शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६४१ - जिउ मास्ने बेच्ने

भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११

निर्णय नं. ३६४१      ने.का.प. २०४५                 अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको फौ.पु.नं. ४५५

फैसला भएको मिति : २०४५।९।१२।२ मा

 

पुनरावेदक/वादी : जितबहादुर तामाङ्गको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : सिन्धुपाल्चोक दुमाचौर गा.पं.वा.नं.६ बस्ने बकटु तामाङनीसमेत

 

मुद्दा : जिउ मास्ने बेच्ने

 

(१)                कुनै केटीलाई विदेशमा बिक्री गर्न एक ठाउँबाट अर्को ठाउँमा लैजानु नै मुलुकी ऐन जिउ मास्ने बेच्नेको १ नं.को निमित्त पर्याप्त हुने ।

(प्रकरण नं. १७)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।

२.    २०४०।९।३० गते म र मेरो बाबु, आमा, वर्ष १७ की बहिनी ग्याम्ची तामाङनीलाई घर कुरुवा राखी काममा गएकोमा घर आउँदा ढोका बन्द रहेछ, बहिनीको तलाशी गर्दा पत्ता लागेन । २०४२।१०।२ गते रेन्जेन लामा र जीतबहादुर तामाङ समेतले बहिनीलाई फकाई बम्बै बेश्यालयमा बिक्री गर्नको लागि जीतबहादुरको गोठमा राखेको थाहा भएकाले कानून बमोजिम कारवाही  गरिपाउँ भन्ने समेत व्यहोराको जीतबहादुरको जाहेरी दर्खास्त ।

३.    २०४०।९।३० गते म घरमा एक्लै बसेको अवस्थामा बक्टु तामाङनी मेरो घरमा आई एकछिन जीतबहादुरको घरमा जाउँ भनी जबरजस्ती गरेकीले गएँ । जीतबहादुरले गोठमा लगी राखे । निजहरुले तिमी बम्बे जानुपर्छ । यहाँ दुःख नगर । त्यहाँ राम्रो खान पाइन्छ भने, मैले हुँदैन भनी घर जान खोज्दा ढोकाको बाहिरी ताल्चा मारी राखे । मलाई बेला बेलामा भात जीतबहादुरकी श्रीमतीले पुर्‍याउने गर्थी, ३ दिन पछि दाजु, बाबुले थाहा पाई कोठाबाट निकाली ल्याएको हो । मलाई बिक्री गर्न जीतबहादुर र रेन्जेनले लैजाने नियत रहेछ, कानून बमोजिम कारवाही होस् भन्ने समेत व्यहोराको ग्याम्ची तामाङनीले प्रहरीमा गरेको कागज ।

४.    जीतबहादुरसंग एक डेढ वर्ष अघि चिनजान भएको हो । हामी बीच गाउँबाट केटीहरु जम्मा गरी इण्डीया बम्बैमा लगी बिक्री गर्ने कुरा थियो । जीतबहादुर गाउँबाट केटी खोज्ने र म काठमाडौंबाट बम्बै पुर्‍याउने सल्लाह थियो । २०४०।९।२९ गते म जीतबहादुरलाई भेट्न गई त्यहीँ   बसें । ३० गते म पूर्जा गर्न पाल्चोक माइकी स्थानमा गई १२ बजे आएँ । केटीको कुरा निज जीतबहादुरले निजको भाउजु वक्टुलाई भनेको रहेछ । रुपैयाँको कुरा हुन बाँकी नै थियो माघ २ गते प्रहरी समेत भई हामीलाई पक्राउ गरेको हो । रु.१००।दरको भा.रु. ३००।म बाटै दाखिल भएको हो भन्ने समेत व्यहोराको रेन्जेन लामाले प्रहरीमा गरेको कागज ।

५.    २०४०।९।२९ गते रेन्जेन लामा मेरो घरमा आएका थिए । निजले म केटी बम्बै लान्छु खोज्नु पर्‍यो भनेकाले मैले हुन्छ भनें । भाउजु वक्टु तामाङनीकहाँ गई ग्याम्चीलाई बम्बै लगी बिक्री गर्नु पर्‍यो फकाई दिनु भन्दा निजले हुन्छ भनिन् । ३० गते बेलुका ७ बजे बक्टुले ग्याम्चीलाई मेरो घरमा ल्याइन् निज ग्याम्चीलाई गोठको चोटामा ताल्चा लगाई राख्यौं । माघ २ गते जाहेरवालाले पत्ता पाई प्रहरी समेत भई हामीलाई पक्राउ गरेको हो भन्ने समेत व्यहोराको जीतबहादुर तामाङले प्रहरीमा गरेको कागज ।

६.    जीतबहादुरको भाउजु समेतले फकाई बम्बै लगी बिक्री गर्ने उद्देश्य लिएकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको नजरमान समेतले गरी दिएको सरजमीन मुचुल्का ।

७.    प्रतिवादीहरुले ग्याम्चीलाई फकाई बम्बै लगी बिक्री गर्ने नियतबाट लुकाएको प्रष्ट हुन आएकोले रेन्जेन लामा र जीतबहादुरलाई ज्यू मास्ने बेच्नेको १ नं.र फरार रहेका वक्टु तामाङनीलाई ऐ.को ४ नं. अनुसार सजायँ हुन अनुरोध छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन दावी ।

८.    जाहेरवालाकी बहिनी ग्याम्चीलाई श्रीमती बनाउन आफ्नै गोठमा लगी थुनेको हो । विदेशमा रण्डीखानामा बिक्री गर्न थुनेको होइन । मैले ग्याम्चीलाई निजको सल्लाहबाट ल्याएको हुँ प्रहरीको दावी बमोजिम सजायँ हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्र.जीतबहादुरको अदालतमा गरेको बयान ।

९.    २०४०।९।३० मा म हेलम्बूमा थिएँ । ग्याम्ची भन्ने केटीलाई म चिन्दीन । प्रहरीमा कागज गराउँदा केवल सही मात्र गराएको थियो । पढेर सुनाएको थिएन । बरामद भएको भा.रु.३००।दाजुले काश्मीरबाट पठाएको साट्न लिई गएको हुँ । मैले कसूर नगरेकाले फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्र.रेन्जेन लामाले अदालतमा गरेको बयान ।

१०.    मामाकी जेठी बुहारीले लिन आएको र लुकाउने जीतबहादुर हुन् । गहना फुकालेको निजकी श्रीमतीले हो । जेठी बुहारीले बम्बै जानु पर्छ राम्रो खान पाइन्छ भनेको हो । रेन्जेन लामालाई चिनेको थिएन । मामाकी कान्छी बुहारी तारामाइले दिनको १ पटक खाना ल्याउने गर्थी भन्ने समेत व्यहोराको ग्याम्ची तामाङनीले अदालतमा गरेको बकपत्र ।

११.    प्र.जितबहादुर प्रहरीमा सावित भई अदालतमा पनि स्वास्नी बनाउन लगेकोसम्म कुरामा सावित रहेको, ग्याम्चीको बकपत्र हुँदा विदेश लान भनी फकाएको भनेबाट जीतबहादुरले विदेश भारतमा बिक्री गर्न लगेको ठहर्छ । रेन्जेन लामा र वक्टु तामाङनीले अपराध गरेको सबूद प्रमाण पुगेको नदेखिएको समेतबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु सिन्धुपाल्चोक जिल्ला अदालतबाट २०४१।३।१५ मा भएको फैसला ।

१२.    प्र.रेन्जेन र वक्टुलाई सफाई दिएको नमिलेकोले दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फबाट मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

१३.    स्वास्नी बनाउन राखेकोमा ज्यू मास्ने बेच्नेको महल अन्तर्गत सजायँ गरेको चित्त नबुझेकोले सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.जीतबहादुरको म.क्षे.अ.मा परेको पुनरावेदन ।

१४.    प्रस्तुत मुद्दामा बिक्री गर्ने उद्देश्यले विदेशमा बेच्न लगेको भन्ने कुराको ठोस सबूद मिसिलबाट देखिन आउँदैन । बेच्ने उद्देश्यले आफ्नै नातेदारकी छोरी गाउँघर नजिककै प्र.जीतबहादुरको घरमा आवत जावत गर्ने केटीलाई ३ दिनसम्म गाउँमै ताल्चा मारी कोठामा राखी राख्न पर्ने सन्तोषजनक कारण देखिँदैन । तसर्थ प्रहरी सावितीकै आधारले अन्य स्वतन्त्र प्रमाणबाट कसूर गरेको पुष्टी नभएकोले प्र.जीतबहादुरलाई सजायँ गर्ने गरेको शुरुको फैसला मिलेको देखिएन । अन्य प्र.हरुका हकमा सफाई दिएको मिलेकै देखिँदा शुरुको केही उल्टी भई प्र.जीतबहादुरले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४२।९।१७ को फैसला ।

१५.   उक्त फैसलामा चित्त बुझेन सो त्रुटिपूर्ण फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फबाट यस अदालतमा परेको निवेदनमा यस्मा प्र.जीतबहादुर गेम्चीलाई गोठमा थुनेको कुरामा सावित छन्, म.क्षे.अ.बाट निजको बयानको कुनै प्रमाणिक मूल्याङ्कन नै नगरी भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि भएको र सो त्रुटि सार्वजनिक महत्वको विषयमा गम्भीर कानूनी त्रुटि समेत हुँदा सो फैसला उपर न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत तत्काल डिभिजन बेञ्चबाट २०४३।१।२८ मा भएको आदेश ।

१६.    नियमानुसार पेश हुन आएकोमा पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले र विपक्षी प्रतिवादी जीतबहादुर तामाङको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो । यसमा मुख्यतः क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के रहेछ सो विषयमा निर्णय दिनु पर्ने हुनआएको छ ।

१७.   यसमा जाहेरवाला जीतबहादुरकी बहनी ग्याम्ची तामाङनी ०४०।९।३० गतेदेखि हराएकीमा र प्रतिवादी जीतबहादुरका गोठमा थुनी राखेकोमा समेत विवाद देखिँदैन निज ग्याम्ची तामाङनीले स्वच्छ तरीकाबाट गरेको बयानमा बम्बै जान पर्छ राम्रो खान पाइन्छ भनेको र गोठमा थुनेको भन्ने प्रष्ट बयान गरेको पाइन्छ । जीतबहादुरले अदालतमा बयान गर्दा स्वास्नी तुल्याउन ल्याएको भन्ने कुरा पत्यार गर्न सकिने अवस्था आउँदैन, किनभने निजकी स्वास्नीले निज ग्याम्चीलाई भात पुर्‍याउनु, प्रेम गर्नु बम्बै जानु पर्छ भन्नु इत्यादि व्यवहारबाट पनि जीतबहादुरले स्वास्नी तुल्याउन थुनेको भए आफू माथि सौता बनाउन ल्याएको ग्याम्चीलाई निजकी श्रीमतीले भात खुवाउने, बम्बै जाने कुरा गर्नुपर्ने थिएन । जीतबहादुरकी भाउजु समेतले फकाई बम्बै लगी बिक्री गर्ने उद्देश्य लिएकोमा विश्वास लाग्छ भन्ने समेत सरजमीनका व्यक्तिहरुले किटानी बकपत्र गरेको देखिन्छ । जीतबहादुर  ले केटी खोज्ने र मैले काठमाडौंबाट बम्बै पुर्‍याउने सल्लाह भएको थियो पछि जीतबहादुरले निजकी भाउजू वक्टुलाई भनेको रहेछ रुपैयाँको कुरा हुन बाँकी नै थियो भनी बयान गर्ने र निजबाट १०० दरको भा.रु. ३००।पनि बरामद हुनुबाट रेञ्जेन लामा पनि त्यस कुराको सहमतिमा पसेको व्यक्ति रहेछ भन्ने प्रष्ट देखिन आउँछ । अधिकारप्राप्त अधिकारीसमक्षको साविती एवं सरजमीन तथा खुद थुनिई बस्ने ग्याम्ची तामाङनीको बयानलाई अन्यथा भन्न सकिने सफाइको कानूनी सबूद निज प्रतिवादीहरुबाट पेश भएको पनि पाइँदैन । यस्तो स्थितिमा कुनै केटीलाई विदेशमा बिक्री गर्न एक ठाउँबाट अर्को ठाउँमा लैजानु नै मुलुकी ऐन जिउ मास्ने बेच्नेको १ नं.को निमित्त पर्याप्त हो । माथि उल्लिखित सरजमीन, कारणीको बयान र निज प्रतिवादीहरुको साविती समेतका सबूद प्रमाणबाट केटी ग्याम्ची तामाङनीलाई निजको घरबाट लगी प्र.जीतबहादुर तामाङको गोठमा बिक्री गर्न निमित्त थुनिराखेको देखिन आएको छ । तसर्थ प्र.जितबहादुर तामाङलाई जिउ मास्ने बेच्नेको १ नं.अनुसार १० वर्ष कैद गर्ने ठहराएको शुरुको इन्साफ मनासिब ठहर्छ र प्रतिवादी वक्टु तामाङनी र प्र.रेन्जेन लामालाई ऐ.को ४ नं. अनुसार प्रतिवादी जीतबहादुर तामाड्डलाई हुने सजायको आधा ५ पाँच वर्ष कैद हुने ठहर्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतले सफाई दिने गरेको इन्साफ उल्टी हुने ठहर्छ । अरु तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी जीतबहादुर तामाङलाई १० वर्ष कैद हुने ठहरेकाले निज ०४०।१०।२ देखि प्रहरी हिरासतमा परी ०४१।७।२४ मा अ.बं.१९४ नं.बमोजिम नगद धरौट राखी तारेखमा रहेको देखिन आएकोले सो थुनामा रहेको अवधि कटाई बाँकी अवधिको लगत कसी असूल गर्नु भनी शुरु सिन्धुपाल्चोक जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु....१

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी वक्टु तामाङनीलाई कैद वर्ष ५ पाँच हुने ठहरेकोले सो कैद वर्ष ५ को लगत कसी असूल गर्नु भनी शुरु सिन्धुपाल्चोक जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिने...२

प्रतिवादी रेञ्जन लामा माथि इन्साफ खण्डमा लेखिएबमोजिम निजलाई कैद वर्ष ५ गर्ने ठहरेकाले निज ०४०।१०।६ देखि ०४१।३।१५ सम्म थुनामा रहे बसेको अवधि कट्टा गरी बाँकी अवधिको लगत कसी असूल गर्नु भनी सिन्धुपाल्चोक जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...३

प्रतिवादी जीतबहादुर तामाङ के निजले शुरुले गर्ने गरेको कैद बापत म.क्षे.अ.मा निवेदन गरी भएको आदेशानुसार अ.बं.१९४ नं.बमोजिम तारेखमा बसी पुर्पक्ष गर्न निमित्त राखेको नगदी रु.४,९६५।रुपैयाँ धरौटी राखेको सो धरौटी निजले फिर्ता पाउने हुँदा कानूनको रीत पुर्‍याई फिर्ता दिनु भनी शुरु सिन्धुपाल्चोक जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु........४

मिसिल नियमानुसार गरी बुझाई दिनु........५

 

उक्त रायमा म सहमत छु ।

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल पौष १२ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु