शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८०६७ - मोही प्रमाणपत्र पाउँ

भाग: ५१ साल: २०६६ महिना: बैशाख अंक:

निर्णय नं.८०६७,   वैशाख २०६६      अङ्क १

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु

संबत् २०६० सालको दे.पु.नं. ९५५१

फैसला मितिः २०६१।१०।२९।६

मुद्दाः मोही प्रमाणपत्र पाउँ 

पुनरावेदक प्रतिवादीः जि. सुनसरी इनरुवा न.पा.वडा नं. ७ बस्ने गोपीलाल लुइटेल समेत

बिरुद्ध

विपक्षी वादीः जि. सुनसरी डुम्राहा गा.वि.स. वडा नं. ७ बस्ने बच्चा महतो

                       

अघि मुद्दा छिन्नेः

      भु.सु.अ. श्री रोहीत कुमार भट्टराई

पुनरावेदन फैसला गर्नेः

      मा.न्या. श्री श्यामबहादुर प्रधान

      मा.न्या. श्री केशवप्रसाद मैनाली

 

§  बालकृष्ण लुइटेलका नाउँमा नापी दर्ता भएको जग्गाको परशुराम उपाध्यायका नाउँबाट प्रकाशित भएको २ नं. अनुसूचिका आधारमा विपक्षीलाई मोही कायम गर्न मिल्दैन भन्ने पुनरावेदक प्रतिवादीहरूको जिकिर रहेको देखिए पनि परशुराम र बालृकष्ण तत्काल एकापरिवारका अंशियारनाताका व्यक्ति थिए भन्ने तथ्यलाई पुनरावेदक प्रतिवादीका वारेशले पुनरावेदन अदालतमा मिति २०५८।१।५ मा गरिदिएको कागजमा अन्यथा भन्न सकेको नपाइने 

§  स्थलगत सर्जमिन समेतबाट जग्गा साविकदेखि नै मोहीको हैसियतले जोत कमोद गर्दै आएको देखिने, जग्गाको बिभिन्न सालको बाली बुझी भरपाई गरी दिएको मिसिल संलग्न बाली बुझाएको भरपाईका प्रतिलिपिहरूबाट देखिन्छ । बाली बुझेको भरपाईका आधारमा मात्र मोही कायम हुन नसक्ने भन्ने पुनरावेदकहरूको जिकिर रहेको पाइए तापनि कुत बुझेको होइन भनी जिकिर लिन नसकेको अवस्थामा सालसालै बाली बुझी भरपाई गरी दिएको तथ्य समेतबाट आचरणगत रुपमा मोही स्वीकार गरेको देखिँदा जग्गाको मोही प्रमाणपत्र दिन मिल्ने 

(प्रकरण नं.३)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री कुलदेवराज शाही

विपक्षी वादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री उत्तमराज पाठक र दयाराम हुमागाइँ

अवलम्वि नजीरः

सम्बद्ध कानूनः

 

फैसला

     न्या. भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत, बिराटनगरको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अन्तर्गत मुद्दा दोहर्‍याई पाऊँ भनी प्रतिवादीको तर्फबाट यस अदालतमा निवेदन परी यस अदालत संयुक्त इजलासको मिति २०६०।२।२१ को आदेशानुसार मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः-

      साविक जग्गा धनी पर्शुराम लुइटेलका नाउँमा दर्ता भै हाल जग्गाधनी विपक्षीका नाउँमा दर्ता रहेको डुम्राहा गा.वि.स.वडा नं ७(ग) साविक कि.नं. ९१, ९२, कि.नं. ९१ फोड भै हाल कायम कि.नं. ४५९, ४६० कायम भै कि.नं. ९२ को ज.वि. ०.३.०, ऐ. कि.नं. ४५९ को ज.वि. ०.५.१०, ऐ. कि.नं. ४६० को ज.वि. ०.१६.८ समेत जम्मा ज.वि. १.५.१ समेत मैले साविकदेखि नै जोतआवाद गर्दै ज.ध. ले पाउनु पर्ने कुतवाली बुझाई भरपाईसमेत लिदै आएको छु । उक्त जग्गाको मोहियानी हकको पुर्जा लिन वाँकी भएको हुँदा भु.सं. ऐन, २०२१ को दफा २५ बमोजिम कारवाही गरी मेरा प्रमाणहरू समेत बुझी मोहियानी हकको प्रमाणपत्र पाऊँ भन्ने बादी दावी 

      बादी दावी सतप्रतिशत झुठ्ठा हो । प्रस्तुत दावीमा प्रतिवादी वनाइनु भएका गीताप्रसाद लुइटेल मिति २०५१।७।३० मै परलोक भैसक्नु भएकोले निजको शेषपछि हकखाने हकदार म लक्ष्मी देवी लुइटेलले निजको नाममा भएका सवै जग्गा जमिन नामसारी गराइसकेकी छु । निज परलोक भै सकेको हुँदा निजलाई प्रतिवादी बनाइएको  दावी खारेज हुनुपर्दछ । हाम्रो सुनसरी डुम्राहा गा.वि.स. वार्ड नं. ७(ग) को स्व. बालकृष्ण लुइटेल म प्रतिवादीका ससुराले इनरुवा बजारमा बस्ने कमला देवी श्रेष्ठबाट २.०.० जग्गा २०२२।१।४ मा राजिनामा पारीत गराई लिनु भएको जग्गा जिमदारीमा दाखिलगराई खाई भोगी आएको हो । भु.सु. ७ नं. फाँटवारी भरी सर्वे नापी हुँदा कि.नं. ९१ र ९२ मा नाप नक्सा भएकोमा कि.नं. ९१ कि.का. भै बालकृष्ण लुइटेल स्वर्गे भएपछि निजकी श्रीमती हाम्री आमा, सासूका नाममा र निजको स्वर्गे पछि मेरा नाममा संयुक्त दर्ता कायम हुन आएको हामी देवर भाउजूको संयुक्त कायम दर्ता छ । यी वादीले पूर्वमा बसन्त प्रसाद, पश्चिममा मगलु, उत्तरमा गणेश, दक्षिणमा डगर यति ४ किल्ला भित्रको दुई विगाहा जग्गा कमाएको १ नं., २ नं. प्रकाशित भएको देखिएको छ । डुम्राहा ७(ग) कि.नं. ९२।४५९, ४६० को जग्गा उक्त चौहदी भित्रको  नहुँदा भु.सं. ऐन, २०२१ को दफा २५ (१), (२) अनुसार मोही भनेका हुन् । मोही हुन उक्त ऐनको दफा ३४(१),(२) को शर्त पुरागरेको हुनुपर्छ । विपक्षीले जग्गा जोत्न माग गरेकाले दिएको हो । भू.सं. ऐन, २०५३ (संशोधन सहित) को दफा २५(२) अनुसार मोहियानी हक पाउन नसक्ने हुँदा वादी दावी खारेजभागी छ भन्ने समेत प्रतिउत्तर पत्र 

      दावीको कि.नं. ४६०, ४५९ र ९२ को जग्गाको वादीका नाममा मोहीको प्रमाणपत्र तयार गरी श्रेस्ता पुर्जामा जनाई दिने समेत ठहर्छ भन्ने भूमि सुधार कार्यालय, सुनसरीको २०५६।१।१६ को निर्णय 

      भूमि सुधार कार्यालयको सुनसरीको निर्णय भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५(१) तथा दफा ३४ प्रतिकुल हुँदा वदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको पुनरावेदन अदालत, बिराटनगरमा परेको पुनरावेदन पत्र 

      शुरु भूमि सुधार कार्यालय, सुनसरीको निर्णय फरक पर्न सक्ने देखिँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत, बिराटनगरको२०५६।८।१५ को आदेश 

      १ नं. अनुसूची र २ नं. अनुसूचीमा जग्गाधनी उल्लेख भएका पर्शुराम लुइटेलको बालकृष्ण उपाध्याय अथवा निजका हकदार अंशियारहरूसँग अंशवण्डा भै अथवा नभै छुट्टीभिन्न भएको प्रमाणहरूका सम्बन्धमा पुनरावेदकको कागज गराई प्रमाण भए सो समेत दाखिल गर्न लगाई नियमबमोजिम पेश गर्नु भन्ने २०५७।१२।२८ को पुनरावेदन अदालत, बिराटनगरको आदेश 

      बालकृष्ण र पर्शुरामका पिता वीच आजभन्दा पचासौ बर्ष अघि अंश लिनु दिनु भएको थियो । सगोलका अंशी वालकृष्ण, पर्शुराम होइनन् भन्ने पुनरावेदकहरूको अधिकृत वारेस सुमन कुमार पौडेलले गरेको कागज 

      बादी बच्चा महतोले कमाएको जग्गा मेरो हकको वाली बुझी लिएको जग्गा होईन भन्ने तथ्यगत भिन्नता रहेको तर्क पुनरावेदक प्रतिवादीले प्रस्तुत गरे पनि सो तर्कलाई पुनरावेदक प्रतिवादीले अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि गर्नसकेको पाइँदैन । बालकृष्ण र परशुराम काका भतिजा नाताको देखिन आएको र निजहरू सो बखत छुट्टिभिन्न भएको प्रमाण पेश हुन नआएको तथा उक्त कि.नं. ९१, ९२ को जग्गा रहेको स्थान डुम्राहा गा.वि.स. वडा नं. ७(ग) मा परशुरामको जग्गा रहे भएको देखाइ तथ्यगत भिन्नता रहेको प्रमाणित गर्न सकेको देखिन आएन । तसर्थः शुरु भूमि सुधार कार्यालय, सुनसरीको निर्णय मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको २०५८।२।३०।३ को पुनरावेदन अदालत, बिराटनगरको फैसला 

      भूमि सम्बन्धी ऐन, २०२१ को चौथो संशोधन अघि दफा २५(१) र (२) मा मोहियानी हक प्राप्त हुने अवस्था उल्लेख छ । भूमि सुधार लागु हुँदा मोही कायम हुन मोहीले आफूले कमाएको जग्गाको र जग्गाधनीको नाम समेत खुल्ने गरी १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित हुनु पर्ने बाध्यात्मक व्यवस्था गरेको छ । तर विपक्षी बादीले जग्गाको चार किल्ला फरकको साथै जग्गावालाको नाम नखोली उनाउ परशुराम लुइटेललाई ज.ध. देखाई प्रकाशित भनिएको अनुसूचीबाट निवेदकको जग्गामा विपक्षी मोही कायम हुन नसक्नेमा कायम गर्ने गरेको भु.सु.का. सुनसरीको कानूनप्रतिकूल निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत, बिराटनगरको २०५८।२।३० को फैसलामा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५(१) र (२) को गम्भीर कानूनी त्रुटि हुन गएकोले मुद्दा दोहोर्‍याई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको यस अदालतमा पर्न आएको निवेदन पत्र 

      यसमा सम्बन्धित शुरु, रेकर्ड र भए प्रमाण मिसिल समेत झिकाई आएपछि साथै राखी पेश गर्नु भन्ने २०५८।६।१।२ को यस अदालतको आदेश 

      यसमा विवादको जग्गाको भु.सु. लागु हुँदाका अवस्था २०२२ सालमा प्रकाशित भएको प्रमाणमा रहेको २ नं. अनुसूचीबाट जग्गाधनी निवेदक प्रतिवादीहरूका नाउँबाट प्रकाशित भएको नदेखिएको र सो जग्गा भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३४ बमोजिम प्रत्यर्थी बादीलाई मोहियानीमा कमाउन दिएको कवुलियतको समेत अभाव रहेको स्थितिमा उक्त विवादित जग्गामा बादीलाई मोही कायम गरी मोहीको प्रमाणपत्र दिने गरेको शुरुको निर्णय सदर गरेको पुनरावेदन अदालतको फैसलामा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २४ र ३४ को त्रुटि देखिनुका साथै नेकाप २०५४ नि.नं. ६४७२ पृष्ठ६५८ तथा नेकाप २०५४ नि.नं. ६३१६ पृष्ठ ९५ मा यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा प्रस्तुत मुद्दा दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको २०६०।२।२१।४ को यस अदालतको आदेश 

      नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कुलदेवराज शाहीले १ नं. अनुसूची भर्दा परशुराम उपाध्यायका नाउँमा भरी सोही आधारमा २ नं. प्रकाशित भएको छ । दावीको जग्गा बालकृष्ण लुइटेलको नाउँमा नापी भएको र फिल्डवुकमा मोही महल खाली रहेको छ । ज.ध.प्र.पुर्जामा समेत मोही छैन । यस्तो स्थितिमा बाली बुझाएको भरपाईको आधारमा मात्र मोही कायम गर्न नमिल्नेमा मोही कायम गरेको शुरु तथा सोलाई सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनु पर्दछ भनी तथा विपक्षी बादी तर्फका विद्वान अधिवक्ताद्वय श्री उत्तमराज पाठक र दयाराम हुमागाइँले २ नं. अनुसूचीमा परशुराम उपाध्यायको नाम उल्लेख भए पनि बालकृष्ण लुइटेल र निज सगोलका काका भतिजा नाताका व्यक्ति हुन् । विपक्षीहरूले बादीसँग बाली बुझी भरपाई गरी दिएका छन् । जग्गा कमाएको भन्ने स्थलगत सर्जमिनबाट देखिएकै छ । तसर्थ पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भनी गर्नु भएको बहस सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन ? र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होईन ? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो 

      २.    निर्णय तर्फ बिचार गर्दा यसमा जिल्ला सुनसरी डुम्राहा गा.वि.स. वडा नं. ७ (ग) साविक कि.नं. ९१ र ९२ हाल कि.नं. ९१ कि.का. भई कायमी कि.नं. ४५९ र ४६० समेतको जम्मा ज.वि. १.५.१ जग्गा साविक देखी मोहीको हैसियतले जोतकमोद गर्दै  गस्विपक्षी ज.ध.हरूलाई बाली बुझाउँदै आएको छु । सो जग्गाको मोही प्रमाणपत्र पाऊँ भन्ने समेत वादीको शुरु उजूरी निवेदनमा परशुराम उपाध्यायका नामबाट २ नं. अनुसूची प्रकाशित भएको तथा नापीको फिल्डवुक र ज.ध. प्र.पुर्जामा समेत विपक्षी मोही नजनिएको हुँदा बाली बुझेको भरपाईका आधारमा मात्र मोही कायम हुन नसक्ने हुँदा फिराद खारेज गरिपाऊँ भन्ने समेत पुनरावेदक प्रतिवादीहरूको मुख्य प्रतिउत्तर जिकिर रहेको देखिन्छ । शुरु भू.सु.कार्यालयले दावीबमोजिम मोही प्रमाणपत्र पाउने ठहराई गरेको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत, बिराटनगरको फैसला उपर मुद्दा दोहोर्‍याई पाऊँ भनी परेको प्रतिवादीहरूको निवेदनमा दोहोर्‍याउने निस्सा भई पेश हुन आएको देखियो । परशुराम उपाध्यायका नाउँबाट प्रकाशित २ नं. अनुसूचीका आधारमा बालकृष्ण लुइटेलका नाउँमा नापी दर्ता भएको जग्गाको मोही कायम गर्न मिल्दैन भन्ने पुनरावेदकहरूको मुख्य जिकिर रहेको पाइन्छ 

      ३.    यसमा विपक्षी बादीले परशुराम उपाध्यायलाई ज.ध.देखाई जिल्ला सुनसरी डुम्राहा गा.पं. वडा नं. ७ अन्तर्गतको ज.वि. २.०.० जग्गाको १ नं. अनुसूची भरी २ नं. प्रकाशित भएको भन्ने तथ्यमा विवाद रहेको देखिदैन । बालकृष्ण लुइटेलका नाउँमा नापी दर्ता भएको जग्गाको परशुराम उपाध्यायका नाउँबाट प्रकाशित भएको २ नं. अनुसूचिका आधारमा विपक्षीलाई मोही कायम गर्न मिल्दैन भन्ने पुनरावेदक प्रतिवादीहरूको जिकिर रहेको देखिए पनि परशुराम र बालृकष्ण तत्काल एकापरिवारका अंशियारनाताका व्यक्ति थिए भन्ने तथ्यलाई पुनरावेदक प्रतिवादीका वारेशले पुनरावेदन अदालतमा मिति २०५८।१।५ मा गरिदिएको कागजमा अन्यथा भन्न सकेको पाइँदैन । स्थलगत सर्जमिन समेतबाट दावीको जग्गा साविकदेखि नै विपक्षी वादीले मोहीको हैसियतले जोत कमोद गर्दै आएको भन्ने देखिन आउँछ । त्यसै गरी यिनै प्रत्यर्थी वादीसँग दावीको जग्गाको बिभिन्न सालको बाली बुझी पुनरावेदक प्रतिवादी गोपिलाल लुइटेल समेतले भरपाई गरी दिएको मिसिल संलग्न बाली बुझाएको भरपाईका प्रतिलिपिहरूबाट देखिन्छ । बाली बुझेको भरपाईका आधारमा मात्र मोही कायम हुन नसक्ने भन्ने पुनरावेदकहरूको जिकिर रहेको पाइए तापनि आफूहरूले प्रत्यर्थी वादी सँग कुत बुझेको होइन भनी पुनरावेदक हरूले जिकिर लिन सकेको पाइँदैन । यस प्रकार स्वयं जग्गाधनी पुनरावेदकहरूले विपक्षी वादीसँग सालसालै बाली बुझी भरपाई गरी दिएको तथ्य समेतबाट पुनरावेदकहरूले आचरणगत रुपमा निजलाई मोही स्वीकार गरेको देखिँदा विपक्षी वादीलाई दावी जग्गाको मोही प्रमाणपत्र दिने ठहराएको शुरुको निर्णय सदर गरेको पुनरावेदन अदालत, बिराटनगरको फैसला अन्यथा देखिन आएन 

      ४.    तसर्थ उल्लिखित आधार कारणबाट दावीको कि.नं. ९२, ४५९ तथा ४६० जग्गाको बादीका नाममा मोहीयानी प्रमाणपत्र तयार गरी श्रेस्ता पूर्जामा जनाई दिने ठहराएको समेत शुरु भु.सु.का. सुनसरीको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत, बिराटनगरको मिति २०५८।२।३० को फैसला मनासिव देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनू 

 

उक्त रायमा म सहमत छु 

 

न्या.सुशिला सिंह सिलु

 

इति संबत् २०६१ साल माघ २९ गते रोज ६ शुभम ........

इजलास अधिकृत (शा.अ.) नारायणप्रसाद सुवेदी

कम्प्यूटरः बलराम गिरी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु