निर्णय नं. ३५८१ - परमादेशयुक्त उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. ३५८१ ने.का.प. २०४५ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४३ सालको रिट नं. २०७०
आदेश भएको मिति : २०४५।८।६।२ मा
निवेदक : गुठी संस्थान केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष विष्णुप्रसाद खनाल
विरुद्ध
विपक्षी : श्री बागमती अञ्चल अदालत, डिल्लीबजारसमेत
विषय : परमादेशयुक्त उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) कुनै पनि मुद्दामा प्रतिवादी भएका पक्षहरुलाई जानकारी नदिई मिलापत्र गरे गराएको कानूनले मान्यता पाउन नसक्ने ।
(प्रकरण नं. ९)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री वद्रिप्रसाद शर्मा
आदेश
न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको को धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :
२. पर्सा जिल्ला विरुवा गा.पं.अन्तर्गत वडा नं.२(क) नक्शा कि.नं.१, ३, ५, २, २६, २७, ६२, ७५, ८७, ८८, १४५, १५४, १६०, १६६, २१९, २३१, २३३, २३४ वडा नं.२ (ख) नक्शा कि.नं.६६, ६७, २२०, २२३, वडा नं.१(घ) नक्शा कि.नं.१, २, ३ समेतको गुठी संस्थान अन्तर्गत श्री काशी साम्राजेश्वर महादेव नामक राजगुठीको जग्गा त्यस क्षेत्रमा सर्भे नापी हुँदा फिल्डबुकमा कुनै कुनै कित्तामा कसै कसैले आफ्नो नम्बरी भनी लेखाएको भए पनि धेरै जसो कित्ताहरुमा श्री ५ को भन्ने र ऐलानी भन्ने समेत जनिएको र आफ्नो भनी लेखाउने व्यक्तिहरुले जग्गामा हस्तक्षेप पनि नगरेको र सो जग्गा गुठी जग्गाको वर्गीकरण अनुसार गुठी तैनाथी जग्गा मानिन्छ । उक्त कित्ता नम्बरको जग्गामा बेहकसंग दावी गरी विपक्षी मध्येका मिनुदेवी, नथुदेवी, होमप्रसाद, धर्मप्रसाद, दुर्गादेवी, झलकप्रसाद, भक्तबहादुर श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, प्रेमप्रसाद पाण्डे र अरु २ जना समेत जम्मा ११ जना वादी भई भिमबहादुर खड्का, शशिमणि उपाध्याय, किशोरीकुमारी खड्का, कान्छी भट्टिनी पानमती श्रेष्ठ, रामप्रसाद अर्याल, धनप्रताप राणा, शकुन्तला आचार्य, सुरजबहादुर गुरुङ, केदारप्रसाद भन्ने टोपप्रसाद सेढाई समेतका २४ जनाका अतिरिक्त गुठी संस्थान केन्द्रीय कार्यालय र वीरगंजको गुठी तहसील तथा खर्च कार्यालय समेतलाई प्रतिवादी बनाई बागमती अञ्चल अदालतमा जग्गा खिचोला लगायतका दावी लिई फिराद गरेकोमा गुठी संस्थान केन्द्रीय कार्यालय र वीरगंज गुठी तहसील तथा खर्च कार्यालयका तर्फबाट प्रतिवाद गरेकोमा यस कार्यालयहरुलाई थाहा नदिई मिति २०४२।६।१६ गते वादी मध्येका ९ जना र प्रतिवादी मध्येका ११ जना मिलेमतो भई सो जग्गा आपसमा भागबण्डा लगाई खाने व्यहोरा पारी मिलापत्र भएछ । सोको जानकारी बागमती अञ्चल अदालतको ०४३।१।२२ को पत्रबाट प्राप्त भई ०४३।२।१९ गते नक्कल सराई लिंदा गर्न गराउन नहुने मिलापत्र गरे गराएको जानकारी हुन आयो ।
३. फिरादपत्र र प्रतिउत्तरपत्रको लेखाइबाट अन्य प्रतिवादी र वादीहरुले आपसमा जग्गा भागबण्डा लगाई लिन खान नहुने छर्लङ्ग हुँदाहुँदै बागमती अञ्चल अदालतले जानजान सो मिलापत्र गराएको र मिलापत्र गर्ने बाहेकका अन्य व्यक्तिका हकमा केही नबोली मुद्दाको लगत कट्टा गरेबाट राजगुठीको सम्पत्तिमा प्रत्यक्ष असर परेको र सो बदर गराउन अन्य उपचारको व्यवस्था नभएको तथा गुठी संस्थानको सम्पत्ति सम्बन्धी संवैधानिक हकमा आघात पर्न गएकोले उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी उपरोक्त ०४२।६।१६ को मिलापत्र र त्यसको कार्यान्वयनका निमित्त गरे भएका पत्र व्यवहार बदर गरी मुद्दाका हकमा ठहरे बमोजिम फैसला गर्नु भनी विपक्षी बागमती अञ्चल अदालतका नाममा परमादेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदन ।
४. विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत २०४३।९।१६।४ को एक न्यायाधीशको इजलासको आदेश ।
५. निवेदन दावी बमोजिमका पर्सा जिल्ला विरुवा गा.पं.का जग्गाहरुमा मिलापत्र भएको नभई पर्सा जिल्ला विरुवा गा.पं.वडा नं.२ अन्तर्गतका विभिन्न कित्ता गरी जम्मा २२ कित्ता जग्गाहरु विपक्षी गुठी संस्थानको ०३०।१०।८ को आदेश बमोजिम दर्ता भोगचलन गरी आएकोमा उक्त जग्गा विपक्ष गुठी संस्थानले अन्य विपक्षहरुका नाममा दर्ता गरी दिई विपक्षीहरुले खिचोला गर्न आएकोले दर्ता बदर गरिपाउँ भनी मिनुदेवी उपाध्याय समेतको २०३५।१०।२५ मा फिराद परेकोमा हदम्याद भित्र नपरेको फिराद खारेज गरिपाउँ भन्ने गुठी तहसील तथा खर्च कार्यालयको र गुठी जग्गा हत्याउने प्रयासले मात्र फिराद गरेको भन्ने गुठी संस्थान केन्द्रीय कार्यालयको र विवादीत जग्गा हामीहरुका नाममा समेत दर्ता हुने जग्गा भएकोले हामीहरुका नाममा समेत दर्ता गराई पाउँ भन्ने भिमबहादुर खड्का समेतको प्रतिउत्तर परेकोमा मिति ०४२।६।१६ मा वादी मिनुदेवी उपाध्याय समेतको २ प्रतिवादी भिमबहादुर खड्का समेतको मिलापत्र गरी पाउँ भनी संयुक्त रुपमा दर्खास्त पर्न आए अनुरुप मिलापत्र भएको हो । विपक्षीको झुठ्ठा निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी बागमती अञ्चल अदालतको लिखित जवाफ ।
६. विपक्षीको कुनै पनि हक लिखित जवाफवाला र बा.अं.अ.समेतबाट हनन् गर्नसक्ने स्थिति नभएको र नगरिएको अवस्थामा गु.सं.के.का. अन्तर्गत गु.त.ख.का. पर्सा वीरगंजले कुनै विवादै नउठाई हकै नपुग्दै विपक्षीले विलम्ब गरी रिट निवेदन दिएको छ । मिलापत्र भए गरिएकोमा अ.बं.८६ नं. का आधारमा म्यादै भित्र जसको हक जाने हो उसले फिराद दायर गरी इन्साफ लिन पाउने र बा.अं.अ.ले कानूनी त्रुटिपूर्ण निर्णय गरेमा अ.बं.१९३ र १९७ नं.बमोजिम पुनरावेदन सुन्ने अदालतमा पुनरावेदन र त्यसउपर न्या.प्र.सुधार ऐन, ०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति माग गरी स.अ.मा निवेदन गरी इन्साफ लिन पाउने कानूनी उपचारको मार्ग नअपनाई दिएको निवेदन खारेजभागी छ निवेदन खारेज गरी साविक मिलापत्र बमोजिमको सम्पत्ति उल्लिखित व्यक्तिको सदर गरिपाउँ भन्ने समेत प्रत्यर्थीहरु प्रेमप्रसाद पाण्डे, मिनुदवी उपाध्याय नथुनीदेवी परलोक भई मु.स.गर्ने छोरा अशोककुमार उपाध्याय, प्रमोदप्रसाद उपाध्याय, हेमप्रसाद उपाध्याय, दुर्गादेवी उपाध्याय र झलकप्रसाद उपाध्याय समेत जना ७ को संयुक्त लिखित जवाफ र सोही व्यहोराको प्रत्यर्थीहरु सुवर्ण गुरुङसेनी, सुरजबहादुर गुरुङ, रामप्रसाद अर्याल, केदारप्रसाद भन्ने लोपप्रसाद सेढाई, कान्छी भट्टिनी समेत जना ६ को संयुक्त लिखित जवाफ ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदनमा निवेदक गुठी संस्थानतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शोभाकर उपाध्यायले गुठी संस्थान पक्ष भएको देखिँदा देखिँदै गुठीलाई सामेल नगराई भएको मिलापत्रले कानूनी मान्यता प्राप्त गर्न सक्दैन भन्ने समेत र विपक्षी प्रेमप्रसाद पाण्डे समेततर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री वद्रिप्रसाद शर्माले अञ्चल अदालतबाट गराइएको मिलापत्रमा केही त्रुटि छैन भन्ने समेतको बहस प्रस्तुत गर्नु भएको सुनी सुरजबहादुर गुरुङ समेतको वा.श्यामप्रसाद पाण्डेलाई रोहवरमा राखी छलफल समेत सुनियो ।
८. अब प्रस्तुत रिट निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ भन्ने कुराको निर्णय दिनुपरेको छ ।
९. निर्णयतर्फ विचार गर्दा यसमा पर्सा जिल्ला विरुवा गा.पं.अन्तर्गत वार्ड नं. २(क) का कि.नं.१, ३, ५, २५, २६, २७, ६२, ७५, ८७, ८८, १४५, १५४, १६०, १६६, २१९, २३१, २३३, २३४ वडा नं.२(ख) का कि.नं.६६, ६७, २२०, २२३ र ऐ.वार्ड नं. १ (घ) को कि.नं.१, २, ३ समेतको जग्गा गुठी संस्थान अन्तर्गत श्री काशी साम्राज्येश्वर महादेव नामको राजगुठी हो । नापीमा गुठीको प्रतिनिधि उपस्थित हुन नसक्दा फिल्डबुकमा कुनै कित्तामा कसैले आफ्नो नम्बरी भनी लेखाएको भए पनि धेरैमा श्री ५ भन्ने र ऐलानी भन्ने लेखिएको भए पनि गुठी तैनाथी जग्गा हुन् । उक्त जग्गामा विपक्षी मिनुदेवी समेतका ११ जना वादी भई भीमबहादुर समेत २४ जनाका अतिरिक्त गुठी संस्थान केन्द्रीय कार्यालय र वीरगञ्जको गुठी तहसील तथा खर्च कार्यालय समेतलाई प्रतिवादी बनाई बागमती अञ्चल अदालतमा जग्गा खिचोला मेटाइ संस्थानको निर्णय सहितको दर्ता कारवाई बदर गरी बण्डा लगाई हामीहरुको हक जति हामीहरुकै नाममा सकार गराई दर्ता गराई पाउँ भन्ने फिराद परेकोमा वादीको हकदैया नभएको भन्ने विस्तृत व्यहोरा दर्शाई प्रतिवाद समेत गरेकोमा आखिर वादी मध्येका ९ जना र प्रतिवादी मध्येका ११ जना विपक्षीहरु मिलेमतो भई आपसमा भागबण्डा लगाई लिने खाने बेहोरा पारी गुठीका कार्यालयहरुलाई थाहा नदिई ०४२।६।१६ गते मिलापत्र गर्ने गराउने कार्य भएछ । सो मिलापत्र गराउन नहुनेमा गराएबाट बदर गरी मुद्दाका हकमा ठहरे बमोजिम फैसला गर्नु भन्ने परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने रिट निवेदकको निवेदन जिकिर भएकोमा विपक्षीहरु तर्फबाट पेश भएको लिखित जवाफ समेतबाट त्यसरी मिलापत्र भएको व्यहोरालाई खण्डन गर्नसकेको देखिएन । गुठी संस्थान समेत उक्त मुद्दामा प्रतिवादी रहे भएको पनि देखिन आयो । त्यसरी कुनै पनि मुद्दामा प्रतिवादी भएका पक्षहरुलाई जानकारी नदिई मिलापत्र गरे गराएको कानूनले मान्यता पाउन सक्ने हुँदैन । गुठी संस्थानको हकमा बाँकी रहने गरी मिलापत्र भएको हो कि भन्नलाई पनि मिलापत्र गराई दिएको तोक आदेशमा अञ्चल अदालतबाट सो कुरा उल्लेख गरिएको पाइँदैन । यसर्थमा मुद्दाको पक्ष गुठी संस्थानलाई समावेश नगराई भएको मिति ०४२।६।१६ गतेको मिलापत्र कानूनी त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब पुनः मुद्दा जगाई कानून बमोजिम कारवाई र निर्णय गर्नु भनी विपक्षी अञ्चल अदालतका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि विपक्षी हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि विपक्षी अदालतमा म.न्या.का.मार्फत पठाई नियम बमोजिम फायल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल मार्ग ६ गते रोज २ शुभम् ।