शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७३५ - मिलापत्र वदर

भाग: ४१ साल: २०५६ महिना: असोज अंक: ४१

निर्णय नं. ६७३५    ने.का.प. २०५६ अङ्क ६

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री मोहनप्रसाद शर्मा

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

सम्वत २०५३ सालको दे.पु.नं..३८६९

फैसला मितिः २०५५।९।२४।६

 

मुद्दाः मिलापत्र वदर ।

 

पुनरावेदक

प्रतिवादी : का.जि.का.न.पा वडा न. १ वस्ने सुन्दरलाल भवनानी

विरुद्ध

प्रत्यर्थी

वादी : जि. पर्सा विरगन्ज न.पा.वडा नं.१२ वस्ने काशिनाथ सुकुल

 

§  वादी हिरादेवीले दायर गरेको उल्लेखित मुद्दाहरु यी वादी काशीनाथ सुकुलले दायर गरेको मुद्दाहरुको आधारमा हेर्न र सो मा इन्साफ गर्न नसकिने भन्न सकिने अवस्था पनि देखिदैन। त्यसमा पनि पुनरावेदन अदालत हेटौडाको मिति २०४८।९।११ को फैसलाले हक वेहकमा न्याय, इन्साफ गरेको अवस्था नभै इन्साफको लागि पठाउने सम्म गरेको देखिएको र शुरु र पुनरावेदन अदालतले अलग अलग व्यक्तिहरुको परेको फिरादमा अलग अलग निर्णय गरेको देखिंदा शुरुले र पुनरावेदनले गरेको काम कारवाइलाई अन्यथा हो भनी भन्न मिल्ने अवस्था नदेखिने ।

         (प्र.नं. १८)

§  अन्यथा प्रमाणित नभएसम्म मठ मन्दिर सार्वजनिक सरोकारको विषय हुने कुरामा विवाद गर्न नसकिने भएपनि प्रस्तुत मुद्दामा प्रत्यर्थी वादी उक्त मन्दिरको पुजारीको हैसियतवाट भनी फिराद लिई अदालत प्रवेश गरेको पाइन्छ । गुठी मठ मन्दिरको सम्पत्ति गुठी राख्नेको भावना अनुकुल यथावत कायम राख्नु त्यस्तो सम्पत्तिको रेखदेख गरी हिनामिना हुन नदिनु  सो गुठी संचालकको शर्त अनुरुप गुठी संचालन गर्ने समेतको कार्यको जिम्मेवारी लिएका व्यक्तिको व्यक्तिगत दायित्व पनि समाहित रहेको हुन्छ । निजी गुठीको संचालकको हैसियतले आएको अवस्थामा फिराद गर्न अड्डाको अनुमती लिइरहनु पर्दछ भन्ने उक्त ऐनको मनसाय रहेको पनि पाइदैन । सार्वजनिक रुपमा रहेको अवस्थामा पनि सार्वजनिक प्रश्नहरुमा अदालत प्रवेश गर्न नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(१) ले जो सुकै व्यक्तिलाई ढोका खुला राखेको परिप्रेक्ष्यमा सार्वजनिक धर्मकृति फैलाउने र सार्वजनिक सम्पत्तिको सुरक्षाको हीत रक्षार्थ फिराद परी अड्डामा दर्ता भै सके पश्चात केवल अनुमति नलिएको भन्ने सम्म को झिनो आधारमा मुद्दामा कारवाही किनारा नै गर्न नमिल्ने भन्ने अवस्था रहदैन । तसर्थ अनुमती नलिएकोले वादीलाई प्रस्तुत फिराद गर्ने हकदैया नरहेको भन्ने पुनरावेदक तर्फका विद्वान अधिवक्ताको जिकिरसंग सहमत हुन नसकिने ।

(प्र.नं. १९)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामप्रसाद भटृराई

प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री अनिता चापागाई

अवलम्वित नजिरः

 

फैसला

            प्र.न्या. मोहनप्रसाद शर्माः पुनरावेदन अदालत हेटौंडाको मिति ०५०।३।१४ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) वमोजिम दोहराउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यस प्रकार छः

                 .जि. पर्सा वि.न.पं. वार्ड नं. ९ हाल वार्ड नं. १२ स्थित श्रीरामजानकी शंकर मण्डली भन्ने मठ गुठी जग्गा बिपक्षीहरु समेतले हिनामिना धर्मलोप गर्यो भन्ने दे.नं. १३२७ को मुद्दा दिई सम्मानित अदालतमा चल्दैछ । उल्लेखित गुठी जग्गावाट प्र.सुन्दरलाल भवनानीलाई स्व. विकमा सिंहले लेखेको वकसपत्र वदर गरी पाउं भन्ने प्र. सुन्दरलाल भवनानीलाई समेत प्र.राम शंकर सिंह, जीत वहादुर, अर्जुन सिंहले नालेस गरेकोमा मिति ०४५।७।२१ गते सुन्दरलाल भवनानीको लिखतलाई कायम राखी मिलापत्र गरेको । जसमा ३ खण्डको १ खण्ड विकमासिंह भुमिहारको हकदार छोरा वुहारी राजसुनरीको मन्जूरी छैन । त्यसरी उक्त मुद्दा मैले दिई चलिरहेको अवस्थामा जालसाज गरी मिलापत्र गरेको हुंदा जालसाजीमा छुट्टै नालेश गरी मिलापत्र वदर तर्फ प्रस्तुत नालेश गर्न आएको छु । उक्त मिति ०४५।७।२१ को मिलापत्र वदर गरी पाउं भन्ने समेत व्यहोराको फिराद पत्र ।

            ३.    वादी दावी बमोजिम मिलापत्र दर्ता वदर हुनु पर्ने होइन । वादीले विक्रमासिंहले पाउनु भएको वकसपत्र वदर गराउन सक्नु भएको छैन । सो वकसपत्र आफ्नो ठाउंमा निर्विवाद कायम भएको अवस्थामा सो वकसपत्र कायम रहने गरी भएको मिलापत्र वदर हुने अवस्था छैन भन्ने समेत व्यहोराको प्रतिवादी सुन्दरलाल भवनानी को प्रतिउत्तरपत्र ।

            ४.    वादी दावी विमोजिम मिलापत्र वदर हुनुपर्ने होइन । विकमासिंहले पाएको वकसपत्र वदर गराएको छैन । सो वकसपत्र आफ्नो ठाउंमा कायम छ तसर्थ सो मिलापत्र कायम राखी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी अर्जुन सिंहको प्रतिउत्तरपत्र ।

            ५.    कानून अनुरुप भएको मिलापत्र वदर गराउने कुनै कानूनी प्रावधान नभएकोले वादी दावी १८० नं. वमोजिम खारेज गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादीहरु जित वहादुर सिंह भुमिहार र राम शंकर सिंह भुमिहारको संयुक्त प्रतिउत्तरपत्र ।

            ६.    अ.वं. १० नं. बमोजिम अनुमति नलिई गरेको फिराद खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको पर्सा जिल्ला अदालतको मिति २०४६।५।२० को फैसला ।

            ७.    उक्त फैसलामा चित्त बुझेन बदर गरी पाउं भन्ने समेत व्यहोराको वादी काशीनाथ सुकुलको तत्कालीन नारायणी अंचल अदालतमा परेको पुनरावेदन ।

            ८.    शुरु फैसला विचारणीय हुंदा बिपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको आदेश ।

            ९.    मुद्दा दर्ता भई प्रमाण वुझी सकेपछि अप्रत्यक्षरुपवाट अनुमति दिएको ठान्नुपर्ने हुन्छ । तसर्थ अनुमतिको अभावमा खारेज गर्ने गरेको ०४६।५।२० को फैसला वदर हुन्छ । वलराम ओझाको फैसला मिलापत्र वदर समेतका मुद्दाहरु र हिरादेवीको पुजारीकायम गरी पाउं भन्ने मुद्दा परिनै रहेको हुंदा यो मुद्दा पनि सोही विवाद र विषयमा सम्वन्धित हुंदा सोही मुद्दाहरु साथै राखी कानून वमोजिम निर्णय गर्नु भनी तारेखमा रहेका पक्षलाई तारेख तोकी मिसिल पर्सा जिल्ला अदालतमा पठाई दिनु भनी यिनै पक्ष विपक्ष भएको दे.पु.नं. १३६५ को फैसला मिलापत्र दर्ता वदर धर्मलोप मुद्दा आज यसै इजलासवाट फैसला भएकोले प्रस्तुत मुद्दा सोही विवादसंग सम्वन्धित भएको हुंदा प्रत्यर्थीहरुले मिति ०४५।७।२१ मा पर्सा जिल्ल अदालतमा लिखत वदर दर्ता वदर मुद्दामा गरेको मिलापत्र वदर गरी पाउं भन्ने दावीलाई सोही आधारमा खारेज गर्ने गरेको पर्सा जिल्ला अदालतको मिति ०४६।५।२० को फैसला वदर हुने ठहर्छ ।  कानून वमोजिम प्रस्तुत मुद्दा पनि निर्णय गर्नु भनी दुवै पक्षलाई तारेख तोकि मिसिल शुरु पर्सा जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको मिति ०४८।९।११।५ को फैसला ।

            १०.    वादीले जुन मिलापत्र वदर होस भनी यो मुद्दा दायर गरेको हो त्यही मिलापत्र वदर समेतको लागी हिरादेवीले यिनै प्रतिवादीहरु उपर दे.न. २२४० र २२४१ समेतका मुद्दाहरु दायर गरेको र ती मुद्दाहरुमा मिलापत्रहरु वदर हुने गरी आज यसै इजलासवाट फैसला भै सकेको हुंदा एउटै कुरामा परेको यो दोहोरो नालेशवाट केहि गरिरहन नपरी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको पर्सा जिल्ला अदालतको मिति ०५०।३।१४ को फैसला ।

            ११.    पर्सा जिल्ला अदालतले गरेको खारेजी फैसला वदर भै कानून वमोजिम इन्साफ गर्नु भनी यसै अदालतवाट २०४८।९।११ मा फैसला भै शुरुमा गएको प्रस्तुत मुद्दामा फिराद दावी र पेश गरेको कागज प्रमाणको मुल्यांकन नगरी पुनः खारेज गर्ने गरी भएको पर्सा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुंदा वदर गरी दावी वमोजिम इन्साफ पाउं भन्ने समेत व्यहोराको वादी काशीनाथ सुकुलको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदन ।

            १२.   पर्सा जिल्ला अदालतले खारेज गर्ने गरेको फैसला उल्टाई पुनरावेदन अदालतले गरेको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छु । यसरी सर्वोच्च अदालतको विचाराधीन रहेको पुनरावेदन अदालतको मिति ०४८।९।११ को फैसला वमोजिम पर्सा जिल्ला अदालतवाट भएको फैसलाको पेटवोलीमा अरु फैसलावाट मलाई वेहक गरिएको भनी उल्लेख गरी भएको शुरु खारेजी फैसला त्रुटिपूर्ण हुंदा वदर गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी सुन्दरलाल भवनानीको पुनरावेदन अदालत हेटौडामा परेको पुनरावेदन ।

            १३.   हक हस्तान्तरण गर्न नपाउने गरी रामचन्द्र ठाकुरजीको मठ मन्दिरको पुजा आजाको लागि राखिएको जग्गाको हक हस्तान्तरण हुने गरी भएको मिलापत्र वदर हुने अवस्थाको भै उक्त मिलापत्र २०४६ सालको दे.दा.नं.. २२४० को मुद्दावाट वदर हुने ठहरी शुरुवाट फैसला भई सकेको हुंदा सोही आधारले प्रस्तुत मुद्दामा शुरुले वादी दावी खारेज हुने ठहर्‍याएको देखिन्छ । प्रस्तुत मुद्दाको दावीको मिलापत्र लिखत उल्लेखित अन्य मुद्दावाट वदर भै सकेको अवस्थामा यसै मुद्दावाट पनि वदर गरिरहन निष्प्रयोजन हुने भएवाट दावी खारेज गर्ने गरेको शुरु फैसलाले इन्साफमा तात्विक भिन्नता नदेखिएकोले शुरुको खारेजी फैसला मिलेकै हुंदा मनासिव ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको मिति ०५१।१०।२३ को फैसला ।

            १४.   पुनरावेदन अदालत हेटौंडाको फैसलामा कानूनको गलत व्याख्याका साथै सम्मानित अदालतवाट प्रतिपादित सिद्धान्तको  समेत बिपरित हुंदा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) (क) र (ख) अन्तर्गत निवेदन गर्न आएको छु । पुनरावेदन अदालत हेटौडाको फैसला दोहराइ पाउं भन्ने समेत व्यहोराको प्रतिवादी सुन्दरलाल भवनानीको यस अदालतमा परेको निवेदन ।

            १५.   यस लगाउको नि.नं. ३१६२ मा मुद्दा दोहराउने निस्सा प्रदान गरिएकोले प्रस्तुत मुद्दामा पनि दोहर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५३।३।१९ को आदेश ।

            १६.    नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फवाट रहनु भएका विद्वान अधिवक्ता श्री रामप्रसाद भटृराई र प्रत्यर्थी वादी काशीनाथ सुकुलको तर्फवाट रहनु भएका विद्वान अधिवक्ता श्री अनिता चापागाईले गर्नु भएको वहस जिकिर समेत सुनियो ।

            १७.   आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा उपर्युक्त वमोजिमको विद्वान कानून व्यवसायीहरुको वहस जिकिर समेतलाई मध्यनजर गरी मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा देहायका प्रश्नहरुका सम्वन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

(१)    शुरु जिल्ला अदालतले फिराद खारेज गर्ने गरेको फैसला वदर गरी पुनः इन्साफ             गर्नु भनी शुरु जिल्ला अदालत मै पठाउने गरेको पुनरावेदन अदालतको फैसला                   उपर यस अदालतमा पुनरावेदन परी विचाराधीन अवस्थामा रहेकोमा तल्लो             अदालतवाट मुद्दामा कारवाइ किनारा गर्न मिल्ने हो होइन ?

(२)   प्रस्तुत मुद्दामा वादीलाई फिराद गर्ने हकदैया छ, छैन ?

      (३)   शुरु फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको मिति ०५०।३।१४ को             फैसला मिलेको छ छैन ?

            १८ (१) सर्वप्रथम पहिलो प्रश्नतर्फ विचार गर्दा पुनरावेदन अदालतले शुरु फैसला वदर गरी इन्साफको लागि शुरुमा पठाउने निर्णय गरे उपर परेको पुनरावेदन सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा शुरु जिल्ला अदालतले फैसला गरी सो उपर परेको पुनरावेदनमा समेत पुनरावदेन अदालतले फैसला गर्न मिल्दैन सो कार्य वेरितको छ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन लेखाइ र निज तर्फका कानून व्यवसायीको मुख्य जिकिर रहेको पाइन्छ । विवादित सम्पत्ति श्री रामजानकी मन्दिरको गुठीको जग्गा हो व्यक्ति विशेषले हक छोडी निजी तवरले दिन नमिल्ने लिए दिएको वदर गरी पाउं भन्ने माग गरी प्रस्तुत फिराद परेकोमा अदालती वन्दोवस्तको १० नं. वमोजिम अनुमती नलिई परेको फिराद खारेज हुने भन्ने शुरु फैसला उपर वादीको पुनरावेदन परी शुरु खारेजी फैसला वदर भै पुनः इन्साफको लागि शुरुमा पठाउने गरी पुनरावेदन अदालत हेटौडाले मिति २०४८।९।११ मा फैसला गरेको र सो उपर यीनै पुनरावेदकको यसै मुद्दामा २०४८ सालको दे.पु.नं.३६७ को पुनरावदेन यस अदालतमा परेको र हालसम्म विचाराधीन भै उक्त ३६७ को पुनरावेदन समेत निर्णयार्थ साथै पेश भएको देखिन्छ । प्रतिवादीको विचाराधीन ३६७ नं. को पुनरावेदनमा न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ग) अन्तर्गत तात्विक भिन्नता रहे नरहेको र सो पुनरावेदन यस अदालतमा लाग्न सक्ने नसक्ने भन्ने विषय छुट्टै रहेको र पुनरावेदन अदालतको फैसलावाट इन्साफमा तल माथि परे नपरेको के हो भन्ने सम्वन्धमा सो भन्दा माथिल्लो अदालतमा विचाराधीन रहेकै अवस्थामा तल्लो अदालतहरुले त्यसलाई प्रभाव पार्ने किसिमले निर्णय गर्न नहुने सर्वमान्य सामान्य सिद्धान्त रही आएको पाइन्छ । प्रस्तुत मुद्दाको रोहमा हेर्दा पुनरावेदन अदालतको पहिलो मिति २०४८।९।११ को फैसला पश्चात शुरु र पुनरावेदन अदालतवाट कानून र तथ्यको आधारमा प्रवेश गरी इन्साफ गरी सकेको अवस्था रहेको छ । विवादित विषयमा यी प्रत्यर्थी वादी काशीनाथ सुकुलको मात्र मुद्दा नपरी साथै पेशभएको २०५३ सालको दे.पु.नं. ३८६७, ३८६६ समेतका धर्मलोप, मिलापत्र हक कायम मुद्दामा हिरादेवी व्रँम्हणी वादी भै फिराद परी सो मा शुरु र पुनरावेदन अदालतवाट इन्साफ भएको र ती मुद्दाहरुमा यो प्रश्नहरु समावेश भएको  अवस्था देखिन आउदैन । वादी हिरादेवी भएकै उल्लेखित मुद्दामा विवादित मिलापत्रहरु वदर भएको र सो आधारमा प्रस्तुत मुद्दाको फिराद खारेज गर्ने गरेको शुरु फैसला पुनरावेदन अदालतबाट सदर भै २०५०।१०।२३ मा फैसला भएको देखिन आउंछ। वादी  हिरादेवीले  दायर गरेको उल्लेखित मुद्दाहरु यी वादी काशीनाथ सुकुलले दायर गरेको मुद्दाहरुको आधारमा हेर्न र सो मा इन्साफ गर्न नसकिने भन्न सकिने अवस्था पनि देखिदैन । त्यसमा पनि पुनरावेदन अदालत हेटौडाको मिति २०४८।९।११ का फैसलाले हक वेहकमा न्याय, इन्साफ गरेको अवस्था नभै इन्साफको लागि पठाउने सम्म गरेको देखिएको र शुरु र पुनरावेदन अदालतले अलग अलग व्यक्तिहरुको परेको फिरादमा अलग अलग निर्णय गरेको देखिंदा शुरुले र पुनरावेदनले गरेको काम कारवाइलाई अन्यथा हो भनी भन्न मिल्ने अवस्था देखिन आएन । तसर्थ पहिलो प्रश्नमा लिएको जिकिरसंग सहमत हुन सकिएन ।

            १९ (२) अव दोश्रो प्रश्न प्रत्यर्थी वादीलाई फिराद गर्ने हकदैया रहे नरहेतर्फ विचार गर्दा प्रस्तुत फिराद सार्वजनिक धर्मकृति देव देवताको गुठी सम्पत्ति सम्वन्धमा परेपछि मुलुकी ऐन अ.वं. १० नं. बमोजिम अड्डाको अनुमति लिइ फिराद दर्ता नभएको हुंदा समेत वादीलाइ फिराद गर्ने हकदैया नभएको भन्ने पुनरावेदकतर्फको जिकिर रहेको हुंदा त्यसतर्फ विचार गर्दा प्रस्तुत विवादित सम्पत्ति निजी गुठी अन्तर्गत रामजानकी  मन्दिरको  रहेको  भन्नेमा विवाद छैन । अन्यथा प्रमाणित नभएसम्म मठ मन्दिर सार्वजनिक सरोकारको विषय हुने कुरामा विवाद गर्न नसकिने भएपनि प्रस्तुत मुद्दामा प्रत्यर्थी वादी उक्त मन्दिरको पुजारीको हैसियतवाट भनी फिराद लिई अदालत प्रवेश गरेको   पाइन्छ । गुठी मठ मन्दिरको सम्पत्ति गुठी राख्नेको भावना अनुकुल यथावत कायम राख्नु त्यस्तो सम्पत्तिको रेखदेख गरी  हिनामिना  हुन नदिनु सो गुठी संचालनको शर्त अनुरुप गुठी संचालन गर्ने समेतको कार्यको जिम्मेवारी लिएका व्यक्तिको व्यक्तिगत दायित्व पनि समाहित रहेको हुन्छ । निजी गुठीको संचालकको हैसियतले आएको अवस्थामा फिराद गर्न अड्डाको अनुमती लिइरहनु पर्दछ भन्ने उक्त ऐनको मनसाय रहेको पनि पाइदैन । सार्वजनिक रुपमा रहेको अवस्थामा पनि सार्वजनिक प्रश्नहरुमा अदालत प्रवेश गर्न नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(१) ले जो सुकै व्यक्तिलाई ढोका खुला राखेको परिप्रेक्ष्यमा सार्वजनिक धर्मकृति फैलाउने र सार्वजनिक सम्पत्तिको सुरक्षाको हीत रक्षार्थ फिराद परी अड्डामा दर्ता भै सके पश्चात केवल अनुमति नलिएको भन्ने सम्म को झिनो आधारमा मुद्दामा कारवाही किनारा नै गर्न नमिल्ने भन्ने अवस्था रहदैन । तसर्थ अनुमती नलिएकोले वादीलाई प्रस्तुत फिराद गर्ने हकदैया नरहेको भन्ने पुनरावेदक तर्फका विद्वान अधिवक्ताको जिकिरसंग सहमत  हुन सकिएन ।

तह तह इन्साफ हुदै आएको काम कारवाही मिलेकै देखिन्छ ।

            २० (३) अव तेश्रो प्रश्न पुनरावेदन अदालत हेटौडाको ०५१।१०।२३ को फैसला मिलेको छ, छैन भन्ने तर्फ विचार गर्दा फिराद खारेज गर्ने गरेको शुरु सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला उपर वादीले चित्त वुझाई वसेको र सो उपर वादीको निवेदन परेको नदेखिंदा सो तर्फ विचार हुनुपर्ने अवस्था   देखिदैन । पुनरावेदकले उठाएको प्रश्नका हकमा माथि ठहर खण्डको प्रकरण (१) र (२) मा विवेचना भईसकेको र यसै विवादित मिलापत्रको विषयमा मिलापत्र वदर गरी पाउं भनी वादी हिरादेवी व्राम्हणीले यिनै पुनरावेदक प्रतिवादी सुन्दरलाल भवनानी समेत उपर दिएको लगाउको दे.पु.नं. ३८६६ र दे.पु.नं.३८६७ को धर्मलोप मिलापत्र वदर हक कायम मुद्दामा यी प्रतिवादी समेतको वीच भएको मिलापत्र समेत वदर गरेको र यिनै पुनरावेदक प्रतिवादी उपर यिनै प्रत्यर्थी वादी काशीनाथ सुकुलले दिएको लगाउको २०५३ सालको दे.पु.नं. ३८६८ को नापी दर्ता निर्णय बदर दर्ता मुद्दामा रामजानकी मठको जग्गा यी पुनरावेदक प्रतिवादीले गराएको दर्ता समेत वदर भई सम्पूर्ण जग्गा रामजानकी मन्दिरको नाममा दर्ता हुने ठहराएको शुरु सदर गरेको पुनरावेदन अदालतको फैसला सदर भै आजै यसै इजलासवाट फैसला भएकोले यस मुद्दावाट पनि दावीको मिलापत्रको सम्वन्धमा वोलिरहनु नपर्ने देखिंदा फिराद खारेज गर्ने गरेको शुरु सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको देखिंदा मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी  बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.भैरवप्रसाद लम्साल

 

इति सम्वत २०५५ साल पौष २४ गते रोज ६ शुभम् ............. ।

                                   

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु