शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७३७ - जग्गा खिचोला चलन

भाग: ४१ साल: २०५६ महिना: असोज अंक:

निर्णय नं. ६७३७    ने.का.प. २०५६ अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

संवत् २०५० सालको दे.विविध ..... १४०

फैसला मितिः २०५६।३।१६।४

 

मुद्दाः जग्गा खिचोला चलन ।

 

पुनरावेदक

प्रतिवादीः महोत्तरी जिल्ला जलेश्वर नगरपालिका वडा नं. ६ वस्ने तेतरी देवी कानु समेत

                                     विरुद्ध                           

विपक्षी

वादी : महोत्तरी जिल्ला जलेश्वर नगरपालिका वडा नं. ६ वस्ने समुतुलीया देवी कानुको मु.स. गर्ने रामेश्वरप्रसाद साह समेत ।

 

§  प्रस्तुत विवादमा वादीले विवादित घर जग्गा फैसला भए पश्चात आफूले भोग चलन गरी रहेको भन्ने दावी लिएको र सो भनाइलाई वादीका साक्षी सुकदेव साह कानु समेतको वकपत्रबाट पुष्टि भएको पाइन्छ । दण्ड संजायको ४३ नं. मा उल्लेख भएका कानूनी प्रावधानबाट समेत वादीले जिती पाएको वस्तु भोग चलन गर्न जांदा नदिएमा मात्र वादीले पुनः अदालतमा गै दरखास्त दिनु पर्ने कानूनी व्यवस्था भएको देखिन्छ । सो वस्तु वादीले चलन गर्दा जांदा चलन गर्न दिएमा अदालतमा चलन चलाई पाउं भनी दरखास्त दिनु पर्ने अवस्था नदेखिंने । 

   (प्र.नं. १२)

 

पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री कमल नारायण दास

प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री सीताराम तिवारी

अवलम्वित नजिर : गोपाल भटृ वि.वुद्धिलाल लाखे श्रेष्ठ भएको २०२५ सालको विविध नं. ३५२ को घर चलन चलाई पाउं भन्ने मुद्दामा २०२७।३।८ मा प्रतिपादित सिद्धान्त

 

फैसला

            न्या.भैरवप्रसाद लम्सालः मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ महाराजाधिराजका हजुरमा विन्तिपत्र परी यस अदालतको मिति २०५०।८।२३ को आदेश अनुसार इन्साफ जांचको लागि दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

            २.    महोत्तरी जिल्ला जलेश्वर गा.पं. वडा नं. ६ कि.नं. १३ को ०-१-१७ जग्गा मेरो हक अधिकारमा छ । विपक्षीले उक्त जग्गामा चारैतिर फुसको घर बनाई मैले वनाएको घरमा अनधिकृत प्रवेश गरेबाट घर जग्गाबाट छोडाई पाउं भनी मुद्दा दायर गरी खिचोला गरेको ठहर भई म.क्षे.अ. बाट अन्तिम भै वसेको छ । उक्त घर जग्गामा म तिर्थ गएको मौकामा २०४२।५।९ मा पुनः प्रवेश गरेकोले ज.मि.को १८ नं. वमोजिम खिचोला छोडाई चलन चलाई दण्ड संजायको ४३ नं. वमोजिम संजाय समेत गरी पाउं भन्ने वादीको फिराद दावी ।

            ३.    यस विषयमा मुद्दा परी म.क्षे.अ. वाट समेत फैसला भएको, वादीले दण्ड संजायको ४३ नं. अनुसार दरखास्त गरी चलन चलाउनु पर्नेमा चलन चलाएको छैन । वादी दावीको घर जग्गा मेरै भोग चलनमा रहेको छ । म्यादभित्र चलन चलाउने कारवाही नगरेकोले वादीको फिराद खारेज गरी पाउं भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

            ४.    आफूले चलन चलाई पाउने हद म्यादको शुन्यतामा परेको प्रस्तुत फिराद अ.वं. १८० नं. वमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको महोत्तरी जिल्ला अदालतको मिति २०४३।५।४ को फैसला ।

            ५.    उक्त फैसलामा चित्त वुझेन । उल्टाई न्याय पाउं भन्ने समेत व्यहोराको वादीको जनकपुर अंचल अदालतमा परेको पुनरावेदन पत्र ।

            ६.    वादीले जिती पाइसकेको कुरामा प्रतिवादीले खिचोला नछोडेबाट वादी दावी वमोजिम खिचोला मेटाई चलन पाउने ठहर्छ । इन्साफ गर्नु पर्नेमा खारेज गरेको महोत्तरी जिल्ला अदालतको फैसला उल्टी हुने ठर्हछ भन्ने समेत व्यहोराको जनकपुर अंचल अदालतको मिति २०४५।८।२३ को फैसला ।

            ७.    दण्ड संजायको ४३ नं. को म्याद भित्र नालेस नगरेकोबाट चलन पाउन पर्ने स्थिति नहुंदा नहुंदै गरेको ज.अं.अ. को फैसला वदर गरी पाउं भन्ने समेत प्रतिवादीको म.क्षे.अ.मा परेको पुनरावेदन पत्र ।

            ८.    विवादको वादीको घर जग्गा प्रतिवादीले खिचोला गरेको र वादीले चलन पाउने समेत ठहर्‍याएको ज.अं.अ. को इन्साफ मनासिव हुंदा सदर हुने ठर्हछ भन्ने समेत व्यहोराको म.क्षे.अ. को मिति २०४६।११।२ को फैसला ।

            ९.    म.क्षे.अ. को त्रुटीपूर्ण फैसला वदर गराई पाउनका लागि न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(७) ले सर्वोच्च अदालतमा जान वाटो बन्द गरेकोले विन्तिपत्र गरेका छौं । म.क्षे.अ. को त्रुटीपूर्ण फैसलामा इन्साफ जांच गरी दिनु भन्ने हुकुम प्रमांगी वक्स पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको श्री ५ महाराजाधिराजका हजुरमा परेको विन्तिपत्र ।

            १०.    सर्वोच्च अदालतमा अनुमतिको निवेदन दिई दायर रहेको अवस्थामा मिति २०३५।१२।२५ मा चलन छोडेको भन्ने वादीको भनाइ वस्तुगत प्रमाणबाट समर्थित भएको नदेखिंदा मध्यमान्चल क्षेत्रिय अदालतको फैसलाको इन्साफ जांच गर्नु पर्ने अवस्था विद्यमान देखिंदा प्रस्तुत मुद्दा दोहोर्‍याउने निस्सा प्रदान गरिएको  छ । नियम वमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०५०।८।२३ को आदेश ।

            ११.    नियम वमोजिम पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कमल नारायण दासले विपक्षी वादीले मध्यमान्चल क्षेत्रीय अदालत समेतबाट एकपटक जिती पाइसके पछि दण्ड संजायको ४३ नं. वमोजिम फैसला कार्‍यान्वयनको लागि दरखास्त गरी चलन लिनु पर्नेमा सो नगरी सो म्याद भुक्तान भै सकेपछि पुनः खिचोला मुद्दा गरी आउन पाउने होइन । वादीको फिराद अ.वं. ८५ नं. समेतको विपरित भएकोले वादी दावी वमोजिम खिचोला गरेको ठहर गरेको जनकपुर अंचल अदालतको फैसला वदर हुनु पर्दछ भनी गर्नु भएको वहस र प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सीताराम तिवारीले मुद्दा जिती पाई सकेपछि प्रतिवादीले चलन नछोडेमा मात्र दण्ड संजायको ४३ नं. वमोजिम दरखास्त गर्नु पर्ने हो । प्रतिवादीले चलन छोडी सकेपछि चलन चलाई रहनु नपर्ने भएकोले म.क्षे.अ. को फैसला सदर हुनु पर्दछ भनी गर्नु भएको वहस समेत सुनी मिसिल अध्ययन गरी हेर्दा यस्मा म.क्षे.अ. को इन्साफ मिलेको छ छैन भनी निर्णय दिनु पर्ने देखियो ।

            १२.   यसमा वादी दावी वमोजिमको घर जग्गामा प्रतिवादीले खिचोला गरेको र वादीले चलन चलाई पाउने ठहर्‍याई २०३५।४।२५ मा म.क्षे.अ. वाट अन्तिम फैसला भएको कुरामा पक्ष विपक्षको मुख मिलेकै पाइन्छ । २०३५ सालमा विवादित घर जग्गा जिती पाए पनि सो घर जग्गा दण्ड संजायको ४३ नं. वमोजिम वादीले चलन चलाउनु पर्नेमा चलन चलाएको छैन सो घर जग्गामा हाल सम्म मेरै भोग चलनमा छ । म्यादभित्र वादीले चलन चलाउने कार्य नगरेबाट विपक्षीको फिराद खारेज गरी पाउं भन्ने प्रतिवादीको पुनरावेदन जिकिर  रहेछ । यसमा दण्ड संजायको ४३ नं. मा मुद्दामा फैसला भई पुनरावेदन उजुरीको म्याद नाघे पछि जायजातबाट भराउने विगो वाहेक फैसला वमोजिम चलन पाउने वस्तु चलन गर्न नदिएमा देहाय वमोजिम गर्नु पर्दछ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत विवादमा वादीले विवादित घर जग्गा फैसला भए पश्चात आफूले भोग चलन गरी रहेको भन्ने दावी लिएको र सो भनाइलाई वादीका साक्षी सुकदेव साह कानु समेतको वकपत्रबाट पुष्टि भएको पाइन्छ । दण्ड संजायको ४३ नं. मा उल्लेख भएको कानूनी प्रावधानबाट समेत वादीले जिती पाएको वस्तु भोगचलन गर्न जांदा नदिएमा मात्र वादीले पुनः अदालतमा गै दरखास्त दिनु पर्ने कानूनी व्यवस्था भएको देखिन्छ । सो वस्तु वादीले चलन गर्न जांदा चलन गर्न दिएमा अदालतमा चलन चलाई पाउं भनी दरखास्त दिनु पर्ने अवस्था देखिदैन । विवादित  घर  जग्गामा प्रतिवादीले खिचालो गरेको ठहरी सकेको कुराबाट सो घर जग्गामा प्रतिवादकिो हक टुटिसकेको देखिन्छ । आफ्नो हक नरहे नभएको कुरामा प्रतिवादी स्वयं छोडि जान्छ र सो घर जग्गामा वादीको नियन्त्रणमा हुन्छ भने त्यस्तो अवस्थामा वादीले चलन चलाई पाउं भनी अदालतमा दर्खास्त दिनु पर्ने  अवस्था देखिएन ।

नयां फिराद परेको मुद्दामा दण्ड संजायको ४३ नं. को हदम्याद लाग्दैन भनी स.अ.को संयुक्त इजलासबाट पु.वे.प्र. गोपाल भट्ट विपक्षी वुद्धिलाल लाखे श्रेष्ठ भएको २०२५ सालको विविध नं. ३५२ को घर चलन चलाई पाउं भन्ने मुद्दामा २०२७।३।८ मा सिद्धान्त कायम भएको पनि देखिन्छ । तसर्थ यस्तो स्थितिमा प्रस्तुत विवादमा अदालतको फैसला पश्चात विवादित घर जग्गा वादीको भोगमा रहेको पुष्टी भै रहेको अवस्थामा जनकपुर अंचल अदालतको फैसलालाई सदर गर्ने गरेको  म.क्षे.अ. को मिति २०४६।११।२ को फैसला मिलेकै देखिंदा सदर  हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. कृष्णजंग रायमाझी

 

इति संवत् २०५६ साल आषाढ १६ गते रोज ४ शुभम् ................................... ।

                                   

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु