शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६४४ - पसलबाट उठाई चलन चलाई पाउँ

भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११

निर्णय नं. ३६४४     ने.का.प. २०४५                 अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४४ सालको दे.पु.नं. ७०२

फैसला भएको मिति : २०४५।१०।१६।१ मा

 

पुनरावेदक/वादी : का.न.पं.वा.नं.३० भोटाहिटी बस्ने मिनादेवी ठकुरानी

विरुद्ध

विपक्षी/प्रतिवादी : का.न.पं.वा.नं.३१ बागबजार बस्ने कृष्णदास मानन्धर

 

मुद्दा : पसलबाट उठाई चलन चलाई पाउँ

 

(१)                घरमा आफैं बस्ने भनी उल्लेख नगरी व्यापार गर्न भन्ने उल्लेख गरेकोमा र घर बनाउनेको ८ नं. को आफैं बस्ने कुरामा मात्र उठाउन पाउने भन्ने व्यवस्थाले आफैंलाई बस्न र व्यापार गर्न भन्ने कुरा घर धनीलाई आवश्यक परेको भन्ने जनाउने र  घर धनीलाई चाहिएमा उठाउन पाउने ।

(प्रकरण नं. १३)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय

उल्लिखित मुद्दा : ने.का.प. २०४३, पृष्ठ ८५४, नि.नं.२८३८ वादी चुडामणी उपाध्याय वि.इन्दनारायण मानन्धरको बहाल भराई चलन चलाई पाउँ भन्ने मुद्दामा फु.बे. बाट सिद्धान्त प्रतिपादीत ।

 

फैसला

न्या.बब्बरप्रसद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझी वादीतर्फबाट पुनरावेदन गर्ने अनुमति प्राप्त गरी दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ ।

२.    भोटाहिटी स्थित ब्लक नं. १०।६ आफ्नो घर मुनिको पसल कवल ३ मा विपक्षीहरु बसी आउनु भएको उक्त घर पसल लोग्ने बाबु चन्द्रलालले चलन पाउने गरी स.अ.बाट मिति ०१३।६।१७ मा अन्तिम फैसला भएको उपर्युक्त घर पसल ३ आफ्नै व्यापार व्यवसाय चलाउने काम गर्नको लागि हामीहरु आफैंलाई नै चाहिएको कुरा मौखिक तथा रजिष्टरीद्वारा विपक्षीलाई जनाउ दिई सकेकोमा सो पसल छाडी नदिएकोले मुलुकी ऐन घर बनाउनेको ८नं. ९नं., अन्तर्गत फिराद गर्न आएको छौं । अतः उपर्युक्त पसल कबल ३ बाट विपक्षीलाई उठाई अड्डैबाट चलन चलाई पाउँ भन्ने समेत व्यहोराको मिनादेवी ठकुरानी समेतका ४ जनाको संयुक्त फिरादपत्र ।

३.    लालमोहर सनद र चिनियालालले ०१४ सालमा गरी दिएको लिखत र सोही आधारमा भएको फैसला समेतको आधारमा पसलमा बसी आएका हौं अघिको मुद्दाबाट नै कबुलियतलाई पूर्ण मान्यता प्राप्त छ । शुसिलादेवीले गरेको मुद्दामा मेरो प्रतिउत्तर परी प्रमाणहरु दाखिल छ सो प्रमाण लगाई झुठ्ठा वादी दावीबाट फुर्सद गरिपाउँ भन्ने समेतको कृष्णदास समेतको प्रतिउत्तरपत्र ।

४.    वादीले दावी लिई चलन चलाई पाउँ भनेको घर पसल ०१४ सालमा चिनियालालले लालमोहर समेतको व्यहोरा दर्शाई कृष्णदास समेतको ज्यूताभर नउठाउने व्यहोराको कबूलियत लिखत गरी दिएको पाइएकोबाट र सोही आधारमा विभिन्न मुद्दाहरु परी फैसला भएको भन्ने प्रमाण मिसिल कागजहरुबाट समेत देखिँदा लालमोहर समेतको आधारमा दर्शाई गरिदिएको कागजलाई संकुचित हुने गरी अर्थ गर्न समेत मिल्ने नदेखिँदा पसलबाट उठाई चलन चलाई पाउँ भन्ने समेतको वादी दावी पुग्न सक्दैन भन्ने समेतको का.जि.अ.को मिति ०४०।९।२८ को फैसला ।

५.    का.जि.अ.को फैसलामा चित्त नबुझी वादी दावी बमोजिम गरी पाउँ भनी मिनादेवी समेतको बा.अं.अ.मा पुनरावेदन परेकोमा आफूलाई चलन गर्न चाहिएमा जहिलेसुकै पनि उठाउन पाउने घर बनाउनेको ८ नं. ले व्यवथा गरेको हुँदा कबुलियतको लिखत भए पनि घर बनाउनेको ८ र ९ नं.बमोजिम गरी उठाउन पाउने भएबाट विपक्षीले पुनरावेदक वादीको घर पसल खाली गरी दिनुपर्ने ठहर्छ भन्ने समेतको बा.अं.अ.को ०४१।७।२१ को फैसला ।

६.    बा.अं.अ.को फैसलामा चित्त नबुझी प्रतिवादीतर्फबाट पुनरावेदन गर्ने अनुमति प्राप्त गरी म.क्षे.अ.मा पुनरावेदन गरेकोमा कबुलियत सद्दे ठहर भई अन्तिम रहेको ०१४ सालको कबुलियतबाट कृष्णदासको ज्यूताभर उठाउन नपाउने गरी कबुलियत भएको देखिन आएको र  वादीले आफ्नो फिरादमा आफैं बस्न भनी उल्लेख नगरी आवश्यकता परी व्यापार गर्न भन्ने सम्मको कुरा उल्लेख गरेबाट घर बनाउनेको ८ नं. मा आफैं बस्ने कुरामा मात्र व्यवस्था भएको देखिएकोले वादी दावी पुग्दैन भन्ने समेत व्यहोराको म.क्षे.अ.को ०४३।८।१६।२ को फैसला ।

७.    म.क्षे.अ.को उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी मिनादेवी समेतको यस अदालतमा निवेदन परेकोमा घर बनाउनेको ८नं. मा लिखतबाट म्याद किटिएको र लिखत नभएकोमा समेत धनी हकदार आफूहरुलाई नै बस्न चाहिने भयो भने उठाउन पाउँछ भन्ने स्पष्ट व्यवस्था भएको र बस्न भन्नाले पसलको कुरामा व्यापार गर्न समेत आउने हुँदा म.क्षे.अ.को फैसलामा कानूनको व्याख्या सम्बन्धी त्रुटि देखिन आएकोले पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने यस अदालतको संयुक्त इजलासको मिति ०४३।९।३०।४ को आदेश ।

८.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदकको वारेश तथा विपक्षलाई रोहवरमा राखी पुनरावेदन जिकिर सहितको मिसिल अध्ययन गरी पुनरावेदक वादीतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर, विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री वैधनाथ उाध्याय समेतले गर्नुभएको बहस समेत सुनी म.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ त्यसमा निर्णय दिन परेको छ ।

९.    विवादको घर पसल ०३५ सालमा नापी भई वादीहरुले लालपूर्जा पाएको त्यसउपर प्रतिवादीको उजूर परेको नदेखिएबाट विवादको घर पसल वादीको हकको भन्ने कुरा निर्विवाद     देखिन्छ ।

१०.    प्रतिवादीले वहालमा लिएको भन्ने कुरामा सालसालै विवादको घरको बहाल बुझाई पाउँ भनी प्रतिवादीले मुद्दा गरेको प्रमाण मिसिल र ०१४ सालको कबूलियतबाट पनि प्रतिवादीले घर बहालमा लिएको भन्ने कुरा प्रष्ट हुन आएबाट घर नै प्रतिवादीको भन्ने निजतर्फका विद्वान अधिवक्ताको बहस जिकिरसंग सहमत हुन सकिएन ।

११.    कबूलियतमा ज्यूताभर बस्ने भन्ने उल्लेख भएको घर प्रतिवादीले घर छाड्न पर्ने नपर्ने के हो ? भन्ने विचार गर्दा मुलुकी ऐन घर बनाउनेको महलको ८ नं. मा धनी हकदार आफूलाई नै बस्नलाई चाहियो भने लिखत भए पनि उठाउन पाउँछ भन्ने व्यवस्था गरेको पाइन्छ ।

१२.    ने.का.प. २०४३, पृष्ठ ८५४, नि.नं.२८३८ वादी चुडामणि उपाध्याय प्र.इन्द्रनारायण मानन्धर भएको बहाल भराई चलन चलाई पाउँ भन्ने मुद्दामा, घर पसल वादी आफैंलाई चाहिएको भनी दावी लिई आएको अवस्थामा प्रतिवादीलाई कबूलियत गराई बहालमा दिएको घर पसल प्रतिवादीबाट चलन पाउने ठहर भई सर्वोच्च अदालत फुल बेञ्चबाट सिद्धान्त प्रतिपादीत भएको देखिन्छ ।

१३.    वादीले आफ्नो फिरादमा विवादीत घरमा आफैं बस्ने भन्ने उल्लेख नगरी व्यापार गर्न भन्ने सम्म उल्लेख गरेको घर बनाउनेको ८ नं. मा आफैं बस्ने कुरामा मात्र उठाउन पाउने भन्ने व्यवस्था भएबाट वादी दावी पुग्न सक्दैन भन्ने म.क्षे.अ.को तर्कमा आफैंलाई बस्न र व्यापार गर्न भन्ने कुरा घर धनीलाई आवश्यक परेको भन्ने जनाउने र घर धनीलाई चाहिएमा उठाउन पाउने कानूनी व्यवस्था भएकोबाट क्षे.अ.को इन्साफ मिलेको देखिन आएन ।

१४.    अतः मुलुकी ऐन घर बनाउनेको ८ नं. अनुसार वादी दावी बमोजिम प्रतिवादीले घर पसल छाडी दिनु पर्ने र वादीले चलन पाउने ठहर्‍याएको बा.अं.अ.को इन्साफ मनासिब भई म.क्षे.अ.को इन्साफ उल्टी हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम म.क्षे.अ.को  इन्साफ उल्टी भएकोले म.क्षे.अ.को फैसलाको तपसील खण्डमा लेखिए बमोजिमको लगत राख्न नपर्ने हुँदा सो लगत कट्टा गरी दिन का.ज.अ.मा लेखी पठाउनु..१

माथि इन्साफ खण्डमा लेखिएबमोजिम ठहरेकोले वादी दावी बमोजिम का.जि.का.न.पं.भोटाहिटी स्थित ब्लक नं. १०।६ मध्येको पूर्व श्रीमती सुसीलाको भागको एक कवल पसल पश्चिम रामकृष्ण मानन्धरलाई बहालमा दिई आएको आफ्नै पसल उत्तर सडक दक्षिण रामकृष्ण मानन्धरलाई नै बहालमा दिई आएको पसल यति ४ किल्लाभित्रको आफ्नो घर मुनीको पसल कवल ३ मा देहयका वादीहरुले उठाउन पाउने हुँदा कानूनको म्याद भित्र दर्खास्त परे लाग्ने दस्तूर लिई उक्त पसलबाट प्रतिवादी कृष्णदास मानन्धरलाई उठाई देहायका वादीलाई चलन चलाई दिनु भनी का.जि.अ.मा लगत दिनु...२

मिनादेवी ठकुरानी १ यादव ठाकुर १ नरेस ठाकुर १ मनदेवी ठकुरानी १

माथि इन्साफ खण्डमा लेखिएबमोजिम ठहरेकोले फिराद दर्ता गर्दा राखेको कोर्टफी रु.३।र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.३।समेत जम्मा कोर्टफी रु.२६।प्रतिवादीबाट भरी पाउने हुँदा म.क्षे.अ.मा पुनरावेदन गर्दा प्रतिवादीले राखेको कोर्टफी धरौट रु.२३।बाट र नपुगमा जेथा देखाई ऐन बमोजिम वादीहरुको दर्खास्त पर्न आएमा केही दस्तूर नलिई भराई दिनु भन्ने का.जि.अ.त. मा लगत दिनु.........३

म.क्षे.अ.को इन्साफ उल्टी भएकोले मा.न्या.श्री मोहनप्रसाद शर्मा, मा.न्या.श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको उल्टी रेकर्ड राख्नु........४

नियम बमोजिम गरी मिसिल बुझाई दिनु...........५

 

उक्त रायसंग म सहमत छु ।

न्या.पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४५ साल माघ १६ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु