शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६५४ - अंश दपोट

भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११

निर्णय नं. ३६५४     ने.का.प. २०४५                 अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४५ सालको दे.पु.नं. ७०३

फैसला भएको मिति : २०४५।१०।२३।१ मा

 

पुनरावेदक/प्रतिवादी : ल.पु.जि.गोदामचौर गा.पं.वा.नं.९ बस्ने प्रेमबहादुरको मु.स.गर्ने ऐ. को छोरा ऐ.ऐ.बस्ने रत्नबहादुर राउत क्षेत्रीको मु. स.गर्ने ऐ.ऐ.को छोरा कृष्णबहादुर राउत क्षेत्रीसमेत

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.बस्ने धनकुमारी राउतसमेत

 

मुद्दा : अंश दपोट

 

(१)                विवादीत कित्ता कित्ताको घर जग्गाहरु प्रतिवादीले अंश मुद्दामा तायदाती फाँटवारी दिंदा उल्लेख नगरेकोबाट निजले दबाए छपाएको होइन भन्न मिल्ने नदेखिने ।

(प्रकरण नं. १४)

(२)               सगोलमा रहेको भन्ने देखिन आएको अवस्थामा एकासगोलका परिवारका सदस्य जस्का नाउँमा सकार भए पनि सो सम्पत्तिको स्रोत पैतृक सम्पत्ति देखिने ।

(प्रकरण नं. १४)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

प्रत्यर्थी/वादीतर्फबाट  : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुर्‍याल

 

फैसला

न्या.हरगोविन्द सिंह प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.    प्रतिवादी प्रेमबहादुर राउत क्षेत्रीसंग हाम्रो अंश मुद्दा चली कारवाही हुँदा मिति २०३१।१०।३० गते मानु छुट्टिएको मिति कायम गरी त्यसका अघिल्ला दिन सम्मको अंशबण्डा गर्नुपर्ने श्रीसम्पत्ति तायदाती फाँट लिई मिति २०३४।२।११ गते हाजिर हुन आउनु भन्ने तारेख तोकिएकोमा प्रतिवादीले अंशबण्डाको २० नं.बमोजिम घरको लेनदेन कारोबार गर्ने जानकार व्यक्ति हुनुभएकोमा प्रतिवादीले ल.पु.जि.गोदामचौर गा.पं.वा.नं. ८ग कि.नं.७२ क्षेत्रफल २१४० जुन अंश हुनुपर्ने उक्त जग्गा देवर रत्नबहादुरको नाउँमा दर्ता रहेको झंककुमारी थपेनी संगको लेनदेन मुद्दामा ल.पु.जि.अ.को फैसला बमोजिम लिलामबाट सकार गरी लिएको मोल रु.८००।जाने कित्ता एक, ऐ.गोदाम गा.पं.वा.नं.९क कि.नं.९८ को जग्गामा पूर्व मोहडाको तीनतले कच्ची पराले छानो भएको मोल रु.३५०।जाने घर एक, ऐ.ऐ.गा.पं.वा.नं.९(क) कि.नं.९९ को जग्गामा निर्मित कच्ची इटको ३ तले टायलको छाना भएको दक्षिण मोहडाको मोल रु.७००।जाने घर, ऐ.ऐ.मा बनेको कच्ची ३ तले दक्षिण मोहडा भएको झिंगटी छानाको कटेरा लाफा गाँसेको १५ हात चौडाइको मोल रु.७०० जाने घर कटेरा एक, ऐ.ऐ.कि.नं.८९ मा बनेको लम्बाई हात ११ को दुईतले टायल छानो भएको कटेरा समेत भएको मोल रु.९००।जाने कच्ची घर एक, ऐ.ऐ.गा.पं.वा.नं.९ कि.नं.४६ मा बनेको हात ७१० को पराले छाना भएको पूर्व मोहडाको १ तले घर मोल रु.२५०।पर्ने एक र वादी उदयबहादुर राउत प्रतिवादी बुद्धिबहादुर विष्ट संगको लेनदेन मुद्दामा ललितपुर जिल्ला अदालतबाट २०३३ सालमा फैसला भई विपक्षीले बुझिलिएको रु.२६००।समेत फाँटवारीमा नदेखाई दपोट गरी आफू एक्लै खाई मेरो अंश मार्ने नियत गरेकोले नालिश गर्न आएकोछु । अंश मुद्दा मिति २०३४।२।१८ मा यसै  अदालतबाट फैसला भएकैछ । उक्त दपोट गरेको घर जग्गा समेत मेरो हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको अंकुर राउतको संरक्षक भई आफ्ना हकमा समेत धनकुमारी राउतले मिति २०३४।७।१ मा गरेको फिरादपत्र ।

३.    वादीले दावी गरेको जग्गा तथा घरहरु मेरो जिम्मामा नभएर अरुको नाउँमा जग्गा तथा घरहरु भएकोले अरुको नामको र मेरो भोग चलनमा नभएको घरजग्गा जो जस्को जिम्मा छ, उसैले तायदाती दिनुपर्ने हो, साथै लेनदेन मुद्दाबाट प्राप्त रु.२६००।को हकमा तायदाती दिनुभन्दा पछि प्राप्त भएको हुँदा उल्लेख नगरेकोले झुठ्ठा वादी दावीबाट अलग फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको प्रेमबहादुर क्षेत्रीले मिति २०३४।१२।२०।५ मा दिएको प्रतिउत्तरपत्र ।

४.    मिसिलमा रहेको सबूद प्रमाणबाट कि.नं.७२ को ज.रो. २१४० जग्गा रु.२,६००।समेत प्रतिवादी पक्षले दपोट गरेको ठहर्छ भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतबाट मिति २०४०।१०।१२।५ मा भएको फैसला ।

५.    ललितपुर जिल्ला अदालतबाट घर तर्फको दपोट नठहर्‍याए सम्म फैसला बदर भई वादी दावी बमोजिम गरिपाउँ भन्ने समेत वादीले बा.अं.अ.मा गरेको पुनरावेदनपत्र ।

६.    विपक्षी धनकुमारीले प्रेमबहादुरसंग अंश मुद्दा गर्ने एकजना मात्र प्रतिवादी बनाएको र कि.नं.७२ को सम्पत्ति अरुको जिम्मा भई प्रेमबहादुरको जिम्मा होइन भन्ने कुरा फिराद लेखबाट स्पष्ट देखिई रहेको छ र रु.२,६००।को हकमा मानु छुट्टिएपछि मात्र प्राप्त भएको देखिँदा देखिँदै पनि ललितपुर जिल्ला अदालतले अन्यायपूर्ण फैसला गरेकोले सो हदसम्म बदर गरिपाउँ भन्ने समेत प्रतिवादीले बा.अं.अ.मा गरेको पुनरावेदनपत्र ।

७.    कि.नं.७२ को २१४० जग्गा लिलाममा सकार गरी रत्नबहादुर एका घर सगोलमा संग बसेका अंशियार जस्को नाउँमा सकार गरेपनि सो सम्पत्तिको स्रोत पैतृक भएको अवस्थामा अंश लाग्ने सम्पत्तिको तायदातीमा अंशबण्डाको २०, २१, २२, २३ नं.बमोजिम खुलाउनु पर्ने बाध्यता हुन्छ । त्यस्तै विवादीत रु.२,६००।पनि पैतृक सम्पत्तिबाट बढेको हो भन्ने दावीलाई प्रतिवादीले खण्डन गर्न नसकेकोले पैतृक सम्पत्ति भन्ने देखियो । शुरु ललितपुर जिल्ला अदालतले विपक्षी प्रेमबहादुरले अंश दपोट गरेको ठहर्‍याएको सम्म शुरुको इन्साफ मनासिब देखिनाले सदर हुने ठहर्छ, पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने बा.अं.अ.को फैसला ।

८.    उक्त इन्साफमा चित्त बुझेन पुरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीको मु.स.गर्ने रत्नबहादुर राउत क्षेत्रीले म.क्षे.अ.मा गरेको निवेदनमा निवेदकलाई पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को आदेश ।

९.    यसमा वादी दावीको घर जग्गा र रुपैयाँमा प्रतिवादी प्रेमबहादुर राउतले सम्म दपोट गरेको ठहर्ने भई वादी दावाको घर जग्गा र नगद सम्पत्तिमा ४ भागको १ भागमा ३ भागको २ भाग वादीको अंश हकको र प्रतिवादी प्रेमबहादुरको हक भोग समेत अंशबण्डाको २७ नं.बमोजिम वादीको हक कायम गरी दिनु पर्नेमा तायदाती फाँटवारी नै नमागिएका प्रतिवादी नारायणबहादुर र रत्नबहादुरको हकको समेत दावीको सम्पूर्ण घर जग्गा प्रतिवादीले दपोट गरेको ठहराएको हदसम्म बागमती अञ्चल अदालतको फैसला त्रुटिपूर्ण देखिँदा सो हदसम्म बदर भई केही उल्टी हुन्छ । विवादीत चलअचल सम्पत्तिमा ४ भागको १ भागमा वादीतर्फको अंश भागको ३ भागमा २ भाग र प्रतिवादी प्रेमबहादुरको सम्पूर्ण १ भाग समेतको चलअचल सम्पत्तिमा वादीको हक कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।२।३१ को  फैसला ।

१०.    प्रेमबहादुरको अंश भाग ४ खण्डको १ खण्ड दपोट ठहराई वादीको हक कायम हुने गरिनु गलत छ । प्रेमबहादुरले निजको १ भाग दपोट गरेको ठहर भएको खण्डमा निजको भाग अर्थात दपोट भएको भाग हामी समेतले खान पाउने अंशबण्डाको २७ नं. मा उल्लिखित धन नदवाउने अंशियारले बाँडी खान पाउँछ भन्ने वाक्यांशबाट प्रष्ट गरेको छ भने प्रेमबहादुरको भाग सम्पूर्ण विपक्षीले पाउने गरी विपक्षीको हक कायम गराएको प्रष्टतया अंशबण्डाको २७ नं. को गल्ली व्याख्या गरिएको समेत हुँदा म.क्षे.अ.को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुतर्फबाट यस अदालतमा पर्न आएको निवेदनपत्र ।

११.    यसमा क्षेत्रीय अदालतले ठहर गर्दा तायदाती दिने प्रेमबहादुरले सम्म दपोट गरेको ठहरेपछि निजले दपोट गरेको सम्पत्तिमा दपोट नगर्ने वादी र अरु प्रतिवादीहरुले समेत खान पाउनु पर्ने हो वा दपोटमा दावी गर्ने वादीले मात्र खान पाउने हो, अंशबण्डाको २७ नं. को व्याख्या सम्बन्धी प्रश्न उपस्थित रहेको देखिएकोले पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४५।६।२८ को आदेश ।

१२.    नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा प्रत्यर्थी वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुर्‍यालले गर्नु भएको बहस समेत सुनियो ।

१३.    मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ सो मा निर्णय दिन पर्ने हुन आयो ।

१४.    यसमा निर्णयतर्फ विचार गर्दा वादी समेतको ससुरावाजे प्रतिवादी प्रेमबहादुर घरको मुख्य मानिस भएको र निजउपर वादीले अंश पाउँ भनी दावा लिई मुद्दा परेकोमा प्रतिवादी प्रेमबहादुरबाट तायदाती माग भई आएको देखिन्छ । निज प्रतिवादीले अंश मुद्दामा दिएको तायदाती फाँटवारीमा वादीले दावी लिएको घर जग्गा समेत उल्लेख गरेको देखिँदैन । यसरी विवादीत कित्ता कित्ताका घर जग्गाहरु प्रतिवादी प्रेमबहादुरले अंश मुद्दामा तायदाती फाँटवारी दिंदा उल्लेख नगरेकोबाट निजले दवाए छपाएको होइन भन्न मिल्ने देखिएन । अन्य प्रतिवादीहरु नारायणबहादुर र रत्नबहादुर समेतले दपोट गरेको हो होइन भन्नेतर्फ हेर्दा अंश मुद्दा वादीको दावी घरका मुख्य व्यक्ति प्रेमबहादुर राउतउपर भएको र प्रतिवादी नारायणबहादुर र रत्नबहादुरसंग तायदाती फाँटवारी माग भएको देखिँदैन । यस्तो स्थितिमा प्रतिवादी रत्नबहादुर, नारायणबहादुरसंग तायदाती फाँटवारी लिइसकेको देखिन नआएबाट निजहरुले समेत दवाए छपाएको भन्न सकिने अवस्था देखिएन । तसर्थः विवादीत कित्ता कित्तामा भएका घरहरु प्रतिवादी प्रेमबहादुरले सम्म दपोट गरेको देखिन आयो । कि.नं.७२ को जग्गा समेत अदालतको फैसला बमोजिम झंककुमारीको नाउँ खारेज भई विपक्षी प्रेमबहादुरकै एकासगोलका छोरा रत्नबहादुरले रु.१,६५०।मा सकार गरेको र निज रत्नबहादुरकै नाउँको अन्य अचल सम्पत्ति समेत प्रेमबहादुरले दिएको तायदाती फाँटवारीमा उल्लेख भई सगोलमा रहेको भन्ने देखिन आएको अवस्थामा एकासगोलका परिवारका सदस्य जस्का नाउँमा सकार भए पनि सो सम्पत्तिको श्रोत पैतृक सम्पत्ति देखिन आएकोले सो कि.नं.७२ को जग्गा र वादी उदयबहादुर र प्रतिवादी बुद्धिबहादुरको बीच भएको लेनदेन मुद्दामा बिगो रु.२,६००।समेत अंश लाग्ने पैतृक सम्पत्ति देखिन आएबाट उपरोक्त वादीको दावीको घर जग्गा र रुपैयाँमा प्रतिवादी प्रेमबहादुर राउतले सम्म दपोट गरेको देखिन आयो । तसर्थ विवादीत चलअचल सम्पत्तिमा ४ भागको १ भागमा वादीतर्फको अंश भागको ३ भागमा २ भाग र  प्रतिवादी प्रेमबहादुरको सम्पूर्ण एक भाग समेतको चलअचल सम्पत्तिमा वादीको हक कायम हुने ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा परिवर्तन गरी रहन नपरी इन्साफ मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी राखी पुनरावेदन गरेको देखिँदा केही गरी रहन परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमति छ ।

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४५ साल माघ २३ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु