शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६०५ - कीर्ते

भाग: २८ साल: २०४३ महिना: बैशाख अंक:

निर्णय नं. २६०५     ने.का.प. २०४३ अङ्क १

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४१ सालको फौ.विविध नं. ११०

फैसला भएको मिति : २०४३।१।३१।४ मा

 

निवेदक/प्रतिवादी : विराटनगर न.पं.वार्ड नं.१ बस्ने नाफालाल थारु

विरुद्ध

विपक्षी/वादी : ऐ ऐ.बस्ने अम्बरलाल थारु

 

मुद्दा : कीर्ते

 

(१)         पक्ष तारेखमा छँदाछँदै मुद्दा डिसमिस गर्ने गरेको पू.क्षे.अ.को फैसला मुलुकी ऐन, अ.बं. १७९ को विपरीत भई त्रुटिपूर्ण भएकोले बदर हुने ।

(प्रकरण नं. २०)

 

निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा

 

फैसला

न्या.पृथ्वीबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई विविधको लगतमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर निम्न छ ।

२. अमृतीय मेरी जेठी श्रीमती र नाफालाल छोरा हुन् हामीहरू बीच २०३०।३।१७।२ मा अंशबण्डा पास गरी अंश भागको जग्गा खाई आएको ज.वि.१६४ मध्ये ०० म अमरलालको भागमा र ७४ अमृतीयाको अंश भागमा परी निजको नाउँको जग्गा मलाई छोडपत्र गरी जि.पं.मा मेरो नाउँमा दा.खा.भई भोग गर्दै आई सर्भेमा मेरै नाउँमा नापी भई धनी पूर्जा समेत पाइसकेको थिएँ । उक्त बण्डापत्र पेश गरी नाफालाल किरणराज नेपाल समेत सरिक भई मलाई समेत साक्षी राखी मिति ०२८।१।२१ को कीर्ते वारीसनामा खडा गरी छोडपत्र गरी मलाई दिएको उक्त जग्गा अमृतीयाको नाउँमा दर्ता गरिपाउँ भनी मिति ०२८।१।२४ मा भू.प्र.का.मा निवेदन गरेछन् ।

३. अमृतीयाको कीर्ते वारीसनामाबाट दिएको निवेदनमा भू.प्र.का बाट मेरो नाउँमा सूचना नआउँदै ०२८।१०।१४ गते मेरो नाउँको २०२६ सालको २ नं. रसीद समेत नाफालालले चोरी गरी लगेका र अमृतीयाले भू.प्र.का.मा निवेदन गरेपछि काम अवस्थाले आउन नपाउँदा कृष्णबहादुरलाई वारीस गरी पठाएको छु, निजले बयान सनाखत समेत गरेमा मन्जूर छ भनी मेरो बोली पारी ल्याप्चे हस्ताक्षर समेत कीर्ते बनाई अमृतीयाले दावी गरेको जग्गाको निजलाई पूर्जा दिए मन्जूर छ भनी कृष्णबहादुरले भू.प्र.का मा बयान गरेछन् । मेरो नाउँको दर्ताको जग्गा विगहा ७।।।१ मिति ०२८।७।१७ को भू.प्र.का.को. निर्णय बमोजिम नाफालालले अमृतीयाको नाउँमा दर्ता गराएका हुँदा यसरी कीर्ते वारीसनामाबाट अमृतीयाका नाउँमा दर्ता भएको जग्गाको दर्ता बदर गरी मेरो दर्ता कायम गरी कीर्ते गर्ने विपक्षीहरूलाई सजायँ समेत गरिपाउँ भन्ने व्यहोराको अम्बरलालको फिराद दावी ।

४. बण्डापत्र बमोजिम जग्गा दर्ता गराउन अमृतीयाले मलाई वारेसनामा दिएका हुन् । किरणराजले लेखेको हुन् । हामीले निवेदन दर्ता गरी सकेपछि तिमीहरूको दर्खास्त परिसकेछ, जग्गा दर्ता गराउनु म जान्न वारीस र रसीद दिई पठाउने छु । भनी वादीले भन्नु भएको हो । त्यसपछि कसलाई वारीसनामा दिए थाहा भएन । वादी दावी बमोजिम अमृतीयाका नाउँको वारीसनामामा कीर्ते गरे गराएको छैन । झुठ्ठा फिराद दावीबाट फुर्सत पाउँ भन्ने भन्ने व्यहोराको नाफालाल समेतको प्रत्यूत्तर जिकिर ।

५.    वारीसनामा प्र.नाफालालले कीर्ते गरेको र त्यस आधारमा अम्बरलालकै नाउँको जग्गा अमृतीयाको नाउँमा दा.खा.गरे गराएको सदरहुँदैन भन्नेसमेत व्यहोराको मो.जि.अ.को मिति ०३०।७।१ को फैसला ।

६. मारेङ्ग जिल्ला अदालतको फैसलामा चित्त नबुझी प्र. नाफालाल समेतले कोशी अञ्चल अदालतमा मिति ०३०।८।११ मा पुनरावेदन गरेका रहेछ ।

७. वादी दावी नै खारेज हुने ठहर्छ भन्ने कोशी अञ्चल अदालतबाट मिति ०३०।१२।९।१ को फैसला ।

८. उक्त अदालतको फैसलामा चित्त नबुझी वादी अमरलालले पूर्वाञ्चल क्षेत्रीय अदालतमा दिएको पुनरावेदनमा दुबै पक्षको पुनरावेदनपत्रको एकै पटक निर्णय गर्नु भनी मिसिल कोशी अञ्चल अदालतमा पठाई दिनु भन्ने पू.क्षे.अ.को ०३२।१०।१४ को फैसला ।

९. शुरु जिल्ला अदालतको फैसला बदर गरी दिएको छ, अब प्र.सम्पतलाल, नारायणलाल समेतका नाउँमा म्याद जारी गरी कानुन बमोजिम तामेल गरी कारवाही गर्नु भनी मिसिल शुरु मोरङ्ग जि. अदालतमा पठाई दिनु भन्ने कोशी अञ्चल अदालत धरानको मिति ०३४।४।१८।३ को फैसला ।

१०.    अम्बरलालको कीर्ते वारीसनामा बनाई प्र.नाफालालले दर्ता कारवाही गरेको ठहर्छ भन्ने समेत व्यहोराको मोरङ्ग जिल्ला अदालतबाट मिति २०३६।५।१ मा भएको फैसला ।

११. मोरङ्ग जिल्ला अदालतको फैसलामा चित्त बुझेन फैसला उल्टाई झुठ्ठा दावाबाट फूर्सत गरिपाउँ भन्ने समेत व्यहोराको प्र.नाफालालले मिति ०३६।६।२९ मा पू.क्षे.अ.मा गरेको पुनरावेदन ।

१२. यसमा लगाउको दर्ता बदर मुद्दामा भएका आदेशानुसारको कार्य सम्पन्न भई आएपछि यस अदालतमा हाजिर हुने तारीख तोकी पठाई दिनु भनी यस मुद्दामा हाजिर रहेका पक्षलाई मोरङ्ग जिल्ला अदालतमा तारेख तोकी पठाई दिनु भन्ने पू.क्षे.अ.बाट ०३८।३।२४ मा भएको आदेश ।

१३. यसमा नाफालाल थारुको वारीस भई भरतप्रसाद गुप्ताले पुनरावेदन दायर गरेको, त्यस पछि नाफालालले लक्ष्मीप्रसाद श्रेष्ठलाई ०३७।३।४ मा वारिस बदलेको सो पछि भरतप्रसादले नेत्रप्रसादलाई वारेस दिएको र भरतप्रसादले ०३८।५।२१ मा मुद्दा सकार गरेको देखियो तर पुनरावेदक नाफालाल देखिएको र नाफालालले त्यस पश्चात भरतप्रसादले यो मुद्दा सकारेको कानुनन् भएन, पुनरावेदकले तारीख गुजारेको मान्नु परी अ.बं. १७९ नं.बमोजिम पुनरावेदन डिसमिस हुने ठहर्छ भन्ने व्यहोराको पू.क्षे.अ.बाट ०३८।१०।२१ मा भएको फैसला ।

१४. पू.क्षे.अ.ले डिसमिस गरेको इन्साफ मिलेको नहुँदा अ.बं. २०२ नं.बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने २०४२।६।७ को यस अदालतको डि.बे.को आदेश ।

१५.   पू.क्षे.अ.को फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालतमा प्रतिवादी नाफालालको निवेदन परेकोमा पुनरावेदन गर्ने अनुमति दिन मिलेन भन्ने आदेश भएपछि पुनः पू.क्षे.अ.को इन्साफ दोहर्‍याई दिनु भन्ने आदेश बक्स पाउँ भनी निज प्र.नाफालालको श्री ५ महाराजाधिराजको हजूरमा निवेदन परी पू.क्षे.अ.को इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने यस अदालतका नाउँमा हु.प्र.बक्स भई विविध लगतमा दर्ता भई पेश हुन आएको रहेछ ।

१६. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले अ.बं. १७९ अनुसार दुबै पक्षले तारेख गुजारेमा मुद्दा डिसमिस हुने हो, प्रस्तुत मुद्दामा त्यसो नभई पक्ष हाजिरै छन् । वारेस बस्ने भरतप्रसादको वारेसनामा कानुन बमोजिम भएन भन्ने हकमा भरतप्रसादलाई वारेस सकार गराउनु अदालतको गल्ती हो । तसर्थ यस्तो अवस्थामा अ.बं. १७९ बमोजिम मुद्दा डिसमिस गर्ने गरेको त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भन्ने र विपक्षी वादीतर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्माले अर्को मुद्दालाई मेरो मुद्दा भनी भरतप्रसादले मुद्दा सकार गरी तारेखमा बसेको हुँदा त्यस्तो व्यक्तिलाई तारेखमा बसेको मान्न मिल्दैन । त्यसकारण त्यस्तो अवस्थामा पू.क्षे.अ.ले डिसमिस गर्ने गरेको फैसला कानुन बमोजिम हुँदा बदर हुनुपर्ने होइन भन्ने समेत गर्नुभएको बहस समेत सुनियो ।

१७. अब पू.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ । सो को निर्णय दिनु परेको छ ।

१८. निर्णयतर्फ विचार गर्दा यसमा भरतप्रसादले मुद्दा सकार गरेको कानुनन् नभई पुनरावेदकले तारेख गुजारेको मान्नु परी अ.बं. १७९ बमोजिम मुद्दा डिसमिस हुने ठहर्छ भनी पू.क्षे.अ.बाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर होस् भन्ने मुख्य पुनरावेदन जिकिर देखिन्छ ।

१९. प्रस्तुत मुद्दामा अदालतबाट भरतप्रसादलाई मुद्दा सकार गराई निजलाई तारेखमा राखेको देखिन्छ । र निज भरतप्रसाद तारेखमा छँदाछँदै भरतप्रसादले मुद्दा सकारेको कानुन बमोजिम भएन भनी मुद्दा डिसमिस गरेको देखिन आएको छ ।

२०.   भरतप्रसादलाई तारेखमा राख्‍न मिल्ने नमिल्ने कुरा छुट्याउने अदालतको अधिकार तथा कर्तव्यको कुरा हो तारेखमा राख्‍न नमिल्ने भए अदालतले भरतप्रसादलाई मुद्दा सकार्न नै दिन हुने थिएन । शुरुमा थाहा नभई तारेखमा रहेको भए थाहा भएपछि उसै बखत निजको तारेख टुटाई तत्सम्बन्धी आवश्यक कारवाही गर्नुपर्ने थियो त्यसो नगरी यसरी अदालतले नै निज भरतप्रसादलाई मुद्दा सकार गराई तारेखमा राखी फैसला हुँदा भरतप्रसादले मुद्दा सकार गरेको कानुन बमोजिम भएन भनी निज भरतप्रसाद तारेखमा छँदाछँदै मुद्दा डिसमिस गरेको देखिन आएको छ । अ.बं. १७९ अनुसार दुबै पक्षले तारेख गुजारेको भएमा मात्र मुद्दा डिसमिस हुने हो । प्रस्तुत मुद्दामा त्यस्तो स्थिति छैन । यहाँ पुनरावेदक पक्ष हाजिर छन् । अदालतको भूलले सकार्न नपाउने मुद्दा सकार्न दिई भरतप्रसाद तारेखमा रहेका छन् । यसरी एक पक्ष हाजिर रहेको अवस्थामा मुद्दा डिसमिस हुन सक्ने होइन । साथै अदालतको भूलबाट पक्षको हक जान सक्ने होइन । तसर्थ पक्ष तारेखमा छँदाछँदै मुद्दा डिसमिस गर्ने गरेको पू.क्षे.अ.को फैसला मुलुकी ऐन, अ.बं. १७९ को विपरीत भई त्रुटिपूर्ण भएकोले बदर हुने ठहर्छ । अब कानुन बमोजिम जो जे ठहर्छ इन्साफ गर्नु भनी पक्ष विपक्षलाई तारेख तोकी मिसिल पू.क्षे.अ.मा पठाई दिने ठहर्छ ।

 

उक्त रायमा म सहमत छु ।

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४३ साल बैशाख ३१ गते रोज ४ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु