निर्णय नं. ३६२५ - अंश

निर्णय नं. ३६२५ ने.का.प. २०४५ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको दे.पु.नं. ७०८
फैसला भएको मिति : २०४५।९।१९।२ मा
पुनरावेदक/प्रतिवादी : रौटहत, पर्रौहा राजपुर फरहडवा गा.पं.वार्ड नं.३ बस्ने जानकी कनूइनसमेत
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ.बस्ने हिरासाह कनू
मुद्दा : अंश
(१) लिखतहरु मध्ये वादीले बिक्री गरेको जग्गा कसैको हक नलाग्ने आफ्नो एकलौटी हकको जग्गा भनी देखाई बिक्री गरेको, सो लिखतमा आफूले सगोलमा रहेका भनी दावी लिएका कुनै अंशियारलाई साक्षी नराखेकोबाट वादीको आफ्नै छुट्टै व्यवहार देखिने ।
(प्रकरण नं. १३)
(२) स्वतन्त्र रुपबाट आफ्ना–आफ्ना बिक्री व्यवहार चलाई आएकोमा अंशबण्डाको ३० नं. मा भएको व्यवस्था बमोजिम वादी र प्रतिवादीहरुको बीच अंशबण्डा भई नसकेको भन्न नसकिने ।
(प्रकरण नं. १३)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना
फैसला
न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयउपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ ।
२. मूल पूर्खा दशैं साह कानूको ४ छोरा, भजन साह कानू, शिउ साह कानू, रामविरीछ साह कानू र भागिरथ साह कानू । भजन साहको ३ छोरा जेठा, माइला, कान्छा क्रमशः मेम्हा साह, जोतिक साह, रामधारी, रामधारी निसन्तान भई लोग्ने स्वास्नी परलोक भएका । सिउ साहको २ छोरा तपेसर साह र विष्णु साहमा विष्णु साह नावालखमै मरीसकेको, तपेसरको ५ छोरा जेठा, लक्षुमन साह नावालखमै अघि नै परलोक भइसकेका, माहिला लालबहादुर कालगतिले परलोक भइसकेको र निजको स्वास्नी प्र.मध्येको रामलक्ष्मीदेवी कनुइन र निजको छोरा नावालख ललनसाह भएको, साइला प्र.रामस्वरुप साह, काइला प्र.रामरुप, कान्छा प्र.विश्वनाथ साह भएको साहिला रामविरीछ साहको ३ छोरा सुखारी, जंगा र हिरा साह भएको, कान्छा भागीरथको म नाती हिरा साह भएको दशै, भजन, सिउ, विरीछ, भगिरथ, रामधारी, तपेसर, विष्णु, सुखाडी, हिरा, लक्षुमन, लालबहादुर स्वर्गवास भइसकेको, भजन र राम विरीछ आफ्नो जीवनकालमै एक ठाउँमा र सिउ तथा भागीरथ साह आफ्ना जीवन कालमै अंश लिई दिई भिन्न बसेको तथा भजन साहको सन्तान र रामविरीछको सन्तान आपसमा अंशबण्डा गरी भिन्दा भिन्दै बसेको बाहेक यी प्र.हरु र म आफ्नो स्वास्नी छोरा समेतको परिवार एक ठाउँ संगोलमा रही बसी आएकोमा म फिरादी हिरा साह भारत आसाममा मजदूरी गरी कमाएको पैसा परिवारको जानिफकार स्व. लालबहादुरलाई नै दिई त्यसबाट जग्गा जमीन आर्जन गरेकोमा केही समयदेखि आसामबाट फर्की आई आफ्नो परिवारमै बस्ने गरेकोमा ठुलो परिवार भई कचकच हुँदा अंशबण्डा गरिदिनुस भनी विपक्षीहरुलाई भन्दा आलटाल गर्दै आई २०४१।७।२० का विहान विपक्षीहरुले मेरो अंश नदिने भनी ठाडो जवाफ दिएकोले अन्यायमा परेको छु । नालेश परेको अघिल्लो मिति मानो छुटेको मिति कायम गरी चल, अचल तायदाती लिई सिउ साह र भागीरथ साह २ दाजु भाइ रहेकोले आएको तायदाती मध्ये २ भाग गरी मेरो बुबा भगिरथ साहको अंशको १ भाग अंश मलाई दिलाई अंशबण्डा छुट्याई पाउँ भन्ने समेतको वादी ।
३. फिराद दावी अनुसार वादी तथा हामी साथसगोलमा बसेको होइन, मूल पूर्खा दशै साहको ४ छोराहरुले नै आपसमा आफ्नो–आफ्नो अंश भाग घरसारमा नै बाँडफाँड गरी अलग अलग बसी आएको मूल अंश पाउँ भनी रामवृछको छोरा गंगा साहले दिएको अंश मुद्दा २०१७।१०।१९ को फैसला समेत भइसकेकोले वादीसंग हाम्रो बाबु बाजेले नै अलग भई बसी आएका छौं अंश दिनु पर्ने हैन भन्ने समेतको प्रतिवादी ।
४. ०१७।१०।१९ मा फैसला भएको प्रमाण मिसिलबाट वादी प्रतिवादीहरु अलग बसी आएको देखिएको समेत आधारबाट अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत ०४२।१।६ को रौतहट जि.अ.को फैसला ।
५. अंश भइसकेको प्रमाण प्रतिवादीले दिन नसकेको अवस्थामा मलाई हराई वादी दावी नपुग्ने ठहर्याएको शुरु जिल्ला अदालतको फैसला बदर गरी पाउँ भन्ने समेतको वादीतर्फबाट मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
६. यसमा शुरु जिल्ला अदालतको इन्साफ फरक पर्ने देखिँदा अ.बं.२०२ नं.बमोजिम विपक्षीलाई झिकाई पेश गर्नु भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश ।
७. यसमा वादीले प्रतिवादीहरुबाट अंश पाउने नदेखिँदा फिराद परेको अघिल्लो दिन मानो छुट्टिएको मिति कायम गरी अंशबण्डा गर्नु पर्ने आफ्ना जिम्माको सम्पत्तिको फाँटवारी वादी प्रतिवादीबाट लिई नियम बमोजिम पेश गर्नु भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश ।
८. सगोलको परिवारमा जो जसका नाममा खरीद गरेको वा दर्ता रहेको जग्गा भए पनि वादी प्रतिवादीका नाउँमा जग्गाहरु दर्ता रहेको तथा खरीद बिक्री गरेको भन्ने मिसिल संलग्न लिखतहरुबाट देखिए पनि त्यतिकै आधारमा अंशबण्डा गरी आफ्नो हिस्सा भागशान्ति बमोजिम लिई दा.खा.बिक्री व्यवहार गरेको भन्न सकिने प्रमाण बेगर वादी प्रतिवादीहरु अघि नै अंश लिई छुट्टी भिन्न भएको भन्न मिल्ने अवस्था नहुँदा वादी दावी बमोजिम वादी प्रतिवादीबाट दाखिल हुनआएको तायदाती बमोजिमको सम्पत्तिमा २ भागको १ भाग वादीले प्रतिवादीहरुबाट अंश पाउने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४४।२।११।२ को फैसला ।
९. अंशबण्डाको ३० नं.बमोजिम विपक्षी हामीसंग भिन्न भएको भन्ने कुरा निर्विवाद रुपमा देखिई विपक्षीले अंश पाउने पूर्वावस्था विद्यमान नरहँदा नरहँदै पनि विपक्षीले अंश पाउने ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीतर्फबाट यस अदालतमा पर्न आएको निवेदनपत्र ।
१०. यसमा वादी प्रतिवादीको जग्गा किनबेचको व्यवहार भएको देखिएको र वादी प्रतिवादी अलग अलग हाँगाको देखिएबाट मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा अंशबण्डाको ३० नं. को व्याख्याको त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति ०४४।८।२९।३ को आदेश ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री दमन ढुङ्गानाको बहस सुनियो । यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको निर्णय मिले नमिलेको के छ निर्णय दिनुपर्ने हुन आयो ।
१२. यसमा विपक्षीहरुले अंश समेत नदिएको र दिन्न भन्ने ठाडो जवाफ दिएकोले विपक्षीहरुबाट अंश दिलाई पाउँ भन्ने समेत वादी दावी एवं वादीले हामीबाट अंश पाउनु पर्ने होइन भन्ने समेत प्रतिउत्तर रहेको ।
१३. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट वादी र प्रतिवादीहरु एकै अंशियार भएकोमा विवाद नभएको र सगोलका अंशियारका नाउँमा जग्गा आउँदैमा अंश दिएको सबूत बेगर अंशबण्डाको ३० नं.बमोजिम अंश भइसकेको भन्न नमिल्ने भन्ने आधारमा वादीले प्रतिवादीहरुबाट अंश पाउने ठहर्याएको देखियो तर वादीले आफूलाई वादीका बाबुहरु छुट्टिँदा वादीका बाबु र प्रतिवादीका बाजे सिउ साह एकासगोलमा रहेको भन्ने देखाई आफूले आसाम गई कमाएको पैसा लालबहादुरका नाममा पठाई थप जग्गा खरीद गरेको भन्ने देखाई दावी गरेकोमा प्रतिवादीहरुले सो कुरा इन्कार गरी आफ्नो बाजे र वादीका बाबु समेतका पालामा छुट्टी भिन्न भएको र वादीले २०३०।३।८।६ मा आफ्नो हकको जग्गा बिक्री गरेको र हामी प्रतिवादीहरुले पनि मिति मितिमा जग्गाहरु खरीद गरिलिएको हुँदा आफ्नो व्यवहार समेत मिलाई आइसकेको हुँदा अंश दिनपर्ने होइन भनी वादीले बिक्री गरेको लिखत तथा आफूले खरीद गरेको लिखतहरुको नक्कल समेत पेश गरेको देखिन आएको छ । सो लिखतहरु मध्ये वादीले बिक्री गरेको लिखतमा बिक्री गरेको जग्गा कसैको हक नलाग्ने आफ्नो एकलौटी हकको जग्गा भनी देखाई बिक्री गरेको देखिन्छ । सो लिखतमा आफूले सगोलमा रहेका भनी दावी लिएका कुनै अंशियारलाई साक्षी नराखेकोबाट वादीको आफ्नै छुट्टै व्यवहार देखिन आयो । त्यस्तै प्रतिवादीहरुले पनि सो मिति पछि २०३३, २०३४, २०३६, २०४१ सालहरुमा आफूले छुट्टै व्यवहार गरी जग्गाहरु आर्जेको देखिन आएको र सो आर्जेको जग्गाहरु वादीको भनाई बमोजिम निजले आसामबाट कमाई गरी पठाएकै पैसाबाट खरीद भएको हो भन्ने कुनै सबूद वादीबाट आउन सकेको छैन । यसरी स्वतन्त्र रुपबाट आफ्ना–आफ्ना बिक्री व्यवहार चलाई आएकोमा अंशबण्डाको ३० नं. मा भएको व्यवस्था बमोजिम वादी र प्रतिवादीहरुको बीच अंशबण्डा भई नसकेको भन्न सकिने अवस्था नरहेकोले यस स्थितिमा क्षेत्रीय अदालतले मात्र अंशियारकै नाममा जग्गा आर्जन भएको आधारमा अंशबण्डा भइसकेको भन्न नमिल्ने भनी वादीले अंश पाउने ठहर्याएको इन्साफ गल्ती भई उल्टी हुने ठहर्छ । अंश भइसकेको ठहर्याई दावी बमोजिम अंश नपाउने ठहर्याएको रौतहट जिल्ला अदालतको इन्साफ मनासिब ठहर्दछ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उल्टी हुने ठहरेकोले मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४४।२।११।२ को फैसलाको तपसील खण्डमा उल्लेख गरेबमोजिमको लगत राख्न परेन । व्यहोरा जनाई लगत कट्टा गर्नु भनी शुरु रौतहट जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु..१
पुनरावेदक प्रतिवादी जानकी कनूइनके यस अदालतमा पुनरावेदनको अनुमति पाई २०४४।९।६।२ को आदेशले राखेको कोर्टफी रु.१४।९२ निजहरुले भराई पाउने हुँदा यस सरहद भित्र वादीको ज्येथा देखाई भराईपाउँ भनी कानूनबमोजिम दर्खास्त दिनआएमा कानून बमोजिम गरी भराई दिनु भनी रौतहट जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु..२
ऐ.के यस अदालतमा पुनरावेदनको अनुमति पाई २०४४।९।६।२ को आदेशले धरौट राखेको रु.१३७।५० फिर्ता पाउँ भनी कानून बमोजिम दर्खास्त दिन आए कानून बमोजिम फिर्ता दिनु भनी का.जि.अ.त. मा लेखी पठाउनु...३
मिसिल नियमबमोजिम गरी बुझाई दिनु......४
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४५ साल पौष १९ गते रोज २ शुभम् ।