निर्णय नं. ३५९० - घरमा आगो लगायो

निर्णय नं. ३५९० ने.का.प. २०४५ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४३ सालको फौ.पु.नं. ५८३
फैसला भएको मिति : २०४५।८।८।२ मा
पुनरावेदक/प्रतिवादी : महेन्द्र नगर न.पं.वा.नं.२ उल्टाखाम बस्ने कीर्तिबहादुर विष्ट
विरुद्ध
विपक्षी/वादी : जगन्नाथ कार्कीको जाहेरीले वादी श्री ५ को सरकार
मुद्दा : घरमा आगो लगायो
(१) दुइतले घरमा प्रतिवादीले सलाईको काँटी कोरी हातले लगाएको भन्ने कुरा पत्यारलायक नदेखिने ।
(प्रकरण नं. २३)
(२) शंकास्पद स्थितिमा शुरुले आगलागी गरेको हो भनी ठहर्याएकोलाई सदर गरेको निर्णयलाई नै मनासिब ठहर्याएको इन्साफ नमिलेको हुँदा पुनरावेदकले सफाई पाउने ।
(प्रकरण नं. २३)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
विपक्षी/वादीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला : सुदूर पश्चिमाञ्च क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यसप्रकार छ :
२. २०४० साल आषाढमा घरको छाना छाउन कृपासिं विष्टसंग खर खरीद गरी बाँकी रहेको रुपैयाँको विषयमा वादविवाद हुँदा मिति २०४०।७।१३ मा कृपासिं, रामबहादुर र वीरबहादुरले सल्लाह गरी कृपासिंले सलाई कोरी मेरो घरमा आगो लगाई दिंदा रु.१६,५५०। को नगदी जिन्सी समेत नोक्सान भएकोले नोक्सानीको बिगो विपक्षीहरुबाट भराई कारवाही गरी पाउँ भन्ने व्यहोराको मिति २०४०।७।१२ को जगन्नाथ कार्कीको जाहेरी दर्खास्त ।
३. वारदातको मितिमा मैले सलाईबाट जाहेरवालाको घरमा आगो लगाएको हुँ, रामबहादुर र वीरबहादुर सो समयमा थिएनन् भन्ने प्र.कृपासिं भन्ने कृति बहादुरको मिति २०४०।७।२९ मा प्रहरी समक्ष भएको साविती बयान ।
४. आगो कस्ले लगायो थाहा छैन, आफूले लगाएको होइन भनी प्र.रामबहादुर र वीरबहादुर विष्टको मिति २०४०।७।२९ मा प्रहरी समक्ष भएको इन्कारी बयान ।
५. कृपा विष्टले जगन्नाथको घरमा आगो लगाएको हो, निजहरुको लेनदेन थियो भन्ने सरजमीनका विष्णु सिं खत्री समेत, जाहेरवाला र कृपासिंको लेनदेन विषयमा विवाद हुँदा कृपासिं समेतले आगो लगायो भन्ने कर वीरसिं भण्डारी, मन्दिरचन्द तथा कृपासिंले आगो लगाएको सुनेका हौं भन्ने गगनसिं विष्ट समेतले मिति २०४०।८।१ मा गरिदिएको सरजमीन मुचुल्का ।
६. आगो लगाएको भनिएको स्थानमा केही आधा केही पूरा जलेको खम्बाहरु, एक कोठामा केही भाँडाकुँडा भेटिएको, अर्को कोठामा भेटिएको अं.१½ फिट लम्बा ९ इन्च चौडा ६ इन्च उचाई भएको पुरानो जलेको बक्सा खोली हेर्दा जलेको चिन्न नसकिने कपडा भएको भन्ने समेत घटनास्थल प्रकृति मुचुल्का मिसिल सामेल रहेको ।
७. अभियुक्त कृतबहादुर विष्ट समेतले मु.ऐ.आगो लगाउनेको महलको १ नं.अनुसारको कसूर गरेकोले ऐ.को ५ नं.बमोजिम सजायँ हुन तथा ऐ.१० नं.बमोजिम जाहेरवालाको नोक्सान भएको रु.१६,२५०।– निजहरुबाट भराई दिलाई पाउँ भन्ने समेत वादीको प्रहरी प्रतिवेदन ।
८. जाहेरवालाको घरमा आगो लगाएको होइन, झुठ्ठा वारदात खडा गरी हामी प्रति झुठ्ठा उजूरी दिएको हो, डोरमा आफ्ना पक्षका मानिस बकाई हामीलाई बोल्न दिएन भन्ने समेत प्र.वीरबहादुर विष्टको अदालत समक्ष इन्कारी बयान ।
९. जाहेरवालालाई चिनेको छैन, आगो लागे लगाएको थाहा छैन, कृतबहादुरको घरमा डेरा गरी बसेको हुँदा म माथि पनि उजूर गरेका होलान । टि.वी.को विरामी हुँदा त्यस दिन म सुई लगाउन पर्ने हुँदा हजारी भन्ने ठाउँमा गएको थिएँ भन्ने समेत व्यहोराको प्र.रामबहादुर विष्टको अदालत समक्ष इन्कारी बयान ।
१०. २०४०।७।१३ मा म भक्त गाउँ बनकट्टि गई साँझ ८ बजे मात्र घर आई पुगँे जाहेरवालाको घरमा आगो लागेको सुनिन । सरजमीन हुँदा डोरले घटनास्थल भनिएको ठाउँमा लगेका थिए । बयान लेख्ने प्रहरी समेतले हप्काई, डराई बयान गराएका हुन् । मैले आगो लगाएको होइन वीरबहादुर, रामबहादुर कहाँ थिए थाहा छैन भन्ने समेतको प्र.कृतबहादुर विष्टको अदालत समक्ष इन्कारी बयान ।
११. घटनाको दिन वीरबहादुर घरै थिए, कृतबहादुर अघिल्लो दिन साँझ माझ गाउँ गएका भन्ने थाहा पाएको हो, जाहेरवालाको घरमा आगो लगाएको होइन निजको कुनै घर छैन भन्ने समेत प्रतिवादीहरुका साक्षी नारायणदत्त जोशी समेतको करिव एकै मिलानको बकपत्र ।
१२. जाहेरवालाको घरमा प्र.कृतबहादुर विष्टको हातबाट आगलागी भएको हो भन्ने सरजमीनका पदमबहादुर साउद समेत र जाहेरवाला जगन्नाथ कार्कीले अदालत समक्ष गरेको किटानी बकपत्र ।
१३. प्र.कृतिबहादुर विष्टले वादी दावी बमोजिम जाहेरवालाको घरमा आगो लगाएको ठहराई प्र.रामबहादुर विष्ट र वीरबहादुर विष्टका हकमा सफाई दिने गरेको शुरु कञ्चनपुर जिल्ला अदालतको मिति २०४१।२।१०।४ को फैसला ।
१४. उक्त फैसला बमोजिम प्र.कृतबहादुर विष्टलाई जरिवाना रु.१६,५५०।– हुन्छ भनी लेखिएकोमा सो जरिवाना हुँदैन, चित्त नबुझे म.अं.अ.मा पुनरावेदन गर्नु भनी जानकारी दिन समेत शुरु कं.जि.अ.ले मिति २०४१।४।४।५ मा गरेको आदेश ।
१५. प्र.वीरबहादुर विष्ट र रामबहादुर विष्टलाई सफाई दिएको शुरुको इन्साफ न्यायसंगत नहुँदा बदर गरी प्रहरी प्रतिवेदन माग दावी अनुसार प्रतिवादीहरुलाई सजायँ गरी पाउँ भन्ने समेत मिति २०४१।६।५ मा श्री ५ को सरकारको तर्फबाट तथा शुरु कं.जि.अ.को फैसला बदर गरी झुठ्ठा अभियोगबाट सफाई पाउँ भन्ने समेत मिति २०४१।७।५ मा प्र.कृतबहादुर विष्टको महाकाली अं.अ.मा पर्न आएको पुनरावेदनपत्र ।
१६. वीरबहादुर विष्ट र रामबहादुर विष्टलाई सफाई दिने गरेको शुरु इन्साफमा श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न नसक्ने तथा पुनरावेदन प्र.कृतिबहादुर विष्टले आरोपित कसूर गरेको शुरु इन्साफ सदर गरी, हानी नोक्सानीको बिगो रु.५,५५०।– मात्र कायम हुने ठहराई गरेको महाकाली अञ्चल अदालतको मिति ०४१।१०।१०।२ को फैसला ।
१७. महाकाली अञ्चल अदालतबाट मेरो पुनरावेदन जिकिरतर्फ ध्यान नदिई मलाई कसूरदार ठहराई भएको फैसलामा चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भनी प्र.कीर्तिबहादुर विष्टको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत मिति २०४२।३।२७।५ को सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको आदेश ।
१८. प्रतिवादी कीर्तिबहादुर विष्टले अधिकारप्राप्त अधिकारी समक्ष आफू सावित रही दिएको बयानलाई आफूलाई डर, त्रास देखाई गराएको भने तापनि सरजमीनका अधिकांश व्यक्तिले निजले अगो लगाएको किटान गरेका तथा अदालतबाट बुझिएका जाहेरवाला समेतका व्यक्तिहरुले आफ्नो भनाइलाई पुष्टि हुने गरी बकपत्र गरेको प्रतिवादीले आफू घटना घटेको दिन साँझ ८ बजे मात्र घर आई पुगेको भनी बयान गरे तापनि सो भनाईमा विरोधाभाष हुने गरी निजकै साक्षीले बकपत्र गरेबाट निज प्रतिवादीको कुरा विश्वसनीय हुन आउँदैन । घटनास्थलमा आगलागीबाट क्षति भएको रु.११,०००।– रहेको भनेको टिनको बाकस खोली हेर्दा जलेको टिनको बाकसभित्र जलेको चिन्न नसकिने कपडा भन्ने घटनास्थल मुचुल्कामा लेखिएको देखिन आएबाट रु.११,०००।– को बिगो कायम हुन नसक्ने ठहर्याई गरेको महाकाली अञ्चल अदालतको इन्साफ मिलेको देखिँदा सो फैसलामा केही परिवर्तन गरिरहनु परेन सदर हुन्छ । नोक्सानी बिगोको हकमा रु.५,२५०।– कायम हुन आउनेमा रु.५,५५०।– कायम गर्ने गरेको हिसाबको गणना सम्बन्धी साधारण त्रुटी भएबाट त्यसतर्फ केही गरिरहनु परेन । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१०।२।४ को फैसला ।
१९. जाहेरवालाको जाहेरी दर्खास्त र अदालती बकपत्र बाझिएको सरजमीनका मानिसको सरजमीन भनाई र अदालती बकपत्र विरोधाभाषपूर्ण रहेको आगो लागेको घर जाहेरवालाको थियो थिएन पुष्टि नै नरहेको र घर आगो लागी धनमाल नोक्सान रहेको कुरा नै संदिग्ध रहेको अवस्थामा उक्त कुरा विचारै नगरी पुनरावेदकको जिकिर पुग्न सक्दैन भनी गरिएको फैसला त्रुटिपूर्ण एवं अन्यायपूर्ण भई बदरभागी हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी कीर्तिबहादुर विष्टको निवेदनपत्र ।
२०. आगलागिको कार्य कसबाट भएको हो किटानी नगरेको, ९ हात अग्लो घरमा छानामा छोई आगो लगाएको भनेको, जाहेरी दर्खास्त र जाहेरवालाको अदालती बकपत्र परस्पर बाझिएको तथा आगलागिमा परेको घर नै थियो थिएन वा के कस्तो अवस्थामा थियो यकीन नभएको अवस्थामा प्रतिवादीलाई सजायँ हुने गरी गरेको क्षेत्रीय अदालतको फैसला प्रमाण ऐनको दफा ३ तथा ८ र ५४ को साथै मुलुकी ऐन, अ.बं.१३९ तथा १८४(क), १८५ समेतको कानूनको त्रुटी गरी गरिएको देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४३।१२।१८ को आदेश ।
२१. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापा एवं विपक्षी वादीतर्फबाट उपस्थित विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले गर्नु भएको बहस समेत सुनी सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मिले नमिलेको के रहेछ भन्ने नै निर्णय दिनु पर्ने देखिन आयो ।
२२. यसमा २०४० आषाढमा घरको छाना छाउन लिएको खरको बाँकी पैसाको विषयमा वादविवाद हुँदा मिति २०४०।७।१३ मा कृपासिंह समेतले घरमा आगो लगाई दिए भनी दिएको जाहेरी दर्खास्तको आधारमा अनुसन्धान तहकिकात गर्दा निज प्रतिवादी कृपासिंह भन्ने कृतिबहादुर विष्ट समेतले मुलुकी ऐन आगो लगाउनेको १ नं.अनुसारको कसूर गरेकोले ऐ.को ५ नं.बमोजिम सजायँ हुन र ऐ.१० नं. बमोजिक जाहेरवालाको नोक्सान भएको बिगो रु.१६,२५०।– निजहरुबाट भराई पाउँ भन्ने समेत दावीको प्रहरी प्रतिवेदन एवं वारदात भएको दिन म गाउँमा थिइन सो दिनको बेलुकी मात्र आइपुगेको हुँ आगो लगाउने काम मबाट भएको होइन । प्रहरीमा हप्काई धम्काई साविति बयान गराएका हुँदा झुठ्ठा दावाबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी कीर्तिबहादुर विष्टको अदालतमा बयान भएकोमा प्रतिवादी उपरको अभियोग पुष्टि हुने भएकोले माग दावी बमोजिम सजायँ हुने गरी गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरी अञ्चल अदालतले गरेको फैसला मनासिब ठहर्याई क्षेत्रीय अदालतबाट निर्णय भएको रहेछ ।
२३. संलग्न मिसिल कागजात हेर्दा वारदात २०४०।७।१३ को विहान ९ बजे भएको र सोको दर्खास्त २०४०।७।१४ मा नै परेको देखिन्छ । प्रहरीले अभियुक्तलाई २०४०।७।२९ मा पक्राउ गरी ०४०।७।२९ मै बयान गराएको देखिन्छ । जाहेरवालाले अदालत समक्ष बकपत्र गर्दा प्रतिवादी कीर्तिबहादुर विष्टलाई वारदातको भोलिपल्ट नै पक्राउ गरी लगेको भनी बकेकोबाट प्रतिवादीलाई पक्राउ गरी धेरै दिन प्रहरी हिरासतमा राखेको भन्ने देखिन्छ र यसप्रकार भोलीपल्ट पक्राउ गरी लगेपछि त्यतिका दिन बयान गराउन ढिला गरी राख्नाको कारण पनि कतैबाट स्पष्ट खुलेको देखिँदैन । अर्कोतर्फ हेर्दा जाहेरवालाले जुम्लीसँग लिएको जग्गामा घर बनाएको हुँ भनी भनेको छ तर सो जग्गावालाको नामसम्म पनि निजले थाहा नभएको भनी बयान गरेको छ र जग्गा निजले खरीद गरी लिएको भन्ने सामान्य प्रकारको कागज समेत दाखिला हुनआएको छैन । जाहेरीमा एक तले घर भनी किटानी साथ लेखेकोमा पछि बकपत्र गर्दा २ तले नौहात अग्लो भन्ने पनि भनाई र लेखाई भएको पाइन्छ । घर दुई तले भए दलिनहरु डढेको निसाना हुनु पर्ने सो कुरा पनि मिसिलमा कतै उल्लेख भएको देखिँदैन । दुई तले घरमा प्रतिवादीले सलाईको कांटी कोरी हातले आगो लगाएको भन्ने कुरा पनि पत्यारलायक देखिँदैन । जाहेरीमा जाहेरवालाले बाकससमेतमा रहेको नोट र गहुँ क्वीन्टल १, धान क्वीनटल १, उनी गलैचा एक समेतका सामानहरु जलेको भनी लेखाएकोमा घटना प्रकृति मुचुल्काबाट धान, गहुँ अनाज डढेको खरानी र गलैंचा इत्यादीको डढेको खरानी समेत भेटिएको भनी खुलाएको देखिँदैन । बाकस भित्र रहेको नोट जलेको भन्ने कुरा पनि प्रमाणित हुनआएको छैन । यस्तो शंकास्पद स्थितिमा शुरुले आगलागी गरेको हो भनी ठहर्याएकोलाई सदर गरेको महाकाली अञ्चल अदालतको निर्णयलाई नै मनासिब ठहराएको मिति २०४२।१०।२ को सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ नमिलेको हुँदा पुनरावेदकले सफाई पाउने ठहर्दछ । सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उल्टी हुन्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्र.कीर्तिबहादुर विष्टके माथि इन्साफ खण्डमा लेखिए बमोजिम क्षेत्रीय अदालतको इन्साफ उल्टी भई सफाई पाउने ठहरेकोले निजलाई लाग्ने ठहरेको कैद वर्ष ४ को लगत कायम राख्नु परेन व्यहोरा जनाई लगत कट्टा गर्नु भनी शुरु जि.अ. मा लगत दिन का.जि.अ.त. मा लेखी पठाउनु ..१
पुनरावेदक प्र.कीर्तिबहादुर विष्टके यस अदालतको मिति २०४२।२।१४ को आदेशले का.जि.अ.त. मा धरौटी राखेको रु.१०८।– कानून बमोजिम फिर्ता दिनु भनी का.जि.अ.त. मा लेखी पठाउनु ...२
ऐ.ऐ.के शुरु अदालतबाट हुनसक्ने कैद बापतको रकम रु.२,१६०।– मिति २०४०।८।९।६ मा कन्चनपुर जिल्ला अदालतमा धरौट राखेको र महाकाली अञ्चल अदालतबाट भएको फैसला बमोजिम लाग्ने थप कैद बापतको धरौट रकम रु.२१६।– मिति २०४१।१२।५।२ मा कन्चनपुर जिल्ला अदालतमा नै बुझाएको देखिँदा कानून बमोजिम फिर्ता दिनु भनी कन्चनपुर जि.अ.मा लेखी पठाउनका लागि का.जि.अ. तहसील शाखामा लेखी पठाउनु ..३
मिसिल नियम बमोजिम गरी बुझाई दिनु ..४
उक्त रायमा म सहमत छु ।
न्या.हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४५ साल मार्ग ८ गते रोज २ शुभम् ।