शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५९७ - हक कायम समेत

भाग: ३० साल: २०४५ महिना: पौस अंक:

निर्णय नं. ३५९७ ने.का.प. २०४५ अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको दे.पु.नं. ६५२

फैसला भएको मिति : २०४५।८।१५।४ मा

 

पुनरावेदक/वादी : ललितपुर न.पं.वा.नं.६ प्यापोखरी बस्ने अकिलबहादुर खड्गी

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने ज्यानमाया खड्गीसमेत

 

मुद्दा : हक कायम समेत

 

(१)                  फ्नो बाबुसित सम्बन्ध विच्छेद भइसकेपछि पनि आफ्नो साथमा रही घरको मुख्य भई घर व्यवहार गरी आएकी आमाले घर व्यवहार चलाउन भनी लिखतमै व्यहोरा पारी बिक्री गरेको व्यवहारलाई वादीको स्वीकृति नलिएको कारणबाट आधा बिक्री बदर भइसकेपछि फेरि सम्पूर्ण बिक्री नै बदर हुनु पर्ने भन्ने जिकिर मनासिब नदेखिने ।

(प्रकरण नं. १४)

 

पुनरोदकतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद ढुंगेल

विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान :      मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ ।

२.     ल.पु.न.पं.वा.नं.६ थपाट टोल प्यापोखरीको पूर्व सिद्धिलालकै घर, पाताल केववारी, पश्चिम बाटो, उत्तर तुल्सी कसाईको घर, दक्षिण काजीमान ज्यापूको केववारी यति ४ किल्लाभित्रको पक्की घर र सो घरले चर्चेको लगापात समेतको घर १ सोही घर देखि पूर्वपट्टी संग जोडिएको घर थपाटोल बस्ने जितबहादुर कसाईले कमाएको केववारी, पश्चिम उक्त फार्छेको घर, उत्तर तुल्सी कसाईको घर, पाताल केववारी दक्षिण आफ्नै पर्खाल साथ यति ४ किल्लाभित्रको ज.रो. ०२ को घर पाताल केववारी समेत मिति २०१५।११।१।५ मा सिद्धिलाल कसाईसंग रु.१,००१।मा मेरो नाममा फार्छे पास भएको उक्त घर जग्गा सर्भे नापीबाट कि.नं.१४३२ कायम भएको छ । उक्त घर जग्गा ल.पु.जि.अ.बाट २०२९।१०।११ को फैसला बमोजिम २०३०।११।२१।४ मा चलन समेत चलाई पाएको छु । उक्त घर जग्ग ०२ मध्ये रोपनी ०३ जग्गालाई विपक्षी मध्येको आमा ज्यानमायाले विपक्षी लक्ष्मीकुमारी खड्गी लाई २०३९।८।६।१ मा राजीनामा गरी लिनुदिनु भएको कुरा २०४०।२।६।६ मा नक्कल सारी लिंदा थाहा पाएकोले मेरो हकभोगको घर जग्गा विपक्षी ज्यानमायाले दर्ता गराई विपक्षी लक्ष्मीकुमारीलाई बेचबिखन गरी दिएकोमा निजहरुको नाममा दर्ता भएको घर जग्गाको दर्ता लिखत बदर गरी मेरो हक भोगको घर जग्गामा समेत हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.     सर्भे नापी हुँदा मेरै नाउँमा नापी दर्ता भएको तिरोतिरान केही नलागेको कि.नं.१४३२ को क्षेत्रफल ०२ कायम भएको घरजग्गा मध्ये उत्तरतर्फको क्षेत्रफल ०३ घरजग्गा राजीनामा गरी दिन्छु भनी आग्रह गरेकोले मलाई पनि घरजग्गाको आवश्यकता परेकोले उक्त बमोजिमको घरजग्गा कित्ता १ रु.२०,०००।मा ०३९।८।६।१ मा र.नं.८६९ बाट राजीनामा रजिष्ट्रेशन गराई लिएको हो मैले फिरादीका हक मेट्ने गरी लिएको र ज्यानमायाले दिएको नभई ज्यानमायाकै आर्जनबाट कमाएको धनले घर समेत बनाई बसी आएको स्ववासी घर जग्गा मध्ये स्त्री अंश धनको २ नं.बमोजिम आफखुस गर्न पाउने घर जग्गा मलाई राजीनामा गरी दिएको र मैले लिएको हुँ । दायरै हुन नसक्ने विपक्षको यो फिराद हुँदा अ.बं.१८० नं.बमोजिम सजायँ गरी झुठ्ठा दावीबाट फूर्सत गराई पाउँ भन्ने समेत व्यहोराको प्र.लक्ष्मीकुमारी खड्गीको प्रतिउत्तरपत्र ।

४.     फिराद दावीको घर जग्गा मेरै पेवाबाट बढे बढाएको स्वआर्जनको रुपैयाँले फिरादी एकाघर संगको छोराका नाउँमा नावालखै अवस्थामा राजीनामा गरिलिई पछि २०३१।२।३१ मा मेरै नाउँबाट नक्शा पास समेत गरी घर समेत बनाई वादी छोरा समेत एकाघर सगोलमै बसी आएको र घर खर्च गर्न बापत भनी रु.२०,०००।कर्जा लिई सो रुपैयाँमा फिराद दावीको घर जग्गा राजीनामा गरी दिएको कुरा रजिष्ट्रेशन भएकै दिन फिरादीलाई थाहा थियो । मेरै स्वआर्जनको धनले फिरादीको नाउँमा राजीनामा भएका जग्गामा घर समेत बनाई बसोबास गरी आएको भई नापीमा समेत मेरै नाउँमा नापी दर्ता भएको कि.नं.१४३२ को जग्गा स्त्री अंशधनको २ नं. ले आफूखुस गर्न पाउनेमा सो मध्ये फिराद दावी अनुसारको आधा जग्गा मात्र राजीनामा गरिदिएको हुनाले यो फिराद लाग्नै नसक्ने भएकाले अ.बं.१८० नं.बमोजिम खारेज गरी फुर्सत पाउँ भन्ने समेत व्यहोराको प्र.ज्यानमाया खड्गीको प्रतिउत्तरपत्र ।

५.     वादीले नै मुख्य दामकाम गर्ने आमा ज्यानमाया नै हुन भन्दै आफ्नो फिरादमा लेखाएको देखिँदा अंशियार नै मान्नु पर्ने भई बिक्री भएको जग्गा रोपनी ०३ को आधीसम्म वादीको भाग बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको २०४१।११।२० को ललितपुर जिल्ला अदालतको फैसला ।

६.     उपरोक्त फैसलामा चित्त बुझेन विवादीत जग्गा मेरो नाउँमा दर्ता हक कायम गरी विपक्षीहरु मिली गरेको लिखत बदर गरिपाउँ भन्ने समेत व्यहोराको बा.अं.अ.मा पर्न आएको वादीको पुनरावेदनपत्र ।

७.     ल.पु.जि.अ.को फैसला कानूनी त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी मेरो प्रतिउत्तर जिकिर अनुसार इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्र.लक्ष्मीकुमारी खड्गीको र प्र.ज्यानमाया खड्गीको बा.अं.अ.मा पर्न आएको भिन्दा भिन्दै पुनरावेदनपत्र ।

८.     लेनदेन व्यवहारको १० नं. ले बिक्री गरेको सम्पत्तिमा आधी बदर हुने ठहराएको शुरु इन्साफ मनासिब ठहर्छ पूर्व लक्ष्मीकुमारीलाई बिक्री गरेको मध्ये आधी बिक्री सदर गरी बाँकी समेतको जग्गा वादी अकिलबहादुरको नाउँमा हक कायम हुने देखिएकोले घर सम्म प्र.ज्यानमायाले बनाएको सो घर ज्यानमायाको दर्ता सदर थामी बाँकी जग्गाको ज्यानमायाको दर्ता बदर गरी वादीका नाउँमा दर्ता गरी दिनु पर्ने ठहर्छ भन्ने समेत व्यहोराको ०४२।३।२६ को बागमती अञ्चल अदालतको फैसला ।

९.     उपरोक्त फैसलामा चित्त बुझेन पुनरावेदनको लागि म.क्षे.अ.मा मैले निवेदन दिएकोमा अनुमति दिन मिलेन भनी खारेज गरेकोले बा.अं.अ.बाट भएको इन्साफ म.क्षे.अ.बाट दोहोर्‍याई दिनु भन्ने म.क्षे.अ.का नाउँमा हु.प्र.बक्स पाउँ भन्ने वादीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र चढाएकोमा यसमा व्यहोरा साँचो भए यसमा लेखिएको बा.अं.अ.बाट छिनिएको हक कायम समेत मुद्दाको मिसिल झिकाई  इन्साफ जाँची कानून बमोजिम गर्नु भनी म.क्षे.अ.को नाउँमा बक्स भई आएको हुकुम प्रमांगी ।

१०.     बिक्री गरेको मध्ये आधी बिक्री सदर गरी बाँकी समेतको जग्गा वादी अकिलबहादुरका नाउँमा हक कायम हुने देखिएकोले घर सम्म ज्यानमायाले बनाएको सो घर ज्यानमायाको सदर थामी बाँकी जग्गाको ज्यानमायाको दर्ता बदर गरी वादीका नाउँमा दर्ता गरी दिनु पर्ने ठहर्छ भनी बागमती अञ्चल अदालतले गरेको फैसला मिलेकै देखिन्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।५।३१ को फैसला ।

११.     उक्त कि.नं.१४३२ मा बनेको घरमा वादी अकिलबहादुरकै हो भन्ने कुराको प्रमाण फार्छे लिखत र प्रतिवादी ज्यानमाया स्वयंले चलन चलाई पाउँ भन्ने मुद्दमा बोलेको हुँदा सो घर जग्गामा समेत मेरो हक कायम गराई पाउँ भन्ने समेत व्यहोराको अकिलबहादुरको यस अदालतमा परेको निवेदनपत्र ।

१२.    यसमा विपक्षी ज्यानमाया खड्गी र दिलबहादुर बीच लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद भएको भन्ने कुरा बेञ्च समक्ष पेश भएको फैसलाको नक्कलबाट देखियो । लोग्ने संग सम्बन्ध विच्छेद भएकी स्वास्नी मानिसको सगोल भएको अवस्थामा खरीद भएको जग्गामा हक समाप्त हुनु पर्ने अवस्था पर्छ साथै आमा छोराको सगोल सम्पत्ति मानी दावीको घरमा ज्यानमायाको हक कायम गरी जग्गामा निवेदक वादी अकिलबहादुर खड्गीको हक कायम गरेको देखिन्छ । यसरी दावीको सम्पत्तिमा सगोल हक कायम गर्ने हो भने घरमा समेत निवेदक अकिल बहादुरको पनि हक लाग्नुपर्नेमा घर ज्यानमायाको मात्र ठहराएको म.क्षे.अ. को फैसलामा अंशबण्डाको १ नं. को प्रत्यक्ष गम्भीर त्रुटि भएको देखिएकोले पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजन बेञ्चको मिति २०४३।७।२६ को आदेश ।

१३.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद ढुंगेल तथा विपक्षी लक्ष्मीकुमारीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्माको बहस समेत सुनी प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन भन्ने नै निर्णय दिनु पर्ने हुन आयो ।

१४.    यसमा बागमती अञ्चल अदालतबाट वादीको आमा प्रतिवादी मध्येकी ज्यानमायाले विपक्षी मध्येकी प्रतिवादी लक्ष्मीकुमारीलाई बिक्री गरी दिएको जग्गा मध्ये आधी बदर गरी जग्गा सबै वादीका नाउँमा दर्ता गरी दिने र घरको हकमा वादीकी आमा प्रतिवादी मध्यकी ज्यानमायाको नाउँको दर्ता कायमै राख्ने ठहर्‍याएकोमा प्रतिवादी लक्ष्मीकुमारी समेतको क्षेत्रीय अदालतमा पुनरावेदन नपरेबाट आफूले राजीनामा लिए मध्ये आधा बदर भएकोमा चित्त बुझाई बसेको र जग्गा सबै वादीका नाममा दर्ता हुने ठहर्‍याएकोमा ज्यानमायाको पुनरावेदन नपरी खाली वादीको मात्र जग्गामा आधीमात्र बदर हुने र घर आमा ज्यानमायाको नाउँमा दर्ता कायमा रहेकोमा पुनरावेदन परेकोबाट वादी जिकिर बमोजिम घर वादीका नाउँमा दर्ता हुने हो होइन र बिक्री गरेको आधी सदर गरेको मिले नमिलेको के हो भन्नेतर्फ विचार गर्नु पर्ने हुनआएको छ । यस सम्बन्धमा निर्णय दिन प्राप्त शुरु मिसिल र प्रमाणका मिसिल समेत हेरिएकोमा विवादको घर जग्गा वादीकी आमा ज्यानमायाले लाग्ने थैली हाली आफ्नो तत्काल तीन वर्षका नावालिक छोरा वादीको नाउँमा २०१५।११।१।५ मा खरीद गरिदिएको हो भन्ने कुरा वादीले पनि स्वीकार गरेको भन्ने यिनै वादीले आफ्नो बाबु दिलबहादुरउपर विवादको घरमा खिचोला मेटाई चलन चलाई पाउँ भनी दिएको मुद्दामा भएको मिति २०२९।१०।११ को फैसलाबाट समेत देखिन आएको छ । यसरी आमाले छोराका नाउँमा छोराकै लागि खरीद गरिदिएको घरमा वादीकी आमाले वादीको बाबुसित मुद्दा समेत परी २०२६ सालमा सम्बन्ध विच्छेद भएपछि  सो घर जग्गामा वादीकी आमाको भएको हक समाप्त भई कुनै हक नरहने भन्ने प्रस्तुत मुद्दामा वादीको निवेदनबाट अनुमति प्रदान गर्दा भएको आदेशबाट देखिन आएको छ । तर प्रमाणका मिसिल तथा कागजातहरुबाट वादीकी आमाको वादीको बाबुसित सम्बन्ध विच्छेद भए पनि आफ्नो वादी छोरा सित बसी छोराको सबै व्यवहार आमाले चलाई आएको भन्ने कुरा वादीले विवादको घर जग्गामा चलन पाउने ठहरी २०२९।१०।११।४ मा फैसला भएपछि पनि सोही घर जग्गामा साविकमा भएको घर जग्गासम्म भत्काई सोही जग्गा कायम राखी नयाँ घर बनाउन मिति २०३०।१२।२७ मा दर्खास्त दिई २०३१।२।३१ मा घर बनाउने स्वीकृति पाई नक्शा बमोजिम घर बनाई सोही घरमा वादी समेत बसी आएकोबाट र सो घर जग्गा २०३८।१२।८ मा वादीकी आमाले आफ्ना नाउँमा नापी गराई लिएकोबाट समेत देखिन आएको छ । यसरी आफ्नो बाबु सित मुद्दा समेत परी सम्बन्ध विच्छेद भइसकेकी आमाले आफ्नो घरको मुख्य भई घर व्यवहार चलाई आएको भन्ने कुरा वादीले आफ्नो फिराद व्यहोराबाट पनि स्वीकार गरेको छ । यदि सो नभए वादीकी आमाले आफ्नो घर जग्गामा आफ्नो स्वीकृति नलिई नक्शा दर्खास्त दिई घर बनाएकोमा र नापीमा आफ्नो नाउँमा नापी गराएकोमा कानून बमोजिम उजूर गर्नुपर्ने तर सो बमोजिम नगरी चुप लागी बसी विपक्षी मध्येका लक्ष्मीकुमारीलाई दावीको जग्गा बिक्री गरेपछि मात्र उजूर गरी कारवाही चलाएको देखिएकोबाट वादीको सो फिराद व्यहोरा समर्थित हुनआएको देखियो । यसरी आफ्नो बाबु सित सम्बन्ध विच्छेद भइसकेपछि पनि आफ्नो साथमा रही घरको मुख्य भई घर व्यवहार गरी आएकी आमाले घर व्यवहार चलाउन भनी लिखतमै व्यहोरा पारी बिक्री गरेको व्यवहारलाई वादीको स्वीकृति नलिएको कारणबाट आधा बिक्री बदर भइसकेपछि फेरि सम्पूर्ण बिक्री नै बदर हुनु पर्ने भन्ने वादीतर्फको जिकिर मनासिब देखिन आएन । जहाँसम्म घर सम्पूर्ण वादीकी आमाको नाउँको दर्ता कायम राखेको भन्ने हकमा अब निज आमा ज्यानमाया मरी सकेकी र निजको अपुताली खाने अरु कोही नभई वादी मात्र देखिन आएकोले सो घर सम्पूर्णमा वादीकै हक हुन जाने नै भएकोले त्यसतर्फ विचार गरिरहन परेन । मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । कोर्टफी राखी पुनरावेदन दर्ता भएको हुँदा केही गर्नु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४५ साल मार्ग १५ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु