निर्णय नं. ६७२९ - हक कायम समेत

निर्णय नं. ६७२९ ने.का.प. २०५६ अङ्क ६
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री मोहनप्रसाद शर्मा
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
संवत् २०५४ सालको दे.पु.इ.नं.१२६
फैसला मितिः २०५५।११।२६।४
मुद्दाः हक कायम समेत ।
पुनरावेदक
पेटवोलीबाट वुझिएकोः ललितपुर जिल्ला ल. पु. न. पा. वडा नं. ७ वस्ने मथुरा चिपालु ।
विरुद्ध
प्रत्यर्थी
वादीः ऐ. सुन्धारा वस्ने मनोज चिपालु
§ गोपाल बहादुर प्रधान विरुद्ध कटक बहादुर प्रधान भएको २०२६ सालको दे.पु.नं. ६१ (ने.का.प. २०२७, नि.नं. ५६६, पृ. २०८) को अंश मुद्दामा प्रतिपादित सिद्धान्त तत्कालीन मुलुकी ऐन अंशवण्डाको महलको ३३ नं. को कानूनी व्यवस्थामा आधारित देखिन्छ । उल्लेखित मुद्दामा आमा र दुई भाई छोराहरु संग रहे वसेकै अवस्थामा आमाले आफ्नो अंश भागको सम्पत्ति एक भाई छोरालाई मात्र वकसपत्र गरी दिएकोमा सर्वोच्च अदालत पूर्ण इजलासबाट तत्काल प्रचलित अंशवण्डाको ३३ नं. मा उल्लेखित मानो नछुटृी संगै वसेका अंशियारहरुमा कमाएको धन र लाएको ऋण समेत सवै अंशियारलाई वरावर भाग लाग्छ भन्ने कानूनी व्यवस्थाका आधारमा सवै छोरालाई अंश गर्नु पर्ने सम्पत्ति आमाले एउटा छोरालाई मात्र लेखी दिएमा कानून विरुद्ध हुने भनी सिद्धान्त प्रतिपादित भएको देखिन्छ । तर प्रस्तुत मुद्दामा आफूसंग वसेका छोरा वुहारीलाई आफ्नो अंश हकको सम्पत्ति तत्काल प्रचलित मुलुकी ऐन विधवा अंशधनको १ नं. को कानूनी व्यवस्थाका आधारमा रजिष्ट्रेशन पारित समेत गरी रीतपूर्वक वकसपत्रको लिखत लेखी दिएको अवस्था विद्यमान रहेको छ । तसर्थ प्रस्तुत मुद्दा र २०२६ सालको दे.पु.नं. ६१ को मुद्दाको प्रकृति र विषयवस्तु समेत फरक फरक रहेको सन्दर्भमा दुई छुट्टा छुट्टै विषयमा प्रतिपादित सिद्धान्तहरु भएकाले वाझिएको भन्न नमिल्ने।
(प्र.नं. १५)
§ तत्काल प्रचलित कानून वमोजिम आफ्नो अंश हकको सम्पत्ति शेषपछिको वकसपत्रको लिखत गरी दिएको अवस्थामा सो लिखतलाई अन्यथा प्रमाणित नगरेसम्म लिखतको कानूनी अस्तित्व यथावत रहेको मान्नुपर्ने भै त्यस्तो कानूनी मान्यता प्राप्त शेषपछिको वकसपत्रको लिखत वकसपत्रदाताको मृत्युपछि स्वतः कृयाशील हुने हुंदा वकसपत्रदाता लालमायाको अंश हकको सम्पत्ति वकस पाउनेमा सर्ने भनी ५ जना न्यायाधीश रहेको पूर्ण इजलासबाट मिति २०५५।१।१० मा अभिव्यक्त भएको राय नै कायम रहेको देखिएकोले त्यस्को औचित्यमा प्रवेश गरिरहन नपर्ने ।
(प्र.नं. १६)
पुनरावेदक तर्फबाटःविद्वान अधिवक्ता श्री देवीप्रसाद उप्रेती
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्वित नजिरः ने.का.प. २०२७, नि.नं. ५६६, पृ. २०८
फैसला
प्र.न्या.मोहनप्रसाद शर्माः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३.१(ख) अनुसार पूर्ण इजलासको लगतमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः
२. मुलपुर्खा राम लक्ष्मण भएको राम तर्फ छोराहरु कृष्ण वहादुर, नारायण वहादुर तथा लक्ष्मणतर्फ छोराहरु लक्ष्मी वहादुर, गौरी कृष्णभएको निज लक्ष्मी वहादुर तर्फ छोरा राज वहादुर तथा गौरी कृष्ण तर्फ श्रीमती लालमाया र छोराहरु न्हुच्छे वहादुर, तुल्सी वहादुर भएको, न्हुच्छे वहादुर तर्फ २ श्रीमती विवाहिता मथुरा र ल्याइते सुर्यमती, सुर्यमती तर्फ छोरा प्र. अम्वर वहादुर छोरीहरु प्र शुशिला, इन्दु भएको तुल्सी वहादुर तर्फ छोराहरु हामी रामेश्वर वहादुर, इश्वर वहादुर मनोज चिपालु हौं । हामी दाजुभाई मध्येको इश्वर वहादुर उपत्यका वाहिर नोकरी गरी वस्नू भएको छ । जिजुवाजे राम तर्फको नारायण वहादुर, कृष्ण वहादुर, जिजुवाजे लक्ष्मण तर्फ वाजेहरु लक्ष्मी वहादुर समेतसंग हाम्रो वाजे गौरी कृष्ण पहिल्यै अंश छुटृी भिन्न बसिसकेका बाजे गौरी कृष्ण परलोक भई सकेपछि लालमाया न्हुच्छे वहादुर र हाम्रो वावु तुल्सी वहादुर समेत ३ अंशियार जिवित अवस्थामा जेठा वावु न्हुच्छे वहादुर १९९८ साल अघि नै मानो छुटृीई अलग वसि आउनु भएको भई तुल्सी बहादुर र लालमाया मात्रसंग साथ वसी आउनु भएको अवस्थामा जेठा वावु न्हुच्छे वहादुर सुर्यमती तर्फ लागी वज्यै र मथुरा समेतलाई वास्ता नगर्नु भएको तथा वज्यै लालमालाई हेरविचार गर्ने कान्छा तुल्सी वहादुर वज्यैको टहल चाकरी गरि आउने मथुरालाई लालमायाको अंश भागमा पर्ने चल अचल समेत ३ खण्डको १ खण्ड मथुरालाई र २ खण्ड हाम्रो वावु तुल्सी वहादुरले पाउने गरि मिति ०१३।९।१७ मा घरसारमा शेषपछिको वक्सपत्र लेखि मिति ०१३।९।१९ मा पारित गरिदिनु भएको थियो । वक्सपत्र गरि दिने लालमाया ०२४।०२५ साल तिर परलोक भएपछि वज्यैको अंश र वावुको हक समेत भोगचलन गरी आइरहेको छौं । न्हुच्छे वहादुर १९९८ साल अघि नै मानो छुटृी अलग वसि आउनु भएको, वज्यै लालमायाको अंशहक १ खण्ड जेठी आमा वाहेक भएता पनि सल्लाह मंजुरीले दावी नगर्ने गरि हामीलाई छाडिदिनु भएको र तपसिलको जग्गा मध्ये वज्यै लालमायाको १ खण्ड र तुल्सी वहादुरको १ खण्ड गरी २ खण्ड जग्गा वावु जिवित छउन्जेल वावुले र वावुपछि हामीले र जेठा न्हुच्छे वहादुरको १ खण्ड प्रतिवादी पक्षले अंश छुट्याई भोगचलन गरि सोही अनुपातमा आयस्ता वाडी लिई खाइ आएका छौं । लालमायाको अंश हकको १ खण्ड हाम्रो आफ्नु हकको १ खण्ड गरी २ खण्ड जग्गाको ३ खण्डको २ खण्डको मोल रु.१,००,०००। जाने २६-७-२.१/२ मा हाम्रो हक कायम गरि कि.नं. ४८, ४९, ५०, ५१, ५२, ५३, २१, ९८, ५५, १८९, १६५, ३३३, ३४७, १२५, ३२९, ९६८, ३३८, ३३९, ३५०, १४८, ५२९, ५३०, ५३१, ४०, १७०, १९३, १९४, १९५, १९६, १९७, १९८, १६१, ६७२, ६७६, ६७७, ६७८, ६८०, ६८१, ६८२, ६९१, ६९२, ६९३, ७०५, ७०६, ७०७ समेतका जग्गाहरु ३ खण्डको १ खण्ड प्रतिवादी र २ खण्ड हाम्रो छुट्याई नरम गरम मिलाई चलन चलाई पाउं भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. यही विषयमा यिनै बिपक्षी समेत उपर फिराद दायर गर्न लागेको वागमती अंचल अदालतको ०४६।११।२९ को आदेश अनुसार दर्ता भएको फिरादपत्रमा प्रतिवाद गर्न म्याद समेत तामेल भएको हुनुपर्छ । प्रतिउत्तर पत्र दिए पुग्ने विपक्षीहरुले थप मुद्दा हामी उपर दिन पाउने होइन । तुल्सीवहादुरले २ भागको १ भाग मात्र हिस्सा पाउने हो तीन भागको दुई भाग होइन विवादको जग्गाहरु आफ्नो जानी तीन भाग मध्येको दुई भाग दावी गरी लिन पाउने हकाधिकार वादीलाइ छैन । गौरी कृष्णका २ छोरा न्हुच्छेवहादुर र तुल्सीवहादुर वीच वरावरी अंश भागवण्डा लाग्ने हो । वण्डा नछुटिृने गौरीकृष्णका श्रीमती लालमायाको मृत्यु भई सकेको छ। हचुवा लिखत पारित गरिदिएको भरमा कुनै पनि अचल सम्पत्तिमा फिराद लगायत कसैको हक पुग्न सक्ने छैन। न्हुच्छे वहादुरका दुई श्रीमती मथुरा र सुर्यमती हुन् भन्ने ०४६।३।२६ को मिलापत्रवाट प्रष्ट भएको छ । २०१३।९।१९ मा रजिष्ट्रेशन पारीत गरी दिएको शेषपछिको वकसपत्र र विवादस्पद जग्गा मध्येको कुनै हिस्सा पनि आज सम्म विपक्षीको भोगचलनमा छैन, लालमायाले हक कायम नामसारी दर्ता गराई लिन नसकेको सम्पत्ति छोरा तुल्सी वहादुरले हक कायम गराई लिन नसकेकोमा एक छोरा बिपक्षी मनोज चिपालुले ३ भागको २ भाग पाउने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. यिनै वादी प्रतिवादी संलग्न भएको दे.मि.नं. १४९ को दर्ता नामसारी हक कायम मुद्दा आजै नि.नं. १८९ वाट निर्णय हुंदा विवादको जग्गा मध्ये आधा जग्गा मात्र यि वादी एवं निजका २ जना दाजु क्रमशः रामेश्वर वहादुर, इश्वर वहादुरको हक कायम समेत हुने निर्णय भएकोले पुनः सोही कुरामा निर्णय गरि रहन नपर्ने हुंदा वादीको दावी पुग्न सक्तैन भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतको मिति २०४९।३।१८ को फैसला ।
५. हक कायम गरी पाउं भन्ने कारवाही चलेको उक्त मुद्दामा अ.वं. १३९ नं. बमोजिम वुझिएको तथा म वाट भएको वयानको व्यहोरा समेत उल्लेख नगरी अ.वं. १८४(क) १८५, १८६, १९६ तथा ज.प.को २,२ (क) रजिष्ट्रेशनको ३०, ३२(क) तथा प्रमाण ऐनको दफा ३, ५४, ३४ र मुलुकी ऐन दानवक्सको २ नं. समेतको प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि र सम्मानित सर्वोच्च अदलातवाट प्रतिपादित सिद्धान्त समेतको बिपरित शुरु ललितपुर जिल्ला अदालतको मिति ०४९।३।१८ को फैसला बदर गरी मेरो बयान बमोजिम गरि पाउं भन्ने समेत व्यहोराको पेटवोलीवाट वुझिएको मथुरा चिपालुको पुनरावेदन पत्र ।
६. ललितपुर जिल्ला अदालतको फैसला प्रत्यक्षतः त्रुटिपूर्ण हुंदा सो फैसलालाई उल्टाई मेरो फिराद दावी अनुसार निर्णय गरि पाउं भन्ने समेत व्यहोराको वादी मनोज चिपालुको पुनरावदेन पत्र ।
७. यसमा यसै लगाउको दर्ता नामसारी मुद्दामा विवादित सम्पत्तिमा वादी मनोजका पिता तुल्सीतर्फआधी र न्हुच्छेतर्फको आधी हक पाउने ठहरी फैसला भएकोले यसमा पनि विवादित सम्पत्तिमा आधी आधी हक कायम भै दर्ता नामसारी हुने ठहर्छ, भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनवाट मिति ०५१।११।२६ मा भएको फैसला ।
८. प्रस्तुत मुद्दामा म पुनरावेदिका पेटवोलीवाट वुझिएकी र सासु लालमायाको अंश भागको ३ भागको १ भाग मैले पाउने र २ भाग तुल्सी वहादुरले पाउने गरी मिति २०१३।९।१९ मा शेषपछिको वक्स पास भएको लिखत प्रमाणलाई वादी मनोज चिपालु लगायत न्हुच्छे वहादुर तर्फको छोरा समेतले स्वीकार गरी आएका छन् । हालसम्म उक्त रजिष्ट्रेशन पास भएको लिखत कायमै रहेको अवस्थामा रजिष्ट्रेशनको ३० नं. तथा ३२, ३२(क) नं. साथै ज .प.को २.२ (क) नं. बमोजिम जहिलेसुकै दा.खा. गर्न पाउने कानूनी व्यवस्था विद्यमान हुंदा हुदै उक्त लिखतको अस्तित्व नै मेटाई गरेको फैसला कानूनी त्रुटिपूर्ण भएको हुंदा उक्त फैसला बदर गरी शेषपछिको वक्सपत्र बमोजिम विवादको जग्गामा हक कायम गरी पाउं भन्ने समेत व्यहोराको मथुरा चिपालुको यस अदालतमा परेको पुनरावेदन पत्र ।
९. यसमा यसै लगाउको यिनै पक्ष बिपक्ष भएको दे.पु.नं. ३११२ र २५७० मा आजै यसै इजलासवाट विपक्षी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दामा समेत अ.वं. २०२ नं. वमोजिम यस अदालतवाट मिति ०५३।३।१३ मा भएको आदेश ।
१०. यसै लगाउको यिनै पक्ष विपक्ष भएको दे.पु.नं. ३११२ र २५७० को दर्ता नामसारी मुद्दामा लालमायाको अंश भागका जग्गाको आधी तुल्सी वहादुरको र आधी न्हुच्छे वहादुरको हक कायम गरेको पुनरावेदन अदालत पाटनको फैसला आजै यसै इजलासवाट सदर भएको र सोही मुद्दामा विवादित रहेको सम्पत्तिको सम्वन्धमा प्रस्तुत मुद्दा देखिन आएकोले उक्त मुद्दामा लगाइएको आधार वुंदा समेतवाट प्रस्तुत मुद्दामा पनि लालमायाको अंशभागको जग्गामा तुल्सी वहादुर र न्हुच्छे वहादुरको आधी आधी हक कायम भै दर्ता नामसारी हुने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा सदर हुन्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । ने.का.प. २०४८ नि.नं. ३५५० को अंश मुद्दामा सर्वोच्च अदालत संयुक्त इजलासवाट प्रतिपादित सिद्धान्त संग सहमत हुन नसकेको कारणले उक्त दर्ता नामसारी मुद्दा पूर्ण इजलासमा पेश गर्ने भन्ने आदेश भएको र प्रस्तुत मुद्दा सो लगाउको देखिएकोले सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(ख) बमोजिम प्रस्तुत मुद्दा पनि पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासवाट मिति २०५३।१२।२९ मा भएको फैसला ।
११. यस अदालत संयुक्त इजलासको मिति ०५३।११।२९ को हक कायम समेत मुद्दामा भएको फैसलासंग ने.का.प. २०४५, अंक ८, पृ. ७९६ नि.नं. ३५५० को दे.पु.नं. ५४४ को अंश मुद्दामा भएको फैसला रुलिङ वाझिएको भनी यस पूर्ण इजलासमा पेश हुन आएकोमा २ वटा संयुक्त इजलासका ४ जना माननीय न्यायाधीशहरुको सलग्नता देखिएकोले यसै लगाउको दे.पु.ई.नं. १२७, १२८ समेत साथै राखी वृहत पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत पूर्ण इजलासवाट मिति २०५४।३।२६ मा भएको आदेश ।
१२. गोपालवहादुर प्रधान विरुद्ध कटक वहादुर प्रधान भएको २०२६ सालको दे.पु.नं.. ६१ को अंश मुद्दामा सवै छोरालाई अंश गर्नु पर्ने सम्पत्ति आमाले एउटा छोरालाई मात्र लेखी दिएको कानून विरुद्ध हुने भन्ने (ने.का.प. ०२७, नि.नं. ५६६, पृष्ठ २७८) सिद्धान्त प्रतिपादित भइरहेको छ भने पद्मावती उपाध्यायको मु.स. गर्ने तारादेवी उपाध्याय विरुद्ध इन्द्रप्रसाद उपाध्याय समेत भएको २०३१ सालको दे.पु.नं. ८७ को अंश मुद्दामा वक्सपत्र दिनेको मृत्यु भएपछि निजले गरिदिएको शेषपछिको वक्सपत्रको नाताले निजको हक वक्स पाउनेमा सर्ने र निज वक्स दिनेको अंशभागमा वक्स पाउनेको हक स्थापित हुने भन्ने (ने.का.प. ०३२, नि.नं. ९२४, पृ.२१८) सिद्धान्त प्रतिपादित भई दुई मुद्दावाट दुई वेग्ला वेग्लै सिद्धान्त प्रतिपादित भईरहेको देखियो । प्रस्तुत मुद्दामा माथि लेखिए बमोजिम श्रीमती लालमाया चिपालुले तत्काल प्रचलित कानून वमोजिम आफूले दिन पाउने आफ्नो अंश हकको सम्पत्ति मध्ये ३ खण्डको २ खण्ड कान्छा छोरा तुल्सी वहादुरलाई र १ खण्ड जेठाे छोराको जेठी श्रीमती मथुरालाई जिउनी र निजकोशेषपछि छोरा तुल्सी वहादुरले पाउने गरी शेषपछिको वक्सपत्र लिखत गरी पारित समेत गरी दिएको र सो शेषपछिको वक्सपत्र अनुसार वक्सपत्र पाउने प्रतिवादीले भोगचलन समेत गरी आएको देखिन्छ । वक्सपत्र लिखतको व्याख्या गर्दा वक्सपत्र गरिदिने दाताको अभिप्रायलाई मध्यनजर राख्नुपर्ने हुंदा र क्रियाशिल भइसकेको वक्सपत्र स्वतः निस्कृय हुन सक्ने कानूनी प्रँवधान नहुंदा ०१३।९।१९ को शेषपछिको वक्सपत्र अनुसार वक्स दिने लालमायाको अश हकको सम्पत्ति वकस पाउनेमा सर्ने हुंदा २०२६ सालको दे.पु.नं. ६१ को अंश मुद्दामा सवै छोरालाई अंश गर्नु पर्ने सम्पत्ति आमाले एउटा छोरालाई लेखिदिएको कानून विरुद्ध हुने भन्ने प्रतिपादित सिद्धान्तसंग सहमत हुन सकिएन । सो सिद्धान्त ५ जना न्यायाधीश भएको पूर्ण इजलासावाट प्रतिपादित भइरहेको देखिएकोले प्रस्तुत मुद्दा ५ जना भन्दा बढी न्यायाधीश रहेको पूर्ण इजलासवाट हेर्नु पर्ने प्रकृतिको देखिन आएकोले नियमानुसार ५ जना भन्दा वढी न्यायाधीशहरु रहेको पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको पूर्ण इजलासवाट मिति ०५५।१।१० मा भएको आदेश ।
१३. नियम बमोजिम पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक मथुरा चिपालुको तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री देवीप्रसाद उप्रेतीले गर्नु भएको वहस समेत सुनियो ।
१४. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा कानून व्यवसायीको वहस समेत सुनि सम्पूर्ण मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा लालमाया चिपालुले आप्नोभागमा पर्ने चल अचल सम्पत्ति मध्ये ३ खण्डको २ खण्ड कान्छो छोरा तुल्सी वहादुरलाई र १ खण्ड जेठो छोराको जेठी श्रीमती अर्थात आफ्नी वुहारी मथुरालाई र निजको शेषपछि छोरा तुल्सी वहादुरले खान पाउने गरी शेषपछिको बकसपत्र लिखत गरी मिति ०१३।९।१९।४ मा रजिष्ट्रेशन पारित समेत गराई दिएको, सोही लिखतलाई आधार वनाई वादी मनोज चिपालुले बज्यै लालमायाको शेषपछि उल्लेखित सम्पत्ति समेत आफूहरुले भोगचलन गरी आएको हुंदा कुल क्षेत्रफल २६-७-२.१/२ जग्गा मध्ये बज्यै लालमायाको अंश हकको १ खण्ड र वावु तुल्सी वहादुरको १ खण्ड समेत गरी २ खण्ड हाम्रो नाममा र वांकी एक खण्ड प्रतिवादीका नाममा छुट्याई चलन चलाई पाउं भनी ललितपुर जिल्ला अदालतमा फिराद गरेकोमा दुई छोरा वीचमा वरावरी अंश लाग्नेमा एक छोरा तुल्सी वहादुरले ३ भागको २ भाग पाउने गरी वण्डा गर्न मिल्दैन । विवादास्पद जग्गा मध्येको कुनै पनि हिस्सा आजसम्म फिरादकर्ताको भोगचलनमा छैन, लालमाया स्वयंले र तुल्सी वहादुरले समेत हक कायम गरी लिन नसकेको सम्पत्तिमा फिरादकर्ताको हक कायम हुन सक्दैन, हचुवा लिखत पारित गरिदिएको भरमा कुनै पनि अचल सम्पत्तिमा फिरादकर्ताको हक पुग्न सक्ने होइन भनी प्रतिउत्तर फिराएको देखिन्छ । शुरु ललितपुर जिल्ला अदालतले विवादित जग्गा मध्ये आधामा मात्र वादी र निजका दुई दाजुहरुको हक कायम हुने गरी फैसला गरेकोमा सो फैसलामा चित नबुझेको भनी अ.वं. १३९ नं.वमोजिम वुझिएकी मथुरा चिपालु र वादी मनोज चिपालुको पुनरावेदन परी पुनरावेदन अदालत, पाटनवाट समेत विवादित सम्पत्तिमा आधी आधी हक कायम हुने गरी फैसला गरेको देखिन्छ । ०१३।९।१९ मा पारित गरिदिएको शेषपछिको वक्सपत्रको लिखत वमोजिम विवादित जग्गामा हक कायम गरी पाउ भनी मथुरा चिपालुको यस अदालतमा पुनरावदेन परेकोमा यस अदालतको संयुक्त इजलासवाट पुनरावेदन अदालतको फैसलालाई नै सदर गरी २०४५ सालको नि.नं. ३५५० मा प्रतिपादित सिद्धान्तसंग सहमत हुन नसकेको भनी स.अ. नियमावली, २०४९ को नियम ३.१(ख) अनुसार पूर्ण इजलासको लगतमा दर्ता भै पेशहुंदा पूर्ण इजलासवाट लालमाया चिपालुले तत्काल प्रचलित कानून वमोजिम आफूले दिन पाउने आफ्नो अंश हकको सम्पत्ति मध्ये ३ खण्डको २ खण्ड कान्छो छोरा तुल्सी वहादुरलाई र १ खण्ड जेठो छोराको जेठी श्रीमती मथुरालाई जिउनी र निजको शेषपछि छोरा तुल्सी वहादुरले खान पाउने गरी शेषपछिको वकसपत्र लिखत गरी पारित समेत गरी दिएको र सो शेषपछीको वकसपत्र अनुसार वक्सपत्र पाउने प्रतिवादीले भोगचलन समेत गरी आएको देखिन्छ । वकसपत्र लिखतको व्याख्या गर्दा वकसपत्र गरिदिने दाताको अभिप्रायलाई मध्यनजर राख्नु पर्नेहुंदा क्रियाशील भईसकेको वकसपत्र स्वतः निष्क्रिय हुन सक्ने कानूनी प्रँवधान नहुंदा ०१३।९।१९ को शेषपछिको वकसपत्र अनुसार वकस दिने लालमायाको अंश हकको सम्पत्ति वकस पाउनेमा सर्ने भनी राय समेत व्यक्त गरी ०२६ सालको दे.पु.नं. ६१ को अंश मुद्दामा सवै छोरालाई अंश गर्नुपर्ने सम्पत्ति आमाले एउटा छोरालाई लेखिदिएको कानून विरुद्ध हुने भन्ने प्रतिपादित सिद्धान्तसंग असहमति जनाइ ५ जना भन्दा वढी न्यायाधीश रहेको पूर्ण इजलासमा पेश गर्नु भनी मिति ०५५।१।१० मा भएको आदेश अनुसार प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखिन्छ । यसरी ५ जना न्यायाधीशहरु रहेकोपूर्ण इजलासवाट आफ्नो राय व्यक्त गरी २०२६ सालको दे.पु.नं.६१ को अंश मुद्दामा समानस्तरको इजलासबाट प्रतिपादित सिद्धान्तसंग सहमत हुन नसकेको कारणले मात्र प्रस्तुत मुद्दा ५ जना भन्दा वढी न्यायाधीश रहेको इजलास समक्ष पेश गरिएको हुंदा यसमा प्रथमतः ५ जना न्यायाधीश रहेको पूर्ण इजलासबाट मिति २०५५।१।१० को आदेशमा व्यक्त राय र २०२६ सालको दे.पु.नं. ६१ को अंश मुद्दामा प्रतिपादित सिद्धान्तमा रुलिंग वाझिएको छ, छैन भन्ने सम्वन्धमा विवेचना गरी निर्णय दिनु परेको छ ।
१५. रुलिंग वाझिएको भन्ने तर्फ विचार गर्दा गोपालबहादुर प्रधान विरुद्ध कटक बहादुर प्रधान भएको २०२६ सालको दे.पु.नं. ६१ (ने.का.प. २०२७, नि.नं. ५६६, पृ. २०८) को अंश मुद्दामा प्रतिपादित सिद्धान्त तत्कालीन मुलुकी ऐन अंशवण्डाको महलको ३३ नं. को कानूनी व्यवस्थामा आधारित देखिन्छ । उल्लेखित मुद्दामा आमा र दुई भाई छोराहरु संग रहे वसेकै अवस्थामा आमाले आफ्नो अंश भागको सम्पत्ति एक भाई छोरालाई मात्र वकसपत्र गरी दिएकोमा सर्वोच्च अदालत पूर्ण इजलासबाट तत्काल प्रचलित अंशवण्डाको ३३ नं. मा उल्लेखित मानो नछुटृी संगै वसेका अंशियारहरुमा कमाएको धन र लाएको ऋण समेत सवै अंशियारलाई वरावर भाग लाग्छ भन्ने कानूनी व्यवस्थाका आधारमा सवै छोरालाई अंश गर्नु पर्ने सम्पत्ति आमाले एउटा छोरालाई मात्र लेखी दिएमा कानून विरुद्ध हुने भनी सिद्धान्त प्रतिपादित भएको देखिन्छ । तर प्रस्तुत मुद्दामा आफूसंग वसेका छोरा वुहारीलाई आफ्नो अंश हकको सम्पत्ति तत्काल प्रचलित मुलुकी ऐन विधवा अंशधनको १ नं. को कानूनी व्यवस्थाका आधारमा रजिष्ट्रेशन पारित समेत गरी रीतपूर्वक वकसपत्रको लिखत लेखी दिएको अवस्था विद्यमान रहेको छ । तसर्थ प्रस्तुत मुद्दा र २०२६ सालको दे.पु.नं. ६१ को मुद्दाको प्रकृति र विषयवस्तु समेत फरक फरक रहेको सन्दर्भमा दुई छुट्टा छुट्टै विषयमा प्रतिपादित सिद्धान्तहरु भएकाले वाझिएको भन्न मिल्ने देखिएन ।
१६. माथि विवेचना गरिए अनुसार प्रस्तुत मुद्दामा यस अघि नै पूर्ण इजलासवाट मिति ०५५।१।१० मा व्यक्त राय र २०२६ सालको दे.पु.नं. ६१ को मुद्दामा समान स्तरको पूर्ण इजलासवाट प्रतिपादित सिद्धान्त वाझिएको नदेखिएको सन्दर्भमा प्रस्तुत मुद्दामा तत्काल प्रचलित कानून वमोजिम आफ्नो अंश हकको सम्पत्ति शेषपछिको वकसपत्रको लिखत गरी दिएको अवस्थामा सो लिखतलाई अन्यथा प्रमाणित नगरेसम्म लिखतको कानूनी अस्तित्व यथावत रहेको मान्नु पर्ने भै त्यस्तो कानूनी मान्यता प्राप्त शेषपछिको वकसपत्रको लिखत वकसपत्र दाताको मृत्युपछि स्वतः कृयाशील हुने हुंदा वकसपत्रदाता लालमायाको अंश हकको सम्पत्ति वकस पाउनेमा सर्ने भनी ५ जना न्यायाधीश रहेको पूर्ण इजलासबाट मिति २०५५।१।१० मा अभिव्यक्त भएको राय नै कायम रहेको देखिएकोले त्यस्को औचित्यमा प्रवेश गरिरहन परेन । अरु तपसिल वमोजिम गर्नु ।
तपसील
माथि लेखिए वमोजिम ठहरेकाले वादी दावीको विवादित जग्गामा आधी आधी हक कायम गरी शुरु एव पुनरावेदन अदालतको फैसलाले राख्ने गरेको लगत कटृा गरी दिनु भनी शुरु जिल्ला अदालतमा लेखि पठाइ दिनु ... १
दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ............ २
उक्त रायमा हामी सहमत छौं ।
न्या.कृष्णजंग रायमाझी
न्या.गोविन्दबहादुर श्रेष्ठ
न्या.अरविन्दनाथ आचार्य
न्या.उदयराज उपाध्याय
न्या.भैरवप्रसाद लम्साल
न्या.दिलीपकुमार पौडेल
इति सम्वत् २०५५ साल फाल्गुन २६ गते रोज ४ शुभम्..................................