निर्णय नं. ३६२६ - राजीनामा लिखत कीर्ते

निर्णय नं. ३६२६ ने.का.प. २०४५ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
०४४ सालको फौ.पु.नं. ४८७
फैसला भएको मिति : २०४५।८।२७।२ मा
पुनरावेदक/प्रतिवादी : मोरङ, वयरवन गा.पं.वा.नं.९ बस्ने विष्णुकुमारी सिवाकोटी
विरुद्ध
प्रत्यर्थी/वादी : सप्तरी, भारदह गा.पं.वा.नं.६ बस्ने मुनेश्वर राय अमात
मुद्दा : राजीनामा लिखत कीर्ते
(१) वादीले दिएको फिरादमा लागेको निजको ल्याप्चे शंख जातको नै देखिन आएकोले नभएको जालसाजी मानिस खडा भई फिराद दिएको भनी दावी लिई फिराद दिन सक्नु पर्ने नगरेकोबाट पुनरावेदकतर्फको जिकिरलाई मान्यता दिन नमिल्ने ।
(प्रकरण नं. ११)
(२) लिखत गराई लिनेले लिखत गराई लिने सबै व्यवस्था मिलाई सकेपछि खाली पास गर्न सम्म वारीस गरी पठाउने र वारीस हुनेले पनि आफूलाई दिएको वारीसनामा बमोजिम अड्डामा गई पास गराई ल्याउने सम्म हुँदा वारीसद्वारा पास गराई लिएकोबाट लिखत गराई लिनेले कीर्ते नगरेको भन्न मिल्ने देखिन नआउने ।
(प्रकरण नं. ११)
(३) आफूले वारीस अख्तियारनामा गरी दिएको व्यक्तिले गरेको सबै कारणीले गरे सरह नै मानिने ।
(प्रकरण नं. ११)
पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल
प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
फैसला
न्या.हिरण्येश्वरमान प्रधान : यस अदालतबाट अनुमति पाई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।
२. मेरा नाउँ दर्ताको सट्टा भर्नाबाट पाएको वयरवन गा.पं.वार्ड नं. ९(ऋ) कि.नं.८ को ज.वि.३–१६–०, कि.नं.९ को १६–१९–०, कि.नं.१० को ४–८–०, समेत ज.वि.२५–३–० जग्गा दर्ता मध्ये कि.नं.९ को दक्षिणतर्फबाट २–१०–०, कि.नं.१० को दक्षिणतर्फबाट १–१०–० समेत ४–०–० भरतराज कार्कीलाई, कि.नं.९ बाट ५–०–०, कि.नं.१० बाट १–३–० समेत ६–३–० धरणीधरलाई सो जग्गाको रेखदेख गर्न बिक्री राजीनामा बकसपत्र लिखत रजिष्ट्रेशन गरी दिन समेत अधिकृत वारेशनामा दिई ०३७।४।१२ गते मोरंग जिल्ला अदालतबाट प्रमाणित गरी जग्गाधनी प्रमाण पूर्जा समेत धरणीधरलाई नै दिएको, बाँकी कि.नं.८ को ३–१६–०, कि.नं.९ को उत्तर तर्फबाट ९–९–०, कि.नं.१० उत्तर तर्फबाट १–१५–० समेतको ज.वि.१५–०–० बाँकी राखी भोगचलन गरेको जग्गा मध्ये १–१४–० दुर्गा नारायणलाई, १–१०–० तीलबहादुर भण्डारीलाई, २–६–० प्रेम नारायण भट्टराईलाई, १–१०–० जयकुमार भट्टराईलाई, १–६–१६–० मोहनकुमार सिटौलालाई, १–१४–० देवीभक्त सिटौलालाई, ०–१०–० अम्बरबहादुर पराजुलीलाई, १–०–० दिलबहादुर कटुवाललाई ०३८।२।२१ गते गाइघाट मालपोत कार्यालयबाट पास गरी दिन धनी पूर्जा र रसीद धरणीधरसंग माग्दा हरायो भनी नदिएकोले नक्कल सर्रा पास गराई दिएको थिएँ । जयकुमार भट्टराई म भएमा गई तपाईले हामीलाई पास बिक्री गरेको जग्गा इलाम मालमा विष्णुकुमारीलाई बकसपत्र गरेको रहेछ के कहाँको मानिसलाई ऋणीमा सही गराई पारीत गराएको कीर्ते लेखत मालपोत कार्यालयमा दाखिल गरी मेरा नाउँबाट विष्णुकुमारीको नाउँमा दर्ता गराएकोले कीर्ते कागजको ७।११ नं.बमोजिम सजायँ गरिपाउँ भन्ने फिराद ।
३. विपक्षीको २५–३–० जग्गा मध्ये ६–३–० जग्गा मेरो छिमेकी धरणीधरलाई अधिकृत वारेसनामा दिई धरणीधरले महेन्द्र न्यौपानेलाई बकसपत्र दिई बाँकी १९–०–० जग्गा वादीले नै राजीखुशीले इलाम मालबाट ०३८।२।४ मा मलाई बकसपत्र पास गरी दिएको हो । अर्को व्यक्ति मुनेश्वर भनी कीर्ते मानिस खडा गरी पारीत गरे गराएको होइन झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने प्रतिउत्तरपत्र ।
४. विवादीत लिखतमा लागेको सहिछाप नमिल्ने व्यहोराको राय प्राप्त भएकोले प्र.मध्ये विष्णुकुमारीले वादीको हक जाने गरी कीर्ते मानिस खडा गरी जग्गा आफ्ना नाउँमा दर्ता गराई जग्गाधनी प्रमाण पूर्जा समेत प्राप्त गरेको र प्र.मध्ये गणेश खड्का, ढुण्डीप्रसादले कीर्ते मानिसलाई चिनेको भनी सनाखत साक्षी बसेको देखिएबाट दावी बमोजिम कीर्ते गरेको ठहर्छ भन्ने मोरङ जिल्ला अदालतको ०४१।१।६ को फैसला ।
५. वादीको कीर्ते तर्फको नालेश अ.बं.७३ नं. ले दायर हुने स्थिति नदेखिएकोले त्यस्तो नलाग्ने नालिशको आधारमा शुरुले तथ्यमा प्रवेश गरी इन्साफ गरेको मिलेको नदेखिएकोले वादीको नालेश अ.बं.७३, १८० नं.बमोजिम खारेज हुने ठहर्छ भन्ने ०४१।१।६।४ को कोशी अञ्चल अदालतको फैसला । कोशी अञ्चल अदालतको फैसला क्षेत्राधिकार विपरीत भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदन गर्ने अनुमति दिएको पूर्वाञ्चल क्षेत्रीय अदालत सिंगलइजलासको आदेश ।
६. विवादग्रस्त लिखतको सहिछाप वादीको सहिछाप संग मिल्न नआएको भन्ने विशेषज्ञको राय र रायलाई समर्थन गर्ने बन्दसवाल बकपत्र भएको र मोरङको १९–०–० जग्गाको मूल्य रु.१५,०००।– मात्र राखेको यो पनि सम्बन्धित इलाकामा नै रजिष्ट्रेशन नगरी इलाम गई लिखत गरेकोबाट पनि उक्त लिखतको व्यवहार स्वाभाविक देखिन समेत नआउने भएबाट लिखत कीर्ते ठहर्याई प्र.विष्णुकुमारीलाई कीर्ते कागजको ७ नं.बमोजिम सजायँ गरेको इन्साफ मनासिब देखिँदा सदर हुने ठहर्छ भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको ०४४ ज्येष्ठ १२ गतेको फैसला ।
७. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्यात्मक त्रुटि भई न्यायप्रशासन सुधार ऐन, २०३१ (संशोधन सहित) को दफा १३(५) को (ख) र (ग) को प्रश्न समेतमा प्रत्यक्षतः त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने यस अदालतमा परेको प्रतिवादी विष्णुकुमारी शिवाकोटीको यस अदालतमा परेको निवेदन ।
८. विवादीत लिखतद्वारा प्राप्त गरेको सम्पत्ति निवेदिका प्रतिवादीले भोग गर्न नपाएको हुँदा निजलाई उक्त कानूनी प्रावधानले बिगोको आधा मात्र सजायँ लाग्नेमा पूरै सजायँ हुने ठहर्याएको पू.क्षे.अ.को फैसलामा कीर्ते कागजको ७ नं. को व्याख्यात्मक त्रुटि भई न्याय प्रशासन सुधार ऐन (संशोधन सहित), २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान भएको हुँदा प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने यस अदालतको संयुक्त इजलासको मिति ०४४।७।२६ को आदेश ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री हरिहर दाहालले विवादीत लिखत कीर्ते गरेको होइन यो यस्ले यसरी कीर्ते भयो भन्न वादीले सकेको पनि छैन विशेषज्ञको राय पनि पूर्ण र सरीक छैन प्रमाण ऐन, २०३१ को दफा २३ एवम् ३६ बमोजिम त्यस्तो अपूर्ण राय व्यापक हुनसक्दैन त्यस्तो रायको आधारमा कीर्ते जस्तो गम्भीर फौज्दारी अपराध ठहर्याउने गरी पु.क्षे.अ.बाट भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशले बदरतुल्य भनी गर्नु भएको बहस तथा प्रत्यर्थीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले एकातिर विवादीत लिखतको ल्याप्चे भिड्न नआउने विशेषज्ञको राय अदालतबाट जारी बन्दसवालबाट समेत समर्थित हुने अर्कोतर्फ मोरङको जग्गा के जिल्ला इलाम गई १९–०–० विगाहा जग्गाको मोल जम्मा रु.१५,०००।– राखी रजिष्ट्रेशन पास गराएको देखिएकोले कीर्ते हैन भन्न सकिने अवस्थै छैन तसर्थ पु.क्षे.अ.को शुरु इन्साफ सदर गर्ने गरेको फैसला मिलेकै छ भन्ने बहस समेत सुनियो ।
१०. अब प्रस्तुत मुद्दामा पु.क्षे.अ.को शुरु मोरङ जिल्ला अदालतबाट कीर्ते ठहर गरी गरेको इन्साफ सदर गर्ने गरी गरेको फैसला मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने भएको छ ।
११. निर्णयतर्फ विचार गर्दा यसमा पु.क्षे.अ.बाट वादी दावी बमोजिम दावीको लिखत कीर्ते गरेको ठहर्याई पुनरावेदक प्रतिवादी विष्णुकुमारीलाई बिगो बमोजिम जरिवाना गर्ने ठहर्याएको शुरु इन्साफ सदर गरिएकोमा यस अदालतबाट लिखतको जग्गा भोग गर्नु बेगर कीर्ते कागजको ७ नं. मा भएको व्यवस्था बमोजिम काम भइसकेको भन्न नमिल्ने हुँदा बिगो बमोजिम जरिवाना गरेको नमिल्ने भन्ने आधारमा पुनरावेदन गर्ने अनुमति प्रदान भई पेश हुन आएकोमा कीर्ते लिखत खडा गरेको भनी दावी लिएको लिखतको आधारमा लिखतको जग्गा निज प्रतिवादी विष्णुकुमारीको नाउँमा नामसारी दाखिल खारेज गरी जग्गाधनी प्रमाण पूर्जा समेत लिइसकेकोले सो दर्ता बदर गरी पाउन यिनै वादीले यिनै प्रतिवादीउपर दर्ता बदर मुद्दा समेत दिएको आजै किनारा भएको मिसिलबाट देखिन आएकोले काम समाप्त भई नसकेको भन्न मिल्ने देखिन आएन । अब पुनरावेदन तथा बहस जिकिर बमोजिम कीर्ते गरेको हो होइन भन्नेतर्फ विचार गरेमा विवादको लिखतमा लागेको दिने कारणीको ल्याप्चे चक्र जातको हो भन्ने कुरा पुनरावेदकतर्फबाट कुनै दावी जिकिर नलिई लिखत गरी दिने भनिएको सो विवादको लिखतमा लागेको दिने कारणीको ल्याप्चेसंग मिलाउन जिल्ला न्यायाधीश तथा पुनरावेदकको रोहवरमा लिइएको नमूना ल्याप्चेलाई विशेषज्ञले जाँच गरी सो नमुना ल्याप्चे शंख जातको हो भनी प्रतिवेदन पेश गरेको पुनरावेदकतर्फबाट विशेषज्ञबाट प्राप्त सोही प्रतिवेदनमा दायाँ औंठाको टुप्पोमा छाला खुइलिएको भन्ने उल्लेख भएको र छाला खुइलिएको ठाउँमा औंठाको रेखा स्पष्ट नहुने हुँदा सो ल्याप्चेको जात यो हो भनी किटानी भन्न सकिने अवस्था नरहेकोमा लिएको नमूना ल्याप्चे शंख जातको भनी दिएको प्रतिवेदन नमिल्ने भन्ने जिकिरको हकमा विशेषज्ञले आफूले दिएको प्रतिवेदनमा नमूना ल्याप्चेको देखिने रेखाको प्रकृतिबाट सो ल्याप्चे शंख जातको भनी राय दिई सोही कुरा समर्थन गरी बन्दसवालबाट बकपत्र समेत गरेको देखिन आएको र विवादको लिखतमा लागेको ल्याप्चे तथा विशेषज्ञबाट लिएको सो ल्याप्चेका फोटोहरु हेरिएमा दायाँ ल्याप्चे शंख जातको हो भन्ने कुरामा कुनै शंका लिइरहनु पर्ने अवस्था नरहेबाट पुनरावेदकतर्फको यो जिकिरलाई मान्यता दिन मिलेन । यसको अलावा पुनरावेदकतर्फबाट विवादको लिखत गरी दिने कारणीले निजको अरु जग्गाहरु बेच्न कानून बमोजिम अरु अधिकृत वारेसनामा पनि दिएका छन् ती अधिकृत वारेशनामामा लागेका कारणीका ल्याप्चेहरु चक्र जातकै हुँदा सो अधिकृत वारेशनामाहरु झिकाई पाउँ भन्ने जिरह लिएको हकमा यदि वास्तवमा सो कुरा हो भने यो फिराद गर्ने वादी विवादग्रस्त लिखतको नै होइन भनी आफ्नो प्रतिउत्तरबाट जिकिर लिनु पर्ने तर सो गर्न पनि नसकेको र यिनी वादीले दिएको फिरादमा लागेको निजको ल्याप्चे शंख जातको नै देखिन आएकोले नभएको जालसाजी मानिस खडा भई फिराद दिएको भनी दावी लिई फिराद दिनसक्नु पर्ने सो पनि नगरेकोबाट पुनरावेदकतर्फको यो जिकिरलाई पनि मान्यता दिन मिलेन । जहाँसम्म विवादको लिखत गराउँदा प्रतिवादी विष्णुकुमारी आफैं उपस्थित भई राजीनामा लिएको नभई पुण्यप्रसाद वारीस भई लिखत पास गराएको हुँदा प्रतिवादी विष्णुकुमारीले कीर्ते गरेको भन्न नमिल्ने भन्ने जिकिरको हकमा लिखत गराई लिनेले लिखत गराई लिने सबै व्यवस्था मिलाई सकेपछि खाली पास गर्नसम्म वारिस गरी पठाउने र वारिस हुनेले पनि आफूलाई दिएको वारिसनामा बमोजिम अड्डामा गई पास गराई ल्याउनेसम्म हुँदा वारिसद्वारा पास गराई लिएकोबाट लिखत गराई लिनेले कीर्ते नगरेको भन्न मिल्ने देखिन नआउनुका साथै आफूले वारिस अख्तियारनामा गरी दिएको व्यक्तिले गरेको सबै कारणीले गरे सरह नै मानिने कानूनी व्यवस्था हुँदा पुनरावेदकतर्फको यो जिकिर पनि मनासिब देखिन आएन ।
१२. अतः माथि लेखी देखाइएका कारणहरुबाट पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेकै देखिन आएकोले मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी विष्णुकुमारी सिवाकोटीलाई माथि इन्साफ खण्डमा लेखिएबमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहरेकोले शुरु जि.अ.ले गरेको जरिवाना रु.१५,०००।– को अ.बं.२०३ नं. ले सो को सयकडा ५।– ले थप रु.७५०।– (सातसय पचास) समेत थप जरिवाना हुन्छ । लगत कसी असूल गर्नु भनी शुरु मोरंग जिल्ला अदालतमा पठाउन काठमाडौं जिल्ला अदालत तहसीलमा लगत दिनु....१
सरोकारवालाले नक्कल माग्न आए नियमानुसार गरी दिनु...२
मिसिल नियमानुसार बुझाई दिनु....३
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ साल मार्ग २७ गते रोज २ शुभम् ।