शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६५९ - सवारी दुर्घटना कर्तव्य ज्यान

भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११

निर्णय नं. ३६५९     ने.का.प. २०४५                 अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४५ सालको फौ.पु.नं ६२२

फैसला भएको मिति : २०४५।११।३।३ मा

 

पुनरावेदक/वादी : दिलप्रसादको जाहेरीले वादी श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : झापा, चारपाने गा.पं.वा.नं.३ बस्ने लक्ष्मीनारायण भट्टराईसमेत

 

मुद्दा : सवारी दुर्घटना कर्तव्य ज्यान

 

(१)                अनिश्चित स्थितिमा खाली शंकाजनक रहेको झगडाको आधारमा मात्र दावी बमोजिम अभियुक्तले मार्ने मनसायले ट्रकबाट किचाई मारेको भनी ठहर गर्न न्यायसंगत नहुने ।

(प्रकरण नं. १७)

 

वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिं बोगटी

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान : वादी श्री ५ को सरकार तर्फबाट पुनरावेदन परी दर्ता भई इजलास समक्ष  पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ ।

२.    २०४१।१०।९ गतेका दिन मे.अं. ३१ नं.को ट्रक नाम नजानेको चालक र गाडी मालिक लक्ष्मीनारायण भट्टराई पृथ्वी याक थुम्वासंग बालुवा सिमेन्ट ढुवानी गर्ने तय गरी बालुवा सिमेन्ट पुर्‍याई पहिले भएको शर्तमा बेमञ्जूर गरी भाडामा विवाद हुन जाँदा जाहेरवालाको छोरा रुद्रकुमार पनि विवाद भएको ठाउँमा पुगी पहिले भइसकेको बन्दोवस्त अनुसार हुनुपर्छ भनी भन्दा ट्रक मालिक लक्ष्मीनारायण र रुद्रप्रसादको बीच झगडा शान्त गराएपछि हेर्लास तलाई भनी दागा धरी गएछन् । भोलिपल्ट १० गते रुद्रप्रसाद मे.अ.१२ नं. को मोटर साइकिलमा चन्द्रगढी आउँदै गर्दा उक्त नं. ३१ को ट्रक गाडी मालिकले चलाउँदै आइरहेका रहेछन् उक्त मोटरसाइकिल ट्रक पछि पछि आइरहेको अवस्था विहान करिब ७.३० बजे झापा गरामुनी गा.पं.वा.नं.३ शुक्रराज प्रा.वि.भन्दा केही पश्चिम आई पुग्दा मोटर साइकिललाई अगाडि लगाई अघिल्लो दिन भएको झगडाको कारणबाट जानाजान जाहेरवालाको छोरा रुद्रले चलाएको मोटर साइकिल माथि चलाई ठक्कर दिई ३० फुट जति घिस्याई टाउको समेत फुटाई मारी पिच माथि नै ट्रक छाडी ट्रक चलाउने मानिस निस्की गएछन् । घटना भएको कुरा श्रीप्रसाद, भीमप्रसाद लिम्बूले प्रत्यक्ष देखेकोले जाहेरी दिन आएको छु कानून बमोजिम सजायँ गरिपाउँ भन्ने व्यहोराको जाहेरी दर्खास्त ।

३.    २०४१।१०।१० गते मे.अं.ख. ३१ नं.को ट्रकले मे.अ.ख. १२ नं. को मोटर साइकिलमा आएको व्यक्ति जि.पं.स.रुद्रकुमारको घटना स्थल मै मृत्यु भएको देखिएकाले लाश सुरक्षित राखी प्रतिवेदन गरेको छु भन्ने समेत प्र.ह.गंगाबहादुरको प्रतिवेदन ।

४.    लाश रहेको ठाउँबाट करिब ३ फिट पश्चिमबाट पिचको बीच सेन्टर देखि केही दक्षिण साइडबाट ट्रकले मोटर साइकिललाई घिसारेर लगेको हो पिचमा कोरिँदै ट्रक रोकिएको ठाउँसम्म लाश रहेको ठाउँबाट करिब १२ फुट अगाडि गई ट्रक रोकी राखेको मृतकको टाउको चकनाचूर भई फुटी छाती देखि टाउको सम्म चक्काले पेली चेपिएको देखिएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का र मृत्युका कारण हेड इन्जाइटी भन्ने पोष्टमार्टम रिपोर्ट ।

५.    २०४१।१०।१० गते मेरो ३१ नं.को ट्रक भाइ होमनाथको नाममा दर्ता छ । म धान लोड गरी ट्रकको सिटमा बसी आएको थिएँ । ट्रक खगेन्द्र बरालले चलाएको, हाम्रो साइडबाट मोटर साइकिल ल्याएको एकै चोटी ढयाम्म आवाज आयो । ट्रक रोकी हेर्दा एकजना मानिस बीचमा लडिरहेको टाउकोबाट रगत बगी रहेको, मौखिक मैले प्रहरी कार्यालयमा भनेको थिएँ । रुद्र मेवावोलाई मैले चिनेको छैन । रीसइवी केही छैन र ज्यान मार्ने अवस्था छैन म ट्रक चलाउन पनि जान्दिन । पोल उजूर झुठ्ठा हो भन्ने समेत व्यहोराको लक्ष्मीनारायणको बयान ।

६.    २०४१।१०।१० गते बिहान उक्त गाडी मैले नै हाँकी भद्रपुरतर्फ आइरहेको थियो । गाडी मालिक पनि ट्रकको अगाडि सिटमा बसिरहेको थियो । ट्रकलाई उछिन्न साइड मागेकोले साइड दिएँ । मोटर साइकिल ओभरटेक गर्दा ट्रकमा ठक्कर लागी दुर्घटना भएको हो लक्ष्मीप्रसाद ट्रक चलाउन जान्दैनन् । मैले लापरवाही गरी मोटर साइकिलमा ठक्कर लगाएको छैन । मोटर साइकिलवाला कै गल्तीबाट दुर्घटना हुन गएको हो । ट्रक मैले चलाएको थिएँ । दुर्घटना हुँदा मर्ने मानिसको नाउ मलाई थाहा थिएन, पछि नाम रुद्र हो भन्ने थाहा भयो भन्ने खगेन्द्र बरालले गरेको बयान ।

७.    सरजमीनमा दफा १,, , , , ११, १२ र १४ का व्यक्तिहरुले ट्रक मालिक लक्ष्मीप्रसाद भट्टराईले ट्रक चलाई रुद्र मेथोलोलाई मारेको हो भन्ने र ५, ६  १३ का व्यक्तिहरुले मोटर साइकिल ट्रकमा ठक्कर खाई दुर्घटना भएको हो कर्तव्य होइन भनी लेखाएका र दफा १५ मा बयान गर्ने व्यक्तिले दुर्घटना भएको ४५ मिनेट पछि सोद्धा रुद्र मेवावी हुन भन्ने थाहा भयो भनी लेखिएको सरजमीन मुचुल्का ।

८.    दुर्घटना भएको अवस्था हामीहरु सो ट्रकमा थियौं । घटनास्थल नजिक आई पुग्दा साइड मागे, साइड ट्रकले दिएपछि मोटर साइकिल बढी रेसले आएकोले जरकिन भई ट्रकमा ठक्कर लागी पछाडिको चककाले किची घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक खगेन्द्रले चलाएको थियो लक्ष्मीप्रसादले चलाएको थिएन । निज गाडि चलाउन जान्दैन भन्ने समेत व्यहोराको तिलकबहादुर भुजेल, कारी चौधरी, पाण्डे मुखिया, राजेन्द्र, रामलाल समेतको कागज ।

९.    भवितव्य बाटै मृत्यु भएको हो भन्न सकिने स्थिति मिसिलमा रहेको कागज प्रमाणबाट नदेखिँदा मर्ने रुद्र मोयाबोलाई ट्रकले ठक्कर दिई किची कर्तव्य गरी मारेको सिद्ध हुन आएकोले विरुद्ध खण्डमा लेखिएका अभियुक्त लक्ष्मीनारायण भट्टराईउपर मु. ऐन ज्यान सम्बधीको १३ को ३ र ज्यान मार्न सहमतिमा अर्को अभियुक्त खगेन्द्र बरालउपर ऐ.को दफा १७ नं. को देहाय ३ अनुसार सजायँ हुन सम्बन्धित सक्कल मिसिल प्रेषित गरिएकोछ भन्ने समेत प्रहरी र स.स.अ.को राय प्रतिवेदन ।

१०.    जाहेरी दर्खास्त, सरजमीन मुचुल्का प्रहरी प्रतिवेदन समेत सुन्ने मेरो भाइको ट्रक गाडी मे.अं.अ.३१ नं.को गाडीमा धान लादी २०४१।१०।१० गते बिहान ६ बजे म र ड्राइभर, खलासी, लेबर समेत ५ जना सगरमाथा मिलमा पुर्‍याउन ड्राइभर खगेन्द्र बरालले ट्रक चलाएको थियो । मोटर साइकिल आएको ड्राइभरले सिसाबाट देखेछन् । उसले साइड दिँदै आएछ । मैले खाली ठक्कर लागेको आवाज सुनी गाडी रोकी हेर्दा मृतक गाडी भन्दा पछाडि थिएँ । मोटर साइकिल अगाडि चक्काको चेपमा थियो म संग मृतकको चिनजान रीसइवी थिएन, मैले ट्रकबाट किची मारेको पनि छैन । जाहेरी र सरजमीन सुने किन यस्तो कुरा लेखे म जान्दीन मैले केही लापरवाही नगरेकोले लगाएको अभियोगबाट सफाई गरी पाउँ भन्ने समेत लक्ष्मीनारायण भट्टराईले अदालतमा गरेको बयान ।

११.    जाहेरी दर्खास्त प्रहरी प्रतिवेदन, सरजमीन मुचुल्का पढी सुनाउँदा सुने । २०४१।१०।१० गते बिहान ७ बजेको समयमा मे.अं ३१ नं.को ट्रकमा धान लादी मैले हाँकी जना ४ लेबर र खलासी गाडी मालिक समेत भई भद्रपुर सगरमाथा मिलमा धान पुर्‍याउन विर्तामोड देखि आउँदै गर्दा मोटरको सिसाबाट पछि पछि मोटर साइकिल आउँदै गरेको देखी साइड दिँदै हिँडेको थिएँ । देउनीया खोला देखि उत्तरमा आई पुगेपछि मोटर साइकिलको चकका ढुंगामा ठोकिई उफ्री ट्रकको चक्कामुनी परी दुर्घटना हुँदा रुद्रकुमारको मृत्यु भएछ आवाज भएकोले गाडी रोकी हेर्दा मृतकको मृत्यु भइसकेको रहेछ गाडी मैले चलाएको थिएँ । लक्ष्मीनारायणले गाडी चलाएको थिएन । किन लक्ष्मीनारायणले चलाएको थियो भनी सरजमीनले लेखेका हुन भन्न सक्दिन । रीसइवी साधन गरेको होइन । अभियोग झुठ्ठा हो अभियोगबाट सफाई पाउँ भन्ने खगेन्द्रप्रसादको बयान ।

१२.    बुझिएका सबूद प्रमाणबाट प्रत्यक्ष प्रमाण परिस्थितिजन्य प्रमाणको पनि विलकूलै अभाव देखिँदा केवल शंकाको भरमा विवादास्पद अवस्थामा पर्न आएको प्रहरी प्रतिवेदन दावी पुग्न सक्ने देखिएन । चालक खगेन्द्रप्रसाद बरालले गाडी आफूले चलाई ल्याएको भनी जिकिर लिएको र अभियुक्त लक्ष्मीनारायणले आफूले गाडी नचलाएको कुरा जिकिर लिएबाट मुख्य अभियुक्त भनी निज उपरको ज्यानसम्बन्धीको १३(३) र खगेन्द्रप्रसाद बराल उपरको १७(३) को अभियोगबाट सफाई पाउने देखिँदा प्रहरी प्रतिवेदन दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु झापा जिल्ला अदालतको मिति २०४२।८।१२ को फैसला ।

१३.    प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्रतिवादीहरुलाई सजायँ हुनु पर्नेमा सफाई दिने गरेको शुरु झापा जिल्ला अदालतको फैसला उपर चित्त बुझेन प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन ।

१४.    स.मु.सं.ऐनको दफा ७(क) अन्तर्गत कारवाही हुनुपर्नेमा पूरा सफाई दिएको शुरुको इन्साफ मिलेको नदेखिएकोले छलफलको लागि अ.बं.२०२ नं. अन्तर्गत विपक्षी झिकाई आएपछि वा म्याद नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको पू.क्षे.अ.को मिति २०४४।४।२६ मा भएको आदेश ।

१५.   मृतक र गाडी मालिक बीच भाडाको विषयलाई लिएर भएको वादविवादको रीसइवी यसरी ज्यानै मार्ने नियतले ट्रकद्वारा किची दुर्घटना गराई साधन गर्‍यो होला भन्न र भारी बोकेर गइरहेको ट्रकले मोटर साइकिल जस्तो हलुका साधनलाई खेदी ठक्कर दिई जानी जानी किच्यो होला भनी अनुमान गर्ने पनि स्वभाविक नहुँदा ज्यानसम्बन्धीको १३(३) र १७(३) बमोजिम सजायँ होस भन्ने प्रहरी प्रतिवेदन दावी पुग्न नसक्ने ठहर्छ भनी शुरु झापा जिल्ला अदालतले गरेको फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पू.क्षे.अ.को मिति २०४४।१०।१९ को फैसला ।

१६.    पू.क्षे.अ.को इन्साफमा चित्त बुझेन उक्त फैसला बदर गरी प्रहरी प्रतिवेदन मागदावी बमोजिम प्रतिवादीहरुलाई सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन ।

१७.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा वादीतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्रा श्री सामन्त सिं बोगटीले गर्नु भएको बहस सुनी पुनरावेदन जिकिर सहितको मिसिल अध्ययन गरी पू.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ भनी इन्साफतर्फ विचार गर्दा अभियुक्त लक्ष्मीनारायण माथि मृतकलाई ट्रकले किची मारेको भनी ज्यानसम्बन्धीको १३(३) अन्तर्गत र अभियुक्त खगेन्द्र बराललाई ज्यानसम्बन्धीको १७ नं. अन्तर्गत दावी गर्नाको मुख्य आधार २०४०।१०।९ मा लक्ष्मीनारायणसंग सिमेन्टी र बालुवा ढुवानी गरेको सम्बन्धमा झगडा हुँदा मृतक रुद्रप्रसादसित पनि झगडा भई रीसइवी परेको भन्ने देखाएको देखिन्छ । मिसिलमा बुझिएका मानिसहरुबाट सम्बन्धित पृथ्वी याकथुम्बाले पनि सो झगडा परेको हो भनी देखाएकोबाट झगडा परेकै हो भन्ने देखिन आउँछ । तर बुझिएका सरजमीनका मानिसमध्ये केहीले सो झगडा परेको कुरालाई समर्थन नगरी बकपत्र गरेबाट झगडा परेको थियो भनी निश्चित रुपबाट भन्न सकिने अवस्था देखिन आउँदैन । यदि झगडा परेकै हो भने पनि मृतकलाई मार्न निज लक्ष्मीनारायणले नै गाडी हाँकेको भए मात्र सम्भव देखिन आउँछ । चालक खगेन्द्र बराललाई हात लिई मारेको भन्ने कतैबाट देखिन नआउनुको साथै निजउपर प्रतिवेदनबाट दावी नलिएको समेत हुँदा यो कुराको अब पुष्टी हुन आउँछ । ट्रक को कस्ले चलाएको भन्नेतर्फ विचार गरेमा सरजमीनको वारदात देख्ने भनी देखाइएका केही व्यक्तिहरुले मात्र हुलियासम्म बताई लक्ष्मीनारायणले गाडी हाँकेको भनी देखाएको देखिन आउँछ । तर ट्रकमा बसी संगसाथमा जाने खलासी तथा कुल्लीहरु र चालक आफैं समेतले किटानी साथ लक्ष्मीनारायणले ट्रक हाँकेको नभई चालक खगेन्द्र बरालले नै हाँकेको भनी देखाएको देखिन आएकोले यस्तो संगसाथमा जाने मानिसको भनाइलाई मान्यता नदिई बाटोमा बसी राख्ने भनेका मानिसको भनाइलाई मान्यता दिई दावी बमोजिम लक्ष्मीनारायणले नै मोटर हाँकेको भन्न मिल्ने देखिन आएन । जहाँसम्म मृतकलाई ज्यान मार्नको लागि ट्रकले धक्का दिई किचाई मारेको हो कि भन्नेतर्फ विचार गरेमा वारदातको अवस्था  चालकको रुपमा रहेका खगेन्द्र बरालसंग निजको कुनै रीसइवी रहेको कतैबाट नदेखिएको । अभियुक्त लक्ष्मीनारायणले निजबाट मारे मराएको भन्ने कतै दावी नभएको वारदातको समयमा मृतक मोटरसाइकल चढी र अभियुक्त ट्रक हाँकी गइरहेको अवस्था कहिले ट्रक अगाडि कहिले मोटरसाइकल अगाडि गर्दै गएको र वारदात हुँदाको बखत मोटरसाइकलले साइड मागेबाट ट्रकले साइड दिई मृतक मोटरसाइकलले ट्रकलाई उछिनी गएको भन्ने देखिन आएको त्यसरी साइड मागी ट्रकलाई उछिनी जाने मोटरसाइकलमा चढ्ने मृतकलाई सरजमीनका केही मानिसहरुले देखाएबमोजिम ट्रकले १५ फिटको दूरीमा रहेको मोटरसाइकललाई धक्का दिई किचाई मारेको भन्ने कुरा सम्भव नदेखिनुका साथै सरजमीनकै केही व्यक्तिहरुले त्यसरी उछिनी जाँदा कच्ची बाटोबाट पिचमा मोटरसाइकल लाँदा सडकमा रहेको ढुंगामा ठक्कर लागी उछिट्टी मोटरसाइकल ट्रकको अगाडिपट्टि पर्न गएको भनी देखाई बकपत्र गरेको देखिन आएको यदि सो बमोजिम भएकै भए मोटरसाइकल मोटरको अगाडि पांग्राको बीचमा आई मोटरले किची १५।२० फिट सम्म घिसारी जानु कुनै असम्भव देखिन आउँदैन यसै स्थितिलाई ध्यानमा राखी वादीतर्फबाट पनि आफ्नो प्रतिवेदन दावीमा कर्तव्यबाट रुद्रकुमारको मृत्यु भएको हो कि भवितव्यबाट सवारी दुर्घटनामा परी मृत्यु भएको भन्ने मिसिलबाट विवादास्पद रहेको भनी देखाएको देखिन आएकोले यस्तो अनिश्चित स्थितिमा खाली शंकाजनक रहेको झगडाको आधारमा मात्र दावी बमोजिम अभियुक्तले मार्ने मनसायले ट्रकबाट किचाई मारेको भनी ठहर गर्न न्यायसंगत नहुने हुँदा अभियुक्तहरुले सफाई पाउने ठहर्‍याएको शुरु जि.अ.को इन्साफ सदर गरेको पू.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । वादी श्री ५ को सरकारको पुनरावेदन हुँदा पुनरावेदन गरेबापत केही गर्न परेन । नियम बमोजिम फाइल बुझाई दिनु ।

 

उक्त रायसंग म सहमत छु ।

न्या.बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०४५ साल फाल्गुण ३ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु