निर्णय नं. ३६३९ - कर्तव्य ज्यान

निर्णय नं. ३६३९ ने.का.प. २०४५ अङ्क ११
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४५ सालको फौ.पु.नम्बर ६५४
सम्वत् २०४५ सालको फौ.सा.नम्बर ५३
फैसला भएको मिति : २०४५।८।२०।२ मा
पुनरावेदक/प्रतिवादी : कैलाली कारागारमा बन्दी रहेको वेदप्रकाश सक्सेनासमेत
विरुद्ध
विपक्षी/वादी : प्र.ह.जीतबहादुरको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) सामान्य ज्ञानको मानिसलाई पनि १५ दिनसम्म अन्न पानी बन्द गरी थुन्दा मानिस मर्छ भन्ने कुराको जानकारी हुन्छ भनी अनुमान गर्नुपर्ने ।
(प्रकरण नं. १९)
(२) मानसिक स्थिति विक्षिप्त भएको आफ्नो छोरालाई मनस्थिति परिवर्तन हुन्छ कि भन्ने आधारमा कोठामा थुनेको अवस्थामा मृत्यु हुन गएको भन्ने देखिएकोमा अपराध गरेको अवस्था समेतबाट ऐन बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं.१८८ नं.बमोजिम जनही कैद वर्ष १० दश हुने ।
(प्रकरण नं. १९)
पुनरावेदक, प्रतिवादीहरु तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसाल
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।
२. मलाई ०४२।१२।६ गतेका दिन बजारतर्फको हालखबर बुझ्न पठाएकोमा वेदप्रकाश सक्सेनाको डेराको बन्द भइरहेको कोठाबाट दुर्गन्ध आइरहेकोले के भएको हो आवश्यक कारवाहीको लागि जाहेर गरेको छु भन्ने समेत जितबहादुर गुरुङको प्रतिवेदन ।
३. लाश सडी गली लाशको जिउमा घाउ चोटपटक छुट्याउन सकिने स्थितिमा नभएको भन्ने समेत लाश जाँच प्रकृति मुचुल्का ।
४. मेरी श्रीमती सधैं पूजाआजा गर्ने हुँदा मलाई देवीको शक्ति प्राप्त भयो भनी मलाई बेटा भनी संवोधन गर्ने र मैले माँ भनी पुकार्ने गरेको थिएँ सो को २।३ दिनपछि मृतक छोराले आमालाई झमटिने गरेकोले निजलाई छुट्टै कोठामा बन्द गरी खानपिन नदिई राखेकोमा पछि छोराको लाश फेला परेको हो भन्ने समेत वेदप्रकाश सक्सेनाको प्रहरीमा गरेको बयान कागज ।
५. म दुर्गादेवीको पूजा गर्थें देवीकै दर्शन प्रत्यक्ष पाई दुर्गाको शक्ति प्राप्त भएको भनी लोग्ने लगायत सबैलाई पुत्रको रुपमा व्यवहार गर्थे त्यसपछि छोरा प्रदीपलाई पनि त्यस्तै परिवर्तन भई आफ्नो बाबुलाई हमला गर्न खोज्दा मेरो कानमा तिमी बाहिर जाउ मलाई बन्द गर भन्ने आवाज सुनी छोरालाई कोठामा थुन्न लगाएको हुँ । हाल प्रहरीबाट सो कोठा खोली हेर्दा छोराको लाश सडी सकेको थियो भन्ने समेत व्यहोराको सन्तोषदेवी सक्सेनाले प्रहरीमा गरेको बयान कागज ।
६. प्रतिवादी वेदप्रकाश र मृतक प्रदीप बौलाएको भन्ने कुरा सुनेको हुँ प्रहरीले वेदप्रकाशको बन्द ढोका खोलेपछि प्रदीप मरी सकेको लाश देखेको हुँ । निजलाई निजकै आमा बाबुले नै मारेको शंका लाग्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
७. प्र.वेदप्रकाश सक्सेनालाई मासिक रु.४००।– मा घर भाडा दिएको निजको छोरा पागल भएको र निजकी श्रीमतीलाई देवीको शक्ति प्राप्त भएको भन्ने हल्ला सुनेको हुँ । आफ्नो घरको किराए माग्न जाँदा एक कोठा बन्द गरेको र कोठाबाट दुर्गन्ध आएको थाहा पाई प्रहरीलाई खबर गरी प्रहरीबाट सो ढोका खोली निजको छोरा प्रदीपको लाश फेला परेको हो भन्ने समेत नरबहादुर ऐरले प्रहरीमा गरेको कागज ।
८. सन्तोषदेवीले बचन दिई वेदप्रकाशले आफ्नो छोरा प्रदीपलाई घरको कोठामा थुनेको निजको मृत्यु भएको हुनाले ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम वेदप्रकाश सक्सेनालाई र सोही ऐनको १३(४) बमोजिम सन्तोषीदेवीलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
९. छोरा प्रदीपलाई १४ दिनसम्म घरको कोठा बन्द गरी थुनेको हुँ । मेरो दिमाग सही हालतमा थिएन मुतक छोराले मलाई झम्टिने र जथाभावी बोल्ने हुनाले सही व्यवहार गर्छ की भनी थुनी राखेको हुँ खाना पिना दिएको थिएन धेरै दिन थुनामा रहेको कारणबाट निज छोरा प्रदीपको मृत्यु भएको हो मृतक मेरो कोखबाट जन्मेको छोरा हो भन्ने समेत व्यहोराको सन्तोषदेवी सक्सेनाको अदालतमा गरेको बयान ।
१०. छोरा प्रदिपको दिमाग डेढ महिना जति भयो ठीक नभएको, जथाभावी बोल्ने हिंड्ने गथ्र्यो । धनगढी अस्पतालमा औषधी गर्दा ठिक नभएको बोलिरहने गर्थ्यो पछि बोलचाल गर्न पनि बन्द भयो घरको कमरामा बन्द श्रीमती सन्तोषदेवी सक्सेनाले गरेकी थिइन । म पनि त्यही नै थिएँ । मृतक छोरालाई थुनेपछि दिमाक राम्रो हुन्छ की भनी थुनेका थियौं । निज छोरा थुनी राखेकै अवस्थामा मृत्यु भएछ निज छोरा श्रीमती सन्तोषदेवीबाट जन्मेको हो भन्ने समेत वेदप्रकाश सक्सेनाले अदालतमा गरेको बयान ।
११. मृतकलाई निजका आमा बाबुले मारेकोमा शंका लाग्छ भन्ने समेत सरजमीनका वसन्त सोप र जाहेरवाला जीतबहादुरको बकपत्र र मृतक मरेको केही कुरा थाहा छैन भन्ने मोहन सिं मुल, देवेन्द्रदास चौधरी, गोविन्द श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ समेतको बकपत्र ।
१२. मृतकलाई अन्न पानी नदिई आफू बसेको कोठामा थुनेकोमा सावित भई बयान गरेको मृतकको मृत्यु भई लाश सडी गली सकेको हुँदा प्रहरी प्रतिवेदन दावी बमोजिम दुवैजना प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम वेदप्रकाश सक्सेनालाई सर्वश्वसहित जन्मकैद र सोही ऐनको १३(४) बमोजिम सन्तोषदेवी सक्सेनालाई जन्मकैद गर्ने ठहरी कै.जि.अ.बाट फैसला भएको ।
१३. स्वास्थ्यको कारणबाट थुनामा राखेको हो आफ्नो जन्माएको छोरालाई ज्यान मार्ने मनसायबाट थुनी बन्द गरेको हैन तसर्थ ज्यानसम्बन्धीको १३ नं.बमोजिम सजायँ गर्ने गरेको शुरु कैलाली जिल्ला अदालतको इन्साफमा चित्त बुझेन भन्ने समेत बन्दी रहेको वेदप्रकाशको र निजकी श्रीमती सन्तोषदेवी सक्सेनाको सेती अञ्चल अदालतमा गरेको पुनरावेदन ।
१४. आफूले रिहाई पाउनु पर्ने मनासिब माफिकको कारण प्रतिवादीहरुले पेश गर्न नसकेकोले शुरुले गरेको इन्साफ मनासिब हुँदा शुरुले गरेको फैसला मनासिब ठहर्छ । प्रतिवादीको बयान तथा पुनरावेदन जिकिरबाट दैवीप्रकोप भएको र विक्षिप्त विरामी भएको विक्षिप्त व्यक्तिलाई राख्ने ठाउँसम्म पुर्याउन नसकी जनसमाजलाई बाधा नपुर्यावस भन्ने अभिप्रायबाट आफू बसेको कोठमा थुनी निजको मृत्यु भएकोले सर्वश्वसहित जन्मकैदको सजायँ चर्को पर्ने भई १० वर्षसम्मको सजायँ हुनु पर्ने भन्ने सेती अञ्चल अदालतको फैसला ।
१५. रीसइवीबाट मृतकलाई थुनी निजको मृत्यु भएको नभई विरामी छोरालाई स्वास्थ्यको कारणबाट थुनामा राखेको सो अवस्था विचार भई सफाई पाउनु पर्नेमा १० वर्ष सजायँ घटाउने सम्म गरेको सेती अञ्चल अदालतको फैसलामा चित्त बुझेन सफाई पाउँ भन्ने समेत प्र.वेदप्रकाश र सन्तोषदेवी सक्सेनाको पुनरावेदन ।
१६. प्रतिवादीहरु आरोपित कसूरमा सावित रहेका छन् । आफ्ना छोरालाई १५ दिनसम्म अन्न पानी बन्द गरी खोज खबर नै नगरी लास सडी बाहिर दुर्गन्ध आउँदासम्म पनि वास्ता राखेको पाइँदैन । अतः प्रहरी प्रतिवेदन माग दावी अनुसार प्र.वेदप्रकाश सक्सेनालाई ज्या.सं.को १३(३) नं.बमोजिम र प्र.सन्तोषीदेवी सक्सेनालाई ऐ.को १३(४) नं.बमोजिम सजायँ गरेको शुरुको सदर गरेको सेती अञ्चल अदालतको इन्साफ मनासिब छ । त्यसबखतको प्रतिवादीहरुको स्थिति अवस्था र कृयाकलाप समेत विचार गर्दा ऐन बमोजिमको सजायँ गर्दा चर्को पर्ने देखिँदा १० वर्ष मात्र कैद गर्नुपर्ने हुँदा सोही बमोजिमको सजायको लागि सर्वोच्च अदालतमा जाहेर गर्ने भन्ने समेतको सु.प.क्षे.अ.को फैसला रहेछ ।
१७. ज्या.सं.को १३(३) र १३(४) नं.बमोजिम सजायँ गर्ने गरेको सु.प.क्षे.अ.को इन्साफमा चित्त बुझेन सो फैसला उल्टाई आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत यस अदालतमा पर्न आएको प्रतिवादीहरुको संयुक्त पुनरावेदनपत्र ।
१८. निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरुको तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसालले आफ्नो छोरालाई प्रतिवादीहरुले मार्ने मनसाय राखेको देखिँदैन । मार्न पर्नेसम्मको पूर्व रीसइवी नभएको मानसिक रुपमा विक्षिप्त भएको व्यक्तिलाई त्यसै बाहिर छोड्दा खतरा हुने संभावना भएकोले सुरक्षार्थ कोठामा राखेको अवस्थामा भवितव्यबाट मृत्यु भएकोमा ज्या.सं.को १३ नं. आकृष्ट हुनसक्ने अवस्था नहुँदा प्रतिवादीहरुले सफाई पाउनु पर्ने भनी बहस गर्नु भयो ।
१९. निर्णयतर्फ हेर्दा यसमा अभियुक्त सन्तोषदेवीले बचन दिई वेदप्रकाश सक्सेनाले आफ्नो छोरा प्रदीपलाई घरको कोठामा थुनेकाबाट निजको मृत्यु भएको हुनाले ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम वेदप्रकाश सक्सेनालाई र सोही ऐनको १३(४) नं.बमोजिम सन्तोषदेवीलाई सजायँ गपिाउँ भन्ने प्रहरी प्रतिवेदन दावी परी प्रस्तुत मुद्दा कारवाही भएको देखिन्छ । प्रतिवादीहरु आरोपित कसूरमा अधिकारप्राप्त अधिकारी समक्ष सावित हुनुको साथै करीव १५ दिनसम्म हामी रहे बसेको घरको कमरामा बन्द गरेर राखेका थियौं । करिब हप्ता दिन सम्म मम्मी, पापा भनी बोलेको सुनिन्थ्यो । त्यसपछि बोलचाल गर्न पनि बन्द भयो । निजलाई श्रीमती सन्तोषदेवीले बन्द गरेकी थिइन । म पनि त्यही थिएँ तर केही भनिन । मृतकलाई हामीले खानापिना पनि दिएनौं । निज मरेको कुरा पछि मात्र थाहा भयो भनी प्र.वेदप्रकाश सक्सेनाले र जथाभावी बोली हिंड्ने गरेकोले सही हालतमा आउँछकी भनेर कमरामा मैले थुनेकी हुँ । थुन्दा श्रीमान वेदप्रकाश पनि थिए । ६, ७ दिनसम्म हा हा हु हु गरी बोलेको सुनिन्थ्यो । त्यसपछि बोलचाल बन्द भयो । बन्दी अवस्थामा खानापिना दिएका थिएनौ भनी प्रतिवादी सन्तोषदेवीले अदालत समक्ष बयान गरेको देखिन्छ । यसरी प्रतिवादीहरु आफू आरोपित कसूरमा सावित रही एकैमिलानसंग बयान गरी परस्पर पोल उजूर समेत गरेको देखिन्छ । २०४२।६।१२ गतेका दिन गस्तिमा जाँदा प्रतिवादीहरुको डेराको ढोका बन्द भइरहेको अवस्थामा माखा भन्किरहेको देखी सोही व्यहोराको जाहेर गरेपछि प्रहरी गस्तीसंगै खोली हेर्दा प्रदीपकुमार सक्सेनाको मृत्यु भई लाश सडी गली सकेको अवस्थामा थियो भनी जाहेरवाला प्र.ह.जितबहादुर गुरुङले तथा मृतकलाई प्रतिवादीहरुले कोठामा थुनेर राखेका थिए । पछि प्रहरीले कोठा खोल्दा निज मरेको रहेछ भनी सरजमीनका बसन्त सोप घिमिरे तथा मोहनसिंह मुलले अदालतमा आई बकपत्र गरिदिएकोबाट प्रतिवादीहरुको साविती बयान पुष्ट्याई हुन आयो । सामान्य ज्ञानको मानिसलाई पनि यसरी १५ दिनसम्म अन्न पानी बन्द गरी थुन्दा मानिस मर्छ भन्ने कुराको जानकारी हुन्छ भनी अनुमान गर्नु पर्ने हुन्छ । यस्तोमा भवितव्यबाट मृत्यु भएको भनी पुनरावेदक प्रतिवादी तर्फका विद्वान अधिवक्ताले उठाउनु भएको बहस जिकिर मिल्ने देखिएन । अतः प्रहरी प्रतिवेदन माग दावी अनुसार प्रतिवादी वेदप्रकाशलाई ज्यानसम्बन्धीको १३(३) नं.र प्रतिवादी सन्तोषीलाई ज्यानसम्बन्धी १३(४) नं.बमोजिम सजायँ गर्ने ठहर्याएको शुरुको सदर गरेको सेती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्याएको सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा सोही इन्साफ सदर हुने ठहर्छ । कम सजायँ हुन पर्ने भनी राय लगायतर्फ हेर्दा प्रतिवादी सन्तोषदेवीले छोरा प्रदिपलाई १४ दिनसम्म घरको कोठामा थुनेको हुँ । दिमाग बहुलाए जस्तो भएकोले थुनेको हुँ । खान दिएका थिएनौ सही हालतमा काम गर्छ की भनी थुनेको हो भन्ने र प्र.वेदप्रकाश सक्सेनाले मृतक छोरा प्रदीपकुमारको दिमाग ठीक भएन निजलाई करीब १५ दिनसम्म घरको कमरामा बन्द गरी राखेका हौं । खानापिना दिएनौ दिमाग राम्रो हुन्छ की भनी थुनेको हो भनी अदालतमा बयान गरेको देखिन्छ । मानसिक स्थिति विक्षिप्त भएको आफ्नो छोरालाई मनस्थिति परिवर्तन हुन्छ कि भन्ने आधारमा कोठामा थुनेको अवस्था मृत्यु हुन गएको भन्ने देखिन्छ । यस्तोमा अपराध गरेको अवस्था समेतबाट ऐन बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिन आयो । तसर्थ घटी सजायको लागि सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट राय लगाएको मनासिब देखिँदा प्रतिवादीहरुलाई अ.बं.१८८ नं.बमोजिम जनही कैद वर्ष १०(दश) हुने ठहर्छ । पुनरावेदन तहबाट निर्णय भएकोले साधक तहबाट बोलिरहन परेन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
देहायका प्रतिवादीहरु के माथि इन्साफ खण्डमा लेखिएबमोजिम अ.बं.१८८ नं.ले जनही कैद वर्ष १० दश हुन्छ ०४२।१२।७ देखि थुनामा रही हाल कैलाली कारागारमा थुनामा रहेको मिसिलबाट देखिँदा थुनिएका मितिदेखि कैद कट्टी गर्नु भनी कैलाली जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु....१
प्र.सन्तोषदेवी सक्सेना १ प्र.वेदप्रकाश सक्सेना १ देहायका प्रतिवादीहरु के कैलाली जि.अ.का ०४४।१।१३ का फैसलाले प्र.सन्तोषदेवीलाई सर्वश्वसहित जन्मकैद र प्र.वेदप्रकाशलाई जन्मकैद गर्ने गरेकोमा माथि लेखिएबमोजिम जनही १० वर्ष मात्र कैद हुने भएकोले सो सर्वश्वसहित जन्मकैद र जन्मकैदको लगत बमोजिम गर्नु पर्दैन सो लगत काटी दिनु भनी कैलाली जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...२
प्र.सन्तोषदेवी सक्सेना १ प्र.वेदप्रकाश सक्सेना १ प्र.सन्तोषदेवी सक्सेनाको सर्वश्व रोक्का गर्ने गरेकोमा सो रोक्का गर्नु पर्दैन । रोक्का भएको भए फुकुवा, नभएको भए रोक्का राख्न पर्दैन लगत काटी दिनु भनी कैलाली जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु..३
मुद्दा निर्णय भएको सूचना पुनरावेदकहरुलाई दिनु.४
मिसिल नियम बमोजिम गरी बुझाई दिनु.......................५
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल मंसीर २० गते रोज २ शुभम् ।