निर्णय नं. ३६०४ - जबरजस्ती चोरी र जिउमास्ने बेच्ने

निर्णय नं. ३६०४ ने.का.प. २०४५ अङ्क १०
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको फौ.पु.नम्बर ४८३
फैसला भएको मिति : २०४५।७।२३।३ मा
पुनरावेदक/वादी : दिलमाया गुरुङको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : भारत दार्जिलिङ बस्ने कुमार विश्वकर्मासमेत
मुद्दा : जबरजस्ती चोरी र जिउमास्ने बेच्ने
(१) विक्री गर्ने नियतले विदेश लगेको भन्ने छ तर बिक्री गरेको भन्ने नदेखिने, बिक्री गर्न नपाउँदै अभियुक्तहरु पक्राउ परेको पनि नदेखिएको, धनमाल लिई होटलमा छाडी गएको भन्ने मात्र मिसिलबाट देखिने अवस्थामा प्रहरी प्रतिवेदन दावी अनुसार अभियुक्तहरुले जिउमास्ने बेच्नेको १ नं.को कसूर गरेको भन्न नसकिने ।
(प्रकरण नं. १९)
पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भनी श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :
२. मिति २०४०।५।५ गते अपरिचित मानिस आई तपाइको लोग्ने र म एकै फौजमा काम गर्छौ । वहाँको ड्युटीमा रु.५० हजार हराएकोले ३ दिन भित्र मृत्यु दण्ड दिने भएको छ, जो भएको रुपैयाँ सुन चाँदी बोकी हिंड भनेको र मेरो लोग्ने भारतीय फौजीमा काम गर्ने हुँदा विश्वास मानी निजसंग गएँ । दमकमा निजकी श्रीमती रहीछन् दुवैजनाले मेरो मञ्जुरी बिना धनमाल खोसी ट्याक्सीमा राखी भारतको विरानो ठाउँमा पुर्याई होटलमा राखी सम्पूर्ण धनमाल लिई भागी गए । मेरो धनमाल जबरजस्ती चोरी गरी मलाई विदेशमा लगी बिक्री गर्ने नियत गरेकाले कारवाही गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्तपत्र ।
३. अभियुक्तहरुको सुराक पत्ता लगाउँदा चन्द्रगढी बजारमा कुमार विश्वकर्मा र कौशिला विश्वकर्मा फेला परेकाले दाखिल गरेका छौं भन्ने प्रहरीको प्रतिवेदन ।
४. मैले र मेरी श्रीमतीले जाहेरवाली दिलमाया गुरुङलाई २०४० साल भाद्र महिनामा ६½ तोला सुन, तीनहजार जति नगद, घडी, साडी, लुंगी समेत खोसी भारत फर्विसगंजमा लगी बिक्री गर्न खोज्दा नानीकी आमा भएकोले कसैले नलिंदा त्यहिं छाडी हामी अन्यत्र गयौं भन्ने समेत कुमार विश्वकर्माले प्रहरीमा गरेको कागज ।
५. जाहेरवालीको सबै धनमाल खोसी फारविसगंजमा छाडी आएका हौं भन्ने समेत कौशीला विश्वकर्माले प्रहरीमा गरेको कागज ।
६. मेरो धनमाल जबरजस्ती खोसी अलपत्र पारी छाडी जाने यिनै कुमार विश्वकर्मा र कौशिला विश्वकर्मा हुन भन्ने समेत जाहेरवाली दिलमायाले गरेको सनाखत कागज ।
७. पक्राउ भएका कुमार विश्वकर्मा र कौशिला विश्वकर्माले जाहेरवालीको धनमाल जबरजस्ती चोरी जाहेरवालीलाई बिक्री गर्ने नियतले भारत फारविसगंज लगेको विश्वास लाग्छ भन्ने समेत सरजमीन मुचुल्का ।
८. संकलित सबूद प्रमाणबाट जबरजस्ती धनमाल चोरी गरेको प्रमाणित हुन आएकोले अभियुक्त कुमार विश्वकर्मा र कौशिला विश्वकर्मालाई आजै पेश भएको गंगामायाको जाहेरी परेको चोरी मुद्दामा पहिला पटक र यस्मा दोस्रा पटक पारी चोरी गरेकोमा चोरीका १४(२) नं. र जिउ मास्ने बेच्नेको १ नं.अनुसार सजायँ गरी बिगो दिलाई पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।
९. जाहेरवालाको धनमाल जबरजस्ती खोसी लिएको होइन र बिक्री गर्न लगेको पनि होइन । निजको घरमा पहिला नोकर बसेको हुँदा रु.७,०००।– लिएको हुँ भन्ने समेत प्र.कुमार विश्वकर्माले अदालतमा गरेको बयान ।
१०. जाहेरवालीसंग कुमारले रुपैयाँ लिंदै गरेको देखेको हुँ । के कति लिए थाहा भएन जाहेरवालीलाई फारविसगंजमा छाडी गयौं भन्ने समेत प्रतिवादी कौशीला विश्वकर्माले अदालतमा गरेको बयान ।
११. जाहेरवाली र सरजमीनका मानिसको बकपत्रबाट कसूर प्रमाणित भएको अदालतमा इन्कार भएको प्रतिवादीले सोको पुष्ट्याँइको साक्षी सबूद गुजार्न नसकेकोबाट दावी बमोजिम चोरीको कसूर र जिउ मास्ने बेच्नेका १ नं.बमोजिम कसूर गरेको ठहर्छ भन्ने समेत झापा जिल्ला अदालतको मिति २०४१।११।१।३ को फैसला ।
१२. झापा जिल्ला अदालतका न्यायाधीशज्यूले हामीले अदालतमा इन्कारी बयान गरी खुलाएको तथ्य कुरालाई ध्यान नदिई हामी थुनामा रहेका प्रतिवादीले साक्षी प्रमाण गुजार्न नसकेको भन्दै हामीलाई दोषी ठहर्याई गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाई पाउँ भन्ने समेत प्रतिवादी कुमार विश्वकर्मा र कौशिला विश्वकर्माको संयुक्त पुनरावेदनपत्र ।
१३. जाहेरवाली दिलमायालाई फारविसगंज लगी बिक्री गर्ने प्रयास गरेको प्रमाणित सबूद नदेखिएको निज दिलमायालाई बल प्रयोग गरी निजसंग भएको धनमाल खोसी लिएको समेत स्पष्ट नहुँदा प्रतिवादीलाई कसूरदार ठहर्याएको झापा जिल्ला अदालतको इन्साफ फरक पर्ने हुँदा अ.बं.२०२ नं.बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने मिति २०४३।१२।६।६ को आदेश ।
१४. दावी बमोजिम जबरजस्ती चोरी गरेको ठहरेपछि जरिवाना बापत पनि कैद गर्नु पर्नेमा नगरी घटी सजायँ गर्ने गरेको हदसम्मको फैसला बदर गरी प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारतर्फको पुनरावेदनपत्र ।
१५. जाहेरवालीलाई प्रतिवादीले विदेशमा बिक्री गरेको भन्ने दावी छैन । प्रहरी प्रतिवेदनमा जाहेरवालीलाई विदेशमा भारत फारवीसगंजमा लगी छोडी दिएको देखिन आउँछ । जाहेरवालीलाई प्रतिवादीले विदेशमा बिक्री गर्न लगेकोमा पक्राउ परेबाट बिक्री हुन नसकेको भन्ने देखिँदैन । यस्तो अवस्थामा प्रतिवादीहरुलाई जीऊ मास्ने बेच्नेको १ नं.अन्तर्गत सजायँ हुनसक्ने नदेखिएकोमा शुरु जिल्ला अदालतबाट कसूर गरेको ठहराई सजायँ गर्ने गरेको मिलेको नदेखिएकोले सो इन्साफ बदर हुन्छ । जिउ मास्ने बेच्नेको १ नं.अन्तर्गत अभियोगबाट प्रतिवादीहरुले सफाई पाउने ठहर्छ । जबरजस्ती चोरीतर्फ प्रतिवादीहरुले जाहेरी बमोजिम बिगो रु.२४,७०८।– जबरजस्ती चोरी गरेको देखिन्छ । प्रतिवादीहरुले दोस्रा पटक पारी जबरजस्ती चोरी गरेको ठहराएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।४।१२।३ को फैसला ।
१६. सो फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन दावी बमोजिम जिउ मास्ने बेच्नेको १ नं. अन्तर्गतको अभियोगबाट सफाई दिएको इन्साफ त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदनपत्र ।
१७. पुनरावेदक वादीतर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्कीले जाहेरवालीलाई बिक्री गर्न विदेश लगेमा अधिकारप्राप्त अधिकारी समक्ष प्रतिवादीहरु सावित छन् । सो कुरा जाहेरवालीको किटानी बकपत्रबाट समर्थित भएको छ । तसर्थ प्रतिवादीहरुले जिउ मास्ने बेच्नेको १ नं.को अपराध गरेको हुँदा प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ हुनु पर्नेमा सफाई दिएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नु भयो ।
१८. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१९. यसमा निर्णयतर्फ हेर्दा प्रतिवादीहरुलाई दोश्रापटक पारी बिगो रु.२४,७०८।– को धनमाल जबरजस्ती चोरी गरेको ठहराए उपर प्रतिवादीहरुको पुनरावेदन परेको नदेखिँदा त्यसतर्फ विचार गर्न परेन । जिउमास्ने बेच्नेको १ नं.अन्तर्गतको अभियोगबाट प्रतिवादीहरुलाई सफाई दिएउपर वादी श्री ५ को सरकारको पुनरावेदन परेतर्फ हेर्दा अभियुक्त प्र.कुमार विश्वकर्मा र कौशिला विश्वकर्माउपर जिउमास्ने बेच्नेको १नं. अनुसार सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन दावी परी प्रस्तुत मुद्दाको कारवाही भएको देखिन्छ । जिउमास्ने बेच्नेको १ नं. मा विदेशमा बेच्न लगेकोमा बेच्न नपाउँदै पक्राउ भए बेच्न लैजानेलाई १० वर्ष र बेची सकेको भए २० वर्ष कैद हुने व्यवस्था भएको पाइन्छ । अभियुक्त कुमार विश्वकर्मा र कौशिला विश्वकर्माले जाहेरवालीलाई विदेशमा बिक्री गर्न लगेको कुरामा अदालतमा इन्कार रही बयान गरेको देखिन्छ । जाहेरवालीको जाहेरी र अदालतमा गरेको बकपत्र हेर्दा मेरो मञ्जूरी बिना धनमाल खोसी ट्याक्सीमा राखी भारतको विरानो ठाउँमा पुर्याई होटलमा राखी सम्पूर्ण धनमाल लिई भागी गए । मेरो धनमाल जबरजस्ती चोरी गरी मलाई विदेशमा लगी बिक्री गर्ने नियत गरेकाले कारवाही गरिपाउँ भन्ने समेत उल्लेख छ । बिक्री गर्ने नियतले विदेश लगेको भन्ने छ । तर जाहेरवालीलाई बिक्री गरेको भन्ने देखिँदैन । बिक्री गर्न नपाउँदै अभियुक्तहरु पक्राउ परेको पनि देखिन्न । धनमाल लिई होटलमा छाडी गएको भन्ने मात्र मिसिलबाट देखिन्छ । यस्तो अवस्थामा प्रहरी प्रतिवेदन दावी अनुसार अभियुक्तहरुले जिउमास्ने बेच्नेको १ नं.को कसूर गरेको भन्न सकिने अवस्था रहेन । यस स्थितिमा प्रहरी प्रतिवेदन दावी अनुसार जिउमास्ने बेच्नेको १ नं.अनुसार सजायँ हुनु पर्दछ भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन । प्रतिवादीहरुलाई जिउमास्ने बेच्नेको १ नं.अन्तर्गतको अभियोगबाट सफाई दिने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन परेको हुँदा केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल कार्तिक २३ गते रोज ३ शुभम् ।