शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६३८ - कर्तव्य ज्यान

भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११

निर्णय नं. ३६३८     ने.का.प. २०४५                 अङ्क ११

 

संयुक्त इजलास

सम्मानीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०४४ सालको फौ.पु.नं. ५८३

सम्वत् २०४५ सालको फौ.पु.नं. ६५१

फैसला भएको मिति : २०४५।९।२३।६ मा

 

पुनरावेदक/वादी : प्र.ह.उद्धवबहादुर गुरुङको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जिल्ला कैलाली नारायणपुर गा.पं.वा.नं.८ सतिबजार बस्ने डवलबहादुर रावलसमेत

 

पुनरावेदक/प्रतिवादी : कैलाली कारागारमा बन्दी डबलबहादुर रावल

विरुद्ध

विपक्षी/वादी : प्र.ह.उद्धवबहादुरको जाहेरीले श्री ५ को सरकार

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)                वारदात नै भए गरेको भन्ने शंकारहित तवरबाट प्रमाणित हुन नसकेको स्थितिमा केवल शंकाको भरमा अपराधी ठहर गर्न न्यायको दृष्टिमा मिल्ने नदेखिने ।

(प्रकरण नं. ४१)

(२)               पुनरावेदन नपरे पनि अ.बं.२०५ नं. ले इन्साफ सजायतर्फ हेर्न मिल्ने ।

(प्रकरण नं. ४१)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिंह बोगटी

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसाल

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भन्ने दुवैपक्षको पुनरावेदनपत्र परी पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :

२.    एकजना भारतीय मानिसलाई डबलबहादुर रावल, दुर्गाप्रसाद भण्डारी समेतका मानिसहरुले मिति २०४१।३।३ गतेका राती अं.२ बजेको समयमा कुटपिट गरी मर्ने अवस्थामा पारी दवाई गर्ने बहानाले अम्बरबहादुरको लडियामा राखी लगेको अवस्थामा मृत्यु भई कर्णाली नदीमा फालेको भन्ने कुरा बुझिएकाले डवलबहादुर रावल, अम्बरे सुनार, दुर्गाप्रसाद भण्डारीलाई आवश्यक कारवाहीका लागि यसैसाथ पठाएको छ भन्ने समेत प्र.ह.उद्धवबहादुरको प्रतिवेदन ।

३.    मिति २०४१।३।३ गतेको राती मेरो घरको कुनामा लुकी रहेको अपरिचित भारती भाषामा बोल्ने धोति लगाएको मानिस बजारतर्फ भाग्न लागेको देखी निजलाई लखेटी पक्राउ गर्दा निजले आफ्नो ठेगाना बताएन त्यसै समय अनन्ते भण्डारी, रामबहादुर रावल, चक्रे राबोल, शमशेर भन्ने होटलवाला गगसिं रावल समेत भई केरकार गरी सबैले कुटपिट गरेका हौं सजि चौकीतर्फ लैजाँदा कुटपिट गरेकोे व्यक्तिलाई हामी बुझ्दैनौं भनी प्रहरीले नबुझी राजपुरतर्फ औषधि गर्न लाँदा अम्मरे सुनारको लडीयामा राखी लैजाँदा कर्णाली नदीको तिरमा निजको मृत्यु भयो गगंसिं समेतको मद्दतबाट लाशलाई बालुवामा गाडेका हौं पहिले मृतकलाई समाउँदा पिट्नेमा चाउरे बाहुन, मनी सुनार, टेकबहादुर रावल, राम  बहादुर रावल, चक्ररावलहरुले हात मुक्का लठ्ठीले कुटेका हुन् कस्को चोटबाट मृत्यु भयो भन्न सक्दैन लाशलाई बालुवामा गगंसिं समेतको मद्दतबाट गाडेका हौं लाश बगाएको छैन लाश के भो म थाहा पाउन्न भन्ने समेत प्रतिवादी डवलबहादुर रावलको अधिकारप्राप्त अधिकारी समक्ष गरेको  बयान ।

४.    मिति २०४१।३।३ गते राती बजारमा चोर छोप्यो भन्ने हल्ला सुनी जाँदा गगंसिं, डवलबहादुर, रामबहादुर, चक्रबहादुर, अनन्ते भण्डारी र अन्य मानिस समेत पनि थिए । निजलाई कुटी चौकीमा लैजाँदा प्रहरीले किन कुटेको उपचारको व्यवस्था गर भनेपछि डवलबहादुर समेतले मृतकलाई उपचार गरे नगरेको मलाई थाहा भएन भन्ने समेत प्रतिवादी दुर्गाप्रसाद भण्डारीले प्रहरीमा गरेको बयान कागज ।

५.    मिति २०४१।३।३ गतेको राती म आफ्नो घरमा नै थिएँ चोर चोर भन्ने हल्ला भएपछि म पनि सो ठाउँमा जाँदा मृतकलाई डबलबहादुर समेतका अन्य मानिसले पक्री बाँधी घरमा राखेको अवस्था देखेको हुँ र डबलबहादुर समेतले कुटपिट समेत गरेको हो । भोलिपल्ट मुतकलाई उपचार गर्न लानु पर्छ भनी मसंग लडीया मागी मेरो लडीयामा लगी राजापुरतर्फ लैजाँदा कर्णालीको किनारामा पुगेपछि निजको मृत्यु भयो । डलबबहादुरले खोला पारी लगी फाली देउ भनेको हुँदा लाश लिई कर्णाली तार्न लाग्दा लडीया डुवी लाश पानीमा डुबेकोमा केही तलबाट डबलबहादुरले लाशलाई समाती पारी पाखामा लगाएपछि गगंसिं समेत भई जंगलतर्फ रोकी लगेको देखेको हुँ म तुरुन्त लडीया लिई वापस आएको हुँदा लाश गाडेको मैले देखिँन डबलबहादुर गगंसिंको डरले उजूर नगरेको हुँ भन्ने समेत अम्बरबहादुर सुनारको अधिकारप्राप्त अधिकारी समक्ष गरेको कागज ।

६.    मिति २०४१।३।३ गते राती चोर चोर भन्ने हल्ला सुनी हेर्दा रामबहादुर, डबले, चक्रे, अनन्ते समेतका मानिसले अपरिचित मानिसलाई कुटपिट गरिरहेको देखी मैले पनि ४५ थप्पड गालामा हातले हानेको हुँ भोलिपल्ट मृत्यु भयो भन्दा सुनेँ कस्को चोटले मर्‍यो खुलाउन सक्दिन भन्ने समेत शमशेर सिंह घलेले गरेको बयान कागज ।

७.    मिति २०४१।३।३ गतेमा अम्बरबहादुर सुनारले यो घटनाको कुरा सुनाउँदा मानिस मरेको भन्ने थाहा पाएँ उपचार गर्न लैजाँदा मरेको हुँदा घाटसम्म पुर्‍याई आएको हुँ भनी भनेका थिए को कस्ले पिटेर मृत्यु भएको हो सो थाहा छैन भन्ने समेत मानबहादुरले प्रहरीमा गरेको कागज ।

८.    मिति २०४१।३।३ गतेका राती डबलबहादुर समेतका मानिसले अपरिचित मानिसलाई मेरो पसलमा ल्याएको थिएँ मैले सो मानिस मेरो होइन भनेकोले फर्काई लगेका हुन् को को भई कुटपिट गरी मारेका हुन् थाहा छैन भन्ने समेत प्रेमचन्द जैनले प्रहरी समक्ष गरेको कागज ।

९.    कर्णालीको किनारामा डबलबहादुरले लाश गाडेको भनिएको स्थान वरिपरी समेत खनी हेर्दा लाश गाडेको र कतै माटो खोस्रिएको माडिएको नपाएको र लाश समेत फेला नपरेको लाश गाडेको जस्तो नदेखिएको भन्ने समेतको नरबहादुर मगरसमेतका मानिसले गरी दिएको लाश प्रकृति   मुचुल्का ।

१०.    गते बारको सम्झना भएन । ८९ दिन अगाडिको कुरा हो राती चोर चोर भन्दै तलबाट पिट्दै आएको थियो चोर पक्रियो भन्ने डबलबहादुर हुन् २०२५ व्यक्तिको हुल थियो होहल्ला कुटपिट गर्दै थिए भोलिपल्ट कुटपिट गरेको व्यक्तिको मृत्यु भयो भन्ने हल्ला सुन्यौं लाश कहाँ लगे के गरे थाहा भएन मृतक पनि को थियो थाहा छैन भन्ने समेत नन्दबहादुर कार्की समेतका सरजमीनका व्यक्तिहरुले बकी लेखी दिएको एकै मिलानको सरजमीन मुचुल्का ।

११.    मिति २०४२।३।३ गतेको राती चोर पिट, मार भन्दै पिट्दै ल्याइरहेको देखेको हो एउटा अपरिचित पूर्वीया देहाती भाषा बोल्ने व्यक्तिलाई डबलबहादुरले डंडाले अनन्तले, दाउराको चिरपटले, रामबहादुर र चक्रबहादुरले घुस्सा मुडकीले हान्दै लगेको देखें मैले नपिट मर्ला बरु प्रहरीमा बुझाउ भन्दा टेकबहादुरले बाँधेर कर्णालीमा फाल भने, निजको टाउकोमा चोट थियो भोलिपल्ट निज मरी हाल्यो । लाश कर्णालीतिर कता फाले भन्ने सुनियो, सो राती २०२५ जना थिए सबैलाई चिन्न सकेन भन्ने समेत चन्द्रप्रसाद ढकालले प्रहरीमा गरेको ठाडो कागज ।

१२.    मृतकलाई कुट्ने देखिएका रामबहादुर, चक्रबहादुर, डबलबहादुर, अनन्ते भण्डारी, गगंसिं रावललाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं.अनुसार र मृतकलाई राती हुलमा गई कुटपिट गर्ने शमशेरबहादुर घलेलाई ज्यानसम्बन्धीको ११ नं.बमोजिम मारौं भन्ने नियत नदेखिएकोले कुटपिटका १३ नं. ले सजायँ हुने र हुलहुज्जत गरी मृतकलाई मार्नमा मुख्य नभए पनि अरु मतलबी देखिएको च्याउरे भन्ने रामप्रसाद जैशीलाई र दुर्गा भण्डारीलाई ज्यानसम्बन्धीको १७(२) नं. र ऐ.२५ नं. अनुसार ठेकबहादुरले मारी फाली देउ भनेको हुँदा ऐ.को १३(४) अनुसार र धर्मसिं रावल र अम्बरबहादुर सुनारलाई ऐ.महलका २५ नं. अनुसार सजायँ गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।

१३.    चोरलाई कसले कुटी मारेको हो मलाई थाहा छैन निज डबलबहादुरको घरबाट भागी बजारमा फेला परेको भन्ने सुनेको हुँ थानेदारले चोरको टाउकोमा लागेको घाउ उपचार गरी ल्याउ भनेको सुनेको हुँ डबले, अन्तु, गगंसिं, रामबहादुर, शमशेर, चक्रबहादुर समेतका मानिस चोरका साथै थिए भन्ने समेत र चोर भनेकोमा नमरेको मलाई थाहा छैन भन्ने समेत दुर्गाप्रसाद भण्डारीले अदालतमा गरेको बयान ।

१४.    मिति २०४१।३।३ गतेको राती चोर भनी हल्ला भइरहेको थियो म त्यहाँ आएन भोलिपल्ट डबलबहादुर मेरो घरमा आई मेरो मानिस बिरामी छ राजापुर लैजानु पर्‍यो तिमी लडीया लिई आउ भन्दा मैले मानिन पछि निजले जबरजस्ती गरेकोले म लडीया लगी सति चौकी नजिक कुटाई खाने व्यक्ति राखेका थिए डबलबहादुर गगंसिं थिए कोही थिएन लडीया कर्णालीको किनारसम्म पुर्‍याई रोके । निज कुटिने मानिस लडीयाबाट उभियो दिशा पिसाव गर्न लाग्यो म फर्की सतिबजारमा नै आएँ । डबलबहादुर, गगंसिं त्यहीँ थिए । कुटाई खाने व्यक्ति मरेको छ, छैन थाहा छैन भन्ने समेत अम्बरबहादुर सुनारले अदालतमा गरेको बयान ।

१५.   मिति २०४१।३।३ गतेको राती मेरा घरको बाहिर कुनामा एकजना कालो मानिस लुकी राखेको देखी चोर चोर भनी कराई त्यसको पछि लागेँ निजलाई मैले र अरु कसैले पनि कुटपिट गरेको थिएनौं निज चोरलाई पक्री चौकीमा लैजाँदा त्यतिकै पछारियो र ठान्दारले के कति चोरेको छ भन्दा हामीले चोर्न पाएन भनेपछि ठानादारले औषधि गराएपछि छोडी दिनु पर्छ भनेकाले औषधि उपचार गर्न लडीयामा राखी राजापुरतर्फ लग्यौं कर्णाली नदी पारी पुगेपछि निजले हिंडेर जान सक्छ भन्दा मैले हात समाती नदी पारी तराएपछि दिशा गर्छु भनी गए । म पनि समात्न नदीतिर आएँ र कुल्ला गरेपछि माथि आउँदा चोर त्यहाँ नहुँदा खोजी गर्दा पनि भेटाएन कता गयो थाहा छैन लडीयावाला अम्वरे सुनार र गगंसिंलाई फिर्ता पठाएँ । मैले चोरलाई कुटपिट गरी मारेको छैन प्रहरीमा बयान गर्दा खुसीराजीले गरेको होइन कुटपिटको डरले बयान गरेको हुँ भन्ने समेत डवलबहादुर रावलले अदालतमा गरेको  बयान ।

१६.    मिति २०४१।३।३ गतेको राती चोर चोर भनी हल्ला गरेको सुन्दा बाहिर आई हेर्दा मानिस धेरै थिए डवल, रामु, चक्र, अन्तु समेतका मानिसहरु पिटिरहेका थिए मैले पनि उक्त चोरको गालामा ४५ पटक विस्तारै पिटेको थिएँ निज चोरलाई चौकीमा लग्दा आफैं हिंडेर गएको थियो । चौकीमा प्रहरीले डाक्टरी गराएर ल्याउ अनी मात्र बुझ्दछौं भन्दा भोली  पल्ट अम्बरबहादुरको लडीयामा राखी लगिरहेको थियो निज चोर सोही ४ गतेको दिन मर्‍यो भन्दा हल्ला सुनेको हुँ कहाँ के भई मर्‍यो मलाई थाहा छैन, भन्ने समेतको प्रतिवादी शमशेर सिं घलेले अदालतमा गरेको बयान ।

१७.   प्रतिवादी मध्येको अनन्त भण्डारीका नामको वारण्ट पुर्जी मिति २०४१।४।२५ मा निजका आमा इन्द्रादेवी भण्डारीले बुझेको म्यादमा निज प्रतिवादीले गुजारी बसेको ।

१८.    मिति २०४१।३।३ गतेको राती वारदात घटेको ठाउँमा नभई मिति २०४१।३।१ गतेमा नै बर्दिया वुगलीया बस्ने शेरबहादुर भण्डारीको घरमा गएको थिएँ, घटना घटेको ठाउँमा थिएन । डबलबहादुर मकहाँ ०४१ साल बैशाख महिनामा रक्सी उधारो मागदा मैले दिन मञ्जूर नगरी भनाबोली भएको थियो सोही रीसबाट मलाई झुठ्ठा पोल गरेका हुन् सो वारदातमा भएको कुरा मलाई थाहा छैन भन्ने समेत प्रतिवादी धर्मबहादुर रावलले अदालतमा गरेको बयान ।

१९.    मिति २०४१।३।३ गतेका दिन म बलियामा मानबहादुर चलाउनेको गोदाममा छु प्रतिवादी डबलको भैंसीले गत ज्येष्ठ महिनामा मेरो गहुँ बाली खाई नोक्सान गरेकोले सो नोक्सानी दिनु पर्छ भनी भन्दा सोही रीसइवीको कारणले गर्दा झुठ्ठा पोल उजूर गरेको हो प्रतिवादी मध्येको शमशेरबहादुरलाई मैले देखे चिनेको छैन निजले किन झुठ्ठा पोल उजूर गरे सो मलाई थाहा छैन, भन्ने समेत च्याउरे भन्ने रामप्रसाद जैशीको अदालतमा गरेको बयान ।

२०.   यसमा वारदात भएको दिनमा म कञ्चनपुर म.न.पं.अं. उल्टाखाम भन्ने ठाउँमा छु । मिति २०४३।३।१ गते घरबाट हिंडी मिति २०४३।५।२८ गते मात्र आफ्नो घरतर्फ आएको हुँ । चन्द्रप्रसाद ढकाल हुलाकको कर्मचारी भई एकजनाबाट टिकटको पैसा बढी लिएकोले किन बढी लिन्छौ भन्दा सोही रीसइवीबाट झुठ्ठा आरोप लगाएको हो म त्यो ठाउँमा नै नभएकोले मलाई कुनै कुराको थाहा छैन, भन्ने समेत टेकबहादुर रावलले अदालतमा गरेको बयान ।

२१.    मिति २०४३।३।३ गतेका दिन म धनगढी नगरपञ्चायत वडा नं.१ विष्णुराज भट्टको घरमा छु । मिति २०४१।३।२७ गते मात्र घरमा आएको हुँ मलाई ज्यानसम्बन्धी कुनै कुरा पनि थाहा छैन निज डबलबहादुरको बाज्येको र मेरा बाज्येको जग्गा सम्बन्धी झगडा परेको सो मुद्दा अहिले पनि वन विभागमा चालु नै हुँदा सो रीसइवीबाट झुठ्ठा पोल उजूर गरेको हो । प्रतिवादी शमशेर सिं घलेसंग निजको दोकानमा चिया पिउन जाँदा अचानक शिशाको गिलाश फुटेको हुँदा त्यतिकैमा निजको र मेरो भनाभन भई कुटपिट समेत भएकोले सो रीसइवीबाट झुठ्ठा पोल उजूर गरेका हुन् भन्ने समेत रामबहादुर रावलले अदालतमा गरेको बयान ।

२२.   मिति २०४३।३।३ गतेको राती म र मेरा बुबा जिल्ला कञ्चनपुर म.न.न.पं.अं. उल्टाखाममा थियौं । मिति २०४१।५।२८ गते मात्र घरमा आएका हौं हाम्रो बाज्येको र डवलबहादुरको बाज्येको जग्गा विषय झगडा भएको भन्ने कुरा सुनेको थिएँ सोही इवीबाट हामीलाई झुठ्ठा पोल उजूर गरेको हुनुपर्छ शमशेर घलेले पनि डबलकै भनाइमा लागी पोल गरेको हुनुपर्छ भन्ने समेत चक्रबहादुर रावलले अदालतमा गरेको बयान ।

२३.   मिति २०४३।३।३ गतेमा म आफ्नै घर जिल्ला अछाम वली गाउँमा नै छु । मेरो भतिजा भक्तबहादुरले डबलबहादुरबाट जग्गा लिएको थियो सो जग्गा पास गरी दिनु पर्‍यो भन्दा आलटाल गरी म संग झगडा भएको र मिति २०४१।१।१५ मा म आफ्नो घर अछाममा गई हालेको सो रीसइवीले गर्दा डवलले झुठ्ठा पोल उजूर गरेको हो । शमशेर सिं घलेले पनि डबलकै भनाइमा लागी पोल गरेको हुनुपर्छ भन्ने समेत गगंसिं रावलले अदालतमा गरेको बयान ।

२४.   मिति २०४१।३।३ गतेको राती चोर आयो  भनेर हल्ला हुँदा बाहिर अध्यारो रात हुँदा को को थिए, थाहा पाइएन । २३ दिनपछि डबलबहादुरलाई पक्राउ गरे भन्ने कुरा सुनियो के कारणले किन पक्राउ गरे सो मलाई थाहा छैन भन्ने समेत सरजमीनका व्यक्ति पूर्णलाल श्रेष्ठले अदालतमा गरेको बकपत्र ।

२५.   मिति २०४१।३।३ गतेका राती चोर चोर भन्ने हल्ला भएपछि के भयो भनी डवलको घरतर्फ जाँदा डवलबहादुर सुतिरहेको थियो । भोलिपल्ट म समेतको व्यक्ति काम विशेषले राजापुरतर्फ जाँदा डबलबहादुरले हिजो चोरी गर्ने मानिस हो पक्राउ गरी चौकीमा बुझाएको हो । यो चोर हो । दिशा गर्ने निहुँ गरी भागे भनी मलाई भन्दा हामी समेत भई खोजी गर्दा फेला परेन डबलबहादुरले कसैलाई कुटपिट गरेको थिएन भन्ने समेत प्रतिवादी डबलबहादुरको साक्षी झुलेन्द्र रावलले गरेको बकपत्र ।

२६.   मिति २०४१।३।३ गतेको राती चोर चोर भन्ने हल्ला सुनेकोले यो के हल्ला हो भन्दा एउटा चोर पक्रेकाछन् र चौकीतिर लगेकाछन् भनेकाले भोलिपल्ट झुलेन्द्र र म समेत राजापुर गएका हौं फर्कंदा कर्णाली किनारामा डवलबहादुरले चोर भाग्यो भनी भन्दा हामी समेत भई खोजी गर्दा भेटाउन सकेनौं निजलाई मैले जीवितै देखेको हुँ त्यो को मानिस हो भन्ने कुरा थाहा भएन डबलबहादुर समेत भई निज चोरलाई कसैले पनि मारेको छैन भन्ने समेत डबलबहादुरको साक्षी भवानीप्रसाद भण्डारीले गरेको बकपत्र ।

२७.   मिति २०४१।३।३ गतेका दिन उल्टाखाम पदमबहादुरको घरमा गएको थिएँ । सो ठाउँमा चक्रबहादुर म समेत साथै गएका थियौं । टेकबहादुर र चक्रबहादुर आफ्नो खेतीपाती हेर्न गएको थिए । चक्रबहादुर, टेकबहादुर भाद्र ६ गते फर्केका हुन् । ज्यान मार्‍यो भन्ने कुरा थाहा छैन भन्ने समेत चक्रबहादुरको साक्षी कर्णबहादुरले गरेको बकपत्र ।

२८.   मिति २०४१।३।३ गतेमा म उल्टाखाम भन्ने ठाउँमा गएको थिएँ । चक्रबहादुरलाई पनि सोही ठाउँमा देखेको छु निजले कुटपिट गरी ज्यान मार्‍यो भन्ने कुरा झुठ्ठा हो भन्ने समेत चक्रबहादुरकै साक्षी सागर बलमे गरेको बकपत्र ।

२९.   मिति २०४१।३।३ गतेका दिन म बलिया गा.पं.मानबहादुरको घरमा छु रामप्रसाद जैशी पनि त्यहीँ ठाउँमा भेटेको हुँदा रामप्रसाद सहित भई कुटपिट गरी मानिस मार्‍यो भन्ने कुरा मलाई थाहा छैन भन्ने अम्बरबहादुर कठायत सो वारदातको दिन रामप्रसाद मेरै घरमा थिए । मिति २०४१।२।२७ र २८ गतेबाट नै मेरो घरमा बसेका हुन् भन्ने समेत मानबहादुर चलाउने समेत २ जनाको बकपत्र ।

३०.   मिति २०४१।३।३ गतेका दिन म आफ्नो घरमा छु । म रामबहादुर रावलसंग उक्त दिन धनगढीमा भेट भएको हो निज रामबहादुरले मानिसलाई कुटपिट गरी मार्‍यो भन्ने कुरा मैले देखेको सुनेको छैन भन्ने रामबहादुरको साक्षी कुलबहादुर कँवर र वारदातको मितिमा रामबहादुर धनगढीमा थियो रामबहादुर सहित भएर ज्यान मार्‍यो भन्ने कुरा झुठ्ठा हो भन्ने समेत मनिराम कवर समेत २ जनाले गरेको बकपत्र ।

३१.    मिति २०४१।३।३ गतेका दिनको राती एकजना विदेशी चोर डवलबहादुरको घरमा पसेपछि चोर चोर भनी कुट्दै बजारमा ल्याएका रहेछन् । निज विदेशीलाई पछि विहान चौकीमा  ल्याए । स.ई.साहेबले औषधि उपचार गर्न लेउ भनेपछि सो व्यक्ति डबलबहादुर जिम्मा ल्याएको हो सो समयमा अरु मानिस कोही थिएन । डवलबहादुरले कहाँ लग्यो थाहा थिएन र तर अम्बरबहादुरको लडियामा लगेको थियो निज चोरलाई चिनेको थिएन । डवलबहादुरले नदीमा बगाई दिनु भएको भन्ने कुरा भोलिपल्ट अम्बरबहादुरले भनेको हुँदा निजले नै मारे की भन्ने र डबलबहादुर, दुर्गाप्रसाद, अम्बरबहादुरलाई पक्राउ गरेको हो सो चोर भनेको व्यक्तिलाई कसले, कहाँ कुन ठाउँमा दवायो भन्ने कुरा पत्ता लाउन सकिन  भन्ने समेत जाहेरवाला गवाहा प्र.ह.उद्धवबहादुर गुरुङले अदालतमा गरेको बकपत्र ।

३२.   प्रस्तुत मुद्दामा ज्यान लिने इवी लाग मनसाय नभई चोरी गरेकोमा सावित गराउन साधारण कुटपिटसम्म गरेको देखिन्छ । कर्तव्य गरी मारेको देख्ने भन्ने प्रमाण केही नभएको जाहेरवाला तथा सरजमीनका व्यक्तिहरुले पनि किटाउन नसकेको ज्यान मारेको भनी प्रतिवादीहरु माथि विभिन्न ऐन दफा लिई सजायको माग दावी लिएको त्यस्तो कसूर हुनसक्ने प्रमाण वादीबाट गुज्रन नआएको बरु प्रतिवादीका साक्षीहरुले प्रतिवादीहरुलाई सफाई दिने गरी बकपत्र गरेको पाइन्छ । फौज्दारी मुद्दामा प्रमाणको अभावमा ज्यान जस्तो जघन्य मुद्दामा प्रतिवादीहरुले ज्यान मारेकै हो भनी ठहर गर्न न्यायोचित नपर्ने हुँदा प्रतिवादीहरुलाई सफाई पाउने गरी जाहेरी फैसला गरी दियौ भन्ने समेतको कैलाली जिल्ला अदालतको फैसला ।

३३.   प्रतिवादीहरुले कुटपिट गरेको व्यक्तिलाई अशक्त पारी राजापुर औषधि गर्न भनी लडीयामा राखी लगिरहेको मर्न बाँच्नमा दोशाधमा रहेको व्यक्तिले दिशा गर्न अर्काको सहायता बिना नसक्ने भएकोमा भाग्ने ज्यादै असम्भव कुरा भएकोले प्रतिवादीले आफूले गरेको अपराधबाट बच्न गरेको प्रमाणलाई शुरु जिल्ला अदालतले मान्यता दिई प्रतिवादीहरुलाई सफाई दिने गरेको फैसला कानूनी त्रुटि हुँदा सो फैसला बदर गरी प्रहरी प्रतिवेदन माग दावी अनुसार प्रतिवादीहरुलाई सजायँ गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन पर्न आएको ।

३४.   प्रतिवादी मध्ये अनन्त भण्डारीको हकमा शुरु जिल्ला अदालतले मुलतबी राखेको निजको अंश रोक्का राखेको देखिन नआउँदा निजको अंश रोक्का गरी मिसिल साथ राखी पठाई दिनु भन्ने मिति २०४३।९।२४ गतेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको संयुक्त इजलासको आदेश ।

३५.   प्रतिवादी शमशेरले घटनास्थलमा आउँदा मानिस धेरै थिए डबलबहादुर, रामु, चक्र, अन्तु, डबलेको काका समेतले निजलाई पिटीरहेका थिए । डबलबहादुरले डण्डाले २ पटक कुटेको थिए दोस्रो दिन निजलाई चौकीमा लाँदा म डबले अन्तु चक्र समेत भई लगेका हौं भनी अदालत समक्ष आई बयान गरेको देखिनाले समेत निज प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिने गरी कैलाली जिल्ला अदालतले गरेको इन्साफ फरक पर्ने देखिनाले अ.बं.२०२ नं.बमोजिम छलफल निमित्त प्रतिवादीहरुलाई झिकाई आएपछि वा अवस्था नाघेपछि नियमानुसार पेश गर्नु भन्ने मिति २०४४।३।२ गतेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको संयुक्त इजलासबाट भएको आदेश ।

३६.   अज्ञात व्यक्तिलाई प्रतिवादी डबलबहादुरले लठी, डण्डाले कुट्दा निज अज्ञात व्यक्ति मर्न गएको देखिनाले निज प्रतिवादी डबलबहादुरलाई ज्यानसम्बन्धीको १४ नं.बमोजिम कैद वर्ष १० दशसम्म हुने ठहर्छ । प्रहरी प्रतिवेदन अनुसार ज्यानसम्बन्धीको १३(३) नं.अन्तर्गत सजायँ गर्न  मिलेन । प्रतिवादी शमशेर घलेलाई ज्यानसम्बन्धीको ११, कुटपिटको १३ नं. ले रु.५०।जरिवाना र प्रतिवादी अम्बरबहादुर सुनार तथा गगनसिं रावललाई ज्यानसम्बन्धीको २५ नं. ले जनही रु.२०।का दरले जरिवाना हुने ठहर्छ भन्ने समेत सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।७।१८ गतेको फैसला ।

३७.   सो फैसलामा चित्त बुझेन भन्ने श्री ५ को सरकारतर्फबाट पर्न आएको पुनरावेदनपत्र ।

३८.   मलाई ज्यानसम्बन्धीको १४ नं. अन्तर्गत सजायँ गरेको इन्साफ मिलेको छैन । सफाई पाउँ भन्ने समेत प्रतिवादी डबलबहादुर रावलको पुनरावेदनपत्र ।

३९.   नियम बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारतर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिंह वोगटीले मृतक व्यक्तिलाई प्रतिवादीहरुले कुटपिट गरेको भन्ने प्रतिवादीहरुको बयान सरजमीनबाट देखिन्छ । औषधि गराउन लाँदा मृत्यु भएको कुरा प्रहरीमा गरेको बयानमा उल्लेख भएको छ । मरणान्त अवस्था हुने गरी पटकपटक कुटपिट गरेकोबाट मरेकोलाई ज्यानसम्बन्धीको १४ नं.बमोजिम प्रतिवादी डबलबहादुर रावललाई मात्र सजायँ गरी अन्य प्रतिवादीलाई सफाई दिएको इन्साफ मिलेको छैन । तसर्थ अभियुक्तहरुलाई प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो । पुनरावेदक अभियुक्त डबलबहादुर रावल तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसालले लाश बरामद भएको छैन । प्रतिवादीहरुले अज्ञात व्यक्तिलाई कुटपिट गरी मरणासन्न अवस्थामा प्रहरी समक्ष लगेको भए प्रहरीले त्यस्तो मरणासन्न व्यक्तिलाई छाड्ने अवस्था छैन । मरणासन्न अवस्थामा छ भनी कसैले भनेको छैन । शमशेर सिं घलेको बयानबाट पनि मरेको भनेको मानिस हिंडेर गएको छ भनेको छ । मर्‍यो भनेका व्यक्तिको ज्यान गएको भन्ने प्रमाण केही छैन । शंकाको भरमा अपराधी ठहर गरेको इन्साफ मिलेको छैन । प्रतिवादीले सफाई पाउनु पर्दछ भन्ने समेत बहस गर्नु भयो ।

४०.   प्रस्तुत मुद्दामा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

४१.    यस्मा निर्णयतर्फ हेर्दा प्रतिवादी डबलबहादुर रावल, शमशेरबहादुर, दुर्गाप्रसाद र अम्बरे सुनार समेतको बयानबाट एकजना अपरिचित व्यक्तिलाई चोर भनी चाउरे भन्ने रामप्रसाद जैशीको गोठमा पक्राउ गरी पिटी मरणासन्न अवस्था पारी प्रहरीमा बुझाउन लाँदा नबुझी उपचार गराउन लग्दा बाटैमा मरेकोले जंगलमा लगी राखी पछि लाश कर्णालीमा बगाएको भन्ने सिद्ध हुन आएकोले अभियुक्त मध्ये मृतकलाई कुट्ने देखिएका रामबहादुर, चक्रबहादुर, डवलबहादुर, अनन्त भण्डारी, गगनसिंह रावललाई ज्यानसम्बन्धीको १३(३) नं.अनुसार सजायँ हुन र शमशेरबहादुर घलेलाई ज्यानसम्बन्धीको ११ नं.र कुटपिटको १३ नं.बमोजिम र मतलबी देखिएका चाउरे भन्ने रामप्रसाद जैशी र दर्गा भण्डारीलाई ज्यानसम्बन्धीको १७(२) नं. र ऐ.२५ नं. अनुसार, टेकबहादुरलाई ज्यानसम्बन्धीको १३(४) नं.अनुसार र धर्मसिंह रावल र अम्बरबहादुर सुनारलाई ज्यानसम्बन्धीको २५ नं. अनुसार सजायँ गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन दावी देखिन्छ । प्रस्तुत मुद्दामा सर्वप्रथम कुटपिट गरी ज्यान मारी गाडी दिएको वा कर्णाली नदीमा फालेको हो होइन हेर्नु परेको छ । प्रतिवादीहरु आरोपित कसूर गरेमा इन्कार रही अदालतमा बयान गरेको देखिन्छ । प्रहरीमा भएको कागज कुटपिट गरी बकाएका हुन् भनी प्रतिवादी अम्बरबहादुर सुनार र डवलबहादुरको अदालतको बयानमा उल्लेख भएको पाइन्छ । एकजना भारतीय मानिसलाई डबलबहादुर रावल, दुर्गाप्रसाद भण्डारी समेतका मानिसहरुले कुटपिट गरी मरन्तु अवस्थामा पुर्‍याई अम्बरबहादुरको लडीयामा हाली दबाई गर्ने बहाना गरी लिइरहेको अवस्था मृत्यु भई लाश कर्णाली नदीमा फाली दिएको भन्ने बुझिएको भन्ने आधारमा जाहेरी दर्खास्त परेको देखिन्छ । जाहेरी दर्खास्तमा किटान गर्नसकेको छैन । प्रतिवादी डवलबहादुरले प्रहरीमा गरेको बयानमा लाश कर्णाली तारी जंगलको बालुवा हातले खोस्री गाडी दबाएको भनेको छ । तर लाश वा अरु केही वस्तु बरामद हुनसकेको बरामत मुचुल्काबाट देखिँदैन । प्रतिवादी अम्बरबहादुर सुनारको घा जाँच हुँदा शरीरमा भएको घाउ चोट तातो छड र लौराले भएको हो । ४५ हप्ता पुरानो घाउ चोट हुन सम्भव छ भन्ने कैलाली अस्पतालका प.सं.०४०४१ च.नं.९१५ मिति २०४१।३।२७ गतेको पत्र लेखी आएको देखिन्छ । यसबाट प्रहरीमा भएको साविती स्वतन्त्र प्रमाणबाट समर्थित भएको देखिँदैन । कुटपिट गरी ज्यान मारी गाडी दिएको वा कर्णाली नदीमा बगाएको देख्ने चस्मदिद  कोही पनि देखिँदैन । मर्ने व्यक्ति भनेका व्यक्तिको नाम थर वतन समेत खुल्दैन । सरजमीनका व्यक्तिहरुले पनि कुटपिट गरी मारेको देखेको भन्नसकेको छैन । जाहेरवाला प्र.ह.उद्धवबहादुरले बकपत्र गर्दा कुटपिट गरेको देखेको भन्नसकेको छैन । होहल्ला सुनेको भनेको छ । निज मरेको भनेको व्यक्तिलाई देखेको वा नदीमा बगाएको देखेको भन्नसकेको पनि छैन । वस्तुतः कुटपिट गरी मारी गाडेको अथवा कर्णाली नदीमा लाश बगाएको सम्बन्धमा कुनै तथ्ययुक्त सबूद प्रमाण गुज्रन आएको देखिँदैन । सो वारदात नै भए गरेको भन्ने शंकारहित तवरबाट प्रमाणित हुनसकेको छैन । यस्तो स्थितिमा केवल शंकाको भरमा अपराधी ठहर गर्न न्यायको दृष्टिमा मिल्ने नदेखिँदा पुनरावेदक प्रतिवादी डवलबहादुर रावलले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । निजलाई ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० वर्ष कैद गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । प्रतिवादी शमशेर घले, अम्बरबहादुर सुनार र प्रतिवादी गगनबहादुर रावललाई ज्यानसम्बन्धीको ११ र कुटपिटको १३ नं. र ज्यानसम्बन्धीको २५ नं.अन्तर्गत सजायँ गरेतर्फ पुनरावेदन नपरे पनि अ.बं.२०५ नं.ले निजहरुको हकमा इन्साफ सजायतर्फ हेर्नु मिल्ने हुँदा उपर्युक्त उल्लेख भएअनुसार वारदात नै भए गरेको देखिन नआएकोले सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले निज प्रतिवादी शमशेर घले, अम्वरबहादुर सुनार र प्रतिवादी गगनबहादुर रावललाई जरिवाना गरेको इन्साफ मिलेको देखिएन । निजहरुले पनि आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।७।१८ गतेको फैसलाले देहायका प्रतिवादीहरुलाई देहाय बमोजिम गरेको कैद र जरिवाना नलाग्ने हुँदा असूल भएको भए फिर्ता र नभएको भए असूल गर्नु पर्दैन व्यहोरा जनाई लगत कट्टा गरी थुनाबाट समेत छाडी दिनु भनी कैलाली जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु..१ प्रतिवादी डबलबहादुर रावल के कैद वर्ष दश १० कलम १ प्रतिवादी अम्बरबहादुर सुनार के जरिवाना रु.२०।को कलम १ प्रतिवादी शमशेर घले के जरिवाना रु.५०।को कलम १

प्रतिवादी गगनसिं रावल के जरिवाना रु.२०।को कलम १ मुद्दा निर्णय भएको सूचना पुनरावेदकहरुलाई दिनु....२

मिसिल निम बमोजिम गरी बुझाई दिनु........३

 

उक्त रायमा म सहमत छु ।

न्या.सुरेन्द्रप्रसाद सिंह

 

 

इति सम्वत् २०४५ साल पौष २३ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु