निर्णय नं. ३६०६ - ज्यान डाँका

निर्णय नं. ३६०६ ने.का.प. २०४५ अङ्क १०
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४३ सालको फौ.पु.नम्बर ४४०
फैसला भएको मिति : २०४५।८।२६।१ मा
पुनरावेदक/वादी : गणेशबहादुर लिम्बुको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जिल्ला मोरङ शनिश्चरे गा. पं.वडा नं. १ बस्ने धनबहादुर तामाङ
मुद्दा : ज्यान डाँका
(१) वारदातमा बरामद भएको हतियार नै प्रयोग भएको थियो भन्ने कुराको तथ्ययुक्त सबूद केही नदेखिँदा तथ्ययुक्त सबूद प्रमाणको अभावमा वारदात भएको एक महिना बाइस दिन पछि बरामद भएको पेस्तोललाई दशीको रुपमा ग्रहण गर्न नसकिने ।
(प्रकरण नं. २२)
(२) केवल अनुमान र शंकाको आधारमा प्रतिवादीहरुले आरोपित कसूर गरेको भनी दोषी ठहर गर्न न्यायसंगत नहुने ।
(प्रकरण नं. २२)
पुनरावेदकतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की
प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :
२. मिति २०३९।११।३० गते रात अं.११–१२ बजे १३–१४ जना डाँकाहरु आई धनमाल डाँका गरी भागी गएछन् । भोलिपल्ट खबर पाई जाँदा कूलबहादुर लिम्बू मरी सकेको र डाँकाको प्रहारबाट सख्त घाइते भएको भक्तबहादुर र घर धनी बलबहादुरले धनबहादुर लिम्बूलाई चिने अरुलाई चिनिन् । धनबहादुरलाई पक्राउ गरी डाँका गरी लगेको बिगो रु.९,४५०।– को धनमाल दिलाई सजायँ समेत गरिपाउँ भन्ने गणेशबहादुर लिम्बूको जाहेरी दर्खास्तपत्र ।
३. किटानी जाहेरी परेको धनबहादुर लिम्बूको खोजी गर्दा धनबहादुर भारत नै बसेको र निजसंग डाँका गर्न जाँदा रत्नप्रसाद ढकाल, कंशबहादुर खड्का पनि संलग्न रहेको कुरा बुझिएको हुँदा खोज तलाश गरी रत्नप्रसाद ढकाललाई पक्राउ गरी दाखिल गरी गर्न ल्याएका छौं भन्ने समेत प्र.ह.धनबहादुर खतिवडा, प्र.हरिश्चन्द्र उपाध्यायको समेत जना २ को प्रतिवेदनपत्र ।
४. जाहेरीमा किटानी गरेको धनबहादुर लिम्बूलाई चिन्दीन । मिति २०३९।११।३० गते विहान कंशबहादुर संग भेट भयो । अरु नचिनेको २ जना थिए । तहाँबाट कानेपोखरी उत्तर आयो बाटोमा कसैले ल धनबहादुर पनि आइपुगेछ भन्दा थाहा पाउँ जाहेरीमा लेखिएका घर नजिक बसी मानिस आए, सिठी बजाउनु भनी गए । डाँका गरी साथीहरु फर्किन लागे ल्याएको गाग्री २ पोका बनाई बोक्यौं । चौकिलाल संग मागी भाडामा हतियार पनि लगेको रहेछ सो हतियार कसैले मलाई देखायो भन्ने रत्नप्रसाद ढकालको बयान ।
५. मृतक कूलबहादुर लिम्बू समेत कहाँ डाँका गर्ने सर–सल्लाह नै धनबहादुर लिम्बुको योजना अनुसार कटकबहादुर राई कहाँ म समेत भई डाँका गरेको हुँ । बन्दुक चौकिलाल धिमालले दिएको हो भन्ने समेत धनबहादुर तामाङको कागत ।
६. मिति २०३९।११।२७ गते चौकिलाल, धनबहादुर लिम्बू र म समेत भई चोरी सम्बन्धमा सल्लाह भई डाँका गर्यौं । रगत लागेको बरामत पोलिस्टर शुरुवाल मेरो हो । घटनास्थलमा एकजनाको मृत्यु भयो । ३–४ जनालाई सख्त घाइते बनाएका थियौ मेरो हिस्सामा १० तोला जति जाँदी र रु.२००।– पर्यो । एक नाल हतियार चौकिलालले दिएको हो । मारिएको कूलबहादुरलाई मैले पिटे काटेको होइन भन्ने समेत कंशबहादुर खड्काको कागत ।
७. मिति २०३९।११।२८ गते धनबहादुर तामाङले धनबहादुरले बोलाएको छ डाँका गर्न जान पर्छ भनेर भनेको हुँदा निजको साथमा पिस्तोल र गोली बोकी हिंडे । बाटामा अन्य साथीहरुलाई भेट भई संगै गयौं । वारदात गर्दा बन्दूक फायर गरेनौ । धनबहादुर समेतले कुटपिट गरी १ जनालाई मार्यो । डकैती गरेको धनमाल बाँडफाँड गर्दा मलाई रु.२००।– दियो भन्ने समेत आइतवारे गंगाईको कागत ।
८. मिति २०३९।११।२७ गते चिनेका धनबहादुर समेत जना ६ बलबहादुरको घरमा डाँका गर्ने सल्लाह गर्दै थिए । डाँका गर्न म गएको छुइन । बरामत भएको हतियार मबाट लगेको थियो मलाई रु.१००।– दियो भन्ने चौकीलाल धिमालको कागत ।
९. संकलित भई आएको सबूद प्रमाणको परिबन्धबाट चौकिलाल धिमाल बाहेक अन्य प्रतिवादीहरुउपर ज्यानसम्बन्धीको १३(३) नं.र चोरीको १४(४) नं.बमोजिम सजायँ गरी बिगो रु.९,४५०।– दिलाई भराउन र चौकिलालउपर चोरीको २० नं.बमोजिम सजायको माग दावी गरी पेश गरेको प्रहरी प्रतिवेदनपत्र ।
१०. मिति २०३९।११।३० गतेका रात भतिजी सुमित्रादेवी अधिकारीको घरमा बास बसेको छु, मैले फाल्गुण ३० गते डाँका खून गरेको छुइन । मेरो प्रहरीमा भएको बयान स्वेच्छा विपरीत कुटपिट गरेको हुँदा बयान गरेको हुँ । चौकिलाल आइतबारे, कंशबहादुर, धनबहादुरले किन पोले थाहा छैन, भन्ने समेत रत्नप्रसादले अदालतमा गरेको बयान ।
११. मिति २०३९।११।३० गते म गोविन्दपुर घरमा थिएँ । उक्त रात मैले खून डाँका गरेको छैन प्रहरीमा भएको मेरो बयान स्वेच्छा विपरीत भएको हो । रत्नप्रसादलाई चिन्दीन किन पोल गरे मलाई थाहा छैन भन्ने समेत धनबहादुर तामाङको अदालतमा भएको बयान ।
१२. २०३९।११।३० गते रात पेटको विमारले गर्दा घरमा छु । उक्त रात मैले डाँका खुन गरेको छैन । प्रहरीमा भएको मेरो बयान राजीखुशी बेगर भएको हो । चौकिलाल समेतले किन पोल गरे थाहाछैन भन्ने समेत कंशबहादुर खड्काको अदालतमा भएको बयान ।
१३. २०३९।११।३० गतेको रात मैले डाँका खून गरेको छैन । जाहेरवालालाई पनि चिन्दीन । रत्नप्रसाद लिम्बू समेतले मलाई किन पोले थाहा छैन । प्रहरीमा भएको बयान मेरो स्वेच्छा विपरीत भएको हो भन्ने समेत आइतवारे भन्ने जयप्रकाश गंगाईको बयान ।
१४. जाहेरवाला तथा प्रतिवादीहरु कसैलाई चिन्दीन । मिति २०३९।११।३० गते गाउँकै सुदनारायणको केटी माग्न दिउँसो ४ बजे दमक गई रात त्यहाँ बसी भोलिपल्ट भात खाई घर आएको हुँ । मैले हात हतियार दिई पठाएको छुइन । डाँका खून भएको पनि थाहा छैन । बरामदी सामान कसको हो थाहा छैन । प्रहरीमा भएको मेरो बयान स्वेच्छा विपरीत भएको हो । म निर्दोष हुँदा सफाई पाउँ भन्ने समेत चौकिलाल धिमालको अदालतमा भएको बयान ।
१५. बुझिएसम्मको प्रमाणको परिबन्धबाट फरार रहेका प्रतिवादीको हकमा अ.बं.१९० नं. अनुसार मुलतवी राखी दिने र अन्य प्रतिवादीहरुले सफाई पाउने ठहर्छ भनी गरेको श्री मोरंग जिल्ला अदालतको मिति २०४१।११।२८ गतेको फैसला ।
१६. श्री मोरंग जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन । उक्त फैसला उल्टाई शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम होस् भन्ने श्री ५ को सरकारतर्फबाट पर्न आएको पुनरावेदन ।
१७. घरधनी बलबहादुर लिम्बू र मर्नेका छोरा गणेशबहादुर लिम्बूको बकपत्र तथा सरजमीनका पुष्पप्रसाद आचार्य समेतका लेखाइबाट धनबहादुर तामाङ समेतका प्रतिवादीले खून डाँका गरेको देखिन, ठहर्न नआएको हुनाले फरार रहेका धनबहादुर लिम्बू समेतका ८ जनाका हकमा अ.बं.१९० नं. का ऐन अनुसार मुलतवी राख्ने र यी प्रतिवादीहरुले आरोपित कसूरबाट सफाई पाउने ठहराएको इन्साफ शुरु मोरंग जिल्ला अदालतको मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको २०४३।३।८ गतेको फैसला ।
१८. सो फैसलामा चित्त बुझेन प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ गरी पाउँ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदनपत्र ।
१९. प्रतिवादीहरुले आरोपित कसूर गरेको देखिँदा निजहरुलाई सफाई दिएको इन्साफ फरक पर्ने हुँदा प्रतिवादीहरुलाई अ.बं.२०२ नं.बमोजिम झिकाउने भन्ने समेत यस सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४४।१०।२१ गतेको आदेश ।
२०. पुनरावेदकतर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्कीले मिसिल प्रमाणबाट डाँका वारदात भएको र कूलबहादुर कर्तव्यबाट मरेको छ । अवैध हात हतियार सहित पक्राउ परेको प्रतिवादी कंशबहादुरले आफू सावित भई अरुलाई समेत पोल गरेको छ । अरु प्रतिवादीहरु पनि प्रहरीमा सावित छ । सो सावितीलाई कुनै खण्डन गरेको छैन । प्रहरीमा भएको साविती सरजमीन समेतबाट पुष्टि छैन । तसर्थ प्रतिवादीहरुलाई सफाई दिएको र प्रतिवादी जमीन मियाँको हकमा मुलतवी राख्नु पर्नेमा केही नबोलेको मिलेको छैन भन्ने समेत बहस गर्नु भयो । प्रतिवादीतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले प्रतिवादीहरु अदालतमा इन्कार छ । प्रहरीमा कुटपिट गरी सावित गराएको भन्नेछ । प्रतिवादीहरुले आरोपित कसूर गरेको कुनै प्रमाण छैन । तसर्थ सफाई दिएको इन्साफ सदर हुनु पर्दछ, भन्ने समेत बहस गर्नु भयो ।
२१. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।
२२. यस्मा निर्णयतर्फ हेर्दा चौकिलाल धिमालउपर चोरीको २० नं.बमोजिम र अरु अभियुक्तउपर ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम तथा डाँकातर्फ चोरीको १४(४) नं.बमोजिम कारवाही सजायँ गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन दावी परेको देखिन्छ । प्रहरी प्रतिवेदनमा जमीन मियाँउपर पनि अभियोग लगाइएको देखिन्छ । निज अदालतमा उपस्थित भएको देखिँदैन । फरार रहेको हुँदा निजको हकमा अ.बं.१९० नं.बमोजिम मुलतवी राख्नु पर्नेमा सो भएको देखिएन । निजको हकमा अ.बं.१९० नं.बमोजिम मुलतवी राखी दिने । अरु धनबहादुर लिम्बू समेत जना ८ को हकमा अ.बं.१९० नं.बमोजिम मुलतवी रहेको हुँदा विचार गर्न परेन । अरु प्रतिवादीहरुलाई सफाई दिएको मिलेन भनी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन परेतर्फ हेर्दा अभियुक्त प्रतिवादीहरु आरोपित कसूरमा प्रहरी समक्ष साविती रहेको देखिन्छ । तर अदालतमा आरोपित कसूर गरेमा इन्कार रहेको छ । प्रहरीमा भएको साविती अन्य स्वतन्त्र प्रमाणहरुबाट पुष्ट्याई हुनु पर्दछ । तर अन्य स्वतन्त्र प्रमाणहरुबाट पुष्ट्याई भएको देखिँदैन । २०३९।११।३० मा वारदात भएको मिसिलबाट देखिन्छ । सो अवस्था पेस्तोल बरामद भएको भन्ने देखिँदैन । मिति २०४०।१।२२ गतेमा मात्र पेस्तोल बरामद गरिएको भन्ने कथन रहेको छ । ज्यान डाँका वारदातमा उक्त बरामद भएको हतियार नै प्रयोग भएको थियो भन्ने कुराको तथ्ययुक्त सबूद केही देखिँदैन । तथ्ययुक्त सबूद प्रमाणको अभावमा वारदात भएको एक महिना बाइस दिन पछि बरामद भएको पेस्तोललाई दशीको रुपमा ग्रहण गर्न सकिने अवस्था रहेन । बरामद भएको शुरुवालमा रगत दाग लागिएको भनिएकोमा मृतकको रगत भन्ने स्थापित हुनसकेको छैन । केवल अनुमान र शंकाको आधारमा प्रतिवादीहरुले आरोपित कसूर गरेको भनी दोषी ठहर गर्न न्यायसंगत भएन । यस स्थितिमा प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ गरिपाउँ भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादीहरु धनबहादुर तामाङ, आइतबारे भन्ने जय प्रकाश गंगाई, कंशबहादुर खड्का, रत्नप्रसाद ढकाल र चौकिलाल धिमाललाई प्रहरी प्रतिवेदन दावीको अभियोगबाट सफाई दिने ठहर्याएको मोरंग जिल्ला अदालतको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन हुँदा केही गर्न परेन । फरार भई मुलतवी रहेका अभियुक्तहरुको अंश सर्वश्व रोक्का रहेको मिसिलबाट नदेखिँदा तुरुन्त अंश सर्वश्व रोक्का गर्नु भनी मिसिल नियम बमोजिम गरी जिल्ला अदालतमा पठाई दिनु ।
उक्त रायमा म सहमुत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल मार्ग २६ गते रोज १ शुभम् ।