शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६०२ - अंश

भाग: ३० साल: २०४५ महिना: माघ अंक: १०

निर्णय नं. ३६०२     ने.का.प. २०४५                 अङ्क १०

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४४ सालको दे.पूर्ण इजलास नं. १०५

फैसला भएको मिति : २०४५।९।२९।५ मा

 

निवेदक/वादी : सर्लाही मलंगवा गा.पं.वा.नं.२ बस्ने रामप्यारीदेवी श्रेष्ठ

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.वा.नं.८ बस्ने कृष्णबहादुर श्रेष्ठ

 

मुद्दा : अंश

 

(१)                अंशियारहरुका बीच छुट्टी भिन्न भई आफ्नो व्यवहार गरी आएकोमा मानो छट्टिइएको लिखत हुनु अनिवार्य भएको भन्न नमिल्ने ।

(प्रकरण नं. १६)

 

निवेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना र विद्वान अधिवक्ता श्री सुनिल अधिकारी

विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जूनाफमा सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ फुल बेञ्चबाट दोहराई पाउँ भनी वादीले चढाएको विन्तिपत्रमा त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको अंश मुद्दा फुल बेञ्चबाट दोहराई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारको विशेष जाहेरी विभागबाट मिति २०४३।४।२९ मा तोक लागी आई सम्मानीत प्रधान न्यायाधीश ज्यूका आदेशानुसार पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :

२.    यसमा हर्कबहादुरको ३ छोरा मध्ये जेठा गजेन्द्रबहादुर, माहिला कृष्णबहादुर, कान्छा वीरेन्द्रबहादुर भएको गजेन्द्रबहादुर १५१६ वर्षदेखि नमालुम कहाँ जानु भयो मरे बाँचेको थाहा छैन । कान्छी म रामप्यारीको पति म विष्णुकुमारको बाबु हो । प्रतिवादी धीरेन्द्रबहादुर म रामप्यारीको छोरा नाता पर्ने र म विष्णुकुमारको सौतेनी भाइ नाताको हो । गजेन्द्रबहादुर विदेशीएपछि वीरेन्द्रबहादुर मानो छुट्टिई १२१४ वर्षदेखि भात भान्सा अलग गरी बसेको वीरेन्द्रबहादुर परलोक हुनु भन्दा केही दिन अघि धीरेन्द्र राजकाज मुद्दामा जेल परेको र म रामप्यारी म विष्णुकुमारलाई गाली गरी दुव्र्यवहार गरेबाट म विष्णुकुमार भारत गोरखपुरमा गई ड्राइभरी काम गरी बसी गुजारा चलाएको मिति २०३७।२।१ मा घर आउँदा आमा रामप्यारीलाई सारै दुःख दिइराखेको रहेछ । अंश छुट्याई दिनुहोस् भनी मिति २०३७।२।१२ गते प्रतिवादी कृष्णबहादुरलाई भन्दा धीरेन्द्रले अंश मुद्दा चलाई दावी छोडी मिलापत्र गरिसकेको छ । अंश लिन्छौ भनी भनेकाले अदालतमा गई बुझ्दा धीरेन्द्रले कृष्णबहादुर उपर अंश मुद्दा दिई दावी छाडी मिति २०३६।१२।१५ मा मिलापत्र गरेको मिति २०३७।२।१२ मा नक्कल लिँदा थाहा हुन आएकोले प्रतिवादी धीरेन्द्रले दावी छाडी मिलापत्र गर्दैमा हाम्रो हक जाने होइन । श्रीसम्पत्तिको तायदाती लिई हामीले पाउने ३ खण्डको १ खण्ड अंश पाउँ भन्ने समेत व्यहोराको रामप्यारी र विष्णुकुमारको संयुक्त फिरादपत्र रहेछ ।

३.    वादीहरुको घरको मुख्य प्रतिवादी धीरेन्द्र हो धीरेन्द्रले आफ्नो बाबुका अंश ३ खण्डको १ खण्ड अंश पाउँ भनी मिति २०३६।९।२९ मा दे.नं. ११८ को अंश मुद्दा दिएकोमा अंश पाउन नसक्ने हुँदा दावी छाडी मिलापत्र गरेको छ । पिता हर्कबहादुरको आर्जनको घरद्वार समेतको केही छैन । बाबु आमा वीरेन्द्रबहादुरका साथमा हुनुहुन्थ्यो । संखुवा मौजा १०१२ वर्षदेखि भोगी डम्बरबहादुरलाई बिक्री गरेको छु । त्यसमा कसैको हक भए उजूर गर्नुपर्ने गर्नसकेको समेत छैन । बाबु आमासँग म कृष्णबहादुर १९९४/१९९५ सालतिर देखि अलग भई आफ्नो मेहनत ज्ञानसीपबाट कमाएकोमा अंशबण्डाको १८ नं. ले वादीहरुको अंश हक लाग्ने होइन भन्ने समेत व्यहोराको कृष्णबहादुर श्रेष्ठको प्रतिउत्तरपत्र रहेछ ।

४.    प्रतिवादी धीरेन्द्रबहादुरले मिति ०३७।५।१३ मा आफैंले बुझी तामेल भएको म्याद गुजारी बसेको ।

५.    पैतृक वा सगोलको आर्जनको श्रीसम्पत्ति भन्ने वादी पक्षबाट समेत वादीलाई समर्थन नमिलेको प्रतिवादीको साक्षीले लेखिएको अनुसार प्रतिवादी जिकिरलाई समर्थन गरेको देखिन आएको समेत हुँदा प्रतिवादीको जो श्रीसम्पत्ति छ सो निजकै सीप प्रयासबाट निजी आर्जन गरेको रहेछ भन्ने कुरा मिसिल पत्रबाट देखिन आएकोले त्यस्तो सम्पत्ति बण्डा गर्न अंशबण्डाको १८ नं. ले कर नलाग्ने हुँदा वादी दावी अनुसार अंश पाउने ठहर्दैन भन्ने समेत व्यहोराको सर्लाही जिल्ला अदालतको मिति २०३८।४।१२ गतेको फैसला ।

६.    सो फैसलामा चित्त बुझेन भन्ने वादी रामप्यारी, विष्णुकुमार समेत जना दुईको मध्यमाञ्चल क्षेत्रीय अदालतमा दिएको पुनरावेदनपत्र ।

७.    शुरुमा फैसला नमिलेकोले अ.बं.२०२ नं.बमोजिम विपक्षी प्रतिवादीलाई झिकाउने भन्ने समेत आदेश ।

८.    फिराद परेको अघिल्लो मिति २०३७।२।२१ गतेसम्मको बण्डा गर्नुपर्ने अंश धन चलअचल गैर श्रीसम्पत्तिको तायदाती फाँटवारी अंशबण्डाको २०, २१ २२ र २३ नं.बमोजिम वादी प्रतिवादीहरु दुवै मध्येबाट दाखिल गराई सोमा लाग्ने कोर्ट फी समेत वादीबाट लिई पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०४०।५।२८ गतेको मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश ।

९.    वादीले मिति २०४०।६।१२ मा प्रतिवादी कृष्णबहादुरले मिति २०४०।९।२७ मा दाखिल गरेको श्रीसम्पत्तिको तायदाती फाँटवारी ।

१०.    यसमा हर्कबहादुरको छोराका वीरेन्द्र समेत जना ३ भएको भनी निज वीरेन्द्रको हकमा पर्ने ३ खण्डको १ खण्ड रामप्यारी र विष्णुकुमार समेत जना दुईको फिराद पर्न आएको देखिन्छ । निज वीरेन्द्रको छोरा वीरेन्द्रबहादुरलाई समेत देखाइएको छ । निज वीरेन्द्रले अंश पाउने स्थितिमा निज परलोक भइसकेको भन्ने हुँदा निजको सम्पत्तिमा निज परलोक भईसकेको भन्ने हुँदा निजको सम्पत्तिमा वादी र धीरेन्द्र समेत जना ३ को हक लाग्नेमा निजहरु मध्ये धीरेन्द्रले निज प्रतिवादी कृष्णबहादुर उपर अंश मुद्दा गरी शुरु सर्लाही जिल्ला अदालतमा मिति २०३६।१२।१५ मा दावी छोडी मिलापत्र गरेको प्रमाणको मिसिलबाट देखिन आएको र प्रस्तुत मुद्दा मिति २०४०।११।२८ मा डिसमिस भएकोमा वादी रामप्यारीको हकमा शैलेस भट्टले थमाउने निवेदन दिएको र थामी पाई मिति २०४०।१२।२४ मा डिसमिस गरेको देखिनाले समेत वादी रामप्यारी बाहेक अरुका हकमा विचार गरी रहनु पर्ने स्थिति भएन । वादी रामप्यारीका हकमा हेर्दा निजले वा नजिकका पति वीरेन्द्रले अंश लिएको पाएको प्रमाणिक आधार केही छैन निज वादी रामप्यारी अंशियार होइन भन्ने प्रतिवादीतर्फको जिकिर नभई अंशियार स्वीकारै गरेको देखिन्छ । निज प्रतिवादीले र वादी रामप्यारीले समेत बण्डा गर्न नपर्ने स्थिति निजी आर्जनको सम्पत्ति हो भन्ने प्रमाणिक एवं भरपर्दा आधार प्रमाण केही पेश गर्न सकेको देखिँदैन । सगोल आर्जनको सम्पत्तिमा सबै अंशियारको हक लाग्ने नै भयो । तसर्थ वादीले मिति २०४०।६।१२ मा र प्रतिवादीले २०४०।९।२७ मा दाखिल गरेको तायदातीमा ऋणको हकमा साहूको उजूर परेमा ठहरे बमोजिम हुने नै हुँदा धनसम्पत्तिका हकमा जम्मा सम्पत्तिको ३ भागको २ भाग वीरेन्द्रतर्फ पर्ने मध्येबाट ३ भागको १ भाग वादी रामप्यारीले प्रतिवादी कृष्णबहादुरबाट अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

११.    सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको प्रतिवादी कृष्णबहादुरले यस अदालतमा दिएको निवेदनमा यसमा हर्कबहादुर श्रेष्ठको निवेदक प्रतिवादी समेत ३ छोरा भएकोमा प्रतिवादीले आफ्नो बाबुको पैतृक सम्पत्ति नभएकोले १९९४।१९९५ सालतिर भारतको बम्बै शहरमा गई जागिर खाई मेकानिक काम गरी आफ्नो ज्ञान सीपबाट आर्जन गरेको  रकमबाट नेपालमा २००० सालतिर फर्कि संखुवा मौजाका जिमिदारी खरीद गरेको महालक्ष्मी मिलमा जागीर खाई क्रमशः सम्पत्ति जोड्दै आएको भन्ने प्रमाण सहित पेश गरेको देखिएकोले मुलुकी ऐन अंशबण्डाको १ नं.ले व्यक्तिगत ज्ञान सीपबाट आर्जन गरेको सम्पत्ति बण्डा गर्न कर नलाग्ने व्यवस्था गरेकोबाट त्यस्ता सम्पत्ति बण्डा गर्ने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसलामा अंशबण्डाको १८ नं. र ३० नं. को त्रुटि भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको डिभिजन बेञ्चको आदेश ।

१२.    वादीसँग प्रतिवादीसाथ नबसी पैतृक सम्पत्ति केही नहुँदा १९९४।१९९५ सालतिर बम्बै गई नोकरी मेकानिकल काम गरी आफ्नो ज्ञान सीप आर्जनबाट कमाएकोमा विवाद देखिन्न । यिनै वादीको छोरा धीरेन्द्रकुमारले यिनै प्रतिवादीउपर दिएको अंश मुद्दामा अंशको दावी छाडी मिति २०३६।१२।१५ मा मिलापत्र गरी बसेको देखिन्छ । वादीले प्रतिवादीसँग भएको श्रीसम्पत्ति पैतृक हो भन्ने कानूनी प्रमाण पेश गर्न र किटानी दावी गर्नसकेको देखिँदैन । यस्तोमा प्रतिवादीको निजी आर्जनको सम्पत्तिमा वादी दावी बमोजिम अंश पाउने ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा अंशबण्डाको १८नं. समेतको त्रुटि देखिँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४२।१२।१ को फैसला ।

१३.    श्री ५ महाराजाधिराज सरकारका जुनाफमा उक्त फैसला दोहर्‍याई पाउँ भनी वादीले चढाएको विन्तिपत्रमा फुल बेञ्चबाट दोहोर्‍याई हेरी निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम बक्सेको छ, भनी मौसूफ सरकारको विषेश जाहेरी विभागबाट लेखी आएको रहेछ ।

१४.    निवेदक वादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री दमन ढुंगाना र विद्वान अधिवक्ता श्री सुनिल अधिकारीले वादी प्रतिवादीहरु अंशियार भएकोमा विवाद देखिँदैन । वादीले अंश पाई सकेको कुनै प्रमाण देखाउन सकेको छैन । मानु छुट्टिइएको प्रमाण केही छैन प्रतिवादीका नामको सम्पत्ति सगोलको हो । तसर्थ वादीले अंश नपाउने गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादीतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दाशले पैतृक सम्पत्ति कुनै नभएको अंशियारहरु छुट्टी भिन्न भई प्रतिवादीले आफ्नै आर्जनबाट जग्गा मिल खरीद गरी बिक्री गरेको छ । सगोल भए बिक्री गर्दा उजूर गरी बदर गराउन सक्नुपर्ने सो गर्न सकेको छैन । वादी रामप्यारीले आफ्नो जग्गा २०३३ सालमा र निजकै छोरा धीरेन्द्रले पनि २०४१ सालमा बिक्री गरेको छ । बिक्री गर्दा कोही अंशियार नभएको भनेको छ । तसर्थ वादीले अंश नपाउने गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ सदर हुनु पर्दछ भन्ने बहस गर्नु भयो ।

१५.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मिलेको छ, छैन सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

१६.    यस्मा निर्णयतर्फ हेर्दा हर्कबहादुरको ३ छोरामा जेठा गजेन्द्रबहादुर बेपत्ता भएको माहिला कृष्णबहादुर, कान्छा पति वीरेन्द्रबहादुर हुन । वीरेन्द्रबहादुर मानो छुट्टिई १२१४ वर्षदेखि भात भान्सा अलग गरी बस्ने पति वीरेन्द्रबहादुर परलोक भएको तायदाती लिई अंश दिलाई पाउँ भन्ने समेत वादीको फिराद दावी देखिन्छ । पिताको अर्जनको घरद्वार केही छैन । बाबु आमासँग १९९४।१९९५ सालदेखि अलग भई आफ्नो ज्ञान सीपबाट कमाएको वादीहरुको अंश हक लाग्ने होइन भन्ने समेत प्रतिवादीले जिकिर लिएको पाइन्छ । वादीले बण्डा गर्नुपर्ने पुर्ख्यौली सम्पत्ति यो यति छ भनी देखाउन सकेको छैन । यस अवस्थामा अंशबण्डाको लिखत हुनै पर्ने भन्न नमिल्ने यसरी अंशियारहरुका बिच  छुट्टी भिन्न भई आफ्नो व्यवहार गरी आएकोमा मानो छुट्टिइएको लिखत हुनु अनिवार्य भएको भन्न पनि मिल्दैन । प्रतिवादीले पिताको आर्जनको घरद्वार केही छैन बाबु आमासँग १९९४।१९९५ सालदेखि अलग भएको भनी देखाई ठाउँ ठाउँमा आफूले नोकरी गरी आएको प्रमाण समेत पेश गरी २००० सालमा घर फर्की आई २००२ सालमा जिमिदारी र मिल समेत राखी आएको सो मिल समेतका सम्पत्तिहरु पटकपटक बिक्री गरी व्यवहार चलाई आएको भन्ने प्रतिउत्तरपत्रमा जिकिर लिएको देखिन्छ । तत्कलीन अंशबण्डाको १८ नं. ले पनि यसप्रकार मानु छुट्टी भिन्न भई गरेको व्यवहारबाट भएको खति उपती आफ्नोफ्नो हुने भन्ने समेत व्यवस्था गरेको   छ । यसबाट पनि वादीले प्रतिवादीबाट दावी बमोजिम अंश पाउँछ भन्न मिल्ने देखिन आउँदैन । यदि वादी दावी बमोजिम एकासगोलमा बसी काम गरी आई सम्पत्ति आर्जन गरेको भए प्रतिवादीले आफ्नो सम्पत्ति मिल समेत बिक्री गर्दा वादीले कानून बमोजिम उजूर गरी बदर गराउन सक्नु पर्ने सो गरेको पनि केही सबूद वादीले दिन सकेको छैन । यस स्थितिमा प्रतिवादीबाट वादीले अंश पाउँ भन्ने वादी दावी र निवेदन जिकिर पुग्न सक्ने अवस्था रहेन । तसर्थ अंश पाउने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टाई वादीले अंश नपाउने ठहराएको सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४२।१२।१ गतेको इन्साफ मनासिब ठहर्छ अरु तपसील बमोजिम गर्नु ।

तपसील

कोर्ट फी लागी दायर भएको मुद्दा हुँदा कसैलाई केही गर्न परेन ....१

सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४२।१२।१ को फैसलाले वादीबाट प्रतिवादीलाई भराउने गरेका कोर्ट फी रु.४००।९० वादीले मुद्दा दोहर्‍याई ल्याउँदा सर्वोच्च अदालत (निवेदन शाखा) को मिति २०४४।१।२२ को पत्रद्वारा स.अ.ल.न. शाखा मार्फत का.जि.अ.मा धरौट रहेको देखिँदा सो धरौट रहेकोबाट भराई पाउँ भनी प्रतिवादीको ऐनको म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई सो धरौट रहेकोबाट प्रतिवादीलाई भराई दिनु र वादीबाट भराउने गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४२।१२।१ गतेको फैसला बमोजिम कोर्ट फी रु.४००।९० को लगत कट्टा गरी दिनु भनी का.जि.अ.त. मा लगत दिनु.....२

मिसिल नियम बमोजिम गरी बुझाई दिनु..........३

 

उक्त रायमा हामीहरु सहमत छौं ।

न्या.बब्बरप्रसाद सिंह,

न्या.हिरण्येश्वरमान प्रधान

 

इति सम्वत् २०४५ साल पौष २९ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु