निर्णय नं. ३५९९ - उत्प्रेषण

निर्णय नं. ३५९९ ने.का.प. २०४५ अङ्क ९
एक न्यायाधीशको इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०४५ सालको रिट नं. ८१६
आदेश भएको मिति : २०४५।५।३।६ मा
रिट निवेदक : का.जि.का.न.पं.वा.नं.१० कोटेश्वर बस्ने गोपालबहादुर कार्की
विरुद्ध
विपक्षी : प्रहरी महानिरीक्षक, प्रहरी प्रधान कार्यालयसमेत
विषय : उत्प्रेषण
(१) मनिसलाई कुटपिट डर त्रास देखाउने मादक पदार्थ सेवन गराउने जस्ता देखादेखी गरे विराएको कानून विरुद्ध व्यवहार गरेको आधार प्रमाणबाट नोकरीबाट बर्खास्त गर्ने गरी गरेको निर्णयउपर निवेदकले दिएको पुनरावेदन तहबाट पनि मनासिब ठहराइएको देखिन आएकोले कुनै कानूनी त्रुटी भएको देखिन नआएकोले विपक्षीबाट लिखित जवाफ मगाई रहन नपर्ने ।
(प्रकरण नं. ४)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बच्चु सिंह खड्का
आदेश
न्या.सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्नानुसार छ ।
२. म निवेदक २०३२।७।२० को प्रहरी प्रधान कार्यालयको आदेशले फलरस पदमा नयाँ भर्ना भई विभिन्न मितिमा बढुवा हुँदै विभिन्न स्थानमा सेवा गरी हाल प्रहरी सहयक निरीक्षक पदमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखामा सरुवा भई सेवारत भइरहेको थिएँ । यस्तैमा २०४५।१।९ मा विपक्षी प्रधान कार्या–कार्यालयबाट मलाई सेवाबाट हटाइएको पत्रद्वारा बोधार्थ दिएको थियो । सोउपर श्रीमान प्रहरी महा–निरीक्षक ज्यू, समक्ष पुनरावेदन दर्ता गरेकोमा श्रीमान महानिरीक्षक ज्यूबाट शुरु निर्णय कायम राख्ने गरी आदेश भएकाले उल्लिखित निर्णय आदेशले मेरो संविधान प्रदत्त हक कुण्ठित भएकाले अन्य उपचारको बाटो नहुँदा सम्मानीत अदालतको असाधारण अधिकारक्षेत्र गुहार्न आएकोछु । मलाई बर्खास्त गर्नु अघि विपक्षी प्रहरी प्रधान कार्यालय कानून शाखाको च.नं.३५४ मिति २०४४।१२।२१ मा सोधिएको स्पष्टीकरणमा म माथि प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९–५ (६) बमोजिमको कसूरमा ऐ.को नियम ९–१ (६) बमोजिम कारवाही किन नगर्ने भनी ऐ.को नियम ९.५(६) को मात्र कसूर आरोपित गरेको छ भने नोकरीबाट हटाएको निर्णय पर्चामा ऐ.को नियम ९(५) को देहाय (ङ) र (६) को कसूर गरेको भनी स्पष्टीकरणमा उल्लेख भएको भन्दा बढी थप कसूर आरोपित गरेको छ जसबाट ऐ.को नियम ९(५)(ङ) को कसूरमा मलाई प्रतिवाद गर्ने मौकाबाट बञ्चित गरेको स्पष्ट छ । त्यस्तै नोकरीबाट हटाउँदा ऐ.को नियम ९.१ (च) बमोजिम हटाइएको छ जुन कुरा स्पष्टीकरणको पत्रमा उल्लेख छैन । यसरी स्पष्टीकरणमा एक प्रकारको सजायँ आरोपित गरी निर्णय पर्चामा अर्कै आरोप लगाई सजायँ गरेको निर्णय उक्त नियमावलीको नियम ९.१ र ९.५ को त्रुटी गरी गरेको छ । एक सजायँ प्रस्तावित गरी अर्को सजायँ गरेको प्रहरी ऐन, २०१२ (चौथो संशोधन) को दफा १०(१) को त्रुटी भएको छ । मलाई सजायँ गर्ने उचित र पर्याप्त कारणहरु छैनन् । मैले स्पष्टीकरणमा दिएको जवाफ यस कारणले मनासिब छैन भनी खण्डन गर्नसकेको छैन । मउपर भ्रष्टाचारको आरोप लगाई नोकरीबाट बर्खास्त गरेको छ । एकछिनको लागि मैले भ्रष्टचार गरेको मान्ने हो भने पनि मउपर भ्रष्टाचार ऐन अन्तर्गत कारवाही चलाई प्रमाणित भएपछि मात्र भ्रष्टाचारको अभियोग लगाई नोकरीबाट अवकाश दिन मिल्छ अन्यथा भ्रष्टाचार गरेको मिल्दैन । मैले भ्रष्टाचार गरेको प्रमाणित भएको छैन । तसर्थ विपक्षीहरुका उल्लिखित निर्णय आदेश, पुर्जी तथा पुनरावेदन निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी साविकै पदमा पुनः स्थापना गर्नसक्ने परमादेशको आदेश जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।
३. निवेदकतर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री बच्चु सिंह खड्काले गर्नु भएको बहस समेत सुनियो । मुख्यतः निवेदकका माग बमोजिम गर्न मिल्ने नमिल्ने के रहेछ सो कुराको निर्णय दिन पर्ने हुनआएको छ ।
४. यसमा निवेदकले मानिसलाई कुटपिट डर त्रास देखाउने मादक पदार्थ सेवन गराउने जस्तो देखा देखी गरे विराएको कानून विरुद्ध व्यवहार गरेको आधार प्रमाणबाट नोकरीबाट बर्खास्त गर्ने गरी गरेको निर्णयउपर निवेदकले दिएको पुनरावेदन तहबाट पनि मनासिब ठहराइएको देखिन आएकोले कुनै कानूनी त्रुटी भएको देखिन नआएकोले विपक्षीबाट लिखित जवाफ मगाई रहन मिलेन प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । नियमानुसार फायल बुझाई दिनु ।
इति सम्वत् २०४५ साल भाद्र ३ गते रोज ५ शुभम् ।