शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५६८ - लिखत पारित

भाग: ३० साल: २०४५ महिना: पौस अंक:

निर्णय नं. ३५६८ ने.का.प. २०४५     अङ्क ९

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको दे.फु.बे.नं. ६९

फैसला भएको मिति : २०४५।५।९।५ मा

 

निवेदक/प्रतिवादी : जिल्ला सप्तरी डाढा गा.पं. वा.नं.९ बस्ने महेन्द्रनारायण तेलीसमेत

विरुद्ध

विपक्षी/वादी : ऐ.डिमन गा.पं. वा.नं.६ बस्ने भुवनेश्वर साहु तेली

 

मुद्दा : लिखत पारित

 

(१)                  लिखतको हरफलाई नछोई कारणीले सही गरेकोलाई कानूनले स्पष्ट रुपबाट गैरकानूनी भन्न सकिने व्यवस्था गरेको नदेखिए पनि त्यस्तो लिखत व्यवहारमा प्रचलनमा रहेको नदेखिएकोले यस्तो सहीलाई शुद्ध लिखतमा परेको सही भन्न सकिने अवस्था देखिन नआउने ।

(प्रकरण नं. १६)

(२)                वारेसनामाको लिफा दिएको कारणबाट कारणीको सहीमा सही वा वारेस भन्ने परेकोबाट सो लिफामा राजीनामा खडा गर्दा सही परेको वारेस भन्ने शब्द मिल्न नआउने भएबाट सो वारेस भन्ने शब्दलाई दबाउन वार्ड ६ भनी लेखेको स्पष्ट देखिन आएकोले पास गरी पाउँ भनी दावी लिएको लिखत  सत्य साँचो व्यहोराको नदेखिई लिफामा खडा गरेको देखिन आउने ।

(प्रकरण नं. १६)

 

निवेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री सुधीर श्रेष्ठ

विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्ज विहारीप्रसाद सिंह

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालतको डिभिजन बेञ्चबाट मिति २०४१।९।२४।२ मा भएको फैसला दोहोर्‍याई पाउँ भनी निवेदकहरुले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारमा विन्तिपत्र चढाउनु भएकोमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोर्‍याई दिनु भन्ने हुकुम बक्स भई आएबमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२.     विपक्षीहरुको सगोलका लोग्ने दाजु बाबु महादेव साहू तेलीले मसँग रु.३८,००१।अड्तीस हजार एक बुझी लिई सो मोलमा आफ्ना दर्ताको जि.सप्तरी डाँडा गा.पं.वार्ड नं. ९ को कि.नं.११९ को ०१४१७, वार्ड नं. ९ कि.नं.१३९ को ०१४, वार्ड नं. ९ कि.नं.२०६ को ०१३६ समेत २९ दुई विगहा दुई कठ्ठा नौ धुर जग्गा मलाई मिति ०३३।१२।३०।३ मा राजीनामा लेखी दिई सो राजीनामा ऐनका म्याद ६ महीाभित्र पारित गरी दिनु भन्दा अगावै ०३४ साल श्रावण महिनामा आफ्ना काल गतिले परलोक भइसकेकोमा निजको हक खाने प्रतिवादीहरु निजको सगोलको स्वास्नी भाइ र छोराहरुलाई पनि उक्त राजीनामा पारित गरिदिनु भनी भन्दा पारित गरी नदिएकोले पारित गरिपाउँ भन्ने समेत फिराद दावी रहेछ ।

३.     स्वर्गीय हाम्रो पिता, दाजु र पति महादेव साहू तेलीले वादीसँग रु.३८,००१।लिई वादी दावी अनुसारको जग्गा वादीलाई राजीनामा लेखी दिएको छैन वादी दावी झुठ्ठा हो । यसमा शुद्ध साँचो कुरा क्या हो भन्ने हाम्रै गाउँ बस्ने दानालाल साहूसँग यस स.जि.अ.मा पिता दाजु लोग्ने महादेव साहुको दे.नं. २५०१ को ज.खि. मुद्दा चलेको थियो सो मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदनको अनुमतिमा तारेख लिनका लागि यो वादीलाई स्वर्गीय बुबा, दाजु, लोग्ने महादेव साहुले वारिसनामाको लिफाहरु बनाई दिएका थिए यसको अलावा वादीसँग कुनै लेनदेन कारोवार थिएन । अतः वादीले कुन किसिमबाट कागज बनाएको हो, हामीलाई देखाएपछि सद्दे कीर्तेमा बयान गर्नेछौं भन्ने समेत व्यहोराको प्रतिवादीहरुको प्रतिउत्तरपत्र ।

४.     मलाई वारिस गरी दिएका प्र.महेन्द्रनारायण समेत भएको लिखत पारित मुद्दामा वारिस दिनेको बाबु महादेव साहु तेलीले वादीसँग लेनदेन गरी लिखत लेखी दिएको छैन । लिखत लिफामा खडा गरिएको हो । वादी भुवनेश्वर साहूलाई दे.नं. ३८५ को महादेव साहु विरुद्ध दानालाल साहू भएको जग्गा खिचोला मुद्दामा मिति ०३६।११।१५।५ मा स.जि.अ.बाट भएको फैसला उपर इन्साफ जाँच गरिपाउँ भनी निवेदन दिँदा सो मुद्दाको फैसला पूर्वाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३२।१।१५ मा भएकोले सोही मुद्दामा विपक्ष भुवनेश्वरलाई वारिस हुन दिएको वारेसनामाको लिफामा विपक्षीले सोही लिफामा लिखत साक्षी र फड्के साक्षी समेतलाई मिलाई लिखत खडा गरी गरेकोले लिखत कीर्ते हुँदा विपक्षहरुलाई कीर्ते गरेमा सजायँ गरिपाउँ भन्ने प्र.वा.रमाप्रसाद सिंह राजपुतको    बयान ।

५.     मेरो बाबुसँग प्र.को बाबु महादेव साहू तेलीले जग्गा खरीद गरी दिन्छु भनी पटकपटक रुपैयाँ  लिएको र जग्गा खरीद गरी नदिएपछि भन्दा अहिले यो लेखत लेखाई लिनुस् भनी यो लिखत लेखी दिएको हो कीर्ते जालसाज होइन भन्ने वादी भुवनेश्वर साहु तेलीको बयान ।

६.     वादी दावी अनुसारको रु.३८,००१।मध्ये ३,०००।मेरै सामुन्नेमा दिएको अरु बाँकी रु.२ पटक गरी दिएको छु भनी ऋणी धनीले भनेकाले उक्त लिखतमा साक्षी बसेको छु भनी लिखतको फड्के साक्षी प्र.बचु साहू तेलीको र प्र.विराजीसँग समेतको बयान र प्र.के बाबु महादेव साहुतेलीले २ पटक गरी रु.३५,०००।धनी भुवनेश्वर सँग बुझी लिएको हुँ र बाँकी रु.३,००१।अहिले दिन्छु र ३८,००१।को लेखत लेखी दिनुस् भनी मलाई भन्दा उक्त लिखत लेखी दिएको र महादेवलाई भुवनेश्वरले बाँकी रुपैयाँ दिई लिखतमा सहिछाप गराएको भनी ले.सा.प्र.प्र.मोहनबहादुर गुरुङ्गको बयान ।

७.     वादी दावीको लेखत लिफामा लेखेको ठहर्छ लेखत पारित हुन सक्दैन भन्ने समेत सप्तरी जिल्ला अदालतको ०३६।५।१३ को फैसला ।

८.     उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको वादीको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

९.     विवादीत लिखत हेर्दा कारणीको ल्याप्चे सिर पुछारको लिखतको व्यहोरालाई छुएको देखिएन कारणीको सही पछि वार्ड नं. ६ भन्ने लेखिएको पनि अस्वाभाविक देखिन्छ । एउटा वारेसनामा पेश हुँदैमा लिफा प्रयोग नभएको भनी मान्न मिलेन । तसर्थ सप्तरी जिल्ला अदालतको इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१०.     पूर्वाञ्चल क्षेत्रीय अदालतको उक्त फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने यस अदालत समक्ष पर्न आएको निवेदनमा लिखतको व्यहोरालाई कारणीको ल्याप्चेले सिर पुछारमा छुनुपर्छ भन्ने कुनै कानूनमा व्यवस्था भएको देखिन्न । वादीबाट पेश भएको जुन राजीनामा लिखतलाई प्रतिवादीहरुले वारेसनामाको लिफामा खडा गरेको भनिएको छ सो कुरा शंकारहित तरिकाले पुष्टि हुन नसकेको र वारेसनामा दिएको लिफामा उक्त राजीनामा लिखत खडा भए गरेको प्रमाण समेत दावी लिनेबाट आउन नसकेकाले लिखत लिफामा लेखिएको ठहर्‍याई लिखत पारित हुने नठहरिएको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णयमा अ.बं.१८४(क) र प्रमाण ऐन, २०३१ को दफा २५ को त्रुटि गरेको देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेतको डिभिजन बेञ्चको आदेश ।

११.     यसमा विपक्षीहरुको सगोलको लोग्ने, दाजु, बाबु महादेव साहु तेलीले मसँग रु.३८,००१।अड्तीस हजार एक बुझी लिई सो मोलमा आफ्नो दर्ताको जि.सप्तरी डाँडा गा.पं.वार्ड नं. ९ को कि.नं.११९ को ०१४१७, वार्ड नं. ९ कि.नं.१३९ को ०१४, वार्ड नं. ९ कि.नं.२०६ को ०१३६ समेत २९ दुई विगहा दुई कठ्ठा नौ धुर जग्गा मलाई मिति ०३३।१२।३०।३ मा राजीनामा लेखी दिई सो राजीनामा ऐनका म्याद ६ महिना भित्र पारित गरी दिनु भन्दा अगावै ०३४ साल श्रावण महिनामा महादेव साहू आफ्ना कालगतीले परलोक भइसकेकोमा निजको हक खाने प्रतिवादीहरुलाई पनि उक्त राजीनामा पारित गरी दिनु भन्दा पारित गरिनदिएकोले पारित गरिपाउँ भन्ने समेत वादी भएकोमा वादीले के कुन किसिमबाट कागज बनाएको हो हामीलाई देखाएपछि सद्दे कीर्तेमा बयान गर्नेछौं भन्ने र लिखत सुनाउँदा लिफामा लिखत खडा गरेकोले लिखित कीर्ते हो लिखत पारित हुन नसक्ने समेत प्रतिवादीको जिकिर भएकोमा वादी दावीको लिखत लिफामा लेखेको ठहर्छ लिखत पारित हुनसक्दैन भन्ने समेत सप्तरी जिल्ला अदालतबाट फैसला गरेकोमा उक्त फैसला मनासिब छ भनी पूर्वाञ्चल क्षेत्रीय अदालतले  निर्णय गरेको पाइन्छ । सो फैसलामा वादीको यस अदालतमा पुनरावेदन परी आएको प्रस्तुत मुद्दातर्फ विचार गर्दा धनी भुवनेश्वर साहु तेली ऋणी महादेव साहु भएको ०३३ साल चैत्र ३० गतेको सक्कल लिखत हेर्दा सीरको लिखतम निर र मिति बन्द पछि लागेको ल्याप्चे सहिछापको साथै हस्ताक्षरको सही पनि परेको देखिएको, उक्त कागजमा लिफा वा अन्य कुनै प्रयोजनको निमित्त यो लिखत गरिएको भन्ने सहिछाप गर्दा नजनिएको र लिखतको रुप पनि अस्वाभाविक नदेखिएको र लिखतको व्यहोरालाई कारणीको ल्याप्चेले सिर पुछार छुन पर्छ भन्ने कुनै कानूनमा व्यवस्था भएको पाइँदैन । लिखतको सिरमा कारणीले गरेको सहीमा वार्ड नं. ६ महादेव साहु तेलीसा : ल्छमिनिया भन्ने उल्लेख भएको त्यस सम्बन्धमा कानूनी व्यवस्था के रहेछ भनी हेर्दा कागज जाँचको ५ नं. मा लेनदेन कारोवार लगायत घरायसमा भएको र अड्डाखानामा भए गरेको समेत कागजहरुमा सहिछाप गर्नुपर्ने कारणीको र साक्षी समेत गैह्रको सहिछाप गर्दा गराउँदा लेख्न जान्नेले आफ्नो हस्ताक्षरको सही आफ्नो नाउँ, थर, वतन, दर्जा भए दर्जा समेत प्रष्ट बुझ्ने पढ्न सक्ने गरी पूरा लेखी लेखाईभन्ने समेत उल्लेख भएको लिखतको सिरमा गरेको सहिमा वार्ड नं. ६ महादेव साः तेलीसा : ल्छमिनिया भन्ने लेखिएकोलाई कानून विपरीत भयो भन्न मिलेन । वादीबाट पेश भएको राजीनामालाई प्रतिवादीहरुले वारेशनामाको लिफामा खडा गरेको भनिएको छ सो कुरा शंका रहति तरिकाले पुष्टि हुन नसकेकोबाट उक्त लिखत पास हुने ठहर्छ । शुरु सप्तरी जिल्ला अदालतबाट लिखत पारित हुने नठहराएको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।९।२४।२ गतेको फैसला ।

१२.    सर्वोच्च अदालतको डिभिजन बेञ्चबाट भएको उक्त फैसला दोहोर्‍याई पाउँ भनी निवेदकहरुले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र चढाउनु भएको ।

१३.    मिति २०३३।१२।३० गतेको सक्कल लिखतमा लागेको कारणीको सही वार्ड ६ महादेव साहु भनी सहिछाप भएको देखिन्छ । कारणीको सहीमा नाउँ अगाडि वार्ड नं. राखी नाउँ लेखिनु सामान्यतः प्रचलनमा नरहेको अनौठो र नौलो कुरा देखिन्छ । विवादास्पद लिखतको सिरमा लागेको महादेव साहू तेलीको सहीछाप रहेको ठाउँमा लागेको सही बारे भन्ने अक्षरहरु मध्ये सही र वा भन्ने अक्षरहरु यथावत राखी रे भन्ने अक्षरको एकारलाई रेफको रुपमा तानी र पुछार मोडी ड गराई वा रे भन्ने अक्षरहरुको बदलामा वार्ड भन्ने अक्षरहरु सच्याइएको र छ भन्ने अक्षर पनि अस्वभाविक रुपमा जोडी थपिएको भन्ने कुरा स्पष्ट देखिएको छ र सद्दे कीर्तेमा सुनाउँदा वारेसको लिफालाई राजीनामाको लिखत बनाइएको हो भन्ने प्रतिवादीहरुका तर्फबाट भएको बयानलाई पुष्टि गरेको देखिन्छ । विपक्षी वादीले जग्गा खिचोला मुद्दामा महादेव साहु तेलीको वारेसनामा भनी पेश गरेको वारिसनामामा पनि सही वारेस महादेव साहु तेली भनी लेखी दिएकोले राजीनाको लिखतमा सहि वार्ड ६ भन्ने लेखिएको अस्वाभाविक देखिएको छ । अगाडि नै कारणीको सहीछाप भएको वारेसको लिफा हुँदा लिखतको सिर र पुच्छारका सहिछापसम्म छुवाउने गरी लेखिएकोले शुरुका केही पंक्तिहरु खिचिएका र पछिका पंक्तिहरु सामान्यतः खुकुलो रुपमा रहेको पनि देखिएको छ । यस मुद्दामा पारित गरिपाउँ भनी दावी लिएको विवादास्पद लिखत वारिसनामाको लिफालाई राजीनाको लिखत बनाइएको देखिएकोले यस किसिमको लिखतलाई सर्वोच्च अदालत डिभिजन बेञ्चबाट लिखत पारित हुने ठहर्‍याई गरेको फैसलाबाट मुलुकी ऐन कीर्ते कागजको महलको १ नं., रजिष्ट्रेशनको महलको १७, २५ नं. र लेनदेन व्यवहारको १० नं. समेतको प्रतिकूल भई त्रुटिपूर्ण देखिएको छ । न्यायिक समिति नियमावली, २०२८ को नियम ११(२)  को आधारमा सर्वोच्च अदालतले आफ्नो अघिको निर्णय जाँच्न आवश्यक देखिएकोले नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहोर्‍याउन आदेश बक्सन श्री ५ महाराजाधिराज सरकारका हजूरमा सिफारिश जाहेर गर्ने ठहर्छ भन्ने समेत न्यायिक समितिको पर्चा ।

१३.    नेपालको संविधानको धारा ७२(ख) बमोजिम डिभिजन बेञ्चको निर्णय दोहोर्‍याई दिनु भन्ने हुकुम बक्स भई आएबमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस इजलासमा पेश हुनआएको छ यसमा निवेदक प्रतिवादीहरुका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री सुधिर श्रेष्ठले महादेव साहू तेलीले वादीलाई कुनै किसिमको लिखत गरी दिएको छैन । वादीले पेश गर्नुभएको लिखत वारेशनामालाई दिएको लिफामा खडा गरिएको कीर्ते लिखत हो । सद्दे लिखत होइन । वारेसनामाको लागि दिएको लिफामा वारेलाई वार्डबनाएको र लाई बनाई कीर्ते कागज खडा गरेको छ । लिखतमा लागेको सहिछापले अक्षर छोएको छैन, लिखतमा शुरु पंक्तिहरु खाँदिएको र पछिल्ला पंक्तिहरु खुकुलो गरी लेखिएको छ र लिखतको आकार पनि सानो छ । अतः राजीनामाको लिखत सद्दे लिखत नभई कीर्ते हुनाले यस अदालतको डिभिजन बेञ्चले उक्त लिखत पारित हुने ठहर्‍याई निर्णय बदर गरिपाउँ भन्ने समेत बहस गर्नु भयो । विपक्षी वादीका तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्ज विहारीप्रसाद सिंहले वादीले पारित गरिपाउँ भनी दावी लिएको राजीनामाको लिखत सद्दे साँचो लिखत हो, प्रतिवादीहरुको जिकिर बमोजिम वारेसनामको लिफामा खडा गरिएको कीर्ते लिखत होइन । यति थान लिफा वादी भुवनेश्वरलाई दिएको भनी कुनै प्रतिवादीहरुले भन्नसकेको छैन र लिफा दिएको भन्ने कुरा प्रतिवादीहरुले अहिलेसम्म कुनै साक्षीद्वारा भन्न सकेको छैन । सहिछापले अक्षर छुनु पर्दछ र लिखतको आकार यत्रै हुनुपर्छ भन्ने कुनै कानूनले तोकेको छैन । अतः वादी दावीको राजीनामाको लिखत सद्दे लिखत हुनाले उक्त लिखत पारित हुने ठहराएको यस अदालत डिभिजन बेञ्चको फैसला मनासिब ठहरिनु पर्दछ भन्ने समेत बहस गर्नु भयो ।

१४.    आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा वादी दावी बमोजिमको लिखत पारित हुने ठहर्‍याएको यस अदालत डिभिजन बेञ्चको निर्णय मिलेको छ छैन सो विषयमा निर्णय दिनुपरेको छ ।

१५.    निर्णयतर्फ हेर्दा यसमा विपक्षीहरुको सगोलको लोग्ने, दाजु, बाबु महादेब साहु तेलीले रु.३८,००१।बुझी लिई विभिन्न ३ कित्ता जग्गाहरु मिति २०३३।१२।३०।३ मा राजीनामा गरी दिनु भएको, सो लिखत ऐनका म्यादभित्र पारित हुनु अघि नै २०३४ साल श्रावण महिनामा निज महादेव साहु तेलीको मृत्यु भएको, निजको अपुताली खाने विपक्षीहरु एकासगोलको भाइ, छोरा, स्वास्नीबाट उक्त मिति २०३३।१२।३०।३ को राजीनामा लिखत कानून बमोजिम पारित गराई पाउँ भन्ने वादीले फिराद दावी लिएको छ । हाम्रो स्वर्गीय पिता, दाजु र पति महादेव साहु तेलीले वादीलाई कुनै लिखत गरी दिएको छैन देख्न सुन्न पाएका बखत बयान गर्नेछु भन्ने व्यहोराको जिकिर लिई प्रतिउत्तर परेकोबाट सो लिखत सुनाउँदा सो लिखत दानालाल साहु सँग परेको जग्गा खिचोला मुद्दामा वादी भुवनेश्वर साहूलाई वारिस हुनको लागि दिएको वारिसनामाको लिफामा खडा गरेका हुन भन्ने बयान प्रतिवादीहरुका वारिसको भएको पाइन्छ । प्रतिवादीको जिकिर बमोजिम वारिसनामाको लिफामा राजीनामाको लिखत खडा गरेको होइन महादेव साहुले मेरो बुबासँग जग्गा खरीद गरी दिन्छु भनी पटकपटक लिएको, जग्गा खरीद नगरी दिएकोले यो लिखत गरी दिएको हो भन्ने वादीको बयान भएको पाइन्छ । लिखत साक्षी मोहनबहादुर गुरुङ्ग बुझिएकोमा महादेवले मैले २ पटक गरी रु.३५,०००।धनी भुवनेश्वरसँग बुझी लिएको छु बाँकी रु.३,००१।मैले दिन्छु र ३८,००१।को लिखत लेखी दिनहोस्  भनी मलाई भन्दा मैले लिखत लेखी दिएँ र सोही अवस्थामा महादेवलाई भुवनेश्वरले बाँकी रहेको रुपैयाँ दिई लिखतमा सहिछाप गरेको हो कीर्तेबाट लिखत खडा भएको छैन भन्ने समेत बयान गरेको देखिन आउँछ ।

१६.     पेश भएको सक्कल लिखत हेरिएमा सो लिखतको हरफहरु मध्य शीरका केही हरफहरु खाँदी लेखेको र त्यसपछिका हरफहरु खुल्ला रुपबाट लेखिएकोबाट हरफहरु एक मिलान नभएको, कारणीको सीरको ल्याप्चे र लेखात्मक सही हेरिएमा लेखात्मक सहीले लिखतका व्यहोराको हरफ नछोएको, दायाँ ल्याप्चेले सम्म लिखतको लिभन्ने अक्षरको इकारलाई छोएको जस्तो देखिनेमा पनि सो इकार स्वाभाविक भन्दा बाँयातर्फ बढाइएकोले इकार सम्म छुने रुपबाट सो छोएको नै भए पनि स्वाभाविक नदेखिने र पुछारको ल्याप्चे तथा लेखात्मक सहीले पनि लिखतको हरफलाई छोएको देखिन नआएको । यसरी लिखतको हरफलाई नछोई कारणीले सही गरेकोलाई कानूनले स्पष्ट रुपबाट गैरकानूनी भन्न सकिने व्यवस्था गरेको नदेखिए पनि त्यस्तो लिखत व्यवहारमा प्रचलनमा रहेको नदेखिएकोले यस्तो सहीलाई शुद्ध लिखतमा परेको सही भन्न सकिने अवस्था देखिन आउँदैन । कारणीको शीरमा भएको सही हेरिएमा सो सही गर्दा सही वार्ड ६ पछि महादेव साहूतेली लछमिनिया भनी सही गरेको देखिन आउँछ । लिखत गरी कारणीले सही गरी दिँदा कारणीले कागज जाँचको ऐन बमोजिम वतन खुलाउनु पर्ने भए तापनि यसप्रकारले वतन खुलाउने चलन नभई वार्ड नं. ६ लछमिनिया बस्ने महादेव साहू भनी वा सही महादेव साहु वार्ड नं. ६ लछमिनिया भनेर लेख्ने प्रचलन हुँदा बीचमा वार्ड नं. ६ लेखी महादेव साहूतेली भनी फेरी लछमिनिया लेखी सही गर्नु बिल्कुल अस्वाभाविक देखिन आउँछ । प्रतिवादीको जिकिर बमोजिम निज महादेव साहूले दानालाल साहू संगको जग्गा खिचोला मुद्दामा यिनै वादी भुवनेश्वरलाई मिति २०२९।४।३१ मा दिएको वारिसनामामा सही गर्दा सही वारेश महादेव साहूतेली ल्छमिनिया भनी लिफा दिएको देखिएको तर सोही मुद्दामा आफ्नो छोरा महेन्द्रनारायण साहू तेलीलाई वारेसनामा दिँदा सही महादेव साहू तेलीसम्म लेखिएको अरु व्यहोरा नलेखिएको त्यस्तै वादी महादेव साहूतेली प्रतिवादी दानालाल साहू तेली समेत भएको जग्गा बाली मुद्दामा यी महादेव साहुले निजैका एकघरका भाइ सहदेव साहु तेलीलाई मिति २०२१ साल कार्तिकमा वारिसनामा दिंदा पनि अरु केही नलेखी खाली सही महादेव साहु तेली लेखी वारिसनामा दिएकोबाट अरु गैरव्यक्तिलाई वारिसनामा दिँदा सही वारेस भनी लिफा दिने गरेको र आफ्नै एकाघरका मानिसलाई वारिसनामा दिँदा शुद्ध सही मात्र गरी वारेसनामा दिएको देखिन आउँछ । पेश भएको लिखत पनि त्यस्तै रुपमा महादेव साहूतेलीले वादीलाई वारेसनामाको लिफा दिएको कारणबाट कारणीको सहीमा सही वारेश महादेव भन्ने परेकोबाट सो लिफामा राजीनामा खडा गर्दा सही परेको वारेस भन्ने शब्द मिल्न नआउने भएबाट सो वारेस भन्ने शब्दलाई दवाउन वार्ड नं. ६ भनी लेखेको स्पष्ट देखिन आएकोले वादीले पास गरिपाउँ भनी दावी लिएको लिखत सत्य साँचो व्यहोराको नदेखिई लिफामा खडा गरेको देखिन आयो । तसर्थ वादी दावी बमोजिमको लिखत पारित हुने ठहर्‍याएको यस अदालत डिभिजन बेञ्चको मिति २०४१।९।२४।२ को फैसला मिलेको नदेखिएकोले उल्टी हुने ठहर्छ । वादी दावी बमोजिम लिखत पारित हुन नसक्ने ठहर्‍याएको शरु सप्तरी जिल्ला अदालतको इन्साफ मनासिब ठहर्‍याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

वादी भुवनेश्वर साहू तेलीलाई सप्तरी जिल्ला अदालतको २०३६।५।१३ को फैसलाले रु.९,५००।२५ र पूर्वाञ्चल क्षेत्रीय अदालतको २०३८।१०।११ को फैसलाले रु.९५०।०२ जरीवाना गर्ने गरेकोमा सर्वोच्च अदालत डिभिजन बेञ्चको २०४१।९।२४ को फैसला र २०४२।९।१२ को लगतले दुवै कलम जरीवाना लगत कट्टा गर्ने गरेकोमा माथि इन्साफ खण्डमा लेखिएबमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर भएकोले सो जरिवानाको लगत कायमै रहने हुँदा सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला बमोजिम सो लगत कट्टा गर्नु पर्दैन । सो दुवै कलमको लगत कायम राखी कानून बमोजिम गर्नु भनी सप्तरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु .१ सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।९।२४ गतेको फैसला मिति २०४२।९।१२ गतेको लगतले देहायका प्रतिवादीहरुबाट कोर्ट फी रु.१३।वादीलाई भराई दिने गरेकोमा सो फैसला बमोजिमको कोर्टफी भरी भराउ गर्नु पर्दैन सो लगत कट्टा गरिदिनु भनी सप्तरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु..२ प्रतिवादी महेन्द्रनारायण साहु तेली .१

प्रतिवादी सहदेव साहु तेली १ प्रतिवादी शकुन्तलादेवी तेलीन १ सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।९।२४ गतेको फैसलाले वादीलाई भराउने कोर्ट फी रु.१३।मुद्दा दोहोर्‍याई ल्याउँदा देहायका प्रतिवादीहरुले सर्वोच्च अदालत निवेदन शाखाको मिति २०४३।४।२१ गतेको पत्रसाथ का.जि.अ.त. मा धरौट राखेको देखिँदा सो धरौटी फिर्ता पाउँ भनी देहायका प्रतिवादीहरुको ऐनका म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई सो धरौट रहेको कोर्ट फी बराबरका दरले फिर्ता दिनु भनी का.जि.अ.त. मा लगत दिनु ३ प्रतिवादी महेन्द्रनारायण साहु तेली १ प्रतिवादी सहदेव साहुतेलीको मु.स.गर्ने देवीकी देवी तेलीन १ प्रतिवादी शकुन्तलादेवी तेलीन १ देहायका प्रतिवादीहरुको प्रस्तुत मुद्दा दोहोर्‍याई ल्याउँदा राखेको कोर्ट फी रु.१।वादीबाट भराइपाउँ भनी ऐनका म्यादभित्र दर्खास्त परेमा दस्तूर केही नलिई देहायका प्रतिवादीहरुलाई बराबरका दरले भराई दिनु भनी का.जि.अ.मा लगत दिनु ४ प्रतिवादी महेन्द्रनारायण साहु तेली     १ प्रतिवादी सहदेव साहुतेलीको मु.स.गर्ने देवीकी देवी तेलीन १ प्रतिवादी शकुन्तलादेवी तेलीन १ नियम बमोजिम गरी मिसिल बुझाई दिनु.....५

 

उक्त रायमा हामी सहमत छौं ।

न्या.गजेन्द्रकेशरी बास्तोला,

न्या.हिरण्येश्वरमान प्रधान

 

इति सम्वत् २०४५ साल भाद्र ९ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु