शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६२४ - कर्तव्य ज्यान

भाग: ३० साल: २०४५ महिना: माघ अंक: १०

निर्णय नं. ३६२४     ने.का.प. २०४५                 अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४४ सालको फौ.पु.नं. ४२०

फैसला भएको मिति : २०४५।१०।५।४ मा

 

पुनरावेदक/वादी : गणेशप्रसाद राना मगरको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.झापा लखनपुर गा.पं.वार्ड नं. ६ बस्ने उदयप्रसाद बास्तोलासमेत

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)                अदालतमा आई बयान गर्दा अन्तै रहेको भनी देखाई इन्कारीमा रहेको कुरा निजको साक्षीहरुबाट पुष्टि भइरहेको छँदै  दावी बमोजिम अभियुक्तहरुले अपराध गरेको भन्न कानूनसंगत नदेखिने ।

(प्रकरण नं. १६)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२.    मिति २०३८।६।२३ गतेका दिन अं.२ बजेको समयमा आफ्नो खेतमा मेरो फुपू दिलमाया मगर्नी घाँस काट्न भनी जाँदा जि.झापा लखनपुर गा.पं.वार्ड नं. ६ बस्ने वर्ष ५० का जनकप्रसाद बास्तोला १, ऐन बस्ने वर्ष ५२ को उदयप्रसाद बास्तोला १, ऐ.बस्ने टिकाप्रसाद बास्तोला १, ऐ.बस्ने वर्ष ४० को नाम नजानेको पोख्रेल १, ऐ.बस्ने शिवनाथ अधिकारीकी स्वास्नी वर्ष ३० की, निज जनकप्रसादकी श्रीमती, निजैको छोरा भगवती १, मिठु १, दुर्गी १ समेत ९ जनाले मेरो फुपू दिलमाया मगर्नीलाई लाठी खुकुरीले अचानक हमला गरी कुटपिट गरेकाले चित्त नबुझी दमक प्र.थानामा दर्खास्त गरी त्यस फाराम समेत यसै प्र.थानामा छ, निज फुपू दलिमाया कुटपिटको असरबाट थला परी सोही दिन देखि विस्तराबाट नउठी मिति २०३८।७।२२ गते विहान ६ बजे मृत्यु भएकोले निज फुपुको लास सुरक्षित राख्न लगाई जाहेर गर्न आएको छु, उक्त लास जाँच जे जो गर्नु पर्ने कानून बमोजिम परी सजायँ समेत गरी पाउँ भन्ने जाहेरी दर्खास्त ।

३.    उदयप्रसाद बास्तोलाले मृतक दिलमायालाई हात छोडेनन्, अरुले पनि लछार पछार पारी लात्ती मुडकीले कुटे, त्यसपछि वरपरका मानिसहरु भेला भई छुट्टाए । चोटले मरणान्त अवस्थामा भएकोले मेरो श्रीमानले घर ल्याउनु भयो र पानी पिलाएपछि होस फिर्‍यो त्यसपछि दमक थानामा लगी डाक्टरलाई जचाँई भोलिपल्ट घरमा ल्याई राख्यौं, मेरा दाज्यू भाइ कोही नभएकोले आमा दिलमाया मात्र हुँदा हामी आमाकै घरमा बसेका थियौं र त्यस कारण हामीले आमालाई डाक्टरकहाँ लगी जँचाई घरमा ल्याएदेखि हिंडडुल गर्न सक्नु भएन खोक्दा मुखबाट रगत आउँदथ्यो, त्यस्तैमा सोही पिरबाट करिव १ महिना पछि अर्थात २०३८।७।२२ गते चम्पामाया मगर्नी १ र प्रतिवादीले वादीलाई हुल भई सासूलाई कुटपिट गरी भागेको कुरा मेरो श्रीमती चम्पामायाले बताए, विपक्षीहरु हालसम्म पनि भागी राखेका छन् भन्ने मर्ने दिलमायाको ज्वाँई बलराम खपाङ्गी मगर १, मर्ने दिलमायालाई घाँस काट्ने निउमा बाझाबाझ परी लुछालुछ भएछ, जनकप्रसाद बास्तोला १, निजकी श्रीमती १, निजको जुवाँई तिर्थराज पोख्रेल १, जनककै भतिजी नाउँ नजानेकी १, छोरी भगवती, मिठु, दुर्गा समेत भई दिलमायालाई कुटपिट गर्न थाले, छुट्याउँन जाँदा मलाई पनि जनकप्रसादले कुट्न खोजे, त्यसपछि दिलमाया सिरियस भई खेतमा लडेपछि कुटपिट गर्ने विपक्षीहरु छाडी भागे, त्यसपछि बलरामले बोकी घरमा ल्याई सोही पीरबाट ०३८।७।२२ गते दिलमायाको मृत्यु भएको हो भन्ने जसबहादुर गुरुङ्ग समेतको अधिकांश सरजमीन मुचुल्का ।

४.    जाहेरवालाको फुपू दिलमाया मगर्नीलाई विरुद्ध खण्डमा लेखिएका अभियुक्तहरुले हुल बाँधी २०३८।६।२३ गते अभियुक्त मध्येका टिकाप्रसाद बास्तोलाले मर्ने दिलमायाको खेतमा घाँस काटी दिएकोले मेरो खेतमा घाँस नकाट भनी दिलमायाले घाँस काट्न रोक्न लगाई अधीन गर्दा सोही कुरामा टिकाप्रसाद र दिलमाया बीच वादविवाद उत्पन्न भई तानातान हुँदा  अरु प्रतिवादी समेत हुल भई आई दिलमायालाई कुटपिट गरेको कुरा सरजमीनको व्यहोराबाट प्रष्ट हुन आउने र दिलमायालाई कुटपिटबाट चोटपटक लागेको निजको घाउ जाँच फारामबाट प्रमाणित हुनआएको देखिएको र सोही कुटपिटको पीडाबाट दिलमायाको २०३८।७।२२ गते मृत्यु भएको देखिएको आन्तरिक रक्तश्राव बग्नाले मृत्यु हुन गएको भन्ने पोष्टमार्टमबाट देखिन आएको हुँदा प्रतिवादीहरुको कुटपिटको चोट पीडा निको नभई थला पारी उठ्न नसकी सोही चोटको पिरबाट मुलुकी ऐन ज्यानसम्बन्धीको ८ नं. को अवस्था परी दिलमायाको मृत्यु भएको सिद्ध हुन आउँछ, ९ जना प्रतिवादीहरुको हुल भई कुटपिट गरेको देखिएकोले यसैको चोटबाट दिलमायाको मृत्यु भएको भन्ने कुरा मिसिल प्रमाणबाट खुल्न नआएको हुँदा विरुद्ध खण्डमा लेखिएका सबै अभियुक्तहरुउपर मुलुकी ऐन ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ अनुसार सजायँ हुन सम्बन्धित कागजात प्रस्तुत गरी सादर अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

५.    मृतक दिलमायालाई चिनेको छ, निजसंग कुनै प्रकारको झगडा इवी केही थिएन । निजलाई कुट्न पर्ने कारण थिएन, उस्मा पनि म मिति २०३८।६।२३ गते आफ्नो गाउँघरमा थिइँन, २०३८।६।२२ गतेकै दिन दशैंको टिका लगाउँन जि.सुन्सरी इनरुवामा देवीप्रसाद पोखरेल मावली हुँदा सोही ठाउँमा गएको थिएँ र २०३८।६।२५ गते मात्र आफ्नो घरमा आएको हुँदा मृतक दिलमायालाई मैले कुटपिट गरे गराएको होइन, म हुँदै नभएको दिन निजसंग मेरो घाँस काट्ने सम्बन्धमा कुनै प्रकारको वादविवाद झगडा हुने कुरै आएन, जाहेरी झुठ्ठा हो, सरजमीनका मानिसहरुले शत्रुहरुको कुरा सुनी उजूर दिएको हुनुपर्छ भन्ने म्यादमा हाजिर भएको टिकाप्रसाद बास्तोलाको अदालतमा भएको बयान ।

६.    मैले दिलमाया मगर्नीलाई कुट्नु कुटाउनु कुनै गरेको होइन, छैन । २०३८।६।२२ गते मेरो ससुराली सुनसरी इनरुवा हुँदा ताहाँ गई हामी बाबुछोरा संगै गएको र २०३८।६।२५ गते हामी बाबुछोरा आफ्नो गाउँघरमा आएका हौं, जाहेरी दर्खास्त, प्रहरी प्रतिवेदन समेत झुठ्ठा हो सरजमीनले किन त्यसरी लेखाए निजहरु नै जानुन्, जाहेरी दर्खास्त शत्रुको कुरा सुनी दिएको हुनुपर्दछ, म निर्दोष मानिस हुँदा प्रहरी प्रतिवेदनबाट सफाई पाउँ भन्ने म्यादमा हाजिर भई बयान गर्ने उदयप्रसाद बास्तोलाको अदालतमा भएको बयान ।

७.    २०४०।६।५ गते भएको सरजमीन मुचुल्काको दफा दफामा लेखाई दिएको व्यहोरा ठीक छ भनी सरजमीनको मानिसले अदालतमा गरेको बकपत्र ।

८.    जनकप्रसाद, उदयप्रसाद, टिकाप्रसाद समेतले कुटपिट गरेको मैले नदेखेको हुँदा निजहरुले मारे मारेनन् थाहा भएन, म लेखपढ गर्न नजान्ने मानिस हुँदा लेख्नेले के लेखे मलाई सही गर भनेकाले सही गरेको हुँ भन्ने समेत व्यहोराको जाहेरवालाले अदालतमा गरेको बकपत्र ।

९.    टिकाप्रसादको सम्बन्धमा घाँस काट्दा मर्ने दिलमायासंग घाँस नकाट भनी घाँस खोस्न तानातान भएको बाहेक निजले कुटपिट गरे भन्ने कुरा कहीँ कतैबाट पनि देखिन नआएकोमा केवल मर्ने दिलमायाले घा जाँच गरी पाउँ भनी दर्खास्तको तपसील खण्डमा नाम लेखेको भरमा निजले समेत कुटपिट गरेको रहेछ भनी शंका गरी ज्यानसम्बन्धीको १३(३) को कसूरदार भनी भन्न ठहराउन तथ्ययुक्त आधारभूत ठोस सबूद प्रमाणको अभावमा प्रहरी प्रतिवेदन दावी पुग्न सक्ने देखिँदैन, अतएव प्रस्तुत विवादमा अभियुक्त उदयप्रसाद र टिकाप्रसादले आफूउपर लागेको अभियोगबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको झापा जिल्ला अदालतको फैसला ।

१०.    सबूद प्रमाणको आधारमा प्रतिवादीहरुको कुटपिट तातो रीसबाट मुतक दिलमायाको मृत्यु भएको प्रष्ट देखिँदा देखिँदै प्र.हरुलाई सफाई दिएको शुरु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रहरी प्रतिवेदन माग बमोजिम सजायँ गरी पाउँ भनी वादी श्री  ५ को सरकारको पू.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

११.    म्याद गुजारी फरार रहने अभियुक्तहरु जनकप्रसाद बास्तोला, निजकी श्रीमती मिठु बास्तोला, नर्वदा घिमिरे, भगवती बास्तोला, दुर्गा बास्तोला१ र तिर्थराज पोखरेल समेतको हकमा मुलतवी राखिदिनु पर्नेमा झापा जिल्ला अदालतको फैसलामा केही उल्लेख भएको नदेखिँदा निजहरुका हकमा अ.बं.१९० नं.बमोजिम मुलतवी राखिदिने ठहर्छ प्र.उदयप्रसाद बास्तोला र टिकाप्रसाद बास्तोलालाई शंकारहित सबूद प्रमाणको अभावमा सफाई दिने ठहराएको झापा जिल्ला अदालतको इन्साफ मनासिब नै देखिँदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१२.    प्रतिवादीहरुलाई वारदात स्थलमा देख्ने सरजमीन लगायतका मानिसको बकसपत्रबाटै प्रतिवादी वारदातमा रहेको देखिँदा देखिँदै पनि सफाई दिएको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला नमिलेकोले बदर गरी प्रतिवादीहरुलाई माग बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदन ।

१३.    सरजमीनका मनमाया भूजेल, चम्पामायाले अदालतमा बकपत्र गर्दा मृतक दिलमायालाई कुटपिट गरेको कुरा पुष्टयाई गरिदिएको टिकाप्रसादकै कारणबाट झगडाको शुरुवात भएको देखिन्छ । दिलमायाले कुटपिटमा जाँच गरिपाउँ भनी दिएको निवेदनमा यी अभियुक्तहरुको नाम लेखिएको  देखिन्छ । यस स्थितिमा पू.क्षे.अ.को इन्साफ फरक पर्ने भएबाट अ.बं.२०२ नं. तथा सर्वोच्च अदालत नियमावली बमोजिम प्रतिवादीहरुलाई झिकाई पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।

१४.    नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. र विपक्षी प्रतिवादीहरुको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलको बहस जिकिर समेत सुनियो ।

१५.   पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब बेमनासिब के रहेछ सोमा निर्णय दिनु पर्ने हुन आयो ।

१६.    यसमा निर्णयतर्फ विचार गर्दा अभियुक्त उदयप्रसाद र टिकाप्रसादउपर निजहरु समेतको कुटपिटबाट दिलमाया मरेको भन्ने मुख्य दावी भएकोमा निजहरु अदालतमा आई बयान गर्दा निजहरु वारदातको दिन गाउँघरमा नभई सो भन्दा अगावै ससुराली, मावली इनरुवामा गई २०३८।६।२५ मा मात्र आफ्नो गाउँमा फर्की आएको भनी देखाई इन्कारीमा रहेको, निजहरुका सबै साक्षीहरुले आफू समेत निजहरुकै साथमा गएको कुरा देखाई निजहरुको इन्कारीलाई समर्थन गरी बकी दिएको छ भने अर्कोतर्फ जाहेरवाला मर्नेकी छोरी चम्पादेवीले पनि अदालतमा बकपत्र गर्दा आफ्नो सरजमीन व्यहोरालाई समर्थन गर्दै अभियुक्तले कुटपिट नगरेको भनी देखाई बकपत्र गरेको र अर्को जाहेरवाला गणेशप्रसादले पनि मर्ने दिलमायालाई अभियुक्तहरुले कुटेको आफूले देखेको होइन, दिलमायाको दर्खास्तमा उल्लेख गरेको भरमा लेखाएको भनी भनेको र सरजमीनकै व्यक्ति मध्यकाले पनि अभियुक्तले कुटेको भनी नदेखाएकोबाट समेत अदालतमा आई बयान गर्दा अन्तै रहेको भनी देखाई इन्कारीमा रहेको कुरा निजका साक्षीहरुबाट पुष्टि भइरहेको छँदै दावी बमोजिम अभियुक्तहरुले अपराध गरेको भन्न कानूनसंगत नदेखिएकोले अभियुक्तहरुले सफाई पाउने ठहराएको शुरुको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । वादी श्री ५ को सरकारको पुनरावेदन हुँदा केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल माघ ५ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु