निर्णय नं. ८९६४ - अंश दर्ता

ने.का.प. २०७०, अङ्क २
निर्णय नं.८९६४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री कमलनारायण दास
२०६६–CI–०६७५
२०६७–CI–१२९०
फैसला मितिः २०६९।८।१२।३
मुद्दाः अंश दर्ता ।
पुनरावदेक प्रतिवादीः जिल्ला पर्सा, गा.वि.स. जीतपुर, वडा नं. ३ बस्ने अम्बिका महतोको छोरा राजेश्वर महतो
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला पर्सा, जीतपुर गा.वि.स., वडा नं.३ बस्ने स्व.अम्बिका महतो थारूको श्रीमति कलियादेवी थरुनी
पुनरावेदक प्रतिवादीः जिल्ला पर्सा, जीतपुर गा.वि.स., वडा नं.३ बस्ने ब्रह्मप्रसाद महतोको श्रीमति पार्वतीदेवी थरुनी समेत
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला पर्सा, जीतपुर गा.वि.स., वडा नं. ३ बस्ने स्व.अम्बिका महतो थारूको श्रीमति कलियादेवी थरुनी
शुरु फैसला गर्नेः
मा.न्या.श्री तीर्थराज देवकोटा
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री नन्दराज अधिकारी
मा.न्या.श्री गौरीबहादुर कार्की
§ समान अंशियारबीच कुनै एउटै मापदण्डको आधारमा बराबर अंशबण्डा गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था नभई एकापसमा नरमगरम मिलाई असल कमसल घटबढी गरी व्यावहारिक रूपमा मिलाई अंशबण्डा गर्न सक्ने नै देखिंदा दोस्रो पुस्ताका अंशियारहरूबीच जग्गा घटीबढी भएको भन्ने कारणले मात्र रीतपूर्वकको अंशबण्डा भएको छैन भन्न मिल्ने अवस्थाको विद्यमानता नदेखिने ।
(प्रकरण नं.६)
§ मुद्दाका पक्षहरूको बीच समय–समयमा भएका विभिन्न घटनाक्रमबाट नै अलग–अलग व्यवहार भएको तथ्य स्थापित हुने हुँदा त्यसरी अलग–अलग व्यवहार तथा कारोवार भएको देखिनु नै अंशबण्डा भएको कुरामा अदालत विश्वस्थ हुने आधार हुने ।
(प्रकरण नं.८)
§ आफ्ना हाँगाका अन्य दाजुभाइहरूबाट अंश पाउनु पर्ने भए त्यस्तो दावी लिई सबूद प्रमाणसहित अंशमा दावी लिन सक्ने र अंश नपाएको भए आ–आफ्नो हाँगा र पुस्ताका अंशियाराहरूबाट कानूनबमोजिम अंशबण्डा गरी पाउने ।
§ दोस्रो पुस्ताहरूबीच नै अंशबण्डा नभएकोले सो पुस्ता तथा निजहरूको हाँगाका अंशियाराहरू समेतबाट अंश पाऊँ भनी लिएको अंशतर्फको वादी दावी पुग्न नसक्ने ।
(प्रकरण नं.११)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल तथा विद्वान अधिवक्ताहरू शालिकराम पाण्डे, लेखनाथ न्यौपाने र नन्दप्रसाद अधिकारी
प्रत्यर्थी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादव तथा विद्वान अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, कौशल किशोर साह, तिलप्रसाद गौतम, किसुनदेव प्रसाद कोइरी र राजिव आचार्य
अवलम्बित नजीरः
§ नेकाप २०६६, नि.नं. ७२२७,
सम्बद्ध कानूनः
§ मुलुकी ऐन अंशबण्डाको ३० नं.
फैसला
न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) अन्तर्गत यस अदालतबाट मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :–
मूल पुर्खा वाल गोविन्द महतो थारूको छोरा तेजा महतो र रामबहादुर महतो भएको, तेजा महतो र म फिरादी सुखदेवीको दाम्पत्य जीवनबाट अम्बिका महतो र म वादी ब्रह्मप्रसाद महतोको जन्म भएको । अम्विका महतो र म फिरादी कलिया देवीबाट विपक्षी राजेश्वर महतो, म फिरादी प्रमोद महतो, म फिरादी संजयकुमार चौधरीको जन्म भएको हो । म फिरादी ब्रह्मप्रसाद महतो र विपक्षी पार्वतीदेवीबाट शशीकान्त, विजय महतो, म फिरादी सुनील, अनीलको जन्म भएको हो । विपक्षी रामनारायणप्रसाद थारू र विपक्षी तेजमति देवीबाट म फिरादी उमाकान्त चौधरी, विपक्षी कमलेश चौधरी, म फिरादी विकासकुमार, विजयकुमार चौधरीको जन्म भएको हो । वालगोविन्द महतो, उहाँको श्रीमति, तेजा महतो, रामबहादुर महतो, निजकी श्रीमति, अम्विका महतो परलोक हुनु भएको । परिवार वृद्धि भई एकासगोलमा बस्न हित्तचित्त नमिल्दा आपसी समझदारीको आधारमा मिति २०५०।१।२ गतेदेखि केवल चुल्हो मानो अलग–अलग गरी बसेका छौ । रीतपूर्वक बण्डा गरौँ भनी विपक्षीहरूलाई भन्दा इन्कार गरी खान लाउन समेत बन्द गरिदिएकाले मिति २०५०।१।२ लाई मानो छुट्टिएको मिति कायम गरी तायदाती लिई हाम्रो हुने अंशहक छुट्टयाई पाऊँ भन्ने वादी दावी ।
उल्लिखित पुस्तावारी ठीक छ । रामबहादुर महतोको एकमात्र छोरा म रामनारायण प्रसाद थारू हुँ । फिरादी र हाम्रो वीचमा अंशबण्डा भएको छैन । मिति २०४८।१।१ देखि तेजा महतोको सन्तानहरू एक ठाउँमा, प्रतिवादी म रामनारायणप्रसाद थारूको सन्तान एक ठाउँमा भात भान्सा गरी आएका थियौँ । हाम्रो छोराहरू वाहेक अन्य फिरादीहरूको अंश हक छुट्टयाउन इन्कार गरेका छैनौ भन्ने समेत व्यहोराको प्रतिवादी तेजमती देवी, कमलेश्वर चौधरी र रामनारायणप्रसाद थारूको संयुक्त प्रतिउत्तर जिकीर ।
वालगोविन्द महतोको ३ छोरा रामदेव महतो, तेजा महतो र रामबहादुर महतोको जन्म भएको हो । रामदेवको पत्नी रमनी देवी हुन् । तेजा महतोको दुई श्रीमति सरलीदेवी र सुखलीदेवी हुन् । सरलीबाट अम्विका र सुखलीबाट व्रम्ह महतोको जन्म भएको हो । रामदेव र रमलीबाट कुनै छोरा नभएको । बालगोविन्दको मृत्युपछि २०१८ सालमा घरसारमा असल कमसल मिलाई बण्डा छुट्टयाई तेजा महतोले आफ्नो आमा हुलासीसँग वसी दुई भाग र रामबहादुर महतो तथा रमली देवीले १/१ भाग अंश लिई, रमली देवीले आफ्नो अंश भाग अम्विका महतोको नाउँमा लिई तत्कालीन जमिन्दारी कचहरीबाट दर्ता गराई सोही समय देखि अलग भिन्दै बसी आउनु भएको । मिति २०२१।८।७ मा रमलीले अम्विकाको नाउँमा तेजा महतोबाट सुक्रीबिक्री राजीनामा लेखाई खरीद गर्नु भएको र मिति २०२१।८।७ मा रमलीले तेजा महतोबाट जग्गा राजीनामा गरी लिनु भएको, सो दुवै लिखतमा रामबहादुर ऋणीको भिन्दै बसेको भाइ भनी साक्षी बस्नु भएको । रामबहादुर, रमनी र तेजा महतोले ७ नं. फाँटवारी तथा १ नं. लगत अलग–अलग भर्नु भएको छ । रामबहादुरले मिति २०२१।८।७ मा घुइरीदेवीबाट ०–१९–० जग्गा खरीद गर्नु भएको, रामनारायणले मिति २०३६।११।२९ मा २–७–५ जग्गा खरीद गर्नु भएको, रामबहादुरले आफ्नो ०–१९–० जग्गा मिति २०२३।२।२१ मा भिखारी महतोलाई र ५–१३–१८ जग्गा वेनकुमारीलाई मिति २०२९।१।२० मा राजीनामा गरी दिनु भएको । मिति २०२९।१।१९ मा ०–१–१० जग्गा रामबहादुरले गंगियादेवीलाई राजीनामा गरी दिनु भएबाट समेत रामबहादुर अलग बसेको प्रष्ट छ । सर्वे नापी हुँदा कि.नं. ११६ को ०–८–० जग्गा तेजा महतोको नाउँमा नापी हुन गएकोमा रामबहादुरले भु.प्र.का.मा निवेदन दिई मिति २०२९।४।१९ मा भएको निर्णयबाट आफ्नो नाउँमा दर्ता गर्नु भएको छ । तेजा महतोले मिति २०२१।३।१३ मा रामचन्द्र महतोसँग ३–१०–६ जग्गा खरीद गर्नु भएको, आफ्नो जग्गा भिन्न बसेको अंशियार रमली र अम्विकालाई बिक्री गर्नु भएको, मिति २०४८।१२।११ मा उहाँले ०–०–१३ । कोशिलादेवीलाई बिक्री गर्नु भएको छ । वादी उमाकान्त, विकासले आफ्नो बुवा, आमा भाइसँग, सुखली र व्रम्हले तेजाको परिवारमध्ये व्रम्हको श्रीमति छोरासँग, कोशिला, प्रमोद, संजयले अम्विकाको परिवारभित्र म राजेश्वरसँग अंश हक माग गर्नुपर्नेमा अरुलाई अनावश्यक प्रतिवादी बनाउनु भएको छ भन्ने समेत व्यहोराको प्रतिवादी पार्वतीदेवी र प्रतिवादी राजेश्वर महतोको प्रतिउत्तर पत्र ।
प्रतिवादी राजेश्वर महतो समेतको साक्षी रामेश्वर महतो, प्रतिवादी रामनारायण महतोको साक्षी तेजा महतो धानुकले गरेको वकपत्र मिसिल संलग्न रहेको ।
फिरादमा देखाइएको पुस्तावली ठीक हो । १०/१२ वर्षअघि अम्बिका, व्रम्हा, रामनारायण प्रसादका परिवार चुल्हो मानो अलग गरी बसी आए, अचल सम्पत्ति सगोलमा नै छ । पिताजीले अंश पाएपछि उहाँले पाएको सम्पत्तिबाट नै म समेतले अंश पाउनु पर्ने हो भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. बमोजिम बुझिएका विनयकुमार चौधरीले गरेको बयान ।
बालगोविन्द महतोको ३ छोरा रामदेव, तेजा र रामबहादुर हुन् । निजहरू बीच २०१८ सालमा घरसारमा जमिदारी कचहरीमा अंशबण्डा भएको हो । वादी र प्रतिवादीहरूले आ–आफ्नै ढंगबाट अंश पाउनु पर्दछ भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. बमोजिम वुझिएका विजय महतो चौधरीले गरेको बयान, सोही व्यहोरा मिलानको अ.वं. १३९ नं. बमोजिम वुझिएका अनील चौधरी, शशीकान्त चौधरीले गरेको बयान ।
यसमा शुरु जिल्ला अदालतबाट तायदाती फाँटवारी माग्ने आदेशभई वादी प्रतिवादीहरू बाट तायदाती फाँटवारी पेश भएको रहेछ ।
वादी प्रतिवादीबाट पेश हुन आएको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिमध्ये दर्ता स्रेस्तामा भिडेको सम्पत्तिलाई २ भाग लगाई तेजा महतोको हाँगातर्फको एक भागलाई ३ भाग लगाई सो ३ भाग मध्ये एक भाग वादी सुखली देवीले छुट्टयाई अंश पाउने, बाँकी २ भागमध्ये एक भागलाई ४ भाग लगाई वादी कलियादेवी, प्रमोद र संजयले ३ भाग छुट्टयाई अंश पाउने र वाँकी रहेको एक भागलाई ६ भाग लगाई वादी व्रम्हप्रसाद र सुनीलले २ भाग छुट्टयाई अंश पाउने तथा रामबहादुर तर्फको एक भागलाई ६ भाग लगाई वादी उमाकान्त र विकासकुमारले २ भाग अंश छुट्टयाई पाउने ठहर्छ भनी शुरु पर्सा जिल्ला अदालतबाट भएको मिति २०६२।३।१६ को फैसला ।
अंशियारहरू बीच एक आपसमा अंशबण्डा गरी आ–आफ्नो नाममा लिई तत्कालीन जिमदारी कचहरीबाट दाखिल दर्ता भएको ठोस प्रमाण छ । त्यही जग्गा नापी हुँदाका बखत आ–आफ्नो अंश भाग छुट्टाछुट्टै नापी दर्ता भएको छ । त्यही अंशको जग्गा नै छुट्टाछुट्टै ७ नं. फाराम र १ नं. लगत भरी छुट्टै घरबास गरी एक आपसमा जग्गा खरीद बिक्री हुँदै आएको, अलग–अलग भोग बिक्री व्यवहार दाखिल दर्ताको अंशबण्डा भइसकेको अकाट्य व्यवहार प्रमाण हुँदाहुँदै त्यस विपरीत फिराद परेको दिनलाई मानु छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी लिइ पुनः अंशबण्डा गर्न कदापि मिल्दैन । तसर्थ शुरु पर्सा जिल्ला अदालतको फैसला बदर गरी हामीबाट वादीले अंश नपाउने गरी इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी पार्वती देवी थरुनी समेतको मिति २०६२।७।१ को पुनरावेदन पत्र ।
२०१८ सालमा घरसारमा नरम गरम मिलाई अंशबण्डा भई सोहीअनुरूप आ–आफ्नो भागमा परेको श्रीसम्पत्ति भोग चलन गरी बिक्री व्यवहार समेत गर्दै आएकोमा वादीले बिक्री गरेको लिखतमा बिक्री गरेको जग्गामा कसैको हक नलाग्ने आफ्नो एकलौटी हकको जग्गा भनी देखाई बिक्री गरेको देखिन्छ र अंशियारहरू कसैलाई साक्षी राखेको पाईदैन जसबाट वादीको आफ्नो छुट्टै व्यवहार देखिन आएको र विपक्षी वादीहरूमध्ये सुखली देवी, कलिया देवी, प्रमोद महतो, संजय महतो, ब्रह्रम महतो, सुनीलले तारिख छोडी थाम्ने थमाउने म्याद गुजारी व्यवहार प्रमाणबाट अंशबण्डा भैसकेको प्रमाणलाई स्वीकार गरी चित्त बुझाई बसेको तथ्यलाई ध्यान नदिई भएको शुरु फैसला मुलुकी ऐन, अ.वं. १८४क, १८५ नं, प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को विपरीत हुँदा उक्त फैसला बदर गरी मबाट वादीले अंश नपाउने गरी इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी राजेश्वर महतोको पुनरावेदन पत्र ।
मूल अंशियारहरू तेजा महतो, रामबहादुर महतो र रामदेवकी श्रीमति रमनीदेवी बीच २०१८ मा नै घरसारमा अंशबण्डा भएको भन्ने प्रतिवादीहरूको जिकीर भएको र मूल अंशियार रमनी देवीले अंशियार तेजा महतोलाई र.नं. १३७९, मिति २०२१।७।८ मा राजीनामा पारित गरी दिएको लिखतमा अर्का समान अंशियार रामबहादुर महतोले भिन्न भएको भाइ भनी साक्षी बसेको मिसिल संलग्न उक्त लिखतको प्रतिलिपिबाट देखिन आएको अवस्थामा वादी दावी अनुसार अंश पाउने ठहराएको शुरु पर्सा जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने मिति २०६३।५।१९ को पुनरावेदन अदालत हेटौंडाको आदेश ।
अंशबण्डाको लिखत तयार गरी अंश लिए दिएको र अंशबण्डाको लिखत तयार नभएमा एकाको नामबाट अर्काको नाममा जग्गा हस्तान्तरण भएको वा बिक्री व्यवहार छुट्टाछुट्टै भएको अवस्था नभएको स्थितिमा अंशबण्डा भैसकेको भन्न नमिल्ने हुँदा शुरुले अंशबण्डा हुने गरी दिएको फैसला मिलेकै हुँदा शुरु पर्सा जिल्ला अदालतले गरेको फैसला सदर गरिपाऊँ भन्ने व्यहोराको विकासकुमार चौधरीको वारेस भै आफ्नो हकमा उमाकान्त प्रसाद चौधरी समेतको लिखित प्रतिवाद ।
मूल अंशियारमध्ये तेजा महतोले आफ्ना छोरा हाम्रो पिता अम्विका महतो भएको मिति २०२१।८।७ को र.नं.१३७८ को पारित राजीनामा र दिने तेजा महतो लिने रमनीदेवी भएको मिति २०२१।८।७ को र.नं.१३७९ को पारित राजीनामाको लिखतहरूमा रामबहादुर महतोले भिन्दै बसेको भाइ भनी साक्षी बसेका छन् । दिने रामबहादुर महतो लिने तेजा महतो भएको मिति २०२१।३।१३ को र.नं. ७४३७८ को पारित राजीनामा मिति २०२९।४।१९ को भू.प्र.का.को निर्णय पर्चाले समेत हाम्रो मूल अंशियार रामबहादुर महतो, तेजा महतो र रामदेवकी पत्नी रमनीदेवीको बीचमा मिति २०२१साल पूर्व नै अंशबण्डा भै सकेको प्रमाणित भै रहेको प्रमाणहरूलाई मूल्यांकन नगरी हामीहरू बीचमा पुनः अंशबण्डा गर्नेगरी पर्सा जिल्ला अदालतबाट गरेको फैसला उल्टी गरिपाऊँ भन्ने व्यहोराको प्रत्यर्थी वादी कलिया देवी, प्रमोद महतो, संजयकुमार चौधरी र ब्रह्मप्रसाद महतो थारूको मिति २०६३।९।११ को एकै मिलान व्यहोराको छुट्टाछुट्टै लिखित प्रतिवाद ।
अंशियारहरू बीच एकआपसमा अंशबण्डा गरी तत्कालीन जिमिदारी कचहरीबाट दाखिल दर्ता गराई छुट्टै घरवास गरी छुट्टाछुट्टै एक आपसमा जग्गा खरीद बिक्री व्यवहार हुँदाहुँदै पनि पुन अंशबण्डा गरेको शुरु फैसला कानूनी त्रुटिपूर्ण हुँदा बदर गरिपाऊँ भन्ने व्यहोराको छुट्टाछुट्टै पुनरावेदन परेकोमा अंशबण्डा भएको प्रमाण नभएको अंशियारलाई जग्गा पारित गरी दिएको र अंशियारबाट जग्गा पारित गरी लिदैमा बण्डा भएको भन्न नहुने, अलग भई भिन्न बस्दैमा अंश लिई सकेको मान्न मिल्दैन । अंश लिनु र भिन्न भई बस्नु अलग कुरा रहेको हुँदा बण्डापत्र भएको वा व्यवहार प्रमाणवाट आधिकारिक भरपर्दो सबूद प्रमाणवेगर अंश जस्तो जन्मसिद्ध नैसर्गिक हक अधिकारलाई हनन् हुने गरी वञ्चित गर्न नहुने र अंशबण्डा भइसकेको नदेखिँदा अंशबण्डा गर्नेगरी शुरु पर्सा जिल्ला अदालतले गरेको फैसलालाई अन्यथा भन्न मिलेन । तसर्थ बण्डा लाग्ने गरी शुरु पर्सा जिल्ला अदालतले मिति २०६२।३।१६ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने समेत पुनरावेदन अदालत हेटौडाको मिति २०६४।९।२९ को फैसला ।
पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा चित्त बुझेन । रमनीदेवीलाई अंशियारमा नदेखाई सगोलको अंशियार हुन् भन्ने वादी दावी नै नभएको अवस्थामा मिति २०५६।१०।१८ मा मरेको व्यक्तिलाई सगोलको अंशियार ठहर्याई बण्डा गर्न मिल्ने विषय नै होइन । अघि नै छुट्टिएको रमनी देवीबाट मिति२०५२।७।२७ मा र.नं. १७४०, १७४१, १७४२ बाट क्रमशः राजेश्वरप्रसाद महतो, प्रमोद प्रसाद महतो, संजयकुमार चौधरीले प्राप्त गरेको सम्पत्ति मिति २०५९।८।२२ मा मालपोत कार्यालय, पर्साबाट दाखिल खारेज दर्ता भएको जग्गा अंशबण्डाको १८ नं.ले पाउनेको निजी ठहरी बण्डा लगाउन मिल्दैन । यस उपर कोही कसैको चुनौति पनि छैन । विपक्षी वादीहरूमध्ये कलियादेवी, प्रमोदप्रसाद महतो, संजय, ब्रह्म, सुनील महतो र मरिसकेकी सुखलीदेवीले तारिख गुजारी अंशबण्डा भइसकेको तथ्यलाई स्वीकार गरी बसेकोमा शुरुको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, हेटौँडाको फैसला समेत त्रुटिपूर्ण छ ।
दिने तेजा महतो, लिने अम्विका महतो भएको मिति २०२१।८।७ को र.नं. १३७८ को पारित राजीनामा, दिने तेजा महतो, लिने रमनीदेवी भएको मिति २०२१।८।७ को र.नं. १२७९ को पारित राजीनामामा रामबहादुर महतो भिन्न बसेको भाइ भनी साक्षी बसेका छन् । दिने राम महतो, लिने तेजा महतो भएको मिति २०२१।३।१३ को र.नं. १७३७२ को पारित राजीनामा, मिति २०२९।४।१९ को भूमी प्रशासन कार्यालय पर्साको निर्णय पर्चा, दिने तेजा महतो, लिने सीतादेवी महतो भएको मिति २०४८।१०।११ को र.नं. ३९२० को पारित राजीनामा, दिने घुडारीदेवी, लिने रामबहादुर महतो भएको मिति २०२१।८।७ को र.नं. १३९३ को पारित राजीनामा, दिने पारसनाथ, लिने रामनारायण महतो भएको मिति २०३६।११।१९ को र.नं. १८९० को पारित राजीनामा, दिने रामबहादुर महतो लिने भिखारी महतो मिति २०२३।२।२१ को र.नं. २४०६/२३०३ को पारित राजीनामा, दिने रामबहादुर महतो, लिने वेनकुमारी कार्की भएको मिति २०२९।२।२० को र.नं.३१७३/१९३९ को पारित राजीनामा, दिने रामबहादुर महतो लिने मंगीयादेवी भएको मिति २०२९।१।१९ को र.नं. ३१३१/२८९५ को पारित राजीनामा, दिने रमनीदेवी, लिने राजेश्वर महतो भएको मिति २०५२।७।२७ को र.नं. १७४०, लिने संजयकुमार भएको र.नं. १७४२, लिने प्रमोदप्रसाद भएको र.नं.१७४१ को शेष पछिको पारित बकसपत्र समेतका बिक्री व्यवहारलाई हेर्दा अंशबण्डाको ३० नं. अनुसार २०१८ सालमा छुट्टिभिन्न भएको स्पष्ट छ । नेकाप २०४५, अङ्क १०, नि.नं. ३६२५ मा प्रतिपादित नजीरले माथि उल्लिखित प्रमाणलाई मान्यता दिएको छ ।
हाम्रो पारिवारिक पृष्ठभूीममा मुल पुरुष बालगोविन्द महतोको मृत्युपश्चात् २०१८ सालमा घरसारमा नरम गरम मिलाई बण्डा छुट्टयाई तेजा महतोले आफ्नो आमा हुलासीसँग बसी निजहरूको अंश तेजा महतोको नाउँमा ज.वि.२१–२–६, राम बहादुरको अंश भाग निजको नाउँमा ज.वि. २३–१२–९, रमनीदेवीको अंश भाग अम्विका महतोको नाउँमा ज.वि. २४–१३–१४, दिई लिई तत्कालीन जिमदारी कचहरीबाट दाखिल दर्ता भएको ठोस, विवादरहीत प्रमाण मौजूद छ । त्यो प्रमाणलाई मुलुकी ऐन, अ.वं. ७८ नं. बमोजिम बयान गर्दा वादी व्रम्ह महतोले स.ज.३ मा, वादी संजयकुमार चौधरीले स.ज.३ मा तत्कालीन जिमिदारी कचहरीको पालामा हाम्रा ३, अंशियार पुर्खाहरू तेजा महतो, रामबहादुर महतो र रमनीदेवीको बीचमा आफ्ना हिसाव शान्तिले जग्गामा भएको हरहिस्सा लिई दिई सकेकोले सोहीबमोजिम आ–आफ्ना हक हिस्सामा परेका जग्गाहरूको छुट्टाछुट्टै रसिद हो, रसिद सद्दे भई सोहीबमोजिमको ७ नं.फाँटवारी तथा १ नं. लगत भरेको ठीक हो भनेपछि दुवै पक्ष बीच मुलुकी ऐन, अ.वं. १८४क नं. बमोजिम मुख मिलेको छ ।
अतः पुनरावेदन अदालत हेटौंडाको फैसलामा समेत न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) (ख) को अवस्था विद्यमान हुँदा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी प्रतिवादअनुरूप इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी राजेश्वर महतोको निवेदन पत्र ।
सर्वप्रथम सुखली देवीको मुद्दा चल्दाचल्दै मृत्यु भैसकेकोले निजलाई विपक्षी कायम गरिएको छैन । वादीहरू कलियादेवी, प्रमोद महतो, संजय महतो, ब्रह्म महतो र सुनील महतोले शुरु तहमै तारिख गुजारी बसेको अवस्थामा निजहरूले अंशबण्डा भई सकेको तथ्यलाई स्वीकारी बसेको तर्फ ध्यान नदिई वादी दावी भन्दा बाहिर गई गरिएको फैसला त्रुटिपूर्ण छ । स्व. बाल गोविन्दका ३ भाई छोराहरूका बीचमा २०१८ सालमा जिमिदारी कचहरीबाट अंशबण्डा भएको कुरा निजहरूका बीचमा २०२१ सालमा एक आपसमा भएका पारित राजीनामा समेतका कागजातले पुष्टि गरी रहेको छ । तेजा महतो र रमनीदेवीका बीच मिति २०२१।८।७ मा पारित र.नं. १३७९ को तथा अम्बिका र तेजाबीच मिति २०२१।७।२९मा र.नं. १३७८को पारित राजीनामामा अंशियारमध्ये कै रामबहादुर भिन्न बसेको भाइ भनी साक्षी समेत बसेको र २०२२ सालको नापीमा समेत सबै अंशियारले ७ नं. फाँटवारी र १ नं. लगत भर्दा आ–आफ्ना परिवारको अलग–अलग लगत भरी आ–आफ्ना नाउँमा पुर्जा प्राप्त गरी भोग बिक्री व्यवहार गरेको कुरामा दुवै पक्ष बीच मुख मिलेको अवस्थामा व्यवहार प्रमाणबाट छुट्टिभिन्न भएको तथ्यलाई बङ्गयाउदै पुनरावेदन अदालतबाट भएको फैसला मुलुकी ऐन अ.वं. १८४(क) नं. समेत विपरीत छ ।
बाल गोविन्दका ३ भाइ छोराहरू मध्ये रामदेवको २०१२ सालमा मृत्यु भैसकेपछि २०१८ सालमा घरसारमा नरम गरम मिलाई बण्डा छुट्टयाउने क्रममा तेजा महतोको भागमा २१–२–१६, रामबहादुरको भागमा २३–१२–९, राम देवको मृत्यु भई सकेकोले निजको भाग तेजा महतोको दुई श्रीमति मध्येकी सरली देवीको मृत्यु भएको र रामदेव र रमनीदेवीका सन्तान नभएकाले सरलीका छोरा अम्विका महतोका नाउँमा २४–१३–१४ बण्डा भई तिनीहरूका नाउँमा दाखेल खारेज गरी तिरो भरो भएको र तिरो भरो गरेका भरपाईहरूलाई ७८ नं. बमोजिम बयान गराउँदा उक्त भरपाई सद्धे हुन भनी वादीले बयान गरेको अवस्था र मुल हाँगामा बण्डाबमोजिम आ–आफ्ना नाउँमा दाखेल खारेज भएको कुरा स्वीकार गरी भोग बिक्री व्यवहार समेत गरेको कुरालाई अन्यथा हुने ठहर्याई सबै अंशियारलाई सगोलमा भएको ठहर गरी भएको फैसला मुलुकी ऐन अंशबण्डाको ३० प्रमाण ऐनको दफा ३, ५४ विपरीत हुनुका साथै व्यवहार प्रमाणलाई अंशबण्डा भएको मान्ने गरी नेकाप २०४२, अङ्क ७, नि.नं. २४३३, नेकाप २०५०, अङ्क १०, नि.नं.४८०, नेकाप २०५६, अङ्क १२, नि.नंं ६८२४, नेकाप २०६२ अङ्क नि.न. ७६१५ समेतका विपरीत हुँदा पुनरावेदन अदालत हेटौडाबाट भएको फैसला त्रुटिपूर्ण छ । अतः उक्त फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) को अवस्था विद्यमान हुँदा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी हाम्रो प्रतिउत्तर जिकीरबमोजिम हुनेगरी न्याय पाऊँ भन्ने समेत प्रतिवादी पार्वतीदेवी थरुनी समेतको संयुक्त निवेदन ।
यसमा मूल पूर्खा गोविन्द महतोको दुई छोरामा तेजा महतो र रामबहादुर महतो भएकोमा मिति २०२१।८।७ मा रमलीले तेजा महतोबाट जग्गा राजीनामा पारित गरिलिंदा रामबहादुर ऋणीको भिन्न बसेको भाइ भनी साक्षी समेत बसेको देखिन्छ । भूमिसुधार १ नं. लगत र ७ नं. फाँटवारी समेत अलग–अलग भरिएको, दर्ता तिरो अलग–अलग भई भोग बिक्री व्यवहार प्रमाण समेतबाट वादी प्रतिवादीहरू सगोलको अंशियार नदेखिएको अवस्थामा मूल अंशियार बीचनै बण्डा नभएको भनी वादी दावी पुग्ने ठहर गरेको शुरु अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४, अंशबण्डाको १८ र ३० नं.को व्याख्यात्मक त्रुटि हुनुको साथै नेकाप २०५६, नि.नं. ६८२४, सर्वोच्च अदालत बुलेटिन २०६२, पूर्णाङ्क, ३२१ पृष्ठ २, मा प्रतिपादित कानूनी सिद्धान्त समेतको प्रतिकूल देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) (ख) अन्तर्गत मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान गरिदिएको छ भन्ने समेत यस अदालतको आदेश ।
अंशबण्डाको लिखत नभएको, अंशबापत भनी जग्गाको दाखिल खारेज समेत नभएकोले अंश जस्तो संवेदनशील विषयलाई अंशबण्डाको लिखतको अभावमा प्रतिकूल रूपमा लिनुपर्ने हुँदा हामीले अंश पाउने गरी शुरु एवं पुनरावेदन अदालत हेटौडाबाट भएको फैसलामा कुनै त्रुटि छैन । विपक्षीको सासू सुखली, पति ब्रह्मा, छोरा सुनील, जेठानी कलिया समेतले हामीलाई सगोलको अंशियार स्वीकारी रहेको अवस्थामा विपक्षीले हामीलाई भिन्दै अंशियार भन्न मिल्दैन । अतः पुनरावेदन अदालतको फैसला सदर कायम गरिपाऊँ भन्ने समेत वादी विकासकुमार र उमाकान्त चौधरीको संयुक्त लिखित प्रतिवाद ।
प्रस्तुत मुद्दामा मेलमिलाप हुन उपयुक्त देखिएकोले मेलमिलाप केन्द्रमा पठाउने गरी इजलासबाट आदेश भएकोमा मिलापत्र हुन नसकी फिर्ता आएको रहेछ ।
यसमा, दुवै पक्षहरू उपस्थित गराउनको लागि अर्को पेशी तोकी प्रस्तुत मुद्दा हेर्दा हेर्दैमा राखी यसै लगाउको ०६७–CI–१२९० समेत साथै राखी नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको आदेश ।
नियमबमोजिम दैनिक पेशी सूचीमा चढी आज यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा प्राप्त मिसिल संलग्न कागज प्रमाणहरूको अध्ययन गरियो । पुनरावेदक प्रतिवादी राजेश्वर महतो तथा वादी पार्वतीदेवी थरुनी समेतका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल तथा अधिवक्ताहरू शालिकराम पाण्डे, लेखनाथ न्यौपाने र नन्दप्रसाद अधिकारीले पुनरावेदकहरूका मुल पुरुष बालगोविन्द महतोको मृत्युपश्चात् २०१८ सालमा घरसारमा नरम गरम मिलाई बण्डा छुट्टयाई तेजा महतोले आफ्नो आमा हुलासीसँग बसी निजहरूको अंश तेजा महतोको नाउँमा ज.वि.२१–२–६, राम बहादुरको अंश भाग निजको नाउँमा ज.वि. २३–१२–९, रमनीदेवीको अंश भाग अम्विका महतोको नाउँमा ज.वि. २४–१३–१४, दिई लिई तत्कालीन जिमिदारी कचहरीबाट दाखिल दर्ता भएको ठोस प्रमाण मौजूद छ । उक्त कुरालाई अ.वं. ७८ नं. बमोजिम बयान गर्दा वादीहरू व्रम्ह महतो र संजयकुमार चौधरीले तत्कालीन जिमदारी कचहरीको पालामा हाम्रा ३, अंशियार पुर्खाहरू तेजा महतो, रामबहादुर महतो र रमनिदेवीको बीचमा आफ्ना हिसाव शान्तिले जग्गामा भएको हरहिस्सा लिई दिइसकेकाले सोहीबमोजिम आ–आफ्ना हक हिस्सामा परेका जग्गाहरूको छुट्टाछुट्टै रसिद हो, रसिद सद्दे भई सोहीबमोजिमको ७ नं. फाँटवारी तथा १ नं. लगत भरेको ठीक हो भनी स्वीकार गरी मुख मिलेको छ । त्यसैगरी मूल अंशियाराहरू बीच विभिन्न मितिमा जग्गा लिनुदिनु गरेका लिखत तथा व्यबहार प्रमाणहरूबाट समेत यी वादी प्रतिवादीहरूका मूल पुस्ताहरू छुट्टीभिन्न भैसकेको हुँदा शुरुको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला समेत त्रुटिपूर्ण हुँदा उक्त दुवै फैसलाहरू उल्टी गरी पुनरावेदन जिकीरबमोजिम इन्साफ गरिपाऊँ भनी गर्नुभएको बहस तथा पेश गर्नुभएको बहसनोट समेत सुनियो, हेरियो ।
प्रत्यर्थीहरू उमाकान्त चौधरी समेतको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादव तथा अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, कौशल किशोर साह, तिलप्रसाद गौतम, र किसुनदेव प्रसाद कोइरीले यी वादी प्रतिवादीहरूको पुस्तावारीमा विवाद छैन । मूल पुरुष बालगोविन्दका तीन छोराहरू बीच अंशबण्डा भएको छैन । जग्गाको हदवन्दी मिलाउन बढी भएको जग्गा अंशियारा बीच अलग–अलग ७ नं. फाँटवारी भरिएको र एक अंशियार रामबहादुरले साक्षीमा बस्दा भिन्न भएको भाइ भन्ने कुराले अंशबण्डाको मान्यता पाउन सक्दैन । अंशबण्डाको लिखत पनि नभएको र अंशबापत भनी जग्गाको दाखिल खारेज समेत नभएको अवस्थामा अंशबण्डा भएको मान्न मिल्ने होइन । बालगोविन्दका ३ छोराहरूमा वरावरी रूपमा जग्गाको फाँटवारी नभरिएको तथ्यबाट समेत अंशबण्डा नभएको तथ्य स्पष्ट हुन्छ । तसर्थ वादीहरूले अंश पाउने गरी शुरु पर्सा जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलामा कुनै कानूनी त्रुटि नहुँदा उक्त फैसला सदर कायम गरिपाऊँ भनी गर्नु भएको बहस तथा पेश गर्नुभएको बहसनोट समेत सुनियो, हेरियो ।
त्यसैगरी प्रत्यर्थीहरू कलियादेवी, प्रमोद महतो समेतको तर्फबाट उपस्थित विद्वान अधिवक्ता राजिव आचार्यले मेरो पक्षले रामबहादुर महतोको छोरा रामनारायण महतोले ललाई फकाई डर त्रास देखाइ मुद्दा दिन लगाएका हुन् भनी पुनरावेदन अदालत हेटौंडामा लिखित जवाफ पेश गरेको र शुरु जिल्ला अदालतमा तारिख गुजारी बसेको अवस्थामा मुद्दा तामेलीमा राख्नु पर्नेमा सो नगरी निजहरूको हकमा समेत फैसला गरेको मिलेको छैन । साथै मुल अंशियार तेजा महतो, रामबहादुर महतो र रामदेव महतोको पत्नी रमनीदेवी २०१८ सालदेखि नै अंशबण्डा गरी २०२१ सालमा १ नं. लगत तथा ७ नं. फाँटवारी समेत अलग–अलग भरेको तथा तेजा महतो र अम्बिका महतोबीच मिति २०२१।८।७ मा भएको र.नं. १३७८ तथा तेजा महतो र रमुनीदेवी बीच ऐ. मितिमा भएको र.नं. १३७९ को पारित राजीनामामा भिन्न भएको भाइ भनी रामबहादुर साक्षी बसेको तथ्यबाट समेत यी मूल अंशियारा बीच अंशबण्डा भएको कुरा प्रमाणित भएको छ । तसर्थ वादी दावीबमोजिम अंश पाउने ठहर गरेको शुरु पर्सा जिल्ला अदालत र पुनरावेदन अदालत हेटौंडाको फैसला बदर गरी इन्साफ पाऊँ भनी गर्नुभएको बहस तथा पेश गर्नुभएको बहसनोट समेत सुनियो हेरियो ।
उल्लिखित बहस समेत सुनि निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत हेटौंडाको मिति २०६४।९।२९ को फैसला मिलेको छ, छैन ? भनी निर्णय दिनुपर्ने देखियो ।
यसमा विपक्षी प्रतिवादीहरू समेतबाट हामी फिरादीको अंश हक छुट्टयाई पाऊँ भन्ने समेतको सुखुली देवी समेतका ८ जना वादीहरूको मुख्य फिराद दावी भएकोमा हामी २०४८ साल देखि मानो अलग गरी बसेको, अंश दिन मञ्जूर छौँ भन्ने प्रतिवादी तेजा, रामनारायण र कमलेश चौधरीको मुख्य प्रतिउत्तर जिकीर भएको तथा हामी २०१८ साल अगाडिदेखि नै भिन्न भई आ–आफ्नो जग्गा समेत सुक्रिबिक्री खरीद समेत गरेको हुँदा छुट्टी भिन्न भई सकेको छ । तसर्थ वादी दावी खारेज गरिपाऊँ भन्ने समेत प्रतिवादी पार्वतीदेवी र राजेश्वर प्रसादको मुख्य प्रतिउत्तर रहेछ । उक्त वादीदावी तथा प्रतिउत्तर जिकीर भएकोमा वादी प्रतिवादीबाट पेश हुन आएको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिमध्ये दर्ता स्रेस्तामा भिडेको सम्पत्तिबाट वादी दावी बमोजिम अंश छुट्टयाई पाउने ठहर्छ भनी शुरु पर्सा जिल्ला अदालतबाट भएको फैसला पुनरावेदन अदालत हेटौंडाबाट सदर भएको रहेछ । उक्त फैसलाउपर चित्त नबुझाई यस अदालतमा मुद्दा दोहोर्याई पाऊँ भनी पर्न आएको निवेदनमा दोहोर्याउने निस्सा प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको देखियो ।
२. सो सम्बन्धमा निर्णयतर्फ विचार गर्दा, यी वादी प्रतिवादीहरूको निम्नानुसार पुस्तावारी भएकोमा विवाद देखिएन :–
३. यसमा उल्लिखित पुस्तावारी तालिकाबमोजिम मूल पुरुष (प्रथम पुस्ता) बालगोविन्द महतो थारूका तीन छोराहरू (दोस्रो पुस्ता) रामदेव महतो, तेजा महतो, रामबहादुर महतो समेतको जम्मा अंश गर्नु पर्ने जग्गा विगाहा ७३–१३–० भएकोमा विवाद देखिएन । उक्त जग्गा उल्लिखित तीन भाइमध्ये रामदेवको पत्नी रमनी, तेजा र रामबहादुरको नाममा अलग–अलग ७ नं.फाँटवारी भरिएको कुरामा पनि विवाद देखिएन । उल्लिखित दोस्रो पुस्ताबीच नै अंशबण्डा नभएकोले वादी दावीबमोजिम अंश पाऊँ भन्ने सुखलीदेवी समेत जना ८ले दावी लिएकोमा सो वादी दावीतर्फ विचार गर्दा ७ नं.फाँटवारीबमोजिम रामदेवको पत्नी रमनीदेवीको नाममा जग्गा विगाहा ६–१०–१६, तेजा महतोको आफ्नो र छोराको नाममा गरी जग्गा विगाहा ४३–१६–१४ र रामबहादुर महतोको नाममा जग्गा विगाहा २३–७–१४ अलग–अलग दर्ता भएकोमा विवाद देखिएन । त्यसैगरी तेजा महतोले निजको भाउजू रामदेवको पत्नी रमनीदेवीलाई मिति २०२१।८।७ मा जग्गा पारित गरीदिएको लिखतमा भिन्न भएको भाइ भनी रामबहादुर साक्षी बसेको तथ्यमा पनि विवाद देखिएन । त्यसरी नै तेजा महतोले निजका छोरा अम्बिका महतोलाई २०२१।८।७ मा जग्गा पारित गरिदिएको लिखतमा पनि भिन्न भएको भाइ भनी रामबहादुर साक्षी बसेको तथ्यमा पनि विवाद देखिएन ।
४. जहाँसम्म साक्षी बस्दैमा अंश भएको मान्न मिल्दैन भन्ने वादीहरूको तर्क एवं जिकीर छ सो सम्बन्धमा प्रतिवादी पार्वतीदेवी थरुनी समेतको प्रतिउत्तर जिकीर हेर्दा रमनी, तेजा र रामबहादुरले अलग–अलग ७ नं.फाँटवारी भरेको र उक्त तीनै जनाले अलग–अलग १ नं. फारम भर्दा रमनीदेवीले आफ्नो परिवारमा तेस्रो पुस्ताका अम्बिका बसेको भनी सबैले आ आफ्नो अलग–अलग पारिवारिक विवरण उल्लेख गर्नुभएको छ । त्यसैगरी अम्बिका महतोले आफ्नो पिताको अंश नलिइ जीवनभरि रमनीदेवीको साथमा बसी उहाँको अंश हक प्राप्त गर्नुभएको तथा रमनीदेवीको अंश हक भोग चलन गरिआउनु भएकोमा उहाँको मृत्युपछि निजका छोराहरू प्रतिवादी राजेश्वर समेत निज रमनीदेवीका साथमा बसी सेवा टहल गरी आउँदा रमनीदेवीले आफ्नो सम्पूर्ण जग्गा अम्बिकाका छोराहरू चौथो पुस्ताका प्रमोदप्रसाद, राजेश्वरप्रसाद र संजयकुमारलाई शेषपछिको बकसपत्र गरिदिनु भएको भनी उल्लेख गरेको देखिन्छ । अम्बिका रमनीदेवीसँग साथ संगोलमा बसेको भन्ने उल्लिखित प्रतिवादी जिकीरलाई वादीहरूले तथ्ययुक्त रूपमा अन्यथा भन्न गराउन सकेको देखिंदैन । त्यसैगरी दोस्रो पुस्ताकी रमनीदेवीले अम्बिकाका छोराहरू चौथो पुस्ताका प्रमोदप्रसाद, राजेश्वरप्रसाद र संजयकुमारलाई तथा तेजा महतोले निजका छोरा अम्बिका महतोलाई जग्गा पारित गरी दिई हस्तान्तरण गरिदिनुको अन्य तथ्ययुक्त आधार र कारण पनि देखिंदैन । त्यस्तै दोस्रो पुस्ताकी रमनीदेवीले चौथो पुस्ताका प्रमोदप्रसाद, राजेश्वरप्रसाद र संजयकुमारलाई शेषपछिको बकसपत्र गरी जग्गा हस्तान्तरण गरिदिएको कुरालाई पनि अंश पाऊँ भन्ने वादीहरूले मौकैमा अन्यथा भन्न गराउन सकेको पनि देखिंदैन ।
५. उल्लिखित तथ्यहरूबाट हेर्दा तेजा महतोले निजको भाउजू रामदेवको पत्नी रमनीदेवी तथा निज तेजाको छोरा अम्बिका महतोलाई एउटै मिति २०२१।८।७ मा जग्गा पारित गरिदिनु उक्त लिखतमा भिन्न भएको भाइ भनी रामबहादुर साक्षी बसेको देखिनुको साथै दोस्रो पुस्ताका अंशियाराहरूले अलग–अलग ७ नं. तथा १ नं. फाँटवारी भरि तेस्रो पुस्ताका अम्बिका दोस्रो पुस्ताकी रमनीदेवीसँग बसेको र दोस्रो पुस्ताकी रमनीदेवीले चौथो पुस्ताका प्रमोदप्रसाद, राजेश्वरप्रसाद र संजयकुमारलाई निजहरूले पालन तालन तथा हेरचाह गरेको भन्ने कैफियत खुलाई शेषपछिको बकसपत्र गरी जग्गा हस्तान्तरण गरिदिएको तथ्य र सो लाई मौकैमा अन्यथा भन्न गराउन सकेको नदेखिएको अवस्था समेतबाट उल्लिखित पुस्तेवारी तालिकाका दोस्रो पुस्ताका अंशियाराहरूबीच एकापसमा अलग–अलग ब्यवहार कारोवार गरेको देखिन आयो ।
उल्लिखित अलग–अलग व्यवहार प्रमाणका सम्बन्धमा मुलुकी ऐन अंशबण्डाको ३० नं. मा निम्नानुसार व्यवस्था गरेको देखिन्छ :–
।। ३० नं. ।। अंशबण्डा गर्दा साक्षी राखी कानूनबमोजिम बण्डा छुट्याई बण्डापत्रको कागज खडा गरी लिनेको र साक्षीको समेत सहिछाप गरी रजिष्ट्रेशन गर्नु पर्नेमा सो गरी राख्नु पर्छ । सोबमोजिम नभएको बण्डा सदर हुँदैन । तर यो ऐन प्रारम्भ हुँदासम्ममा बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम–गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो हिसाव भाग शान्तिबमोजिम लिई पाई दाखिल खारेज समेत गराई सकेको वा बण्डाबमोजिम आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा बण्डा घटी बढी असल कमसल भयो भन्न पाउँदैन । रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुन्छ । पाउने अंशभन्दा घटी अंश जीउनी लिएकोमा र अंश छोडपत्र गरेकोमा भने रजिष्ट्रेशन भएको हुनुपर्छ ।
६. उल्लिखित तथ्य तथा कानूनी व्यवस्था हेर्दा यी वादी प्रतिवादीका दोस्रो पुस्ताका रामदेवको पत्नी रमनीदेवी, तेजा र रामबहादुरको बीचमा रीतपूर्वकको अंशबण्डाको लिखत नभएको वा जग्गा घटीबढी भएको अर्थात तेजा महतोले भाउजू रमनीदेवीलाई कम जग्गा दिएको भएपनि समान अंशियारबीच जग्गा हस्तान्तरण भएको उक्त व्यवहारमा अर्का समान अंशियार रामबहादुर भिन्न भएको भाइ भनी साक्षी बसेको तथा उल्लिखित अलग–अलग व्यबहार प्रमाण भएको देखिएबाट र समान अंशियारबीच कुनै एउटै मापदण्डको आधारमा बराबर अंशबण्डा गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था नभई एकापसमा नरम गरम मिलाई असल कमसल घटबढी गरी व्यावहारिक रूपमा मिलाई अंशबण्डा गर्न सक्नेनै देखिंदा उल्लिखित दोस्रो पुस्ताका अंशियारहरूबीच जग्गा घटीबढी भएको भन्ने कारणले मात्र रीतपूर्वकको अंशबण्डा भएको छैन भन्न मिल्ने अवस्थाको विद्यमानता देखिएन ।
७. यस सम्बन्धमा नेकाप २०६६, नि.नं. ७२२७, पुनरावेदक वादी पुष्करप्रसाद वाग्ले विरुद्ध राधादेवी वाग्ले उपाध्याय समेत भएको अंश चलन मुद्दामा यस अदालतबाट, आचरणबाट बण्डा भएको कुरा अंशियारले स्वीकार्ने माध्यम लिखत, आपसी व्यवहार, आपसी कारोवार, अलग–अलग वासस्थान र समयको अस्वाभाविक अन्तराल हुन् । यी तत्वमध्ये एक वा एकभन्दा बढी अवस्थाको विद्यमानताले अंशबण्डाको ३० नं.को आवश्यकता पूरा गर्दछ । यस कसीमा जति बढी तत्वलाई प्रमाणले अङ्गीकार गर्दछ त्यति बढी व्यवहार प्रमाणबाट अंशबण्डा भइसकेको कुरामा अदालत विस्वस्थ हुने भनी नजीर सिद्धान्त प्रतिपादित भैरहेको तथा अंशियाराहरू बीच भएको अलग–अलग व्यवहार प्रमाणबाट अंशबण्डा भएको देखिएको अवस्थामा सो कुरा मान्य हुने भन्ने सम्बन्धमा अन्य विभिन्न नजीर सिद्धान्तहरू समेत कायम भएको देखिन्छ । यस्तो अवस्थामा उक्त प्रतिपादित सिद्धान्त विपरीत हुने गरी अंशियाराहरू बीचको अलग–अलग बसोबास तथा यी वादी प्रतिवादीहरूमध्ये विभिन्न व्यक्तिहरूले विभिन्न समयमा विभिन्न व्यक्तिहरूसँग भए गरेका अचल सम्पत्तिको हस्तान्तरणसम्बन्धी व्यवहार लगायतबाट समेत लामो समयको अन्तरालदेखिनै यी वादी प्रतिवादीहरू बीच अलग–अलग व्यवहार कारोबार भएको देखिएको अवस्थामा दोस्रो पुस्ताबीच अलग–अलग व्यवहार भएको लामो समयपश्चात् केवल अंशबण्डाको पारित लिखत नभएको भन्ने फिराद दावीको आधारमा मात्र अंशबण्डा भएको छैन भन्ने मान्न मिल्ने अवस्थाको विद्यमानता देखिएन ।
८. यसरी २०२१ सालमा नै दोस्रो पुस्ताका तीनजना समान अंशियाराहरूले अलग–अलग ७ नं. तथा १ नं.फाँटवारी भरी निजहरूमध्ये दुई अंशियाराबीच एकापसमा लिखत पारित गरी जग्गा समेत हक हस्तान्तरण गरी लिनुदिनु गरेको र उक्त लिखतमा समान अंशियारामध्येको अर्को अंशियारा भिन्न भएको भाइ भनी साक्षी समेत बसी अलग–अलग व्यवहार गरेको अवस्थामा निकै लामो समय करिव ३७ बर्ष भन्दा पछि आएर निज अंशियाराहरू बीच अंशबण्डा नभएकोले अंशबण्डा गरिपाऊँ भनी निजहरू भन्दा पछिको तह तहका पुस्ताले दावी लिएको कुरालाई सोही दावीको आधारमा मात्र मान्यता दिंदै जाने हो भने कहिल्यै पनि विवादको अन्त्य नहुने परिस्थितिको सिर्जना हुनजाने हुन्छ । अर्थात् यस्तो अवस्थामा विवाद निरूपणको निश्चितता नै नहुने अवस्था उत्पन्न हुन्छ । अदालतले कानूनको व्याख्या गर्दा यस्तो अनिश्चितताको बढावा हुने गरी ब्याख्या गर्न हुँदैन । अदालतले कानूनको ब्याख्या गर्दा विवादको निरूपण हुने गरी सिजनात्मक ब्याख्या गर्नुपर्दछ । मुलुकी ऐन अंशबण्डाको ३० नं.ले गरेको कानूनी व्यवस्थाको उद्देश्य पनि यहि नै देखिन्छ । मुद्दाका पक्षहरूको बीच समय समयमा भएका विभिन्न घटनाक्रमबाट नै अलग–अलग व्यवहार भएको तथ्य स्थापित हुने हुँदा त्यसरी अलग–अलग व्यवहार तथा कारोवार भएको देखिनु नै अंशबण्डा भएको कुरामा अदालत विश्वस्थ हुने आधार हुन्छ । अंशबण्डाको ३० नं.को कानूनी व्यवस्थाले गरेको प्रत्याभूती पनि यही नै हो ।
९. त्यसैगरी प्रस्तुत मुद्दामा ८ जना वादीहरूमध्ये कलियादेवी, प्रमोद र संजयकुमार तथा ब्रह्मप्रसाद महतो समेत जना ४ ले लिने रामबहादुर महतो र दिने तेजा महतो भएको मिति २०२१।३।१३, र.नं.७४३७८ को पारित राजीनामामा मिति २०२९।४।१९मा भूमि प्रशासन कार्यालयबाट भएको निर्णयले समेत हाम्रो मूल अंशियारहरू रामबहादुर, तेजा र रमनीदेवीको बीचमा मिति २०२१ साल पूर्व नै अंशबण्डा भैसकेको प्रमाणित भै रहेकोले पुनः अंशबण्डा गर्ने गरी शुरु पर्सा जिल्ला अदालतबाट भएको फैसला उल्टि गरिपाऊँ भनी पुनरावेदन अदालत हेटौंडामा लिखित प्रतिवाद गरेको देखिएको अवस्थाबाट समेत यी अंशियारा वादीहरू मध्येका दाजुभाइहरू बीच नै विरोधाभाषपूर्ण भनाई रहेको देखियो । माथि विवेचना गरिएको तथ्य तथा कानूनी व्यवस्थाहरूको साथै वादीहरूमध्येका दाजुभाइहरू बीच देखिएको उक्त विरोधाभाषपूर्ण भनाइले पनि यी वादी प्रतिवादीहरूका दोस्रो पुस्ताका मूल अंशियाराहरूबीच अंशबण्डा भई सकेको रहेनछ भन्ने अवस्थाको विद्यमानता देखिन आएन ।
१०. अतः माथि उल्लिखित कानूनी व्यवस्था, तथ्य तथा प्रमाणहरूको विवेचनाबाट यी वादीहरूका मूल पुस्ताहरूबीच अंशबण्डा भएको देखिएको अवस्था हुँदा उमाकान्त चौधरी समेतका चौथो तथा तेस्रो पुस्ताका यी वादीहरूले समुच्चरूपमा उल्लिखित दोस्रो पुस्ताका मूल अंशियाराहरूबाट अंश पाउने अवस्थाको विद्यमानता देखिएन ।
११. वादीहरू ब्रह्मप्रसाद, कलियादेवी, प्रमोद, सञ्जय समेतले हामीहरूको अघिल्लो पुस्ताहरू तेजा, रमनी, र रामबहादुर महतोहरूवीच नै अंशबण्डा भैसकेको हुँदा बण्डा गर्न बाँकी नरहेकोले हामीहरूले शुरुदेखि नै प्रस्तुत मुद्दाको तारिख गुजारी बसेको भनी पुनरावेदन अदालत हेटौँडामा लिखित प्रतिवाद गरेको देखिएकोले निजहरूको हकमा उल्लिखित अघिल्लो पुस्ता बाहेक आ–आफ्नो पुस्ता र हाँगाबाट अंश पाउन पर्ने भए त्यस्तो दावी लिएका बखत कानूनबमोजिम अंशबण्डा गरी लिन पाउने नै हुँदा त्यसतर्फ प्रस्तुत मुद्दामा केही बोलिरहन परेन । जहाँसम्म वादीहरू उमाकान्त र विकास चौधरीले निजहरूको बाबु प्रतिवादी रामनारायण वा भाइ विनय लगायत आफ्ना हाँगाका अन्य दाजुभाइहरूबाट अंश पाउनु पर्ने भए त्यस्तो दावी लिई सबूद प्रमाण सहित अंशमा दावी लिन सक्ने र अंश नपाएको भए आ–आफ्नो हाँगा र पुस्ताका अंशियाराहरूबाट कानूनबमोजिम अंशबण्डा गरी पाउने नै हुँदा प्रस्तुत मुद्दामा उल्लिखित आधार प्रमाणहरूबाट अंशबण्डाको पारित लिखत नभएको भन्ने आधार र कारणबाट मात्र फिराद दावीबमोजिम तालिकामा उल्लिखित तेजा महतो समेतका दोस्रो पुस्ताबाट समेत अंश पाऊँ भन्ने वादी दावी पुग्न सक्ने देखिएन । तसर्थ दोस्रो पुस्ताहरूबीच नै अंशबण्डा नभएकोले सो पुस्ता तथा निजहरूको हाँगाका अंशियाराहरू समेतबाट अंश पाऊँ भनी लिएको अंशतर्फको वादी दावी पुग्न नसक्ने ठहर गर्नुपर्नेमा सो नगरी वादी दावीअनुसार समुच्च दोस्रो पुस्ता तथा निजहरूको अलग–अलग हाँगाबाटसमेत अंशबण्डा लाग्ने ठहर गरेको शुरु पर्सा जिल्ला अदालतको मिति २०६२।३।१६को फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौँडाको मिति २०६४।९।२९ को फैसला मिलेको नदेखिएकोले उक्त दुवै फैसला उल्टी हुने ठहर्छ । सो ठहरेकाले अरुमा तपसीलबमोजिम गर्नूः
तपसील
माथि ठहर खण्डमा लेखिएबमोजिम शुरु जिल्ला अदालत तथा पुनरावेदन अदालतको फैसला उल्टी हुने ठहरेकाले प्रस्तुत मुद्दामा शुरु अदालतले गरेको फैसला कार्यान्वयनको निमित्त राखेको सम्पूर्ण लगत कट्टा गर्नु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखी पठाइदिनू .. १
प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरू पार्वतीदेवी थरुनी, शशीकान्त चौधरी, अनील चौधरी र विजय महतोले यस अदालतमा पुनरावेदन गर्दा मिति २०६७।३।३१ मा र.नं. ३३७५२ को नगदी रसिदबाट रु.३९३६।– यस अदालतमा र पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन गर्दा मिति २०६२।७।१ मा र.नं. ३९११८ को नगदी रसिदबाट पर्सा जिल्ला अदालतमा रु.१७३९।– पुनरावेदन गर्दा लाग्ने थप १५ प्रतिशत कोर्टफीबापत दाखिल गरेको देखिंदा वादी दावी पुग्न नसक्ने ठहर भएकोले उक्त रकम निजहरूले वादीहरूबाट भराई लिन पाउने हुँदा उल्लिखित रकम भराईपाऊँ भनी ऐनका म्यादभित्र निवेदन दिए कानूनबमोजिम गरी निज प्रतिवादीहरूलाई भराईदिनु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखी पठाई दिनू ....... १
प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरू पार्वतीदेवी थरुनी, शशीकान्त चौधरी, अनील चौधरी र विजय महतोले पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन गर्दा मिति २०६२।७।१ मा र.नं. ८२०को धरौटी रसिदबाट पर्सा जिल्ला अदालतमा रु.११५९२।८८ कोर्टफी धरौटी राखेको देखिंदा वादी दावी पुग्न नसक्ने ठहरेकोले उक्त रकम प्रतिवादीहरूले फिर्ता पाउने हुँदा उक्त रकम फिर्तापाऊँ भनी ऐनका म्यादभित्र निवेदन दिए कानूनबमोजिम गरी निज पुनरावेदक प्रतिवादीहरूलाई फिर्ता दिनु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखी पठाइदिनू ........... १
प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी राजेश्वर महतोले यस अदालतमा पुनरावेदन गर्दा मिति २०६६।१०।२७ मा र.नं. १८७०५ को नगदी रसिदबाट रु.३,९१३।– यस अदालतमा र पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन गर्दा मिति २०६२।७।१ मा र.नं. ३९११९ को नगदी रसिदबाट पर्सा जिल्ला अदालतमा रु.४३९।७३ पुनरावेदन गर्दा लाग्ने १५ प्रतिशत कोर्टफी दाखिल गरेको देखिँदा वादी दावी पुग्न नसक्ने ठहर भएकोले उक्त रकम निजले वादीहरूबाट भराई लिन पाउने हुँदा उल्लिखित रकम भराई पाऊँ भनी ऐनका म्यादभित्र निवेदन दिए कानूनबमोजिम गरी निज प्रतिवादी राजेश्वर महतोलाई भराई दिनु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखी पठाई दिनू ....१
प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी राजेश्वर महतोले पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन गर्दा मिति २०६२।७।१ मा र.नं. ८२१ को धरौटी रसिदबाट रु.२८९८।२२ पर्सा जिल्ला अदालतमा कोर्टफी धरौटी राखेको देखिंदा वादी दावी पुग्न नसक्ने ठहरेकोले उक्त रकम निजले फिर्ता पाउने हुँदा उक्त रकम फिर्तापाऊँ भनी ऐनका म्यादभित्र निवेदन दिए कानूनबमोजिम गरी निज राजेश्वर महतोलाई फिर्ता दिनु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखी पठाइदिनू ................. १
प्रस्तुत मुद्दामा यस अदालतको पुनरावेदन दायरीको लगत काटी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.कमलनारायण दास
इति संवत् २०६९ साल मंसिर १२ गते रोज ३ शुभम्––––।
इजलास अधिकृतः– उपेन्द्रप्रसाद गौतम