निर्णय नं. ६७३३ - खिचोला हक कायम

निर्णय नं. ६७३३ ने.का.प. २०५६ अङ्क ६
पूर्ण इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
संवत २०५४ सालको दे.पु.इ.नं. ..... १२१
फैसला मितिः २०५५।११।२१।६
मुद्दाः खिचोला हक कायम
पुनरावेदक
प्रतिवादी : ल.पु.जि. ल.पु.न.पा. वडा नं. १६ तापाहिटी अकिवहाल वस्ने नवराज श्रेष्ठको छोरा वर्ष ७३ को गोपाल श्रेष्ठको मु.स. गर्ने ऐ.ऐ. वस्ने कृष्णप्यारी श्रेष्ठ समेत
विरुद्ध
प्रत्यर्थी
वादी : ल.पु.न.पा. वडा नं. ११ त्यौड टोल वस्ने शकुन्तला जोशी
§ मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराका छोरा भएसम्म छोरीले अपुताली पाउंदैन । त्यस्ता कोही नभए छोरीले अपुताली पाउंदछ । छोरी नभए मात्र संग वसेका हकवाला भए त्यस्ता हकवालाले र त्यस्ता हकवाला नभए अरु हकवालाले अपुताली पाउंछ भन्ने व्यवस्था अपुतालीको २ नं. ले गरेको पाइन्छ । उल्लेख भए वमोजिम मृतक वुद्धिलाल र कृष्णलालको स्वास्नी छोरा वा छोराका छोरा रहे भएको देखिन आएन । विवादको विषय अपुतालीबाट कस्लाई हक सर्ने भन्ने नै रहेको देखिन आएकोले र उल्लेखित कानूनी व्यवस्थाबाट मर्नेको छोरा वा छोराको छोरा नभएमा छोरीमा अपुताली सर्न जाने भएबाट वादी दावी वमोजिम वादीको नाउंमा हक कायम समेत हुने ठहराएको शुरु सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने ।
(प्र.नं. १५)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मधुप्रसाद शर्मा
प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री केदारचरण राय
अवलम्वित नजिर :
फैसला
न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत पाटनको मिति २०५०।३।१ को फैसला उपर परेको निवेदनमा मुद्दा दोहराउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यस प्रकार छ ।
२. मेरा वावु वुद्धिलाल श्रेष्ठका नाउंमा नापीमा महादेव स्थान वार्ड नं. ९(क) कि.नं. ४२ को रोपनी १-४-२ भै नापी भएकोमा पिता २००७ सालमा र मेरी आमा राजकुमारी २००५ सालमा दाजु कृष्ण २००२ मा परलोक भै भाउजु हरिप्यारी पनि २०२८ सालमा पोइल गै सकेको र कुनै सन्तान नभएबाट पिताजी लगायतको टहल चाकरी म छोरीले गरी आएकी छु । भाउजु २०२८ सालमा पोइल गएपछि सम्पूर्ण सम्पत्ति मैले नै भोगचलन गरी आएकी छु । सो जग्गा रैकर परिणत गरी ज.ध.प्र.पुर्जा पाउं भनी म सकुन्तलाको २०३९।६।२६ मा निवेदन परेकोमा का.जि. महादेवस्थान वार्ड नं. १० साविक ९(क) कि.नं. ४२ का जग्गा हरिप्यारीको हकवाला हामी चन्द्र वहादुर श्रेष्ठ, गोविन्द वहादुर श्रेष्ठ र गोपाल वहादुर श्रेष्ठ समेत जवान ३ को निवेदन परेको र एउटै जग्गामा दोहरा दावी परेकोले हक कायम गरी आउनु भनी मालपोत कार्यालय काठमाण्डौको २०४३।३।१५ को टिप्पणी आदेश र पिता वुद्धिलाल श्रेष्ठले २००७।१०।१९ मा दिनु भएको शे.व. वाट पनि म छोरी शकुन्तला र सुमित्रा देवी र देवकीले मात्र टहल चाकरी गरेको प्रष्ट देखिन्छ । सुमित्रा र देवकीले पनि जग्गा लगायत म सकुन्तलालाई वक्सपत्र दिएको प्रमाण छ, विपक्षीहरुले लिखत खिचोला गर्न आएकोले खिचोला मेटाई हक कायम गरी पाउं भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. साविक ८५८।७३४ को जग्गा जेठा वावु वुद्धीलालको नाउंमा दर्ता रहेको र छोरा श्रीमती पहिले नै परलोक भएको र भाउजु हरिप्यारी २०२८ सालमा पोइल गएको वुद्धीलाल परलोक नहुंदा सम्म वावु नवराजले हेरविचार गरी विवादित जग्गा समेत भोगचलन गरी आउनु भएको निज वावु २०३३ सालमा परलोक भएपछि विवादित जग्गा म समेतले भोग गरी आएको विपक्षीले कुनै उजुर गर्न नसकेको हकदैया र हदम्याद नभएको विपक्षीको नालेस लाग्न नसक्ने प्रष्ट छ, फिराद खारेज गरी पाउं भन्ने समेत व्यहोराको गोविन्द वहादुर श्रेष्ठको प्रतिउत्तर पत्र ।
४. साविक ८५८।७३४ को जग्गा जेठा वावु वुद्धिलालको नाउंमा दर्ता भएको र निजको श्रीमती छोरा परलोक भएका र वुहारी हरिप्यारी पनि ०२८ सालमा परलोक भएको वुद्धिलाल परलोक नहुंदासम्म हाम्रो वावु नवराजले हैकम गरी भोगचलन गरी आएको वावुको परलोक भएपछि विवादित जग्गा हामीले भोगी आएको भाउजुको अपुताली नन्दले खान पाउने कानून नभएकोले विपक्षको लाग्न नसक्ने फिरादबाट अलग फुर्सद गरी पाउं भन्ने समेत व्यहोराको प्र. चन्द्र वहादुर श्रेष्ठ १, गोपाल वहादुर श्रेष्ठ १ समेत २ को संयुक्त प्रतिउत्तर ।
५. संग भएका अंशियारको छोरी वादी भएकोमा विवाद छैन त्यसकारण वादी दाविको जग्गामा वादीको हक कायम हुने र सो जग्गामा प्रतिवादीहरुले वादी दावी वमोजिम खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४५।१०।९ काठमाण्डौ जिल्ला अदालतको फैसला ।
६. खारेज गर्नुपर्ने फिरादलाई लाग्ने वुंदा छुटाई नलाग्ने वुंदा लगाई कानून विपरित भएको का.जि.अ.को २०४५।१०।९ को फैसला बदर गरी हामीहरुको प्रतिउत्तर जिकिर वमोजिम गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी गोविन्द वहादुर श्रेष्ठको श्री वा.अं.अ. मा परेको पुनरावेदन पत्र ।
७. खिचोला गरेको समेत ठहर्याई गरेको निर्णय कानून त्रुटिपूर्ण हुंदा का.जि.अ.को २०४५।१०।९ को फैसला वदर गरी हामीहरुको प्रतिउत्तर तथा पुनरावेदन जिकिर वमोजिम विवादित कि.नं. ४२ को जग्गा हामीहरुका नाउंमा नामसारी दर्ता गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी गोपाल श्रेष्ठ, चन्द्र वहादुर श्रेष्ठ समेत जना २ को श्री वा.अं.अ. मा परेको संयुक्त पुनरावेदन पत्र ।
८. शुरुको निर्णय विचाराधीन हुंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०४७।४।३२।५ को श्री वा.अं.अ. को आदेश ।
९. वादी दावीको कि.नं. ४२ को जग्गा वादीका पिता वुद्धिलाल श्रेष्ठका नाममा साविकै देखि दर्ता भएको र सवै दर्ताको साविक लगत श्रेस्ता वीचमा खण्डित भई कसैका नाममा कुनै कारणबाट पनि दर्ता नामसारी भई गएको नदेखिंदा सो दर्ता श्रेस्तालाई जग्गाको स्वामित्वको परिप्रेक्ष्यमा अद्यापी कायमै रहेको मान्नु पर्दछ । २००७ सालमा वुद्धिलालको मृत्यु पश्चात निजकी वुहारी हरिप्रियाले अपुताली नामसारी नगरेको र हरिप्रिया २०२८ सालमा पोइल गएपछि प्रतिवादीका वावु नवराजले आफ्नो जिवनकालमै अपुताली नखाने भई नामसारी नगरी चित्त बुझाई बसेपछि सो सम्पत्ति नामसारी दर्ता नभएसम्म वुद्धिलालकै मान्नु पर्ने हुन आउछ । अव त्यस्तो वुद्धिलालले कायम रहेको विवादको जग्गामा निजकी छोरी यी वादी शकुन्तला जोशीको अपुतालीको २ र ४ नं.. ले हक प्राप्त हुने हुंदा वादी दावी वमोजिम विवादको जग्गामा निजको हक कायम भई निजका नाममा दर्ता नाउंसारी हुने नै देखिन्छ । तसर्थ शुरु का.जि.अ. बाट वादी दावी वमोजिमको कि.नं. ४२ को जग्गामा वादीको हक कायम हुने ठहराई सो जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहर्छ भनी मिति २०४५।१०।९ मा गरेको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५०।३।१ को फैसला ।
१०. प्रतिवादीहरुले खिचोला गरेको ठहर्याई गरेको फैसलाले पुनरावेदन अदालत आफैले प्रमाणको सहि मुल्याकंन गरी गरेको निर्णय वदर मुद्दाको फैसलाको भावना विपरित मात्र नभै अपुतालीको महलले व्यवस्था गरेको प्रावधान र प्रमाण ऐन, २०३१ को दफा ८ र दफा ५४ समेतको प्रत्यक्ष त्रुटि गरी सर्वोच्च अदालतवाट प्रतिपादित नजिरहरुको समेत उलंघन भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को देहाय (क) र (ख) मा उल्लेखित त्रुटि विद्यमान भएकोले सोही दफा १२ वमोजिम मुद्दा दोहराई इन्साफ पाउं भन्ने समेत व्यहोराको प्रतिवादीहरुको यस अदालतमा परेको निवेदन ।
११. यस्मा विवादको सम्पत्ति वुद्धिलालका नाउंमा दर्ता रहे पनि वुद्धिलालका स्वास्नी छोरा परलोक भई वुद्धिलालको पनि २००७ सालमा देहावसान भएपछि छोरा वुहारी हरिप्रिया २०२८ सालमा पोइल गएको भन्ने देखिन्छ । वुद्धिलालको मृत्यु पछि निजको सम्पत्तिमा हरिप्यारीको हक हुन आउने र निजको हक सृजित भई सकेपछि निज पोइल गएकीले निजको अपुताली परेको मान्नु पर्नेमा निजको छोरा छोरी कोही नभएको अवस्थामा वुद्धिलालको नाउंमा जग्गा दर्ता कायम रहेको भन्ने आधारमा वुद्धिलालकी छोरी सकुन्तलाको त्यस रुपको संपत्तिमा हक पुग्ने भनी शुरु काठमाण्डौ जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा अपुतालीको २ र ४ नं. को व्यवस्थात्मक त्रुटि देखिंदा दोहर्याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५१।१०।२०।६ को आदेश ।
१२. यसमा वुद्धिलाल श्रेष्ठ र निजको छोरा कृष्ण सगोल रहेकै अवस्था कृष्ण २००२ सालमा मरेको र छोरा वुहारी हरीप्यारी र वुद्धीलाल सगोल भै रहेकै अवस्था २००७ सालमा वुद्धिलाल परलोक भएको भन्ने देखिन्छ । हरिप्यारी २०२८ सालमा पोइल गएकी भन्ने देखिन्छ । वुद्धिलालकी छोरी यी वादी शकुन्तला जोशी भन्ने देखिन्छ । विवादित जग्गा समेत अरु जग्गा वुद्धिलालकै नाममा रहेको र हरिप्यारीले वुद्धिलालको परलोक पछि आफ्नु नाममा नामसारी गराएको पनि देखिएन । वुद्धिलाल र हरिप्यारी सगोल रहेकै अवस्थामा वुद्धिलाल परलोक भै हरिप्यारीको नाममा रहेको विवादित संपत्ति अपुतालीको २ र ४ नं. ले वुद्धिलालकी छोरी यी वादी शकुन्तला जोशीमा अपुताली हक हुन जाने हो या स्त्री अंश धनको ६ नं. ले वुद्धिलाल परलोक भएपछि स्वतः हक हरीप्यारीमा गएको मानिई हरिप्यारी पोइल गएपछि हकवालामा हक जाने हो जटिल कानूनी प्रश्न देखिएको छ । यो प्रश्नको निराकरणबाट व्यवहारमा व्यापक असर पर्ने समेत देखिंदा पूर्ण इजलासबाट निर्णय हुन उपयुक्त देखिएकोले प्रस्तुत मुद्दा स.अ. नियमावली , २०४९ को नियम ३(१) को (घ) अनुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५४।५।६ को आदेश ।
१३. नियमानुसार यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी गोपाल श्रेष्ठ समेतको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मधु प्रसाद शर्मा र प्रत्यर्थी वादी शकुन्तला जोशीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री केदारचरण रायले गर्नु भएको वहस समेत सुनि आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा विवादित संपत्तिमा प्रत्यर्थी वादी शकुन्तला जोशीको हक कायम समेत हुने ठहर्याएको शुरु सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन ? सो सम्वन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।
१४. निर्णय तर्फ विचार गर्दा वुद्धिलाल श्रेष्ठ र निजको छोरा कृष्णलाल सगोल रहेकै अवस्था छोरा कृष्णलाल २००२ सालमा मरेको र त्यसपछि छोरा वुहारी हरिप्यारी र वुद्धिलाल सगोलमै रहदैं आएको देखिन्छ । २००७ सालमा वुद्धिलालको मृत्यु भएको र हरिप्यारी त्यसपछि २०२८ सालमा पोइल गएकी भन्ने देखिन्छ । मुद्दाका वादी (वुद्धिलालकी छोरी) शकुन्तला जोशीले आधा घर जग्गा वावुबाट वक्सपत्र प्राप्त गरेकी विवादको सवै घर जग्गा निजै शकुन्तलाले भोगचलन गर्दै आएको भन्ने वादीका भनाइ देखिन आएको छ । यसै परिप्रेक्ष्यमा अपुतालीको २ नं. र ४ नं. को व्याख्यात्मक प्रश्नको निराकरण पूर्ण इजलासवाट हुनुपर्ने भनी संयुक्त इजलासबाट राय व्यक्त भै यस इजलास समक्ष पेश हुन आएको देखियो ।
१५. वावु वुद्धीलाल मरेपछि देखिने हकवाला छोरी शकुन्तलाले वावुको अपुताली पाउने हो कि सगोलकी वुहारी हरिप्यारी पोइल गएकीले निजको हक हुने सम्पत्ति गोविन्द श्रेष्ठ समेतका प्रतिवादीहरुले पाउने हो भन्ने नै प्रश्न देखिन आएबाट अपुताली सम्वन्धी कानूनी व्यवस्था हेर्दा अपुतालीको २ नं. ले मर्नेको लोग्ने स्वास्नी छोरा वा छोराका छोरा भएसम्म छोरीले अपुताली नपाउने र त्यस्तो केही नभए छोरीले अपुताली पाउने व्यवस्था देखिन्छ । वुद्धिलाल तर्फ एकमात्र छोेरा कृष्णलाल रहेकोमा निज कृष्णलालको मृत्यु पिता वुद्धिलाल भन्दा अघि नै २००२ सालमा भएको र निज तर्फबाट कुनै जाय जन्म नभएकोले वुद्धिलाल र कृष्णलालको छोरातर्फको नजिकको हकदार कोही रहेको पाइदैन । वुद्धिलालले विवादित कि.नं. मा रहेको घर मध्ये आधी घर छोरीहरुलाइ वक्सपत्र गरी दिएको र हालसम्म सो घरमा शकुन्तलाले भोगचलन गरी आएको भन्नेमा विवाद देखिदैन । वुद्धिलालको मृत्यु पछि उक्त घरको आधी भागमा वुहारी हरिप्यारीको हक पुग्ने सम्पत्ति देखिन आएतापनि निजले उक्त घरको हकमा दर्ता नामसारी केहि नगरी नगराई वुद्धिलालकै नामबाट तिरो तिरान भैरहेको स्थिति छ । हरिप्यारीको नाममा दा.खा. नामसारी भई मोठ श्रेस्ता कायम हुन सकेको रहेनछ । निज हरिप्यारी पोइल नगई कृष्णलालकै सतित्वमा रहे वसेको अवस्था भए ज.प.को २ नं. वमोजिम ससुरा वुद्धिलालको नामबाट निजको नाममा नामसारी दा.खा. हुन सक्ने अवस्था भएपनि निज २०२८ सालमा पोइल गएकी स्थिति देखिन आएवाट निज हरिप्यारीको नाममा उक्त सम्पत्ति दा.खा. नामसारी हुन सक्ने अवस्था देखिन आउंदैन । कानून वमोजिम आफ्नो हक कायम गराउन सक्ने व्यक्ति स्वयंले उदासीनता देखाएको स्थितिमा पोइल गई आफ्नो सवै हक परित्याग गर्ने हरिप्यारीका हक थियो भनी अनुमान गर्न मिलेन । निज हरिप्यारी पोइल गएपछि संपत्तिको स्वरुप यथास्थितिमा भई मृतक तर्फबाट अपुताली पर्न गएको मान्नु पर्ने हुन आउंछ । मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराका छोरा भएसम्म छोरीले अपुताली पाउंदैन । त्यस्ता कोही नभए छोरीले अपुताली पाउंदछ । छोरी नभए मात्र संग वसेका हकवाला भए त्यस्ता हकवालाले र त्यस्ता हकवाला नभए अरु हकवालाले अपुताली पाउंछ भन्ने व्यवस्था अपुतालीको २ नं. ले गरेको पाइन्छ । उल्लेख भए वमोजिम मृतक वुद्धिलाल र कृष्णलालको स्वास्नी छोरा वा छोराका छोरा रहे भएको देखिन आएन । विवादको विषय अपुतालीबाट कस्लाई हक सर्ने भन्ने नै रहेको देखिन आएकोले र उल्लेखित कानूनी व्यवस्थाबाट मर्नेको छोरा वा छोराको छोरा नभएमा छोरीमा अपुताली सर्न जाने भएबाट वादी दावी वमोजिम वादीको नाउंमा हक कायम समेत हुने ठहराएको शुरु सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । प्रतिवादीहरुको जिकिर पुग्न सक्दैन । नियमानुसार गरी मिसिल वुझाई दिनु ।
उपर्युक्त रायमा हामी सहमत छौं ।
न्या.अरविन्दनाथ आचार्य
न्या.केदारनाथ आचार्य
इति संवत् २०५५ साल फाल्गुन २१ गते रोज ६ शुभम् ...................... ।