निर्णय नं. ३६२३ - गर्भपतन ज्यान

निर्णय नं. ३६२३ ने.का.प. २०४५ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४५ सालको फौ.पु.नं. ६६०
फैसला भएको मिति : २०४५।९।१५।५ मा
पुनरावेदक/वादी : प्र.ज.पद्मबहादुर चन्दको जाहेरीको श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : दिपायल न.पं.वार्ड नं. ६ लेक ठाटवा बस्ने नारुदेवी भण्डारी
मुद्दा : गर्भपतन ज्यान
(१) यही कारणबाट मरेको हो भनी डाक्टरको प्रतिवेदनमा किटान गर्नसकेको नदेखिएको, आरोपित कसूर गरेको कुरा कतैबाट प्रमाणित हुन नआएको स्थितिमा बालकलाई मारेको होला भनी अनुमान गर्न नमिल्ने ।
(प्रकरण नं. १६)
पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत
फैसला
न्या.प्रचण्डराज अनिल : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन दर्ता भई आएको प्रस्तुत मुद्दाको विवरण यसप्रकार रहेछ ।
२. डोटी दि.न.पं.वा. नं. ६ बस्ने पदमे भण्डारीले आफ्नो भाउजु नारुदेवी भण्डारीलाई करणी गरेको कारणबाट रहन गएको ९ महिनाको गर्भ २०४३।११।२५ गते पतन गराएकोले कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेतको प्र.ज.पदमबहादुर चन्दको ०४३।११।२९ को जाहेरी ।
३. गहुँवारीमा बालकलाई गाडेको खाल्टो खनी हेर्दा बालकको लाश दक्षिण सिरान उत्तर गोडा भएको, नाल र साल मृतक बालकसंगै रहेको, नाक मुख बन्द, आँखा चिम्लेको कपालको रौं बाक्लो र कालो भएको मृतक बालक मास पुगेको भन्ने समेतको २०४३।११।२९ को लाश प्रकृति मुचुल्का ।
४. २०४३।३।१ गते राती मेरो देवर पदमे भण्डारीले मलाई करणी गरेको कारणबाट गर्भ रहन गएको हो । गर्भ तुहाउने कुनै औषधि खाएको छैन । ०४३।११।२५ गते बच्चा जन्मी २ पटक च्याँ च्याँ गरी कराएको सुनें । साल आउने बेलामा बेहोस भएँ । त्यसपछि हेर्दा बच्चा छोरी मरी सकेको रहेछ । त्यसबेला निकै राती भएको हुँदा कसैलाई नभनी लाज बचाउन बच्चाको लाश गाडेको हुँ । यो सवै काम मैले नै गरेकी हुँ भन्ने समेतको नारुदेवी भण्डारीको अधिकारप्राप्त अधिकारी समक्ष भएको बयान ।
५. आफ्नो देवर पदमे भण्डारीको गर्भ बोकी नारुदेवीले गर्भपतन गराएको भन्ने सुनेको हुँ । निज नारुदेवीले के कस्तो कारणबाट गर्भपतन गराएको हो मलाई थाहा छैन निजले नै सो काम गरेको शंका विश्वास लाग्छ भन्ने समेतको नरबहादुर भण्डारी समेतका मानिसहरु भएको सरजमीन मुचुल्का ।
६. नारुदेवीले मास पुगी सकेको जिउँदै बालक जन्माई कर्तव्य गरी ज्या.सं.को १ नं.को विपरीत कसूर गरेकोले निजलाई ज्या.सं.को १३(३) नं.अनुसार सजायँ गरिपाउँ भन्ने समेतको मिति २०४३।११।९ को प्रहरी प्रतिवेदन ।
७. मेरो देवरनाता पर्ने पदमे भण्डारीले मेरो बेमञ्जूरी हुँदाहुँदै २०४३।३।१ गते मलाई करणी गरी गर्भ रहन गएको २०४३।११।२५ मा बालक जन्मदा मरेको वा जीवित रहेको मलाई थाहा छैन । होस आएपछि बालकको सास बन्द भई मरेको देखेपछि खाल्टो खनी गाडेको हुँ । प्रहरीमा गरेको कागज राजीखुसीबाट गरेको हुँ । मैले बालकलाई मारेको होइन भन्ने समेतको प्र.नारुदेवी भण्डारीले अदालत समक्ष गरेको बयान ।
८. मृतक बालक जन्मिदा लामो अवधिसम्म जन्मन नसकी अवथा अन्य कुनै दवाबबाट घाँटीमा दवाव पर्न गई श्वास बन्द भई बच्चाको मृत्यु हुन गएको भन्ने समेतको मिति ०४४।१।२२ को डोटी जिल्ला अदालतको पत्र ।
९. आफ्नो भएको व्यहोरा सरजमीनमा लेखाएको छु । नारुदेवीले गर्भपन गराए, नगराएको मलाई केही थाहा छैन । बालकको मृत्यु कसरी भयो थाहा छैन भन्ने समेत व्यहोराको सरजमीनका व्यक्तिहरु नरबहादुर भण्डारी, डम्बर सिं भण्डारी, जङ्गबहादुर भण्डारी, पदम सिंह भण्डारी समेतले अदालत समक्ष गरेको छुट्टाछुट्टै बकपत्र ।
१०. प्र.नरुदेवीले आफ्नो देवर पदमे भण्डारीसित हाड नाता पर्ने गरी करणी भई गर्भ बोकी मास पुगी सकेपछि जिउँदै जन्मेको बच्चालाई मारी गाडेको समेत तर्कसंगत रुपबाट देखिन आउने हुँदा निजले बच्चा मारेको ठहर्छ । तर निजले सो अपराध गर्दाको अवस्था विचार गर्दा सर्वश्वसहितको जन्मकैदको सजायँ गर्दा चर्को हुने भई घटी सजायँ हुनु पर्ने देखिएकोले अ.बं.१८८ नं.बमोजिम कैद वर्ष २ गर्ने गरी राय समेत उल्लेख गरी डोटी जिल्ला अदालतबाट मिति २०४४।३।३० गते भएको फैसला ।
११. बालकलाई मारी गाडेको भन्ने सबूत प्रमाणको अभावमा बालकलाई कर्तव्य गरी मारेको ठहर्छ भन्ने डोटी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाई पाउँ भन्ने समेतको प्र.नारुदेवी भण्डारीले सेती अञ्चल अदालतमा गरेको पुनरावेदन ।
१२. अवैध गर्भधारण गरी लोक लज्जाबाट बच्न कसैलाई नभनेको र बालक जिउँदो जन्मेको देखिँदा सफाई पाउनु पर्छ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । अ.बं.१८८ नं.बमोजिम २ वर्ष कैद गर्ने गरी राय समेत लगाई डोटी जिल्ला अदालतबाट भएको फैसला मनासिब ठहर्छ भन्ने समेतको सेती अञ्चल अदालतको मिति २०४४।९।७ को फैसला ।
१३. बालक पैदा भएपछि कर्तव्य गरी मारी फालेको भन्ने सबूत प्रमाण कतैबाट देखिन नआई मेरो निर्दोषिता प्रमाणित भएको अवस्थामा मलाई २ वर्ष कैद गर्ने राय लगाइएको फैसला बदर गरी पाउँ भनी सु.प.क्षे.अ.मा प्र.नारुदेवी भण्डारीले गरेको पुनरावेदन ।
१४. अभियुक्त आरोपित कसूरमा इन्कारी, डाक्टरको प्रतिवेदनमा निश्चयात्मक रायको अभाव र सरजमीन समेतका कुनै व्यक्तिको पनि यी अभियुक्तले नवजात शिशु मारेको भनी भन्न बकपत्र गर्न नसकी थाहा छैन भनी बकपत्र गरेको देखिन आएको, यस अवस्था देवर नाताको व्यक्तिसंग करणीमा बिग्रिएको फलस्वरुप आफ्नो गर्भबाट जन्मिएका नवजात शिशुलाई लोकलज्जा बचाउन निमित्त निजले मारेको होला भनी अनुमानको भरमा ज्यान जस्तो कुरामा दोषी अपराधी ठहर्याउन मिल्ने देखिन नआउँदा निज नारुले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । निजलाई ज्यानसम्बन्धीको १३(३) अन्तर्गत सर्वश्व सहितको जन्मकैद हुने ठहर्याई त्यसमा कैद वर्ष २ मात्र गर्ने गरी राय लगाएको शुरु डोटी जिल्ला अदालतको फैसला मनासिब ठहर्याएको सेती अञ्चल अदालतको फैसला समेत दुवै अदालतको फैसला उल्टी हुन्छ भन्ने सु.प.क्षे.अ.को फैसला ।
१५. नारुदेवीले नवजात शिशुलाई जन्माई मारी गाडेको तथ्ययुक्त प्रमाण हुँदाहुँदै सफाई दिने गरेको सु.प.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा बदर गरी माग दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको पुनरावेदनपत्र ।
१६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेतले गर्नुभएको बहस समेत सुनियो । यसमा निर्णयतर्फ विचार गर्दा प्रतिवादी नारुदेवीले आफ्नो देवर नाता पर्ने पदमे भण्डारीसंगको करणी विर्यबाट गर्भ बोकी मास पुगेपछि जातक जन्माएको भन्ने कुरामा विवाद देखिएन । प्रतिवादी नारुदेवीले अधिकारप्राप्त अधिकारी समक्ष बयान गर्दा बच्चा जिउँदै जन्मी २ पटक च्याँच्याँ गरी कराएको सुनें । साल आउने बेलामा व्यहोस भएकोले होस आएपछि हेर्दा बच्चा मरिसकेको रहेछ भनी लेखाई दिएको व्यहोरालाई अदालतमा आई बयान गर्दा बालक जन्मदा मरेको वा जीवित रहेको मलाई थाहा छैन । होस आएपछि श्वास बन्द भई मरेको देखें, मैले बालकलाई मारेको होइन भनी इन्कारी बयान गरेको पाइन्छ । सरजमीनका कुनै व्यक्तिले निज प्रतिवादीले नजवात शिशू मारेको भनी भन्न नसकी के भई मर्यो थाहा छैन भनी बकपत्र गरेको देखिन्छ । शव परीक्षण प्रतिवेदनमा पनि डाक्टरले यो यस ठाउँमा यस किसिमले दावी च्याँपी मारेको भन्ने देखिन नआई केवल दवाएको कारणले मरेको हुनसक्छ भन्ने राय व्यक्त गरेको देखिन्छ । यसरी यही कारणबाट मरेको हो भनी डाक्टरको प्रतिवेदनमा किटान गर्नसकेको समेत देखिँदैन, आरोपित कसूर गरेको कुरा कतैबाट प्रमाणित हुन नआएको, यस्तो स्थितिमा बालकलाई मारेको होला भनी अनुमान गर्न मिलेन । तसर्थ ज्यान जस्तो अपराधमा सबूद प्रमाणको अभावमा कसूरदार ठहराउन न्यायसंगत नहुँदा प्र.नारुदेवी भण्डारीलाई आरोपित कसूरबाट सफाई दिने ठहराएको सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ साल पौष १५ गते रोज ५ शुभम् ।