निर्णय नं. २६०३ - घर भत्काई पाउँ

निर्णय नं. २६०३ ने.का.प. २०४३ अङ्क १
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४१ सालको दे.पु.नं. ७६६
फैसला भएको मिति : २०४२।११।३०।५ मा
पुनरावेदक/वादी : भ.पु.जि.न.पं.वडा नं.१६ लेखाचो बस्ने कृष्णभक्त भुजू
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ.वडा नं.१३ घरखा टोल बस्ने तुल्सीभक्त त्वायना
मुद्दा : घर भत्काई पाउँ
(१) घर बनाएको कुरामा घर बनाउनेको ११ नं. अनुसारको म्यादभित्र उजूर गर्न पर्नेमा सो गरेको समेत नदेखिँदा वादी दावी नपुग्ने ।
(प्रकरण नं. १२)
पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री निरन्जनराज अर्याल
विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री बाबुराज जोशी
फैसला
न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।१।१४ को फैसला उपर प्रतिवादीको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परी अुनमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, पुनरावेदन जिकिर एवं निर्णय यसप्रकार छ ।
२. पिता कृष्णबहादुरका नाउँमा भ.पु.मालमा दर्ता रहेको जग्गा म र भाइ २०३० सालमा बाबुसँग भिन्न भई पिताजीले छोडपत्र गरी ०३५।३।१५ मा रजिष्ट्रेशन भई भ.पु. सिपाडोल गा.पं.वार्ड नं. १(क) कि.नं. १४१ को जग्गा रोपनी ६।४।३ मेरो नाममा नामसारी दर्ता गरी मेरो हक भएको कि.नं.१४१ को जग्गा विपक्षीले मोही भई कमाई आएको जग्गामा कुरुवा छाप्रोसम्म भएकोमा ०३९।३।२० गते मसँग नसोधी कच्ची घर बनाएकोमा जवाफ दिएँ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(३) अनुसार खेतीलाई आवश्यक नभएको घर इत्यादी जग्गावालाको मन्जूरी नलिई बनाउन हुँदैन । घर बनाउनेको १ नं. र ४ नं. विरुद्ध कि.नं. १४१ को कच्ची घर भत्काई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. फिराद अनुसार ०३६।३।२० मा मात्र विवादको घर बनाएको होइन, विपक्षी जग्गाधनीको पिताजी जीवित रहेको अवस्थामा नै निजको स्वीकृति लिएर मैले ०२१ साल चैत्रमा नै सो जग्गामा पक्की घर बनाई बसी भोगचलन गरी आएको हुँदा विपक्षीको दावी अनुसारको कुरा झुठ्ठा हो । उपरोक्त घर मर्मत गर्न स्वीकृति पाउँ भनी सिपाडोल गा.पं.मा निवेदन दिई स्वीकृति लिएर भोग गरीआएकोबाट देखिन आउँछ । दावीबाट फुर्सद पाउँ भन्ने प्रतिउत्तरपत्र ।
४. वादीदावी पुग्न नसक्ने ठहर्छ भन्नेव्यहोराको ०३६।९।८।१ को भक्तपुर जि.अदालतको फैसला ।
५. उपरोक्त फैसलामा चित्त बुझेन मेरो दावी बमोजिम गरिपाउँ भन्ने व्यहोराको वादीको बा.अं.अ.मा पुनरावेदनपत्र परेको ।
६. वादी दावीको जग्गामा भएको प्रतिवादीको साविकको भुईतले कुरुवा छाप्रो कायमै राखी सो भुईतला माथि उठाएको तला, घर बनाउनेको ४ नं.बमोजिम प्रतिवादीले नभत्काएमा वादीले भत्काई लैजान पाउने हुँदा वादी दावी नपुग्ने गरी शुरु जिल्ला अदालतले गरेको फैसला उल्टी हुने ठहर्छ भन्ने व्यहोराको ०३८।१०।१२ को बा.अं.अ.को फैसला ।
७. उपरोक्त फैसलामा चित्त बुझेन बा.अं.अ.को फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने व्यहोराको प्रतिवादीको म.क्षे.अ.मा निवेदन परी अनुमति प्रदान भई पुनरावेदन दर्ता भएको रहेछ ।
८. वादीले अञ्चल अदालतमा पुनरावेदन गर्दा पुनरावेदनको प्रकरण १२ मा २०२१ सालमै दुईतले पक्की घर बनाएको भए पनि मेरो स्वीकृति लिएको प्रमाण छैन भनी उल्लेख गरेकोबाट २०२१ सालमै २ तले पक्की घर बनेको भन्ने देखिन आएको छ । सर्भे नक्शामा हुन पर्ने भन्नलाई २०२१ साल चैत्र महीनामा पक्की घर बनाई बसी भोग चलन गरी आएको भन्ने प्रतिउत्तर लेखाई भएको र मिसिल संलग्न सर्भे नक्शाबाट नापीको काम २०२१।९।२२ मा शुरु भई २०२१।१०।८ मा समाप्त भएको भन्ने देखिएबाट नक्शामा जनिने अवस्था देखिएन । २०२१ सालमा नै घर बनी तयार भएको कुरामा घर बनाउनेको ११ नं. अनुसारको म्यादमा वादीले उजूर गर्न सकेको पाइँदैन र घर बनाउनेको ११ नं. को म्यादभित्र भनी वादीले फिराद गरेको छँदाछँदै अ.बं. ३९ नं. ले जहिलेसुकै पनि नालिश गर्न पाउने भन्ने अं.अदालतको तर्क पनि मिलेको भन्न सकिएन । तसर्थ घर भत्काउन पाउने ठहर्याएको बा.अं.अ.को इन्साफ उल्टी हुन्छ भन्ने व्यहोराको म.क्षे.अ.को फैसला ।
९. म.क्षे.अ.को उपरोक्त फैसलामा सार्वजनिक महत्वको विषयमा गम्भीर कानुनी त्रुटिपूर्ण एवं बदरभागी हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी कृष्णभक्त भुजूको यस अदालतमा निवेदन परेकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २६(३) को त्रुटि देखिएको त्यस्तो त्रुटि सार्वजनिक महत्वको विषय समेत देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने स.अ.डिभिजनबेञ्चको मिति २०४१।२।१७।४ को आदेश ।
१०. नियमानुसार दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा उपस्थित पु.वे.वादीको वारेस र विपक्षीलाई रोहवरमा राखी पुनरावेदकतर्फबाट विद्वान अधिवक्ता श्री निरञ्जनराज अर्यालले र विपक्षीतर्फबाट विद्वान अधिवक्ता श्री बाबुराज जोशीले गर्नुभएको बहस समेत सुनियो ।
११. प्रस्तुत विषयमा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको मिति ०४१।१।१४ को इन्साफ मिले नमिलेको के रहेछ सोतर्फ नै निर्णय गर्नुपर्ने हुन आयो ।
१२. यसमा निर्णयतर्फ विचार गर्दा मेरो हकको कि.नं.१४१ मा विपक्षी मोहीले ०३६।६।२० मा मेरो मञ्जूरी नलिई बनाएको घर भत्काई पाउँ भन्ने वादी दावी भएकोमा उक्त घर ०२१ साल चैत्रमा वादीको बाबुको स्वीकृत लिएर बनाएको हो भन्ने प्रतिवादी भनाई भएको देखिन्छ । वादीको साक्षी रामबहादुरले पनि पहिले नै २ तले घर थियो भनी प्रतिवादी कथनलाई पुष्टि गरेको छ । २०२१ सालमा २ तले पक्की घर बनाएको भएपछि मेरो स्वीकृति लिएको छैन भनी स्वयं वादीले बा.अं.अ.मा गरेको पुनरावेदनको प्रकरण १२ मा उल्लेख गरेकोबाट ०२१ सालमै पक्की घर बनेको भन्ने देखिन्छ र २०२१ साल चैत्रमा नै घर बनाई बसी आएको भनी प्रतिउत्तर जिकिर भएको हुँदा ०२१।९।२२ देखि २०२१।१०।८ सम्म भएको नक्शामा उक्त घर उल्लेख हुनुपर्ने भन्ने पनि मिलेन । २०२१ सालमा घर बनाएको कुरामा घर बनाउनेको ११ नं. अनुसारको म्यादभित्र उजूर गर्न पर्नेमा सो गरेको समेत नदेखिँदा वादी दावी नपुग्ने गरी शुरु जिल्ला अदालतले गरेको फैसला सदर गरी बा.अं.अ.ले घर भत्काई पाउने ठहर्याएको इन्साफ उल्टी गरी गरेको म.क्षे.अ.को इन्साफ मनासिब हुँदा सदर हुने ठहर्छ । अरु तपसील बमोजिन गर्नु ।
तपसील
माथी ठहर खण्डमा लेखिए अनुसार म.क्षे.अ.को इन्साफ मनासिब हुँदा पुनरावेदक वादीलाई सजायँ गर्न पर्छ कि भन्नलाई कोर्टफी लागी दायर भएकोले केही गर्नु परेन...........१
अरु म.क्षे.अ.को लगत कायम गर्नू .........२
नियमानुसार गरी मिसिल बुझाइदिनू ..............३
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४२ साल फाल्गुण ३० गते रोज ५ शुभम् ।