निर्णय नं. २५९९ - कर्तव्य ज्यान

निर्णय नं. २५९९ ने.का.प. २०४३ अङ्क १
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४१ सालको फौ.पु.नं. ६८२, ४५६
फैसला भएको मिति : २०४२।१०।२० मा
पुनरावेदक/प्रतिवादी : पोखरा कारागारमा थुनामा रहेको टेकबहादुर श्रेष्ठ
विरुद्ध
विपक्षी/वादी : भिमबहादुर राना मगरको जाहेरीले श्री ५ को सरकार
पुनरावेदक/वादी : भिमबहादुर राना मगरको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : गोरखा जि.वङकोट गा.पं.वडा नं.६ बस्ने झलकबहादुर श्रेष्ठसमेत
मुद्दा : कर्तव्य ज्यान
(१) सबूद प्रमाणको अभावमा केवल वारदात अवस्थामा वारदात स्थलमा मौजुद थिए भनी सरजमीनका केही व्यक्तिले भनेकै आधारमा दोषी ठहराउन मिल्ने देखिएन ।
(प्रकरण नं. २९)
फैसला
न्या.बब्बरप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट र प्रतिवादी टेकबहादुर श्रेष्ठको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ :
२. गोरखा बुङकोट गा.पं.वडा नं.६ मा पर्ने ढापे खेतमा ऐ.बस्ने झलकबहादुर श्रेष्ठको र ऐ.गा.पं.वडा नं.४ बस्ने सानो खिलबहादुर आलेमगरको मुद्दा परी अन्तिम निर्णय भई नसकेको र सो खेतमा ०३८।७।३० गते विहान झलकबहादुर श्रेष्ठले खेताला लगी सो खेतमा धान काट्न लागेकोले सगाइ दिनु पर्यो भनी सोको खिलबहादुरले भनेकोले हामी पनि संगै गयौं र सानो खिलबहादुरले झलकबहादुरलाई यो खेतको धान तपाई पनि नलानुस् म पनि लान्न पञ्चायत जिम्मा राखौं भनी सानो खिलबहादुरले भन्नासाथ यसलाई ज्यानको माया रहेनछ अझ यस्तो कुरो लौ यसलाई मार भन्ने वचन दिने र सो बचन मानी टेकबहादुर, लोकबहादुर, बुद्धिबहादुर, हिमालाल समेत ४ जनाले लाठा ढुङ्गा र लात मुड्की घुस्सा समेतले हानी कुटपिट गरी अब मर्यो भन्ने भएपछि २ कान्ला मुनि फाली दिए । हामी छुट्याउन जाँदा हामीलाई पनि अरु धेरै मानिस भई कुटपिट गरेकोले हामी भागी घर आयौं र विरामी समेत बोकी अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । विरामी सानो खिलबहादुर मर्नु बाँच्नु दोसाधी छ निज विउते पछि निजैबाट कुरा खुलाउने र अहिले हामी सख्त घाइते सानो खिलबहादुरको घाउ जाँच समेत गराई ज्यान मार्ने उद्देश्यबाट कुटपिट गर्ने र वचन दिने उक्त ५ जनालाई ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत मिति ०३८।८।१।२ को खिलबहादुर, एकबहादुर र निमबहादुर समेतको संयुक्त जाहेरी दर्खास्त ।
३. खिलबहादुर मर्यो भन्ने गोरखा अस्पतालको ०३८।८।२ को पत्र ।
४. बायाँ आँखामा निल दाहिंने आँखा रातो र टाउकोमा ४।५ ठाउँमा घाउ देखिएको र टाउकोमा समेत प्रशस्त घाउ भएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।
५. म ढामे खेत नजिकै पुग्दा ९।१० जनाको हानाहान भइरहेको देखी विचमा गई छुट्याउन जोड गर्दा मलाई नाम नजानेको साइलोले मेरा टाउकोमा हिर्काए । हिमलाल बुद्धिबहादुर पछि लटारोमा थिए छेकबहादुरले पछि जे पाए त्यसैले हाने मैले खिलबहादुरलाई हिर्काएको होइन भन्ने समेत व्यहोराको लोकबहादुरले प्रहरीमा गरेको बयान ।
६. सानो खिलबहादुर ठूलो खिलबहादुर र अर्को एकजना समेत भई हानाहान भइरहेको अरुको हातमा केही थिएन टेकबहादुरको हातमा लौरौ थियो, टेकबहादुरको लौरो मैले खोसी दिएँ त्यसपछि कसले कसलाई लडाए छुट्याउन सकिन भन्ने समेत व्यहोराको मिति ०३८।८।४ को हिमलाल श्रेष्ठले प्रहरीमा गरेको बयान ।
७. मर्ने खिलबहादुर कसका चोटले मर्यो म भन्न सक्दिन हिमलालले कसको लाठी खोस्यो म भागी सकेकोले थाहा पाइन टेकबहादुर ज्वाइ र झलकबहादुर भिनाजु भएकोले मद्दत गर्न गएको हुँ मैले कसैलाई हानीन भन्ने समेत व्यहोराको ०३८।८।४ मा बुद्धिबहादुरले प्रहरीमा गरेको बयान ।
८. मगरहरूलाई मेरै भाइ टेकबहादुरले कुटेको रहेछ लोकबहादुरलाई कसले कुट्यो थाहा छैन । काटेको धान भाइले नै ल्याई कहाँ राख्यो थाहा छैन, खिलबहादुर के भई मर्यो जानीन, भाइ बलियो भएकोले एक्लै हरायो भन्ने लाग्छ । भाइले नै कुटेकोले मरेको हुनुपर्छ भनी ०३८।८।४ मा झलकबहादुर श्रेष्ठले गरेको बयान ।
९. जाहेरीमा लेखिएका प्रतिवादी ४ जना र दिपक भण्डारी, मानसुन्दर श्रेष्ठ, सिद्धिमान श्रेष्ठ, खड्गबहादुर श्रेष्ठ, खड्कबहादुर खड्का, खड्कमान श्रेष्ठ, हर्कबहादुर श्रेष्ठ, मदनबहादुर श्रेष्ठ, मोहनलाल श्रेष्ठ र नन्दलाल श्रेष्ठ समेतले मर्ने खिलबहादुरलाई कुटपिट गरेका हुन् भनी धनमाया मगर, धनमाया मगर अछामी मगरसमेत ५६ जनाले पृथक पृथक एकै मिलान लेखाई दिएका र टेकबहादुरले मर्ने खिलबहादुरलाई मार्ने उद्देश्यले रिसको आवेशमा पिट्दा लडेको, निजको दाजु खिलबहादुर लाई पनि एकथप्पड हान्दा लडेको एकबहादुरलाई पनि टेकबहादुरले एक थप्पड हाने । झलकबहादुरले प्रधानपञ्च समेत गाउँलेलाई लिई जाँदा झगडा साम्य भइसकेको थियो । यसैले झलकबहादुरले बचन नदिएको हो मुद्दाको रिसले आरोप लगाएको हो बुद्धिबहादुर हिमलाल, लोकबहादुरले, कुटपिट गरेको होइन भनी गंगाबहादुर श्रेष्ठ समेत ९३ जनाले गरी दिएको सरजमीन मुचुल्का ।
१०. हामीहरू वारदात भएको दिन घरमै छौं घटनास्थलमा गएको छैनौं भन्नेसमेत व्यहोराको सिद्धिमान, दिपक भण्डारी र मानसुन्दर श्रेष्ठले पृथक पृथक एकै मिलानको मिति ०३८।८।१४ गते प्रहरीमा गरेको बयान ।
११. हामी घटनास्थलमा पुग्दा झगडा साम्य भइसकेको थियो । एक अंगालो धान बोकी हर्कबहादुरको घरमा पुर्याई दिएका हौं भन्ने खड्गमान श्रेष्ठ र खड्गबहादुर खड्का, उक्त दिन म मेरो घर नजिकै बारीमा छु भन्ने खड्गबहादुर श्रेष्ठ, घटना निस्की सकेपछि म घटनास्थल नजिक पुगेको मात्रै छु भन्ने समेत हर्कबहादुर श्रेष्ठले सोही मितिमा प्रहरीमा गरेको बेग्ला बेग्लै बयान ।
१२. झगडा परेको जग्गा मेरो दाजु झलकबहादुरको नाउँमा छ जिल्ला अदालतबाट मुद्दा जिती पाएको पनि हो र झलकबहादुरको र मेरो साझामा छ त्यसो हुँदा खेतमा मगरहरूले लुटेको सहन नसकी मद्दत लिई लड्न गएको हुँ मर्ने खिलबहादुरलाई लागेको चोट मेरै हो मेरै चोटले मरेकोमा कानुनले जो ठहर्छ भन्ने समेत व्यहोराको प्र.टेकबहादुर श्रेष्ठले ०३८।८।४ मा प्रहरीमा गरेको बयान ।
१३. मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं. बमोजिम कसूर गर्ने प्रतिवादीहरू मध्ये बचन दिने र कुटपिट गर्ने झलकबहादुर, टेकबहादुर, लोकबहादुर, बुद्धिबहादुर र हिमलाल श्रेष्ठ समेत जना ५ लाई सोही ऐनको १३(३) बमोजिम सजायँ हुन र प्रतिवादी मध्येका दिपक भण्डारी, मानसुन्दर श्रेष्ठ, सिद्धिमान श्रेष्ठ, खड्गबहादुर श्रेष्ठ, हर्कबहादुर श्रेष्ठ, मदनबहादुर श्रेष्ठ, मोहनलाल श्रेष्ठ, नन्दलाल श्रेष्ठ, खड्गबहादुर खड्का, खड्गमान श्रेष्ठ समेत १० जना ज्यान मार्ने मतलबमा पसेको सिद्ध हुन आएकोले फेला पर्न नआएका मदनबहादुर श्रेष्ठ, नन्दलाल श्रेष्ठ र मोहनलाल श्रेष्ठ समेत तीनै जनालाई अदालतबाटै कानुन बमोजिम झिकाई निजहरूलाई र पक्राउमा परेका दिपक भण्डारी क्षेत्री, मानसुन्दर श्रेष्ठ, सिद्धिमान श्रेष्ठ, खड्गबहादुर श्रेष्ठ, हर्कबहादुर श्रेष्ठ, खड्गबहादुर खड्का र खड्गमान श्रेष्ठ समेत दशै जनालाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १७(३) बमोजिम सजायँ हुन प्रस्तुत गरिएको छ भन्ने समेत व्यहोराको ०३८।८।१।१६ को प्रहरी प्रतिवेदन ।
१४. २०३८ साल कार्तिक ३० गते विहान अन्दाजी ५ बजे भुटेको १ बोरा बदाम लिई दरौदी पारी अन्नपूर्णको जग्गामा बेच्न गएको छु मैले मारेको होइन भन्ने समेत व्यहोराको प्र.हर्कबहादुरले अदालतमा गरेको बयान ।
१५. मैले ढुङ्गा मुढा गरी हानेकोले मेरै चोटबाट मृतक सानो खिलबहादुरको मृत्यु हुन सक्छ भन्ने समेत व्यहोराको टेकबहादुरले अदालतमा गरेको बयान ।
१६. मैले सानो खिलबहादुरलाई कुटपिट गरेको छैन भन्ने बुद्धिबहादुर ०३८ साल कार्तिक ३० गते विहान देखि बेलुकासम्म म मेरै घरमा छु मृतकलाई कुटपिट गर्नमा मेरो कुनै सहमत छैन भन्ने मानसुन्दर श्रेष्ठको र सो ३० गते ६ बजे विहान देखि मेरो कपडा किराना पसलमा बसेको थिएँ केही क्षण मेरा छापछोकको घरमा खानाखान गए त्यसपछि ९.३० बजे देखि पुनः उक्त मेरै पसलमा छु म उपर लगाइएको आरोप झूठ्ठा हो भन्ने दिपक भण्डारी समेतको अदालतमा बयान ।
१७. ०३८।७।२९ गते घरमा सत्य नारायणको पुजा लगाएर ऐ.३० गते ६ बजे देखि भद्री बुटीफरहोमको कार्य शुरु गरेको हुँ । सरजमीनका मानिसहरूले म माथि झुठ्ठा आरोप लगाएका हुन भन्ने प्र.सिद्धिमान श्रेष्ठ म घटनास्थल गएको छैन म माथि लगाइएको आरोप झुठ्ठा हो भन्ने खड्गबहादुर खड्का, मृतक सानो खिलबहादुरलाई मार्नेमा मेरो सहमत छैन ०३८ साल कार्तिक ३० गतेका दिन म आफ्नै घरमा बसेको छु भन्ने खड्गबहादुर श्रेष्ठ समेतको अदालतमा गरेको बयान ।
१८. मगरहरू खोली पारी वन जंगलमा थिए प्रतिवादीतर्फका मानिसहरू चाहि वारी पट्टी बीच मारपिट भएको मानिसहरू मृतक सानो खिलबहादुर र प्र.लोकबहादुर समेत त्यहाँ थिएनन् । प्र. बुद्धिबहादुर, प्र. हिमलाल, प्र.टेकबहादुर उक्त ढाडे खेतको डिलतिर बसेको देखेको हुँ उनीहरूको आपसमा कसरी कुटपिट भयो सो कुरा मलाई केही थाहा छैन मृतक कसको चोटले मर्यो म यकीन खुलाउन सक्तिन म माथि लगाइएको आरोपबाट सफाई पाउँ भन्ने समेत व्यहोराको झलकबहादुर श्रेष्ठले अदालतमा गरेको बयान ।
१९. अशान्ति भइरहेको देखी अशान्ति नहुन दिनकोलागि झगडा भएको ठाउँमा जान लागिरहेको थिएँ । वहाँ पुग्नु भन्दा २०।२५ गज टाढामा ठूलो खिलबहादुर भन्नेले खूर्पाले मलाई टाउकोमा हान्यो त्यो चोटले १०।१२ मिनेटसम्म व्यहोस भएँ । मृतकलाई मैले काट्यो भन्ने कुरा झुठ्ठा हो भन्ने समेत व्यहोराको लोकबहादुर श्रेष्ठले अदालतमा गरेको बयान ।
२०. ३० गते भन्दा अगावै २५ गते भारत नागालपनतर्फ भाइ भेट्न समेत गएको छु मेरो कुटपिटको पिडाबाट मृतक खिलबहादुरको मृत्यु भएको भन्ने कुरा झुठ्ठा हो भन्ने समेतको प्र.मदनबहादुर । सो वारदात भएको दिन म मेरो घरमा नै दिनभरी छु भन्ने प्र.नन्दलाल भन्ने नन्दबहादुर श्रेष्ठ र ०३८ साल कार्तिक ३० गते भन्दा अगावै देखि जि.टि रोड हवडाह कलकत्तामा भएको हुँदा झुठ्ठा आरोपबाट सफाई पाउँ भन्ने मोहलाल श्रेष्ठ समेत जना ३ ले गोरखा जि.अ.बाट जारी भएको ७० दिने म्यादी पूर्जी तामेल भएको म्यादैमा उपस्थित भई गरेको पृथक पृथक बयान ।
२१. जाहेरवाला सरजमीनका मानिस र प्रतिवादीहरूका साक्षी समेतको बकपत्र भई मिसिल सामेल रहेको रहेछ ।
२२. प्र.टेकबहादुरलाई वादी दावी बमोजिम ज्यानसम्बन्धी १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद र प्र.लोकबहादुर, प्र. बुद्धिबहादुर प्र.हिमलालले कुटपिट गरी वारदातमा उपस्थित भएको देखिँदा ज्यानसम्बन्धी १३(३) बमोजिम जन्मकैद र प्र.झलकबहादुरले सफाई पाउने र प्र.दिपक भण्डारी, प्र.मानसुन्दर, प्र.सिद्धिमान, प्र.खड्गबहादुर श्रेष्ठ, प्र.हर्कबहादुर, प्र.मदनप्रसाद, प्र.मोहनलाल, प्र.नन्दलाल, प्र.खड्गबहादुर खड्का, प्र.खड्गमान समेत उपर कसूर गरेको भए मौकैमा उजूरी दर्खास्तमा उल्लेख हुनुपर्ने सो भएको समेत नदेखिँदा निजहरू उपर वादी पक्षबाट १७(३) को दावी लिएको ठहर नहुने हुँदा सफाई पाउँने ठहर्छ भन्ने समेत व्यहोराको शुरु गोरखा जिल्ला अदालतको मिति ०३९।५।३०।४ को फैसला ।
२३. सबूद प्रमाणको मूल्याङ्कन भई प्रहरी प्रतिवेदनबाट ज्यानसम्बन्धी १७(३) नं. को सजायँको माग दावी लिइएका हर्कबहादुर श्रेष्ठ १, मानसुन्दर श्रेष्ठ १, दिपक भण्डारी १, सिद्धिमान श्रेष्ठ १, खड्कबहादुर श्रेष्ठ १, मोहनलाल श्रेष्ठ १, मदनबहादुर १, समेत जना १० लाई पनि शुरु प्रहरी प्रतिवेदन माग दावी अनुरुप सजायँ गरी पाउन सम्मानीत अदालत समक्ष सादर अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
२४. मैले अदालतमा गरेको बयान कसूरलाई स्वीकार गरेको नभई तथ्यलाई स्वीकार गरेको छु । मैले मार्ने मनसायबाट कुटपिट गरेको नभई विपक्षीले कुटपिट गर्न आएको हुँदा बचाउको लागि हात उठाएको हुँ । मृतक सानो खिलबहादुर लाठी लिएर तँलाई मार्छु भन्ने र म तिर आएको कारणले आत्मरक्षाको लागि मैले धकालेको हुँ । मलाई लाग्नै नसक्ने ज्यानसम्बन्धी महलको १३(३) को सजायँ गरेको कानुनोचित र न्यायोचित दुबैबाट मिलेको छैन । गोरखा जिल्ला अदालतको मिति ०३९।५।३० को फैसला बदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी टेकबहादुर श्रेष्ठको यस अदालतमा पर्न आएको पुनरावेदन ।
२५. मिसिलको अध्ययन गर्दा वरदात स्थलमा कुटपिट वारदात भइसकेपछि झलकबहादुर पुगेको भन्ने देखिन्छ । झलकबहादुरले मार भनी बचन दिएको भन्ने प्रमाणित हुनसकेको छैन । जाहेरवालाले अदालतमा बकपत्र गर्दा झलकबहादुरले कुटपिट पनि गरेको भन्ने कुरा स्वीकार गर्न मिलेन । मौकामा बचन दिएको भन्ने सम्म देखिन्छ । अन्य व्यक्तिहरूलाई ज्या.सं.का.१७(३) अन्तर्गत सजायँ हुनुपर्ने भन्ने जिकिरमा विचार गर्दा टेकबहादुरले कुटपिट गरेको भन्ने देखिन्छ । तर ज्यान मार्ने मत सल्लाहमा पसेको भन्ने कुरा प्रमाणित भएको पाइएन । तसर्थ श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अब प्र.टेकबहादुरको पुनरावेदन जिकिरमा विचार गर्दा टेकबहादुरले प्रहरी र अदालतमा बयान गर्दा मृतक सानु खिलबहादुरलाई घचेटी माटा ढुङ्गाले हिर्काइएको भन्ने कुरा स्वीकार गरेको पाइन्छ । सानु खिलबहादुरमा ज्यान मार्नु पर्ने सम्मको रिसइवी टेकबहादुरमा भए रहेको भन्ने देखिन्न । यस स्थितिको प्रस्तुत केशमा धानबाली काट्ने सन्दर्भमा दोहोरो कुटपिट भई उत्तेजनामा रिस थाम्न नसकी कुटपिट गरेको कारणबाट सानु खिलबहादुरको ज्यान मर्न गएको देखिँदा ज्या.सं.का १४ अन्तर्गतको वारदात कायम हुने ठहर्छ । अब पुनरावेदन नदिने लोकबहादुर, बुद्धिबहादुर, हिमलालका सम्बन्धमा अ.बं. २०५ बमोजिम विचार गर्दा ज्या.सं.का १३ नं. अन्तर्गतको वारदात कायम नभएको हुँदा निजहरूलाई जन्मकैद हुने भएन । यी प्रतिवादीहरूको हुल भई बाली काट्ने कुरामा रिस उठी सानु खिलबहादुरलाई कुटपिट गरी ज्यान मारेको देखिएको हुँदा ज्या.सं.का १४ नं. बमोजिम १० वर्षका दरले कैद हुने ठहरी गोरखा जि.अ.को इन्साफ केही उल्टी हुन्छ भन्ने समेत व्यहोराको प.क्षे.अ.को फैसला ।
२६. प.क्षे.अ.को उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्र.टेकबहादुरको र श्री ५ को सरकारको तर्फबाट पर्न आएको दोहोरो पुनरावेदन ।
२७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी टेकबहादुर श्रेष्ठलाई बेञ्चबाट बोलाउन लगाउँदा उपस्थित नभएको र पुनरावेदक श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा र पुनरावेदक टेकबहादुर श्रेष्ठको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले गर्नुभएको बहस जिकिर समेत सुनियो ।
२८. प्रस्तुत मुद्दामा प.क्षे.अ.बाट भएको निर्णय मनासिब बेमनासिब के रहेछ निर्णय दिनुपर्ने हुन आयो ।
२९. यसमा सर्वप्रथम प्रहरी माग दावी अनुसार प्र.झलकबहादुर समेत ५ जनाको हकमा ज्यान सम्बन्धीको १३(३) र हर्कबहादुर श्रेष्ठ समेत १० जनाको हकमा ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम सजायँ हुनुपर्ने भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिरमा विचार गर्दा प्रतिवादी झलकबहादुर वारदातस्थलमा कुटपिट वारदात भइसकेपछि पुगेको भन्ने कुरा मिसिलबाट देखिन्छ । निजले मृतकलाई मार भनी बचन दिएको भन्ने संकलित प्रमाणबाट देखिँदैन केवल जाहेरवालाले मौकामा जाहेरी दिँदा झलकबहादुरले वचन दिएको भन्ने उल्लेख गरेको र अदालतमा आई बयान गर्दा झलकबहादुरले पनि कुटपिट गरेको भन्ने उल्लेख गरेकै आधारमा निजलाई दोषी ठहराउन मिलेन । अब टेकबहादुर समेतका अन्य प्रतिवादीका हकमा विचार गर्दा योजना बनाई मार्ने नियतले मर्ने सानो खिलबहादुरलाई प्रतिवादी ४ जनाले कुटपिट गरेकोबाट निजको मृत्यु भएको भन्ने कुरा मिसिलबाट देखिन नआएको बाली काट्ने विषयमा दोहोरो कुटपिट भएको देखिने, टेकबहादुर श्रेष्ठको बयान हेर्दा रिस उठी कुटेको हो तर मार्ने नियतले कुटेको होइन भन्ने समेत उल्लेख गरेको र ज्यानसम्बन्धीको १३ नं. को अवस्था मिसिलबाट देखिन नआएकोले प्र.टेकबहादुर समेत ४ जनालाई ज्यानसम्बन्धीको १४ नं. अन्तर्गतको वारदात कायम गरी सजायँ गर्ने गरेको क्षे.अ.को इन्साफ मिलेकै देखिन्छ । अब हर्कबहादुर समेतका १० जनाको सम्बन्धमा विचार गर्दा निजहरू उपर जाहेरी नपरेको र प्र.हरू आरोपित कसूरमा इन्कार रहेको देखिँदा सबूद प्रमाणको अभावमा केवल वारदात अवस्थामा वारदात स्थलमा मौजूद थिए भनी सरजमीनका केही व्यक्तिले भनेकै आधारमा दोषी ठहराउन मिल्ने देखिएन । श्री ५ को सरकारको पुनरावेदन जिकिरसंग सहमत हुन सकिएन । अब पुनरावेदक टेकबहादुर श्रेष्ठको भवितव्य कायम हुनुपर्ने भन्ने जिकिरको हकमा मृतकलाई कान्लोबाट घचेटी दिँदा ज्यान मर्न गएको भन्ने नभई ढुङ्गा, माटा, काठले हिर्काएको भन्ने देखिने र प्र.टेकबहादुर कुटेकोमा सावित भई बयान गरेको देखिँदा भवितव्यको अवस्था देखिन नआएकोले निजको पुनरावेदन जिकिरसँग पनि सहमत हुन सकिएन क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी टेकबहादुर श्रेष्ठ कै माथि इन्साफ खण्डमा लेखिए बमोजिम क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहरी निर्णय भएकोले अ.बं.ले प्र. टेकबहादुरलाई कैद वर्ष १० गर्ने गरेकोमा पुनरावेदन गरे बापत अ.बं. २०३ नं. अनुसार कैद महीना ६ थप सजायँ हुन्छ बेरुजु हुँदा लगत कसी असूल उपर गर्नु भनी शुरु जि.अ.मा लगत दिन का.जि.अ.त.मा लगत दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४२ साल माघ २० गते रोज शुभम् ।