शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६३६ - लिखत बदर

भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११

निर्णय नं. ३६३६     ने.का.प. २०४५                 अङ्क ११

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको दे.पु.नं. ७०९

फैसला भएको मिति : २०४५।९।२९ मा

 

पुनरावेदक/प्रतिवादी : भ.पु.न.पं.वा.नं.१३ बस्ने मोहनकुमारी विजुक्छे हाडासमेत

विरुद्ध

विपक्षी/वादी : भ.पु.न.पं.वा.नं.१३ बस्ने गणेशबहादुरको छोरा गजेन्द्रबहादुर विजुक्छे मरी म.सु.गर्ने निजको छोरा भूपेन्द्र हाडा

 

मुद्दा : लिखत बदर

 

(१)                बन्देजपत्र बमोजिम अंशियारले बराबरका दरले बाँडी खाने उल्लेख भएकोबाट आमा बाबु दुवैको मृत्यु उप्रान्त जो बाँकी रहन्छ त्यसमा मात्र वादीले आधि भाग पाउने देखिने, आमा जीवित रहेको अवस्थामा बाबु परलोक हुँदैमा उक्त सम्पत्तिमा वादीको आधा लाग्छ भन्न नमिल्ने ।

(प्रकरण नं. १४)

(२)               बाबु आमा दुवैजनाको शेषपछि मात्र सो बाँकी रहेको सम्पत्ति अंशियारहरुले बाँडी खान पाउने भई बाबुको भागमा परेको विवादका जग्गा आमाले बिक्री गरेकोमा आमा जीवित छँदै वादीको दावी लाग्ने भन्न नमिल्ने ।

(प्रकरण नं. १४)

 

पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी

विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री जयकान्तलाल दास

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य एवं जिकिर संक्षिप्तमा यसप्रकार छ :

२.    पिता डि.गणेशबहादुरको दुइटी पत्नीमा जेठी कृष्णकुमारी र कान्छी विपक्षी मोहनकुमारी हुन् । माता कृष्णकुमारी आफ्नै कालगतीले १९८२ सालमा परलोक भएपछि पिताजीले विपक्षी मोहनकुमारीसंग वैवाहिक सम्बन्ध कायम गर्नुभएको हो । माताको शेषपछि हामी अंशियारामा पिता डि.गणेशबहादुर विपक्षी मोहनकुमारी म फिरादी र विपक्षी गम्भीरबहादुर समेत मिति २०२१।७।२२ गतेका दिन घरसारमा ४ भाग अंश लगाई भिन्न भई ०२१।७।२७ गतेका दिन बण्डापत्र पारित गरेका हौं । बण्डापत्र बमोजिम पिता गणेशबहादुरको भागमा परेको भ.पु.जि.भ.पु.न.पं.वडा नं.४ बेखाल मूल ढोकाको पूर्व र उत्तर सडक बाटो, पश्चिम गल्ली, दक्षिण गुरुजुको बारी यति ४ किल्लाभित्रको रोपनी १०० को घर पाताल बारी बुद्धवीर सुवालले पाखरे भई कमाई आएकोमा पिताको शेषपछि पूर्वपट्टिको आधार गम्भीरबहादुर र पश्चिमपट्टिको आधा म फिरादीले भोगचलन  गरी आएको छु । साविक मोही बुद्धवीर परलोक भई निजका छोरा विष्णुभक्त सुवालले कमाई आएको छ । उल्लिखित पूर्वपट्टि गम्भीरबहादुरको पातालवारी मोहनकुमारी दिने र गम्भीरबहादुर अन्तरसाक्षी हुने भई २ जनाले भजगोविन्द र लक्ष्मण डकर्मीलाई दिएबाट विपक्षीहरुको हकभोग स्पष्ट गरेको छ । हाल विपक्षीहरु तीनजनाले उल्लिखित पश्चिमपट्टिको मेरो रोपनी ५० को पातालवारी मध्ये पूर्व र दक्षिण यसै मध्येको घर पातालवारी, पश्चिम गल्ली बाटो र उत्तर सडक बाटो यति ४ किल्लाभित्रको उ.द. १८४ फिट र पूर्व पश्चिम ३७ फिटको अं.रोपनी १ को घर पाताल भनी लेखाई रु.२४,९९९।मा दिने मोहनकुमारी र लिने काशीबहादुर अवाल तथा अन्तरसाक्षी गम्भीरबहादुरले ऋणीको एकाघरको छोरा भनी मिति २०३७।२।२२ गतेका दिन रजिष्ट्रेशन पारित गरी लिनुदिनु गर्न भएको रहेछ । सो कुरा मैले २०३८।२।२० गतेका दिन थाहा पाई नक्कल सारी व्यहोरा अवगत गरेको हुँ । मेरो हक भोग स्वामित्वको पातालवारी र घर चोक मध्ये मिति २०३७।२।२२ गतेका पारीत फार्छे लिखत बदर गरी पाउँ तथा मेरो चोकमा गारो पर्खाल लगाउन नदिई खिचोला मेटाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.    फिरादीको दावी तथा माग कुन ऐन अन्तर्गतको हो उल्लेख गर्नसकेको छैन । फिरादीको फिरादपत्र दर्ता नै गर्न नमिल्ने स्पष्ट छ । एकभन्दा बढी विषयको कुरामा एकभन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाएको हुँदा प्रस्तुत फिरादपत्रबाट कारवाही चलाउन नमिल्ने कानूनी तथ्य प्रष्ट   छ । शेषपछिको दानपत्र बकसपत्र आदि रजिष्ट्रेशन पास हुनुपर्ने र नभएमा कानूनी मान्यता नहुने भएकोले मिति २०२१।७।२२ गतेको बन्देजपत्र रजिष्ट्रेशन पास नभएकोले कानूनी मान्यता प्राप्त नरहेको प्रष्ट छ । मिति २०२१।७।११ गतेको घरसारको बण्डापत्रमा मोहनकुमारीका पतिदेव तथा गम्भीरबहादुरका पिताका भाग बण्डामा परेको र मोहनकुमारीको भागमा परेको श्रीसम्पत्ति आदि निज दुवैको शेषपछि बाँकी भएको फिरादी गजेन्द्रबहादुरले र गम्भीरबहादुरले बराबरमा बाँडी खाने प्रष्ट किटानी मिति २०२१।७।२२ गतेको बन्देजपत्रमा उल्लेख गरेको हुँदा डि.गणेशबहादुर परलोक भइसक्नु भए तापनि मोहनकुमारी जीवित छँदै सो बन्देजपत्र अनुसार फिरादी लगायतको हकदैया नलाग्ने प्रष्ट रहेको छ । फिरादीको फिरादपत्र नै लाग्न नसक्ने हुँदा फिरादपत्र नै खारेज गरी पाउँ भन्ने समेत व्यहोराको गम्भीरबहादुर विजुक्छे हाडा समेतको जवान तीनको प्रतिउत्तरपत्र ।

४.    लोग्ने मरी सकेपछि मोहनकुमारीले मृतक गणेशबहादुरको अंश भागको जग्गा बेचबिखन गर्ने अधिकार नभएको हुँदा दावी बमोजिम लिखत बदर हुने ठहर्छ । वादीले खिचोलातर्फ पनि काशीबहादुर समेत प्रतिवादी बनाइएको फिरादमा दावी लिएको अ.बं.७२नं.बमोजिम लाग्न सक्दैन भन्ने समेत व्यहोराको मिति २०३८।११।५ गतेको भक्तपुर जिल्ला अदालतको फैसला ।

५.    उपरोक्त फैसलामा चित्त बुझेन उक्त फैसला बदर गरी हक इन्साफ गरी वादी दावीबाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी गम्भीरबहादुर समेतको बागमती अञ्चल अदालतमा परेको संयुक्त पुनरावेदनपत्र ।

६.    आफ्नो हक अधिकारप्राप्त भएको सम्पत्ति बिक्री गर्न पाउने नै हुँदा लिखत बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्तैन, शुरु अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०३९।८।२४ गतेको बागमती अञ्चल अदालतको फैसला ।

७.    उपरोक्त फैसलामा चित्त बुझेन बागमती अञ्चल अदालतको फैसला कानूनी त्रुटिपूर्ण छ पुनरावदेन गर्न पाउने गरी अनुमति पाउँ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको वादीको निवेदनपत्र ।

८.    सम्बन्धित जग्गामा वादीको हकै पुग्न नसक्ने भन्ने अवस्था नहुँदा वादी दावी नपुग्ने गरी बागमती  अञ्चल अदालतले गरेको फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) को अवस्था विद्यमान हुँदा अनुमति प्रदान गरिएको छ, भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको मिति २०४१।१।१७ गतेको आदेश ।

९.    यसमा मिति २०२१।२।२७ मा रजिष्ट्रेशन पारीत भएको बण्डापत्रमा बाबु डि.गणेशबहादुर निजकी कान्छी श्रीमती प्रतिवादी मोहनकुमारी र छोराहरु वादी गजेन्द्रबहादुर तथा प्रतिवादी गम्भीरबहादुर बीच ४ बण्डा भएको देखिन्छ । उक्त बण्डापत्रमा गणेशबहादुरको भागमा परेको घर जग्गा हाल विवादास्पद लिखतको जग्गा होइन भन्ने प्रतिवाद जिकिर नभएबाट त्यसतर्फ विचार गर्न परेन । गणेशबहादुरको शेषपछि निजको हक कस्ले पाउने भन्ने प्रश्नतर्फ हेर्दा मिति २०२१।७।२२ गतेको घरसारको बन्देजपत्र हेर्दा अंशबण्डा बमोजिम आफ्ना नाममा दर्ता फोरी लिने दिने र भविष्यमा ४ अंशमा अंशियार गणेशबहादुरको र मोहनकुमारीको भागमा परेको श्रीसम्पत्ति आदि निज दुवैको शेषपछि बाँकी भएका अंशियार गजेन्द्रबहादुर र गम्भीरबहादुर जना दुइले बराबरका दरले बाँडी खाने भन्ने उल्लेख रहेछ । उक्त लिखतको वैधतातर्फ हेर्दा बन्देजपत्र एक किसिमको शर्तनामा जस्तो रहेछ, जस्तो प्रकरण नं. १ को माथि उल्लिखित शर्तनामामा चारै अंशियारको सहिछाप भएको र हामीले स्वेच्छाले गरेको होइन, भन्ने इन्कारी नहुँदा वादी प्रतिवादीहरुलाई बाध्य तुल्याउँछ । त्यस्तो शर्तनामा रजिष्ट्रेशन पारीत हुन पर्ने कानूनी बाध्यता समेत रजिष्ट्रेशनको १ नं.ले गरेको देखिँदैन । यसको अलावा चारैजना अंशियार बेगल भएपछि अपुतालीको ६ नं. अनुसार मिसाएको पनि देखिँदैन । अंश मिसाउनलाई रजिष्ट्रेशन पारीत हुनुपर्छ भन्ने बाध्यता हुन्छ । सो बमोजिम नभएबाट र बन्देजपत्रको शर्तले बाबुको भागको अंश बाबुको शेषपछि छोराहरुले पाउने देखिन्छ । दुवैको शेषपछि भन्ने बन्देजपत्रको बोलीलाई गणेशबहादुरको शेषपछि निजको अंश श्रीमती मोहनकुमारीमा सर्ने भन्ने व्याख्या असंगत हुन्छ । बाबु आमा दुवैको सम्पत्ति बारे बेग्ला बेग्लै सम्पत्ति हस्तान्तरण हुने व्याख्याहरु तर्कसंगत हुने हुँदा डि.गणेशबहादुरको अंश भागमा परेको जग्गा छोराहरुमा हक सर्नेमा मोहनकुमारीले बिक्री गरेको कानूनसंगत नहुँदा बदर हुने ठहाएको भुक्तपुर जिल्ला अदालतको इन्साफ सदर हुने भई बागमती अञ्चल अदालतको इन्साफ मनासिब नदेखिँदा बदर हुन्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको मिति २०४२।११।२६ गतेको फैसला ।

१०.    मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।११।२६ गतेको फैसलामा स्पष्टतः सार्वजनिक महत्वको कानूनी त्रुटि भई इन्साफमा तलमाथि परी अन्याय पर्न गएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेतको मोहनकुमारी विजुक्छे समेतको यस सर्वोच्च अदालतमा पर्न आएको निवेदनपत्र ।

११.    यसमा रजिष्ट्रेशनको १ नं.ले पारीत हुनुपर्नेमा पारीत नभएको कागतलाई आधार लिएको रजिष्ट्रेशनको ६ नं. को विपरीत हुँदा लिखत बदर हुने ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण देखिएकोले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४३।२।१४ गतेको आदेश ।

१२.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले जुन बन्देजपत्रको आधारमा दावी लिएको हो सो बन्देजपत्रमा शेषपछि यसो गरी खानु भन्ने व्यवस्था गरेकोले शेषपछिको बकसपत्र हुँदा पास हुनु पर्नेमा पास नभएकोले कानून बमोजिम मान्यता  प्राप्त गर्न सक्दैन । यदि सो बन्देजपत्रले मान्यता पाइने नै भए पनि सो कागतमा बाबु आमा दुवैको शेषपछि बाँकी भएको बाँडी खाने भन्ने भएकोले बाबु गणेशबहादुर मरेपछि निजको भाग आमा मोहनकुमारीको हक हुने हुँदा बिक्री गरेको बदर हुन नपर्ने भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी वादीकातर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री जयकान्त लालदाशले मिति २०२१।७।२२ गतेको बन्देजपत्र बाबुको शेषपछि सम्पत्ति बाँडी खाने भन्ने घरसारमा गरिएको शर्त हो । तसर्थ त्यसलाई रजिष्ट्रेशन गराई रहनु आवश्यक छैन । बाबुको मृत्यु पछि सो सम्पत्ति गजेन्द्रबहादुरको समेत हक लाग्ने हुँदा आमा मोहनकुमारीले बिक्री गरेको बदर हुनुपर्दछ भन्ने समेतको बहस गर्नु    भयो ।

१३.    प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन सो विषयमा निर्णय दिनुपरेको छ ।

१४.    यसमा निर्णयतर्फ हेर्दा पिता डि.गणेशबहादुर, विपक्षी मोहनकुमारी, विपक्षी गम्भीरबहादुर र म फिरादी बीच मिति २०२१।७।२२ मा घरसारमा अंशबण्डा भई ऐ.२७ गते बण्डापत्र पारीत भएअनुसार पिता गणेशबहादुरको भागमा परेको भ.पु. जि.भ.पु.न.पं.वडा नं.४ बेखाल मूल ढोकाको पूर्व र उत्तर सडक बाटो पश्चिम गल्ली र गुरुजुकै बारी यति ४ किल्लाभित्रको रोपनी १०० को घर पाताल बारी पिताको शेषपछि पूर्वपट्टीको आधा गम्भीरबहादुर र पश्चिमपट्टिको आधा म फिरादीले भोगचलन गरी आएकोमा हाल विपक्षीहरुले उल्लिखित पश्चिमपट्टीको मेरो रोपनी ५० को पाताल बारी मध्ये पूर्व र दक्षिण यसै मध्येको घर पाताल बारी पश्चिम गल्ली बाटो र उत्तर सडक बाटो यति ४ किल्लाभित्रको उत्तर दक्षिण १४८ फिट र पूर्व पश्चिम ३७ फिटको अन्दाजी एक रोपनीको घर पाताल भनी लेखी दिने मोहनकुमारी र लिने काशीबहादुर अवालले र अन्तरसाक्षी गम्भीरबहादुर भई रजिष्ट्रेशन पारीत गरी लिनु दिनु गरेकोले सो लिखत बदर गरिपाउँ भन्ने वादी दावी भएकोमा पिता गणेशबहादुर र माता मोहनकुमारीको भागमा परेको श्रीसम्पत्ति निजहरु दुवैको शेषपछि बाँकी रहेको गजेन्द्रबहादुर र गम्भीरबहादुरले बराबर बाँडी खाने भनी मिति २०२१।७।२२ गतेको बन्देजपत्रमा उल्लेख भएको हुँदा पिता गणेशबहादुर परलोक भए पनि माता मोहनकुमारी जीवितै छँदै सो बन्देजपत्र अनुसार फिरादवालाको हकदैया लाग्दैन भन्ने प्रतिवादीहरुको जिकिर रहेको पाइन्छ । प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी मोहनकुमारी निजको छोरा गम्भीरबहादुर हाडा र निजको लोग्ने स्व.डि.गणेशबहादुर तथा विपक्षी वादी गजेन्द्रबहादुर गरी जम्मा ४ जना अंशियारहरु बीच मिति २०२१।७।२२।७ मा अंशबण्डा भएको देखिन्छ । सो अंशबण्डा भएपछि यिनै अंशियारहरु बीच सोही मितिमा एक बन्देजपत्र गरी त्यसमा ४ अंशमा अंशियार गणेशबहादुरको र मोहनकुमारीको भागमा परेको श्रीसम्पत्ति आदि निज दुवैको शेषपछि बाँकी भएको, अंशियार गजेन्द्रबहादुरले र गम्भीरबहादुर दुईजनाले बराबरका दरले बाँडी खाने भन्ने शर्त रहेको देखिन्छ । सो बन्देजपत्रलाई वादी प्रतिवादी दुवैले इन्कार गर्न नसकेकोले त्यसलाई कानून बमोजिम सद्दे लिखत नै मान्नु पर्‍यो । उक्त मिति २०२१।७।२२ गतेको बन्देजपत्रलाई फिराद दावी बमोजिम मान्यता दिएका अवस्थामा सो बन्देजपत्रमा आमा र बाबु दुवैको शेषपछि बाँकी भएको, अंशियार गजेन्द्रबहादुर र गम्भीरबहादुर दुईजनाले बराबरका दरले बाँडी खाने उल्लेख भएकोबाट आमा बाबु दुवैको मृत्यु उप्रान्त जो बाँकी रहन्छ त्यसमा मात्र वादीले आधि भाग पाउने देखिन्छ । आमा जीवित रहेको अवस्थामा बाबु परलोक हुँदैमा उक्त सम्पत्तिमा वादीको आधा लाग्छ भन्न     मिलेन । बाबु आमा दुवैजनाको शेषपछि मात्र सो बाँकी रहेको सम्पत्ति अंशियारहरुले बाँडी खान पाउने भई बाबुको भागमा परेको विवादका जग्गा आमाले बिक्री गरेकोमा आमा जीवित छँदै वादीको दावी लाग्ने भन्न  नमिल्ने हुँदा वादी दावी बमोजिम लिखत बदर हुने ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । वादी दावी पुग्न नसक्ने ठहर्‍याएको बागमती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफमा लेखिएबमोजिम ठहरेकोले मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।११।२६ गतेको फैसलाले बागमती अञ्चल अदालतको मिति २०३९।८।२४ गतेको फैसलाले राख्ने गरेको लगत कट्टा गरी दिने र शुरु भ.पु.जि.अ.को मिति २०३८।११।५ को फैसलाले राख्ने गरेको लगत कायम गर्नु मिति २०४२।१२।१९ गतेमा भ.पु.जि.अ.मा लेखी पठाएको मिसिलबाट देखिँदा सो बमोजिम गर्न परेन । बागमती अञ्चल अदालतले गरेको फैसला बमोजिमको लगत कायम राखी दिनु भनी भ.पु.जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु.१

मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।११।२६ गतेको फैसलाले वादीले पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१।५० प्रतिवादीहरुबाट भराई दिने गरेकोमा म.क्षे.अ.को इन्साफ उल्टी भएकोले सो कोर्टफी भरी भराउन गर्न परेन सो लगत कट्टा गरी दिनु भनी भ.पु.जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...२

बा.अं.अ.उपर वादीले पुनरावेदन गर्दा कोर्टफी रु.१।५० म.क्षे.अ.मा धरौट राखेको सो कोर्टफी म.क्षे.अ.को मिति २०४२।११।२६ गतेको फैसलाले वादीलाई फिर्ता दिने गरेकोमा सो कोर्टफी फिर्ता गर्न पर्दैन । म.क्षे.अ.को फैसला बमोजिमको लगत काटी दिनु भनी भ.पु.जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु....३

माथि इन्साफ खण्डमा लेखिएबमोजिम बागमती अञ्चल अदालतको इन्साफ सदर भएकोले बा.अं.अ.उपर वादीले पुनरावेदन गर्दा म.क्षे.अ.मार्फत का.जि.अ.मा मिति २०४१।१।२९ मा धरौट राखेको कोर्टफी रु.१।५० भराई पाउँ भनी प्रतिवादीको ऐनका म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई उक्त धरौटी रहेकोबाट प्रतिवादीलाई भराई दिनु र बा.अं.अ.को ०३९।८।२४ को फैसलाले वादीबाट भराउने गरेको लगत कट्टा गरी दिनु भनी भ.पु.जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु....४

देहायका प्रतिवादीहरुको मध्यमाञ्चल क्षेत्रीय अदालतउपर अनुमतिद्वारा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१।५० वादीबाट भराई पाउँ भनी ऐनका म्याद भित्र प्रतिवादीहरुको दर्खास्त परेमा दस्तुर केही नलिई वादीबाट प्रतिवादीहरुलाई बराबरका दरले भराई दिनु भनी का.जि.अ.मा लगत दिनु...५

मोहनकुमारी विजुक्छे हाडा १, गम्भीरबहादुर विजुक्छे हाडा १, काशीबहादुर अवाले १ मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।११।२६ गतेको फैसलाले वादीलाई देहायका प्रतिवादीहरुबाट भराउने गरेको कोर्टफी रु.१।५० प्रतिवादीहरुले अनुमतिद्वारा यस अदालतमा पुनरावेदन गर्दा यस अदालत मार्फत का.ज.अ मा मिति २०४३।३।११ मा धरौट राखेको देखिँदा सोधरौटी फिर्ता पाउँ भनी देहायका प्रतिवादीहरुको ऐनका म्याद भित्र दर्खास्त परे दस्तूर केही नलिई प्रतिवादीहरुलाई फिर्ता दिनु भनी का.जि.अ.मा लगत दिनु...६

मोहनकुमारी विजुक्छे हाडा १, गम्भीरबहादुर विजुक्छे हाडा १, काशीबहादुर अवाले १ इन्साफ उलटीमा बागमती अञ्चल अदालतका तत्कालीन अं.न्या.श्री नरेन्द्रबहादुर न्यौपानेको म.क्षे.अ.को फैसलाले रेकर्ड राख्ने गरेको सो रेकर्ड राख्न पर्दैन भनी म.क्षे.अ.मा लेखी पठाई दिनु....७

इन्साफ उल्टीमा मध्यमाञ्चल क्षेत्रीय अदालतका मा.न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ, मा.न्यायाधीश  श्री हरिप्रसाद शर्माको रेकर्ड राख्न स.अ.प्रशासन शाखामा लेखी पठाउनु....८

मिसिल नियम बमोजिम गरी बुझाई दिनु......९

 

उक्त रायमा म सहमत छु ।

न्या.हिरण्येश्वरमान प्रधान

 

इति सम्वत् २०४५ साल पौष २९ गते रोज शभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु