शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६०९ - भ्रष्टाचार

भाग: २८ साल: २०४३ महिना: बैशाख अंक:

निर्णय नं. २६०९     ने.का.प. २०४३ अङ्क १

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४१ सालको फौ.पु.नं. ५५५

फैसला भएको मिति : ०४३।१।२४।४ मा

 

पुनरावेदक/प्रतिवादी : सप्तरी वथनाहा गा.पं.वा.नं.५ बस्ने बैद्यनाथ मण्डल धानुक

विरुद्ध

विपक्षी/वादी : श्री ५ को सरकार, जिल्ला कार्यालय, सप्तरीको प्रतिवेदन

 

मुद्दा : भ्रष्टाचार

 

(१)         नक्कली प्रमाणपत्र पेश गरी उपसहायक पदमा काम गरी भ्र.नि.ऐन, २०१७ को परिच्छेद २ को दफा १२ बमोजिमको अपराध गरेको ठहराएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा उक्त इन्साफ मनासिब ठहर्ने ।

(प्रकरण नं. २०)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

विपक्षी/वादीतर्फबाट   : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान

 

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई पुनरावेदन लगतमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ ।

२. प्र.वैद्यनाथ मण्डलले गोपाल पाण्डे प्रवेशिकाको सर्टिफिकेट नक्कली पेश गरी सगरमाथा धान चामल निर्यात कम्पनी लिमिटेडमा प्रशासन शाखाको उपसहायक पदमा काम गरेको भन्ने पर्न आएको बेनामी उजूरीको सिलसिलामा वैद्यनाथ मण्डललाई बुझ्दा मैले ०२८ सालको नेपाली शिक्षा परिषद् प्रवेशिका परीक्षाको फाराम हनुमान नगर केन्द्रबाट भरी जाँच दिई द्वितीय श्रेणीमा पास भएको प्रमाणपत्र ०२८ सालमा पाएको र सो प्रमाणपत्र पेश गरेको छु, सो प्रमाणपत्र तत्कालीन किरानी बासुदेव दासले मलाई दिनु भएको हो, मैले उक्त धान चामल नि.कं.लि.मा तलब भत्ता समेत गरी महीनाको रु.४६०।पाई आएको छु । परीक्षामा सम्मिलित हुन आएको प्रवेशपत्र हाल भेटाउन नसकेकोले पेश गर्न सक्तिन भन्ने समेत व्यहोराको प्र.वैद्यनाथ मण्डलले जिल्ला कार्यालय सप्तरीमा गरेको ठाडो बयान कागज ।

३. ०२८ सालको परीक्षामा उत्तिर्ण हुनेहरूलाई त्यसबखतका परीक्षा प्रबन्धक नारायणप्रसाद यादवले प्रमाणपत्र वितरण गरेको हो, मैले दिएको होइन, नारायणप्रसाद बुझी पाउँ । प्रमाणपत्रमा लेखेको निलो मसिको हस्ताक्षर लिपि मेरो होइन, उक्त प्रमाणपत्र भानु माध्यमिक विद्यालय, काठमाडौंबाट आएको हो भन्ने समेत प्र.किरानी बासुदेव दासले जि.का.सप्तरीमा गरेको ठाडो कागज ।

४. प्रमाणपत्र ठाउँ ठाउँमा निलो मसीले लेखेको हस्ताक्षर तत्कालीन किरानी बासुदेव दासले लेखेको जस्तो लाग्छ । उक्त प्रमाणपत्रमा लागेको स्टाम्प छाप र स्टाम्प दस्तखत जाली सद्दे के हो भन्न सक्तिन, यो प्रमाणपत्र बैद्यनाथलाई मैले दिएको होइन भन्ने समेत प्र.अ.नारायणप्रसाद यादवले जि.का.सप्तरीमा गरेको ठाडो कागज ।

५.    वैद्यनाथले पाएको प्रमाणपत्रको सम्बन्धमा किरानी बासुदेव र नारायणप्रसाद यादवले पुष्टि नगरी एक अर्कोलाई लान्छना लगाई आफू उम्कन खोजेको र प्रवेशपत्र पाएको बारे बैद्यनाथले पुष्टि हुने प्रमाणपत्र दाखेल गर्न नसकेबाट योग्यताको प्रमाणपत्र लिने दिनेमा तीनै जना माथि भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद २ को दफा १२ अन्तर्गतको अभियोगमा अदालती कारवाही भई सजायँ समेत गरिपाउँ भन्ने समेत जि.का.सप्तरीको ०३५।२।४ को प्रतिवेदन ।

६. वैद्यनाथ मण्डलले दाखेल गरेको ०२८ सालको प्रवेशिका परीक्षाको मार्कसिट मैले दिएको होइन भन्ने समेत नारायणप्रसाद यादवले अदालतमा गरेको बयान ।

७. निज बैद्यनाथ मण्डललाई उक्त प्रमाणपत्र मैले दिएको होइन भन्ने समेत प्र.बासुदेव दासले अदालतमा गरेको बयान ।

८. २०२८ सालमा हनुमान नगर केन्द्रबाट जाँच दिई द्वितीय श्रेणीबाट उत्तिर्ण भएपछि २०२९ सालमा प्रमाणपत्र पाएको हुँ । प्रवेशपत्र घरमा आगलागी हुँदा अल्मलिएको थियो हाल फेला परेकोले पेश गरेको छु । झुठ्ठा अभियोगबाट सफाई पाउँ भन्ने समेत प्र.वैद्यनाथ मण्डलले अदालतमा गरेको बयान ।

९. विशेष प्रहरीको मागदावी बमोजिमको प्रतिवादीहरूले कसूर गरेको देखिन नआएकोले निजहरूले सफाई पाउने ठहर्छ भन्ने समेत मिति ०३६।१।४।३ को सगरमाथा अं.अदालत, राजविराज बेञ्चको फैसला ।

१०.    उक्त फैसला उपर जि.का.सप्तरीको पू.क्षे.अ.मा पुनरावेदन परेको ।

११. प्रतिवादीहरूलाई सफाई दिएको फैसला मिलेको नदेखिँदा अ.बं. २०२ नं.बमोजिम झगडीया झिकाउने भन्ने ०३८।१२।२५ को पू.क्षे.अ. सिंगलबेञ्चको आदेश ।

१२. आरोपित कसूरमा प्रधानाध्यापक नारायणप्रसाद यादव र किरानी बासुदेव दास कथवनियाको सहभागिता देखिने ठोस एवं भरपर्दो आधार केही नदेखिएकाले निजहरू निर्दोष छन् र प्र.वैद्यनाथले प्रवेशिका परीक्षा उत्तिर्ण भएको भन्ने मिसिल सामेल रहेको गोरखापत्रको प्रतिलिपि समेतका कुनै सबूदबाट पुष्ट्याई नभएबाट निजले पाएको सर्टिफिकेटलाई सद्दे सक्कली मान्न मिलेन । तसर्थ आरोप अनुसार निज बैद्यनाथ मण्डलले भ्र.नि.ऐन, २०१७ को दफा १२ को कसूर गरेको ठहर्छ । सो दफा अनुसार निजलाई तजबिजी कैद वर्ष २ हुन्छ । बासुदेव र नारायणप्रसाद यादवलाई सफाई दिएको शुरुको इन्साफ मनासिब छ भन्ने समेत पू.क्षे.अ.को मिति ०४०।८।५।२ को फैसला ।

१३. पू.क्षे.अ.को फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वैद्यनाथ मण्डलको निवेदन परेकोमा पू.क्षे.अ.को उक्त फैसलामा भ्र.नि.ऐन, २०१७ को दफा १२ ऐ.को दफा २५ र अ.बं. १८४(क) को त्रुटि भएको देखिएकोले पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने यस अदालत, डि.वे.को मिति ०४१।१।७ को आदेश बमोजिम पुनरावेदन लगतमा दर्ता भई पेश हुन आएको रहेछ ।

१४. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदकतर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले भ्र.नि.ऐन, २०१७ को दफा २५ अनुसार प्रस्तुत मुद्दा विशेष प्रहरी अधिकृतको नामबाट दायर गर्नुपर्नेमा प्र.जि.अ.को नामबाट दायर भएकोले उक्त कानुनको विपरीत दायर भएको प्रतिवेदनको आधारमा भएको फैसला बदरभागी छ, हुनुपर्छ । साथै पुनरावेदक उपर लगाइएको उक्त ऐनको दफा १२ अनुसार आरोप प्रमाणित हुनसकेको पनि नहुँदा त्यस्तो फैसलामा उक्त ऐनको विपरीत भएकोले समेत बदर हुनुपर्छ भन्ने र विपक्षी वादीतर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधानले प्र.वैद्यनाथले प्रवेशिका परीक्षा उत्तिर्ण गरेको भन्ने कतैबाट पुष्टी नभएकोले प्रमाणको अभावमा निजले प्राप्त गरेको त्यस्तो प्रमाणपत्रलाई सक्कली भन्न नमिल्ने हुँदा निजले आरोपित कसूर गरेको ठहर्‍याई निजलाई सजायँ समेत गर्ने गरेको पु.क्षे.अ.को फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहस समेत सुनियो ।

१५.   अब पुनरावेदन जिकिर अनुसार पू.क्षे.अ.को फैसलामा कानुनी त्रुटि भएको छ छैन सो को निर्णय दिन परेको छ ।

१६. निर्णयतर्फ विचार गर्दा यसमा नक्कली सर्टिफिकेट पेश गरी काम गरेको भनी पुनरावेदक वैद्यनाथ मण्डल धानुकलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद २ को दफा १२ अन्तर्गतको कसूर गरेको अभियोग लगाई निजलाई सजायँ होस् भन्ने प्र.जि.अ.सप्तरीको प्रतिवेदन परी प्रस्तुत मुद्दा चलेको देखिन्छ ।  निज बैद्यनाथले उक्त प्रमाणपत्र दिने भनी पोलेका प्र.कीरानी वासुदेव दास र निज वासुदेव दासका बयानबाट बुझिएका प्र.नारायणप्रसाद यादव दुबै जनाले आरोपित कसूरबाट सफाई पाइसकेको देखिन आएको छ ।

१७. प्रस्तुत मुद्दा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २५ अनुसार विशेष प्रहरी अधिकृतको नामबाट दायर हुनु पर्नेमा प्र.जि.अ.को नामबाट दायर भएको अनधिकृत प्रतिवेदनलाई आधार बनाई गरेको फैसला बदर हुनुपर्छ भन्ने पुनरावेदन एवं बहस जिकिर देखिन्छ ।

१८. प्रमुख जि.अ.सम्बन्धित जिल्लाको विशेष प्रहरी अधिकृत हुन् भन्ने कुरा विवादीत होइन । प्रस्तुत मुद्दाको सम्पूर्ण प्रारम्भिक कारवाही प्र.जि.अ.ले विशेष प्रहरीकै हैसियतले नै गरेको देखिन्छ । आरोपपत्र शीर व्यहोरामा भ्र.नि.ऐन अन्तर्गत सजायँको माग गरेको भन्ने प्रष्ट उल्लेख छ । तसर्थ प्रस्तुत मुद्दाको प्रतिवेदनमा विशेष प्रहरी अधिकृत भन्ने उल्लेख हुन छुट भएकै आधारमा प्र.जि.अ.को नामबाट दायर भएको प्रतिवेदनलाई अनधिकृत भयो भनी मान्न मिलेन । तसर्थ अधिकृत व्यक्तिका नामबाट दायर भएको प्रतिवेदनको आधारमा गरेको फैसला बदर हुनुपर्छ भन्ने पुनरावेदन जिकिर पुग्न सक्तैन ।

१९. पुनरावेदक उपर लगाइएको आरोपको हकमा विचार गर्दा निज प्रतिवादी बैद्यनाथ मण्डल धानुकले २०२८ सालको नेपाली शिक्षा परिषद्‌ प्रवेशिका परीक्षामा सम्मिलित भई परीक्षा उत्तिर्ण गरेको भनेको परीक्षाको परीक्षाफलमा निजको नाम समेत गोरखापत्रमा प्रकाशितै भएको छैन भन्ने वादी पक्षले जिकिर लिँदै आएको देखिन्छ । सो बमोजिम प्रकाशित भएको हो, थियो भनी निजले प्रमाणित गर्न सकेको पनि पाइँदैन । साथै निजले उक्त परीक्षामा उत्तिर्ण भई लब्धाङ्कपत्र कसरी कहाँबाट प्राप्त गरेका हुन् सो को कुनै प्रमाण दिन सक्नु भएको पनि छैन ।

२०.   यस्तो अवस्थामा निज प्रतिवादी बैद्यनाथ मण्डल धानुकले पेश गरेको प्रवेशिका परीक्षाको लब्धाङ्क प्रमाणपत्र सद्दे सक्कली रहेछ भनी मान्न मिलेन । तसर्थ नक्कली प्रमाणपत्र पेश गरी निजले सगरमाथा धान चामल निर्यात कम्पनी लिमिटेडमा उपसहायक पदमा काम गरी भ्र.नि.ऐन, २०१७ को परिच्छेद २ को दफा १२ बमोजिमको अपराध गरेको ठहर्‍याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा उक्त इन्साफ मनासिब ठहर्छ । सजायँको हकमा निजलाई उक्त दफा बमोजिम कैद वर्ष २ गर्ने गरेको सजायँ कसूर अनुसार चर्को भएको देखिँदा निजलाई तजविजी सजायँ रु.१००।– (रु.एकसय) मात्र जरिवाना हुन्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी बैद्यनाथ मण्डल धानुकलाई रु.एकसय मात्र जरिवाना लागेको र पू.क्षे.अ.को फैसलाले गर्ने गरेको कैद वर्ष २ को सजायँ नलाग्ने हुँदा उक्त कैद वर्ष २ को ज्येथा जमानी बापत निज बैद्यनाथले दिएको जि.सप्तरी भगवतपुर गा.पं.वा.नं. ७ बस्ने जयनारायण मण्डलको नामको जि.क.टोपकुमारी ऐ.नं. ५३५ भगवतपुर गा.पं.वा.नं. ५ कि.नं. २४ को ०१४१८ र रै.नं. ४३ नं. वा.नं. ७(क) कि.नं. ३२ को ०१५४ समेतको ज.वि.११०२ जग्गाहरू जि.का.सप्तरीको च.नं. २८४ मिति ०३४।८।२० को पत्रबाट रोक्का रहेको देखिएकोले निजलाई लागेको उक्त जरिवाना रु.एकसय बुझाएपछि मात्र उक्त जग्गाहरू फुकुवा गरी दिन सम्बन्धित कार्यालयमा लेखी पठाउन सप्तरी जि.अ.मा लेखी पठाउनु भनी का.जि.अ.त.मा लगत दिनू...........१

मिसिल नियम बमोजिम बुझाइदिनू........२

 

उक्त रायमा म सहमत छु ।

न्या.पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४३ साल बैशाख २४ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु