शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६०८ - रहजनी डाँका

भाग: २८ साल: २०४३ महिना: बैशाख अंक:

निर्णय नं. २६०८     ने.का.प. २०४३ अङ्क १

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४२ सालको फौ.पु.नं. ५५७

फैसला भएको मिति : २०४३।१।१८।५ मा

 

पुनरावेदक/प्रतिवादी : जि.का.बर्दिया कारागार शाखामा थुनामा बसेको उमेश सिंह मुराउ

विरुद्ध

विपक्षी/वादी : गोविन्दप्रसादको जाहेरीले श्री ५ को सरकार

 

मुद्दा : रहजनी डाँका

 

(१)         अभियुक्त प्रहरी र अदालतमा समेत आफूले वारदात गरेकोमा सावित भएको र निजबाट बरामद हुन आएको सामानहरूबाट समेत समर्थित भइसकेकोले निज निर्दोष रहेछ भन्न सकिने अवस्था देखिन नआउने ।

(प्रकरण नं. १५)

 

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीले यस अदालतमा दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ :

२. ०३९ साल पौष २३ गते विहान ८.३० बजेको समय म भारत विहार मिहिपुरवातर्फ जान लाग्दा पकडिया गाउँको दक्षिणतर्फ भएको पुलनिर पुग्दा नचिनेका ५ जना डाँकाहरूले बन्दूक, फर्सा देखाई मलाई रोकी मेरो बिगो रु.१७०७।५० को नगदी जिन्सी समेतको धनमाल डाँका गरी लिई मलाई जंगल भित्र लगी बाँधी भागी गए त्यसपछि अरु डाँका गरेको मानिसलाई लुटेको भन्ने खबर पाई प्रहरी गई पक्राउ गरी ल्याएको मानिस मलाई डाँका गर्ने मध्येकै उमेश सिंह मुराउ भएकोले निजबाट मेरो डाँका गरी लगेको धनमाल दिलाई भराई समेत गरिपाउँ भन्ने गोविन्दप्रसादको जाहेरी ।

३. ०३९।९।२३ गते महेश सिंह मुराउ, रघुवीरसिं सरदार, मोथा सिंह मुराउ, कृष्ण सिंह मुराउ र म समेत ५ जना विहान ६ बजे बोर्डर नजिक जंगलमा बसेको समयमा नेपाल बोर्डरबाट एकजना साइकिल चढी भारततर्फ गइरहेको देखि निजलाई रोकी जंगलमा लगी बाँधी निजले लाएको साइको घडी, साइकिल र भा.रु.२००।नेपाली नोट रु.५०।जकेट, टोपी समेतको धनमाल लुटी निजलाई त्यँही छोडी सडकमा गई एउटा टाँगालाई रोकी टाँगामा बसेको आईमाई र लोग्ने मानिस समेतको धनमाल लुटी पिटी गरेका हौं । लुटी सकेपछि हामीहरू बसी रहेको अवस्थामा प्रहरीहरू गई मलाई पक्राउ गरेको हो अरु साथी भागी भए भन्ने समेत प्र.उमेश सिंहले प्रहरीमा गरेको बयान ।

४. पक्राउमा परेपछि उमेश सिंह र निजले लेखाएको अरु व्यक्तिहरू भारत र नेपाल भित्र ठाउँ ठाउँमा रहजनी डाँका गर्ने खराब आचरण भएका मानिस भएको विश्वास लाग्दछ निजहरूले जाहेरवाला गोविन्दप्रसाद र टाँगामा बसेका अन्य मानिसहरूलाई लुटपीट गरेको भन्ने सुनेका हौं । डकैतिको साइकिल र अरु सामान तथा बन्दूक सहित उमेश सिंहलाई पक्राउ गरी प्रहरीले ल्याई रहेको अवस्थामा हामीले देखेका हौं भन्ने समेत सरजमीन मुचुल्का ।

५.    पक्राउमा परेको उमेश सिंह मुराउले मु. ऐन चोरीको ६ नं.बमोजिम कसूर गरेकोले निजलाई सोही ऐनको दफा १४(४) बमोजिम पैले पटक सजायँँ गरी बरामद भएको साइकिल सहित बिगो रु.६६५।को  धनमाल जाहेरवालालाई भराई बरामद हुन नसकेको बिगो रु.६६५।को धनमाल प्र.हरूबाट जाहेरवालालाई दिलाई भराई पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।

६. भोला सिंह १, रघुवीर सिंह १, महेश सिंह १, कृष्ण सिंह १ र म समेत ५ जनाले मुर्तिहा जंगलमा डाँका गर्न जाऔं भनी ०३९।९।२२ गते सल्लाह गरी भोलिपल्ट मुर्तिहा जंगलमा आई ढुकी बसेको अवस्थामा विहान ९ बजे गोविन्दप्रसाद रेग्मी भन्ने नाम लेखिएको व्यक्ति साइकिल चढी जान लागेको देखी निजलाई रोकी निजबाट साइकिल १, जाकेट १, टोपी १ र नगद नोट र घडी तथा पन्जा समेत रघुविर सिंह र महेश सिंहले खोसी लिए म झाडीमा लुकेर बसेकोले देखेको हुँ पछि निजलाई जंगलमा लगी मफलरले रुखमा बाँधी दियौं त्यसपछि मुर्तिहा स्टेशनबाट आई रहेको टाँगा रोकी टाँगामा बसेका जाहेरीमा लेखिएका मुलराज, दामोदर, सन्तराम समेतका ६, ७ जना यात्रुहरूलाई लुटेका हौं डाँका गरी घरतर्फ जान लाग्दा प्रहरीले घेरा दिई मलाई पक्राउ गरी ल्याएको हो अरु साथीहरू भागी गए भन्ने समेत प्र.उमेश सिंहको अदालतमा गरेको बयान ।

७. ०३९ पौष २३ गते अन्दाजी ८ बजे म साइकिलमा चढी भारत मुर्तिहा स्टेशनतिर जान लाग्दा सर्जु नदीको पूलनिर ५ जना डाँकाहरूले मलाई समाती जंगल भित्र लगी मलाई बाँधी मेरो घडी साइकिल, जाकेट, टोपी भा.रु.२००।ने.रु.७२।५० समेतको धनमाल लुटी लिएकाहुन् प्र.उमेश सिंहले गलमुच्छन बाँधी हातमा फर्सा लिएका थिए भन्ने समेत जाहेरवाला गोविन्दप्रसाद रेग्मीले गरेको बकपत्र ।

८. प्र.उमेश सिंह मुराउको स्वयंले प्रहरी र अदालतमा समेत रहजनी डाँका गरेका सावित भई बयान गरेको देखिन आएकोबाट कसूरदार हो भन्ने तथ्य निर्विवाद रुपमा सिद्ध भएकोले प्रहरी प्रतिवेदन माग दावी बमोजिम मुलुकी ऐन चोरीको ६ नं. बमोजिम बिगो रु.१००७।५० को धनमाल पहिलो पटक डाँका गरेको ठहरेकोले प्र.उमेश सिंह मुराउलाई चोरीको १४(४) नं. बमोजिम सजायँ समेत हुने ठहर्छ भन्ने बर्दिया जिल्ला अदालतको फैसला ।

९. दुई वटा जाहेरी दर्खास्तमा रहजनि डाँका भन्ने उल्लेख भएको छ । म पुनरावेदक बाहेक अरु मानिस थिए भन्ने कुरा कतैबाट देखिन नआएकोले प्रस्तुत मुद्दा कुनै प्रकारले डाँका मुद्दा सिद्ध हुन नआउनेमा मलाई डाँका गरेको ठहराई शुरु जि.अ.को ईन्साफ मनासिब नहुँदा उक्त इन्साफ बदर गरिपाउँ भन्ने समेत प्र.उमेश सिंह मुराउको म.प.क्षे.अ.मा पर्न आएको पुनरावेदन ।

१०.    अन्य ४ जना मानिस र आफू समेत भई डाँका गरेकोमा अदालतमा समेत सावितै भएको र गवाह जाहेरवालाले समेत अदालतमा बकपत्र गर्दा प्र.समेतको व्यक्तिहरू मिलेर डाँका गरेको भन्ने प्रष्ट बकी लेखाई दिएको समेतको आधारमा निज प्र.लाई चोरीको ६ नं. बमोजिम पहिलो पटक डाँका गरेको ठहर्‍याई ऐ.को १४(४) बमोजिम सजायँ गरेको न्यायसंगत नै हुँदा बर्दिया जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ.को फैसला ।

११. उक्त फैसलामा समेत चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीले यस अदालतमा निवेदन दिएकोमा वारदात स्थल नै नेपाल भित्र नभएको प्रस्तुत मुद्दामा प्र.उमेश सिंह मुराउलाई डाँका गरेको ठहर्‍याएको शुरुको इन्साफ सदर गरेको म.प.क्षे.अ.को फैसलामा अ.बं. ३५ तथा १८४(क) को त्रुटि भएको देखिएको हुँदा पुनरावेदनको अनुमति दिइएको छभन्ने यस अदालत डिभिजनबेञ्चको आदेश ।

१२. नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनुपर्ने हुन आयो ।

१३. निर्णयतर्फ विचार गर्दा यसमा भारतीय भूमिमा डाँका गरेको हुँदा मलाई नेपालमा मुद्दा चलाई     सजायँ दिएको गैरकानुनी हुँदा सो इन्साफ बदर गरिपाउँ भन्ने मुख्य तथा पुनरावेदन जिकिर भएको र सोही जिकिरलाई आधार लिई यस अदालत डिभिजनबेञ्चबाट समेत अनुमतिको आदेश प्राप्त भएको देखिन्छ ।

१४. माथि उल्लेख भए बमोजिम कुन ठाउँमा सो घटना घटेको रहेछ भनी मिसिल अध्ययन गरी हेर्दा शुरु बर्दिया जिल्ला अदालतमा यिनै प्रतिवादीले गरेको बयानको सवालको जवाफको प्रकरण ६ मा हेर्दा ७ यो डाँका वारदातको घटना नेपाल भारत वोर्डरनिर नेपालमा पर्ने सरयु नदीको पुलनिर भएको होभनी प्रष्ट रुपमा नेपाल सीमाना भित्रै नै डाँका वारदात गरेकोमा आफैंले नै प्रष्ट रुपमा बकेको पाइन्छ । सो बाहेक डाँका गरेको वारदात थाहा पाई प्रहरी अधिकृत समेत खटी गई निज डाँकाहरूको पिछा गर्दा नेपाल सरहद भित्रको जंगलमा पक्राउ गरेको भनी प्रष्ट रुपमा उल्लेख भएको पाइन्छ । घटनास्थलको विवरणमा समेत घटना नेपाल सरहद भित्र नै रहेको भनी गा.पं.स.परशुराम यादव समेतले गरेको सरजमीन मुचुल्कामा समेत प्रष्ट रुपमा उल्लेख भएको पाइन्छ । अतः मिसिल अध्ययन समेतबाट वारदात स्थल भारत सीमानाभित्र नपरी नेपालको सीमानाभित्र भएको भन्ने प्रष्ट रुपमा देखिई रहेकोबाट भारतको सीमानामा वारदात भएको भन्ने पुनरावेदन जिकिर मनासिब छ भन्न मिलेन ।

१५.   अब म.प.क्षे.अ.को इन्साफलाई हेर्दा अभियुक्त प्र.उमेश सिंह मुराउ प्रहरी र अदालतमा समेत आफूले वारदात गरेकोमा सावित भएको र निजबाट बरामद हुन आएको सामानहरूबाट समेत समर्थित भइसकेकोले निज निर्दोष रहेछ भन्न सकिने अवस्था देखिन आउँदैन अतः निज प्र.उमेश सिंह मुराउलाई मु.ऐन चोरीको ६ नं. बमोजिमको कसूरदार ठहराई ऐ.ऐनको दफा १४(४) बमोजिम सजायँ गर्ने गरेको शुरु वर्दिया जिल्ला अदालतको फैसलालाई नै म.प.क्षे.अ.ले सदर गर्ने गरेकोमा कुनै कानुनी त्रुटि नदेखिएको हुँदा सदर हुने ठहर्छ । तपसीलको कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक उमेश सिंह मुराउके माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.प.क्षे.अ.को इन्साफ नै सदर भएको हुँदा अ.बं. २०३ नं. बमोजिम शुरुबाट भएको कैद र जरिवानाको सयकडा ५ ले हुने कैद ।३।१८ तीन महीना अठार दिन र जरिवाना रु.१२३।६ पैसा हुन्छ निज थुनामा हुँदा लगत कसी असूल उपर गर्नु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.लगत तपसीलमा लगत दिनु..................१

मिसिल नियमानुसार गरी बुझाइदिनू.......................................................२

 

उक्त रायमा म सहमत छु ।

न्या.सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०४३ साल बैशाख १८ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु