शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६२१ - कर्तव्य ज्यान

भाग: ३० साल: २०४५ महिना: माघ अंक: १०

निर्णय नं. ३६२१      ने.का.प. २०४५                 अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको फौ.पु.नं. ४४४, ४४९

सम्वत् २०४५ सालको फौ.पु.नं. ६०६, ६०७

सम्वत् २०४५ सालको साधक नं. १२६

फैसला भएको मिति : २०४५।४।३१।२ मा

 

पुनरावेदक/वादी : रामपत मण्डलको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादीहरु : जि.ध.कजरा रमौल गा.पं.वा.नं.५ कजरा बस्ने लक्ष्मी यादवसमेत

विरुद्ध

विपक्षी/वादी   :     रामपत मण्डलको जाहेरीले श्री ५ को सरकार

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)                अभियुक्तहरुले प्रहरीमा कुटपिट गरी गरेको साविती इच्छा विरुद्धको हो भनी भने तापनि अन्य स्वतन्त्र प्रमाण र विश्वसनीय प्रमाणहरुबाट प्रहरी सावितीलाई पुष्टि भइरहेको देखिँदा प्रहरीमा भएको सावितीलाई प्रमाणमा लिन मिल्ने ।

(प्रकरण नं. ६६)

(२)               प्रहरी साविती र सरजमीनका व्यक्तिहरुले मृतकलाई कुटपिट गरी कर्तव्य गरी ज्यान लिए, यी अभियुक्तहरुले मारेको भन्ने कुराको व्यहोरा अदालतमा आई बकपत्र गरी समर्थन गरेको समेतबाट ती अभियुक्तहरुले षडयन्त्रपूर्वक लाठी, भाला प्रयोग गरी कुटपिट गरी कर्तव्य गरी मारेको ठहर्ने ।

(प्रकरण नं. ६६)

(३)               चियो गरी खबर गरेको भनी एक मिलानको अधिकारप्राप्त अधिकारी समक्ष लेखाई दिएको र अन्य स्वतन्त्र सबूद प्रमाणबाट पनि वारदातमा चोट छोडेको भन्ने कुरा नदेखिएकोले ज्या.सं.को १७(३) नं.बमोजिम कैद वर्ष २ गर्नु पर्ने ।

(प्रकरण नं. ६७)

(४)               ज्यान मार्ने मनसाय लिई लाठी लिई उभिरहेको सम्म सबूद प्रमाणबाट समर्थित हुन आएकोले ज्यानसम्बन्धी महलको १७(२) बमोजिम जनही ५ वर्ष कैद हुने ।

(प्रकरण नं. ६८)

(५)              वारदात स्थलमा उपस्थित नभए पनि मृतकलाई मार्नमा षडयन्त्र गर्न बसेको मिटिंगमा उपस्थित थियो भन्ने प्रमाणित हुन आएकोले निजलाई ज्यानसम्बन्धी महलको १७(३) बमोजिम २ वर्ष कैद गर्नु पर्नेमा ज्यान मर्न सक्ने कुनै कुरामा मुख्य भई षडयन्त्र गर्ने भनी क्षे.अ.ले ज्यानसम्बन्धी महलको १६ नं.बमोजिम अपराध ठहराएको मिलेको नदेखिँदा ज्या.सं.महलको १७(३) बमोजिम अपराध गरेको ठहर्ने ।

(प्रकरण नं. ६९)

(६)               प्रत्यक्ष सबूद प्रमाणको अभावमा शंकाकै भरमा मात्र ज्यान जस्तो गहन अपराधमा कर्तव्यवाला ठहराई सजायँ गर्न नमिल्ने ।

(प्रकरण नं. ७१)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी.

पुनरावेदक/प्रतिवादीहरुतर्फबाट : विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की तथा विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव

 

फैसला

न्या.महेशरामभक्त माथेमा : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी, प्रतिवादीको पुनरावेदन परी दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२.    मिति ०३८।५।१२ गतेको दिन नथुनी मण्डललाई कर्तव्य गरी मारेको हुँदा लाश प्रकृतिको लागि अनुरोध छ भन्ने समेत प्रहरी चौकी धनुषाको पत्र ।

३.    २०३८।५।१२ गते नथुनी मण्डललाई कर्तव्य गरी मारेको ठीक हो भन्ने समेत जमुनाप्रसाद समेतले गरिदिएको लाश प्रकृति मुचुल्का ।

४.    २०३८।५।१२ गते मेरो दाजु मिथिलेश्वर बजार गएका थिए, साँझमा घर फर्किरहेको अवस्थामा मेरो गाउँको लक्ष्मी यादव समेत १६ जनाले मेरो दाजु नथुनीलाई समाती कुटपिट गरी मारेको हो, निजहरुलाई कानून बमोजिम कारवाही समेत गरी पाउँ भन्ने समेत व्यहोराको रामपत मण्डलको जाहेरी दर्खास्त ।

५.    २०३८।५।१२ को साँझ अध्यारो भइसकेको थियो, मेरो घर पछाडि मार मार भन्ने हल्ला गरेको सुनें, तर अध्यारोमा आँखा नदेखे पनि लक्ष्मी यादवलाई आवाजबाट चिन्हे भन्ने समेत व्यहोराको दादूल मण्डलको कागज ।

६.    २०३८।५।१२ गते साँझमा घर फर्की आएको अवस्था गाउँकै राजेन्द्र समेतका व्यक्ति बसी रहेका थियौ । नथुनी मण्डल पश्चिम तर्फबाट आउनासाथ निजहरुले समाती कुटपिट गरी मारेको हो भन्ने समेत व्यहोराको प्रतिवादी सम्पतियादेवीको प्रहरीमा कागज ।

७.    २०३८।५।१२ गते साँझमा मिलवा भन्ने देवीया यादवको घरमा जाहेरीमा उल्लिखित सबै तैयारीमा थियौं । नथुनी मण्डल आएपछि समाती मुखमा गम्छाले बाँधी निजलाई पलटुले पनि लाठीले हानी लडाए सबैले क्रिच समेतले घोची बटारे भन्ने समेत व्यहोराको प्रतिवादी विकरु यादवको प्रहरीमा कागज ।

८.    २०३८।५।१२ गते नथुनी मण्डल मिथिलेश्वर बजार गएको थियो, निजलाई मार्ने नियतले देविया यादवको घरमा लुकी बसेका थियौं निज बजारबाट आई रहेको अवस्था निजलाई लाठीले हानी लडाई कुटपिट गरी मारेका हौं भन्ने समेत व्यहोराको प्रतिवादी राजेन्द्र यादवको प्रहरीमा कागज ।

९.    २०३८।५।१२ हामी सबैजना मिली देवीया यादवको घरमा लुकी बसी नथुनीमण्डल मिथिलेश्वर बजारबाट आउँदा समाती कुटपिट र घाँटी समेत बटारी मारेको हो भन्ने समेत व्यहोराको प्रतिवादी रामकरणको प्रहरीमा बयान ।

१०.    विकरु यादवको घरमा खान तलास लिंदा रगत लागेको लाठी भेटिएको ठीक हो भन्ने समेत व्यहोराको रामकुमार समेतले गरिदिएको बरामदी मुचुल्का ।

११.    २०३८।५।१२ गते साँझमा नथुनी मण्डललाई कुटपिट समेत गरी लक्ष्मी यादव समेतका मानिसले मारेको हो भन्ने समेत व्यहोराको राम गुलामको कागज ।

१२.    फर्सा र लाठीमा लागेको रगत उप्काई, शिलबन्दी गरी जाँचको लागी लाठी पठाएको ठीक हो भनी जमुनाप्रसाद समेतले गरी दिएको मुचुल्का ।

१३.    २०३८।५।१२ गतेको साँझमा मिथिलेश्वर बजारबाट आई रहेको अवस्था लक्ष्मी यादव समेतका मानिसले मेरो घिच्रो बटारी कुटपिट समेत गरी मलाई घाइते पारेको हो भन्ने कुरा नथुनी मण्डलले मर्नु भन्दा पहिले भनेको हो भन्ने समेत व्यहोराको हरिश्चन्द्र ठाकुरको कागज ।

१४.    २०३८।५।१२ गतेको दिन मिथिलेश्वर बजारबाट आइरहेको अवस्था लक्ष्मी यादव समेतका मानिसले एक्कासी घेरी समाती धारीलो हतियारले जत्रतत्र प्रहार गरी मलाई लडाई जत्रतत्र कुटपिट गरे भन्ने वित्तिकै निज नथुनीको मृत्यु भयो भन्ने समेत व्यहोराको कमलदेव सिंह दनुवारको कागज ।

१५.   २०३८।५।१२ गतेको साँझमा म देवीया यादवको घर छेउमा मेरो परालको टाल भएको पराल हेर्न आएको थिएँ, सोही समयमा लक्ष्मी, पलटु समेतका मानिसहरुले नथुनीलाई समाती कुटपिट धारीलो हतियार समेत प्रहार गरी सोही चोटबाट नथुनी मरेको हो, पछि मैले गाउँमा हल्ला गरेपछि निजहरु भागे भन्ने समेत व्यहोराको पलटु मण्डलको कागज ।

१६.    २०३८।५।१२ गते नथुनी मण्डल मिथिलेश्वर बजारबाट भिलुवाको घर अगाडि आउनासाथ रामकरणले लाठीले खुट्टामा हानी लडाए, कुटपिट हामी सबैले गरेका हौं सोही चोटबाट नथुनीको मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी जिवछ मण्डल धानुकको प्रहरीमा कागज ।

१७.   २०३८।५।१२ गतेको साँझमा नथुनी मण्डललाई म समेत भई कुटपिट गरी घाँटी बटारी हात समेत बटारी चल्न छटपटाउन समेत नसक्ने पारी गाउँकै रामबाबुको आँगनमा लगी फाली छाडेका हौं भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मी यादवको प्रहरीमा कागज ।

१८.    लक्ष्मी यादवको घर खान तलासी गर्दा निजको घरबाट भाला बरामद भएको ठीक हो भन्ने समेत व्यहोराको राम सागर राउत अमात समेतले गरी दिएको खान तलासी बरामदी मुचुल्का ।

१९.    २०३८।५।१२ गतेको साँझमा नथुनी मण्डललाई कुटपिट गरी कर्तव्य गरी मारेको कुरा सुनेको मात्र हो, घटनामा म थिइन के कुन रिसइवीबाट मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी जगरनाथ यादवको प्रहरीमा बयान कागज ।

२०.   नथुनी मण्डललाई कर्तव्य गरी मारेको हो भन्ने कुरामात्र सुनेको हुँ, घटना भएको समयमा म नभएको हुँदा ककसले कुटपिट गरी मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी चन्द्रेश्वर यादवको प्रहरीमा बयान कागज ।

२१.    २०३८।५।१२ गतेको साँझमा मिथिलेश्वर बजारबाट आइरहेको अवस्था लक्ष्मी यादव समेतका मानिसले अचानक घेरी मलाई कुटपिट गरी हात घाँटी बटारेको हो भन्ने नथुनीको मुखबाट सुनेको हुँ भन्ने समेत व्यहोरा जटहा यादवको कागज ।

२२.   लक्ष्मी यावद समेतका मानिसहरुले कुटपिट गरेको हो भनी नथुनीको मुखबाट मर्नु भन्दा पहिले सुनेको हुँ भन्ने समेत व्यहोराको राजगिर अमातको कागज ।

२३.   मिथिलेश्वर बजारबाट आइरहेको थियो मिलवाको घर नजिक आइपुग्दा विकरु यादव समेतका मानिसहरुले मलाई घेरी घाँटी समेत बटारे भन्ने समेत नथुनीको मुखबाट सुनेको हुँ भन्ने समेत व्यहोराको शिवजी यादवको कागज ।

२४.   पलटु समेतले मलाई मिलवाको घर आँगनमा आइपुग्दा घेरी लाठी, भाला, फर्सा समेतका हतियार प्रहार गरी गर्दन हात बटारी दिए भन्नु भयो, सोही चोटबाट राती नथुनीको देहान्त भयो भन्ने समेत व्यहोराको जिवछ यादवको प्रहरीमा कागज ।

२५.   नथुनी मण्डल समेतले कुटपिट समेत गरेको हुँदा शान्ति सुरक्षा समेत गरी पाउँ भन्ने समेत व्यहोराको सुवे यादवको निवेदन ।

२६.   नथुनी मण्डललाई मार्नमा मेरो पनि सहमती थियो, मार्दाको अवस्थामा म उपस्थित छैन । मैले मारेको छैन भन्ने समेत व्यहोराको प्र.रसिलाल यादवको प्रहरीमा बयान ।

२७.   नथुनी मण्डललाई कर्तव्य गरी मार्दाको अवस्थामा म घटनास्थलमा छैन । मार्ने योजनामा सल्लाह बनाएको भने हो, म पनि सहमतीमा थिएँ, प्रमुख लक्ष्मी यादव हो भन्ने समेत व्यहोराको प्रतिवादी पलटु यादवको प्रहरीमा बयान कागज ।

२८.   गाउँकै दिवारस्थानको जग्गा बाबाजी भन्ने लक्ष्मी यादवले कब्जा गरेकोमा सोही विषयलाई लिएर झैझगडा पनि भएको थियो, सोही रिसइवीबाट यो घटना घटाएका हुन् भन्ने समेत व्यहोराको मृतक नथुनीको श्रीमती रामसुनेरदेवी धानुकनीको बयान कागज ।

२९.   २०३८।५।१२।६ का साँझ मिथिलेश्वर बजारबाट नथुनी मण्डल मिला भन्ने देवियाको घर अगाडि आइपुग्नासाथ लक्ष्मी यादव समेतका मानिसहरुले घेरी समाती बोल्न कराउन समेत नदिई कुटपिट गरी घाइते पारी मारेको हो भन्ने समेत केही र नथुनी मण्डललाई राम गुलाम समेत भई मारेको भन्ने समेत केही भएको सरजमीन मुचुल्का ।

३०.   पक्राउमा परेका विकरु यादव र लक्ष्मी यादवले आफ्नो बयानमा उल्लेख गरी नथुनी मण्डललाई कर्तव्य गरी मार्दाको अवस्था विकरुले प्रयोग गरेको लाठी जिवछाले प्रयोग गरेको फर्सा र लक्ष्मी यादवले प्रयोग गरेको भाला निजहरुले बताई दिए अनुसार बरामद भई लाठी तथा फर्सामा रगतको दाग समेत भएको देखिएको भेटिएको सबूद खानतलासी बरामदी मुचुल्काबाट देखिन्छ बुझिएका सरजमीनका दफा १, , , , , ११, १३ र १५ का व्यक्तिहरुले विरुद्ध खण्डमा लेखिएका प्रतिवादीहरुले नै नथुनी मण्डललाई कर्तव्य गरी मारेको हो भनी किटानी बकी लेखाइदिएको छ र कुटपिटबाट लाठी तथा घातक हतियारको प्रयोग भई घाँटीको हाड भाँची स्पाइनत कर्डमा चोट लागि मृत्यु भएको कारण पोष्टमार्टम रिपोर्टबाट देखिन आएको समेतका उपरोक्त सम्पूर्ण प्रमाण आधारबाट रीसइवीको कारण नथुनी मण्डललाई विपक्षीहरुले मार्ने षडयन्त्र योजना बनाई कुटपिट गरी कर्तव्य गरी मारेको प्रमाणित हुन्छ । रसिलाल यादव, पलटु यादव, आफूहरु घटनास्थलमा उपस्थित नभएको भनी इन्कारी रहेको भए तापनि नथुनीलाई मार्नमा सहमति भई मिटिङमा बसेको मार्ने दिन पनि लक्ष्मीले बोलाए अनुसार मार्न भनी विकरु यादवको घरसम्म गएको भनी भनेको र साथै पक्राउमा परेका अन्य विकरु यादव समेतका विपक्षीहरुले पलटु यादव, रसिलाल यादव समेत भई  कर्तव्य गरेको हौं भनी भनेकोबाट आफूले गरेको अपराधबाट बच्न रसिलाल र पलटु यादव घटनास्थलमा उपस्थित नभई कर्तव्य गरेको छैन भन्ने भनाई देखिँदा निजहरुको भनाईलाई मात्र आधार मान्न सकिँदैन । सम्पत्तियादेवी आफूले अपराध गरेकोमा इन्कार भई बाहिर गएको र घरमा आउँदा देखेको भन्ने उल्लेख गरेकोमा कर्तव्य गरेको देखेपछि कहिंकतै खबर गरेको समेत नदेखिँदा निजको भनाईप्रति सहमति जनाउन नमिल्ने भई अपराधबाट आफू बच्न इन्कारी रहनु स्वाभाविक देखिन आएकोले विरुद्ध खण्डमा लेखिएका हाल फेला परेका लक्ष्मी यादव, विकरु यादव, राजेन्द्र यादव, रसिलाल यादव, पलटु यादव, जिवछ मण्डल, रामकरण यादव, सम्पत्तियादेवी र हाल पक्राउमा नपरेको जेवर यादव, राम यादव, श्यामकिशोर यादव, महेन्द्र यादव, सुरेत मण्डल, गोपाल यादव, राजदेव यादवको हकमा नथुनी मण्डललाई कर्तव्य गरी मारेकोमा मुलुकी ऐन ज्यानसम्बन्धीको महल १३(३) अनुसार र जगरनाथ यादव र चन्द्रेश्वरको हकमा आफू अपराध गरेकोमा इन्कारी रहे तापनि ज्यान मार्ने षडयन्त्र भित्र परेको देखिँदा सोही महलको १६ नं.बमोजिम सजायँ गरी पाउँ । सरजमीनका दफा २, , , , १०, १२, १४ र १६ का व्यक्तिहरुले जमुनाप्रसाद, रामगुलाम, महेन्द्र यादव समेतलाई पोल गरेको देखिन्छ तापनि निज जमुनाप्रसाद समेतका मानिसहरुले अपराध गरेको भन्ने कहिँ कतैबाट शुत्र शंका भई खुल्न देखिन नआएकोले प्रतिवादी पक्षका मानिसहरुले आफ्नो पक्षका मानिसहरुलाई अपराधबाट बचाउन निज सरजमीनका व्यक्तिहरुले पोल गरेको देखिएकोले जमुनाप्रसाद, रामगुलाम र महेन्द्र यादवउपर मुद्दा नचल्ने गरी अनुरोध गरिएको छ ।

३१.    मिति २०३८।५।२५ को मुचुल्का बमोजिम रगतको दागहरु रसायनिक परीक्षणको लागि प.पं.का फुरेन्सिक शाखा सेरालोजी उपशाखामा प्रेषित गरिएकोमा आजसम्म प्राप्त नभएकोले आएको बखत पठाइने व्यहोरा समेत अनुरोध गर्दै सम्बन्धित कागजात मिसिल मानिस यसैसाथ प्रस्तुत गरी अनुरोध गरिएकोछ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन दावी ।

३२.   मिति २०३८।५।१२ गतेको साँझ ६.३० बजेको बखतमा म आफ्नै घरमा छु, सोही रात ८।९ बजे मलाई रामगुलाम, जमुना, महेन्द्र समेत भई पक्री जमुनाको कोठलिमा बन्द गरी पुलीसको जिम्मा दिए, नथुनीलाई मार्ने विषयमा कुनै किसिमको सरसल्लाह भएको छैन, मैले मारेको छैन, मेरो नाउँबाट प्रहरीमा भएको कागज कुटपिट गरी सहिछाप गराएका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी राजेन्द्र यादवको अदालतमा बयान ।

३३.   २०३८।५।१२ गतेको साँझ ६.३० बजेको बखत म काशीपुरमा खेतमा गएको हुँदा त्यही थिएँ, सोही रात घर आएपछि रामगुलाम समेतले पक्री थुनामा राखी प्रहरीको जिम्मा लगाई दिए, नथुनीलाई मार्ने विषयमा मेरो मिटिंग भएको छैन, मेरो प्रहरीमा भएको कागज मेरो इच्छा विरुद्ध कुटपिट गरी सहिछाप गराएका हुन, घाउ खत छ भन्ने समेत व्यहोराको प्र.विकरु यादवको अदालतमा बयान ।

३४.   २०३८।५।१२ गतेका साँझ ६.३० बजेको बखतमा म घरमै टि.वि.को विमारी भएकोले बेहोस भई सुतेको थिएँ, औषधि खाँदैछु, सोही रात रामगुलाम समेत घरमा आई मलाई समाई जमुनाको घरमा थुनी प्रहरी हिरासतमा राखे, नथुनीलाई मैले मार्ने विषयमा मिटिंग गरेको मारे मराएको समेत छैन, मेरो प्रहरीमा भएको कागज कुटपिट गरी प्रहरीले आफू खुसी लेखेको कागजमा सहिछाप गराएको हो, घा खत अहिलेसम्म छ भन्ने समेत व्यहोराको प्र.रामकरण यादवको अदालतमा बयान ।

३५.   २०३८।५।९ गते जोगीयारा गएको थिएँ, १२ गते साँझ घर आएँ । सोही साँझ भविछनको दरवाजामा बसिरहेको अवस्था भोलहा समेत आई मलाई कुटपिट गरी प्रहरी हिरासतमा राखेका हुन । नथुनीसंग  मेरो कुनै झगडा छैन, मेरो प्रहरीमा भएको कागज कुटपिट गरी गराएको हो, मैले मारे मराएको समेत छैन भन्ने समेत व्यहोराको प्र.लक्ष्मी यादवको अदालतमा बयान ।

३६.   २०३८।५।१२ गतेका दिन साँझ ६.३० बजेको बखत म आफ्नै घरमा थिएँ, पेट झरेकोले घरमै सुतेको थिएँ । रात अं.१२ बजे रामगुलाम समेत भई पक्री जमुनाको घरमा लगी राखेपछि प्रहरी जिम्मा लगाए, नथुनीलाई मार्ने विषयमा मैले मिटिंग गरेको वा मारे मराएको समेत छैन, प्रहरीमा भएको कागज कुटपिट गरी सहिछाप गराएका हुन, घा खत, जाँच गराई पाउँ भन्ने समेत व्यहोराको प्र.पलटु यादवको अदालतमा बयान ।

३७.   २०३८।५।१२ गते साँझ ६.३० बजेको बखत म घरमा आइपुगेको हुँदा ६।७ बजेको साँझ आफ्नै घरमा छु । महेन्द्र समेत भई मलाई समाई ल्याई जमुनाको घरमा बन्द गरी प्रहरीलाई बुझाई दिए, नथुनीलाई को को भई मारे मलाई थाहा छैन, मैले मारे मराएको वा षडयन्त्र समेत गरेको छैन, प्रहरी कागज कुटपिट गरी गराएको हो, अस्पताल जाँच गराई पाउँ भन्ने समेत व्यहोराको प्र.रसीलाल यादवको अदालतमा बयान ।

३८.   २०३८।५।१२ गते साँझ ६.३० बजेको बखत मडुवा पिस्न परोसीको घरमा छु, रामगुलाम समेत पश्चिमबाट आउँदै थिएँ, किन भागी आएको भनी सोधनी गरे र मलाई समाई जमुनाले आफ्नो कोठलीमा ल्याई बन्द गरी पछि पुलीसको जिम्मा दिएकोले प्रहरी हिरासतमा थिएँ, मैले नथुनीलाई मार्न मिटिंग गरेको, सि.आई.डि. काम समेत गरेको छैन, प्रहरी कागज कुटी सहिछाप गराएका हुन भन्ने समेत व्यहोराको प्र.सम्पत्तियादेवीको अदालतमा बयान ।

३९.   जामुन समेत भई मलाई पक्री जामुनको घरमा थुने र पछि पुलीसले हिरासतमा राखेका हुन, नथुनीलाई मार्ने विषयमा मैले मिटिंग गरेको वा मारे मराएको समेत छैन नथुनी मृत जीवित के छ भन्न सक्तिन भन्ने समेत व्यहोराको प्रतिवादी चन्देश्वर यादवको अदालतमा बयान ।

४०.   २०३८।५।१२ गते साँझ ६.३० बजेको समयमा म जनकपुर खुवलालको कुटीमा छु, मलाई जनकपुरमै पक्राउ गरेको हो, मैले नथुनीलाई मार्ने विषयमा मिटिंग गरेको गराएको छैन भन्ने समेत व्यहोराको जगरनाथ यादवको अदालतमा बयान ।

४१.    २०३८।५।११ गते सबैला बजार गएको हुँ, सामान किनें, मेरो मन खराब भयो, १२ गते मलाई सबैला हेल्थपोष्टमा भर्ना गरी १७ गतेसम्म बसी १८ गते घर आएँ, जमुना समेत भई नथुनीलाई मारे भन्ने सुनें म समेत भई मारेको होइन भन्ने समेत व्यहोराको प्र.जेवर यादवको अदालतमा भएको बयान ।

४२.   २०३८।५।१२।६ को दिन रात गाउँघरमा थिइन, २०३८।५।९ गते सिरहा बुधीरामा गएको थिएँ, आश्विन ९१० गते घर आएको हुँ, नथुनीलाई राम गुलाम समेत भई मारे भन्ने सुनें, मैले मारे मराएको समेत छैन भन्ने समेत व्यहोराको प्रतिवादी राजदेव यादवको अदालतमा बयान ।

४३.   २०३८।५।१२ गते दिन रात म गाउँघरमा थिइन, दनौतिमा थिएँ । रामगुलाम समेत भई नथुनी मण्डललाई मारे भन्ने सुनें, मैले मारे मराएको छैन भन्ने समेत व्यहोराको प्र.सुरेत मण्डलको अदालतमा बयान ।

४४.   २०३८।५।७ गते गाउँबाट भैंसी किन्न जनकपुर आई १० गते हरिपुर हेल्थपोष्टमा भर्ना भई ऐ.१५ गते निको भएपछि २८ गते घर पुगेको हुँ, म समेत भई नथुनीलाई मारे मराएको छैन भन्ने समेत व्यहोराको प्र.राम यादवको अदालतमा बयान ।

४५.   २०३८।५।१२।६ का दिन रात म गाउँघरमा थिइन, ०३८।५।१० गते जयनगर सामान किन्न गएको, १५ गते घर आएको हुँ, १२ गते राती जोगीयारामा बसेको हुँ, जामून समेत भई नथुनीलाई मारे भन्ने सुनें, मैले मारे मराएको समेत छैन भन्ने समेत व्यहोराको  प्रतिवादी महेन्द्र यादवको अदालतमा बयान ।

४६.   २०३८।५।१२ गतेको दिन रात म पिप्रा हेल्थपोष्टमा विमारी भई बसेको थिएँ, घर आएपछि नथुनीलाई रामगुलाम समेत भई मारे भन्ने सुनें, मलाई पाटापाटीको कारण पोल गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी गोपाल यादवको अदालतमा बयान ।

४७.   २०३८।५।१२ गते दिन रात म गाउँघरमा थिइन, सर्लाही भक्तिपुर हेल्थपोष्टमा इलाज गराई रहेको थिएँ, घरमा आएपछि नथुनीलाई रामगुलाम समेत भई मारे भन्ने सुनें, मैले मारे मराएको छैन भन्ने समेत व्यहोराको प्र.श्यामकिशोरको अदालतमा बयान ।

४८.   कर्तव्यबाटै नथुनी मण्डलको मृत्यु भएको देखिँदा प्रहरी अभियोग बमोजिम अभियुक्त लक्ष्मी यादव १, रामकरण यादव १ र पलटु यादव १ समेतलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ हुने ठहर्छ, जिवछ मण्डलले ज्यानसम्बन्धीको १७(२) को अपराध गरेको ठहर्छ, राजेन्द्र यादव, विकरु यादव, रसिलाल यादव, जेवर यादव, राम यादव, चन्देश्वर यादव, श्याम किशोर यादव, गोपाल यादव, राजदेव यादव, महेन्द्र यादव, सम्पत्तियादेवी, सुरेत मण्डल र जगन्नाथ यादव समेत जना १३ ले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको धनुषा जिल्ला अदालतको जाहेरी फैसला ।

४९.   धनुषा जिल्ला अदालतबाट भएको फैसलामा चित्त बुझेन, पछि उक्त फैसला मनासिब ठहरे ऐन बमोजिम सहुँला बुझाउँला भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मी यादव १, रामकरण यादव १, पलटु यादव १ र जिवछ मण्डल धानुक १ समेत ४ जनाको म.क्षे.अ.मा परेको संयुक्त पुनरावेदनपत्र ।

५०.   सफाई दिएको प्रतिवादीका हकमा समेत ठहर हुनुपर्छ भनी वादी श्री ५ को सरकारको म.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

५१.   सफाई दिने ठहर्‍याएको शुरु इन्साफ फरक पर्ने भएबाट अ.बं.२०२ नं.बमोजिम विपक्ष प्रतिवादीहरुलाई झिकाई पेश गर्नु भन्ने समेत म.क्षे.अ.को आदेश ।

५२.   यसमा जमुना, रामगुलाम एवं महेन्द्र यादवलाई प्रहरीबाट बुझिएको सम्म पनि देखिँदैन, निजहरुका हकमा कानून बमोजिम बुझी निजहरुका हकमा मुद्दा चल्ने नचल्नेतर्फ प्रहरी प्रतिवेदन पठाउनु भनी सरकारी वकिल मार्फत प्रहरीमा लेखी पठाई प्रतिवेदन प्राप्त भए पछि निर्णय गरी पुनरावेदन परे पुनरावेदन साथ, नपरे परिरहेको पुनरावेदन किनारा गर्न मिसिल यस अदालतमा पठाई दिनु भनी शुरु जिल्ला अदालतमा पठाई कार्य सम्पन्न भई नआएसम्मका लागि प्रस्तुत मुद्दा मुलतवी राखी दिनु भन्ने समेत ०४१।५।१७ को म.क्षे.अ.को आदेश ।

५३.   नथुनी मण्डललाई कर्तव्य गरी मारेकोमा अनुसन्धान कार्यमा प्रहरीलाई सहयोग गरेको रीसको कारणले मलाई समेत पोल गरेका हुन्, म सरिक छैन भन्ने समेत जमुनाप्रसादको प्रहरीमा कागज ।

५४.   प्रत्यक्षदर्शीको रुपमा अदालतमा गवाही कागज गरिदिएको समेत कारणबाट मलाई पोल गरेका हुन् भन्ने रामगुलाम मण्डलको प्रहरीमा कागज ।

५५.   दाजु जमुनाप्रसादले नथुनीलाई लक्ष्मी यादव समेतले मारेकोमा अनुसन्धान कार्यमा सहयोग गरेको कारणले समेत पोल गरेका हुन् भन्ने समेत महेन्द्रप्रसाद साहको प्रहरीमा कागज ।

५६.   सरजमीनको पोल बाहेक रामगुलाम जमुनाप्रसाद साह र महेन्द्रप्रसाद उपर मृतक नथुनी मण्डललाई मारेको कुरामा शंकासम्म गर्न पर्ने प्रमाण अवस्था केही नहुँदा शुरु प्रहरी प्रतिवेदनमा उल्लेख भएको प्रतिवादी महेन्द्र यादव नभई महिन्द्रप्रसाद साह हुँदा सो नाम कायम हुन्छ । निजहरुका हकमा मुद्दा नचलाइएको व्यहोरा अनुरोध गरिन्छ भन्ने श्री ५ को सरकारको ०४१।१२।१५ को प्रहरी प्रतिवेदन ।

५७.   अभियोग नलगाइएको प्रहरी प्रतिवेदनबाट कारवाही गर्न नपर्ने हुँदा मिसिल मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु भन्ने धनुषा जिल्ला अदालतको ०४२।१।१६ को आदेश ।

५८.   आदेश अनुसार काम सम्पन्न भई आएकोले मुलतवीबाट जगाई दिएको छ भन्ने म.क्षे.अ.को आदेश ।

५९.   मृतक नथुनीलाई प्रतिवादीहरुले कुटपिट गरी रामबाबुको घरमा फालेकोमा गाउँलेहरुले उपचार गर्न मेरो घरमा ल्याएका अवस्थामा नथुनीले जाहेरीमा उल्लेख भएको प्रतिवादीहरुले कुटपिट गरेका हुन् भनी भनेका थिए भन्ने जमुना साहले म.क्षे.अ.मा गरेको बकपत्र ।

६०.   दाजु नथुनीले नै घाइते अवस्थामा जेवर यादव, सुरेत मण्डल, लक्ष्मी यादव, महेन्द्र यादव, रसिलाल यादव, राम यादव, श्यामकिशोर यादव, राजदेव यादव र श्यामकिशोर, जिवछ, विकरु, राजेन्द्र, गोपाल, राम करण, पलटु, चन्द्रेश्वर, सम्पत्तियादेवी समेतले कुटपिट गरेका हुन भनी भन्नुभयो, १०।१५ मिनेटपछि दाजुको मृत्यु भयो भन्ने समेत जाहेरवाला रामपत मण्डल धानुकले म.क्षे.अ.मा गरेको बकपत्र ।

६१.    लक्ष्मी यादव, पल्टु यादव, रामकरण यादव जना ३ लाई यसैको चोटबाट मरेको भन्ने प्रमाणित नभएकोले दावी अनुसार कसूर गरेको कायम गरी ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम जन्मकैद गर्ने गरेको समेत मनासिब छ । उपरोक्त प्रमाण परिबन्दबाट पुनरावेदक प्रतिवादी लक्ष्मी यादव, पल्टु यादव, रामकरण यादवलाई ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सजायँ हुने र अन्य प्रतिवादीहरुमा जेवर यादव, चन्देश्वर यादव, श्यामकिशोर, गोपाल यादव, राजदेव यादव, महेन्द्र यादव, सम्पतियादेवी, सुरेत मण्डल, जगरनाथ यादव समेत ९ जनालाई वादी दावीको अभियोगबाट सफाई दिने ठहराएको हदसम्म शुरु धनुषा जिल्ला अदालतको इन्साफ मनासिब छ । पुनरावेदक प्रतिवादी जिवछ मण्डल धानुकको हकमा निजको मौका साविती समर्थन स्वरुप सहअभियुक्त साविती पोललाई चस्मदिद सरजमीनको बकाई र लाशजाँच मुचुल्का तथा पोष्टमार्टम समेतबाट निजले फर्सा भन्ने हतियार लिई वारदातमा सरिक रही प्रहार गरेको समर्थित हुँदा निजलाई वादी दावीको आरोप कायम नरही ज्यानसम्बन्धीको महल १७(२) अन्तर्गतको अपराधसम्म कायम गरी सजायँ गर्ने गरेको मिलेको देखिँदैन । निज जिवछ मण्डल धानुकलाई ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्मकैद हुने, प्र.राम यादवको हकमा निजउपर सहअभियुक्तको पोल सरजमीनका चस्मदिद बकाई समेतबाट समर्थित भएको देखिएबाट निजले क्रिच भन्ने हतियार लिई वारदातमा सरिक रही कुटपिट गरेको पोष्टमार्टम फारामको घा चोट प्रकृतिबाट समेत समर्थित भएको देखिँदा निजको हकमा सफाई दिने गरेको समेत मिलेको देखिँदैन । निजलाई पनि दावी बमोजिम ज्यानसम्बन्धीको महलको १३(३) बमोजिम जन्मकैद हुने र प्र.राजेन्द्र यादव, प्र.विकरु यादव समेत जना २ ज्यान मार्ने मतलबमा पसेकोमा मौका तहकिकात हुँदा सावित भएको र साविती सहअभियुक्तले समेत पोल गरेको वारदात स्थलमा ज्यान मार्ने मतलबमा बसी लाठी लिई उभिरहेको सम्म सबूदबाट समर्थन हुँदा निजहरुलाई ज्यानसम्बन्धीको १७(२) बमोजिम जनही ५ वर्ष कैद हुनेमा दावी अभियोगबाट पूर्ण सफाई दिएको र प्र.रसिलालको हकमा निज रसिलाल मर्ने नथुनीलाई मार्ने षडयन्त्रमा आफू समेत सहमती भई मार्ने मराउने योजनामा पसेको कुरालाई मौका तहकिकातका अवस्थामा साविती भएको वारदातमा निज संलग्न रही चोट छाडेको समेत देखिन नआएकोले ज्या.सं.महलको १६ नं. ले सजायँ हुनेमा निजलाई पूर्णतया सफाई दिएको समेत शुरु धनुषा जिल्ला अदालतको फैसला उल्लिखित हदसम्म केही उल्टी हुन्छ । सो ठहर्नाले सफाई पाएका विकरु, राजेन्द्र यादवलाई ज्यानसम्बन्धीको १७(२) बमोजिम जनही कैद वर्ष ५ र प्र.रसिलालको हकमा ज्या.सं.महलको १६ नं. ले २ वर्ष कैद हुने ठहर्छ भन्ने म.क्षे.अ.को फैसला ।

६२.   उक्त फैसलामा चित्त बुझेन, हामीलाई  सजायँ गर्ने गरेको म.क्षे.अ.को फैसला बदर गरी आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत व्यहोराको जीवछ मण्डल, लक्ष्मी यादव, रामकरण यादव, पल्टु यादव, विकरु यादव, राजेन्द्र यादवको छुट्टाछुट्टै यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

६३.   पुनरावेदन जिकिर अनुसार लिनु पर्ने प्रमाण नलिई बुझ्नु पर्ने साक्षी नबुझिएको प्रमाण ऐन, २०३१ को दफा ५४ को समेत त्रुटि गरी अनुमानको भरमा दावी बमोजिम सजायँ घटाइएमा तथा सफाई पाउने प्रतिवादीहरुका हकमा म.क्षे.अ.को फैसला बदर गरी प्रहरी प्रतिवेदन अनुसार सफाई पाएका र घटी सजायँ भएको प्रतिवादीहरुलाई शुरु मागदावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

६४.   नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी.र पुनरावेदक प्रतिवादी जिवछ मण्डल धानुकको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की तथा पु.वे.प्र.विकरु यादव समेतको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव समेतले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

६५.   मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सोमा निर्णय दिनु पर्ने हुन आयो ।

६६.   यसमा निर्णयतर्फ विचार गर्दा मिसिल संलग्न रहेको मृतकको लासजाँच रिपोर्टमा मृत्युको कारण घाँटीको हाड भाँची Spinal Cord मा चोट लागी मृत्यु भएको भन्ने चिकित्कको राय र लाश जाँच प्रकृति मुचुल्काबाट पनि मृतकको शरीरमा काटेको रोपेको घाउहरु देखाइएको हुँदा मृतक नथुनी मण्डलको मृत्यु कर्तव्यबाटै भएको हो भन्ने कुरामा विवाद रहेन । अब ककसले के परिबन्दबाट कर्तव्य गरेको हो भनी विचार गर्दा मृतक र अभियुक्त मध्येको लक्ष्मी यादव बीच देवतास्थानको रुखको हाँगो काटेको र सोही स्थानको जग्गा बेदखली विषयमा रीसइवी परी अभियुक्त लक्ष्मी यादवले षडयन्त्र रची अन्य अभियुक्त समेत मिली कर्तव्य गरेको भन्ने जाहेरी दर्खास्त    देखिन्छ । अभियुक्त लक्ष्मी यादवले अधिकारप्राप्त अधिकारी समक्ष बयान गर्दा अभियुक्त मध्येका रामकरण यादव र पल्टु यादवले मृतक नथुनीलाई लाठीले हानी लडाए पछि मैले भालाले घोचे पछि घाँटी नै बटारी दिएँ भन्ने साविती बयान गरी रामकरण र पल्टु यादवलाई पोल समेत गरेको पाइन्छ । यी रामकरण र पल्टु यादव पनि अधिकारप्राप्त अधिकारी समक्ष सावित भई बयान गरेका छन् । पछि अदालतमा आई तीनैजना अभियुक्तहरुले प्रहरीमा कुटपिट गरी गरेको साविती इच्छा विरुद्धको हो भनी भने तापनि अन्य स्वतन्त्र प्रमाण र विश्वसनीय प्रमाणहरुबाट प्रहरी सावितीलाई पुष्टी भइरहेको देखिँदा प्रहरीमा भएको सावितीलाई प्रमाणमा लिन मिल्ने देखियो । अभियुक्त पल्टु र रामकरणले लाठीले हिर्काई लडाएको र त्यसपछि लक्ष्मी यादवले भालाले घोचेको र घाँटी बटारेको भनी बयानमा उल्लेख गरेको कुरालाई लाश जाँच मुचुल्का र लाश पोष्टमार्टम रिपोर्टबाट पनि मृतकको घाँटी थिचिएको (Spinal Cord) र धारिलो हतियार प्रयोग गरेको देखिन आएकोले प्रहरीमा गरेको साविती बयान समर्थित हुनआएको छ । अभियुक्त लक्ष्मी यादवले वारदातमा प्रयोग गरेको भाला निजको घरबाट बरामद समेत भएको पाइएको छ । यसरी प्रहरी, साविती र सरजमीनका व्यक्तिहरुले मृतक नथुनीलाई कुटपिट गरी कर्तव्य गरी ज्यान लिए, यी अभियुक्तहरुले मारेको भन्ने कुराको व्यहोरा अदालतमा आई बकपत्र गरी समर्थन गरेको समेतबाट यी तीनै अभियुक्तहरुले षडयन्त्रपूर्वक लाठी, भाला प्रयोग गरी कुटपिट गरी कर्तव्य गरी मारेको ठहर्न आयो । तसर्थः अभियुक्त लक्ष्मी यादव, पल्टु यादव, रामकरण यादव समेतलाई प्रहरी माग दावी बमोजिम ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्मकैद हुने  ठहर्‍याएको शुरुको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ ।

६७.   अब अभियुक्तहरु मध्येका जिवछ मण्डलका हकमा विचार गर्दा अदालत समक्ष पूर्णतः इन्कार रहेको भए तापनि मृतक नथुनी मण्डल बजारबाट कुनबेला फर्कने सो चियो गरी अभियुक्त लक्ष्मी यादवलाई खबर गरेकोमा साविती भई उल्लिखित रामकरण, लक्ष्मी यादव, पल्टु यादवले निज जिवछ मण्डलले पनि हात छोडेको भन्न नसकी चियो गरी खबर गरेको भनी एक मिलानको अधिकारप्राप्त अधिकारी समक्ष लेखाई दिएको र अन्य स्वतन्त्र सबूद प्रमाणबाट पनि वारदातमा चोट छोडेको भन्ने कुरा नदेखिएकोले निज जिवछ मण्डललाई ज्या.सं.को १७(३) नं.बमोजिम कैद वर्ष २ गर्नु पर्नेमा मध्यमाञ्चल क्षेत्रीय अदालतले निजलाई ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम जन्मकैद गरेको मिलेको देखिएन । तसर्थः निज जिवछ मण्डललाई ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिम कैद वर्ष २ हुने ठहर्छ ।

६८.   अर्का अभियुक्त प्र.राजेन्द्र यादव, प्र.विकरु यादव समेत २ जना मार्ने मतलब लिई मौका तहकिकात हुँदा सावित भएको र वारदात स्थलमा ज्यान मार्ने मनसाय लिई लाठी लिई उभिरहेको सम्म सबूद प्रमाणबाट समर्थित हुन आएकोले निजहरुलाई ज्यानसम्बन्धी महलको १७(२) बमोजिम जनही ५ वर्ष कैद हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै हुँदा मनासिब ठहर्छ ।

६९.   अभियुक्तहरुमध्ये रसिलालको हकमा विचार गर्दा प्र.रसिलाल यादवले अधिकारप्राप्त अधिकारी समक्ष बयान गर्दा मृतक नथुनी मण्डललाई मार्नमा मेरो पनि सहमत थियो, मार्दाको अवस्थामा म उपस्थित छैन, मैले मारेकोे होइन भनी बयान गरेको देखिन्छ । अदालतमा आई ज्यान मार्ने सहमत समेतमा इन्कारी बयान गरेको देखियो । साथै सरजमीनका लेखाईबाट पनि प्र.रसिलाल यादव वारदात स्थलमा उपस्थित नभए पनि मृतक नथुनीलाई मार्नमा षडयन्त्र गर्न बसेको मिटिंगमा उपस्थित थियो भन्ने प्रमाणित हुन आएकोले निजलाई ज्यानसम्बन्धी महलको १७(३) बमोजिम २ वर्ष कैद गर्नु पर्नेमा ज्यान मर्न सक्ने कुनै कुरामा मुख्य भई षड्यन्त्र गर्ने भनी म.क्षे.अ.ले ज्यानसम्बन्धी महलको १६ नं.बमोजिमको अपराध ठहराएको मिलेको नदेखिँदा निज प्र.रसिलाललाई ज्या.सं.महलको १७(३) बमोजिमको अपराध गरेको ठहर्छ । सजायको हकमा म.क्षे.अ.ले २ वर्ष कैद गर्ने गरेको मनासिब छ ।

७०.   अर्का अभियुक्त राम यादवको हकमा विचार गर्दा कर्तव्य गरी ज्यान मारेकोमा अदालत र अधिकारप्राप्त अधिकारी समेतमा इन्कारी रही बयान गरेको देखिन्छ । प्रहरीमा आफू सावित भई पोल्ने अभियुक्त लक्ष्मी यादवले निज राम यादवले यस किसिमबाट मारेको भनी पोल गर्नसकेको देखिएन । वारदात स्थलमा क्रिच भन्ने हतियार लिई कुटपिट गर्ने कार्यमा सरिक थियो भनी सरजमीनका मानिसहरुले लेखाई दिए तापनि निज प्र.राम यादव वारदात स्थलमा क्रिच बोकी उपस्थित थियो भन्ने कुरा अन्य सबूद प्रमाणबाट समर्थित भएको पाइएन । तसर्थ पोल गर्ने अभियुक्त लक्ष्मी यादवको भनाइलाई मात्र प्रमाणमा लिन मिल्ने देखिएन । प्र.राम यादव वारदात स्थलमा उपस्थित भई मृतक नथुनी मण्डललाई कुटपिट गर्ने कार्यमा सरिक थियो भन्ने कुरा अन्य स्वतन्त्र प्रमाणबाट समर्थित नभई ज्यान मार्ने षडयन्त्र गर्ने मिटिंगमा संलग्न रहेकोसम्म देखिएकोले ज्यानसम्बन्धीको महलको १७(३) बमोजिम २ वर्ष कैद गर्नु पर्नेमा निजलाई म.क्षे.अ.ले ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्मकैद गर्ने गरेको मिलेको देखिएन । तसर्थः प्र.राम यादवलाई ज्यानसम्बन्धी महलको १७(३) बमोजिम २ वर्ष कैद हुने ठहर्छ ।

७१.   अन्य प्रतिवादीहरुमा जेवर यादव, चन्द्रेश्वर, श्यामकिशोर, गोपाल यादव, राजदेव यादव, महेन्द्र यादव, सम्पतिया, सुरज मण्डल, जगरनाथ यादव समेत ९ जनालाई सफाई दिएकोतर्फ विचार गर्दा वारदात स्थलमा सरिक भई कर्तव्य गरी ज्यान मारेको भन्ने प्रत्यक्ष सबूद प्रमाणको अभावमा शंकाकै भरमा मात्र ज्यान जस्तो गहन अपराधमा कर्तव्यवाला ठहराई सजायँ गर्न नमिल्ने हुँदा निजहरुलाई म.क्षे.अ.ले सफाई दिने गरेको इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्छ । सफाई पाउनेको हकमा सजायँ हुनुपर्छ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ केही उल्टी हुने ठहर्छ । पुनरावेदक लक्ष्मी यादव, पल्टु यादव, रामकरण यादवको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादीहरुको पुनरावेदन परी कारवाही भई निर्णय भएको हुँदा साधकको लगत कट्टा गरी दिनु । अरु तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्रतिवादी जिवछ मण्डल के माथि इन्साफ खण्डमा लेखिएबमोजिम निजका हकमा ज्यानसम्बन्धी महलको १७(३) बमोजिम कैद वर्ष २ हुने ठहरी फैसला भएकोले म.क्षे.अ.को २०४४।३।१० को फैसलाले ज्यानसम्बन्धीको १३(३) नं.अनुसार जन्मकैद गर्ने गरेको लगत कायम नरहने हुँदा लगत कट्टा गरी दिन र ज्यानसम्बन्धीको १७(३) नं.बमोजिम कैद वर्ष २ हुने ठहरेकोमा निज २०३८।६।१४ गतेदेखि थुनामा रहेको देखिँदा निजले यस अदालतको फैसला बमोजिम कैद भुक्तान भइसकेको देखिएकोले निजलाई प्रस्तुत मुद्दामा बाहेक अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए सो बमोजिमको कैदको लगत कसी निज जिवछ मण्डल धानुकलाई अविलम्ब छाडी दिनु भनी कारागार शाखा जलेश्वरमा लेखी पठाई व्यहोरा जनाई कैद लगत समेत कट्टा गरी दिनु भनी धनुषा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु..१

प्रतिवादी राम यादव के माथि इन्साफ खण्डमा लेखिएबमोजिम निजका हकमा ज्यानसम्बन्धी महलको १७(३) बमोजिम २ वर्ष कैद हुने ठहरी फैसला भएकोले म.क्षे.अ.को २०४४।३।१० को फैसलाले ज्या.सं.को १३(३) बमोजिम जन्मकैद हुने राखेको लगत कायम नरहने हुँदा व्यहोरा जनाई लगत कट्टा गरी दिनु र यस अदालतको फैसलाले ठहरेको ज्या.सं.को १७(३) बमोजिम २ वर्ष कैद हुन्छ । निज बेरुजु हुँदा लगत कसी कानून बमोजिम असूल गर्नु भनी शुरु धनुषा जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...२

मिसिल नियम बमोजिम गरी बुझाई दिनु........३

 

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४५ साल श्रावण ३१ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु