निर्णय नं. ८९६३ - निर्णय बदर

ने.का.प. २०७०, अङ्क २
निर्णय नं.८९६३
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री कमलनारायण दास
०६७–CI–११७६
फैसला मितिः २०६९।५।१९।३
मुद्दाः निर्णय बदर ।
पुनरावेदक प्रतिवादीः जिल्ला झापा, खजुरगाछी गा.वि.स. वडा नं. ७ बस्ने बुधलाल यादव
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला झापा, खजुरगाछी गा.वि.स. वडा नं. ७ बस्ने लक्ष्मी यादवको मु.स. गर्ने सोभादेवी यादव
शुरु फैसला गर्नेः
भू.सु.अ.श्री मधुसुधन पोखरेल
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री ऋषिराज मिश्र
मा.न्या. श्री पुरुषोत्तम भण्डारी
§ सगोलका एकै घर परिवारको नाममा रहेको जग्गामा सगोलकै अर्को कुनै एक सदस्य मोहीको हैसियतमा रहन नसक्ने भन्ने ऐनको मनसाय रहेको देखिन्छ । तर घर परिवार बाहिरको अन्य कुनै जग्गाधनीको नाममा रहेको जग्गामा एकै घर परिवारको कुनै एक सदस्य साविकदेखि मोही कायम रही आएकोमा पछिबाट सो जग्गा मोहीको घर परिवारको अर्को कुनै सदस्यले खरीद गरी लिई जग्गाधनी बन्न गएको अवस्थामा मोहीसँग हालवाला जग्गाधनीको नाता परेको कारण देखाई साविकदेखिको मोहीलाई आघात पर्ने गरी मोही निष्काशनको दावी लिन नपाउने ।
§ छुट्टिभिन्न भई बसेको दाजु र भाई कुनै जग्गाको जग्गाधनी र मोही हुन नसक्ने भन्ने नदेखिएको अवस्थामा घरको दाजुले केवल पछिबाट खरीद गरी लिएकै आधारमा साविकदेखि मोही कायम रहेका व्यक्तिको मोही हक समाप्त हुन्छ भन्नु विवेकसम्मत र न्यायसम्मत नहुने ।
(प्रकरण नं.५)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल
विपक्षी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ भूमि सम्बन्धी ऐन, २०२१ को दफा २, २(ख)
फैसला
न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदन पत्रको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः–
विपक्षी बुधलाल यादव जग्गाधनी हुनुपूर्व नै मेरो मोही हक स्थापित भएको र सालसालै बाली बुझाउँदै आई घर बसोवाससमेत भएको खजुरगाछी ७ को कि.नं. ३३ को ज.वि. ०–४–१५ जग्गा विपक्षीले जग्गा खरीद गरी लिएपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ग) अनुसारको एकाघर परिवारभित्रको व्यक्ति मानी मेरो मोही हक कट्टा गरी दिएका हुँदा उक्त निर्णय बदर गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद दावी ।
विपक्षी मेरा भाई नाताका मानिस हुन् । निजको घर बसोवास नभएको हुँदा मैले घरसम्म बनाउन दिई बास बस्न दिएको हो । निजको जग्गामा जोत भोग पनि छैन र निजको मोही हक पनि कायम नभएको जग्गाको मोही लगत कट्टा भएको निर्णय बदर गर्नुपर्ने होइन भन्ने प्रत्युत्तर जिकीर ।
खजुरगाछी ७ को कि.नं. ३३ को ज.वि. ०–४–१५ को मोही लक्ष्मी यादव हुन् । उक्त जग्गामा मोहीको घर बसोवास छ । तर सम्पूर्ण जग्गामा मोहीको जोतभोग छैन भन्ने समेत व्यहोराको सर्जमीन मुचुल्का ।
यसमा वादीको मोही हक कायम भएको खजुरगाछी ७ को कि.नं. ३३ को ज.वि. ०–४–१५ को मोही हक सुरक्षित हुँदा मोही कट्टा भएको लगतलाई पुनः कायम राखी स्रेस्तामा लगत कायम गरी दिन मालपोत कार्यालय दमकलाई लेखी पठाई दिनु भन्ने भूमिसुधार कार्यालय, झापाको मिति २०६३।१०।१७ को फैसला ।
मोहीले भरेको १ नं. फाँटवारीको लगतअनुसार हामी दाजुभाइ मोहीको परिभाषाभित्र पर्ने व्यक्ति होइनौं । सो कुरा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २ख को परिभाषाबाट स्पष्ट हुनुका साथै आफूले गरेको निर्णय आफैं बदर गर्न पाइने पनि होइन । बुझ्नु पर्ने प्रमाण बुझ्दै नबुझी गरेको कानूनी त्रुटिपूर्ण निर्णय उल्टाई बदर गरी न्यायपूर्ण इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन पत्र ।
मुलुकी ऐन, अ.वं. ८६ नं. को व्याख्यात्मक प्रश्न विद्यमान देखिँदा शुरुको फैसला फरक पर्न सक्ने भई विचारणीय देखिँदा छलफलका लागि प्रत्यर्थी वादीलाई झिकाई नियमानुसार पेश गर्नु । साथै झापा जिल्ला अदालतमा मुलतवीमा रहेको भनिएको जालसाज मुद्दाको मिसिल समेत झिकाउनु भन्ने पुनरावेदन अदालतको मिति २०६४।१०।२१ को आदेश ।
प्रत्यर्थी वादी विवादित कि.नं. ३३ को जग्गाको वास्तविक कानूनी मोही भएकोमा कानूनबमोजिम निजको मोही हक स्थापित हुने गरी भएको भूमिसुधार कार्यालय झापाको २०६३।१०।१७ को निर्णय कानूनसंगत भई मिलेकै देखिँदा सो सदर हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत इलामको फैसला ।
विपक्षी वादीले मउपर झापा जिल्ला अदालतमा मिति २०५९।२।९ गते भूमिसुधार कार्यालय झापाबाट भएको मोही लगत कट्टा हुने निर्णय जालसाजी घोषित गरिपाऊँ भनी दायर गरेको मुद्दामा निज विपक्षी वादीले तारिख गुजारी डिसमिस फैसला भएको समेतका तथ्यबाट विपक्षी वादी मेरो जग्गाको मोही हुने वा कायम रहने न्यूनतम् आधार विद्यमान नभएको अवस्थामा पुनरावेदन अदालत इलामबाट मोही लगत यथावत् कायम राख्ने गरी तथ्य र प्रमाणको विवेचना नगरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी न्याय पाऊँ भन्ने समेत पुनरावेदक प्रतिवादी पक्षको पुनरावेदन पत्र ।
यसमा साविक जग्गाधनीबाट राजीनामाद्वारा हक प्राप्त गरेको हालको जग्गाधनी पुनरावेदक प्रतिवादी र यी वादी सोही कि.नं. ३३ को मोही भएको तथा यी दुवै दाजुभाई देखिएको अवस्थामा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २ को खण्ड (ख) ले मोही भन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाएको व्यक्ति भनेकोमा प्रस्तुत मुद्दामा उक्त दफा २(ख) को व्याख्यात्मक त्रुटि गरी पुनरावेदन अदालतबाट फैसला भएको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अनुसार दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । विपक्षी झिकाई पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।२।२१ को आदेश ।
नियमबमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहालले विवादित कि.नं. ३३ को जग्गाको मोहीले भरेको भु.सु. फाराम १ नं. लगतमा एकासगोलका सदस्यहरूको विवरणमा विपक्षी वादीको नाम उल्लेख गरी पुनरावेदकको नाम समेत उल्लेख भएको छ । यसबाट प्रत्यर्थी वादी लक्ष्मी यादव र पुनरावेदक बुधलाल यादव एकासगोलमा रहेको प्रष्ट छ । पुनरावेदकले साविक जग्गावाला सिष्टी यादवको छोरा रामकृष्ण यादवबाट मिति २०४५।११।१० मा विवादित जग्गा खरीद गरी लिएका हुन् । यसरी मोही हुँ भन्ने प्रत्यर्थी वादी लक्ष्मी यादव र पुनरावेदक प्रतिवादी बुधलाल यादव एकासगोलका दाजुभाइ भई निजहरू बीच अंशबण्डा समेत नभएको अवस्थामा एकाघर सगोलको व्यक्ति कोही मोही र कोही जग्गाधनी हुन नसक्ने अवस्थामा भूमि सम्बधी ऐन, २०२१ को दफा २ को खण्ड (ख) को त्रुटि गरी मोही कायम गरेको भूमिसुधार कार्यालय झापाको निर्णय र सो सदर गर्ने गरेको पुनरावेदन अदालत इलामको फैसला उल्टी गरी न्याय निरोपण हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो ।
पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ताले गर्नु भएको वहस जिकीर समेत सुनी पुनरावेदन अदालत इलामबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्ने हो होइन ? सोसम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा यसमा मेरो मोही स्थापित भएको जग्गामा सालसालै बाली बुझाउँदै आएको र सो जग्गामा आफ्नो घरवास समेत भएको कि.नं. ३३ को जग्गा विपक्षीले खरीद गरेपछि मोही एकाघर भित्रको भनी भूमि सम्बन्धी ऐन, २०२१ को दफा २ को परिभाषाभित्र पारी मेरो मोही लगत कट्टा हुने गरी भूमिसुधार कार्यालय, झापाले निर्णय गरेको हुँदा सो बदर गरिपाऊँ भन्ने वादी दावी रहेकोमा वादी एकाघरको भाई भएकोले घर बनाई वस्नसम्म दिएको हो । निजले जग्गा जोतभोग नगरेको र मोही हक पनि कायम नभएकोले मोही लगत कट्टा गर्ने गरी भएको निर्णय बदर गरी रहनु पर्ने होइन भन्ने प्रत्युत्तर जिकीर भएकोमा शुरु भूमिसुधार कार्यालय, झापाले विवादित जग्गाको वादीका नामको मोही लगत कट्टा गर्ने गरी भएको सोही कार्यालयको मिति २०५९।२।९ को पूर्व निर्णय बदर गरी वादीको नामको मोही लगत पुनः कायम गर्ने गरी फैसला गरेकोमा सो उपर चित्त नबुझाई पुनरावेदन गरेकोमा शुरु फैसला सदर कायम हुने ठहरी पुनरावेदन अदालत, इलामबाट फैसला भएको पाइन्छ । पुनरावेदन अदालतबाट भएको फैसलाउपर चित्त नबुझाई प्रस्तुत मुद्दा दोहोर्याई हेरिपाऊँ भनी पुनरावेदक प्रतिवादीको निवेदन परेकोमा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रूपमा दायर भई आज निर्णयार्थ पेश भएको पाइयो ।
३. जिल्ला झापा खजुरगाछी वडा नं. ७ को कि.नं. ३३ को ज.वि. ०–४–१५ विवादित जग्गाको साविक जग्गावाला सिस्टी यादव जनिई कैफियत महलमा यी प्रत्यर्थी वादी लक्ष्मी यादवको जोत जनिएको मिसिलबाट देखिन्छ । साविकदेखि नै उक्त जग्गाको मोही भूमि सम्बन्धी ऐन, २०२१ अनुसार प्रत्यर्थी वादी लक्ष्मी यादव कायम भएको देखिन्छ । विवादित जग्गाको साविक मोही लक्ष्मी यादव भएको कुरालाई पुनरावेदक प्रतिवादीले पनि अस्वीकार गरेको देखिँदैन । पुनरावेदक प्रतिवादी बुधलाल यादवले साविक जग्गावाला सिस्टी यादवको छोरा रामकृष्ण यादवबाट र.नं. २८६९ मिति २०४५।११।१० मा हक टुटाई राजीनामाबाट हक प्राप्त गरेपछि मात्र निज विवादित जग्गाको जग्गाधनी भएको पाइन्छ । तत्पश्चात् निजले २०५९ साल जेष्ठ महिनामा यी प्रत्यर्थी वादी मोही लक्ष्मी यादवको नाम मोही लगतबाट कट्टा गरिपाऊँ भनी भूमिसुधार कार्यालयमा निवेदन दिएकोमा भूमिसुधार कार्यालय, झापाबाट मोहीलाई बुझ्दै नबुझी प्राकृतिक न्यायको सिद्धान्तविपरीत मोहीलाई प्रतिवाद गर्ने मौका समेत नदिई मोही लगत कट्टा हुने निर्णय भएको देखिन्छ ।
४. आफू मोही हकबाट वञ्चित हुने गरी भएको निर्णय आफूलाई थाहा नै नभई आफू उक्त जग्गामा हल गोरु लिई जोतखन गर्न लागेको अवस्थामा एकाएक पुनरावेदक प्रतिवादीले अव उप्रान्त उक्त जग्गाको मोही तिमी होइनौ । अव नजोत, अवदेखि उक्त जग्गामा रहेको घरसमेत भत्काई दिन्छु भनी मोही हकमा दखल दिएपछि के भएको रहेछ भनी भूमिसुधार कार्यालयमा गई बुझ्दा २०५९।२।९ मा मोही लगत कट्टा हुने गरी भएको निर्णय थाहा पाएको भनी कानूनबमोजिम भूमिसम्बन्धी ऐन लागू भएदेखि नै मोही हक कायम भएको र हालका जग्गाधनी र म मोही दाजुभाई भए तापनि हाल अलग–अलग रहेको समेतका कारणबाट मोही हक समाप्त हुने होइन भनी उक्त मिति २०५९।२।९ को भूमिसुधार कार्यालयको निर्णय बदर गरिपाऊँ भनी यी प्रत्यर्थी वादीले भूमिसुधार कार्यालय झापामा निवेदन गरेको देखिन्छ । निज प्रत्यर्थी वादी लक्ष्मी यादव विवादित कि.नं. ३३ को जग्गाको साविकदेखि नै मोही भई भूमि सम्बन्धी ऐन लागू हुँदाको अवस्थादेखि नै मोही रहेको देखिनुका साथै कानूनबमोजिम स्थापित यी प्रत्यर्थी मोही लक्ष्मी यादवले मोहीको हैसियतबाट पालन गर्नुपर्ने कानूनी दायित्व पूरा नगरेको, जग्गाको उब्जनी घट्ने गरी जग्गा विगारेको वा कुत नबुझाएको भन्ने समेतको जिकीर जग्गाधनीले लिई कानूनबमोजिम मोहीबाट हटाएको अवस्था देखिदैन । प्रत्यर्थी वादी मोहीका दाजु हालका जग्गाधनी यी पुनरावेदक प्रतिवादी बुधलाल र मोही लक्ष्मी यादव एकाघर सगोलका नभई छुट्टिभिन्न भई अलग–अलग घरद्वार व्यवहार गरी बसेको भन्ने प्रत्यर्थी वादीको भनाई रहेकोमा यी पुनरावेदक प्रतिवादीले अन्यथा भन्न नसकी मोही लक्ष्मी यादव छुट्टिभिन्न भई सोही विवादित कि.नं. ३३ को जग्गामा घर बनाई बसेको कुरालाई यी पुनरावेदक प्रतिवादीले पनि स्वीकार गरेको अवस्था देखिन्छ ।
५. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) मा मोही भन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छ भन्ने उल्लेख भएको पाइन्छ । उल्लिखित कानूनी व्यवस्थाअनुसार सगोलका एकै घर परिवारको नाममा रहेको जग्गामा सगोलकै अर्को कुनै एक सदस्य मोहीको हैसियतमा रहन नसक्ने भन्ने ऐनको मनसाय रहेको देखिन्छ । तर घर परिवार बाहिरको अन्य कुनै जग्गाधनीको नाममा रहेको जग्गामा एकै घर परिवारको कुनै एक सदस्य साविकदेखि मोही कायम रही आएकोमा पछिबाट सो जग्गा मोहीको घर परिवारको अर्को कुनै सदस्यले खरीद गरी लिई जग्गाधनी बन्न गएको अवस्थामा मोहीसँग हालवाला जग्गाधनीको नाता परेको कारण देखाई साविकदेखिको मोहीलाई आघात पर्ने गरी मोही निष्काशनको दावी लिन पाउने उल्लिखित ऐनको मनसाय रहेको देखिदैन । साथै छुट्टिभिन्न भई बसेको दाजु र भाई कुनै जग्गाको जग्गाधनी र मोही हुन नसक्ने भन्ने पनि देखिदैन । विवादित कि.नं. ३३ को जग्गा यी पुनरावेदक प्रतिवादी घरको दाजुले केवल पछिबाट खरीद गरी लिएकै आधारमा साविकदेखि मोही कायम रहेका प्रत्यर्थी वादीको मोही हक समाप्त हुन्छ भन्नु विवेकसम्मत र न्यायसम्मत नहुने भएकोले प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गर्ने गरी भएको यस अदालतको मिति २०६७।२।२१ को आदेश तथा शुरु तथा पुनरावेदन अदालतको फैसला उल्टी हुनु पर्दछ भन्ने पुनरावेदक प्रतिवादी तर्फका वरिष्ठ विद्वान अधिवक्ताको वहस जिकीरसँग सहमत हुन सकिएन ।
६. अतः उल्लिखित तथ्य र कानूनी व्यवस्थाको विवेचनासमेतबाट यी पुनरावेदक प्रतिवादी र प्रत्यर्थी वादी दाजुभाई भन्ने देखिएतापनि विवादित कि.नं. ३३ को जग्गा यी पुनरावेदक प्रतिवादीले मिति २०४५।११।१० मा खरीद गरी लिनुपूर्व नै यी प्रत्यर्थी वादी लक्ष्मी यादव भूमि सम्बन्धी ऐन, २०२१ को कानूनी व्यवस्थाबमोजिम मोही कायम भई रहेको भन्ने देखिएको र प्रत्यर्थी वादीले विवादित जग्गामा मोहीको हैसियतले पूरा गर्नुपर्ने दायित्व पूरा नगरेको भन्ने जिकीर पुनरावेदक प्रतिवादीले लिन नसकेको अवस्थामा केवल घरको दाजुले पछिबाट जग्गा खरीद गरी लिएकै आधारमा अगावैदेखि विवादित जग्गामा कानूनअनुरूप कायम रहेका मोही प्रत्यर्थी वादीको मोही हक समाप्त हुन नसक्ने भएकोले शुरु भूमिसुधार कार्यालय झापाले उल्लिखित कि.नं. ३३ को जग्गाबाट मोही निष्काशन गर्ने गरी भएको सोही कार्यालयको मिति २०५९।२।९ को पूर्व निर्णय बदर गरी विवादित जग्गाको प्रत्यर्थी वादीका नामको मोही हक यथावत कायम राख्ने गरेको मिति २०६३।१०।१७ को निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत, इलामको फैसला मिलेकै देखिँदा सो सदर हुने ठहर्छ । दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.कमलनारायण दास
इति संवत् २०६९ भदौ १९ गते रोज ३ शुभम् .
इजलास अधिकृतः रामप्रसाद शर्मा