शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६०२ - खिचोला हक कायम

भाग: २८ साल: २०४३ महिना: बैशाख अंक:

निर्णय नं. २६०२     ने.का.प. २०४३ अङ्क १

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४१ सालको दे.पु.नं. ५४२

फैसला भएको मिति : २०४२।१०।२८।६ मा

 

पुनरावेदक/प्रतिवादी : का.न.पं.वडा नं.२३ झोछें बस्ने हेराशोभा तुलाधर

विरुद्ध

विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं.२३ बस्ने कुलमान बानियाँसमेत

 

मुद्दा : खिचोला हक कायम

 

(१)               साझा भए बण्डामा उल्लेख भएकोलाई आफ्नो भनी उजूर गरी बदर गराउनु पर्ने ।

(प्रकरण नं. १४)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल

विपक्षी/वादीतर्फबाट   : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी

 

फैसला

न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।४।१५।१ को फैसला उपर चित्त नबुझी प्रतिवादी हेराशोभा तुलाधरको पुनरावेदन गर्ने अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई बेञ्चसमक्ष पेश भइआएको प्रस्तुत खिचोला हक कायम मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छन् ।

२. श्री आगन देवताको प्रति गिरी नेपाल संवत् ८७१ चैत्र कृष्ण ४ का दिन सिलापत्र समेत राखी काठमाडौं झोछें टोल बानियाँ चोकको हाल न. पं.वार्ड नं.२३ अन्तर्गत झोछें बानियाँ टोल स्थित २ नाले ४ तेल दक्षिण मोहडा पक्की र झिंगटीको छाना भएको घरमा पूर्खा लक्ष्मीधर बानियाँले चोटा तलामा देवता स्थापना गरी गराई आफ्नु प्रतिमा र सिलापत्र राखी गुठी राख्‍नु भएको हामीले गुठी जानी भोगचलन गरी आएको ३ नं. नापी गोश्वारा ३ नं. नापी टोलीबाट नापी हुँदा कि.नं. १०१७ बाट नापी भई ७ दिने सूचना प्रकाशित भएको थियो हेराशोभा तुलाधरले सो आँगन घर मेरा नाउँमा दर्ता गरिपाउँ भनी दिएको निवेदनका सम्बन्धमा सर्भेबाट झिकाउँदा कुलमान बानियाँले आफ्नो भएको व्यहोरा खोली निवेदन दिनु भएकोमा झगडा जनाई दिने भनी सूचना प्राप्त गरेकोले फेराद गर्न आएका छौं बानियाको आँगन घरलाई व्यक्तिगत बनाउने बदनियतले खिचोला गरे गराएकोले खिचोला मेटाई हामी बानियाहरूको आँगन घर कायम गरिपाउँ भन्ने फिराद ।

३. विवादको घरमा प्र. हेराशोभाको पिता हेरारत्‍नको निजी एकलौटी घर हो १९९६ सालको घरदर लगतमा समेत दर्ता भएको छ पिता माताको मृत्यु भयो कान्छी आमा सप्तमाया ०३३ सालमा परलोक हुनु भयो काजक्रिया म र बैनी लक्ष्मीशोभाले गर्‍यौं बहिनीले गरी दिएको छोडपत्र समेतबाट मेरो एकलौटी घरलाई वादीहरूले झुठ्ठा उजूर गरेका हुन घर मेरै कायम गरिपाउँ भन्ने समेत प्रतिउत्तरपत्र ।

४. बण्डापत्रमा आफ्नै घर भन्ने उल्लेख भएको घरदरको लगत दिँदा हिरारत्‍नकै भनी दिएको साझा भए सोही बमोजिम घरदर हुनुपर्ने घरमा सप्तमाया बसेकी भन्ने कुरालाई वादीले नै स्वीकार गरेको कबूलियत छ भन्न नसकेकोले वादी दावीको घरमा देवता राखिएको सबै बानियाहरूले पूजा आजा गरिआएको र घरको हक हेरारत्‍नको नै रहेछ भन्ने देखिन आउँछ । सप्तमाया पछि घरको स्वामित्व अपुतालीको २ नं., को कानुनले छोरी हेराशोभाको कायम हुने र पूजा आजा सबै बानियाले गर्न पाउने घर साझा भन्ने वादी दावी नपुग्ने बकसपत्र पास नभएकोले बकसपत्रबाट मेरो भन्ने लेखरत्‍नको जिकिर नपुग्ने ठहर्छ भन्नेसमेत काठमाडौं जिल्ला अदालतको फैसला रहेछ ।

५.    सो इन्साफमा चित्त बुझेन भन्ने समेत वादी प्रतिवादी दुबैपक्षको अं.अ.मा पुनरावेदन परेको रहेछ ।

६. प्र.हेराशोभाको हककायम गर्ने गरेको शुरुको इन्साफ मिलेको देखिएन घर वादीहरूको साझा आगम घर कायम हुन्छ, प्र.हेराशोभाको पुनरावेदन जिकिर पुग्नसक्दैन भन्नेसमेत बा.अं.अ.को फैसला रहेछ ।

७. बागमती अञ्चल अदालतले गरेको कानुनी त्रुटिपूर्ण फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्र.हेराशोभाको निवेदनमा पुनरावेदनको अनुमति प्रदान गरिएकोछ भन्नेसमेत म.क्षे.अ.को आदेश ।

८. वादीदावीको घर वादीहरूको साझागुठीको घर कायम गर्ने गरी गरेको बा.अं.अ.को इन्साफ मनासिब छ पुनरावेदकको पुनरावेदन जिकिर पुग्नसक्दैन भन्नेसमेत म.क्षे.अ.को ०४०।४।१५ को फैसला रहेछ ।

९. वादीहरूको साझा गुठीको घर कायम गर्ने गरी गरेको बागमती अञ्चल अदालतको इन्साफ मनासिब ठहर गरेको म.क्षे.अ. को फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादी हेराशोभा तुलाधरनीको पर्न आएको निवेदनमा १९९६ सालमा हिरारत्‍नको नाउँमा दर्ता ००४ सालको बण्डापत्र तथा ०६ सालको छोडपत्रको मूल्याङ्कन नगरी म.क्षे.अ.ले गरेको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि देखिएको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको विषयको हुँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम प्रस्तुत मुद्दामा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको ०४१।४।२४।४ को आदेश रहेछ ।

१०.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश भई आएको प्रस्तुत विषयमा तारेखमा रही बेञ्च समक्ष उपस्थित भएका वादी तथा प्रतिवादी दुबैको वा.लाई समेत रोहवरमा राखी पुनरावेदक प्रतिवादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विपक्षी वादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले गर्नुभएको बहस जिकिर समेत सुनियो ।

११. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

१२. यसमा कुलमान बानियाको आँगन घरलाई व्यक्तिगत बनाउने बदनियतले खिचोला गरे गराएकोले खिचोला मेटाई हामी बानियाहरूको आँगन घर कायम गरिपाउँ भन्ने मुख्य जिकिर भएकोमा १९९६ सालको घरदरमा हेरारत्‍नको नाउँ अंकित भएकै कारणबाट अन्य सबूदको अभावमा सो लाई आधारभूत प्रमाण मान्न सकिँदैन अतः वादी दावीको घर वादीहरूको साझा गुठी घर कायम गर्ने गरी बा.अं.अ.ले गरेको इन्साफ सदर गरी म.क्षे.अ.ले इन्साफ गरेकोमा मिसिल संलग्न कागज हेर्दा शुरु मिसिलको फा.नं.७४ मा घर धनीमा हेरारत्‍न तुलाधर भनी १९९६ सालको घर संख्याको लगतमा उल्लेख भएको पाइन्छ । २००४ साल  चैत्र ६ गते रोज ५ मा पास भएको बण्डा बमोजिम हामीहरूको स्वबासी का.ई. झोछें बानिया चोकको पूर्व मोहडा उत्तर लढको डेढनाले चार तल्ले दुई कवले पक्की झिंगटी घर र सो घरले चर्चेको लगापात समेत भनिएको चार किल्लामा पूर्व साझाचोक पश्चिम ज्ञानकाजीको घर, उत्तर सप्तमायाको घर, दक्षिण आफ्नै आँगन घर भनी २००६ साल मार्ग २७ गते रजिष्ट्रेशन पासभएको फार्छेपत्रको फा.नं.४७ मा उल्लेख गरेको पाइन्छ ।

१३. यस पास लिखत उपर वादीहरूको उजूर परेको पाइँदैन, उक्त कागजहरूबाट विवादको घर प्रतिवादीहरूको भएकोमा विवाद छैन ।

१४. सर्भेनापीमा हेराशोभाले सो घर एकलौटी भनी आफ्नो नाउँमा दर्ता गराउन सकेको नदेखी कि.नं.१०१७ बानिया चोकको बानियाहरूको साझा आँगन घर भन्ने जनिएकोले विवादको कि.नं.१०१७ को घर वादी पुनरावेदकहरूको साझा आँगन घर देखिन आएकोले प्रतिवादी हेराशोभाको हक कायम गर्ने गरेको शुरुको इन्साफ बदर गरी उक्त घर वादीहरूको साझा आँगन घर कायम हुने ठहराएको बा.अं. को इन्साफलाई सदर गरी म.क्षे.अ.ले निर्णय गरेकोमा उक्त इन्साफ मिति २००४ सालको बण्डापत्र र २००६ साल मार्ग २७ गतेको रजिष्ट्रेशन पास भएको फार्छे पत्रको मूल्याङ्कन गरी गर्नुपर्नेमा सो नगरी गरेको म.क्षे.अ.को इन्साफ बदर ठहर्छ । साझा हक भए सोही बमोजिम घरदर हुनुपर्ने नभएको सो घरमा सप्तमाया बसेकी भन्ने कुरालाई वादीले स्वीकारै गरेको कबूलियत छ भन्न नसकेको, साझा भए बण्डामा आफ्नो उल्लेख भएकोलाई भनी उजूर गरी बदर गराउनु पर्ने सो नभएको कारणबाट दावीको घरमा देवता राखिएको र सबै बानियाले पूजा गर्ने र घर हक हेरारत्‍न सप्तमायाको नै देखिन आएको र सप्तमायापछि सो घरको स्वामित्व अपुतालीको २ नं.ले छोरी हेराशोभाको ठहर गरेको शुरु जि.अ.को इन्साफ मनासिब ठहर्छ अरु तपसिल बमोजिम गरी मिसिल बुझाइदिनू ।

तपसील

माथी इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ बदर भई शुरु जि.अ.को इन्साफ मनासिब भई फैसला भएको हुँदा पुनरावेदक प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा रु.१७७।दाखेल गरेको र म.क्षे.अ.मा पुनरावेदन गर्दा दाखिल गरेको रु.१७७।गरी जम्मा रु.३५४।दाखेल गरेको देखिँदा पु.प्र. हेराशोभा तुलाधरले ऐनको म्यादभित्र विपक्षी वादीहरूबाट भराई पाउँ भनी दर्खास्त दिई आए ऐन बमोजिम देहायका वादीहरूबाट प्रतिवादी हेराशोभालाई देहायका रकम भराई दिनु भनी शुरु का.जि.अ.त.मा लगत दिनु............१

वादी कुलमान बानिया के रु.५०।५७ पै. वादी ज्ञानमाया बानिया रु.५०।५७ वादी दीर्घमान बानिया रु.५०।५७ वादी सानुकाजी वानिया रु.५०।५७ वादी तिर्थमान बानिया रु.५०।५७ वादी कमलकाजी वानिया रु.५०।५७ वादी मोतीकाजी वानिया रु.५०।५७ माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ उल्टी हुँदा म.क्षे.अ.को मुख्य मा.न्या.श्री पृथ्वीबहादुर सिंह र मा.न्या.श्री केशवप्रसाद उपाध्यायको उल्टीमा रेकर्ड राख्‍नु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४२ साल माघ २८ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु