्कोले जाहेरवालीलाई बिक्री गरेको भन्ने कुरामा विश्वास लाग्छ भन्ने समेत सरजमीनका वनवारीलाल, यज्ञबहादुर थापा, बदलु भुजवा, वंश गोपाल समेतको बकपत्र ।
७. प्रतिवादी दिनदिनै मेरो घरमा आएर मलाई यहाँ नबसौं बजारमा गई बसौं भनी फकाउने गरेकोले २०३९।११।१७ गते राती प्र.संग म जाहेरवाली भागी गई भारत मेटुकोहा गाउँ बद्री सिं ठाकुरका घरमा गएपछि एक महिनासम्म सो अवस्था लोग्ने स्वास्नी भई बसेको थियो । केही दिनपछि बद्रीसिं ठाकुरबाट भा.रु. ३,५००।– लिँदा मैले देखी किन लिएको भन्दा व्यापारका लागि लिएको भनेका निज भागेकाले मैले बद्रीसिंसंग कहाँ गए भनी सोधें बद्रीसिंले तिमीलाई यहाँ बेची रु.३,५००।– लिई गइसक्यो । अब आउँदैन भनी जवाफ दिएकाले दिशापिसावको बहाना गरी भागी घरमा आएर जाहेर गरेकी छु । प्र.संग जाँदा नगद र जेवरहरु सहित लिई गएकी थिएँ भन्ने समेत जाहेरवालीको अदालतमा भएको बकपत्र ।
८. प्र.राजनन्दन फाल्गुण १७ गते बर्दियामा थिए । जाहेरवालीलाई प्र.ले भगाई लगेका होइनन् । जाहेरी झुठ्ठा हो भन्ने समेत प्रतिवादीका साक्षी महावीर राठ, घरौटे धोवी, मुलै राठ, रामप्यारे, मेषराज काफ्ले, तिलकबहादुर समेतको बकपत्र ।
९. म नेपालगञ्ज गएको बखत जाहेरवाली मेरी श्रीमतीलाई २०३९।११।१७ गते राती प्र.ले फकाई स्वास्नी बनाउँछु भनी लगी भारत मेडकिया गाउँ बद्रीसिं ठाकुरको घरमा पुर्याई डेढ दुई महिना राखेपछि त्यहाँबाट बिक्री गरेकोले म भागी आएको हुँ भनी भनेकीले प्र.ले जाहेरवालीलाई भगाई लिई बिक्री गरेको हो भन्ने समेत राम नरेशको बकपत्र ।
१०. जाहेरवालीको बकपत्र र सरजमीनका मानिसको भनाई भरपर्दो रुपको देखिँदैन । बिक्री गरेको भन्ने तथ्य सबूद प्रमाण कुनै छैन । यस्तो अवस्थामा कसूरमा इन्कार रहने प्र.ले कसूर गरे होला भन्न न्यायसंगत नहुने हुँदा प्रतिवेदन दावी पुग्न सक्दैन । प्रतिवादीले सफाई पाउने ठहर्छ भन्ने समेत बाँके जि.अ.मिति २०४०।५।४।३ को फैसला ।
११. प्रतिवादीलाई सफाई दिने ठहराएको बाँके जि.अ.को फैसला न्यायोचित भएन बदर गरी दावी बमोजिम प्र.लाई सजायँ समेत गरी पाउँ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदनपत्र ।
१२. जाहेरवालीले अदालत आई बकपत्र गर्दा जाहेरी मिलानकै बकपत्र गरेको समेतका प्रमाणबाट प्रतिवादीले कसूर गरेको ठहर्छ बाँके जिल्ला अदालतको फैसला उल्टी हुन्छ भन्ने समेत व्यहोराको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।१।९।४ को फैसला ।
१३. मैले जाहेरवालीलाई विदेश लगेको देख्ने चस्मदिद गवाह छैनन् । जाहेरी दर्खास्त र बकपत्रका कुरा तथा जाहेरी दर्खास्त र सरजमीनका व्यक्तिहरुको भनाइमा नै एकरुपता छैन । यस अवस्थामा जिल्ला अदालतको फैसला उल्टाई मलाई दोषी ठहराई गरिएको निर्णय सबूद प्रमाण विपरीत हुँदा बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.राजनन्दन भन्ने नन्को पाण्डेको पुनरावेदनपत्र ।
१४. यसमा जाहेरवालीको व्यहोरा र अदालत समक्ष निजले गरेको बकपत्र आपसमा मिल्न आएको देखिँदैन । प्रतिवादी आरोपित कसूरमा पूर्ण रुपमा इन्कार रहेको पाइन्छ । प्रतिवादीको इन्कारीलाई निजका साक्षीलेहरुले समेत समर्थन गरी बकपत्र गरिदिएको पाइन्छ । जाहेरवालीलाई प्रतिवादीले बिक्री गरेको ठोस सबूद प्रमाण केही देखिँदैन । यस्तो अवस्थामा निज प्रतिवादीलाई जिउ मास्ने बेच्ने कसूर गरेको ठहराएको म.प.क्षे.अ.को फैसला मिलेको देखिन नआएकोले अ.बं.२०२ र सर्वोच्च अदालत नियमावली बमोजिम विपक्षी वादी श्री ५ को सरकारलाई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४५।५।१ को आदेश ।
१५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले मेरो पक्षको विरुद्ध ठोस प्रमाण केही छैन, जाहेरवालीको शुरु जाहेरी र बकपत्र बाझिएको छ । यस अवस्थामा मेरो पक्षलाई कसूरदार ठहर गरेको क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी शुरु जि.अ.ले सफाई दिएको फैसला सदर कायम राखीपाउँ भन्ने र विपक्षी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्कीले प्रतिवादीउपर जाहेरवालीले किटान गरेकी छन् निजको अन्यत्र रहेभएको प्रमाण ठोस नभएकाले क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेकै हुँदा सदर होस् भनी बहस गर्नु भएको छ ।
१६. प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ भन्ने नै निर्णय दिनुपर्ने हुनआएको छ ।
१७. यसमा जहाँसम्म क्षेत्रीय अदालतले जाहेरवालीले आफ्नो जाहेरीमा लेखिदिएको कुरा अदालतमा आई बकपत्र गर्दा समेत समर्थन गरेको भनी उल्लेख गरेको बुँदातर्फ विचार गरेमा जाहेरीमा जाहेरवालाले आफूलाई पुनरावेदकले विवाह गर्ने भनी ललाई फकाई लगी भारत मेदकहीमा एक महिनासम्म आफ्नै स्वास्नी बनाई राखेको र त्यसपछि छोडी भागी आएबाट घरवाला बद्री सिंहलाई सोद्धा रु.३,५००।– मा बिक्री गरी गएको भनी देखाएकोमा निजले अदालतमा आई बयान गर्दा पहिले आफूलाई ललाई फकाई लगेको भनी देखाए पनि पछि प्रतिवादीतर्फबाट जिरह गरिँदा आफूलाई रातको समय जङ्गलै जङ्गल रुपैडिहा पुर्याई जबरजस्ती बसमा बसालेको र हातले मुख समेत थुनेको थियो भनी भनेको तर पछि फेरि पुनः सोधपुछ गर्दा ललाई फकाई लगेको हो मलाई समातेको र मुख पनि थुनेको थिएन भनी देखाएकोबाट निज जाहेरवालीलाई के कुन रुपबाट प्रतिवादीले भारतमा पुर्याएको हो यो नै यकीन रुपमा भन्न सकिने स्थिति देखिन आएन । यसको अलावा जाहेरवालीले आफ्नो जाहेरीमा आफूलाई प्रतिवादीले छोडी आएपछि मात्र बद्री सिंहसित सोद्धा रु.३,५००।– मा बेची गएको थाहा पाएको भनी देखाएको छ भने बयानमा प्रतिवादीले बद्री सिंहबाट रु.३,५००।– लिएको आफैंले देखेको र किन लिएको भन्दा व्यापार गर्न लिएको भनी भनेको तर निज फर्की नआएकोबाट बद्री सिंहसित सोद्धा रु. ३,५००।– मा बिक्री गरी गएको र बद्री सिंहले आफूलाई जबरजस्ती सुताई जवर्जस्ती करणी समेत गर्यो भनी समेत देखाएको यदि जाहेरवालीका यी सबै कुरा साँचो भए मौकामा नै यी सबै लेखी देखाउनु पथ्र्यो । सो नदेखाई बकपत्रमा मात्र देखाएकोबाट जाहेरी र बकपत्रमा मौलिक रुपमा फरक पर्न गएको देखिन्छ । यसको अलावा जाहेरवालीले आफ्नो जाहेरीमा आफूलाई प्रतिवादीले लाँदा साथमा रु.६,०००।– भन्दा बढी मोल बिगो नगद र गहना तथा डेढ वर्षको बच्चा समेत आफ्नो साथमा लिई गएको भनी देखाएकोमा फर्कंदा सो बच्चा कहाँ गयो के भयो केही देखाउँन नसकेको आफ्नो धनमाल नगद र बच्चा लिई त्यसरी आफ्नी स्वास्नी बेपत्ता भएपछि लोग्नेले खरखोजी र कानून बमोजिम जाहेरी समेत दिन पर्ने सो गरेको पनि देखिन आएन । आफैंले अरुसित लोग्नेस्वास्नी भई बसिसकेको र अरुले जबरजस्ती करणी समेत गरिसकेको भनी देखाएकी स्वास्नीलाई घर आउनासाथ आफ्नो लगेको बच्चाको केही खोजी समेत नगरी आफूले स्वास्नीको रुपमा राखेको भन्ने कुरा पत्यारलायक देखिन पनि आउँदैन भने प्रतिवादीतर्फका गाउँकै साक्षीहरुले पनि वारदातपछि पनि जाहेरवालीलाई निजको लोग्नेकै घर देखेका हौं भनेबाट जाहेरीमा देखाएको कुरा शड्ढाजनक देखिन आएको छ । यस स्थितिमा प्रतिवादी आफूलाई लगाइएको अपराध गरेकोमा इन्कार रही आफू देखाइएको वारदातमा गाउँघरमै नभई बर्दियामा तिलकबहादुरको घरमा नोकरी गरिबसेको भनी देखाई बयान गरेकोमा निज तिलकबहादुर समेत निजका साक्षीहरुले निजको सो इन्कारी बयान समर्थित हुने गरी बयान गरेको देखिन आएकोले शंकारहित तवरबाट प्रतिवादीले वादी दावी बमोजिम अपराध गरेको भनी ठहर गर्न सकिने अवस्था नहुँदा शुरु बाँके जिल्ला अदालतले सफाई पाउने ठहर्याई गरेको इन्साफ मनासिब ठहर्दछ । वादी दावी बमोजिम सजायँ गर्ने ठहर्याएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।१।९।४ को फैसला उल्टी हुने ठहरेकोले उक्त फैसलाले राख्ने गरेको लगत व्यहोरा जनाई कट्टा गरी दिनु शुरुमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु । प्र.राजनन्दन भन्ने नन्को पाण्डेले आरोपित कसूरबाट सफाई पाउने ठहरेकाले यस मुद्दामा थुनाबाट छाडी दिनु भन्ने मिति ०४५।५।१७ मा यस इजलासबाट आदेश भइसकेको हुँदा केही गर्नु परेन । मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४५ साल कार्तिक १७ गते रोज ४ शुभम् ।