निर्णय नं. २६१० - फैसला बदर

निर्णय नं. २६१० ने.का.प. २०४३ अङ्क १
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४० सालको दे.पु.नं. ५९८
फैसला भएको मिति : २०४२।९।२९।२ मा
पुनरावेदक/वादी : जि. सर्लाही गा.पं.वडा नं.२ बस्ने राम उज्जैन राय
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने अवध विहारी राय यादवसमेत
मुद्दा : फैसला बदर
(१) वादी दावीको कुरा मध्ये केहीको हकमा मात्र फैसला गर्ने र केहीको हकमा नगर्ने गरी गरेको फैसलालाई अ.बं. १९२ नं.ले मान्यता दिन नमिल्ने ।
(प्रकरण नं. १५)
पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्मा
विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह
फैसला
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् ।
२. उपनयनदेवी यादवनीले २०११।१२।२१ गते मलाई धर्मपुत्र पास गरी दिनु भएको सो बदर गरिपाउँ भनी प्र.मध्येको दर्वीले चलाउन भएको धर्मपुत्र लिखत बदर मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०२३।१।१५ गतेका फैसलाबाट समेत धर्मपुत्र कायम भएको धर्मआमा उज्जैनदेवीले प्र.अवध, रामनारायण, रामसोगारथ, तिर्थलाल समेतको बाबु भुपनारायण प्र.दर्वीले लोग्ने ह्दयनारायण, मेरो बाबु सत्यनारायण समेत ३ जनाको उपर दायर गर्नुभएको अंश मुद्दा अन्तिम हुँदै धर्मआमा उज्जैनदेवी परलोक हुनु भई मैले मुद्दा सकार गरेकोमा जग्गा विगहा ९–१०–१२ अंश लाग्ने ठहराई ०२३।१।१५।४ मा सर्वोच्च अदालतबाट भएको फैसला अनुसार तथा वहाँको मैले व्यहोरेको र सो जग्गा मेरा नाउँमा दर्ता समेत भइसकेको छ । ०११।१२।२१ गते उज्जैनदेवीले धर्मपुत्र पास गरी दिनु लिनु भए पश्चात नम्बरी ऐलानी समेतका जग्गा मैले आर्जन गरी भोगी आएको समेतको तायदाती फाँटवारी प्र.अवध विहारी, रामनारायण, रामसोगारथ, तिर्थलाल समेतले मेरो निम्न जग्गा समेत तायदातीमा पारी दिनु भई सो जग्गाहरू समेत १।१ खण्ड प्रतिवादीहरूले पाउने ठहराई ०३२।३।१२ गते म.क्षे.अ.बाट फैसला भएको कुरा २०३३।३।२१ गते थाहा पाएको फिराद गर्न आएको छु, निम्न लेखिएको जग्गा ०–९–१६–३ को मोल रु.६,०००। पर्ने नम्बरी र घर घडेरी जग्गा प्रतिवादीले लिन नपाउने गरी मेरो हक पुग्ने जग्गासम्मको फैसला बदर गरी सो जग्गा पूर्ववत मेरो हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र ।
३. वादी राम उज्जैन मेरो छोरा भए पनि उपनयन देवीको धर्मपुत्र भएको देखि आफ्नो कारोवार आफैं गरी आएकोले के कति जग्गा आर्जन गरियो मलाई थाहा नभएको र वादीको आर्जनको जग्गाको तायदाती फाँटवारी मैले दिएको नभई प्र.अवध विहारीले दिनु भएकोले भन्ने फिरादबाटै देखिएको छ । वादी राम उज्जैनको आर्जनको जग्गाको अवध विहारीहरूले दिएको तायदाती फाँटवारी बमोजिम ३ खण्डको १ खण्ड मैले पाउने ठहराई म.क्षे.अ.बाट फैसला भएको हुँदा अबध विहारी रामनारायण, रामसोगारथ, तिर्थलाल समेतले १ खण्ड र दर्वीले १ खण्ड अंश पाउने भएकोले प्र. अवध विहारी, प्र. रामनारायण, प्र. राम सोगारथ, प्र. तिर्थलालले र दर्वी यादवनीले समेत सो जग्गाबाट अंश पाउँदैनन् भन्ने मैले पनि नपाएमा मलाई चित्त बुझ्ने निजहरूले अंश पाउने भयो भने मेरो पनि चित्त नबुझ्ने हुनाले मैले पनि अंश पाउने गरिपाउँ भन्ने समेत व्यहोराको सत्यनारायणको प्रतिउत्तरपत्र ।
४. अरु प्रतिवादीहरूले प्रतिउत्तरै नदिई म्यादै गुजारी बसेको ।
५. वादीको जग्गा तायदातीमा परेको भए बाबुले छोरालाई भनेन होला र वादीले मौकैमा थाहा पाएनन् होला भन्ने कुरा पत्यार लायकको नदेखिने र वादी दावीले ०३३।३।२१ मा मात्र थाहा भएका भए समर्थनको लागि उक्त अंश मुद्दाबाट कुनै फैसला आदि प्रमाण समेत सारी लिएको हुनुपर्ने सो गरे भएको समेत केही कतैबाट देखिन नआएकोले यत्तिकै आधारले बिना सबूद प्रमाण बेगर फैसला बदर हुनुपर्ने रहेछ भन्नलाई कानुन प्रतिकूल पर्न जाने हुँदा फैसला बदर गरी पाउने कुरामा वादीको दावी पुग्न नसक्ने झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत शुरु जिल्ला अदालतको फैसला ।
६. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादी राम उज्जैन, राम यादवको जनकपुर अञ्चल अदालतमा परेको पुनरावेदनपत्र रहेछ ।
७. खूद आफ्नो बाबुले दिएको अंश मुद्दामा बाबुले विपक्षीहरूले दिएको तायदाती आफ्नो छोराको हकको जग्गा परेको कुरा यी वादीका बाबुले वादीलाई मौकामा थाहा दिएन होलान यी वादीले ०३३।३।२१ मा मात्र थाहा पाएको भन्ने प्रमाण बेगर नमिल्ने हुँदा शुरु जिल्ला अदालतले वादी दावी झुठ्ठा ठहराएको फैसला मनासिब ठहर्छ भन्ने समेत जनकपुर अञ्चल अदालतको फैसला ।
८. जनकपुर अञ्चल अदालतको फैसला कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक वादी राम उज्जैन राय यादवको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको निवेदनमा “वादीले थाहा पाएको मितिबाट फिराद गर्न आएको भनी लेखेको र प्रतिवादीले मौकैमा थाहा पाएको भन्ने जिकिर लिएकोमा त्यसको प्रमाण पुर्याउने भार प्रमाण ऐन, २०३१ को दफा ३ र ३१ अनुसार प्रतिवादी उपर नै निहित रहने र वादीले मौकैमा थाहा पाएको प्रमाणबाट पुष्टि नभएसम्म अनुमानबाट थाहा पाएको भन्ने प्रमाण ऐन, २०३१ को र अ.बं १८४ (क) नं.को ऐन अनुसार नमिल्ने र सर्वोच्च अदालतका अन्तिम फैसला र दर्ता समेतबाट वादीको हक पुग्ने सम्पत्ति देखिन आएको समेतबाट वादी दावी नपुग्ने ठहराएको जनकपुर अञ्चल अदालतको फैसला प्रत्यक्षतः कानुनी त्रुटिपूर्ण हुनाले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) अनुसार प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको ०३८।७।२८ को आदेश ।
९. पुनरावेदक वादी राम उज्जैनको फिराद दावी मध्येको वर्तौल गा.पं.वार्ड नं ४(क) को कि.नं.५६ को जग्गा विगहा ०–२–१४ प्रत्यर्थी मध्येको सत्यनारायणको नाउँमा दर्ता भएकोमा फिरादी आफ्नो फिरादपत्रमा सावित रहेको र सो दर्ता उपर उजूर गरी बदर गराउन सकेको नदेखिँदा सो बाहेक अवध विहारी राय यादवले ०३२।४।११।१ मा पेश गरेको तायदातीमा उल्लेख भएको क्र.सं.२ को ०–०–६ जग्गा र सोमा बनेको घर क्र.सं.३ को ०–०–५ जग्गा क्रम संख्या ६ को ०–०–७ जग्गा र सो मा भएको फुसको घर क्रम संख्याको ७ को ०–०–१४ जग्गा र वर्तौल गा.पं.वार्ड नं.४(क) को कि.नं.७४ को ०–३–३ कि.नं. १३३ को ०–०–८ र कि.नं. १६७ को ०–०—१५ समेतको जग्गाहरू पुनरावेदक वादी राम उज्जैनले धर्मपुत्रको लिखत समेतका आधारमा उपनेत देवीबाट आर्जन हुन आएको निज पुनरावेदकको निजी सम्पत्ति भएबाट निजको हकको देखिँदा पुनरावेदकको हकको सम्पत्ति समेत बण्डा लगाउने गरी गरेको म.क्षे.अ.को मिति ०३२।१२।३।३ को फैसला सो हदसम्म बदर भई पुनरावेदक राम उज्जैन राय यादवको हक कायम हुने ठहर्छ । सो बाहेक कि.नं.१५६ को हकमा दावी पुग्न सक्दैन ।
१०. वादी दावी पुग्न नसक्ने ठहराएको सर्लाही जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको जनकपुर अञ्चल अदालतको फैसला केही उल्टी हुन्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।३।२७।२ को फैसला ।
११. उक्त फैसलामा पुनरावेदनको अनुमति पाउँ भन्ने पुनरावेदक वादी राम उज्जैनको यस अदालतमा परेको निवेदनमा “निवेदकको जिकिर बमोजिम अवध विहारीले पेश गरेको तायदातीमा सत्यनारायणको भागमा रहेको भनेको महलको क्रमांक भन्नु पर्नेमा वादी दावी भन्दा भिन्नको विपक्षीहरूको जग्गा मेरो कायम हुने गरी ठहर हुन गएको भन्ने देखिएकोले वादी दावी भन्दा बाहिर गई इन्साफ गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा अ.बं.१८४(क) तथा १८५ नं. को त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने २०४०।१०।१८।४ को आदेश ।
१२. पुनरावेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्माले मेरो पक्षको जग्गा ०–२–१४ समेतको जग्गा मेरो पक्षको कायम हुने अंश मुद्दाको विपक्षहरूको फैसला बदर गरी कानुन बमोजिमको मेरो पक्षको कायम गराई हक न्याय पाउँ भन्ने र विपक्षी प्रतिवादी अवध विहारी राय यादव तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारी प्रसाद सिंहले म.क्षे.अ. ले गरेको फैसलामा कुनै कानुनी त्रुटि नहुँदा उक्त फैसला सदर हुन पर्छ भन्ने समेत दुवै विद्वान अधिवक्ताहरूको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट गरेको इन्साफ मनासिब या बेमनासिब के रहेछ निर्णय दिनु परेको छ ।
१३. यसमा अवध विहारी यादवले ०३२।४।११।१ मा पेश गरेको तायदातीमा उल्लेख भएको क्र.सं.२ को ०–०–६ जग्गा र सो बनेको घर क्र.सं. ३ को ०–०–५ जग्गा क्रमसंख्या ६ को ०–०–७ जग्गा सो मा भएको फुसको घर, क्रमसंख्या ७ को ०–०–१४ ले जग्गा र वर्तौला गा.पं.वार्ड नं. ४(क) को कि.नं.७४ को ०–३–३ कि.नं. १३३ को ०–०–८ र कि.नं. १६७ को ०–०–१५ समेतको जग्गाहरू पुनरावेदक वादी राम उज्जैनले धर्मपुत्रको लिखत समेतको आधारमा उपनेत देवीबाट आर्जन हुन आएको निज पुनरावेदकको निजी सम्पत्ति भएबाट निजको हकको देखिँदा पुनरावेदकको हकको सम्पत्ति समेत बण्डा लगाउने गरी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३२।१२।३।३ को फैसला सो हदसम्म बदर भई पुनरावेदक राम उज्जैन राय यादवको हक कायम हुने ठहर्छ । सो बाहेक कि.नं.१५६ को हकमा दावी पुग्न सक्तैन । वादी दावी पुग्न नसक्ने ठहराएको सर्लाही जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको जनकपुर अञ्चल अदालतको फैसला केही उल्टी हुन्छ भन्नेसमेत मध्यमाञ्चल क्षे.अदालतबाट मिति २०४०।३।२७।२ मा फैसला गरेको पाइन्छ ।
१४. यस सन्दर्भमा वादीको फिरादपत्र हेर्दा प्रकरण ७ मा देहायमा लेखिएका जग्गाहरूलाई मेरो आर्जनको जग्गालाई तायदातीमा लेखी फैसला गराई लिएको भन्ने वादीको मुख्य जिकिर लिएको रहेछ ।
१. वार्ड नं.२ कि.नं.७४ को ०–३–३
२. वार्ड नं.२ कि.नं.१६७ को ०–०–१५ ऐ.ऐ.कि.नं. १३३ को ०–०–८
३. वार्ड नं. ४(क) को कि.नं.५६ को ०–२–१४
४. तायदातीमा लेखिएको नं.२८३ मा लेखिएको घर घडेरी जग्गा
५. तायदाती फाँटवारीको ६ नं.मा लेखिएको घर घडेरी जग्गा
६. तायदातीमा नं.७ मा लेखिएको घरघडेरी जग्गा सोही ऐ.७ मा लेखिएको फुदेनी बालाको जग्गा ।
७. तायदाती फाँटवारीमा राम औतारवाला भन्ने लेखिएको जग्गा
म.क्षेत्रीय अदालतको मिति २०४०।३।२७।२ को फैसला हेर्दा निम्न जग्गाहरूमा बोलेको देखिन्छ ।
(१) अवध विहारी राय यादवले ०३२।४।११।१ मा पेश गरेको तायदातीमा उल्लेख गरेको क्र.सं.२ को ०–०–६ को जग्गा सो मा बनेको घर ।
(२) क्र.सं. ३ को ०–०–५ को जग्गा ।
(३) क्र.सं.६ को ०–०–७ को जग्गा सो भएको फुसको घर ।
(४) क्र.सं.७ को ०–०–१४ जग्गा ।
(५) बर्तौल गा.पं.वार्ड नं. ४(क) को कि.नं.७४ को ०–३–३ जग्गा ।
(६) कि.नं.१३३ को ०–०–८ जग्गा ।
(७) कि.नं.१६७ को ०–०–१५ समेतको जग्गा ।
१५. माथि व्यक्त गरिएनुसार वादीले दावी गरेको जग्गाहरू मध्ये वर्तौल गा.पं.को कि.नं.१६७ को ०–०–१५ कि.नं.१३३ को ०–०–८ र कि.नं.७४ को ०–३–३ जग्गामा मात्र मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा बोलेको पाइन्छ । वादी दावीको कुरा मध्ये केहीको हकमा मात्र फैसला गर्ने र केहीको हकमा नगर्ने गरी गरेको फैसलालाई अ.बं. १९२ नं.ले मान्यता दिन मिल्दैन । उक्त कानुनी व्यवस्था अनुसार वादीले दावी गरेको सम्पूर्ण कित्ताको जग्गामा निर्णय गर्नुपर्नेमा ३ कित्ता जग्गाको हकमा मात्र बोलेको फैसला अधुरो हुन गएकोले मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला बदर गरी दिएको छ ।
१६. अब वादीले दावी गरेको सम्पूर्ण विषयमा पुनः ऐन नियम बमोजिम कारवाही निर्णय गर्नु भनी तारेखमा रहेका पक्षहरूलाई मध्यमाञ्चल क्षेत्रीय अदालतमा हाजिर हुन जानु भनी तारेख तोकी मिसिल मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४२ साल पौष २९ गते रोज २ शुभम् ।