शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६१९ - उत्प्रेषण लगायत जो जाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

भाग: ३० साल: २०४५ महिना: माघ अंक: १०

निर्णय नं. ३६१९      ने.का.प. २०४५                 अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको रि.नम्बर १६७७

आदेश भएको मिति : २०४५।६।६।५ मा

 

निवेदक : सर्लाही जि.हरकठवा गा.पं.वार्ड नं. १ घर भई प्रहरी पहरा गण नं. ४ का प्र.ज.राजेन्द्रप्रसाद सिंह

विरुद्ध

विपक्षी : प्रहरी पहरा गण मुख्यालय, त्रिपुरेश्वर व्यवस्था शाखाका प्रहरी उपरीक्षकसमेत

 

विषय : उत्प्रेषण लगायत जो जाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 

(१)                पुनरावेदन तहबाट सजायँ बढाउन नमिल्ने हो घटाउन नमिल्ने भन्न नसकिने ।

(प्रकरण नं. ९)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कलमनारायण दास

विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

 

आदेश

न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधान  २०१९ को धारा १६।७१ पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य एवं निवेदन जिकिर यसप्रकार छ ।

२.    म ०३८।४।१५ मा प्रहरी सेवामा प्रवेश गरी कर्तव्य पालनताका साथ कामकाज गर्दै आएकोमा २०४२।३।९।१ का दिन दिउँसो १५:३० बजेको समयमा ड्यूटीबाट आफू खुशी बाहिर गई मादक पदार्थ सेवन गरी महिला बन्दीलाई बेइज्जती गरी डिउटी गर्ने महिला प्र.ह.लाई पनि बेइज्जती गरी गार्ड इञ्चार्जले सम्झाउँदा निजलाई समेत हातपात गरेको अभियोगमा प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को दफा ९(५)(ग) र (च) को अपराधमा किन कारवाही नगर्ने ? कारवाही नगर्नु पर्ने केही कारण भएमा पत्र प्राप्त भएको १ घण्टा भित्र स्पष्टीकरण पेश गर्नु भनी मिति २०४२।३।९ मा मलाई स्पष्टीकरण सोधियो । सो बमोजिम पत्र प्राप्त हुनासाथ मैले आरोपित कसूर केही गरेको छैन तसर्थ म माथि कुनै कारवाही नहुनु पर्ने भनी स्पष्टीकरण पेश गरेको थिएँ । तर म माथि सन्तोषजनक स्पष्टीकरण पेश नगरेको भनी प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९(१) को देहाय (६) बमोजिम भविष्यमा सरकारी नोकरीका लागि सामान्यतया अयोग्य ठहरिने गरी बर्खास्त खाली     गरियो । सोउपर मेरो चित्त नबुझी सबूद प्रमाणको उचित मूल्याङ्कन गरेर होस् भनी मध्ये क्षेत्र प्रहरी कार्यालय, भृकृटी मण्डपमा पुनरावेदन गरेको थिएँ । तर सो कार्यालयबाट म निम्न स्तरीय कर्तव्यपरायण प्रहरी जवानलाई भविष्यमा सरकारी नोकरीका निमित्त सामान्यतया अयोग्य नठहरिने गरी बर्खास्त गरियो । मेरो माग बमोजिम मलाई यति चर्को सजायँ नै हुने होइन । मेरो सेवा अन्त हुनु पूर्व मलाई सफाईको पूर्ण मौका दिइनु पर्ने हो । एक घण्टाको अवधि प्राकृतिक न्यायको स्पष्टतः विपरीत छ । मैले वर्दी लगाएको समयमा रक्सी सेवन गरेको पनि छैन । न्यायिक अधिकारीले न्यायिक निर्णय गर्दा न्यायिक विचार पुर्‍याउन सक्नु भएको छैन । अतः म माथि गरिएको कारवाही बदर गरी संविधान तथा कानूनले प्रत्याभूत गरेका मेरा हकहरुलाई प्रचलन गराई पाउँ भन्ने समेतको मिति २०४४।९।६ को रिट निवेदन ।

३.    यसमा के कसो भएको हो लिखित जवाफ प्राप्त भएपछि वा म्याद नाघेपछि पेश गर्नु भन्ने एक न्यायाधीशको इजलासको आदेश ।

४.    निज निवेदक प्र.ज राजेन्द्रप्रसाद सिंहले डयूटी छाडी बाहिर गई मादक पदार्थ सेवन गरी बन्दी माथि अपशब्द बोलेको र म प्र.ह.माथि पनि अपशब्द प्रयोग गर्नु भएको हो । ड्यूटी इञ्चार्जले सम्झाउँदा निज माथि पनि हातपात गर्न जाई लाग्नु भएको हो । निजलाई तुरुन्त वीरेन्द्र प्रहरी अस्पतालमा जाँच गर्न पठाउँदा पनि मादक पदार्थ सेवन गरेको प्रमाणित हुन आयो । ड्यूटीमा रहेको प्रहरी कर्मचारीले यसरी मादक पदार्थ सेवन गरी छाडा व्यवहार गरेकोले निजमाथि गरिएको कारवाही कानून बमोजिम भएकोले रिट निवेदन खारेज होस् भन्ने समेतको मध्य क्षेत्रीय प्रहरी कार्यालय काठमाडौंको मिति २०४५।१।७ का लिखित जवाफ ।

५.    अदालतबाट पूर्पक्षमा बसेका बन्दीको सुरक्षा कार्यमा कार्यरत प्रहरीबाट मादक पदार्थ सेवन गरी बन्दी तथा आफ्नो तालुक कर्मचारीप्रति अपशब्द तथा हातपात गर्नु गैरकानूनी तथा गैरजिम्मेवारपूर्ण कार्य हो । प्रहरी सेवामा रहेका कर्मचारीले वर्दीमा भएको वा नभएको बखत मादक पदार्थ सेवन गर्न नहुने नियमावलीमा स्पष्ट व्यवस्था छ । विपक्षीले मादक पदार्थ सेवन गरेको कुरा आफैं स्वीकार गर्नु भएको छ । तसर्थ निजमाथि गरिएको कारवाही कानून तथा नियम बमोजिम भएकोले रिट निवेदन खारेजभागी छ भन्ने प्रहरी पहरा गण मुख्यालयको मिति २०४५।१।३० को लिखित जवाफ ।

६.    नियम बमोजिम पेश हुनआएको प्रस्तुत रिट निवेदनको फाइल समेत अध्ययन गरी निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दास र विपक्षी म.क्षे.प्र.का.समेतका तर्फबाट खटिई उपस्थित  हुनुभएका विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले गर्नुभएको बहस जिकिर समेत सुनियो ।

७.    अतः निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के हो सोको निर्णय दिन परेको छ ।

८.    निर्णयतर्फ विचार गर्दा यसमा निज रिट निवेदक प्र.राजेन्द्रप्रसाद सिंहलाई बजार खोर गार्डमा ड्यूटी खटाइएकोमा ड्यूटी छाडी बाहिर गई मादक पदार्थ सेवन गरी आई महिला बन्दीलाई अपशब्द बेइज्जती कुराहरु बोली उक्त बन्दीको ड्यूटी गर्ने महिला प्र.ह.फुलमाया अधिकारीले सम्झाउँदा उसलाई पनि अपशब्द बोली गाली बेइज्जती गर्दा उक्त गार्डका ह.मे.बाबुलाल लामाले सम्झाउँदा उसलाई पनि हातपात गरेको, गार्ड इञ्चार्ज प्र.ना.नि.रणबहादुर बस्नेतले सम्झाउँदा निजलाई समेत हातपात गरेको भन्ने सम्बन्धमा निजउपर कारवाही गर्दा निजसंग सो सम्बन्धमा स्पष्टीकरण माग गर्दा निजले सन्तोषजनक स्पष्टीकरण दिन नसकेबाट निजलाई प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९(५)(ग) र (च) को कसूर गरेको अभियोगमा ऐ.नियमावलीको नियम ९(१०)(ख) को अधिकार प्रयोग गरी ऐ.नियमावलीको नियम ९(१)(छ) अनुसार भविष्यमा सरकारी नोकरीको लागि सामान्यतः अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने गरी प्रहरी पहरा गण मुख्यालयबाट निर्णय भएकोमा सोउपर पुनरावेदन परी म.क्षे.प्र.का.बाट भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी बर्खास्त गरेको सम्म सदर गरी निर्णय भएको देखिन्छ ।

९.    माथि उल्लेख भएअनुसार रिट निवेदकले आफू ड्यूटीमा खटिएको बखत बाहिर गई मादक पदार्थ सेवन गरेको कुरालाई रिट निवेदनमा इन्कार गर्नसकेको पाइँदैन भने चिकित्सकको जाँचबाट निजले मादक पदार्थ सेवन गरेको कुरा प्रमाणित भएको देखिन आउँछ । प्रहरी सेवामा रहेका प्रहरी कर्मचारीले उर्दीको पोशाक लगाई वा नलगाई ड्यूटीमा रहेको अवस्थामा मादक पदार्थ सेवन गर्नु हुँदैन भन्ने प्रहरी नियमावली, २०३३ को नियम ९.५ (च) मा व्यवस्था भएको पाइन्छ । तसर्थ प्रहरी नियमावली बमोजिम सेवाबाट बर्खास्त गर्ने गरेको कानूनसंगत नै देखियो, जहाँसम्म शुरुले भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी सजायँ गरेकोमा पुनरावेदन तहबाट हेर्दा अयोग्य नठहरिने गरी गरेको कुरा छ त्यसमा विचार गर्दा पुनरावेदन तहबाट सजायँ बढाउन नमिल्ने हो, घटाउन नमिल्ने भन्न सकिँदैन । रिट निवेदन जिकिर अनुसारको आदेश जारी गर्न मिलेन, रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार मिसिल (अभिलेख) शाखामा बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४५ साल आश्विन ६ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु