निर्णय नं. ३६११ - कर्तव्य ज्यान

निर्णय नं. ३६११ ने.का.प. २०४५ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४४ सालको फौ.पु.नं. ४७५
सम्वत् २०४५ सालको फौ.सा.नं. ११४
फैसला भएको मिति : २०४५।४।९।१ मा
पुनरावेदक/वादी : राजबहादुर लिम्बूको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.तेह्रथुम आङदिङ गा.पं.वा.नं.१ बस्ने राजबहादुर लिम्बू
मुद्दा : कर्तव्य ज्यान
(१) मृतकबाट रक्सी खाएपछि घर जान उठ्दा दौराको फेरमा समाती रक्सीको पैसा नदिउन्जेल जान दिन्न भनी बसाली पैसा मागेको रीसले निजलाई चुल्ठो समाती गर्धनमा काटी मारेको भन्ने बयान गरेको कुरालाई पोष्ट मार्टम एवं खुकुरी भिरी गएको व्यक्तिले रातको समयमा अकेली जनानीलाई कर्तव्य गरी मार्न सक्ने र नसाको जोसमा पैसा नदिई उठ्न दिन्न भनेको रीसमा हानेको भन्ने कुरा व्यवहारिक तर्कबाट पनि मिल्न जाने ।
(प्रकरण नं. १५)
पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री बलराम के.सी.
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतका २०४४।४।१९ का फैसला उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन परी र प्र.डम्बरबहादुरका हकमा साधक सदरका लागि दायर भई यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।
२. २०४१।८।१३ गते बेलुका खाना खाई सुती निदाएको अवस्था कस्ले हो नस्पतेनी कान्छी लिम्बूनीलाई काटी मारी निजले लगाएको मारवाडी, ढुंग्री समेत २ तोला चोरी गरी भागी गएको कुरा विहान निजको दाजु सुखबहादुरले थाहा पाई खबर गरेकाले आई हेर्दा काटी मारी पूर्व टाउको गुन्द्रीमाथी उत्तानो पारी घटना गरेको देखिएकोले कस्ले काटी मारी सुन चोरी लगेको हो पत्ता लगाई कानून बमोजिम गरी पाउँ भन्ने राजबहादुरको २०४१।८।१५ को जाहेरी दर्खास्त ।
३. २०४१।८।१३ गते बेलुका खाना खाई मतानमा सुतें बहिनी मूल घरमा सुतेकी थिई । रातमा केही थाहा पाइन । बिहान अं.५:३० बजे उठी मूल घरको दैलो उदाड्डै देखि भित्र पसी बत्ति बाली हेर्दा बहिनी उत्तानो परी रगतपक्ष भई मरिहेको बहिनी धामी काम गर्ने र आउने जाने डम्बरबहादुर लिम्बू पनि धामी काम गर्ने र आउने जाने भएकाले सो रात डम्बरबहादुर आई बहिनीलाई काटी मारी गहना र रुपैयाँ लगेकोमा विश्वास लाग्छ भन्ने २०४१।८।१८ को सुकबहादुरको कागज ।
४. २०४१।८।१३ गते खुकुरी भिरी गाउँकै याक रुगेनीको घरमा झर्दै थिएँ । खोल्सीमा चिताहाङमाकै धर्म पुत्र याकरुङ्गेसंग भेट भई गोप्य कुरा छ एकछिन बस भनी तलाई रु.२,०००।– दिन्छु चिताहाङयालाई काटी मारी सुनका गहना लिई मधेश भागी जा भन्यो । म सरासर चितहाङमाको घर गई २ माना रक्सी खाई हिंड्न लाग्दा रक्सीको पैसा मागीन, मैले पैसा छैन पूर्णिमामा दिन्छु भन्दा निजले नमान्दा मलाई रीस उठी चुल्ठामा समाती काटी मारी निजले लगाएको सुनको गहना र थैली थुती घरमा गई चानचुने रु.२७।– र नोट रु.६।– रहेछ, एउटा सुनको मुन्द्री पनि रहेछ । रातको ३ बजे हिंडी हिले पुगी धरान गई पुरानो बजारमा मारवाडीकोमा सुन १ तोला ७ आना रु.३,४५०।– मा बिक्री गरी दौरा सुरुवाल र रिको घडी किने अन्य रुपैयँ खर्च गरी रु.८००।– मबाट बरामद भएको छ । याकरुङ्गे साइलाले भने अनुसार काटी मारेको हुँ भन्ने समेतको डम्बरबहादुर लिम्बूले प्रहरीमा गरेको बयान ।
५. नस्पतेनीकोमा धर्मपुत्र भनी बेग्लै बसी आएको थिएँ, २०४१।८।१३ गते बेलुका अं.८।९ बजेको समयमा छागें खोलसीमा आई पुगेको बखत डम्बरबहादुर भेटी एउटा गोप्य कुरा छ, नस्पतेनीकोमा बस्न मिल्दैन होला, तिमीलाई रु.२,०००।– दिन्छु काटी मारी गहना लिई भागी जानु म मरे नमरेको विचार गर्छ भनी एक बोतल रक्सी खाई डम्बरबहादुरले स्वीकार गर्यो र रातको १२ बजे हेर्न जाँदा काटी मारी घोप्टो पारेको देखी सजिलो होस् भनी गुन्द्रीमा लाश सारी घरतर्फ गई सुतेको हुँ । निजको धर्मपुत्र राखेकोले एकलौटी धनखानलाई डम्बरबहादुरलाई काटी मारी दे भनेकाले सो अनुसार काटी मारेको हो भन्ने समेतको प्र.राजबहादुरले प्रहरीमा गरेको बयान कागज ।
६. २०४१।८।१३ गते रात नस्पतेनी भनेको चिताहाङ्गमा लिम्बुनीलाई राजबहादुरले मार्न लगाई डम्बरबहादुरले काटी मारी गहना लिई भागेकोमा विश्वास लाग्छ भन्ने समेतको २०४१।९।७ को सरजमीन मुचुल्का ।
७. अभियुक्त मध्ये डम्बरबहादुरले चिताहाङमालाई काटी मारेको हुँदा निजलाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम र बचन दिने राजबहादुरलाई ऐ.को १३(४) बमोजिम सजायँ गरी पाउँ भन्ने समेतको प्रहरी प्रतिवेदन दावी ।
८. २०४१।८।१३ गते मधेश जान खर्च माग्न चिताहाङमाको घर गएँ । निजले पैसा याकरुङ्ग साइलाले लग्यो छैन भन्यो । दुई माना रक्सी खाएपछि म घरजान उठ्दा मेरो दौराको फेरमा समाती रक्सीको पैसा नदिउन्जेल जान दिन्न भनी बसालिन, पैसा नदिएको रिसले निजको चुल्ठोमा समाती गर्धनमा काटी मारी गहना लिई भागें । धरानमा सुन बेची रीको घडी, स्वीटर, दौरा सुरुवाल र अस्कोट किने । चिताहाङमालाई काट भनी कसैले बचन दिएको होइन भन्ने समेतको प्र.डम्बरबहादुर लिम्बूले अदालतमा गरेको बयान ।
९. २०४१।८।१३ गते डम्बरबहादुरसंग भेट भएन । भोलिपल्ट सुखबहादुरले आतिदै बोलाउनु भयो र मर्नेको घरमा आई पुगेपछि यस्तो घटना भएछ भनी चिताहाङमाको लाश देखायो र जाहेरी दिएको छु । मैले डम्बरबहादुरलाई रु.२,०००।– दिन्छु काट भनी बचन दिएको होइन । प्रहरीले कुटपिट गरेकाले डर त्रासले बचन दिएको भनी लेखाई दिएको हुँ । म निर्दोष हुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.राजबहादुर लिम्बूले अदालतमा गरेको बयान ।
१०. प्र.डम्बरबहादुरले प्रहरी तथा अदालतमा समेत आरोपित कसूर गरेमा साविती बयान दिएका छन् भने हत्यामा प्रयोग गरिएको खुकुरी, गम्छा तथा गहना समेत बरामद भएको तथा पोष्टमार्टम रिपोर्ट एवं सरजमीनका व्यक्तिहरुले अदालतमा गरेका बकपत्र समेतबाट डम्बरबहादुरकै प्रहारले मृतकको मृत्यु हुन आएकोले आरोपित कसूर गरेको ठहर्ने हुँदा निजलाई सर्वश्वसहित जन्मकैद हुन्छ । प्र.राजबहादुरले अदालतमा इन्कार रहे तापनि प्रहरीको साविती कुटपिटबाट गराएको हो भन्ने प्रमाण गुजार्न नसक्नुका साथै साक्षी समेत बकाउन नसकी तारेख गुजारी बसेको हुँदा निजले मृतकलाई मार्न लगाएको ठहर्छ । निजलाई जन्मकैद हुन्छ भन्ने समेतको शुरु तेह्रथुम जिल्ला अदालतको २०४२।८।२३ को फैसला ।
११. सो फैसला उपर प्र.हरुको पुनरावेदन नपरी पूर्वाञ्चल क्षेत्रीय अदालतमा साधकको लगतमा दर्ता भएको ।
१२. प्र.डम्बरबहादुरका हकमा शुरुको इन्साफ मनासिब ठहर्छ । प्र.राजबहादुरको हकमा निज अदालतमा इन्कार रहेको प्र.डम्बरबहादुरले पनि अदालतमा बयान गर्दा आफू अपराधमा सावित भए पनि आफूलाई अपराध गर्न कसैले बचन नदिएको भनी राजबहादुरलाई सफाई दिएको देखिन्छ । सरजमीनका व्यक्तिहरुको भनाई परस्पर बाझिएको देखिन्छ । निज राजबहादुरको प्रहरीमा भएको साविती बयान अन्य स्वतन्त्र प्रमाणबाट समर्थन भएको देखिन्न । तसर्थ निज राजबहादुरलाई शुरुले ज्यानसम्बन्धी १३(४) नं.बमोजिम गर्ने गरेको गल्ती भई केही उल्टी हुन्छ । प्र.राजबहादुरले सफाई पाउने ठहर्छ भन्ने समेतको २०४४।४।१९ को पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१३. उक्त फैसलामा चित्त बुझेन प्र.राजबहादुरलाई पनि शुरु प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
१४. पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित हुनुभएको विद्वान का.मु. सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले गर्नु भएको बहस समेत सुनियो मुख्यतः क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१५. यसमा मृतक नस्पतेनी कान्छी भन्ने चिताहाङमा लिम्बुनीको कर्तव्यबाट मृत्यु भएकोमा विवाद देखिँदैन । प्रतिवादी मध्येका राजबहादुरलाई ज्यानसम्बन्धीको १३(४) को सजायँ माग गरी प्रतिवेदन गरेकोमा प्रहरीको सावितीलाई अदालतमा आई पूर्ण इन्कारी भई बयान गरेको र सो इन्कारीलाई अदालतमा समेत साविती हुने अर्को प्रतिवादी डम्बरबहादुरले राजबहादुरलाई पूर्ण सफाई दिंदै एक्लैबाट सो घटना गरेको हो भन्दै घटनाको अवस्था पनि पत्यारलायक देखाई बयान गरेको सो बयानमा सो मृतकबाट २ माना रक्सी खाएपछि घरजान उठ्दा दौराको फेरमा समाती रक्सीको पैसा नदिउन्जेल जान दिन्न भनी बसाली पैसा मागेको रीसले निजलाई चुल्ठो समाती गर्धनमा काटी मारेको भन्ने बयान गरेको कुरालाई पोष्टमार्टम एवं खुकुरी भिरी गएको व्यक्तिले रातको समयमा अकेली जनानीलाई कर्तव्य गरी मार्न सक्ने र नसाको जोशमा पैसा नदिई उठ्न दिन्न भनेको रिसमा हानेको भन्ने कुरा व्यवहारिक तर्कबाट पनि मिल्न जाने समेत देखिन आएको र प्रतिवादी राजबहादुरले बचन दिई मृतकको कुनै गहना रुपैयाँ बाँडी खाएको भन्ने सबूद प्रमाण समेतको अभावमा निज राजबहादुरलाई सफाई दिने र प्र.डम्बरबहादुरलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सजायँ गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिलेको देखिँदा मनासिब ठहर्छ । नियमानुसार गरी साधकको लगत काटी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४५ साल श्रावण ९ गते रोज १ शुभम् ।