निर्णय नं. ३६५६ - लिखत दर्ता बदर

निर्णय नं. ३६५६ ने.का.प. २०४५ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४५ सालको दे.पु.नं. ५५५
फैसला भएको मिति : २०४५।११।२।२ मा
पुनरावेदक/वादी : धरान न.पं.वार्ड नं. ७ बुद्धमार्ग बस्ने श्रीमती चन्द्रलक्ष्मी श्रेष्ठ
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने नेत्रप्रसाद नेपाल
मुद्दा : लिखत दर्ता बदर
(१) संयुक्त दर्ता भएको जग्गा मध्येबाट आफ्नो हक बिक्री गर्न पाउने नै देखिँदा आफ्नो भागको जग्गा बिक्री गरेकोलाई कानून विरुद्ध भन्न नमिल्ने ।
(प्रकरण नं. १४)
पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला
विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री हरिहर दाहाल
फैसला
न्या.प्रचण्डराज अनिल : पु.क्षे.अ.को इन्साफउपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर निम्न बमोजिम रहेछ ।
२. विपक्षी कजिनी नेवारनी र म समेतको संयुक्त दर्ताको जि.सुनसरी धरान न.पं.वार्ड नं. ७ मा पर्ने ०–१–१९ जग्गाको उत्तरतर्फको आधा जग्गा मेरा पति जीतबहादुर समेतको भाग र दक्षिणतर्फ विपक्षी कजिनी समेतको भाग भई भोगी चर्ची आएकोमा विपक्षी नेत्रप्रसादले जग्गा खिचोला मुद्दामा नालेश गरेको म्याद ०३६।१२।२५ मा तामेल हुँदा विपक्षी कजिनीले मेरो हकको भनी दिने र विपक्षी नेत्रप्रसाद लिने भई घर विपक्षीकै र घरको निकास जग्गा भने उत्तरतर्फको मेरो अंश हकको जग्गा ०३५।५।२० मा राजीनामा लिनु दिनु गरेछन् । विपक्षीहरु मेरा इवीवाला मानिस हुँदा मलाई सन्धिसर्पन पारी उक्त प्रकार लिनु दिनु गरेको र संयुक्त दर्तावाला मेरो मञ्जूरी नलिएको समेत हुँदा दक्षिणतर्फको कि.नं.१३२ को ०–०–९½ जग्गा विपक्षी कजिनी र निजका छोरा अम्बरबहादुर समेतको अंश हकको हुँदा सोतर्फ उक्त लेखत दर्ता बदर गरी मेरा नाममा दर्ता कायम गरिपाउँ भन्ने ०३७।१२।३।२ को फिरादपत्र ।
३. मेरा दाता कजिनी नेवारनीको अंश हकको घर जग्गा राजीनामा लिएको हो । विपक्षीको अंश हकको होइन । मैले लिएको कुरा ०३५ सालमै थाहा पाई जानेका हुन् । विपक्षी उपरको जग्गा खिचोला बाली बिगो मुद्दालाई लम्ब्याउन सो मुद्दा चल्दा चल्दै त्यसको रुप हेरी २००३ सालको बण्डापत्र छ भनी प्रस्तुत नालेश गरेका हुन् । बण्डापत्र भए उक्त मुद्दामा सो प्रमाण दिनु पर्ने नदिएको र घरसारी बण्डापत्र भन्ने हुँदा यसमा नजीर नमिल्ने हुँदा प्रस्तुत मुद्दा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको ०३८।२।२५ को प्र.नेत्रपसादको प्रतिउत्तरपत्र ।
४. मेरी आमा कजिनी श्रेष्ठले विपक्षीको अंश भागमा पर्ने समेत पारी घर हाम्रो र जग्गा विपक्षी समेतको पारी दुवै कित्ता जग्गा कित्ताकाट हुने गरी प्र.मध्ये नेत्रप्रसादलाई राजीनामा गरी दिएको होइन । हाम्रो घडेरी जग्गा ०–०–१९ मात्र भएकोले अंशबण्डा गर्दा वादी दावी बमोजिम उत्तरतर्फबाट ०–०–९½ विपक्षीको अंश भागमा परी सर्भे हुँदा कि.नं.१३१ मा दर्ता भएको सोही दक्षिणमा ०–०–९½ जग्गा हाम्रो अंश भागमा परी सर्भेमा कि.नं.१३२ मा दर्ता भएको सोही जग्गाहरुमा आ–आफ्नो घर बसोबास भएको ऐन बमोजिम बण्डा नभई विपक्षी र मेरी आमा कजिनीका नाममा संयुक्त दर्ता भएको हो । प्र.नेत्रप्रसाद संगको लिखत पारीत मुद्दामा निजको लिखत कीर्ते हो भनी आमाले बयान गरेपछि विशेषज्ञ मार्फत ल्याप्चे भिडाई ०३४।९।१८ मा फैसला हुँदा लागेको जरिवाना तिर्न नसकी पुनरावेदन गर्न नपाउँदा शुरु फैसला नै अन्तिम भएको हो । आमा तथा मैले समेत वादी दावा बमोजिमको कुनै जग्गा राजीनामा दिएको होइन भन्ने समेत स्व. कजिनीको हकमा सगोलको छोरा अम्बरबहादुर श्रेष्ठको प्रतिउत्तरपत्र ।
५. वादी दावी बमोजिम साविक कि.नं.१३१ को हाल कि.नं.३३० को सम्म दर्ता बदर हुने ठहर्छ भन्ने शुरु सुनसरी जिल्ला अदालतको फैसला ।
६. शुरु जि.अ.को फैसला बदर गरी पाउँ भनी प्रतिवादी नेत्रप्रसाद नेपालको कोशी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
७. कि.नं.१३२ को हाल कि.नं.३३२ को सम्बन्धमा पु.वे.नेत्रप्रसाद नेपालले कजिनी नेवार्नीबाट हक छुट्याई लिएको लिखत र त्यसको दर्ता समेत सदर हुने देखिँदा सो ठहराएकोसम्म शुरुको इन्साफ मनासिब ठहर्छ । साविक कि.नं.१३१ हाल कि.नं.३३० को हकमा वादीको किटानी उजूर भएको र उक्त बमोजिम वादी पक्षको मञ्जूरी बेगर बिक्री गराएको समेत देखिँदा कि.नं.३३० नं. सम्मको ०३५।५।२० को लिखत र त्यसको आधारमा गराएको नामसारी दर्ता समेत बदर हुने ठहर्ने भएकोले सो सदर हुनुपर्ने भन्ने पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ । लिखत सम्पूर्ण रुपमा कायम राखी उक्त कि.नं.३३० को नामसारी दर्ता मात्र बदर गर्ने गरेकोसम्म शुरु जि.अ.को इन्साफ बेमनासिब ठहर्छ भन्ने समेत व्यहोराको कोशी अञ्चल अदालतको फैसला ।
८. शुरु सुनसरी जि.अ.को र कोशी अञ्चल अदालतबाट भएको समेत फैसला बदर गरी पाउन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको पू.क्षे.अ.मा परेको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको पू.क्षे.अ.को आदेश ।
९. रोहपोह मिलाई कजिनी नेवार्नीले बिक्री गर्ने प्रतिवादी नेत्रप्रसादले लिने गरी राजीनामा भएको र आफ्नो हक जति बिक्री गर्न पाउने रजिष्ट्रेशनको १० नं. को ऐन अनुसारको कानूनी अधिकार समेत देखिन आएको हुनाले सोही राजीनामा भित्रको साविक कि.नं.१३१ को पूर्वपट्टिको हाल कि.नं.३३० को राजीनामा र दर्ता समेत बदर गर्ने गरेको कोशी अञ्चल अदालतको सो हदसम्मको फैसला कानूनी त्रुटिपूर्ण देखिनाले सो हदसम्मको फैसला र सोही हदसम्मको जिल्ला अदालतको फैसला समेत बदर भई उल्टी हुन्छ भन्ने पु.क्षे.अ.को फैसला ।
१०. पू.क्षे.अ.को इन्साफमा प्रमाण ऐन, २०३१ को दफा ५४, अ.बं.१८४क, १८५ र १८९ नं. को प्रत्यक्ष त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा दर्ता हुनआएको निवेदनपत्र ।
११. विपक्षी नेत्रप्रसादको श्रीमतीले कजिनी नेवार्नीसंग लिएको ०–०–९½ धुर जग्गा सम्बन्धमा मुद्दा परी ०३९ सालमा क्षेत्रीय अदालतबाट फैसला समेत भइसकेकोमा फैसलालाई प्रमाणमा लिइएको पाइँदैन । २०२९।८।१५ मा गरी दिएको राजीनामाको ४ किल्ला र मिति २०३७।७।१६ मा भएको नक्शाको न.नं.५ को कि.नं.३३० को किल्लासंग मिल्न भिड्न समेत नआएको क्षे.अ.को फैसलामा अ.बं.१८४क, १८५ रजिष्ट्रेशनको १०, १५ नं. र प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिशंकर निरौला र विपक्षी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिक्ता श्री कृष्णप्रसाद भण्डारी र अधिवक्ता श्री हरिहर दाहालले गर्नु भएको बहस समेत सुनियो ।
१३. यस्मा क्षे.अ.को इन्साफ मनासिब बेमनासिब के रहेछ सो को निर्णय दिनुपर्ने हुन आयो ।
१४. यस्मा निर्णयतर्फ विचार गर्दा, साविक कित्ता नं.१३१ मा वादी चन्द्रलक्ष्मी, कजिनी नेवारनीको नाउँको संयुक्त दर्ता भएको भन्ने देखिन्छ । उक्त कित्ता नं.१३१ को कित्ताफोड हुँदा कि.नं.३३० र कि.नं.३३१ कायम भएको पाइन्छ । २०३७।७।१६ मा भएको नक्शा कुण्डलीबाट कि.नं.३३१ मा चन्द्रलक्ष्मीको घर भएको भन्ने देखिन्छ । कि.नं.३३० को जग्गा बिक्री भएको देखिएको छ । संयुक्त दर्ता भएको जग्गा मध्येबाट आफ्नो हकको आधा जग्गा कजिनी नेवारनीले प्रतिवादी नेत्रप्रसादलाई बिक्री गरेको देखिएकोले आफ्नो हक बिक्री गर्न पाउने नै देखियो । यसरी संयुक्त दर्ता भएकोमा आफ्नो भागको जग्गा बिक्री गरेकोलाई कानून विरुद्ध भन्न मिल्दैन ।
१५. तसर्थ संयुक्त दर्ताको जग्गा भए पनि आफ्नो भाग जति बिक्री गरेको देखिएकोले साविक कि.नं.१३१ को पूर्वपट्टिको हाल कि.नं.३३० को राजीनामा लिखत र दर्ता बदर गर्न मिलेन । अतः पूर्वाञ्चल क्षेत्रीय अदालतले साविक कि.नं.१३१ को पूर्वपट्टिको हाल कि.नं.३३० को राजीनामा लिखत र दर्ता बदर नहुने ठहर्याएको इन्साफ मिलेकै देखिँदा परिवर्तन गरिरहन नपरी इन्साफ मनासिब ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । कोर्टफी राखी पुनरावेदन गरेको देखिँदा केही गरिरहन परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ साल फाल्गुण २ गते रोज २ शुभम् ।