शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५९४ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

भाग: ३० साल: २०४५ महिना: पौस अंक:

निर्णय नं. ३५९४ ने.का.प. २०४५ अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४३ सालको रिट नं. २२३४

आदेश भएको मिति : २०४५।७।१२।६ मा

 

निवेदक : काठमाडौं न.पं.वा.नं.१४ ताहाचल बस्ने रिचार्ड ड्यूल टटल होलिडे नेपाल रिसार्टस प्रा.लि.हङ्गकङ्गको म्यानेजिंज डाइरेक्टर

विरुद्ध

विपक्षी : कर अधिकृत, कर कार्यालय, काठमाडौंसमेत

 

विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 

(१)                  विज्ञापन प्रबन्ध तथा व्यापार प्रबन्धका खर्चहरु भनी देखाइएको वा शंकास्पद आसामी भनी देखाइएका खर्चहरुको रकम सम्बन्धमा यथार्थ प्रमाण बील भर्पाई समेतको अभाव भएको, यथार्थ खर्चलाई समर्थन गर्ने प्रमाणको अभावमा क्षेत्रीय अदालतबाट राजश्व न्यायाधिकरणको निर्णय सदर गर्ने कुरालाई कानूनी त्रुटि गरिएको मान्न नमिल्ने ।

(प्रकरण नं. १८)

(२)                एउटै व्यक्तिले सञ्चालन गरी प्राप्त वा आर्जन गरेको आयको एउटै आय विवरण भरी पेश गर्नु पर्नेमा अलग अलग आय विवरण भरी आयकर ऐन, २०३१ (सं.स.) को दफा २४(२) उल्लंघन भएको अवस्थामा सो दफा प्रयोग गरेको भन्ने कर कार्यालयको निर्णय गैरकानूनी मान्न नमिल्ने ।

(प्रकरण नं. १९)

 

निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

प्रत्यर्थीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की

 

आदेश

न्या.महेशरामभक्त माथेमा :      नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर भई निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ ।

२.     हामी निवेदक होलिडे नेपाल कन्टिनेन्टल रिसोर्ट लि.नेपाल कानून अन्तर्गत दर्ता गरिएको कम्पनी  नभए तापनि आयकर ऐन अन्तर्गत पेश गर्नु पर्ने आ.ब. १।१०।१९७९ देखि ५।८।१९८० को आय व्ययको विवरण समेत हामीले समयमै पेश गरेका थियौं । तर विपक्षी कर कार्यालयले यसरी पेश गरेको आय व्ययको विवरणलाई मान्यता नदिई आयकर ऐनको दफा ३३(३) बमोजिम आ.ब. १।१०।१९७९ देखि ५।८।१९८० सम्मको खूद आय रु.११,७८,५७८।१४ कायम गरी आय कर निर्धारण आदेश जारी गरेको थियो ।

३.     उक्त आयकर निर्धारण आदेश आधारहीन समेत हुँदा निर्णय बदर गराई हामीले देखाएको आय विवरण नै कायम गराउन राजश्व न्यायाधिकरण काठमाडौं समक्ष पुनरावेदन गरेका थियौं । उक्त निर्णय सारवान कानूनी त्रुटिपूर्ण भएकोले पुनरावेदनको अनुमति पाउँ भनी निवेदकले मध्यमाञ्चल क्षेत्रीय अदालत समक्ष निवेदन प्रस्तुत गरेका थियौं । म.क्षे.अ.बाट कर कार्यालय र राजश्व न्यायाधिकरणको निर्णयलाई सदर गरी निर्णय भयो ।

४.     क्यासिनो नेपालको आयमा पनि निवेदकलाई आयकरको भार वहन गराएको कानूनको ठाडो उपेक्षा र उल्लंघन छ । कानूनले आफ्नो बाहेक अरुको आयमा आय करको भार वहन गर्न नपर्ने समुचित व्यवस्था गरेको छ । क्यासिनो नेपाल र निवेदक छुट्टाछुट्टै निकाय र मालिकत्वमा रहेको छ । करदाताको हैसियतले क्यासिनो नेपालले विधिवत आयकर विवरण भरी आएको छ, त्यस्तै निवेदकको पनि छुट्टै आयकर दर्ता प्रमाण व्यवहार हुँदै आएको छ । तथ्यको यस परिप्रेक्षमा करारनामा अनुसार क्यासिनो नेपालको आयमा निवेदकलाई भार वहन गराएको कानूनको त्रुटि भएको छ । क्यासिनो नेपाललाई खर्च लेखेको ९,९०,५३२।८५ निवेदकको खूद आयमा समावेश गरेको आयकर ऐनको दफा २(क) र (८), , , ६ लगायतका कानूनी व्यवस्थाको विरुद्ध आवेदककै होलिडे नेपालले सम्झौतापत्र र बन्दोवस्त अनुसार क्यासिनो नेपाललाई पर्यटकहरुलाई वितरण गरेको फ्री कुपनको रकम ९,९०,५३२।८५ रकम होलिडे नेपालको आय क्यासिनो नेपालको आयमा परिणत भएको छ । आय आर्जन वा प्राप्त गर्न विधिवत करारनामा अनुसार गरिएका वास्तविक खर्च कट्टा हुन पर्ने कुरा आयकर ऐन, २०३१ को दफा १२(१)(ट) मा निर्विवाद गराइएको छ निवेदकले प्राप्त गरेको कूल आयमा आय आर्जन गर्न गरिएका वास्तविक खर्चहरु कट्टा नगरिएको कानूनको दोषपूर्ण प्रयोग हुन गएको छ ।

५.     सोल्टी क्यासिनो नेपालले सञ्चालक कन्टिनेन्टल रिसोर्टद्वारा भएको भन्दै होलिडे नेपाल, क्यासिनो नेपाल र कन्टिनेन्टल रिसोर्टस लि.लाई एउटै मानिएको कुरा प्रमाण ऐन, २०३१ को दफा ५४ र करार ऐनको व्यवस्थाको प्रतिकूल छ । निवेदकलाई एकातिर आयकरको भार वहन गराएको छ भने अर्कोतिर क्यासिनो नेपालको स्वामीलाई पनि करदाताको हैसियतबाट आयकर बहन गराई कानूनको त्रुटी हुन गएको छ ।

६.     ओभर राइटिङ कमिशन बापत भारतीय अरुण जैनलाई दिएको तथा एडजष्ट गरिएको रु.२,१०,७४२।३५ लाई आयकर ऐन, २०३१ को दफा ४१(ग) अनुसार आयमा समावेश गरेकोछ कमिशन बापत खर्च भएको उक्त रकमलाई खुद आयमा समावेश गर्ने कार्यबाट आयकर ऐन, २०३१ को दफा ३६ तथा ४१(ग) मा गरिएको कानूनी प्रावधान विपरीत छ । विज्ञापन प्रवर्धन खर्च भनी देखाइएको रु.२,८८,५४६।०८ लाई सपोर्टिङ इभिडेन्सको अभावमा मान्यता दिन नमिल्ने भनी आयमा सम्मिलित गर्ने निर्णय आयकर ऐन, २०३१ को दफा १२ विपरीत छ ।

७.     म्यानेजिङ डाइरेक्टर प्रकाशमानलाई प्याकेज टूर टिकट बिक्री गरेबापत दिइएको पारिश्रमिक रु.७१,३५३।र तलब बापत गएको रु.५०,०००।शंकास्पद आसामी व्यवस्था भनी देखाइएको खर्च रु.१,२०,१२१।४० लाई पनि खूद आयमा समावेश गर्नु बेमनासिब छ ।

८.     पेश गरिएको आय व्ययको विवरणमा होटेल  सोल्टीलाई तिर्नु पर्ने रु.१०,३०,६००।८९ देखाएको भए तापनि निजलाई भुक्तानी गएको बढी रकम रु.१,४४,३९९।११ होलिडे नेपाल प्रा.लि.को नाउँमा प्राप्त हुनु पर्ने उक्त रकम कारणवश हाम्रो खातामा जम्मा भएको र होलिडे नेपाल ट्राभल्स प्रा.लि.को पत्र अनुसार उक्त रकम हामीले होटल सोल्टीलाई बुझाई दिएको मात्र हो । यसरी उक्त रकम हामीलाई प्राप्त आय नै नभएको हुनाले खूद आयमा समावेश गराउन बेमनासिब छ । नेपाल औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १४(२) र दफा १०(५) अन्तर्गत आयकर शतप्रतिशत छुट हुने भएकोले आयकर लगाएको कानूनको उल्लंघन भएकोछ ।

९.     अतः उपरोक्त दोषपूर्ण निर्णयले निवेदकको संविधानको धारा १०(१) द्वारा अभिनिश्चित मौलिक हक, धारा ११(२)(ङ) तथा १५ अन्तर्गतको सम्पत्ति विषयक मौलिक हक तथा आयकर ऐन, २०३१ बाट प्रदत्त हक समेत अवरुद्ध भएकोले उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर ।

१०.     यसमा विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।

११.     कन्टिनेन्टल रिसर्टस लि.मुख्य फर्मको रुपमा रही होलिडे नेपाल र सोल्टी क्यासिनो नेपाललाई सञ्चालन गरेको देखिँदा यी तिनै फर्महरुको नाम बेग्ला बेग्लै रहे तापनि कारोवारको नियन्त्रण र बन्दोवस्त कन्टिनेन्टल रिसर्टस लि.को मेनेजिंग डाइरेक्टरको हैसियतले आर.डि. टटलले नै गरी आएको सिद्ध भएको छ । उपरोक्त तीन फर्महरुले जे जस्तो सम्झौता गरे तापनि कारोवारको हिसाब किताबको बन्दोवस्त र नियन्त्रण एउटै फर्म कन्टिनेन्टल रिसर्टस लि.ले गरेको हुँदा आयकर ऐन, २०३१ को दफा २४(२) मा भएको प्रावधान मुताविक कन्टिनेन्टल रिसर्टस लि.को आयकर निर्धारण गर्दा हाल होलिडे नेपालको आयकर निर्धारणउपर पनि ध्यान दिनु पर्ने भएकोले क्यासिनो नेपालले खर्च लेखेको ९,९०,५३२।८५ होलिडे नेपालको खूद आयमा समावेश गरे पनि अन्तिम परिणाममा कुनै फरक नपर्ने भएकोले उक्त खर्च रु.९,९०,५३२।८५ मिन्हा पाउनु पर्ने भन्ने पुनरावदेन जिकिर मनासिब देखिएन ।

१२.    ओभर राइटिङ कमिशनको रु.७१,३५३। बिना सम्झौता अग्रिम आयकर कट्टी नगरी खर्च लेखेको र संस्थाकै मेनेजिंग डाइरेक्टर प्रकाशमानसिंलाई भुक्तानी दिएको, अरुण जैनलाई दिएको तथा एडजष्ट गरेको रकम रु.२,१०,७४२।३५ र मेनेजिंग डाइरेक्टर प्रकाशमानसिंलाई नै तलब बापत भुक्तानी दिएको रु.५७,०००।मा आयकर ऐन, २०३१ को दफा ३६(१) अनुसार भुक्तानी दिंदा नै कानून बमोजिम लाग्ने आयकर कटाउनु पर्नेमा कटाएको नदेखिएकोले सो ऐनको दफा ४१ अनुसार उक्त रकमहरु खर्च बापत कट्टा गर्न मिल्ने होइन । खर्च प्रमाणित गर्ने प्रमाणित आधार बील भर्पाई नभएको रु.२,८८,५४६।०८ शंकास्पद आसामी भनी देखाइएको खर्च रु.१,२०,१२९।४० को हकमा आयकर निर्धारण आदेशमा लिइएको आधार मनासिब देखियो । होटेल सोल्टीलाई बढी तिरेको रु. १,४४,३९९।११ को सम्बन्धमा पुनरावेदन लिइएको जिकिर विश्वसनीय मान्ने प्रमाण पेश छैन ।

१३.    २०३९।३।२४ को आयकर निर्धारण आदेशउपर पुनरावेदन जिकिर पुग्न नसक्ने मिति २०४०।२।१५ को राजश्व न्यायाधिकरणबाट फैसला निर्णय भएकोमा २०४३ माघमा पर्न आएको प्रस्तुत रिट निवेदन विलम्बको आधारमा समेत खारेज होस् भन्ने समेत व्यहोराको राजश्व न्यायाधिकरणको लिखित जवाफ ।

१४.    पुनरावेदकको खुद आय रु.११,७८,५७८।१४ कायम गरी २०३९।३।२४ मा कर कार्यालय काठमाडौंले गरेको कर निर्धारण आदेश सदर गर्ने गरेको राजश्व न्यायाधिकरणको फैसलामा त्रुटि देखिन नआई  मिलेकै देखिँदा मनासिब ठहर्छ भनी यस अदालतबाट कानूनको परिधिभित्र रही गरेको फैसलामा बदर गरी पाउँ भनी दिएको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालत काठमाडौंको लिखित जवाफ ।

१५.    नेपाल अधिराज्यमा आर्जन गरेको आयमा आयकर ऐनको दफा ६ अनुसार कर लाग्ने भएकोले उक्त रकममा सोही ऐनको दफा ३६ अनुसार श्रोतमा नै अग्रिम आयकर कटाउन पर्ने व्यवस्था भएकोमा सो दफा उल्लंघन गरी भुक्तानी दिएको हुँदा सोही ऐनको दफा ४१(ग) अनुसार छूट दिन नमिल्ने भई कानून बमोजिम छूट नदिइएको हो । सपोर्टिङ्ग डकुमेण्टको विज्ञापन प्रवर्धन खर्च भनी देखाएको रु.२,८८,४४६।०८ सम्बन्धमा होलिडे नेपालको लेखापरीक्षण गर्ने लेखापरीक्षकले समेत कैफियत गरेकोमा विज्ञापन खर्च समेत जस्ता खर्चको कुनै बील भर्पाई वा प्रमाण नै करदाताले पेश गर्नसकेको छैन । बिना बील भर्पाईको खर्चलाई कारोवारसंग सम्बन्धित वास्तविक खर्च भएको भन्न नमिल्ने भई अवस्तविक देखाएको, कारोवारसंग असम्बन्धित खर्चलाई आयकर ऐन, २०३१ (स.सं.) को दफा ४१(झ) अनुसार खर्च छूट दिन नमिल्ने भई कानून अनुसार नै खुद आयमा समावेश गरिएको हो । शंकास्पद आसामीको सम्बन्धमा सो नउठ्ने किसिमका कुनै कागजात करदाताबाट पेश भएको  छैन । आ.ब. ११०७९ देखि ५८० सम्म (२०३६ आश्विन देखि २०३७ श्रावण) को करदाताले २०३८ सालमा प्रकाशित भई प्रारम्भ हुने औद्योगिक व्यवसाय ऐन, २०३८ बमोजिम आयकर छुट पाउने होइन । तसर्थः कानून बमोजिम कर निर्धारण भएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी कर कार्यालय काठमाडौंको लिखित जवाफ ।

१६.     नियम बमोजिम पेश भएको प्रस्तुत रिट निवेदनमा रिट निवेदकतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ तथा प्रत्यर्थी कर कार्यालय समेतका तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्कीले गर्नु भएको बहस समेत सुनियो ।

१७.    आज निर्णय सुनाउने तारेख तोकी, निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनमा निर्णयतर्फ विचार गर्दा करारनामा अनुसार क्यासिनो नेपालको प्रबन्ध गरी रहेको कारण क्यासिनो नेपाललाई भएको व्यय र क्यासिनो नेपालको आयमा निवेदकलाई आयकरको भार वहन गराइएको छ । क्यासिनो नेपाललाई खर्च लेखेको रु.९,९०,५३२।८५ निवेदकको खुद आयमा समावेश गरेको आयकर ऐन विरुद्ध छ । निवेदकले प्राप्त गरेको कूल आयमा आय आर्जन गर्न गरिएका वास्तविक खर्चहरु कट्टा नगरिएको कानूनको दोषपूर्ण प्रयोग भन्ने समेत व्यहोरा पारी रिट निवेदकले प्रत्यर्थी कर कार्यालयले निवेदकको आ.ब. ११०१९७९ देखि ५१९८० को खुद आय रु.११,७८,५७८।१४ कायम गरी आयकर निर्धारण आदेश जारी गरे उपर राजश्व न्यायाधिकरणमा पुनरावेदन दिंदा र सोउपर क्षेत्रीय अदालतमा परेको पुनरावेदनमा समेत शुरुको निर्णय सदर भएबाट प्रस्तुत रिट निवेदन दायर गरेको देखियो । नेपाल कन्टिनेन्टल रिसोर्टसका म्यानेजिंग डाइरेक्टर यी आर.डी. टटल स्वयंले कर कार्यालयमा गरेको बयानमा क्यासिनो नेपालको दायित्व बहन गर्न स्वीकार गरेको र निजैले श्रीधरप्रसाद आचार्यसंग ११९७९ मा गरेको सम्झौतामा कन्टिनेन्टल रिसोर्टस लि.का.म्यानेजिंग डाइरेक्टरको हैसियतले सोल्टी क्यासिनो नेपालका तर्फबाट निमित्त भई सहिछाप गरेको कुरालाई प्रत्यर्थी क्षेत्रीय अदालतले आफ्नो निर्णयमा उल्लेख गरेको र लिखित जवाफको व्यहोरामा पनि देखिन्छ । साथै कन्टिनेन्टल रिसोर्टस लि.कै प्रबन्धकत्वमा होलिडे नेपाल, सोल्टी क्यासिनो नेपाल सञ्चालन भएको भनी लिखित जवाफमा उल्लेख भएको पाइयो । श्रीधरप्रसाद आचार्य फिनान्सियल कन्ट्रोलर होटल सोल्टीले २०२८ पौष १३ मा  लेखेको पत्रको प्रकरण नं. ३ मा होलिडे नेपाल प्याकेज टुर चलाउनुको मुख्य उद्देश्य नेपालको पर्यटन विकास गरी क्यासिनो नेपालको व्यापार समेत प्रवर्धन गर्ने भए तापनि यसको नाफा नोक्सान कन्टिनेन्टल रिसोर्टसले व्यहोर्ने भनी लेखिदिएको पाइन्छ । श्रीधरप्रसाद आचार्यले कर कार्यालयमा गरेको बयानमा होलिडे नेपालको छुट्टै अस्तित्व नभएको भनी उल्लेख गरेको कुरालाई आर.डि. टटलले स्वीकार गरेको भन्ने सम्बन्धमा निवेदकले कुनै जिकिर लिनसकेको पाइएन । यसरी निवेदकको जिकिर बमोजिम उपरोक्त अन्य फर्महरु निवेदकसंग असम्बन्धित भएको वा छुट्टै फर्म भन्ने कुरा मान्न मिल्दैन ।

१८.    अब क्यासिनो नेपाललाई खर्च लेखेको भनिएको विवादीत रु.९,९०,५३२।८५ निवेदकको खुद आयमा समावेश गरिएको सम्बन्धमा निवेदकको जिकिर बमोजिम होलिडे नेपालको यथार्थ खर्च मान्न सकिने देखिँदैन । विज्ञापन प्रबन्ध तथा व्यापार प्रबन्धका खर्चहरु भनी देखाइएको वा शंकास्पद आसामी भनी देखाइएका खर्चहरुको रकम सम्बन्धमा यथार्थ प्रमाण बिल भरपाई समेतको अभाव भएको देखिन्छ । अर्थात् यथार्थ खर्चलाई समर्थन गर्ने प्रमाणको अभावमा, क्षेत्रीय अदालतबाट राजश्व न्यायाधिकरण समेतको निर्णय सदर गर्ने कुरालाई कानूनी त्रुटी गरिएको मान्न मिल्दैन ।

१९.     एकै व्यक्तिबाट कन्टिनेन्टल रिसोर्टस लि.बाट क्यासिनो नेपाल र होलिडे नेपाल सञ्चालन गरेको देखिएको, एउटै व्यक्तिले क्यासिनो नेपाल र होलिडे नेपाल सञ्चालन गरी प्राप्त वा आर्जन गरेको आयको एउटै आय विवरण भरी पेश गर्नु पर्नेमा अलग अलग आय विवरण भरी आयकर ऐन, २०३१ (सं.स.) को दफा २४(२) उल्लंघन भएको अवस्थामा सो दफा प्रयोग गरेको भन्ने कर कार्यालयको निर्णय गैरकानूनी मान्न   मिलेन । सो दफा २४(२) को प्रयोग यस सम्बन्धमा मिलेकै देखियो ।

२०.    अतः यस स्थितिमा शुरु कर कार्यालयको निर्णय सदर गरी राजश्व न्यायाधिकरणले गरेको निर्णयलाई मनासिब ठहराई ऐन बमोजिम मध्येमाञ्चल क्षेत्रीय अदालतबाट भएको निर्णय कानूनसंगत देखिन आयो । रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४५ साल कार्तिक १२ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु