निर्णय नं. ३५९२ - बन्दीप्रत्यक्षीकरण

निर्णय नं. ३५९२ ने.का.प. २०४५ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४५ सालको रि.नं.२००८
आदेश भएको मिति : २०४५।८।२९।४ मा
निवेदक : कारागार शाखा काठमाडौंमा थुनामा बस्ने ज्ञानबहादुर राना मगरसमेत
विरुद्ध
विपक्षी : श्री तनहुँ जिल्ला अदालतसमेत
विषय : बन्दीप्रत्यक्षीकरण
(१) तेश्रोपटक पारी डाँका गरेको ठहरिँदा मुलुकी ऐन चोरीको महलको १४(४) नं. अनुसार जनही १२ वर्ष कैद हुने तथा जरिवाना बापत ४ वर्ष थप कैद हुने, थुनुवा भागे भगाए बापत कारागार ऐन, २०१९ को दफा २४(३) बमोजिम बाँकी कैदको डेढीको हिसाबले ४ वर्ष १० महीना १६ दिन कैद हुनेमा ऐ.ऐनको दफा २४(६) बमोजिम उपल्लो हद कैद वर्ष २० हुने अर्थात् सो भन्दा बढी कैद लगत ठेक्नु कानूनसंगत नहुने ।
(प्रकरण नं. ११)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री भानुभक्त शर्मा
प्रत्यर्थीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की
आदेश
न्या.महेशरामभक्त माथेमा : नेपालको संविधान, २०१९ धारा १६।७१ अन्तर्गत दायर हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२. टेकप्रसाद समेतको जाहेरीले वादी श्री ५ को सरकार, प्रतिवादी हामी रिट निवेदकहरु भएको डाँका मुद्दामा कसूर गरेको ठहरी म्यादी तथा जरिवानाको समेत गरी जम्मा १२ वर्ष २ महीना २ दिन कैद ठेकी मिति २०३३।१२।१२ देखि थुनामा राखेको कलम एक, भुपाल सिंको जाहेरीले वादी श्री ५ को सरकार, प्र.हामी रिट निवेदकहरु नै भएको डाँका ज्यान मुद्दामा विपक्षी नं. १ ले २०३७।७।४ मा फैसला गरी लागेको कैद वर्ष ६ र जरिवाना रु.५,२८६।८९ हुने भनी ठहर गरेको कलम एक, जि.का.कारागार शाखा तनहुँको प्रतिवेदनले वादी श्री ५ को सरकार प्रतिवादी हामीहरुनै भएको थुनुवा भाग्यो भगायो भन्ने मुद्दामा विपक्षी नं. १ ले मिति २०३८।७।२४ मा ४ वर्ष १० महीना १६ दिन कैद हुने भनी भएको फैसलाले कलम एक, चन्द्रबहादुर भुजेलको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी हामी रिट निवेदकहरु नै भएको डाँका मुद्दामा दोश्रापटक पारी डाँका गरेको ठहर गरी ९ वर्ष कैद र जरिवाना रु.३१,०५०।– हुनेमा जरिवाना नतिरे बापत ४ वर्ष समेत जम्मा १३ वर्ष कैद हुने भनी विपक्षी नं. २ ले मिति २०३९।३।६ मा फैसला भएको थियो ।
३. विपक्षी नं. १ ले ठहर तथा फैसला गरेको ३ कलम मध्येबाट सबै कलमको खत पटक खापी सजायँ गर्न नपाउने हुँदा उक्त उल्लिखित टेकप्रसाद समेतको जाहेरीले वादी श्री ५ को सरकार, प्रतिवादी हामी भएको डाँका मुद्दाको १२ वर्ष २ महीना २ दिन कैदको मात्र लाग्ने अन्य सानु कलमको कैद त्यसै भित्र पर्ने गरी कैदको लगत ठेकी कैद असूलउपर गर्नु भनी विपक्षी नं. ३ को नाउँमा जनाउ र हामी रिट निवेदकहरुलाई कैद म्याद ठोकुवा पुर्जी समेत २०३८।८।३० मा दिएको थियो । तत्पश्चात विपक्षी नं. ३ ले उक्त टेकप्रसाद समेतको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दाको भाग्ने अवस्था बसिसकेको कैद कटाई बाँकी ९ वर्ष ९ महीना २ दिन, भुपालसिंको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दाको ६ वर्ष कैद जरिवाना बापतको ४ वर्ष कैद र थुनुवा भाग्यो भगायो भन्ने मुद्दाको ४ वर्ष १० महीना १६ दिन समेत गरी जम्मा ३ कलम मुद्दाको मात्र २४ वर्ष ७ महीना १८ दिनको कैदको लगत ठेकिएको छ ।
४. उल्लिखित लगत बमोजिमको कैद भुक्तान भएपछि मात्र विपक्षी नं. २ ले ठहर गरेको १३ वर्ष कैद लागू हुने गरी मिति २०३९।३।६ मा गरेको फैसलाको हालसम्म कैद म्याद विपक्षी नं. २ ले दिएको छैन । हामीहरुलाई जम्मा शुरुमा थुनामा बसेको मिति २०३३।१२।१२ देखि ३९ वर्ष ११ महीना २७ दिन र पुनः थुनामा बसेको मितिले ३७ वर्ष ७ महीना १८ दिन कैदमा राख्ने उद्देश्य लिएको देखिन्छ ।
५. दण्ड सजायको ४१ र ८ नं. विपरीत खत पटक खापी सजायँ गर्ने गरी कैदको लगत ठेकी राखेको हुनाले ठूलो कलमको मात्र कैदको लगत ठेकी थुनामा बसेको मिति २०३३।१२।१२ गतेबाट गणना हुने गरी कैद घटाई पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर ।
६. यसमा विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।
७. अधिकारप्राप्त अदालतबाट जे जस्तो कैद जरिवानाको लगत प्राप्त हुन्छ, सोही अनुरुप कारागार कार्यालयले बुझी लिई राखी दिनुपर्ने कारागार ऐन नियममा व्यवस्था भएकोले बुझी लिई राखेको सम्म हो, यस कार्यालयबाट गैरकानूनी कार्य नगरिएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी कारागार शाखा काठमाडौंको लिखित जवाफ ।
८. यस अदालत र स्याङ्गजा जिल्ला अदालतबाट भएका विभिन्न मितिका फैसलाले पटक कायम समेत गरिएको हुँदा तत्काल मुलुकी ऐन चोरीको महलको २७ नं. ले डाँकामा कैद वर्ष १८ कायम हुने र थुनामा रहेको अवस्थामा जेलबाट डाँका गरी भागेतर्फ जेल ऐन बमोजिम फैसलाबाट भएको कैद वर्ष ४।१०।२८ का दरले भएको कैदमा समेत कैद म्याद ठेक्नुपर्ने देखिँदा निवेदकहरुलाई जम्मा कैद वर्ष २२।१०।२८ कायम हुने देखिएकोले निवेदन जिकिर बमोजिम नभई रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी तनहुँ जिल्ला अदालतको लिखित जवाफ ।
९. निवेदक प्रतिवादीहरुलाई यस अदालतमा परेको चन्द्रबहादुर भुजेलको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दामा र टेकबहादुर समेतको जाहेरी परेको प्रतिवादी यिनै निवेदकहरु समेत भएको डाँका थुनुवा भाग्यो भगायो भन्ने समेत अन्य विभिन्न ३ मुद्दामा समेत कानूनी फैसला बमोजिम निज प्रतिवादीहरुलाई सजाय भई कानूनी रुपले थुनामा रहेकोले निवेदकहरुको जिकिर निरर्थक छ, रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी स्याङ्गजा जिल्ला अदालतको लिखित जवाफ ।
१०. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा रिट निवेदक दलबहादुर राना मगरका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री भानुभक्त शर्मा तथा प्रत्यर्थीतर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्कीले गर्नुभएको बहस समेत सुनियो ।
११. यसमा निर्णयतर्फ विचार गर्दा निवेदकहरुले तेस्रापटक डाँका गरेको ठहरी फैसला भएको देखिएको छ । त्यसरी तेस्रापटक पारी डाँका गरेको ठहरिँदा मुलुकी ऐन चोरीको महलको १४(४) नं. अनुसार जनही १२ वर्ष कैद हुने तथा जरिवाना बापत ४ वर्ष थप कैद हुने हुन्छ । थुनुवा भागे भगाए बापत कारागार ऐन, २०१९ को २४(३) बमोजिम बाँकी कैदको डेढीको हिसाबले ४ वर्ष १० महीना १६ दिन कैद हुनेमा ऐ.ऐनको दफा २४(६) बमोजिम उपल्लो हद कैद वर्ष २० हुने देखिन्छ । अर्थात सोभन्दा बढी कैद लगत ठेक्नु कानूनसंगत नहुने देखिन्छ । तसर्थ निवेदकहरु थुनामा परेको मिति २०३३।११।१८ देखि हिसाब गरी २० वर्ष कैद लगत ठेकी लगत सच्याइदिनु भनी विपक्षी तनहुँ जिल्ला अदालत तथा कारागार शाखाका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ । आदेशको जानकारी प्रत्यर्थी कार्यालयहरुमा पठाउन श्री महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल मार्ग २९ गते रोज ४ शुभम् ।